बुधनको घोडी

- मन्दिरा मधुश्री

हरियाको सलमान आफ्नी करिस्मामाथि उक्लिएको देखेर बुधनले सपना हो कि भन्ठान्यो । अनि त अझ बढी नियालेर हेर्याे । मनमनै भगवानलाई पुकार्याे । हे भगवान बिपना नै होस् । सत्य नै होस ।
आफूलाई चिमट्दा चस्स भएपछि आँखा पूनः त्यही दृष्यमा गाढ्यो । सलमान करिस्माको जिउमा घरि आफ्नो जिउ दराल्थ्यो, घरि मुख । तीन चार पटक नै सलमान करिस्मामाथि उक्लेको देखेपछि ऊ खुशीले झण्डै उफ्रेर पागल भएको । तर त्यो खुशी प्रकट गर्ने माध्यम नै पाएन । न त खुशी बाँड्ने व्यक्ति नै । ऊ आफँैमा खुशी दबाएर ढुक्कसँग भन्यो आफँैसँग, “जे होस्, अब भने मेरा दुःखका दिन गए । अब करिस्माले एकटा बछडा देगी । उसको बड्का बनाएर बेचिहाल्छु । अनि गोपीसरले ऐलानी जग्गा मिलाईदिन्छु भनिलिएको छ । त्यहीँ फूसके घर बनाइलिइहाल्छु । अनि चन्दुलाई शादी करके ल्याइहाल्छु ।”
सौराहा चोक टाँडीबाट एकहुल पर्यटक लगेर सौराहा बजारमा ओह्रालेपछि टाँगाबाट करिस्मालाई खोलेर चर्न छोडिदिएको थियो उसले राप्ती नदीको किनारमा । अलिक पर हरियाको ‘सलमान’ पनि चरिरहेको थियो । उसले उद्धेश्यले चाहीँ छोडेको थिएन करिस्मालाई । न त त्यस्तो होला भन्ने आशा वा शंका नै । तर अकस्मात र अप्रत्याशित काम गरे सलमान र करिस्माले ।
उसले वरिपरि नियालेर हे¥यो, कतै हरिया चाचाले त देखिलिएन ? यदि उसले देखेको भए फेरि आफ्नो घोढाको बालको रकम दिहाल् भन्ने पो हो कि...। घोडाको एकचोटि बाल लगाइलिएको पच्चीस सय लिन्छ अरुलाई । आ...के मैले उसकहाँ लिएर गइलिएको हैन त करिस्माको । चरनमा उसको सलमान नै दौडेर आइलिएको त हो नि करिस्माके सँग । तर के थाहा ? चाचाले यसैमा निहुँ खोजेर दुस्मनी गरिलिने पो हो कि ?
आ गरे नि गरोस् । गरिलिएछ नै भनेपनि करिस्माले एउटा स्वस्थ बछेडा दिइहाली भने त्यसको पच्चीस सय हैन तीन हजार नै दिदिन्छु लौ जा । आफैँलाई प....र पु¥याएर सोचेको थियो बुधनले । तर अहँ वरपर चियापसल तिर कतैपनि देख्दैन हरियालाई उसले । सायद चिया खान वा त सवारी खोज्न बजारतिर गएको हुनसक्छ हरिया ।” यस्तै सोच्यो बुधनले ।
क्यामरा तेर्साएर मनोरम दृष्य कैद गरिरहेका अनि चियाको चुस्कीसँगै किनारामा आराम कुर्सीमा आराम गरिरहेका खैरे पर्यटकहरु प्रायः सबैको क्यामेरा सोझिएका थिए करिस्मा र सलमानको प्रणय क्रिडातिर । उनीहरुलाई यो अकस्मात र क्षणिकको सुन्दर र दुर्लभ दृष्य थियो । क्यामेरामा कैद गर्न पाएका कुइरे पर्यटकहरु ल्यापटपमा डाउनलोड गरेर हेर्दैे थिए । किनभने प्राणी वा जनावरको प्रजननका यस्ता दृष्य जहाँतहाँ कहाँ पाइन्छ र ? अकस्मात र अप्रत्यासित भेटिएको यस्तो दृष्यलाई कैद गर्न पाएका कुइरेहरु दंग थिए । भिन्दै मनोरन्जन पाएका थिए सबैले । मोबायल र ल्यापटपले देश विदेशमा पु¥याइरहेका थिए करिस्मा र सलमानको प्रणय लिला ।
किनाराको एउटा ढिस्कोमा झोक्राएर बसेको बुधनलाई पनि खुशी गराएकी थिई करिस्माले । किनभने उसले सोचेको सपना आज पूरा हुने संकेत दिएकी थिई करिस्माले ।
करिस्मालाई किनेदेखि नै उसले एउटा सपना देखेको थियो । भरपर्दाे सपना । करिस्माले बछेडा पाएपछि ठूलो बनाएर बेच्ने । बेचेपछि आएको पैसाले घर बनाउने । घर भएपछि घरजम गर्ने ।
“करिस्मा गाभिन भइलियो भने त ...? आफ्नो सपना पूरा हुन दुइ चार वर्ष त हो नि । दंग पर्याे बुधन सपना पूरा हुाने सपना देखेर ।
वरपरको वातावरण बदलिइसकेको थियो । सलमान करिस्मालाई छोडेर नदीतिर झरिसकेको थियो पानी खान । पर्यटकहरु तितर–बितर भइसकेका थिए । करिस्मा पनि चर्न थालेकी थिई । बुधन करिस्माको नजिक गयो र चरिरहेको करिस्मालाई बिस्तारै सुम्सुम्यायो । कानका जरी र गाला मुसा¥यो र अंगालो मार्याे । करिस्माले पनि आफ्नो नाक दराली उसको टाउकोमा । भरोसा दिएजस्तै लाग्यो बुधनलाई करिस्माले ।
बेजुवान नै आफ्नो खुशी साट्यो करिस्मासँग बुधनले । दश बजेको पालो थियो बुधनको टाँगाको । तर किन किन उसलाई आज सवारी गराउन मन लागेन । घरमै लगेर करिस्मालाई आराम गर्न दिने सोच्यो । उसले डोर्याउँदै लग्यो टाँगा भएतिर ।
सौराहा चौकनेर आइपुग्दा अकस्मात आफ्नो सामुन्ने हातमा दुवाली लिएको हरियालाई उभिरहेको देख्यो । झण्डै सातो पुत्लो उडेको उसको । उसलाई लाग्यो, हरियालाई सब पता चलिसकेको छ । सलमान र करिस्माको कुरा । त्यसैले त उसलाई गाली गर्न वा पैसा माग्न उभिएको छ यहाँ ।
“हे रे बुधन, मलाई नसोधि मेरै सलमानसँग मिसाइलिस आफ्नो करिस्माको ? यही भनेर उसको गर्धनमा भएको गाम्छा समात्ने छ अनि पच्चीस सय निकालीलिन्छस कि यही दुवालीले मारिलिइहालुँ रे तँलाई ?” यसै भन्ला भन्ने डरले डराएर नीलो....भयो बुधन् ।
“हे रे बुधन .., मेरो सलमानको.....” यति मात्र बोलेको थियो हरिया, बोली टुंग्याउनै दिएन बुधनले । अत्तालिँदै दाहिने हातले आफ्नो रुद्रघण्टी समाउँदै भन्यो, “राम कशम हरिया चाचा, मैले करिस्मालाई... सलमानको सँग...।” डराएर पूरा वाक्य बोल्नै सकेन बुधनले ।
हडबडाएर काँपेको स्वरमा बोलेको देखेर आशा विपरित उसको काँध थपथपाउँदै हरियाले भन्यो, “रे के भयो रे बुधन तँलाई ? किन यसरी डराइलिएको ? मलाई भूत देखिलिइस कि के हो रे ? मैले त मेरो सलमानको देखिहालिस कि भनेर सोधिलिन खोजेको थिएँ, त करिस्मासँगै ल्याइदिहालेको भए हुने भनिलिन खोजेको थिएँ । मैले अच्छा सा सवारी भेटेको छु । खैर छोडिहाल । त्यही खोलोके छेउमे चर्न छोडिलिए थेँ । अब म गएर ल्यैहाल्छु रे । तँ जाँदै गर...।” बोल्दै हिँडिसकेको थियो हरिया ।
हरिया र बुधन बिपरित दिशातिर लागे । बल्ल बुधनको सास आयो । “धेत्तेरी... हरिया चाचाको त मालुम नै रहेनछ, बित्थामा म पनि यतिधेरै डराइलिएँ । आफनै टाउकोमा प्याट्ट पा¥यो बुधनले अनि करिस्मातिर हेर्दै भन्यो, पता नचलोस चाचालााई एैले । बस् तँ एउटा राम्रो बछेडा पाइदिहाल, त्यसपछि त पच्चीस सय हैन तीन हजार नै दिदिन्छु रे ।” ढुक्क हुन खोज्यो बुधन ।
टाँगा लिएर घरसम्म पुग्दा उसले बाटाभरि केही र कसैलाई देखेन । रातो रातो, चिल्लो, राम्रो, सानो करिस्मा जस्तै बछेडा उसको आँखाभरि दौडिरह्यो ।
बेलुका उसले अलिक बढी गुँड मिसाएर धान दियो करिष्मालाई । मायाले सुम्सुम्यायो । पानको पात तताएर उसको सुत सेकिदियो । कोइलामा खोर्सानी डडाएर करिस्मालाई सुँघायो र वरिपरि घुमायो अनि दोबाटोमा लगेर राखिदियो ।
गोपीसरकोमा कुनै गाई भैँसीलार्इै बहर, राँगासँग मिसाएर ल्याएको दिन बेलुुका यसै गरेको देखेको थियो । त्यस्तै दोहो¥यायो उसले पनि । यसो गर्नुको अर्थ न त उसलाई थाहा थियो न त यसो गर्दा के हुन्छ भनेर कहिल्यै सोध्यो गोपीसरलाई नै ।
बुधन एकातिर धेरै खुशी थियो भने अर्काेतिर त्यत्तिकै डराएको पनि । किनकि हरियालाई थाहा छैन । थाहा पाएको दिन बुधनलाई बाँकी राख्दैन । हरिया रिसाहा छ । उसको रिसको घानमा एकदिन आफू पक्कै पनि पर्छु, यहि डरले कुट कुट खाइरहन्छ भित्र भित्र बुधनलाई ।
हुनपनि पच्चीस सयको कुरा छ । कसरी छोड्छ त हरियाले सित्तैमा ? ढाँटिलिइस भनेर पछि पैसा दोब्बर छेराइलियो चाचाले भने ..? बिर्सन खोजेपनि बेला बेला झस्कन्थ्यो यो कुराले बुधन ।
हुनत हरियाले सलमानको प्रणय क्रिया नदेखेता पनि पछि करिस्मा बियाउने भएपछि, बियाएपछि त पक्कै पनि सत्य त लुक्दैन । थाहा पाइहाल्छ । किनभने सौराहा भरि नै उसको एउटा त हो नि बहर घोडा । त्यो पनि बिउकोलागि भनेर नै पालेको । त्यसैले हरिया सँधै टाँगा चलाउँदैन । यदा कदा भने सलमानलाई लिएर बिदेशी पर्यटक ओसार्छ ।
केही महिना त ढुक्कै भयो बुधन । चार पाँच महिना पछि त टाँगावालहरुमा गाइँ गुइँ हल्ला चल्यो । बुधनको घोडी बियाउने छ । हरियाले पनि सुन्यो यो कुरा । संझन खोज्यो उसले, अहँ करिस्मालाई लिएर बाल लगाउन त बुधन कहिल्यै पनि उसकोमा आएजस्तो लागेन । उसले स्वास्नीलाई पनि सोध्यो ।
“रे...झौँकुके माई, बुधन कहिले आकोथ्यो रे म नभइलिएको बेला ? उसको करिस्मालाई सलमानके सँग् मिसाउन ?”
“ना रे ...। नहीँ आको छ ..।” स्वास्नीले भनी ।
“त पक्कै पनि गडबड छ रे ...। रे झौँकुके माइ, तँ भौजाई, चाची, मुन्नी के अम्मा सबैको लेकर गोपीसरकोमा आइहाल । कचहरी गरिलिनु पर्छ । म बिरादरीमा कुरा गरेर ल्याइहाल्छु” हरियाले भन्यो र निस्कयो । उसकी स्वास्नी झाँैकुलाई च्यापेर छिमेकतिर लागी ।
टाँडीबाट सवारी लिएर बछौली छिर्ने बित्तिकै सरदुले भेट्यो बाटोमा र भन्यो, “रे बुधन ? के गरिलिस रे तैँले ? हरियाले त गोपीसरकोमा कचहरी बोलाइलिएको छ रे तेरो लागि...। सबै बिरादरी बसिराखेको छ । तँलाई कुरिरहेको छ सबै । छिटै गै हाल । बचाइहाल रे आफूलाई । हरियाको रिस त मालुम छ नि तेरो.....।”
सल्याक सुलक भयो बुधन । अखिर जे कुराको डर थियो त्यही भएर छोड्यो । यो त एक दिन हुने नै थियो । फेरि आफैँलाई दह्रो बनायो । “मैले सलमानके सँग करिस्माको पठाइलिएको हैन त सलमान खुदै दौडेर आइलिएको हो करिस्माकेसँग् । मैले त चाचाको नभनिलिएको मात्र त हो । अनि बाल दिदिन्छु भन्ने ठानीलिएकै छु ।” आफैँले आफ्नो दोष केलायो र आफैँलाई सान्त्वना पनि दियो बुधनले ।
गोपीसरको आँगनभरि धेरै मान्छे देख्यो परैबाट । घर पुगेर टाँगबाट करिस्मालाई खोलेर तबेलामा बाँध्यो, आज धेरै दिन पछि उसले टाँगा चलाएको थियो । नत्र आजकल करिस्मालाई गाह्रो हुन्छ भनेर टाँगा चलाउँदैनथ्यो ।
बुधनलाई सत्य थाहा थियो । किन किचहरी बसेको भन्ने । ऊ कपाल कन्याउँदै निन्याउरो मुख पारेर आँगनमा आयो । गोपीसर उठेर बुधनलाई थपथपाउँदै भने, “के रे बुधन् हरिया के भन्छ ? तैँले तेरो करिस्मालाई उसको सलमानसँग उसलाई जानकारी नै नगरी बाल लगाइस अरे, के साँचो हो यो कुरा ?”
करिस्मा सलमानके सँग नै बाल गइलिएको छ सही हो, तर मैले हरिया चाचाके नभनी मिसाइलिएको भने होइन । सलमान त मेरो करिस्मा चरिलिएको ठाउँमा आफैँ दौडेर आएहाल्यो र करिस्मासँग मिसिहाल्यो । त मेरो कुनो गल्ती नही छैन गोपीसर यसमा ।
“हे हरिया ..? किन झुट बोलिस् तैँले ? तेरो सलमान आफँै गाको अरे त करिस्मासँग चरनमा ?”
“आफैँ गइलिए त पनि बाल त मेरो सलमानकेसँग गएपछि बालको पैसा त तिरिलिनु पर्छ” बुधनले हरियाले भन्यो ।
“अब जे भए पनि आफँै लागेको भए पनि बालको पैसा दे भन्छ त हरिया । फेरि तेरो करिस्मा पनि त गाभिन भाकै रैछ त .?” गोपीसरले भने बुधनलाई ।
पुलुक्क हेर्याे बुधनले हरियालाई ।
“हे रे बेइमान् । पैसा तिरिलिनु पर्छ भनेर तैँले भनिनस् रे मलाई ? तो अब खुरुक्क तिरिहाल...।” बुधनपटि हेरेर जंगियो हरिया ।
“मैले ठानिलिएको छु चाचा, तिमीलाई पैसा दिदिन्छु । तर करिस्माले बछेडा दियोस, बादमे दिइहाल्छु रे ।” डराएरै भन्यो बुधनले, हरियापटि हेरेर ।

“ना रे ...। न हुन्छ रे । पछि त । दिइहाल त अहिले दिइहाल । पछि के कुरा रे ..? सासके धनको कुनो भरोसा हुन्छ रे ....? दु चार दिन बाद हि तेरो घोडी मरिलियो भने ? बच्चा तुहाइलियो भने..? कसरी तिरिहाल्छस् रे ....?” हरियाकी स्वास्नीले बिरोध गरी ।
त्यसैमा हो मा हो मिलायो हरियाले पनि । “झौकुके माइको कुरा ठीक त छ नि । यसैले बालको पैसा दिहाल त ऐले दिहाल । यसले त पाँच पाँच महिना मेरेको पता दिएन । ढाँटिलियो । मेरो धेरै रिस चढेको त्यैमा छ ।”
चसक्क भयो बुधनको छाती चाचीको कुरा सुनेर । बर्रर आँसु नै खसाल्यो करिस्मालाई सम्झेर । आशापूर्ण नजर फ्याँक्यो गोपीसर तिर । गोपीसरले बुधनको आँखाको भाव पढेर पुन काँध थपथपाउँदै बिस्तारै भने, “के गर्छस त बुधन, तँ अब ? हरिया त छोड्दिन भन्छ ।
“अब चरनमा आफ्नो मनखुश सलमान करिस्मामे लाग्यो त मेरो कुन दोष ? मैले तिरिलिन्छु भनिलिएकै छु । चाचा दिहाल भनिलिन्छ । यसो मिलाइदे भनिलिनुस म पन्ध्र दिनमे तिरिलिन्छु ”। रुँला रुँला जस्तै गरेर बुधनले भन्यो ।
“हेर् हरिया, अब उसले जानाजान पठाएको हैन रहेछ । अब पशुलाई रोकेर रोक्न पनि त सकिन्न । तँ भएको भए के सलमानलाई नगर भन्थिस् ? आफैँ लागेको भए ता पनि बाल तिर्छु त भनेकै छ त बुधनले पनि ।
हेर, उसले तेरो घरमा ल्याएर बाल लगाको हैन त्यसैले अब अलिकति पैसा घटाइदे । दुइहजार मात्र लिइदे ऊसँग । बिचरा ऊ पनि त तेरो छोरा जस्तै त हो नि । पन्ध्र दिनको भाका मागेको छ उसले ।” गोपीसरले हरियातिर फर्केर भने ।
गोपीसरको कुरा का्ट्ने हिम्मत थिएन बछौली भरि कसैको पनि । हरिया पनि चुप भयो किनकी सबैलाई थाहा छ गोपीसरको फैसला निस्पक्ष र न्याय संगत हुन्छ । त्यसैले दुवै चुप भए ।
“चाचा मलाई माफ गरिदिहाल । मैले बालको पैसा तिर्न नचाहेको हैन । पैसा नभएर नभनिलिएको तिमीलाई ।” बुधनले हरियालाइ हात जोर्याे ।

सरकारी र नीजी बाहेक भाडाका गाडी सौराहा प्रवेशमा निशेध थियो । भाडामा गाडि छिर्न दिए वर्षँै देखि टाँगा चलाएर जिविका गर्नेको रोजिरोटि बन्द हुन्थ्यो । त्यसैले पनि टाँगा चालक सँघले कुनै भाडाका गाडि छिर्न दिँदैनथे टाँडी बजाारबाटै । टाँढी–बछौली–सौराहामा टाँगा गाडिको मात्र आनन्द लिन पाइन्थ्यो । पर्यटक (आन्तरिक तथा बिदेशी) बढीआउने भएकोले राम्रो आम्दानीको आशले टाँडी चितवनको यातायात व्यवसायी वा केही व्यक्तिहरु पटक पटक जबर्जस्ती गर्न खोज्छन् भाडाका गाडी कुदाउन । कसैले त नीजि वा सरकारी नम्बर प्लेट टाँसेर पनि कुदाइहाल्छन् । यसका बिरुद्ध टाँगावालहरु पनि बेला बेलामा आन्दोलनमा उत्रिहाल्छन् । यस्ता कैयाँै आन्दोलनमा बुधनले पनि नेतृत्व गरेको छ । आफ्नो करिस्मा सँगै ।
नेताहरुले सिकाएका नेपाल बन्दको प्रभाव टाँगावाल हरुमा पनि पर्छ बेलाबेला । उनीहरुले पनि बिरोध गर्ने माध्यम त्यही टाँगा बन्द त हो । यही टाँगा बन्दको नराम्रो र गहिरो घटना जोडिएको छ बुधनको जिन्दगीसँग पनि ।
बुधन जन्मदाँ सौराहा टाँडी सडक बन्द थियो । सडक बन्द भएपछि टाँगा पनि बन्द । सुत्केरी व्यथा लागेपनि तत्काल अस्पताल लैजाने साधन नपाएकोले बढी रक्तश्राव भएर बुधनकी आमाको मृत्यु भएको थियो । गोपीसरले मोटरसाइकलमा राखेर डाक्टर ल्याइपुर्याए पनि ढिलो भैसकेको थियो आइपुग्दा ।
सात महिना सकेर आठौँ महिना नलाग्दै जन्मेको बुधनले आफ्नी आमालाई देख्दै देखेन । उसको बाबु को हो ऊ मात्र हैन गाउँ घर, गोपीसर कसैले पनि चिनेकै छैन आजसम्म पनि उसकी आमा बाहेक ।
आफ्नो तीनओटा छोराछोरीबबाट उबारेर दिएको गोपीसरको मायाँले नै जीवन बुझ्न सक्यो बुधनले पनि । उसले पाएको आफन्तको तातो स्पर्श भनेको त्यही करिस्मालाई किनेर ल्याएपछि उसको मात्र हो । उसको आँत नभरिएपनि उसको त्यही एक मुठी मायाले जीवनको गोरेटो कोरिरहेको छ बुधनले ।
बूढो बाबुसँग बस्दै आएकी लठेब्री र बोल्न नसक्ने बुधनकी आमा गोनुरी त्यतिबेला पन्ध्र वर्षकी मात्र थिई । एकदिन बेलुका मुट्ठिभरि दुई तीन सय खुजुरा पैसा र रत्ताम्मे पिँडुला लिएर आई । गोपीसरकोमा कचहरी बस्यो । त्यस्तासँग जाइलाग्ने कुनचाहीँ नरपशु थियो कसैले पनि देखे, सुने, चिनेको बताएनन् ।
गोनुरीले इशारामा बताएको हुलियाबाट धेरैलाई अडकल गरेतापनि को हो यकिन साथ भन्न सकिएन । चार पाँच दिन सम्म थला परी गोनुरी ।
सत्य के हो कसैलाई पनि थाहा नभएपनि सबै भन्थे, गोनुरी पनि बूढोकै छोरी हो । दुई तीन वर्षकी गोनुरीलाई कतै भेटेर छोरी बनाएर पालेको अरे । उसका अरु परिवार को छन् ? कहाँ छन् ? कसैलाई पनि थाहा छैन ।
छ सात वर्ष अघिएकदिन गोपीसरकोमा शरण लिन आइपुगेका थिए बाबु छोरी । आफ्नो बारेमा कसैलाई केहीपनि बताएको थिएन उसले । गोपी सरले नै चोक निरको ऐलानी जग्गामा एउटा झुप्रो हाल्ने व्यवस्था मिलाइदिएका थिए । गोनुरी आफूले सकेको काम सघाउँथी गोपीसरकोमा ।
बुधन लाई आमालबाबु सबै बनेर बूढोले नै सघायो । एक त उमेरै नपुगेकी आमाबाट जन्मेको सन्तान, त्यसमा पनि मैन्हा नपुगी जन्मेको, अर्काे जन्मने बित्तिकै आमा मरेको, तेस्रो लोग्नेमान्छेले सह्यारेको बच्चा । बुधन कुपोषकणको शिकार थियो । लुरे र मरन्च्याँसे । आँत छिनेको । ऊ तीन पुगेर चार लागेपछि बूढो पनि उसलाई एक्लै छोडेर गयो कहिल्यै पनि नफर्कने ठाउँमा ।
गोपीसरकै छत्रछायामा उसले छ कक्षा सम्म पढ्यो । छुट्टिमा र फुर्सदमा कहिले काहीँ हरिया चाचा र अरु हरुकै टाँगामा चढेर कहिले टाँडी र कहिले सौराहा गर्दा टाँगा चलाउन सिकिसकेको थियो । ऊ भागि भागि टाँगा हाँक्न जान्थ्यो । उसले कति गर्दा पनि पढ्नमा ध्यान लगाउन सकेन । पछि उसले टाँगा चलाउने रहर गरेकोमा एउटा बछेडी किनिदिए गोपीसरले नै । शिक्षाको महत्व बुझेका गोपीसरले पढाउने हर प्रयास गरे । तर बुधन धेरै जसो त बिरामी भएर नै पढ्न सकेन । पछि पछि पटक्कै मन पनि गरेन ।
सबै टाँगावालहरुले आफ्नो घोडा घोडीको नाम हिन्दी सिनेमाका हिरो हिरोइनहरुका राख्दथे । उसले पनि घोडीको नाम आफूलाई मनपर्ने हिरोइन करिस्माको नाम राखेको थियो । एकपटक राजा हिन्दुस्तानी फिल्म हेरेपछि उसलाई करिस्मा नाम एकदम मनपरेको थियो ।
राजा हिन्दुस्तानीमा पनि गरीब ट्याक्सी चलाउने ड्राइभर सँग धनी बाबुकी छोरी करिस्माको प्रेम भएको थियो । ऊ पनि मख्ख पथ्र्याे करिस्मालाई सम्झेर । करिस्मा जस्तै केटी आफ्नो टाँगामा बसाएर सवारी गराउने मीठो कल्पनामा मग्न हुन्थ्यो बुधन ।
महिना दिन सम्मको भाका राख्नु पर्ने रहेछ । यस्तै यस्तै सोच्दै आयो घरमा बुधन । आजकल करिस्मा पनि त्यति फुर्तिली छैन । भारी जिऊ । एकक्षण हिँड्दा पनि फ्याँ फ्याँ गरिहाल्छे । मान्छे पनि कम राख्नु पर्छ । छ जना राख्दा त तान्नै सक्दिन । कुइरे भेट्यो भने त हुन्थ्यो । तर कुइरेहरु प्रायः सबै होटलको गाडिमा नै सौराहा आउने जाने गर्छन् । कुनै कुनै टाँगा चढ्ने रहरले मात्र त हो ।
हरियाले दिएको समयमा पाँच दिन त त्यत्तिकै बित्यो । दुई दिन करिस्मा नै बिरामी परी । बसीरही । कति गर्दा पनि उठ्दै उठिन । एक दिन उसले राम्रो सवारी भेट्यो । एक हजार रुपैञा पाएको थियो उसले । आज सम्म यस्तो चिठ्ठा त कहिल्यै परेको थिएन उसलाई । तर यसैमा आफ्नो खाना, करिसमाको दाना, घाँस सबै किनेर बाँकी रह्यो पाँचसय ।
यस्तै सवारी दुइ खेप भेटे त आसानले तिरिहाल्थेँ । पैसा । यहि सोचेर अबेर निदायो बुधन ।
अब सँधै करिस्मा टाँगा तान्न पनि त सक्दिन । र सकेसम्म जोत्नु पनि हुँदैन । आराम गर्न दिएपछि मात्र स्वस्थ्य बछेडा जन्माउँछे । बियाएको बेला पनि खुवाउनलाई दाना, धान, गुँड पनि किनेर राख्नुपर्छ । फेरी आफ्नो टाँगा पनि हुन्न । ल्याउन पनि । टाँडि बजारबाट नै किनेर ल्याउन त गाह्रो हुन्छ बा ।
अरु एकदिन ऊ आफैँ ज्वरो आएर सुत्यो । टाँगा यसै बस्यो । दुइसय रुपिञाको त औषधि नै खायो । नत्र निमोनियाले समाइहाल्छ उसलाई ।
तराई मधेश संघियताको विषयमा पुःन बिद्रोह चर्किएर नेपाल बन्द भयो । दुइ दिनसम्म चक्का जाम भयो । टाँगा पनि चक्का भित्र नै पर्याे । सँधै चहलपहल हुने सौराहा सुन्य भयो । सडकमा घोडाको टाप बजेको पनि सुनिएन ।
जम्मा पाँचदिन बाँकि थियो हरियालाई दिएको भाका । पहिला दिन बिराएर टाँगा चलाउँथ्यो । करिस्मालाई ध्यान दिएर । अब त जम्मा पाँच दिन । उसले दिनै लग्यो टाँडी तिर । एक दिन तीनसय । दुइदिन दुइ दुइ सय । जम्मा सातसय । पहिलाको तीनसय गरेर जम्मा एक हजार । बाँकी एक हजार ।
तोकिएको म्यादको अघिल्लो दिन टाँडी हानियो टाँगा लिएर । सायद नारायणघाट बाट वा पुर्व बन्द नै रैछ । सवारी पटक्कै भेटेन । दिनभरि टाँडी चोकमा कुरेर बसिरह्यो । भोलि हरियाले आफूलाई गर्न सक्ने कुरा अनुमान लगाइरह्यो बेला बेला । सिरिंग हुन्थ्यो जिउ नै उसको ।
पाँचबजे बन्द खुलेपछि सवारी पाइने आशाले ऊ बारम्बार राजमार्ग हेरिरहन्थ्यो । अगाडिको चियापसलमा झुण्डयाइएको घडीमा बेला बेला आँखा पुर्याउँथ्यो ।
बाह्र घण्टाको दिन पनि उसलाई पचहत्तर घण्टा जत्तिकै लामो लाग्यो ।
पाँच बजेपछि बन्द खुल्यो । नभन्दै एक्कासी सवारी साधन चल्न थाले । बाटोमा अडकिएका पर्यटकहरु बोकेका गाडीहरु धमाधम हुइँकिन थाले धूलो उडाउँदै ।
बुधनले कहिल्यै नसम्झने भगवानलाई आज मनमनै पुकारा गरिरह्यो । सिरुवा मेलामा एक जोर परेवाको बच्चा र भन्टाको भार बनाएर चढाउँछु भनेर भाकल गर्याे ।
जति जति समय बित्थ्यो, बुधन पनि निराश बन्दै जान्थ्यो । ऊ भन्दा पनि थकित करिस्मा देखिन्थी । बुधन मानसिक रुपमा र करिस्मा शारीरिक रुपमा । केही दिन देखि करिस्मालाई पनि बिसन्चो छ । दाना पनि राम्ररी खाएकी थिइन । करिब सात बजेतिर पाँच जनाको एउटा समूह आयो र उसको टाँगा सोधे ।
सौराहा जाने कति हो ?
पुरेै रिजर्भ हो कि सिंगल हो हजुर ? बुधनले सोध्यो ।
हामी पाँचजना छौँ । कति हो ..?
दिनमे त आठसय हो हजुर । अब रात झर्न लागि गो, हजार दिनुस । हजार लिन सके मात्र उसको समस्या टर्ने थियो । राम्रो होटल सम्म पुर्याउने शर्तमा मन्जुर भए सबै ।
करिस्माको अवस्थाबाट परिचित बुधन विवश थियो सवारी बोक्न । करिष्मा गाभिन भएको चार महिना पछि त उसले चारजना भन्दा बढि सवारी पनि हालेकौ थिएन । पातला मान्छे र केटाकेटी भए मात्र पाँचजना ।
चल करिष्मा चल । याात्री चढेपछि सवारी चलाउन खोज्यो बुधनले । अहँ करिष्मा सुस्त देखिई । उसले बिस्तारै सुम्सुम्यायो ।
चल करिष्मा चल । तीन चार चोटी बिस्तारै फकायो ।
माफ गरिदे करिष्मा आज मलाई । भोलिदेखि मा कसम । म टाँगा नै चलाउँदिन । तँ चंगा नहुन्जेल सम्म । कसैले नसुन्ने गरि मनमनै भन्यो ।
हरिया चाचाको पैसा भोलि नै दिनु दिइहाल्नुपर्ने भएर मात्रै हो । आफ्नो पीडा पनि पोख्यो उसले करिष्मालाई । तर करिष्माले कति बुझि कुन्नी...।
टाँगामा जोतिएको घोडाले के नै पो गर्न सक्थ्यो र । जति अशक्त भएपनि । घोडाको गति पनि माहुतेको हात र इशारामा हुने । खुट्टा कपाउँदै करिष्मा बिस्तारै हिँड्न थाली बुधनको इशारामा । ।
सुनसान सडकमा करिष्माको टापको टक टक बाकेक बेला बेला बुधनको चल करिष्मा चल बाहेक अरु आवाज सुनिदैनथ्यो । बन्दले गर्दा बाटो सुनसान थियो । लामो बाटो हिँडेर थाकेर हो टाँगाका यात्रि पनि चुपचाप थिए ।
करिब पाँच मिनेट हिँडेपछि करिष्माको गति क्रमशः कम हुन्थ्यो । पुनः बुधन एकचोटी दुवालीले उसको डँडेल्नोमा बिस्तारै हान्थ्यो र भन्थ्यो, चल करिष्मा चल.....।
फेरि केही पाइला चलेपछि पुनः सुस्त हुन्थी करिष्मा ।
के हो टाँगावाला, तिम्रो टाँगा हो कि यो गोरु गाडा हो ? एउटा यात्री झर्कियो ।
यस्तै हो भने त टाँगा चढेर हैन हिँडेर नै पो छिटो पुगिन्छ होला है .....? अर्काेले थप्यो ।
अलिक छिटो कुदाओ भैया...। अघिकै फेरि बोल्यो. ।
यसपाली बुधनले अलिक साह्रै स्वाँट्ठ हान्यो । दुवालीले करिष्माको डँडेल्नोमा । झस्केर अलिक तेजले दौडी करिष्मा । तर एकक्षण पछि उहि गति भो उसको ।
जसो तसो खोलाको पुल तरेर उकालो लागेपछि अलि अलि गर्दै स्थिर भइ करिष्मा ।
बुधनले धेरै चोटी फकायो । चल करिष्मा चल ...।
फ्याँ फ्याँ गरिरहि करिष्मा ।
अघिकै यात्रु फेरि झर्कियो, के हो टाँगावाल...? पैसा मात्र लिने ? के हो यस्तो घोडा पनि ।
ना हजूर ,....। अलिक बेरामी भएकोले....। डराएको स्वर थियो बुधनको । कतै यात्रु ओर्लेर नहिँडिदिउन....।
अनि यस्तो टाँगा नै तान्न नसक्ने घोडा किन राख्नु त ? ल अब हामी हिँडेर नै जान्छौँ । ओर्लन खोज्यो अघिकै यात्रु ।
ना हजुर ना । एकैछिन सुस्ताइलिन दिहाल्नुस । अनि त हजुर हिँडिहाल्छ नि ....।
पुःन दुवाली बर्सायो डँडेल्नोमा करिष्माको । अहँ करिष्मा हल्लिन । डेगै चलिन । उसले धेरै पटक भन्यो, चल करिष्मा चल । तर नसुने झैँ नै भई करिष्मा । खुट्टा थरथरी काँपिरहेका थिए । कोखा भुक्लुक भुकलुक गरिरहेको थियो । नाकको पोरा फूलाउँदै हर्याक हर्याक गरिरहेकी थिई । जिउ पुरै तातो थियो । आँखाबाट बरबरी आँसु झरिरहेको थियो ।
करिष्माको अवस्था थाहा भएपनि बुधन विवश थियो । यात्रु उत्रेर हिँडेभने उसले कबोले जति पैसा पाउँदैनथ्यो । पैसा नभए भोलि हरियाले उसको हुर्मत लिनेमात्र हैन ढुकढुकी नै छाम्छ ।
यो सम्झँदा उसलाई चीसो भयो । अनि अलिक जोडले फेरि दुवाली बर्सायो । अहँ करिष्मा अटेरी नै भइरही । सिरिंग आड जर्काउँदै ऊ उभिइरही । नाक र मुखबाट र्षल काडिरही ।
चल रे करिष्मा चल... ।
अलि कड्केर बोल्यो र अझै साह्रो दुवाली मार्याे । गाभिन भएको करिष्मा माथि निर्दयी भयो बुधन दुवाली बर्सायो । लाचार भएर आड. थापिरही करिष्माले पनि । तर पाइला चाल्नै सकिन । बल गरेर अगाडि बढ्न खोज्दा पनि तानिँदै तानिएन टाँगाको भार करिष्माको शरीरले । डँडेल्ना भरि सुम्ला भए ।
बुधन टाँगबाट तल ओर्लियो । एकक्षणको लागि मोटा खालका दुइजना यात्रुलाई पनि अनुरोध गरेर तल ओराल्यो । र बिस्तारै करिस्माको याल खेलाउँदै फकाउँदै भन्यो,
चल करिस्मा चल ...।
टाँगा अलिक हलुका भएपछि करिष्मा बिस्तारै हिँडी । उकालो कटेपछि बुधनले पछाडिको उनार मिलायो । अगाडि पातला खालका र पछाडि मोटा यात्रुहरु मिलाएर राख्यो ।
यात्रुहरु एक मुख लगाएर घुर्काउन थाले, यस्तो टाँगामा पनि नचढ्ने र पैसा पनि नदिने ।
यात्रुको रिस उसले करिस्मामाथि पोख्यो । कसेर तीन स्वाँठ दुवाली हिर्काएपछि लाचार करिस्मा फ्याँ फ्याँ गर्दै हिँड्न थाली ।
परिवन्दले निर्दयी बन्यो बुधन । आवस्वयकताका अघि उसको मानवता हरायो । पशुनै भएपनि संसारमा आफ्नो भन्ने त्यही करिष्मा माथि उसले पहिलो चोटी कठोर हुनुपर्याे ।
घिस्रेर सौराहा पुर्याई करिष्माले टाँगा । बेजुवान पशुको दर्द र पीडा कस्ले पो बुझ्ने ? एकातिर बुधन उसले भनेजति वा चाहिएजति पैसा पाएकोमा खुसि थियो । अर्कातिर जान्दा जान्दै पनि परिस्थितिबस करिस्मा माथि कठोर भएकोमा आत्मग्लानी र पश्चाताप लागिरहेको थियो । मन हुँडलीरहेको थियो उसको ।
टाँगाबाट खोलेर तबेलामा पुर्याउने बित्तिकै करिस्मा भ्यात्त परेर बसी । पुरै जीऊ छोडेर र टाउको र खुट्टो पनि तन्काई । आँखाबाट बर्बर आँसु झरिरहेको थियो । जिऊ पनि आरानमा हालेजस्तो तातो थियो । मुखबाट हर्याक हर्याक भइरहेको थियो । र्याल झरिरहेको थियो ।
त्यति दयनीय अवस्थामा आफ्नी करिष्मालाई देख्दा बुधनको पनि धैर्यको बाँध टृुट्यो । ऊ करिस्माको टाउकोलाई अँगालो हालेर सिरानी बनाएर धुरुधुरु रोयो । बेजुवान नै पीडा साट्यो ।
मलाई माफ गरिदे करिष्मा...।
बरु हरिया चाचाको कुटाइ खाइलिएकै भए हुन्थ्यो । पैसाको लोभ बेक्कारमा गरिलिएँ मैले...।
निकैबेर रोएपछि उसको मन अलिक हलुका भयो उसको । उसले करिष्माको आँखा, मुख पुछिदियो । पानी ल्याएर खान दियो । अहँ, उसले कुनै प्रतिक्रिया देखाइन । बेला बेला आँखा झिम्काउनुबाहेक...।
उसले पिठोको तातो खोले पकाएर ल्याएर दियो तर करिष्माले हेर्दा पनि हेरिन । तेल तताएर कानको जरी, नलिखृुट्टा, टाउकोमा लगाइदियो । दुवालीले बर्साएको सुम्लोमा पनि तातो तेल लगाएर मालिस गरिदियो । सायद दुखेर होला, यसो गर्दा चाहिँ करिष्माले जिउ मर्काइ ।
उसले सँधै झैँ बिस्तारै करिष्माको भुँडीमा हात लगेर सुम्सुम्यायो । यसो गर्दा करिष्मा नाकका पोरा दरालिदिन्थी बुधनलाई । तर आज केही गरिन करिष्माले ।
बुधनलाई घरभित्र पसेर सुत्न मन लागेन । त्यहि करिष्मा छेउमा बोरा ओच्छ्याएर पल्ट्यो । गर्मी, भोक, थकाइ र करिष्माको पीरले निन्द्रा लागेन । करिष्मालाई सुम्सुम्याएर माफि मागिरह्यो । आफ्नो बुद्धि बिग्रिएकोमा पश्चाताप गरिरह्यो ।
रातको तेस्रो प्रहरतिर मात्र उसको आँखा लागेछ । चराहरुको चिर्बिराहटले उसको निन्द्रा खुल्यो ।
बेला बेलामा करिष्मा छटपटिरहेको देख्यो उसले र एकाएक तर्सियो । करिष्माको पुच्छर रगतको आहालमा डुबेको रहेछ । के भएको हो उसले खुट्याउनै सकेन । अनिष्टको शंकाले हत्त न पत्त थानदेउतालाई सम्झेर एकजोर परेवा र एक भार बैगनको भाकल गर्याे । भगवान करिष्माके केही नभइलियोस् ।
बुधन करिष्माको टाउको काखमा राखेर मुसारेर बसिरह्यो । करिष्माका जस्तै उसका आँखा पनि बर्सिरहेका थिए ।
बेला बेला करिस्मा छटपटाएर खुट्टा फ्याँक्थी । त्यो देख्दा करिष्मालाई सहनै नसक्ने पीडा भएको छ भन्ने बुझ्यो बुधनले तर के पो गर्न सकथ्यो र ऊ..? आफूलाई सराप्नुबाहेक..।
आधा घण्टा जति त्यसैगरि छट्पटाएपछि एकचोटी झण्डै डल्लो पर्ने गरि छटपटाइ करिष्मा । मुखबाट एक खालको आवाज पनि निकाली । यहि आवाजसँगै उसको बच्चा निस्कियो । रगतको खोलो बग्यो सँगै । हत्त न पत्त बुधनले हेर्याे, भर्खर स्वरुप मात्र राम्ररी बनिसकेको कलिलो, कालो कालो बच्चा जन्माएकी थिई करिष्माले । तर त्यसमा प्राण थिएन ।
त्यसैबेला हरिया पाँच, छ जनाको जमात लिएर बुधन भएतिर आउँदै गरेको देख्यो बुधनले । बुधनले एकचोटि हिजो बेलुका पाएको पैसा छाम्यो गोजीमा राखेको । अनि हेर्याे, घरि हरिया र घरि करिष्माको निर्जीव बछेडातिर ......।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 7 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु