म को हुँ?

- भूधरा उपाध्याय

उसले मेरो समाइरहेको हात बिस्तारै आफूतिर तान्यो। म चुम्बकजस्तै उसँग टाँसिन पुगेँ। मेरो अनुहारमा छरपस्ट भएको कपाल हटायो। निधारमा चुम्यो। कहिलेदेखि मायाको प्यासमा छट्पटिएको थियो कुन्नी उसको आत्मा। म उसको अगाडि नतमस्तक थिएँ। उसले दुबै गालामा पालैपालो चुम्यो । उसको अोठ मेरो अोठमा जोड्यो। केही क्षण मै उसको जिब्रो मेरो जिब्रोमा चलमलाउन थाल्यो। मेरो दिनको चयन, रातको नशा एक मात्र तिमी हौ। उसको आवाजमा सन्तुष्टिको भाव झल्कन्थ्यो। मैले बोल्ने कोसिस गरेँ तर कुनै शब्द भेटिन। मौनताले नै सबै उत्तर दिइरहेको थियो। ऊ मभित्र अझ भित्र समाहित हुदैथियो। म ऊसँगै आनन्दको उचाइमा तैरिदै थिएँ।

यसै समय हो, मैले उसको आँखामा सन्तुष्टिको भाव देखेको। मुनाले आफ्ना शब्द यहीँ रोकी।

'ए मुना ! भन्न अरु पनि किन चुप लागेकी?' मैले प्रश्न गरेँ।

ऊ एक तमासले कतै हेरि रहेकी थिई। उसका आँखा कहीँ अल्झि रहेका थिए। मैले झक्झकाउदै सोधेँ -'मुना के भयो? एकै छिनमा काहाँ पुगिस्?'

'काहीँ होइन', भन्दै ऊ सामान्य बन्न खोजी तर उसका आँखामा निराशाका भावहरु प्रष्टै देख्न सकिन्थ्यो।

उसले बिस्तारै भन्न शुरु गरी- हाम्रा दिन रमाइलोसँग बितिरहेका थिए। म उसको साथमा यसै यसै रमाइ रहेकी थिएँ। न दिन बितेको पत्ता हुन्थ्यो, न त रात नै। कहिलेदेखि घर धन्दामा व्यस्त हुन थालेँ पत्तै भएन। विहान उठ्यो कुचो समात्यो। चिया नास्ता अनि भातभान्सा फेरि दिउँसोको खाजा अनि उही भात भान्सा, सधैँ एकै किसिमको रुटिन। मेरा आँखाले कहिलेदेखि ती प्रेमिल आँखाको स्पर्श पाउन छाडेछन्? म काममा यति व्यस्त भइछु कि सबथोक पछि छुटिसकेछन्।

छोरी हुर्की सकेकी हुनाले मलाई खाली समयको सदुपयोग गर्ने इच्छा लाग्यो। उमेर पुगिसकेका महिलाहरु जो विविध कारणले विद्यालय छोड्न बाध्य भएका हुन्छन्, उनीहरुलाई दोस्रो मौका दिन यही वयस्क महिला पढाउने विद्यालय खुलेको रहेछ। यसैमा म पढाउन थालेँ ।

'त्यो त मलाई थाह छ।' मैले भनेँ। ऊ चाहिँ चुप लागी।

त्यसै बेलादेखि मुना र‌ म साथी भएका हौँ। मुनाको सहज व्यवहार र सम्झाउन सक्ने क्षमताका कारण सबै विद्यार्थीले उसलाई मन पराउँथे। ऊ हाँसी हाँसी विभिन्न हाउभाउ र नयाँ नयाँ कुरा सुनाउदै पढाउथी। पौढा अवस्थाका विद्यार्थी भएकाले हामी सबै उनीहरुलाई तपाई कै सम्बोधन गर्थ्यौँ।

मुनाको दुई/ तीन दिनदेखि नियान्याउरो अनुहार देखेर मलाई नराम्रो लागिरहेको थियो। धेरै पल्ट के भयो भनेर सोधेँ तर उसले केही होइन भनेर टारिदिन्थी। एक दिन त मैले पनि तँलाई पक्कै केही भएकोछ मलाई नभनेर कस्लाई भन्छेस् छिटो भन् भनेर कर गरेँ। मेरो जिद्दीको अघि उसको केही लागेन अनि बल्ल भन्न शुरु गरी _

एक दिन म नौ कक्षामा पारिजातको जीवनी पढाइ रहेकी थिएँ। पारिजातको कमजोर स्वास्थ को वावजुद पनि साहित्यप्रतिको लगाव बयान गर्दै थिएँ। सोही प्रसंङ्गमा झमक कुमारीको कुरा उठाएँ। गरे के हुदैन र? जन्मजात शारीरिक दुर्बलता भएर पनि उनले आफ्नो कोशिश छाडिनन्। अहिले उनले समाजलाई अद्वितीय साहित्यिक कृतिहरु दिइ सकेकि छन्। अपाङ्गता भएकाहरुका लागि मात्र होइन तपाई हामी सबैका लागि उनी प्रेरणाकी स्रोत हुन्। तपाई हामी सबैले उनीबाट सिक्ने कुरा धेरै छन्। एउटा लक्ष्य लिएर अघि बढ्यो भने अवश्य सफल भइन्छ। सबै कुरा हामीजस्तै मान्छेले त गरेको हो नि तर उनी हामी जत्तिकी भाग्यमानी थिइनन्। उनको शरीर हाम्रोजस्तो तन्दुरुस्त थिएन भन्दै गहकिला तर्क दिदै थिएँ। त्यतिकैमा एउटी विद्यार्थी गीता जो मभन्दा उमेरमा ठूली थिइन्। उनले केही लजाउँदै र हल्का डराउँदै भनेकी थिइन् -'मिस मलाई धेरै दिनदेखि तपाईसँग एउटा कुरा सोध्न मन लागेको थियो तर रिसाउनु हुन्छ कि भनेर सोध्न सकिन। आज सोधुँ है?'

'लौ आज मौका‌ मिलेछ त सोध्नु न' मैले पनि सहजै भनिदिएँ।
उनले केही लजाउदै अलिकति शिर निहुर्याएर सोधिन्-' मिस तपाई यो उमेरमा त यति राम्री हुनुहुन्छ, जवानीमा कस्ती हुनुहुन्थ्यो? नराम्रो नमान्नु है मिस तपाई साह्रै मिठो बोल्नुहुन्छ र पढाएका कुरा पनि राम्ररी बुझाउनु हुन्छ।'

उनले मलाई फुर्क्याउदै यस्तो प्रश्न सोधेकी थिइन् र मैले पनि रमाएँ झैँ गरी सोधेँ- ' अब मेरो जीवनको कुन अवस्थाको बारेमा सुनाउँ ?'

उनले भनिन्- 'तपाईको जवानीको ।'

मलाई पनि जोश चल्यो। खुव खुसी भएर सुनाउन थालेँ -'जवानी कहिलेदेखि शुरु भयो त्यो त मलाई थाह भएन तर सबैले मलाई नै हेरि रहेको भने बिस्तारै महसुस हुन थालेको थियो। कसैसँग आँखा जुध्यो कि त्यसै त्यसै लाज लाग्थ्यो। यौवनका चिह्नहरु कसैले नदेखुन्जस्तो लाग्थ्यो। सल ओडेर छोप्ने कोशिश पनि गरेकै हो तर छोपेर किन छोपिन्थ्यो र?जब म कलेज पढ्न थालेँ, सबैले मलाई साह्रै राम्री भन्थे। जुन लुगा लगाए पनि साह्रै सुहाएको छ भन्दै हेर्थे। उसलाई जस्तो सुहाए पो किन्नु भन्दै मेरा वरिपरि झुम्मिन्थे।'

'तपाईलाई लभलेटर कति आउँथ्यो?' फेरि उनले लाजै नमानी सोधिन्।

'हा हा हा लभ लेटर ? प्रेमपत्र भन्नुहोस् न। अँ.... धेरै आउँथ्यो। कति प्रेमपत्र त खोल्दै नखोली च्यातिदिन्थेँ। कसैले लेखेको प्रेमपत्रभित्र के के लेखेको रहेछ भन्ने जिज्ञासा लाग्थ्यो र खोलेर पढ्थेँ तर कसैले चाहिँ मलाई प्रेमपत्र लेखोस् भन्ने सोच्थेँ तर उसले कहिल्यै लेख्दै लेखेन मैले हाँस्दै जवाफ दिएँ।'

कलेज पढ्दा पढाइको बाहेक केहीको चिन्ता थिएन। खायो, खेल्यो दिन रमाइलोसँग बितिरहेको थियो। कलेज पढ्दा पढ्दै मेरो विवाह भयो। सभ्य सुशिल पुरुष पतिको रुपमा पाएकी थिएँ। विवाहको एक वर्षभित्र नै छोरी जन्मिइन्। घरका काम त यथावत नै छदै थिए त्यसमाथि छोरीको हेरचाह थपियो। छोरी बिस्तारै हाँस्न थालिन्। ताते गर्दै हिड्न थालिन्। उनको पहिलो बोली 'पापा' थियो। उनलाई कतिबेला भोक लाग्छ, कतिबेला उनका ड्याडी घर आउँछन्, घरको के काम बाँकी छ, त्यतिकैमा समय बित्थ्यो। उनी निदाएको बेलामा नै सबै काम सक्काउनु पर्थ्यो नत्र केही काम भ्याए पो !

'मिस तपाईका बारेमा भन्नुहोस् न छोरीको बारेमा होइन।' मलाई बिचैमा रोकेर उनले भनिन्।

बोल्दा बोल्दै म अड्किएँ। के भनौँ के भनौँ भयो। सबै विद्यार्थी मैले के के नभन्छु भनेर मेरै मुख ताकेर बसेका थिए तर मैले मेरा बारेमा केही पनि बताउनै सकिन । एकछिन चुप लागेँ । मलाई त घरका सबै सदस्यका बारेमा सबै कुरा थाह रहेछ तर मेरो आफ्नो बारेमा केही पनि थाह रहेनछ। सम्झिने धेरै कोशिश गरेँ तर पत्ता लाउन सकिन। खानु, बस्नु र हिड्नुजस्ता काम त सधैँ नै गरिरहेकी थिएँ। तर पनि मैले आफ्नो उपस्थिति काहाँ थियो थाहा पाइन। विद्यार्थीको अगाडि अलमल्ल पर्न भएन त्यसैले मैले उनीहरुलाई पुन: पाठतर्फ नै केन्द्रित गरेँ।

कक्षाबाट निस्कदा म शून्यप्राय भएँ। आँखा त्यसै रसाएर आए । घर फर्कदाँ बाटोभरि मैले एक्काइस बर्षदेखि चालीस बर्षभित्रको जिन्दगी कसरी बिताएँ भनेर सोचेँ । मलाई आफ्नो बारेमा याद भएन। अहँ जति कोशिश गरे पनि मेरा ती समयमा म कस्ती थिएँ सम्झिन सकिन।

घर अाएँ। एकछिन सोफामा चुपचाप बसेँ। मनलाई शान्त पार्न खोजेँ तर सकिन। उठेर फ्रिजमा राखेको चिसो पानी घुट्क्याएँ। फेरि सोफामा आँखा चिम्लिएर बसेँ। मलाई कलेज पढ्दा गुलाबी रङ्गको लुगा खुबै मन पर्थ्यो । ठूलै कुरा याद भएजस्तो लाग्यो। आफूलाई मन परेको रङ्गका लुगा कतिजोर रहेछ मसँग हेर्न मन लाग्यो। त्यो रङ्गको लुगा लगाउँदा म कस्ती देखिदी रहिछु , एेनामा निहार्न मन लाग्यो। मैले दराज खोलेँ। एक एक गर्दै सबै लुगा भूईंमा खसाले। बल्ल एउटा लुगा गुलाबी रङ्गको भेट्टाएँ । त्यसलाई ओल्टाइ पल्टाइ हेरेँ। धेरै ठूलो कुर्ता रहेछ, अहिले त मजस्ता दुईजना सजिलै पस्न मिल्ने। कहिलेको लुगा होला सम्झने कोशिश गरेँ । धेरै सोचेँ तर पत्ता लाउन सकिन। पुरानो एल्बम निकालेँ। त्यही कुर्ता लाएर छोरी काखमा च्यापेको फोटो भेट्टाएँ। बल्ल थाह पाएँ कि त्यो लुगा त सुत्केरी भएपछि धेरै मोटाउँदा लगाएको पो रहेछ। अहिले मेरी छोरी नै उन्नाइस वर्षकी भइसकी।

त्यसपछि आफूलाई मन पर्ने रङ्गको एउटा पनि लुगा किनिनछु? आश्चर्य !! धेरै लुगा त मेरा पतिलाई मन पर्ने रङ् हल्का नीलो र क्रिमी पो रहेछन्। मेरी सासूआमा बुहारीले रातो लाओस् भन्नु हुन्थ्यो, रातो‌मात्रै ५/६ जोर रहेछन्।

'यतिका वर्ष मैले आफूलाई‌ मन पर्ने रङ्गको कपडा समेत किनिन ?' मनमनै आफैलाई‌ प्रश्न गरेँ ।

फेरि सोचेँ म बच्चामा के के खान्नथेँ। याद आयो तिते करेलाको तरकारी आमाले फकाउँदै भागमा हालि दिएको। यस्तो तितो पनि तरकारी हुन्छ? मैले आमालाई नै प्रश्न गर्थेँ।जति फकाए पनि त्यो करेला मरिगए खान्नथेँ। तर मेरा पतिलाई मन पर्ने करेला कसरी र कहिलेदेखि खान थालेँ? मलाई पत्तै छैन। मेरो जिब्रोको स्वाद फेरिएको मैले नै चाल पाइन? म आफैँसँग जिल्ल पर्दै गएँ।

'किन चुप लागेकी मुना? अरु पनि भन्न' मैले कर गरेँ।
मुना बिस्तारै बोली- खै के भनौँ साथी? म त आफूलाई चिन्नै छोडिसकिछु। म को हुँ? म के गर्न चाहन्छु? मेरा इच्छा र रहर के हुन्? मेरो अस्तित्व के हो? मैले यो धर्तीमा जन्म लिएको सार के हो? आफ्नो लागि त कहिलै बाँचिनछु । म सासूकी बुहारी, पतिकी पत्नी अनि छोरीकी आमा हुँ तर यति मात्रै हुँ त म? यति नै म हुँ भने किन मन अशान्त छ? किन मन खाली खाली छ?

मुना एकोहोरो केही सोचिरही। 'तँ किन यसरी निरास भएकी?' मैले सोधेँ।

'मलाई म हुनुको अस्तित्व बोध गर्नु छ ।' उसले मतिर नहेरी जवाफ दिई।

'मुना तँ यस्ता कुरा नगर्। जिन्दगी रमाइलो छ त्यसलाई महसुस गर्। सबै नारीले जीवनका कुनै कालखण्ड यसरी नै बिताएका हुन्छन् त्यसैले त नारीलाई त्याग र ममताकी खानी भन्छन् नि।' मैले सम्झाएँ।
*****
नारी माया र समर्पणकी खानी हुन् तर माया र समर्पण कुन हदसम्म गर्ने? मुनाले आफू विलिन भएर आफ्नो अस्तित्व नै मेटिने गरी गरेको सेवामा उसको उपस्थिति काहाँ छ? धेरै समयसम्म यस्तै के के कुरा मात्र दिमागमा आइ रह्यो।

मुना त्यसको भोलिपल्टदेखि स्कुल आउन छोडी। लगातार सात दिनसम्म स्कुल नआएपछि फोन गरेँ। उसको मोबाइल स्वीच अफ रहेछ। उसको घरमा फोन गरेपछि थाह भयो कि मुनालाई त मानसिक हस्पिटल पो राखिएको रहेछ। हामी दुई चारजना साथीहरु मिलेर हस्पिटल पुग्यौँ। ऊ बिछ्यौनामा सुतेकी थिई। उसका हात खुट्टा त्यहीँ बिछ्यौनाका डण्डीमा बाँधिएका थिए। उसको निधारमा स्पर्श गर्दै‌ मैले सोधेँ _'मुना ! के भयो?'

उसले मलाई पुलुक्क हेरी। आँखा रसिलो बनाई। बिस्तारै फस्फुसाई _ 'म को हुँ?'

'तँ ... तँ... मुना मेरी साथी' _ मेरा पनि आँखा टिलपिल भए।

हामीलाई नर्सले धेरै बोल्नु हुदैन भनेर बाहिर पठाइन्।मैले उनको हात सुम्सुयाएँ। मुनाले मेरो हात समाएर छोड्नै मानिन। नर्सले हाम्रा हात छुटाइदिइन्। हामी बाहिर निस्कियौँ। तर मुना भने रुदैे चिच्याइ रहेकी थिई _ 'म को हुँ ? मेरो अस्तित्व के हो? मेरो जन्म किन भएको हो? मलाई यसरी बाँधेर नराख। म सत्यको खोजी गर्न चाहन्छु।'

हामीले ढोकामा उभिएर मुनालाई हेर्यौँ। ऊ धेरै छटपटाइ रहेकी थिई। हातखुट्टा तान्दै उठ्न खोज्दै थिई। यत्तिकैमा नर्सले उसको पाखुरामा एउटा सुई घोचिदिइन्। मुनाको आवाज बिस्तारै बिस्तारै कम हुदै गयो। ऊ धिमा गतिमा सोधिरहेकी थिई _ म...को....हुँ ......?
मेरो मोबाइलमा घण्टी बज्यो। एकछिन स्क्रिनमा हेरेर टोलाएँ। फोन उठाउँ कि नउठाउँ दोधार भएँ। फेरि आफूलाई सम्हालेँ। स्क्रिनमा प्रष्टरुपमा मुना नाम चम्किरहेको थियो। उसँग सम्पर्क नभएको छ महिना बितिसकेको थियो। 'हेलो!' म बोलेँ।
'विश्वास लागेन ? म मुना ।' उताबाट प्रष्ट आवाज आइरहेको थियो।
मुना... तँ.....तँ कहिले ?
बीचैमा मेरा कुरा काटेर बोली 'भोलि शुक्रबार स्कुल छिट्टै बिदा हुन्छ। मेरो घरमा आइज न है ।' उसको श्वरमा आग्रह मिसिएको थियो।

म केही सोच्दै थिएँ तर पनि मुखबाट फुत्किहाल्यो _ हुन्छ भोलि भेटौँला है त । पक्का है भन्दै फोन उसैले काटिदिई।
मलाई त्यो दिन बिताउन हम्मेहम्मे पर्यो। किन बोलाई ? के भयो होला? कतै ऊ पुरै पागल त भइन? सोचाइ त हो नि घरि राम्रो सोच्थेँ घरि नराम्रो।

भोलिपल्ट जब म उसको घरमा पुगेँ, उसलाई देखेर चकित भएँ। हल्का पिङ्क रङ्गको कुर्ता सुरुवालमा सजिएकी मुना सोही रङ्गको मेकअपमा साह्रै खुलेकी थिई। यसभन्दा अघि मैले उसलाई कहिल्यै यस्ति चञ्चल र फरासिली देखेको थिइनँ। मलाई देख्नासाथ मेरो हात समातेर तान्दै बैठक कोठामा पुर्याई। मलाई एकछिन बस्दै गर् है भन्दै भान्सातिर लागी। बैठक कोठा पहिलाकोभन्दा आकर्षक देखिन्थ्यो।। त्यहाँ नयाँ नयाँ पेन्टिङ चित्र झुण्ड्याएका थिए। एउटा आकर्षक पेन्टिङले मलाई तान्यो। बिस्तारै उठेँर त्यतैतिर लागेँ। आहा! साह्रै राम्रो।

यो चित्र मुनाले बनाएको हो भन्ने जान्न मलाई धेरै समय लागेन किनकी चित्रको तल्लो भागमा लेखिएको थियो मुना।
'तँ स्कुलबाट सिधै आएकी छस् लु खाजा खा।' प्लेट भरि खाने कुरा लिएर मुना मुस्कुराई रहेकी थिई।

'मुना तँमा यस्तो परिवर्तन कसरी आयो?' मैले छक्क पर्दै प्रश्न गरेँ।
मेरो हात तान्दै सोफामा बसाई अनि खाजाको प्लेट मलाई समाउन दिदै भन्न शुरु गरी _ तिमीहरु हस्पिटलबाट फर्केकोसम्म याद छ मलाई। त्यसपछि कति दिन कति रात मलाई लठ्याउने औषधि दिइयो थाह छैन। जतिबेला निद्रा खुले पनि मेरा पतिका आँखा मलाई नै निहारी रहेको पाएँ। उसका आँसु सुकेका सुख्खा आँखा, फुङ्ग उडेको अनुहार, निद्रा नपुगेको जस्तो निन्याउरो अनुहार देख्दा म भक्कानिन्थेँ । उसले मेरा हात समाउदै के भयो तिमीलाई भन्दा मेरा आँखामा आँसु चुहिन्थे तर पनि म को हुँ भनेर उसैलाई प्रश्न गर्थेँ। उसको आवाज गाँठो परेर प्रस्फुटन नभएको धेरैचोटी याद गरेकी थिएँ मैले।

त्यो दिन उसले मेरो हात दह्रो गरी समात्यो। तँलाई केको अभाव छ? तैले जे भन्छेस्, त्यो म गर्छु। म तँलाई धेरै माया गर्छु मुनु। उसका आँखाबाट आँसु चुहे। बर्षौँदेखि नजुधेका हाम्रा आँखा बल्ल चार भए। बिहे भएर आएको पहिलो रात देखेको आँखा। उसका प्रेमिल आँखा मेरा आँखामा अल्झिरहे। उसका आँखाको न्यानो स्पर्श मेरा आँखाले पाइरहे। दुवैका आँखाबाट अविरल आँसु बगे।

मैले उसको हातलाई अझ जोडले समातेँ अनि बिस्तारै सोधेँ - 'म को हुँ?'
तँ एउटी नारी होस्। त्यसपछि पत्नी र आमा होस्। तँलाई थाह छ? नारीको सबैभन्दा ठूलो गुण नै समर्पण हो। तैँले तेरो जीवन शुद्ध मनले समर्पणमा बिताइस्। त्यसपछि तँ एउटी सृष्टिकर्ता होस्। आफ्नो रगतले सिञ्चिएर एउटा भ्रुणलाई तैँले यो धर्तिमा जन्म दिइस्। तेरो अभावमा तेरो आफ्नै मुटुको टुक्राको के हाल होला ? मेरो बारेमा नसोचे पनि उसको बारेमा त सोच्न मुनु।

उसको कुराले मेरो मुटु च्वास्स घोच्यो। आफ्नै पागलपनसँग खिस्स हाँसेँ। कहिले घर जाउँ र छोरीलाई प्यारभरि अङ्गालोमा कसुँजस्तो भयो।

नयाँ सम्बन्धसँगै डोलीमा अन्मिएर आउँदा कुनै दिन आफूलाई नै बिर्सिन्छु भन्ने मैले कहिल्यै सोचेकी थिइन । मभित्रको अहंकार कहिले समर्पणमा विलिन भएछ थाहै पाइन। म सृष्टिकर्ता हुँ ,जननी हुँ भन्ने बुझेपछि मैले आफूलाई धन्य ठानेकी छु। मेरो पुरानो सोख थियो चित्र बनाउने, आज यसैसँग रमाइरहेकी छु।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 8 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु