पृष्ठ र मञ्च: समसामयिक परिप्रेक्ष्यमा आधुनिक नेपाली नाटक -एक रिपोर्ट

- राजु “हिमांशु”

प्रारम्भ
नेपाली विभाग,साउथफील्ड महाविद्यालय,दार्जीलिङ एवं नेपाली साहित्य सम्मेलन, दार्जीलिङको तत्त्वावधानमा विश्वविद्यालय अनुदान आयोगद्वारा प्रायोजित “पृष्ठ र मञ्च :समसामयिक परिप्रेक्ष्यमा आधुनिक नेपाली नाटक”विषयक राष्ट्रिय सङ्गोष्ठी दिनाङ्क २९ र ३० जुलाई २०१६मा साउथफील्ड महाविद्यालय, दार्जीलिङको प्रेक्षागृहमा सम्पन्न भयो ।
साहित्यका अन्य विधाभन्दा टाक्सिएर गएको नेपाली नाटक जस्तो चाम्रो विधालाई दुई दिवसीय राष्ट्रिय सङ्गोष्ठीको विषयवस्तु बनाएर त्यसमाथि विशद गवेषणा अनि विमर्श गरिएको एकाडेमिक कार्य नै भए तापनि यसरी पहिलो चोटि भारतमा आयोजित भएर एउटा कीर्तिमान कायम गर्न सफल भएको छ । दुई दिने सङ्गोष्ठीको निम्ति मञ्चित र पाठ्य नाटक विषयक ३९ वटा कार्यपत्र प्राप्त हुनु भनेको कीर्तिमान नै हो । पृष्ठ र मञ्च अर्थात् पाठ्य र मञ्चीय नाटक दुवैलाई समेटेर विस्तृत विषयवस्तुमाथि विशद विश्लेषण ,चर्चा-परिचर्चा हुनु भनेको नेपाली नाटक विधाको निम्ति उज्यालो पक्ष हो।
विषय प्रवेश
२९ जुलाई २०१६को दिन सिक्किम विश्वविद्यालयका प्रा० डा० प्रतापचन्द्र प्रधानको प्रमुख आतिथ्यमा भएको उदघाटन समारोहमा साउथफील्ड महाविद्यालयकी प्राचार्य डा० अनुराधा राईले स्वागत वक्तव्य, साउथफील्ड महाविद्यालयका नेपाली विभाग प्रभारी प्रा० डा० महेश प्रधानले धन्यवाद ज्ञापन तथा काशी हिन्दू विश्वविद्यालयका प्रा० डा० दिवाकर प्रधानले वीज भाषण प्रस्तुत गरे । समारोहमा उपस्थित प्रा० डा० प्रतापचन्द्र प्रधान, श्री सी0 के0 श्रेष्ठ,श्रीमती विन्द्या सुब्बा ,श्री प्रेम प्रधान,डा0 अनुराधा राई,डा0 रिञ्जी इडेन वाङ्दी,श्री कर्ण थामी, श्री पेम्बा बम्जन आदिका बाहुलीबाट डा० कविता लामाद्वारा सम्पादित तथा गामा प्रकाशन, दार्जीलिङको सहचर्यमा साउथफील्ड महाविद्यालयद्वारा प्रकाशित Nepali Short Stories English Translation पुस्तकको पनि विमोचन गरियो ।
पहिलो दिनको प्रथम सत्र सिक्किम विश्वविद्यालयका प्रा0 डा0 कविता लामाको अध्यक्षतामा सम्पन्न भयो । यस सत्रमा सिक्किम विश्वविद्यालयका श्री सूरज गुरुङले जस योञ्जन “प्यासी”-कृत “नयाँ सूर्यको प्रतीक्षामा”नाटकभित्र चियाबारी जनजीवनको सन्दर्भ, सोनादा डिग्री महाविद्यालयका प्रा0 मेघनाथ छेत्रीले लक्ष्मण श्रीमलका रेडियो नाटकहरुको वस्तु विधान ,कालेबुङ महाविद्यालयकी डा0 ममता लामाले स्वातन्त्र्योत्तर दार्जीलिङको नेपाली रङ्गमञ्च : गति,उपलब्धि र प्राप्ति , सिक्किम विश्वविद्यालयका नीरज राईले सरोज राणाका अप्रकाशित तर मञ्चित नाटक परालको आगो पार्ट टु –एक तुलनात्मक हेराइ ,अनि दार्जीलिङ सरकारी महाविद्यालयका प्रा0 कवीर बस्नेतले भयवाद,मृत्युको भय अनि (विजय मल्लको) ‘पत्थरको कथा एकाङ्की विषयक आ-आफ्ना कार्यपत्र प्रस्तुत गरे । दिइएको १५ मिनटको समयसीमाभित्र उपर्युक्त कार्यपत्र सम्पूर्ण पठन गर्न असम्भव भएकोले यी प्रस्तोताहरुले सङ्क्षेपीकरण गर्दै आफ्ना कार्यपत्र प्रस्तुत गरे । त्यसो हुँदा विशद रुपमा विश्लेषित सबै पक्ष श्रोताहरुले सुन्न पाएनन्। यद्यपि एकाडेमिक प्रारूपमा तयार पारिएका कार्यपत्रहरुमा प्रस्तोताहरुले उज्जर र सम्यक् विश्लेषण ,शोध गरेका बुझियो । प्रथम सत्रका कार्यपत्रहरुको प्रस्तुतिपछि प्रश्नोत्तर सत्र राखिएकोले त्यस सत्रमा उपस्थित साहित्यकार ,नाटककार, प्राध्यापकहरुले भाग लिएर सत्रको गरिमा बढ़ाए। प्रश्नोत्तर सत्रपछि सत्राध्यक्ष डा० कविता लामाले सत्रमा पठित कार्यपत्रहरुको मूल्याङ्कन गर्दै आफ्नो मन्तव्य सुन्दर ढङ्गमा प्रस्तुत गरिन् ।
दुई दिवसीय राष्ट्रिय सङ्गोष्ठीमा प्रस्तुत नहुने केही कार्यपत्रहरुलाई पोस्टरको रुपमा प्रदर्शित गरिएको थियो । अल्पावधिभित्र ती सबै पढ्न पाठकलाई केही असुविधा भए तापनि कार्यपत्रहरुलाई पोस्टरको रुपमा प्रदर्शित गरिने सोच नयाँ थियो ।
प्रथम दिनको दोस्रो सत्र उत्तर बङ्ग विश्वविद्यालयका प्रा0 डा0 कृष्णराज घतानीको अध्यक्षतामा सम्पन्न भयो। यस सत्रमा खरसाङ महाविद्यालयका प्रा0 योगेश खातीले राष्ट्रवाद,जातीयता र साहित्य नाटक (सी0 के0 श्रेष्ठका)अनि भाले मुंग्रो रुन्छभित्र विचरण,सिलगढ़ी महाविद्यालयका डा0 भाष्कर लामाले अङ्ग्रेजीमा Trajectory of Drama –Poetics to Performativity , रिनाक महाविद्यालयका श्री सूचन प्रधानले इन्द्रबहादुर राईका पहेंलो दिन नाटकको लोकतात्त्विक अध्ययन ,सिक्किमका नाटककार श्री ध्रुव लोहागणले भारतीय नेपाली नाटकको उदगम अनि विकासक्रम आदि, सिक्किम विश्वविद्यालयका प्रा0 देवचन्द्र सुब्बाले नाटक र अभिनय विषयक कार्यपत्रहरु प्रस्तुत गरेपछि प्रश्नोत्तर सत्र आरम्भ भयो, जसमा उपस्थित नाट्यकर्मी,स्रष्टा,अनुसन्धाताहरुले प्रश्न गरे भने सम्बन्धित कार्यपत्र प्रस्तोताले उत्तर दिए। त्यसपछि सत्राध्यक्ष डा0 कृष्णराज घतानीले नाटक र कार्यपत्रबारे आफ्ना मन्तव्य पोखे।
दोस्रो दिनको (30/०७ /२०१६) प्रथम सत्र साउथफील्ड महाविद्यालयका अवकाशप्राप्त प्राचार्य डा० रिञ्जी इडेन वाङ्दीको अध्यक्षतामा आरम्भ भयो । यस सत्रमा दार्जीलिङ सरकारी महाविद्यालयका प्रा0 सुजाता रानी राईले डा0 इन्द्रमान राईका “जीवन लीला नाटक”-मा अन्तर्निहित सामाजिक चेतना, कालिपद घोष तराई महाविद्यालयका प्रा0 वासुदेव थापाले “घाटु” लोक नाट्य बारे ,सिक्किम सरकारी महाविद्यालयका प्रा0 पारस मणि दङ्गालले नेपाली नाट्य परम्परामा लोक नाटक बालुन :एक सचेत प्रयास ,परिमल मित्र स्मृति महाविद्यालय,मालबजारकी प्रा0 रेमिका थापाले इन्द्रमणि दर्नालको कृष्णा! कृष्णा!नाटकमा पाइने द्वन्द्व विधान विषयक आ-आफ्ना कार्यपत्र प्रस्तुत गरेपछि प्रश्नोत्तर सत्र आरम्भ भयो अनि त्यसपछि सत्राध्यक्ष डा० रिञ्जी इडेन वाङ्दीले पठित कार्यपत्र र नेपाली नाटकबारे आफ्ना मन्तव्य प्रस्तुत गरिन्। त्यसपछि दार्जीलिङका सुचर्चित नाटककार अनि निर्देशक श्री किरण ठकुरीले नाटक र रङ्गमञ्चबारे आफ्ना विचार व्यक्त गरे।
दोस्रो दिनको दोस्रो सत्र श्री राजु प्रधान “हिमांशु”-को अध्यक्षतामा सम्पन्न भयो। यस सत्रमा गेजिङ महाविद्यालयका श्री विवेक क्षेत्रीले सिक्किमका आधुनिक नेपाली नाटकहरुको मूलभूत प्रवृत्ति र वर्तमान अवस्था,, सिक्किम विश्वविद्यालयका प्रा0 सपन प्रधानले मानव बसाइँसराइको सन्दर्भमा मनबहादुर मुखियाको अनि देउराली रुन्छ नाटकको अध्ययन, सिक्किम विश्वविद्यालयका श्री सुमन बान्तवाले शरद् छेत्रीको काल त्रिवेणी एकाङ्कीको मिथकीय लेखन आधार अनि दार्जीलिङ सरकारी महाविद्यालयका डा0 राजकुमार छेत्रीले नन्द हाङखिमको नाट्यशिल्प र संरचना विषयक कार्यपत्रहरु प्रस्तुत गरे । प्रश्नोत्तर सत्रपछि सत्राध्यक्ष श्री राजु प्रधान “हिमांशु”-ले पठित कार्यपत्रहरुको सङ्क्षिप्त मूल्याङ्कन गर्दै नाटकबारे आफ्नो विचार प्रकट गरे ।
दिवा भोजन र पोस्टर सत्रपछि साउथफील्ड महाविद्यालयका प्रा0 बिनोद प्रधानले एकल अभिनय प्रस्तुत गरे। समापन सत्रमा अध्यक्ष नाट्य भूषण श्री सी0 के0 श्रेष्ठले विस्तृत रुपमा नाटक र अभिनयबारे सारगर्भित सम्भाषण प्रस्तुत गरे । त्यसपछि डा0 महेश प्रधानद्वारा धन्यवाद ज्ञापन गरिएपछि दुई दिवसीय राष्ट्रिय सङ्गोष्ठी समापन भएको घोषणा गरियो ।
मूल्याङ्कन
पाठ्य र मञ्चीय दुवै पक्षलाई समेटेर नाटक जस्तो टाक्सिएको तर चाम्रो र साह्रो विधालाई विषयवस्तु बनाएर आयोजित भएको दुई दिने राष्ट्रिय सङ्गोष्ठीमा प्रस्तोताहरुले नाटकबारे विशद गवेषणा र सम्यक विश्लेषण गरे । तर कार्यक्रमसूचीअनुसार दुई दिने राष्ट्रिय सङ्गोष्ठीमा जम्मा ३९ वटा कार्यपत्र प्राप्त भएको जानकारी पाइए तापनि १८ वटा मात्र कार्यपत्र सङ्क्षेपमा प्रस्तुत गरियो । सङ्गोष्ठीमा प्रस्तुत गर्न नसकिएका २१ जना प्रस्तोताका कार्यपत्रहरु पोस्टर सत्रको निम्ति छनौट गरिएको उल्लेखित पाइयो कार्यक्रमसूचीमा । यद्यपि तीमाझबाट केही पोस्टरको रुपमा प्रदर्शित गरिएको थियो । पोस्टर सत्रको निम्ति छनौट गरिएका कार्यपत्रहरु निम्न प्रकारका छन्।
१)इन्द्रमणि दर्नालको कृष्णा कृष्णा नाटकको उत्तरआधुनिक पठन -प्रा० नवीन पौड्याल,पेदोङ,महाविद्यालय
२)(राजु प्रधान हिमांशुकृत)अवसान नाटकसङ्ग्रहभित्रका नाटकहरुमा पात्र प्रयोग एवं द्वन्द्व पक्षको अध्ययन
– प्रा० विक्रम राई ,मिरिक महाविद्यालय
३)रङ्गमञ्च र(इन्द्रबहादुर राईलिखित) पहेंलो दिन नाटक – प्रा० योगेश पन्त ,सन्त जोसेफस् महाविद्यालय,दार्जीलिङ
४)नन्द हाङखिमका नाटकहरुको अध्ययन – भूपेन तामाङ, दार्जीलिङ सरकारी महाविद्यालय
५) नैनसिंह योञ्जनकृत पश्चताप् (१९६३), पुष्प (१९८४) र इमान्दार (१९९८) अचर्चित दार्जिलिङे तीन नेपाली बालनाटक –दिपेन घिसिङ,सिक्किम विश्वविद्यालय
६)(चुनिलाल घिमिरेकृत)पुत्काको मह नाटकको समाजभाषिक अध्ययन- -सरस्वती मिश्र, सिक्किम विश्वविद्यालय
७)स्त्री पुरुष सम्बन्धका दृष्टिले इन्द्रमणि दर्नालको कृष्णा! कृष्णा! नाटक –शारदा छेत्री, सिक्किम विश्वविद्यालय
८) विजय मल्ल र उनको ‘कोही किन बरबाद होस्’ नाटकको तात्त्विक विवेचना
– देवकुमार माले,सहप्राध्यापक,नक्सलबारी महाविद्यालय
९) वर्तमान सन्दर्भमा नाटक र एकाङ्की एवं नाटककार लक्ष्मण श्रीमलका केहीं मञ्चित एकाङ्की
–प्रा०दिनेश शर्मा,सिलगढ़ी महाविद्यालय
१०)(मनबहादुर मुखियालिखित)अनि देउराली रुन्छ नाटकमा लोकसांस्कृतिक पक्ष
–मनोज लिम्बू,बिजनबारी महाविद्यालय
११) पारिजातका नाटकमा नारी पात्र – सृजना शर्मा, ,काशी हिन्दू विश्वविद्यालय
१२)आई. के. सिंहका तीन नाटक (जिन्दगी एक नाटक, थ्याँक् यू सर, उपहास) : एक विश्लेषण
--महेश दाहाल, काशी हिन्दू विश्वविद्यालय
१३) पारसमणि प्रधानकृत बुद्ध चरित्रमा नीति चेतना – नवीन नेपाल, , काशी हिन्दू विश्वविद्यालय
१४)(राजु प्रधान “हिमांशु”कृत )अवसान नाट्य-कृतिको समाजपरक अध्ययन
-राम जीवन राई, काशी हिन्दू विश्वविद्यालय
१५) रङ्गमञ्चीय अध्ययन सन्दर्भ-(ललित गोलेलिखित) ‘भानु र पाला(भाग १ र २)’
-मेहेरमान सुब्बा,क्लूनी महिला महाविद्यालय ,कालेबुङ
१६) रामलाल अधिकारीका टीका पनि व्यापार पनि एकाङ्कीसङ्ग्रहका एकङ्कीहरुमा हास्य-व्यङ्ग्यात्मक दृष्टिकोण -लक्ष्मण शेर्पा,पेदोङ सरकारी महाविद्यालय
१७) भारतीय नेपाली नाटकको लेखन र मञ्चन परम्परा –प्रा०अमीर दर्जी,परिमल मित्र स्मृति महाविद्यालय,मालबजार
१८) प्रगतिवादी दृष्टिमा (जस योञ्जन “प्यासी”-कृत )नाटक नयाँ सूर्यको प्रतीक्षामा
–दिलु ठटाल, क्लूनी महिला महाविद्यालय,कालेबुङ
१९) नेपाली नाटकको विवर्धनमा नारी हस्ताक्षरको योगदान : सर्वेक्षणात्मक अध्ययन
–दीपक तिवारी,नाम्ची महाविद्यालय

२०) नन्द हाङखिमकृत “अभिषेक”नाटकमा नारीवादी चिन्तन –अल्का शर्मा,साउथफील्ड महाविद्यालय,
दार्जीलिङ
२१) नाटकको निम्ति मञ्चन आवश्यक कि अनावश्यक -टेक बहादुर छेत्री, काशी हिन्दू विश्वविद्यालय
क्यानेडियाली नाट्य अभिनेता अनि निर्देशक रिचर्ड मोनेटको भनाइ छ –“Plays on the shelf are literature. Whereas plays on the stage are theatre.” ताकमा राखिएको नाटक साहित्य हुन्छ भने मञ्चमा मञ्चित नाटक थिएटर हुन्छ। नाट्यसाहित्य (पृष्ठ) र थिएटर(मञ्च) ठीक यही विषयलाई सङ्गोष्ठीको विषयवस्तु बनाएर आयोजित भएको (पृष्ठ र मञ्च:समसामयिक परिप्रेक्ष्यमा आधुनिक नेपाली नाटक)दुई दिवसीय राष्ट्रिय सङ्गोष्ठीलाई ऐतिहासिक नै मान्नुपर्छ । यद्यपि विषयवस्तु व्यापक र सीमाहीन भएकोले नेपालसम्म पुग्यो। तर नेपालका धेरै नाटककारहरु छाड़िए । भारतकै उत्तर-पूर्वाञ्चलबाट कुनै प्रस्तोता नभएकोले उत्तर-पूर्वाञ्चलको फाँटमा देखा परेका पृष्ठ र मञ्चका नाटककारहरु पनि छाड़िए । दार्जीलिङ र खरसाङका अन्य नाटककारहरु छाड़िए । पृष्ठले स्थूल र मञ्चले न्यून स्थान पायो । मञ्चसित सम्बन्धित विविध शिल्पविधि तथा अन्य रङ्गमञ्चीय नाटकका प्रयोजनीय पक्षहरुबारे कार्यपत्रहरु मौन रहेको पाइयो । एकजना नाटककारका तीन वटा,दुई वटा कार्यपत्रहरु प्राप्त भए तापनि पठनको निमित्त पृष्ठ र मञ्च सापेक्षित कार्यपत्रहरुको चयनमा सन्तुलन रहेको भए अझ राम्रो हुनेथ्यो। विषय अति व्यापक भएकोले विषय चयनमा उदारता पाइयो ।
नाटककारहरुले नाटकहरु मञ्चित गरे तापनि पुस्तकाकारमा ती नाटकहरु प्रकाशित नहुनाले तथा दृष्टिगत (visualized)रुपमा मञ्चित नाटकहरु इन्टरनेटद्वारा सञ्चालित सामाजिक मीडियामा उपलब्ध नहुनाले पनि मञ्च सापेक्षित नाटकमाथि सङ्गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्न नसकिएको सत्य पनि उदघाटित भएको भान भयो । नाट्यभूषण सी० के० श्रेष्ठकृत “ अनि भाले मुङ्ग्रो रुन्छ” धेरै पल्ट विभिन्न स्थानमा मञ्चित भए तापनि पुस्तकाकारमा नाटक प्रकाशित भएको छैन । तर यूट्यूबमा उपलब्ध हुनाले त्यसलाई अवलोकन गर्दै लेखेर स्क्रिप्ट तयार पारी त्यसको आधारमा कार्यपत्र बनाएको सत्य प्रस्तोता प्रा० योगेश खातीले व्यक्त गरे।यसबाट नाटककारहरुले आफ्ना मञ्चित नाटकहरु प्रकाशित गर्नु पर्ने साथै वेबसाईटमा उपलब्ध गराउनु पर्ने आवश्यकता बोध हुन्छ । थिएटरको रुपमा रहेको नाटकलाई साहित्यको रूप पनि दिनु पर्ने समयको माग रहेको पनि बुझियो । नाटकका प्रबुद्ध पाठकहरु धेरै रहेछन्। गवेषक,शोधार्थीहरु धेरै रहेछन्। कमी रहेछ त नाट्यपुस्तक प्रकाशनको। सङ्गोष्ठीले उक्त कुरो पनि इङ्गित गरेको बुझियो ।
अचेल नाटक मञ्चन भएन,हुँदैन ,गर्नुपर्छ भन्नेहरु धेरै छन्। तर किन नाटक मञ्चन गर्न सकिएको छैन त्यसको कारण बुझ्ने र नाट्य मञ्चनको निम्ति प्रायोजन गर्न उत्सुकता जाहेर गर्नेहरु भने छैनन् । विकासको उच्चतामा पुगेको रसियाली थिएटर जगतमा धरि एक समय अर्थको कमी रहेको र त्यसको निम्ति सरकारी सहूलियत चाहिने र सरकारी सहूलियतबिना नाट्य मञ्चन गर्न चर्को पर्ने सत्यतालाई तिनताकका रसियाली थिएटर जगतका नामी अभिनेता,नाट्य निर्देशक र चिन्तक कोनस्टानटीन स्टानीस्लावस्कीको निम्न कथनले पुष्टि गर्छ । उनले भनेका छन् –Theatre, like universities and many other ideological and educational institutions cannot exist without the subsidy from the government.”यस प्रसङ्गमा भारतेली नेपाली नाट्यमञ्चनको निम्ति सरकारी सहूलियत कति प्राप्त हुन सकेको छ सो प्रष्ट छ । खालि नाटक गर भनेर मात्र हुँदैन। नाटक मञ्चनको निम्ति प्रयोजक चाहिन्छ ,आयोजक चाहिन्छ । यदि विश्वविद्यालय अनुदान आयोगले प्रायोजन नगरेको भए शैक्षणिक नै किन नहोस्, सायद उपर्युक्त सङ्गोष्ठीको आयोजना हुने थिएन । यो कुरो पनि प्रष्ट छ । नाटक सिर्जनात्मक कला हुनाले यसको प्रदर्शनको निम्ति त झन अर्थ र साधनको आवश्यकता पर्दछ । वर्तमानको खर्चालु समयमा त झन आर्थिक सहयोगिताबिना यो कला फस्टिन सक्दैन । त्यसैले पनि नेपाली नाट्यप्रदर्शन ठप्प बराबर छ। विगतमा सरकारी निकायबाट वर्षेनी एकाङ्की प्रतियोगिता, नाटक-उत्सव र युवा-उत्सवअन्तर्गत नाट्यप्रदर्शन र प्रतयोगिताको आयोजन हुने गर्थ्यो । आज त्यो पनि ठप्प छ । अति व्यस्त रहनु पर्ने खर्चिलो अनि शिल्पविज्ञानिक चमकदमकले चाक्षुष आनन्द प्रदान गरिरहेको समयमा सरकारी र प्रेक्षकवर्गको सहयोगिताबिना नाट्य कलाकार,रङ्गकर्मी ,नाटककार , निर्देशक र नाट्य संस्थानको निजी प्रयासमा मात्र नाट्यमञ्चन सम्भव हुँदैन । यसैले पनि सबै पक्ष जाग्रत बनेर पारस्परिक सहयोगिता प्रदान गर्न अग्रसारित हुनु पर्ने अपरिहार्यता देखिन्छ । जेहोस् ,यस्तै स्थितिमा पनि शैक्षणिक नै भए तापनि साउथफील्ड महाविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरुले महाविद्यालयकै निजी प्रेक्षागृहमा दुई दिवसीय राष्ट्रिय सङ्गोष्ठीको आयोजन गरेर नेपाली नाट्यजगत (पृष्ठ र मञ्च)लाई झक्झकाउँदै स्वादिलो व्यञ्जन पस्किदिएर गुनिलो र सह्रनीपूर्ण सुकार्य गरे । भन्नु मन लाग्छ –कृतज्ञता ज्ञापन मात्र कमै हुन्छ यस सुसोचको निम्ति ।

निष्कर्ष
पुछारमा भन्नुपर्छ –नाटक पृष्ठमा एकल कार्यको प्रभुत्व हुन्छ भने नाटक मञ्चमा दलीय सहकार्यको परिणाम बन्छ । विश्वविद्यालय अनुदान आयोगद्वारा प्रायोजित भएर शैक्षणिक महाविद्यालयीय कार्यक्रम हुनाले वाञ्छित ढाँचामा लिखित कार्यपत्र सीमित समयमा प्रस्तुत गरिनु पर्ने हुनाले दुई दिवसीय सत्रहरुमा १८ वटा कार्यपत्र प्रस्तुत भए तापनि सङ्गोष्ठीले बौद्धिक खुराक पस्केर नाट्यविधालाई ठूलो टेवा दिएको छ । प्रा० डा० महेश प्रधान लगायत आयोजक मण्डलीका सबै कार्यकर्ताहरु विषयचयन र कार्यक्रमायोजनको निम्ति बधाई र साधुवादका पात्र भएका छन् । धेरै लामो अन्तरालपछि आयोजित शैक्षणिक सङ्गोष्ठीले पाठ्य र मञ्चीय नाट्यफाँटमा अभिप्रेरणा अङ्कुरित गराएर एउटा ऐतिहासिक सत्कार्य गरेको छ भन्नु अतिरञ्जना हुँदैन ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 7 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु