सम्झनामा: धैर्यवान् ढुङ्गो

- सुधन महत

नारान दाई! नारान दाई!
करिब ९।१० बर्षको उमेरतिर हामी यसरीनै कराउदै नारान दाईको पछि लाग्थ्यौं, उनलाई पछ्याउथ्यौ। मान्छेहरुको अनुहार सम्झन थालेदेखि नारान दाई हाम्रो सानो घेराको परिचित मध्येका एक थिए । ऊ बेलाको कौतुक बालमष्तिस्कमा उनको प्रभाव अन्य मानिसहरुको भन्दा फरक रहेको थियो। फरक यसर्थमा कि जीवनको कठोरतासंग अपरिचित हामी फुच्चाफुच्चीका निम्ति अत्यन्त सजिलो र सरल थिए नारान दाई। तब न उन्मुक्त हुन्थ्यौं हामी उनको अघि। जुन समयमा अन्यसंग बोल्दा हामी फुच्चाफुच्चिले संकोचका साथ सोचेर विचारेर आफ्नो कुरा ब्यक्त गर्नुपर्ने हुन्थ्यो ताकी जिज्ञासु उमेरले सुनेका देखेका कुरा सबै नओकलुन्। तत्कालिन वाल्यावस्थामा अन्यसँग स्वछन्द बनेर सहजताका साथ प्रस्तुत हुँदा नैतिकता र मर्यादाको कसीमा घोटेर हप्काउने हुन् की भनेर भयमय अभिनयका साथ कुराकानी गर्नु पर्दथ्यो।
तर नारान दाई पटक्कै त्यस्ता थिएनन्। वा भनौं उनको साथमा हामी तालिमे हुन पर्दैनथ्यो, चल्तीको अभिनय नारान दाईको संगतीमा आवश्यक थिएन। अहिले संम्झदा लाग्छ स्वतन्त्रता भित्रको स्वछन्दता प्रस्फुटनको प्रथम पाठ हामीले उनैबाट सिकेका थियौं। नारान दाईसंग हाम्रो कलिलो दिमागी खेतमा उम्रने अनेक अन्नबाली र झारपातको कुरा नि-संकोच: सोध्न सक्थ्यौं, उत्पादन र त्यसको प्रकृयाबारे जिज्ञासा राख्न सक्थ्यौं। प्रायस: अरुसंग बिना हाँसो, थोरै शब्दमा अनिच्छा पूर्वक कुराकानी टुंग्याउने नारान दाई हामीसंग हुदाँ सदा मखलेल हुने गर्दथे। मडारिदो बाक्लो बादल चिरेर एकछिन धर्तीमा ओर्ली उज्यालो छर्ने सुर्यझैं चम्कन्थे, पून: बादलको धमिलो शासनमा फर्कनुपर्ने जान्दाजान्दै।
हामी चार पाँच जना थियौं जो उनको अघोषित र प्रिय मिलनसार फुच्चाफुच्ची थियौं। हाम्रो बातचितको तौर-तरिका, भाव-भंगीमा अलग हुन्थ्यो। एकअर्कोलाई आधा माईलको दुरीमा देख्दा तिब्र रोमान्चकता उत्पन्न हुन्थ्यो।
हामीले देख्दा उनि कहिले खेत, कहिले खोला त कहिले जंगलमा गाउँलेको काममा सहायक बनेर नगद तथा जिन्सी ज्यालामा काम गरिरहेका हुन्थे। गाउँले भन्थे उनि कैयौं दिनसम्म कोहीसंग चुईक्क नबोली रहन सक्थे। उनि अन्य सँगको संबन्ध, संगत र कुराकानीमा संधै संयमित बनेर प्रस्तुत हुन्थे, सायद गाउँघरमा परिचित आफ्नो कठोर छबि संसोधन नहोस् भन्नेमा संधै सचेत थिए। गाउँलेहरुले उनको यस्तो स्वभावलाई लघुशंका थाती राख्दै स्वाभाविक रूपमा लिएका थिए।
हामीसंगको भेटमा उनि चकलेट, बिस्कुट लिएर आउथे। फराकिलो जाँघ भएको खैरो कट्टुको ठुलो गोजीबाट कहिलेकाही काक्रां, पोलेको मकै ल्याएर आकस्मिक उपहार दिन्थे। कुनै दिन अकस्मात् भेट हुदाँ हामी चार-आना, आठाना पैसा मागेर उनलाई दंग्याउथ्यौ, जिन्सी उपहारको व्यवस्था नहुँदा। ढोग-भेट आदान प्रदान पछी हामी बेपर्वाह कुराकानी गर्ने गर्दथ्यौं। चासो माथी प्रश्न, प्रश्न माथी शंकामिश्रित अर्को प्रश्न र बेलाबखतका बटुवाहरुको ध्यान आकृष्ट हुनेगरी हाँसोको गुन्जन। उनले हाम्रो फेद न टुप्पोको प्रश्न नबुझेझैं हामी पनि उनको गम्भीर उत्तर बुझदैनथ्यौं तर पनि मिलेर हाँस्थ्यौं र हाम्रो कुराकानी चल्ने गर्दथ्यो निरन्तर तबसम्म, जब हामीमध्ये कसैलाई उसका आमाबाले एकाध गाली गर्दै घिर्सार्दैपछार्दै घर लादैन थिए।
कहिलेकाही लामो समयसम्म भेट नहुने गर्थ्यो।
नारान दाई, कटुवाल बा बितेछन् नि....तपाई मलामी जानु भएन?
"गईन नि...मासुभात खान पाईथ्यो र?"
हाँसोको फोहरा छुट्थ्यो तत्-पश्चात् हुन्थ्यो उनको मृत्यु सम्बन्धी पट्यारलाग्दो गम्भीर दार्शनिक भाषण।
नारान दाई बिहे गरेपछी के हुन्छ?
"हुनुपर्ने बाहेक सबै थोक हुन्छ हौँ केटा हो....", हामी उनको हाँसोमा हाँसो मिसाउथ्यौं।
यस्ता थिए हाम्रा नारान दाई।
समय बित्दै गयो, हामी बढ्दै गयौं।
घर-गाउँमा उनको बारे मुनासिब चर्चा हुदैनथ्यो। हाम्रो संगतीलाई पनि त्यति रुचाईदैनथ्यो। उनको यो गाउँमा भएको आगमनको पहिलेदेखिनै अनेक अर्थ लाग्ने गरेको थियो तर हामी बढ्दै जाँदा झन् सुन्दै जान्थ्यौं ति गाउँले किस्साहरु।
गाउँमा गाईगुई हल्ला चल्थ्यो।
कोही भन्थे “बि.ए. सम्म पढेको मान्छे रे....पहाड तेर्हथुममा बुडी पोईल गएपछि रिसको झोंकमा बुडी र जारलाई मारेर आएको रे’। कोही भन्थे ‘मोरोले माया धेरै गर्थ्यो रे बुडीलाई, त्यहीं भर’ मारेको होला”। कोही भन्थे “बुडी पोईल गएपछि दिमाग ठिक छैन यो मान्छेको”।
हामी बिस्तारै हुर्कदै थियौं। मानिस र तिनका कुरा केही बुझ्न सक्ने भएका थियौं। प्रत्येक टोलपिछे नारान दाईलाई अनेक रूपमा अवतारित गरिएको थियो। जसको भेष दानविय र हातमा हत्याको दाग छ अनि निधारमा रगतको छाप।
जब जब म यस्तो किस्साहरु सुनेर साँझमा घर फर्कन्थे। त्यो रात बडो कठिन छटपटीमा बित्थ्यो। हामीलाई त्यति माया गर्ने, हामीले त्यति मरिहत्ते गर्ने नारान दाईको अवतारित रूपहरू सपनीमा आएर सताउथे। निस्पट्ट अँध्यारोमा सेरा खोलाको माथी माथी दगुरेको अनि पछीपछी एक हातमा बन्चरो र अर्को हातमा मान्छेको टाउको बोकेको नारान दाईले खेदिरहेको हुन्थे। घर, रुख भन्दा माथी-माथी आकाशमा उडीरहंदा मेरो खुट्टा नारान दाईको लामो चिसो हातले तान्थ्यो र म उम्कन कष्ट गर्दा गर्दै असीन पसिन हुँदै ब्युझन्थे।
अनन्य संबन्धले समयक्रममा त्रासयुक्त उल्झनमा पुर्याउने रहेछ।
जब नारान दाई भोलिपल्ट संधैझैँ आँगनीमा टुप्लुक्क आईपुग्थे। प्रथमत: मलाई रातको तरेली दृश्यबाट नउम्किदासम्म उनको मुहार एकदम बिरानो मानिसकोझैं लाग्थ्यो, जसरी कसै-कसैलाई पहिलोचोटी देख्दापनि पहिलेनै कतै भेटिसकेको विस्मृत अनुभूति हुने गर्दछ। उदास हृदयले अधुरो गीत सुनेजस्तै गरि।
उमेर बढ्दै जाँदा उमेरसंगै बढ्दै थिए, घटना-ब्यक्ती अनि चरित्रलाई जोख्ने मनोगत तराजुहरु। सिमारेखा कोर्दै थिए म, म र अन्य बिचको। जहाँ दुई किनारा कोरिएका थिए अतित र वर्तमानको। त्यसबीचमा बगिरहेको थियो सेरा खोला जस्तै समय, एकतमास बगिरहेको।
हामी अब पुराना दिनमाझैं नारान दाईसंग हेलमेल गर्दैनथ्यौं। दश कक्षाको अन्तिम परिक्षा आउन लागेको थियो। बिद्यालय जाने, सरासर घर फर्कने र छुट्टीमा साथीहरुसंग केहीबेर रम्ने। नारन दाईसंग छुटेको हाम्रो सान्निध्यता यदाकदा उनि हाम्रो घर आउंदा मुस्कान आदान प्रदानमा सिमित भएको थियो। गाउँभरिमा नारन दाई हाम्रो पिताजीसंग मात्रै अन्तरंग कुराकानी गर्थे, कारणप्रति कदापि चासो भएन। कहिलेकाही नारान दाई हामी केटाकेटी हुँदाको हाम्रो दिनचर्याको बर्णन गर्थे पिताजीसंग। म असमंजस्य हुने गर्दथे अतितको प्रसंग चल्दा। स्वछन्दतामा रमेका ति क्षणले इर्ष्यालु तुल्याएर ति दिनहरुले हालको नियमिततामा लज्जा उत्पन्न गराउथ्यो र बालापनको ऐठनरुपी सपनाले भय।
नारान दाई र पिताजीको कुराकानी म प्राय: झ्याँलको चेपबाट सुन्ने गर्दथे।
कुराकानीले बिट मार्ने बेलामा पिताजी संधैनै मधुरो आवाजमा बिहेको प्रसंग झिक्नुहुन्थ्यो, नारान दाई उम्किन्थे त्यो बिषय उठान हुँदा।
‘एक्लो जीवन लामो समय बिताउन मुस्किल हुन्छ नारान, अतितमा जे भयो भयो। एउटी अधबैसें खोजेर घरजम गर। हात पाउ सग्ला छन्, गाउँमा पौरख गर्ने ठाउँ छ। त्यसै बिरक्तिमा जीवन नबिता’।
नारन दाई सुकेको छेस्काले भुइँ कोट्याएर त्यसै त्यसै अनुत्तरित मुद्रामा टोलाईरहन्थे। पिताजी प्रत्येक भेटमा बिहे गर्ने सल्लाह दिईरहनुहुथ्यो, नारान दाई संधै भुइंमा चित्र कोरिरहन्थे। उनि गएपछि हावाले आफूसंगै उनको नबुझिने चित्र मेटिएर लान्थ्यो। ति माटोमा कोरिएका नबुझिने चित्रहरु सायद नारान दाईको अव्यक्त भावनाका शब्द थिए होलान्, जो कसैले बुझ्न सकेनन्।
पुस माघको ठिही पछी प्रकृतिमा उराठमय मौसम प्रवेश गर्दछ। पातहरु सम्पूर्ण झरेर वृक्षहरु नि:वस्त्र हुने गर्दछन्। चिसो पश्चिमी वायुको स्पर्शमा सम्पूर्ण प्रकृति रित्तो हुने गर्दछ। यसरीनै त्यो सानो गाउँमा बर्षौ बिते, हामी तन्नेरीमा दर्ज भएका थियौं।
नारान दाई उस्तै थिए, पिताजीको नारानको बिहे गराउन उस्तै चासो थियो। कोमल हृदयकी आमाको अनुरोधमा नारान दाईले तल्लो बारीमा सानो कटेरो बनाएका थिए। तर अझैं एक्लै थिए।
सपनाहरुले रातमा मलाई सताउन छोडे, म १७।१८ को उमेरमा एउटा तहमा उनीसंग पून: घुलमिल भएको थिए। त्यसबखत पून: उनको अघि पर्नबाट विचलित हुँदाको स्मृतिले लज्जानुभुती हुने गर्दथ्यो। गाउँमा नारान दाईको दानवीय अवतरणको किस्सामा माउ लाग्दै थिए। पहिले भन्दा नारान दाई खुल्न थालेका थिए अन्यसंग। फारु गरेर हाँस्न थालेका थिए कतै उम्कि जाने हो की खुशी भन्ने भय भावमा।
देशमा उच्च अध्ययनको निमित्त शैक्षिक संस्थाको अभावमा बनारस पढ्न जाने चलन थियो। परिवारले नचाहदा नचाहदै पनि म दश उप्रान्तको संस्कृत अध्ययन गर्न बनारस जाने तयारीमा थिए। प्रस्थानको दिन नजिकिदै थियो।
घर छोड्नु अघिल्लो साँझ नारान दाई र म टहल्न भनि सेरा खोला गएका थियौं। घाम पश्चिमतिर ढल्कदै थियो र रात ब्युँझदो। खोला डीलमा घाम डुब्ने दिशातर्फ शितल हावाको अनुभूतिमा मग्न थियौं हामी। त्यो ढल्कदो साँझमा भयको कुनै गुन्जायस थिएन मेरो हृदयमा। घर र देश छोड्ने अघिल्लो दिन भावनाहरु सम्झनाको तरेलीमा अतित तर्फ उन्मुख थिए। बालापन, मस्तता, नारान दाईको किस्सा, ऐठन आदि विविध छालहरुमा म तैरिरहेहे लामो समय, खोला किनारमा।
नारान दाई एकदम मौन थिए आधा डुबेको घाम हेर्दै, जसको प्रकाश नारान दाईको निधार र कपालमा टल्किरहेको थियो। नारान दाई अचानक सुक्क सुक्क गर्न थाले। मेरो हातमाथी उनको हातको चिसोपन म महसुस गर्न सक्थे, ठ्याक्क बालापनको सपनाको जस्तै चिसो।
"केदार बाबु, तिमीलाई थाहा छ मलाई तिम्रो किन औधी माया लाग्छ?"
मैले थाहा नहुनुको संकेत गरे।
"तिमीलाई हेर्दा मलाई संधै मेरो छोराको याद आउँछ"।
खोलाको सुसेली झन् तिब्र भयो। जीवनमा प्रथम पटक नारान दाई केही खोल्दै थिए। मेरो कान एकटकले उनको शब्द ताकिरहेको थियो।
"सानो छंदा मेरो छोराको जस्तै थियो तिम्रो आँखीभौं। हावा चल्दा तिम्रो जस्तै गरी हल्लिन्थ्यो त्यसको कपाल। अहिले बाँचिरहेको छ भने ठ्याक्क तिमी जत्रै भएको होला"।
आश्चर्य भावमा म प्रश्न गर्न नसक्ने गरी अदब बने, बर्षौपछी रहस्य खुल्दै गर्दा।
नारान दाईलाई पहिलो चोटी यति भावुक रूपमा देखेको थिए। म एकदम अवाक बनेर उनलाई सुनिरहने मुद्रामा थिए। अनुहार आज एकदम मलिन भएको थियो। यात्रा बिर्सिएको यात्रुको झैं, सपना भुलेको तन्नेरी झैं।
घाम डुबेर चुकझैं पोखिएको थियो अँध्यारो। आकाशमा तिर्मिर तिर्मिर तारा उम्रिदै थिए।
नारान दाईको मुहारमा छाएको अबोधता, निरीहता र अक्षमताले मेरो अन्तर कुन्तरमा अनेक लहरहरु उमारेको थियो, धेरै अतितका कायाँहरु पखाल्दै थियो। मलाई छोराको स्मृति र वर्तमानसंग स्थापित गर्ने उनी अब बिस्तारै हृदयको तालमा नुहाएको भिक्षुझैं देखिएका थिए। छेउमा म एकदम निशब्द ।
"दिग्दार लाग्दैन नारान दाई आफ्नो जीवन देखी?" मैले सहजता पूर्वक सोधे।
“लाग्दैन, किन लाग्नु र? जीवनलाई दुई तरिकाले बाँच्न सकिन्छ बाबु! एउटा प्रत्येक घटना परिघटनासंग जुधेर, प्रतिकार गरेर, घोर असन्तोष पोखेर अनि अर्को तर्फ नियतीलाई स्वीकार्दै धैर्यवान् भएर।“
"धैर्यता त आत्म-समपर्ण भएन र?"।
“यिनै दुईले एकार्कोमा परिपुरक भएर काम गर्छन् प्रत्येकको जीवनमा। हामी सबैलाई दिने कुरा जीवनसंग एकैखाले छन्। त्यहीं जीवनले दिने आयामहरुमा हामी बाच्ने गर्दछौं। उही दुई तरिका अपनाएर।“
"अनि परिणाम?"
“प्रथम तरिकाको जीवनले जीवनप्रति लालसा बृद्धी गर्दछ। बाच्ने रहरलाई क्रमिक रूपमा बिभिन्न रंगले सिंगार्छ र अन्त्यमा पून: दोश्रो तरिकामा आश्रय लिन्छ जीवनले अनि दोश्रो तरिकाले क्षण-प्रतिक्षण जीवनप्रतिको मोह भंग गराउंदछ तब अतितद्वारा निर्मित वर्तमानले शून्यको प्राप्तिमा परिणती खोज्दछ। तर जीवन त यो सेरा खोलाको जस्तै हुनुपर्छ बाबु: बगिरहने, बाँचिरहने, समयहीन बनेर“।
त्यस साँझ नारान दाईको आत्मा बोलिरहेको थियो। मलाई स्वयम् उनीप्रति अन्यले गर्ने मानवीय टिप्पणी छायाँजस्तै हलुका लागिरहेका थिए। सोचे, यति गम्भीर व्यक्तिलाई यो सानो गाउँले कसरी निचोरेर राख्यो ऊ भित्रको तरलतालाई बुझ्दै नबुझी । आजसम्म उनलाई चिन्न कसरी यति गार्हो भयो व्यक्तिहरुलाई, मलाई?
फर्कदै गर्दा झ्याउकिरीको किर्किरे आवाजबीच उनलाई मैले पछाडीबाट सोधेको थिए।
"नारान दाई, तपाईले आफ्नो श्रीमती र उनको दोश्रो श्रीमानको हत्या गर्नु भएको हो?"
एकछिन टक्क रोकिए उनि, केही बोलेनन् र केही अगाडी पुगेपछि छुट्टियो बाटो।
ढिलो गरि घर पुग्दा सबै जना आत्तिएका थिए। भोली बनारस जाने सबै समान आमाले मिलाईदिनु भएको थियो। लामो बाटो थियो, पोका पुन्तुरोमा बाटो-खाजा बनाई हालिदिनु भएको थियो।
खाना खाईसकेर नारान दाईको दार्शनिकता अनि बनारस र भविष्यको कल्पना गर्दा गर्दै थाहै नपाई निदाएछु।
___________________________________________________________
टाढा टाढा कतै बिरानो ठाउँमा म एक्लै हिडिरहेको थिए, ढुंगा नै ढुंगाको बाटो। आँखाले देख्ने दुरीसम्म सबै दिशातिर सेता-खैरा ढुंगामात्रै, अरु केही देखीदैनथ्यो। खाली खुट्टा खस्रो ढुंगामा हिड्दा हिड्दा एउटा सुन्दर मानवाकृतिको ढुंगा छेउ पुगे। नेपथ्यबाट कसैले "त्यो धैर्यवान ढुंगा हो त्यसको नजिक नजाऊ, त्यो संग कुरा नगर" भनिरहेको थियो। नेपथ्यबाटै अरु कसैले त्यस ‘धैर्यवान् पत्थर’ सामु आफ्नो पिडा गुनासो अपराध इर्ष्या सम्पूर्ण कुरा भन्, ढुंगा र तिमीलाई मुक्ती मिल्छ भनिरहेको थियो। मैले त्यो धैर्यवान् ढुंगा सामु सबै कुरा ब्यक्त गरे। पुण्य, पाप, धर्म, रहस्य लगायत सम्पूर्ण रूपमा म छरपस्ट भएर प्रस्तुत भए। ढुंगाले बिना जवाफ एकतमास सुनि मात्र रह्यो। मेरो दुख:सुख, अपराध, प्रायश्चित, कुण्ठा, चाहना आदि इत्यादिको पहाडलाई सुन्दा सुन्दा त्यो धैर्यवान् ढुङ्गो अचानक दुई टुक्रा हुन पुग्यो।
म एकदम खुशी हुदै फर्कदै थिए। मेरो अघि हातमा फुटेको ढुङ्गो लिएर कोही अघि हिडिरहेको थियो..............।
बिहान उठ्दा मानिसहरु चिच्याउदै यता उति गरिरहेका थिए। बाहिर मानिहरुको ठुलो होहल्ला थियो। परबाट एकजना व्यक्तिलाई ३।४ जनाले काँधमा बोकेर ल्याउदै थिए, सेतो कपडाले बेरेको मानिसको शरीर पुरा ढाकिएको थियो।
“आज राती नारानको सुतेको ठाउँमानै मृत्यु भएछ, अरु केही थाहा छैन। मुकामबाट प्रहरी आउदैंछन् रे”। पिताजीले भन्नु भयो।
_______________________________________________________
बर्षौपछी काशी बिश्वबिद्यालय बनारसमा शास्त्रीको अन्तिम परिक्षा दिईरहदां एकदिन घरबाट चिठी आयो।

मिती: २०३५।०४।०२

प्यारो छोरा,
केदार

यहाँ हामी दुवैलाई सन्चै छ। तिम्रो अन्तिम चिठी पढेर तिम्रो पढाई सकिन लागेको थाहा पाउँदा हामी एकदमै हर्षीत छौं। तिमी गएको पनि ५ वर्ष हुन लागेछ अब अध्ययन सकाएर देशको सेवा गर्न फर्किनेछौँ भन्ने आशा छ।
तिमी गएको १ बर्षपछी नारानको श्रीमती र उसको दोश्रो श्रीमानलाई प्रहरीले करिब २६ बर्षपछी जनकपुरमा पक्रिएको छ। उनीहरु भोजपुरबाट बिहे गर्न भनी भागेको र जनकपुरमानै बर्षौसम्म लुकेर बसेको स्पष्टीकरण दिएका रहेछन्। थप अनुसन्धान भईरहेको छ। खबर सुनेर तिमी पक्कै छक्क पर्नेछौ।
तिम्रो आगमनको प्रतिक्षामा।

उही तिम्रो,
बुवा
लोक बहादुर थापा

धरान-२२, ठिङ्गाबारी

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु