पूर्वका दर्शनको विकास प्रक्रिया

- टीकाराम आचार्य ‘आरुणि’

सारः
यस आलेखमा पूर्वीय दर्शनको विकास प्रक्रियाको सामान्य आरेख प्रस्तुत गरिएको छ । वैदिक कालदेखि लिएर आधुनिक कालसम्मका दार्शनिकहरूको समान्य परिचय र तिनका कृतिको विवरण एवं समयको जानकारी गाराइएको छ । प्रस्तुत आलेखलाई व्यवस्थित गर्नका लागि सात अध्यायमा विभाजन गरिएको छ । यस आलेखबाट पाठकले दर्शनको विकासबारे सामान्य जानकारी प्रप्त गर्न सक्नेछन् ।
१. विषय प्रवेश
पूर्वीय संस्कृति, साहित्य, कला, भाषा र दर्शनको पृष्ठभूमि भनेर ‘‘ऋग्वेद’’लाई मानिदै आएको पाइन्छ । ‘वेद’ समावेशात्मक अर्थयुक्त शब्द रहेको पाइन्छ । जस अन्तर्गत संहिता, ब्राह्मण, आरण्यक, उनिषद् आदि समावेश भएको पाइन्छ । वैदिक कालीन ऋषिहरूले आफ्ना विचार र व्यवहारलाई मानिसको कल्याणका लागि सुखवादी सोच अँगाल्दै अघि बढाएको पाइन्छ (शर्मा र अन्य, २०६९ः ४८) । मानवीय सभ्यताको विकासमा पूर्वीय आर्यहरूको इतिहास, समाजिक नीति, चालचलन, मूल्य र मान्यता, सदाचार, दर्शन र धर्मको पूर्वाधार वेद रहेको बुझिन्छ (मिश्र, सन् २०१२ः ४७) । वेद, ब्राह्मण र आरण्यक आदि ग्रन्थहरूमा दार्शनिक विचारधाराको प्रवाह पाइए पनि तिनीहरू दर्शनका पृष्ठभूमि रहेको देखिन्छ । दर्शन हुनका लागि चाहिने आवश्यक मापदण्डहरू वैदिक कालमा कम मात्रामा प्रयोग गरिएको पाइन्छ । वैदिक र लौकिक काल हुँदै विभिन्न कालमा दर्शनको विकास हुँदै आएको पाइन्छ । दर्शनको विकास र कालका सन्दर्भमा विवाद रहेको देखिए पनि सामान्यतया निम्न अनुसारको काल र समय स्वीकार गरिएको देखिन्छ ः
२. वैदिक काल
वेदलाई पूर्वीय साहित्यको प्रचीनतम ग्रन्थ मानिन्छ । प्राचीन मानवका धार्मिक र दार्शनिक विचारलाई मानवीय भाषामा सर्वप्रथम लिपिबद्ध गर्ने श्रेय वेदलाई प्राप्त छ । वैदिक कालमा आर्यहरूले संस्कृति र सभ्यताको विस्तारै विस्तारै विकास गरेको पाइन्छ । यही कालमा अरण्य विद्यालय अर्थात् ऋषिकुल अध्ययनको थालनी भएको पाइन्छ । यो समय वास्तविक दार्शनिक विचार विनिमयको समय नरहे पनि अन्धकारबाट उज्यालोतर्फको एउटा प्रभाती किरण देखिएको पाइन्छ (राधाकृष्णन्, सन् २०१२ः ४७) । यस समयमा ‘ऋग्वेद’, यजुर्वेद, सामवेद र अथर्ववेद जस्ता महत्त्वपूर्ण रचना निर्माण भएको पाइन्छ । म्याकडोनल र ए.बी. किथले ‘ऋग्वेद’को समय ई.पू. १२०० या १५०० बताएको पाइन्छ भने म्याक्समूलरले पनि सोही कुराको समर्थन गरेको देखिन्छ । याकोविले ई.पू. ३०० र लोकमान्य तिलकले ई.पू. ६००० मा ‘ऋग्वेद’को रचना भएको उल्लेख गरेको देखिन्छ । विन्टरनिजले ई.पू. २५०० मा ‘‘ऋग्वेद’’को रचना भएको बताएको पाइन्छ । यसरी हेर्दा वैदिक काल ई.पू. १५०० भन्दा अगाडि ई.पू. ४५०० तिर रहेको देखिन्छ (खनाल, २०६३ः ४) । वेदलाई मन्त्र र ब्राह्मण गरी दुई भागमा विभाजन गरिएको पाइन्छ । ब्राह्मणपछि आरण्यक ग्रन्थ विकसित भएको पाइन्छ । यी तिन ग्रन्थ उपनिषद्भन्दा पूर्वका रहेको पाइन्छ । यिनमा दार्शनिक विचारको बिउ पाइए पनि उपनिषद्बाट दर्शनको व्याख्याको थालनी भएको मानिन्छ । वैदिक काललाई पनि दुई भागमा विभाजन गरिएको पाइन्छ ।
क) पूर्ववैदिक काल
पूर्ववैदिक कालमा वेदका चार संहिताहरू विकसित भएको पाइन्छ । ‘ऋग्वेद’, ‘यजुर्वेद’, ‘सामवेद’ र ‘अथर्ववेद’ चार संहिता रहेको पाइन्छ । ‘ऋग्वेद’को पुरुष सूक्तमा विराट पुरुषको परिकल्पनाले दार्शनिक तत्त्व चिन्तनलाई व्यक्त गरेको पाइन्छ । ‘ऋग्वेद’मा देवतासँग सम्बन्धित रहस्यात्मक ज्ञानको प्रतिपादन गर्ने स्तुतिपरक छन्दोबद्ध पद्यात्मक ऋचाको सङ्कलन गरिएको पाइन्छ । जसका प्रत्येक सूक्तले रहस्यात्मक शक्तिको स्तुति गरेको पाइनुका साथै सृष्टि विषयक रहस्यहरूको उद्घाटन गरेएको पाइन्छ । ‘ऋग्वेद’को उषः सूक्तमा प्रकृतिका रूपहरू अग्नि, पृथ्वी, वरुण, सूर्य, चन्द्र, वायु, उषा आदिको वर्णन गरिएको पाइन्छ । ‘ऋग्वेद’का ‘ऐतरेय’ र ‘कौषितकी’ दुई उपनिषद् रहेको पाइन्छ ।
‘यजुर्वेद’ दास्रो संहिता रहेको पाइन्छ । यसमा गद्यात्मक मन्त्रहरूको सङ्कलन रहेको पाइन्छ । देवता विषयक पूजा अचनाका विधि तथा अनुष्ठानको वर्णन गरिएका गद्यात्मक मन्त्रहरूको समूलाई ‘यजुर्वेद’ भनिन्छ (शर्मा, २०६८ः १५) मन्त्रहरूका माध्यमबाट देवतालाई प्रशन्न गराएपछि धनधान्य वृद्धि भई जनतामा सुख र शान्ति प्राप्त हुन्छ भन्दै यज्ञ कर्मलाई प्रमुख स्थान दिएको पाइन्छ । यस संहिताका ‘ईशावस्योपनिषद्’ र ‘बहदारण्यकोपनिषद्’ गरी दुई उपनिषद् ग्रन्थ रहेको पाइन्छ ।
‘सामवेद’ तेस्रो संहिता रहेको पाइन्छ । यज्ञमा आउन सक्ने बाधा व्यवधान हटाउनका लागि वा देवी देवतालाई प्रशन्न गराउनका लागि लयबद्ध स्वर र ताल मिलाएर संगीतमा गाइने मन्त्रहरूको समूहलाई ‘सामवेद’ भनिएको पाइन्छ (खनाल, २०६३ः ८) । यस संहिताका स्वतन्त्र रचना जम्मा ७५ ओटा पाइन्छन् भने अन्य मन्त्रहरू ‘ऋग्वेद’कै दोहोरिएर आएको पाइन्छ । यस संहितामा दर्शनको व्यापक चर्चा र प्रतिपादन नगरिए पनि यसबाट ‘छान्दोग्य’, ‘केन’ र ‘जैमिनीय’ उपनिषद् विकसित भएको पाइन्छ ।
चौथो संहिता ‘अथर्ववेद’ अथर्वा ऋषिसँग सम्बन्धित रहेको पाइन्छ । विघ्न विनासका लागि र मारण, मोहन तथा उच्चटन जस्ता अभिचार (जादु टुनामुना)सँग सम्बन्धित मन्त्रहरूको समूहलाई अथर्ववेद संहिता भनेको पाइन्छ (शर्मा, २०६८ः १६) । ‘अथर्ववेद’मा औषधी, मन्त्र, श्राप, वशीकरण, सम्मोहन, कारण, स्तुति, प्रार्थना र ब्रह्मविद्या सम्बन्धी मन्त्रहरू पनि पाइने भएको हुनाले यसलाई ब्रह्मवेद पनि भनिएको पाइन्छ । यसका ‘मुण्डक’, ‘माण्डूक्य’ र ‘प्रश्न’ तीन ओटा उपनिषद् रहेको पाइन्छ ।
ख) उत्तरवैदिक काल
उत्तरवैदिक कालीन रचनाका रूपमा ब्राह्मण, आरण्यक र उपनिषद् रहेको पाइन्छ । यिनीहरूको प्रत्यक्ष सम्बन्ध चार संहितासँग रहेको पाइन्छ । उपनिषद्भन्दा पछिका रचना मानिने वेदका छ अङ्गलाई सम्बन्धका आधारमा वैदिक साहित्य अन्तर्गत राखिएको पाइन्छ । जसमा शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष पर्दछन् । दार्शनिक साहित्यसँग तिनीहरूको कम सम्बन्ध रहेको पाइन्छ । उत्तर वैदिक कालमा विकसित भएका दार्शनिक ग्रन्थहरू निम्न अनुसार रहेको पाइन्छ ः
अ) ब्राह्मण ग्रन्थ
समय क्रमका आधारमा संहितपछि ब्रह्ण ग्रन्थहरू विकसित भएको पाइन्छ । ब्रह्मण ग्रन्थहरूमा खास गरी यज्ञको प्रतिपादन र त्यसका विधिहरूको व्यख्या गरिएको पाइन्छ । वेदमा रहेका कर्मकाण्ड सम्बन्धी विधि विधानको व्याख्या गरिएको हुनाले ब्राह्मण ग्रन्थलाई वेदका भाष्य पनि भनिएको पाइन्छ । ब्रह्मण ग्रन्थका अर्थवाद भाग, विधि भाग, उपनिषद् भाग र आख्यान भाग गरी चार भाग रहेको पाइन्छ । यिनीहरूको धार्मिक र साहित्यिक मूल्य मात्र नभएर दार्शनिक मूल्य पनि रहेको पाइन्छ । यिनमा राजवंश र ऋषिवंशका कथाहरूका साथै जीवन र जगत् सन्बन्धी विचारहरू पनि उल्लेख गरिएको पाइन्छ । संहितामा भन्दा ब्राह्मण ग्रन्थहरूमा फरक विषयवस्तु रहेको पाइन्छ । यज्ञ यज्ञादिमा चाहिने आवश्यक सामग्री, विनियोगको नियम व्यवस्था, यज्ञका अधिकारीको वर्णन, यज्ञको विधान आदि ब्राह्मण ग्रन्थका विषयवस्तु रहेको बुझिन्छ (मिश्र, सन् २०१२ः ६०) । ‘ऋग्वेद’का ‘ऐतरेय’ र ‘कौषितकी’, ‘यजुर्वेद’का ‘शतपथ’ र ‘तैत्तिरीय’, ‘सामवेद’का ‘ताण्ड्य’ र ‘जैमिनीय’, ‘अथर्ववेद’को ‘गोपथ’ ब्राह्मण रहेको पाइन्छ । वैदिक संहिताका अनेक ब्राह्मण ग्रन्थहरूको उल्लेख भए पनि हाल १८ ओटा मात्र ब्राह्मण ग्रन्थ उपलब्ध भएको पाइन्छ ।
ब्राह्मण ग्रन्थहरू भारतीय उपमहाद्वीपमा बसोबास गर्ने आर्य जातिका आधिकारिक धर्म ग्रन्थका रूपमा सम्मानित हुँदै आएको पाइन्छ । ब्राह्मण ग्रन्थहरूले तत्कालीन समाजका क्रियाकलापको वर्णन गर्दै आध्यात्मिक चिन्तनको व्यावहारिक पक्षलाई पनि जोडतोडका साथ अगाडि बढाएको पाइन्छ । जसले गर्दा एकल सिद्धान्तको पक्षपोषणलाई भन्दा व्यावहारिक सत्यलाई आत्मसात गरेको पाइन्छ । पूर्वीय साहित्यमा वैचारिक विषयवस्तु अँगालेर लेखिएका अनेक आध्यात्मिक, दार्शनिक तथा साहित्यिक गद्य एवं पद्य कृतिका आरम्भिक स्रोत ब्राह्मण ग्रन्थ रहेको पाइन्छ । त्यतिमात्र नभएर दार्शनिक चिन्तन तथा आख्यानात्मक साहित्यका स्रोत वा पूर्वाधारका रूपमा पनि यी ग्रन्थहरू प्रयोग हुँदै आएको पाइन्छ । ब्राह्मण ग्रन्थको समय ई.पू. २५०० तिर रहेको पाइन्छ ।
आ) आरण्यक
संहिता र ब्रह्मण ग्रन्थपछि विकसित भएका आरण्यक ग्रन्थ वेदान्त दर्शनका पृष्टभूमि रहेको पाइन्छ । आरण्यकमा ब्रह्मचारी, गृहस्थ र वानप्रस्थ आश्रममध्ये तेस्रो वानप्रस्थ आश्रम अवलम्बन गर्ने क्रममा गर्नु पर्ने कर्मकाण्डको विधि विधान रहेको पाइन्छ । एकान्त जङ्गलमा अध्ययन अध्यापन गरिने भएको हुनाले यी ग्रन्थलाई आरण्यक भनिएको पाइन्छ । वेदका संहितापछि ब्रह्मण ग्रन्थ र ब्रह्मण ग्रन्थपछि आरण्यकको विकास भएको देखिन्छ । त्यसकारण संहिता र आरण्यकबिच निकट सम्बन्ध रहेको पाइन्छ । आरण्यकमा यज्ञको आध्यात्मिक व्याख्या र चिन्तनको पनि समावेश भएको पाइन्छ । यी ग्रन्थमा कर्म मार्ग र ज्ञान मार्ग दुबैको समन्वय रहेको पाइन्छ । वर्तमान समयमा ‘ऐतरेय’, ‘शाङ्खायन’, ‘तैत्तिरीय’, ‘बृहदारण्यक’, ‘माध्यान्दिन’, ‘कण्व’, ‘जैमिनीय’ र ‘छान्दोग्य’ आरण्यक उपलब्ध रहेको पाइन्छ । आरण्यकको संख्या ११३० रहेको बताइए पनि वर्तमानमा अनुपलब्ध रहेको देखिन्छ (शर्मा, २०६८ः ५०) । आरण्यकको समय लोकमान्य तिलकले ई.पू. १६०० पूर्व र राहुल सांकृत्यायनले ई.पू. ७०० तिर रहेको बताएको पाइन्छ (सांकृत्यायन, सन् २०१५ः २९२) ।
इ) उपनिषद्
वैदिक संहिताको उत्कर्षका रूपमा उपनिषद्लाई लिइन्छ । पूर्वीय विचार धाराको परिपाक उपनिषद्मा पुगेर भएको पाइन्छ । उपनिषद्लाई वेदान्त दर्शन र अन्य अवैदिक दर्शनका पृष्ठभूमि पनि मानिएको पाइन्छ । वैदिक कालमा उपनिषद्को प्रवेशले नयाँ शिराबाट चिन्तनको सुरुवात भएको पाइन्छ । उपनिषद् र यस पूर्वका वैदिक ग्रन्थमा के भिन्नता रहेको पाइन्छ भने वैदिक संहितामा कर्म र ज्ञानको व्याख्या गरिएको पाइन्छ भने उपनिषद्मा ज्ञानको मात्र व्याख्या गरिएको पाइन्छ । उपनिषद् ज्ञानकाण्ड रहेको बुझिन्छ । यसमा जन्म र मृत्युभन्दा पनि शाश्वत आनन्दका लागि विवेकात्मक ज्ञानको आलोक रहेको बुझिन्छ (मिश्र, सन् २०१२ः ६३) । उपनिषद्मा दार्शनिक विचारको व्याख्या गरिएको पाइन्छ । आत्मा र परमात्माको विवेचना गरिएको पाइन्छ ।
वेदमा धर्मको व्यापकता, ब्राह्मणमा धर्मको स्थूलता र उपनिषद्मा सूक्ष्म पदार्थको विवेचना गरिएको पाइन्छ । उपनिषद् पूर्वका रचनामा प्रवृत्ति मार्गलाई अवलम्बन गरिएको पाइन्छ भने उपनिषद्मा निवृत्ति मार्ग अवलम्बन गरिएको देखिन्छ । यसमा आत्म ज्ञान, मोक्ष ज्ञान, ब्रह्म ज्ञानको प्रधानता रहेको पाइन्छ । यही कारण ब्रह्म विद्या, मोक्ष विद्या र आत्म विद्या पनि भनिएको पाइन्छ । उपनिषद् वेदका अन्त्य भएको हुनाले वेदान्त पनि भनिएको पाइन्छ । वेदान्तका तिन बाटाहरू रहेको पाइन्छ ‘उपनिषद्’, ‘गीता’ र ‘ब्रह्मसूत्र’ । उपनिषद्लाई श्रवण प्रधान, ब्रह्म सूत्रलाई मनन प्रधान र गीतालाई निदिध्यासन (निरन्तर चिन्तन) प्रधान मानिएको पाइन्छ । श्रवण, मनन, निदिध्यासनजस्ता दार्शनिक पक्षका माध्यमबाट परमतत्त्वको साक्षात्कार हुन्छ भन्ने उपनिषद्को धारणा रहेको पाइन्छ । उपनिषद्को संख्या २०० जति भएको मानिए पनि शङ्कराचार्यले ‘ईश’, ‘केन’, ‘कठ’, ‘प्रश्न’, ‘मुण्डक’, ‘माण्डूक्य’, ‘तैत्तिरीय’, ‘छान्दोग्य’, ‘बृहदारण्यक’, ‘कौषितकी’ र ‘श्वेताश्वतर’लाई प्रामाणिक मानेको पाइन्छ (खनाल, २०६३ः १३) । उपनिषद्पछिका ‘न्याय’, ‘वैशेषिक’ र ‘योग’जस्ता आस्तिक दर्शन र ‘बुद्ध’, ‘जैन’ जस्ता नास्तिक दर्शनमा पनि उपनिषद्को प्रभाव धेर थोर मात्रामा परेको पाइन्छ ।
३. माहाकाव्य काल
महाकाव्य काललाई भारतीय दर्शन शास्त्री राधाकृष्णनले ई.पू.६०० देखि ई.२०० सम्मको अवधि बताएका छन् (राधाकृष्णन्, सन् २०१२ः ४७) । यस काललाई संक्रमण काल पनि भनिएको पाइन्छ । यो वेदबाट विकसित भएका दार्शनिक विचारहरू लौकिक जनमानसमा प्रवेश गर्न संक्रमण गरि रहेको समय देखिन्छ । ‘रामायण’ र ‘माहाभारत’ वैदिक काल र लौकिक कालका सन्धिका प्रतिनिधि रचना रहेको बुझिन्छ । ‘रामायण’ र ‘महाभारत’ले वैदिक कालको अन्त्य गर्दै लौकिक कालको आमन्त्रण गरेको बुझिन्छ । यी ग्रन्थ मानवमा निहित एक नवीन वीरत्व एवं देवत्वको सन्देश फैलाउने माध्यमका रूपमा उपस्थित भएको पाइन्छ । रामायण र महाभारतमा उपनिषद्का कतिपय वैचारिक प्रभावहरू उपस्थित भएको देखिन्छ । जसलाई सम्झाउनका लागि अनेक उदाहरण र दृष्टान्तको उपयोग गरिएको पाइन्छ । यसै समयमा उपनिषद्हरूको प्रजातान्त्रीकरण भएर अनेक विचारमा रुपान्तरण हुँदै बौद्ध, श्रीमद्भगवद्गीता, जैन, शैव एवं वैष्णवमतका पद्धतिहरूको निर्माण भएको पाइन्छ । धेरैभन्दा धेरै दर्शन बुद्ध दर्शनको विकासका समयमा अरम्भ भएका र पछिसम्म पनि ती दर्शनहरू एकैसाथ विकसित हुँदै आएको बुझिन्छ (राधाकृष्णन्, सन् २०१२ः ४७) । ती दर्शनका सम्प्रदाय एवं ग्रन्थको रचना पछाडिका समयमा विकसित भएको बुझिन्छ ।
‘रामायण’मा युद्ध र विजयको वर्णन मात्र नभएर मानव जीवन तथा प्रकृतिको रमणीय चित्रण पनि रहेको पाइन्छ । ‘महाभारत’ पूर्वीय लौकिक संस्कृत साहित्यको दोस्रो ऐतिहासिक महाकाव्य रहेको पाइन्छ । यसमा धर्म, अर्थ, काम तिनै पुरुषार्थको विवेचना गरिएको पाइन्छ । यस महाकाव्यले मानवजातिको जीवनको निस्सारता बताएर मोक्ष मार्गतर्फ अभिप्रेरित गराउनु यी दुबै ग्रन्थको लक्ष्य रहेको पाइन्छ । यी दुई महाकाव्य कुनै दर्शन प्रतिपादन गर्ने शास्त्र नभए पनि रामको जीवन दृष्टि र ‘महाभारत’को गीता दर्शन विचार प्रवाहका हिसाबले उत्कृष्ट कृति रहेको पाइन्छ । ‘रामायण’को रचनाकाल ई.पू. ५००÷६०० तिर र ‘महाभारत’को रचना ई.पू. १००० देखि आरम्भ भई परिवर्तन हुँदै ईसाको ३००÷४०० तिर स्थिरता प्राप्त गरेको मानिन्छ (शर्मा, २०६८ः ७५)। यी दुबै ग्रन्थलाई पूर्वीय साहित्यका उपजीव्य (आधार) ग्रन्थका रूपमा पनि स्वीकार गरेको पाइन्छ । ‘रामायण’ र ‘महाभारत’ महाकाव्य कालका मुख्य रचना मानिएको पाइन्छ ।
४. सूत्र काल
सूत्र कालको समय ई.पू. ४०० (मिश्र, सन् २०१२ः ३४) रहेको पाइन्छ । यस समयलाई दर्शनको महत्त्वपूर्ण काल मानिन्छ । यसै समयका सेरोफेरोमा ‘सांख्य’, ‘बुद्ध’, ‘जैन’, ‘चार्वाक’, ‘योग’, ‘न्याय’, ‘मीमांसा’ आदि सूत्र साहित्य दर्शनको रचना भएको बुझिन्छ (मिश्र, २०१२ः ३५) । विषयवस्तुको गहनता र सूत्रात्मक कथनका कारण यस समयलाई सूत्र काल भनिएको पाइन्छ । सूत्रहरूको बोधका लागि कुनै टीका वा विशिष्ट विद्वान्को सान्निध्यको आवश्यकता देखिन्छ । ती सूत्रको अर्थ बोधका लागि अनेक व्याख्या र टीका ग्रन्थहरूको विकास भएको पाइन्छ ।
सूत्रकालीन समयमा दर्शनका विषय र धारणाहरू एक आपसमा अन्तर्सबन्धित हुँदै विकसित भएको देखिन्छ । ‘सांख्य’, ‘बुद्ध’, ‘जैन’, ‘चार्वाक’, ‘योग’, ‘न्याय’, ‘मीमांसा’ जस्ता दर्शनहरूका विचार एक आपसमा अन्तर्सम्बन्धित भएर आएको पाइन्छ । ‘वैशेषिक’ दर्शनले सांख्य र न्याय दर्शनको सत्ता स्वीकार गरेको पाइन्छ । ‘न्याय’मा वेदान्त र ‘सांख्य’को विवरण पाउन सकिन्छ । ‘मीमांसा’मा प्रत्यक्ष अप्रत्यक्ष अन्य दर्शनको पूर्व अस्तित्व भेटिन्छ । ‘वेदान्त’ दर्शनमा पूर्ववर्ती दर्शनको प्रभाव रहेको पाइन्छ । प्रोफेसर गार्बका विचारमा ‘सांख्य’ पुरानो सम्प्रदाय रहेको हुनाले त्यसपछि अन्य दर्शन विकसित भएका हुन् (राधाकृष्णन, सन् २०१२ः ४८) । कालक्रम र विषयगत प्रस्तुतिका आधारमा पूर्वीय दर्शनको चिन्तन प्रणालीमा समयका विषमा विवाद रहेको भए पनि समान्यतया ‘सांख्य’, ‘जैन’, ‘बुद्ध’, ‘चार्वाक’, ‘योग’, ‘वैशेषिक’, ‘न्याय’, ‘मीमांसा’ र ‘वेदान्त’ अनुुसार दर्शनको क्रम निर्धारण गरिएको छ ।
५. टीका काल
टीका काललाई पूर्वीय दर्शनको स्वर्ण काल पनि भनिएको पाइन्छ । ईसाको २५० देखि १४४९ सम्मको समयाबधिलाई टीका काल मानिएको पाइन्छ (मिश्र, सन् २०१२ः ३५) । यस समयमा दर्शन ग्रन्थका भाष्य, वार्तिक, व्याख्या र टीकाहरू प्रशस्त लेखिएको देखिन्छ । टीका काल सूत्रकालमा लेखिएका दर्शनको व्याख्याको समय मानिन्छ । यस समयमा लेखिएका टीका या ग्रन्थहरू अत्यन्तै शक्तिशाली रहेको पाइन्छ । कुनै कुनै व्याख्या ग्रन्थकारको भन्दा पनि व्याख्याकारको विचार अझ प्रभावशाली बनेको देखिन्छ । उदाहरणका रूपमा कुमारिल भट्ट र प्रभाकरले लेखेको ‘मीमांसा भाष्य’, शङ्कराचार्य तथा रामानुजले लेखेको वेदान्त सूत्रको ‘वेदान्त भाष्य’, वात्स्यायनको ‘न्याय भाष्य’, प्रशस्त पादको ‘वैशेषिक भाष्य’, विज्ञान भिक्षुको ‘सांख्य प्रवचन भाष्य’ र व्यासको ‘योग भाष्य’ अद्यापि चर्चित रहेको पाइन्छ ।
स्वर्णकालका रूपमा मान सम्मान पाएको यस काल विवाद मुक्त भएको पाइन्न । आफ्नो आफ्नो विचार पक्षधरको झण्डा बनाएर आफैलाई सत्य र अन्यलाई झुट सावित गर्नका लागि विवाद र कोलाहल गरिएका प्रसङ्गहरू तत् तत् ग्रन्थमा देखिन्छ । पूर्ववर्ती ग्रन्थका गूढ रहस्य खोतलेर जनसमक्ष पुर्याउन भन्दा पनि आफ्ना विचार बढी शक्तिशाली र समय सापेक्ष रहेको प्रमाणित गर्नमा यस समयका विद्वान्हरूले समय खर्च गरेको देखिन्छ । जसले गर्दा विचार स्पष्टसँग बुझ्नु भन्दा पश्चवर्ती मानव समाज कुन विचार सही हो भन्ने कुरामा दोधार बन्न पुगेको पाइन्छ । जसको फलस्वरुप टीकाकारका विचार केवल शब्दजाल बन्न पुगेको देखिन्छ । कतिपय विचारकमा अत्यन्तै अस्पष्टता, तार्किक जटिलता र मनोवृत्ति अत्यत्तै असहिष्णु रहेको पाइन्छ ।
यसै समयमा हरिभद्रद्वारा रचित ‘षड्दर्शनसमुच्चय’, सामन्त भद्रद्वारा रचित ‘आत्मामीमांसा’, माध्यमिक बौद्ध सम्प्रदायका विदवान् भावविवेकद्वार रचित ‘तर्कज्वाला’, दिगम्बर जैनद्वारा रचित ‘सर्वदर्शन संग्रह’ आदि आचार्यले पूर्वीय दर्शन साहित्यमा योगदान दिएको पाइन्छ । त्यस्तै शंकर स्वामीको ‘सर्वसिद्धान्त संग्रह’ र मधुसुधन स्वामीको ‘प्रस्थानभेद’ पनि उल्लेखनीय रहेको पाइन्छ (राधाकृष्णन्, सन् २०१२ः ४९) ।
६. आधुनिक काल
चौधौं शताब्दीको माधवाचार्यको ‘सर्वदर्शन संग्रह’पछि पूर्वीय दर्शनमा आधुनिक कालको आरम्भ भएको मानिन्छ । ईसाको १४५० यता पूर्वीय दर्शनमा आधुनिक काल भित्रिएको भन्ने विद्वान्हरूको धारणा रहेको पाइन्छ (राधाकृष्णन्, सन् २०१२ः ४९) । यस कालमा शङ्कर स्वामीको ‘सर्वसिद्धान्त संग्रह’, राजा राम मोहन रायको ‘ब्रह्म समाज’ आदि ग्रन्थको रचना भएको पाइन्छ । स्वामी विवेका नन्दले सार्वभौम धर्ममाथि जोड दिएको पाइन्छ भने माहत्मा गान्धीले भद्र सत्याग्रहबाट देशमा शान्ति, भ्रातृत्व र सद्भावको स्थापना हुन् कुरामा जोड दिएको पाइन्छ । त्यस्तै दयानन्द सरस्वती, भगवान् दास, रामकृष्ण परमहंस, रवीन्द्रनाथ टैगोर, श्री अरविन्द, कृष्णचन्द्र भट्टाचार्य, सर्वपल्ली राधाकृष्णन्, मुहम्मद इकवाल आदि दार्शनिकहरूले मौलिक विचार सहित आधुनिक दर्शनको विकासमा योगदान दिएको पाइन्छ । नेपाली माटोमा गुणनीधि, सन्त शशीधर, ज्ञान दिलदास, जय पृथ्वी बहादुर सिंह, विश्वेश्वर प्रसाद कोइराला, मदन भण्डारी, रुपचन्द्र विष्ट, गोविन्द, भट्ट, षडानन्द अधिकारी, गुरु गोखनाथ, फाल्गुनन्द लिङ्देन, योगमाया न्यौपाने, बालकृष्ण सम, पुष्पलाल, शिवपुरी बाबा, योगी नरहरी नाथ, खप्तडा बाबा, मदनमणी दीक्षित, पुष्पकमल दाहाल प्रचण्ड, योगी विकासानन्द अदिले विभिन्न विचारका माध्यमबाट दर्शनको विकास परिमार्जन र संरक्षण संबद्र्धनमा योगदान थपेको पाइन्छ ।
७. निष्कर्ष
पूर्वमा मानव जीवन, प्रकृति र ईश्वरका विषयमा चिन्तनको आरम्भ वैदिक कालबाट आरम्भ भएको पाइन्छ । वैदिक कालमा चार संहिता, ब्राह्मण ग्रन्थ, आरण्यक र उपनिषद् विकसित भएको बुझिन्छ । मन्त्रभन्दा ब्राह्मणमा, ब्राह्मणभन्दा आरण्यकमा र आरण्यक भन्दा उपनिषद्मा विचार परिष्कार र परिमार्जन हुँदै उत्तरोत्तर विकास भएको पाइन्छ । उपनिषद् पछि दर्शनको विकासमा सूत्र साहित्यले योगदान थपेको पाइन्छ । सूत्र कालमा छ आस्तिक र बुद्ध, जैन र चार्वाक जस्ता नास्तिक दर्शनको विकास भएको पाइन्छ । व्याख्या कालीन समयमा वाद विवाद सहित नयाँ नयाँ टीका र फक्किकाहरूको व्याख्या गरिएको देखिन्छ भने आधुनिक समयमा नवीन सोच र युगीन आवश्यकता अनुरुप दर्शनको विकास र व्याख्या भएको पाइन्छ । दर्शनको विकास र संरक्षणमा नेपाली विद्वान्ले पनि योगदान थप गरेको देखिन्छ ।
सन्दर्भ सूची
खनाल, चुडामणि. संस्कृत साहित्यको परम्परा. ललितपुरः साझा प्रकाशन. २०६३ ।
मिश्र, जगदीशचन्द्र. भारतीय दर्शन. वाराणसीः चौखम्बा सुरभारती. सन् २०१२ ।
राधाकृष्णन्, भारतीय दर्शन. प्रथम भाग. दिल्लीः राजपाल एण्ड सन्ज. सन् २०१२ ।
राधाकृष्णन्, भारतीय दर्शन. द्वितीय भाग. दिल्लीः राजपाल एण्ड सन्ज. सन् २०१३ ।
शर्मा, गोपीकृष्ण. संस्कृत साहित्यको रूपरेखा. काठमाडौंः शब्दार्थ प्रकाश. २०६८ ।
शर्मा, अभय र अन्य. नेपालका दार्शनिकहरू. काठमाडौंः नेपाल प्रज्ञा प्रतिष्ठान. २०६९ ।
सांकृत्यायन, राहुल. दर्शन दिग्दर्शन. इलाहाबादः किताब महल. सन् २०१५ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 7 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु