अन्तिम मान्छेको डायरी

- मणि भट्टराई

संसारमा स्कुलहरू पूर्णत: बन्द भए । स्कुल पढ्ने समुहका मान्छेहरू कोही पनि थिएनन् । विस बर्ष मुनिका मान्छेहरू यस संसारमा निमिट्यान्न थिए । मान्छेहरूमा उत्साह मर्दै गएको थियो । कोही कसैमा प्रतिस्पर्धा थिएन । क्रमश: संसार सुनसान जस्तो बन्दै गइरहेको थियो । कलेजहरू पनि एकपछि अर्को बन्द हुने प्रकृयामा थिए । के पढाउने र किन पढाउने भन्ने अन्यौल र निराशाले संसारलाई छोप्दै ल्याएको थियो ।

उद्योगधन्दाहरू धमाधम बन्द भइरहेका थिए । विज्ञान र प्रविधि जहाँको त्यहिं रोकिएको थियो । संसारमा यो बाद र त्यो बाद, यो धर्म र त्यो धर्म, यो जात र त्यो जात केही पनि थिएन । राष्ट्रबादका कठोर नाराहरू विलय भएर गएको बर्षौ भएको थियो ।

पचास बर्ष अघि यस संसारका सम्पूर्ण महिलाहरूले बच्चा नपाउने निर्णय गरेका थिए । सुरू सुरूमा अपत्यारिलो लागे पनि यो कुराले मूर्त रूप लिएर छोड्यो । आज पचासौं बर्षको अबसरमा यस धर्तीमा बचेका महिलाले यो धर्तीबाट चाँडै मानव अस्तित्वको अन्त्य हुन गइरहेकोमा खुसीले एक साथ ताली पड्काए । त्यहाँ उपस्थित केही पुरूषहरूले पनि साथ दिएर ताली पिटे, तर अधिकाँस पुरूषहरूको अनुहार भने अझै मलीन देखिन्थ्यो । महिलाहरूको यो अभियानमा संसारका करोडौं पुरूषहरूले पनि साथ दिएका थिए । संसारले भौतिकताको चरम रूप लिंदै गएपछि संसार भर विभिन्न नाममा युद्दहरू हुन थाले । जसरी हुन्छ भौतिक सम्पन्नता हाँसिल गर्ने भूत मान्छेहरूमा नराम्रोसँग विकसित भएर गएको थियो । धर्म भन्ने कुरा सिर्फ देखावटी थियो। कुनै कुरामा पनि मान्छेमा विश्वास हुन छोड्यो । हत्या हिंसा र आतंकले संसारको कुनै ठाऊँ अछुत रहन सकेन । जातका नाममा, धर्मका नाममा, रंगका नाममा, राष्ट्रियताका नाममा, मजदुर र मालिकका नाममा संसारभर हिंसा भड्किएको थियो । कहाँ मान्छे कति मरे भन्ने कुनै राष्ट्रसँग केही तथ्यांक थिएन । संसारमा त्यस्तो कुनै घर थिएन होला जुन युद्दको चपेटामा नपरेको होस् । हिंसाको सबैभन्दा दर्दनाक रूप नारीहरूले व्यहोर्नु परेको थियो । पुरूषहरू स्वभाविक रूपमा मारिन्थे, मर्थे, सके आफू मार्थे । तर नारीहरू भने अधिकाँस वलत्कृत भएर मर्नु पर्थ्यो । कतिलाई मारिसकेपछि पनि बलत्कार गरेर छोड्थे । जहाँ आँखा खोले पनि यस्तै विभत्स दृष्यहरू खडा हुन्थे । कुनै पनि आमाका कुरा कुनै सन्तानले सुनेका थिएनन् । संसार मृत्युउत्सब भएर अघि बढिरहेको थियो । खै! कसरी हो कुन्नि ! यहि बेला एकै समय संसारभरका नारीहरूमा एउटै सोच एकाएक आएको थियो ।यहिबेला उनिहरूले यो दर्दनाक विश्वको निरन्तरता रोक्ने कठोर निर्णय एकसाथ गरेका थिए । यो निर्णयसँगै संसारमा एकाएक हिंसा घट्दै गयो । तर नारीहरूले आफ्नो निर्णय बदलेनन् । र यो त्यही निर्णायकों पचासौ दिनको अबसर थियो ।

धर्तीमा पचास बर्ष मुनिका मानिसहरू कतै थिएनन् । र म ठीक पचास बर्षको मान्छे, यो धर्तीको अन्तिम र सबैभन्दा कान्छो पुस्ता पनि त्यहाँ उपस्थित भएको थिएँ । म चुपचाप थिएँ । मेरा आवाजहरू मैसँग बुढा भइरहेका थिए । मेरो भाषा मैभित्र मरिरहेको थियो । मेरो कला, मेरो संस्कृति, मेरो जात, मेरो धर्म, मेरो रंग, मेरो भूगोल सबै सबै यो सृष्टिको अनन्ततामा विलय हुँदै गइरहेका थिए । मलाई आफू कुनै खाल्डोमा पुरिंदै गइरहेको जस्तो लागिरहेको थियो । मेरो भारी विसाउने पुस्ता मसँग थिएन । म कहिं गइरहेको थिएँ, मलाई पछ्याउनेहरू मेरो पछि केही पनि थिएन । अगाडि जानको लागि अझै थोरै जीवन बाँकि थियो, पछाडि केही थिएन, खालि निरन्तर एउटा सन्नाटाले लखेटिरहेको थियो ।

पुरूषहरूको तुलनामा महिलाहरूको सँख्या अत्यान्तै न्युन थियो । र जति बाँचेका थिए तिनीहरूमा पनि कसैसँग प्रजनन क्षमता बँचेको थिएन । यस बीचमा मध्यपूर्वका कुनै पनि महिलाहरू जीवित थिएनन् । ती सबै पुरूषहरूको क्रोधले सुरूमै ख़रानी भएर गए। महिलाहरूले बच्चा नपाउने निर्णय गर्दा सबैभन्दा आक्रोसमा मध्यपूर्वका पुरूषहरू देखिएका थिए । सुरूसुरूमा तिनीहरूले नारीहरूलाई मनाउने प्रयत्नहरू गरे पनि ती असफल भए । अन्तत: नारीहरूको विभत्स हत्या सुरू भयो । पुरै संसार नारीहरूको रगतले भिज्यो । धेरै देशका सरकारहरूले १८ बर्ष देखि ४९ बर्ष ननाघेका महिलाहरूलाई पक्राउ गर्दै महिला शिविर निर्माण गरेर जबर्जस्ती गर्भधारण गराउने प्रयत्न गरे तर त्यो पनि सफल हुन सकेन । यस सिलसिलामा संसारमा लाखौ महिलाहरूले आत्महत्या गरेका थिए ।

संसार अनौठो विश्वमा प्रवेश गरिरहेको थियो । चीनसँग अमेरिका त्रसित थिएन । न त नेपाल र भारतको सीमा विबाद कायमै थियो । उत्तर कोरियाले क्षेप्यास्र परिक्षण गरिरहेको पनि थिएन । देशका सिमारेखाहरू लगभग मेटिएका थिए । पहिलेको जस्तो मान्छे मान्छे बीचको आतंकको ठाऊँ मान्छे विनाको सन्नाटाले ओगट्दै लगिरहेको थियो । सबै आ-आफ्नो मृत्यु कुरेर जीवन बाँचिरहेका थिए । कति डिप्रेशनले आत्माहत्या गरिरहेका थिए । मान्छेहरूका कुरा सुन्दा लाग्थ्यो हरेकलाई मर्नको हतार छ ।

गाऊँमा क्रमश: जंगल पसिरहेको थियो । मान्छेहरू सकेसम्म भेलाभएर एकै ठाउँमा बस्न खोजिरहेका थिए । जंगल र जंगली जनवारले मान्छेलाई मिच्दै ल्याइरहेका थिए । सारा धर्ती क्रमश निर्जन बन्ने प्रकृयामा थियो । कसैको कसैसँग रिस राग थिएन, कसैले कसैलाई मार्नु थिएन, सबै आफै नै मरिरहेका थिए । तर मर्नेहरूलाई संझेर या मरेको दृश्य देखेर कोही पनि रूँदैनथे । मान्छेहरूको शरीरमा आँसु सुकेको धेरै बर्ष भइसकेको थियो ।

मान्छे भेटिनु नै ठूलो कुरा बन्दै गएपछि जात, धर्म र रंग भन्ने कुरा मान्छेले संझने कुरै थिएन । अलिअलि गर्दै मान्छेहरू समुन्द्रको छेऊछाऊतिर सर्दै गइरहेका थिए। खेतिपाती गरेर खान सक्ने अबस्था नाज़ुक बन्दै गइरहेको थियो । कति देशमा मान्छे नै थिएनन् ।संसारका अधिकाँस सहरहरू मानवरहीत थिए । खाली घरले बुढाबुढीहरूलाई तर्साईरहेको थियो । जंगली जनवारहरू बढेर मान्छेहरूलाई आक्रमण गर्न थालेका थिए । कति मान्छेहरू यसरी नै मरे । खेति गर्न सक्ने उपाए नभए पछि बँचेकाहरूको आहारों भनेको सकेसम्म तिनै जंगली जनवारहरूको सिकार गरेर खानु, नसके मर्नु या तीनै जनवारहरूबाट मारिनु थियो ।

आज पृथ्वीको अन्तिम बँचेको मान्छे म - यो कहानी लेख्दै छु । तर यो पढ्ने मान्छे अब यो संसारमा कोही पनि छैन । मैले यो डायरी च्याते पनि नच्याते पनि यसको कुनै अर्थ छैन । मैले यो लेख्नुको नै पनि कुनै अर्थ छैन । न त मेरो विगत मसँग छ, न त वर्तमान, न त भविष्य ?
म अस्तित्व छु पनि के छु ? म हुँ पनि के हुँ ? म जीवित भएको प्रमाण के ? आफ्नो साँछि आफै पनि के साँछि ??

नारीहरूले अब उप्रान्त बच्चा नजन्माउने निर्णय गरिरहेको बेला जन्मिएको म नै यस धर्तीको अन्तिम बालक मात्र थिइन, म यो धर्तीको अन्तिम बँचेको मानब पनि भएको छु । पुरूषहरूले एकआपसमा युद्द गरेर संसारलाई मसान घाट बनाईरहन्थे । नारीहरूले मान्छेलाई जन्मै नदिए पछि उनिहरूले मारे भन्न त मिलेन, तर यसरी एकाएक मान्छेको संसार समाप्त भएर गयो । एक शताब्दी भन्दा कम समयमै पृथ्वी मानवरहीत भयो ।

यो अभियान सफल पार्नको निम्ति लाखौं करोडौं महिलाहरू मरे / मारिए । प्राण त्याग गरे तर उनिहरूले बच्चाहरूको निरन्तरता स्वीकारेनन् ।

धर्मको पनि काम भएन । काम क्रोध लोभ मोहका दर्शनहरू पनि कुहिएर गए । संसारलाई कुनै ज्ञानगुनको आवस्यकता नै परेन । मान्छे हुँदा त रहेछ नि ज्ञानगुन चाहिने । मान्छे नै सकिंदै गएपछि सबै प्राकृतिक तबरले नै चल्दोरहेछ । एक अर्काबीच मिलेर बाँच्न सिकाउन त रहेछ नि दर्शन र ज्ञानगुनको काम पनि । एक मात्र बचेपछि अर्को नभए पछि त्यसको पनि के काम हुँदोरहेछ र ?

एकाएक मलाई मेरो टाउको गह्रौ भए जस्तो लाग्यो। म हिंड्न पनि नसक्ने बुढो मान्छे | यहि शरिर नै मलाई भारी भएको छ । अब के गर्ने होला ! यो प्राणको अन्त्य कुर्नु शिवाय अरू क्षमता शरिरमा शून्य छ । यो सोच्नु पनि के सोच्नु ? सोचेर पनि के गर्नु ? नसोचेर पनि के गर्नु ? म शून्य, शून्यमा विलीन भइरहेछु.. । ऊ त्यो माथिबाट लडेर आएको ढुँगो मेरो ..मेरो समाप्तिको अन्तिम कारण हुन सक्छ । मेरो आफ्नो भोक नै पनि मेरो समाप्ति हुन सक्छ । जतिखेर पनि कुनै हिंस्रक जंगली जनवारको आहारा पनि हुन सक्छु म । हुन त संसारबाट अस्तित्व लोप भइसकेको म मान्छे नामको प्राणी यस धर्तीको निम्ति कति मूल्यवान टुक्रा हुँला ? यस धर्तीका अरू जुनसुकै प्राणीको निम्ति म कति अनौठो देखिंदो हूँ ? केही क्षणको निम्ति खुसी भए जस्तो सानो मूल्यबोध भयो मलाई, मेरो आफ्नै । तर त्यसको पनि के अर्थ अब ? मेरो मुटु अचानक यस्तै अन्त्यको त्रासले त्रसित भएर सदाको निम्ति रोकियो । अर्थात् आज यो धर्तीको अन्तिम मान्छेको पनि अन्त्य भएको छ, वा म अन्तिम मान्छे पनि यो सब कहानी सहितको डायरी छातीमा राखेर सदालाई निदाएको छु ।

म डरले थर थर कामे । डायरीलाई छातीबाट हटाउन खोजें । सकिन । हात चलेनन् । विस्तारी खुट्टा चाल्न खोजें । खुट्टा पनि चलेनन् । बोल्न खोजें , ओठ चलेनन् । म अलल्लिएर साह्रा शक्ति निकालेर अनौठो आवाजमा चिच्याएछु । ब्युँझँदा के भो ? के भो ? भनेर साथीहरू मलाई झक्झकाई रहेका थिए । रूपेसले भन्यो- कति चाँडो निदाउँछ यो मान्छे ! एेठन भए जस्तो छ यस्लाई ।

भर्खर केही समय अघि अफगानिस्तानमा भएको आतंककारी हमला ब्रेकिंग न्युजको रूपमा आएको रहेछ । सबै आतंकित भएर त्यही न्युजमा हेर्न थाले । उनिहरूले मलाई विर्सिसकेका थिए । मेरो भने अनुहारमा चिट्चिट् पसिना आइरहेको थियो । ओठ सुकेका थिए । बोल्न मन पटक्क थिएन । म भित्रको आतंक अझै उस्तै थियो । मानवरहित संसारको आतंकबाट अझै पनि म ब्युँझिसकेको थिइन । अचानक टिभीको पर्दामा छरपष्ट लासहरू देखिए । मेरो शरिर पैतलादेखि तालुसम्म चीसो भएर आयो । म पूर्णत ब्युँझिसकेको थिएँ । सपनाको आतंक समाप्त नभइकनै मलाई विपनाको आतंकले लखेटिसकेको थियो । तर कथा भने विलकूल फरक फरक थिए |

सपनामा मानव शून्य धर्तिले लखेटिएको म विपनामा मान्छे मान्छेबीचकै खिचातानी र आतंकको भयले खेदिएको थिएँ । मेरो सामु अन्तिम मान्छेको डायरी थिएन । न त म नै यस धर्तीको अन्तिम मान्छे थिएँ । टेलिभिजनको पर्दामा बिस्फोटको धुँबाँभित्र आफ्नो बच्चाको क्षत्विक्षत् लासलाई छातीमा टाँसेर रोइरहेकी एक अचेत आमालाई देख्दा भने मलाई फेरि एउटा लामो निन्द्रा सुत्न मन लागेर आयो । मलाई यस धर्तीका सारा मान्छे र आफ्नै अस्तित्वमाथि असाह्य पीडा भइरह्यो ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 7 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु