शुक्रराज शास्त्रीको चस्मा : राजनीतिक चेतका कथा

- समीरबाबु कट्टेल

कथाकार राजेन्द्र पराजुलीको पछिल्लो कथा संग्रह हो । २० वटा छोटा/मीठा कथाहरू संग्रृहीत किताबमा कथाकारले भोगेको समय बोलेको छ । धेरैजसो कथाहरूमा राजधानी र वरपरको काँठ छर्लंगिएको छ । सामाजिक एवं सांस्कृतिक परिवर्तन उदांगिएको छ । कथाकारले आफ्ना अघिल्ला तीन कथा संग्रहमा जस्तै यो चौथो संग्रहका कथामा पनि समकालीन राजनीतिप्रति तीखो कटाक्ष गरेका छन् ।
किताबमा पत्रकारले भोगेका कथा छन् । वृद्धवृद्धाका व्यथा छन् । भूकम्पपछि भित्रिएका विकृतिहरू छन् । राजनीतिक विसंगतिप्रति व्यंग्य छ । भुइँफुट्टा स्वामीहरूको चर्चा छ । विगतको सशस्त्र द्वन्द्वका चर्‌याउने घाउहरूको नालीबेली छ । प्रेमलाई परिभाषा गर्ने अलग शैली छ । राजनीतिक दलका कार्यकर्ताहरूको रोदन छ ।
साहित्यकार र पत्रकार सम्बन्धको व्याख्या छ । त्यस्तै किताबमा देशको सामाजिक अवस्थाप्रति कटाक्ष गरिएको छ । शारदामैँको यौन उत्कण्ठाका माध्यमबाट राजधानीस्थित व्यस्त समाजको चित्र कोरिएको छ । पञ्चायतदेखि गणतन्त्रसम्मको दुरवस्था देखाइएको छ । विषय, धारा र प्रयोगका आधारमा कथाहरू रोचक छन् । कथाहरूमा काठमाडौं बोलेको छ, यद्यपि तराई र पहाडी परिवेश पनि नजोडिएका होइनन् ।
समयान्तर कथाले हरेक पाठकलाई छुन्छ, छुन्छ । समाचार लेखेकै कारण रत्नकुमारले जागिर गुमाउँछ । उसको चुलिँदो चर्चा र पेसाप्रतिको लगाव माथि प्रश्नहरू तेर्सिएका छन् । बजारमा चलेको खानेतेलमा भएको मिसावटबारे उसले समाचार लेखेको थियो । निकै लामो अनुसन्धान र मेहनतपछि लेखिएको उक्त समाचार बजारमा निकै बिकेको छ । यो घटनापछि प्रकाशक, सम्पादक र तेल मालिकको संयुक्त बैठकले उसको जागिर खाइदिएको छ ।
उनी लेख्छन्, 'रत्नकुमारले चार महिनादेखि तलब पाएको थिएन । आफूले लिन बाँकी रकम पाएपछि काम छाड्ने उसले त्यहाँ भएका सबैका सामु भन्यो । सम्पादकले हिसाबकिताब गर्‌यो र रत्नकुमारलाई कागजमा सही गराएर तेल उद्योगको मालिकलाई कागज दियो । रत्नकुमार अवाक् हेरिरह्यो मात्रै । तेल कम्पनीको मालिकले पैसा रत्नकुमारको हातमा राख्दै भन्यो - 'धेरै देखेँ तँ जस्ता बेवकुफ पत्रकार !' यसले नेपाली पत्रकारिताको एउटा गुह्य खोतलेको छ ।
'वृद्धा श्रम' कथाले सहरको एउटा मुख्य समस्या केलाएको छ । यो काठमाडौं जस्ता सहरको पेचिलो समस्या पनि बन्दै गइरहेको छ । पाँचवटा सक्षम छोराहरूको बाबु गजेलाई श्रीमती खसेको वर्ष दिन पुग्न नपाउदै जबर्जस्ती वृद्धा श्रम पुर्‌याइएको छ । यसमा उसका छोरा र बुहारीहरूको खुसी जोडिएको छ । गजे र उसका अवकाश प्राप्त तीन भाइ दौंतरीहरूको उठबस हराएको छ । उनीहरूको खुसी खोसिएको छ ।
गजे आफ्नो पेन्सन र वृद्धभत्ता सोझै आश्रममा जम्मा हुने व्यवस्था मिलाइदिन छोरालाई आग्रह गर्छ । उता उसको लगौटिया ईश्वरमान स्वास्नीलाई भन्छ, 'यस्ता छोरा हुनुभन्दा त कोख बाँझो भएकै जाति ।' सही थप्दै स्वास्नीले भन्छे, 'कम्तीमा हामीलाई घिसार्दै वृद्धा श्रम लैजाने त कोही छैन् । भगवान्लाई धन्यवाद, हामीलाई सन्तान नदिएकोमा ।' कथाले जो कसैलाई सोच्न बाध्य बनाउछ ।
'गुलाफी कोट' गजबको कथा हो । समकालीन राजनीतिप्रति तीखो प्रहार छ । सोझा कार्यकर्ताको सपना र सत्तामा पुगेपछि नेतामा पलाउने अहम्लाई सरल ढंगले बताइएको छ । कथा पठनीय छ । 'मेटामोर्फोसिस' अर्को उत्कृष्ट कथा हो । यसमा मान्छेमा उत्पन्न हुने परिवर्तनप्रतिको मोह र भुकावलाई देखाउन खाजिएको छ । 'काठमाण्डु गीत' काठमाडौंको कथा हो, सहरको व्यथा हो । कथामा डिप्रेसनको सिकार भएको पत्रकारको नालीबेली छ । त्यसको कारण र निराकरण खोजिएको छ । यो सहरिया युवा पुस्तामा बढ्दै गएको समस्या पनि हो ।
शीर्षकथा 'शुक्रराज शास्त्रीको चस्मा सामयिक र सान्दर्भिक छ । यसमा सहिद शब्द र च्याउसरि पलाएका सहिदहरूप्रति व्यंग्य गरिएको छ । राजनीतिक दलहरू प्राकृतिक मृत्युवरण गरेका र आत्महत्या गरेका व्यक्तिलाई समेत सहिद घोषणा गराउन कसरी लागि पर्छन् भन्ने कुरा देखाइएको छ । मधेसमा मौलाएको यो प्रथाले समकालीन राजनीति र सामाजिक अवस्थाको तीतो यथार्थलाई कटाक्ष गरिएको छ ।
शुक्रराज शास्त्रीको सालिक छेउमा भेटिएको लासको सरकारले सहिद घोषणा गरुन्जेलसम्म पनि हुलिया खुलिसकेको हँदैन । अन्तिम अवस्थामा झुल्किएका मृतकका बाबुलाई एक राजनीतिक दलका नेताले हात लिन्छन् । सरकारबाट प्राप्त हुने दस लाख दुई भाग लाग्ने बताउँछन् । यो कथाले समकालीन राजनीतिको गम्भीर पक्ष उतारेको छ, यथार्थ बताएको छ ।
किताबमा कथाकारले भोगेको समय र राजनीतिक घटनाक्रमप्रति व्यंग्यात्मक दृष्टिकोण छ ।
यसमा कथाकार पराजुली कुनै दल वा समूहप्रति न त लेपासिएका छन्, न त छुट्टिएर अलग्गै बसेका छन् । यसबाट प्रवक्ता बन्ने वा आलोचनामात्र गर्ने लेखकहरूका लागि गतिलो पाठ बनेको छ । सामाजिक विकृति, विसंगति, कुरीतिहरूप्रति उनी सुधारको चाहना राख्छन् । यौन, पे्रमलाई पनि जीवनको अभिन्न पाटोकै रूपमा लिन्छन् उनी । देशमा भएका हरेक खाले परिवर्तनप्रति उनको समर्थन नै देखिन्छ ।
किताबको भाषा सरल छ । मात्राहरूमा तलमाथि भएको निकै भेटिन्छ । एउटै पात्रको नामका पछाडि कतै कुमार फँदो लगाइएको छ भने कतै प्रसाद । यसले पाठकलाई अलमल हुन्छ । कथाकारको शैली आफ्नै छ । कतिपय कथाको टुङयाउनीमा मजाक भेटिँदैन । धेरैजसो कथामा कथाकार आफैं पात्रको रूपमा उभिइदिनाले कथाहरू रोचक पनि भएका छन् । संवेद्य छन् । उनी कतै निकै खुल्छन्, कतै भावुकतामा डुबुल्किन्छन् ।
सबै कथाहरू उत्तिकै वजनदार छैनन् । कुनै निबन्धात्मक प्रवृत्तिका छन् भने कुनैमा निजात्मक बाहुल्य पाइन्छ । उनी वाक्यहरू बुन्नमा सिपालु छन् । अखबारी लेखनमा समेत छिप्पिएको उनको कलम अलि बढी त्यतै ढल्किएको छ ।
पेजः १७७
प्रकाशकः सांग्रिला पुस्तक प्रालि
मूल्यः २५०

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 9 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु