भानुभक्तको जन्म साल र जन्म कुण्डली

- प्रा.डा. शर्वराज आचार्य

मोतीराम भट्टले “कवि भानुाभक्ताचार्यको जीवन चरित्र (१९४८)” मा वि.संं.१९०९ को फागुन महिनामा भानुभक्तले ८ वर्षको छोरो रमानाथ आचार्यको व्रतबन्ध गरे भनी लेखेका छन् । व्रतबन्धताका भानुभक्तले पनि एउटा छोरो छ, म ४० वर्ष भएँ भनी कविता लेखे्, जस्तै, चालिस वर्ष भएँ म पुत्र पनि एक् मात्रै छ आठ् वर्षको । यस आधारमा भानुभक्तको जन्म साल खोज्न लागियो । मोतीराम भट्ट र पछिल्ला भानु जीवनीकारबिच भानु जन्म सालमा मतान्तर पनि देखियो । मोतिरामले भानुभक्तको जन्म साल वि.संं.१८६९ भनी लेखेका छन् तर महिना, गते र वार लेखेका छैनन् । मोतीरामको भनाइसँग कवितामा उल्लिखित सालको मेल देखिन्छ । वि.संं.१९९८ मा भानुभक्तकी नातिनी विष्णुमायाले “भानुभक्त मणिमाला” भन्ने रामायण प्रकाशित गरिन् । त्यसबाट भानुभक्तका मित्र धर्मदत्त ज्ञवालीका नाति भानुभक्तका शिष्य बोधराज ज्ञवालीका छोरा रङ्गनाथ शर्माले दिएको कविता र कुण्डली जन समक्ष आयो । यसलाई पछिल्ला जीवनीकार, नेपाल सरकार र सामाजिक संस्थाहरुले औपचारिक मान्यता दिए । अहिले यही जन्म कुण्डलीलाई मान्यता दिएर भानु जयन्ती मनाइन्छ । भानुभक्तको द्विवार्षिकी समेत मनाई सकियो । यस्तो अवस्थामा भानुको जन्म सालको खोजी गर्नु निरर्थक छ तर शोध र खोजको यात्रा अविश्रान्त रहेकाले जन्म सालको खोजतलास गर्ने काम गरियो । जीवनीपरक कृतिको पठन, जन्म कुण्डली र पात्राबिच समन्वय, ज्यौतिषीय फलादेश, कुण्डली अध्ययन र भाषाशैली सम्बन्धी ५ वटा कोणबाट जन्म साल र कुण्डली बनाएको कवितालाई हेरियो । विभिन्न कोणबाट हेर्दा पाइएका तथ्य, विश्लेषण र अनुभवलाई यस लेखमा लिपि दिइएको छ ।
भानुभक्तको जन्म सम्बन्धी उल्लेख प्रकाशित जीवनी र जीवनीपरक लेखमा समेत पाइन्छन् । मोतीराम भट्टले भानु जीवनीमा रामदत्त आचार्य र जोतिसी धर्मदत्त ज्ञवालीको भनाइका आधारमा लेखेको हुनु पर्छ । केका आधारमा वि.संं.१८६९ नै भानुभक्तको जन्म साल हो भन्ने कुरा लेखिएको हो, भट्ट लिखित जीवनीमा पाइँदैन । भानु जीवनीका मूल स्रोत रामदत्त र सोधखोज एवं जोतिसी सम्बन्धी स्रोत धर्मदत्त भएकाले मोतीरामले लेखेको जन्म सालका स्रोत पनि यिनीहरु होलान् भन्न सकिन्छ । वि.सं. १९०९ मा कुमारी चोकमा भानुभक्त थुनिएको घटना र यो जन्म सालबिच मेल देखिन्छ । वि.संं.१९९८ मा प्रकाशित भानुभक्त मणिमालाको जन्म कुण्डली र कवितालाई आधार मान्ने हो भने यस्तो मेल देखिँदैन । पछिल्ला जीवनीकारले भानुभक्त मणिमालामा उल्लेख भएको जन्म साल १८७१ असार महिना २९ गतेलाई आधार बनाई भानु जीवनीका घटना उल्लेख गरेका छन् । मोतीरामपछि भानुका वंशज आचार्यहरुले नै भानु जीवनी लेखेछन् । वि.सं. १९६९ तिर मोतीरामकै अनुसरण गरी लेखे पनि शम्भु प्रसादकृत भानु जीवनी वि.सं. २०४९ तिर प्रकाशनमा आयो ।
विष्णुमाया वा रङ्गनाथ शर्माले मोतीरामकृत जीवनीको भानु जन्म साल वि.संं.१९६९ माथि कुनै टिप्पणी गरेनन् तर भानुभक्त मणिमालामा कुण्डली र जन्म कुण्डलीको कविता प्रकाशित गरे । धनञ्जयको मृत्यु साल (वि.संं.१९०१ वा १९०४) र नरनाथ उल्लिखित भानुभक्त कुमारी चोकमा थुनिए भनिएको १९११ साललाई यस कुण्डलीलाई दाँज्दा बेमेल देखिन्छ । पुष्कर शमशेरले वि.संं. २००५ को कार्तिक १५ को नेपाली शिक्षामा धनञ्जयको मणिकर्णिका घाटमा मृत्यु भएको उल्लेख गरेका छन् । अहिले नपाइने त्यस पत्रमा केवल पौष बदी ५ रोज १ थियो भन्ने उल्लेख छ । तत्कालीन पात्रोसँग भिड्याउँदा वि.सं.१९०० देखि वि.सं. १९१२ भित्र वि.सं.१९०१ र वि.सं.१९०४ मा मात्र क्रमशः पौष १७ र १३ गते वदी ५ रोज १ परेको देखियो । नरेन्द्र राज प्रसाईले वि.सं. २०७१ तिर लेखेको भानुभक्त आचार्यको जीवन वृत्तमा यो कुण्डली भानुभक्तको जीवन घटनासँग नमिल्ने भनी तार्किक विश्लेषण गरेका छन् ।
भानुभक्तको जन्म कुण्डली र पात्राबिच पनि तुलनात्मक अध्ययन गरियो । जन्म कुण्डली भानुभक्तले लेखेको भनिएको कविताका आधारमा बनाएको देखिन्छ । कवितामा शाके ३६ आसार २९ गते लेखिएको छ र कुण्डलीका ग्रहस्थितिको वर्णन छ । शाकेमा १३५ जोड्दा विक्रम संवत् आउँछ । त्यस कारण शाके ३६ मात्र देखिएकाले अनुसन्धाता डा. महेश राज पन्तको सहयोगबाट वि.संं.१८७१ असार २९ गते र १९७१ असार २९ गतेको पात्रो हेरियो । किनभने मणिमालाको भानुभक्तको कुण्डली वि.संं.१९९८ मा प्रकाशित भएको थियो । यी दुई सालका पात्रामध्ये वि.संं.१८७१ असार २९गतेको पात्रासँग वार सहित कुण्डलीले मेल खायो । त्यस कारण भानुभक्त मणिमालामा प्रकाशित कुण्डलीलाई आधार मान्दा भानुभक्तको जन्म वि.सं.१८७१ असार २९ गते आइतवार भएको थियो भन्न सकिन्छ ।
ज्यौतिषीय फलादेशबाट पनि कुण्डलीको अध्ययन गरियो । जोतिसी दामोदर नाथ लोहनीले भद्रवीर अधिकारीको “नेपाली कविताका विकासमा भानुभक्त आचार्यको योगदान” भन्ने विद्यावारिधि शोधग्रन्थमा गरेको कुण्डलीका ग्रहस्थितिको फलादेशमा यो कुण्डली भएको व्यक्ति महापुरुष, अध्यात्मवादी, विद्वान्, पण्डित र यशकाय लिने देखिन्छन् भनेका छन् । लोहनीबाट फलादेशका आधारमा यो कुण्डली भानुभक्तकै हो भनेर ठोक्न सकिन्छ पनि भनिएको छ । जोतिसीले कवितामा उल्लिखित ग्रहस्थिति र फलादेश मिलेकाले कुण्डली भानुभक्तको भनेका हुन् । तर यस्तो कुण्डली भएको मानिस कैदमा पर्न सक्ने वा नसक्नेबारेमा फलादेश गरेको देखिएन । त्यसपछि यो कुण्डलीको फलादेश गर्न काठमाडौँ स्वयंभूस्थित वागेश्वरीका जोतिसी मङ्गलदास प्रधानाङ्गलाई लगाइयो । उनले लोहनीले झैँ फलादेश गरे तर भाग्यस्थानमा गुरु बसेकाले यो जन्म कुण्डली भएको व्यक्ति बन्धन वा कैदमा पर्न सक्दैन भने । प्रधानाङ्गको कैद पर्न नसक्ने फलादेशका आधारमा यो भानुभक्तको जन्मकुण्डली होइन ? भन्ने भयो ।
कुण्डलीबाट भानुभक्तको जन्म साल सम्बन्धी अध्ययन भयो । काठमाडौँ ठमेल ज्याठास्थित जोतिसी दामोदर नाथ लोहनीले भद्रवीर अधिकारीको विद्यावारिधि शोधग्रन्थमा गरेको कुण्डली अध्ययन पुनः हेरियो । लोहनीले श्रीशालीवाहन्का समय षडत्रिंशत् गइकन .............. भन्ने श्लोकबाट बनेको कुण्डली जन्मेको बखत्को हो वा अरु नै बखतको हो खुल्दैन, तिथि, वार र स्पष्ट संवत् वा राशीको उल्लेख पनि पाइँदैन, जन्मेकै कुण्डली मानेमा यो भानुभक्तकै कुण्डली हो भन्ने उल्लेख पाइन्न भनेको देखियो । जोतिसीका भनाइबाट यसलाई भानुभक्तकै जन्म कुण्डली मान्न सकिन्न भन्ने बुझिन्छ । मङ्गल दास प्रधानाङ्गले पनि पङ्तिकारसँग कविताका अर्थका आधारमा यस कुण्डलीले भानुभक्तसँग सम्बन्ध नदेखाउने बताए । भानु जन्म कुण्डली जोतिसी धर्मदत्तले सारेको र बोधराजको पालासम्म कुण्डली पुगेको हुनु पर्ने हो । सारेको कुण्डली भए वि.संं.१९४७ तिर लगन टोलको घरमा मोतीराम पुग्दा धर्मदत्तले नै दिनु पर्ने हो । अझै उनका शाखा सन्ततिसँग धर्मदत्तले सारेको भानु जन्म कुण्डली फेला पर्न सक्ने सम्भावना छँदै छ । फेला नपर्दासम्म अद्यापि यो भानुभक्तको जन्म कुण्डली होइन भन्ने आशङ्का र विश्लेषण कायमै रहन्छ ।
कुण्डली निर्माण गरिएको उल्लिखित कविताले भानुभक्तीय भाषाशैली बताउँदैन किनभने यसमा तत्समनिष्ठ शब्दको प्रयोग छ । भानुभक्तले जटिल संस्कृत तत्सम शब्दको प्रयोग गरी कविता लेख्दैनन् । सरल र रोचक भाषाशैलीमा कविता लेख्न सिद्धहस्त भानुभक्तले भर्खरको विद्यार्थी अवस्थामा लेखिएको भनिने यस कवितामा ल्किष्ट ज्यौतिष शब्दको प्रयोग कसरी भयो ? अर्कातर्फ जन्म कुण्डलीको कवितामा भानुभक्तीय भाषाशैली र सहज छन्द प्रवाह पनि छैन । यदि कुण्डली सत्य र भानुभक्त निर्मित भए भानुभक्तको भाषाशैली र सहज छन्दको नजिक रहेर यसरी उनको प्रारम्भिक कविता लेख्न सकिन्छ भनी नेपाली साहित्यका समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले शिष्ट विनोद गर्दै निम्न कविता बनाएको पाइन्छ ः—
श्रि शाली बाहन्को समय अघि त्यो सत्र सयको ।
थियो षड्त्रिंशत्को बरस जब मेरो जनम भो ।।
थियो मैह्ना आषाढ् गुरुजन त भन्छन् मिथुन मास् ।
गते उन्तिस् जाँदा धन लगन मीन् हो जनम राश् ।। १ ।।
घडी एक्तिस्, बत्तिस् पल दिन बिती गोधुलि जु¥यो ।
नछेत्रै पैलो पाउ् पनि हुन गई रेवति प¥यो ।।
जनम्को नाम् मेरो जब हुन गयो दे भनि सुरु ।
दिने देवीभक्तै मकन शुभ नाम् न्वारन गुरु ।। २ ।।
पिताले भानूको व्रत पनि ग¥या बाह्र बरस ।
म ता जन्म्याको हुँ सफल भई त्यै पुण्य तपस ।।
म भानुभक्तैले पढिगुनी गुरु आश्रममाहाँ ।
सिकेँ ज्योतिस् जानेँ ग्रह कुन थिए कुण्डलीमहाँ ।। ३ ।।
जन्म कुण्डलीमा गर्भ सङ्ख्या, बाबुआमाको नाम, नक्षत्रको पाउ अनुसारको जुर्ने नाम, नक्षत्र, योग, योगिनीहरुको नाम समेत हुन्छन् । यस्ता कुरा उल्लेख नगरिएको र ज्यौतिषीय प्रमाण नभेटिएको अवस्थामा केवल कुण्डलीपरक कवितालाई आधार मानी गरिएको भानुभक्तको जन्म साल किटानले साक्ष्य र परीक्षण खोजिरहेको छ । परीक्षणको अवशेष, जोतिसको फलादेश र अभानुभक्तीय भाषाशैलीले जन्म कुण्डलीको आधार मानिएको कवितालाई संशयको घेरामा राखेको छ । यदि मोतीरामले दिएको जन्म साल वि.संं.१८६९ लाई नै सत्य ठान्ने हो भने उक्त संशय नै रहन्न । यो संशय वि.सं. २०७१ तिर “भानुभक्त आचार्यको जीवन वृत्त” लेख्ने आधुनिक मोतीराम नरेन्द्र राज प्रसाईमा देखिँदैन । तर अझै पनि भानुभक्तको जीवनीपरक कृति पठन, तत्कालीन पात्रो र कुण्डलीको तुलना, ज्यौतिषीय फलादेश र भाषाशैलीका आधारमा वि.सं. १९९८ मा प्रकाशित “भानुभक्त मणिमाला” को जन्म कुण्डलीको तथ्य खोजी विस्तृत अध्ययन र विश्लेषण हुन सक्ने देखिन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 7 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु