मूल-घर

- युवा बराल ‘अनन्त’

खोलाको एउटा निर्दिष्ट उद्गम स्थल हुन्छ । रुखले जरा गाड़ने माटो हुन्छ । पृथ्वि कुनै अदृश्य डोरीको सहारामा एकोहोरो घुमिरहन्छ । जुन पनि पृथ्विको भरिलो संरक्षणमा निरन्तर घुमिरहन्छ । घड़ी पनि उसरी नै उर्जाले थामुञ्जेल घुमिरहन्छ । समय बगिरहन्छ खोला जसरी । मान्छे कथा बनिरहन्छ ।

हाम्रो यो कथाको प्रमुख पात्र विरेन्द्र पनि टुप्पाबाट पल्हाएका त होइनन् नै पाठकवृन्द । उनी जन्मेको बेला ताजा गाँउमा पाठशाला थिएन । गाड़ी कुद्ने सड़क थिएन । स्वास्थ्य केन्द्र थिएन । गाँउमा मान्छे कोही शिक्षित थिएनन् । उनका बाबाले उनलाई केही टाड़ामा रहेको माम्रिङ्ग स्कूल पठाए । गाउँमा उनीसंगै पढ़ने साथीहरु छन् तर ऐले कोही कता कोही कता…रुखबाट उड़ेका, झरेका पात सरी ।

उनको मूल-घर पूर्व सिक्किम पाकिम छेउ ताजा भन्ने गाँउमा उपस्थित छ । घरको उनी साइँलो छोरा । बाउ-आमा घरमै माइला दाजुसंग बस्छन् । जेठा दाजु अमीन अनि कान्छा भाई अम्बा प्राथमिक पाठशालाका सहायक शिक्षक । माइला दाजु खेती किसान गर्दै खेत बारी कमाउँदै गाई-वस्तु अनि बाबु-आमा स्याहारेर बसेका हुन् । दाजु भाई सबै छुटिएर आ-आफ्नो गरिखाइरहेका ।

आमा बाउ त्यही पुरानो गाह्रे घरमा आफ्नो जीवनको चौराषी वसन्तलाई पाउला फेराइसकेका । तर अझै पनि तेजिला । तगड़ा । तन्दरुस्त । उहिलेको घिउ खाएको भन्छन् सबै । कड़ा स्वभावका बाबा । उमेरको भारीले थिचेर अलिक खस्किएका । आमा पनि त्यस्तै जाँगरिली, फुर्तिली अनि फर्स्याइली । दश नङ्ग्रा खियाएर चार छोरा अनि तीन छोरी हुर्काएका । माइलो छोरोको संरक्षणमा छन् तिनीहरु ऐले तर त्यसै बसेर समय बिताउँदैनन् । बाबा अझै गाई गोठाला गर्छन्, घाँस काट्छन्, खोले पकाउँछन् । आमा अझै मकै पिंधेर गाईको खोले तयार पार्छिन्, सब्जि केलाउँछिन्, पूजा-पाठ गर्छिन् । बाबाको मुखमा दाँत जम्मै छ । आमाको दाँत झरेर कृतिम लगाइदिएका छन् । अझै भुटेको मकै चबाउँछन् उनीहरु ।

मूल घर …अति पुरानो बनावटको, एउटा ठूलो फाँट जमीनमा अवस्थित छ । खरले छाइएको थियो, त्यो फ्याँकेर ऐले इस्पात च्यादर ओड़ाइएको छ । च्यादरमा रातो रंग पोतेका छन् । पुरानै ढाँचाको होचो मूल ढोका । सानो आँखिझ्याल जस्तो खिड़की दिवालबाटै खोपेर निकालिएको । टुकी बत्ती या दियो राख्नलाई खोपा बनाइएको । रातो माटोले लिपेको भित्ता । भूईं पनि गोबर र माटोले नै लिपिएको । ठूलो मध्य भाग जहाँ ओदान बिछाएर अगेना बनाइएको । अगेना माथि दाउरा, बिउ-बिजन, हल्लुँड़, अनि दँशैमा मासु आदि सुकाउनका लागि बनाइएको काठको भार । भारमाथि सिउरिराखेको मकै भुट्ने टिनको होर्ल्याङ्ग। त्यो संगै नाङ्ग्लो अनि डोको धुवाँ लगाउन । भित्र एउटा कुनामा बाँसको भाटाले बारेर बनाएको भँड़ार कोठा; जहाँ अन्न, चामल, पिठो, तेल लगायत हुने खानेका काठको बाकसमा पैसा, सुन, चाँदी, ताँबा अनि काँशाका भाँड़ा-कुँड़ा, थाल-बटुका, लुगा-फाटा तथा अन्य बहुमूल्य सामाग्री राखिन्छ । अनि त्यसकै छेउमा अझै छोपिएर राखेको एउटा सानो काठको आलमाड़ी छ जहाँ देवी देउताको फोटो, कुलायनीको खड़्ग हतियार-त्रिशूल आदि राखिन्छ, पुजिन्छ ।

कुनै सुदक्ष चित्रकारले बढ़ो यत्नले बनाएको चित्र जस्तो त्यो पुरानो तीनतले घरको तलतिर एउटा ठूलो चुच्चे ढुङ्गा छ, छेवैमा दुइवटा झण्डा गाड़िएका छन्, एउटा हनुमानको अर्को कुनै राजनैतिक पार्टिको । घर मास्तिर खेतका गराहरु छन्, भर्खर रोपिएका धानका गाछहरु हरियो फर्किंदै गरेको । घरको देब्रेपटि भर्खर पाउलिएको सुगा हरियो रंगको काब्राको रुख । पारिपटि पार्श्वमा हरियो, गाड़ा हरियो अनि तुवाँलोले झण्दै कालो देखिएको पहाड़ जसको शिरमा छिर्के मिर्के हुँदै अझ माथि चुचुरोमा सेताम्मे हिउँ परेको । त्यो पहाड़को चेपबाट अलि अलि सेतो देखिंदै झरेको छङ्ग छ्ङ्गी झरना, जो बड़दै बड़दै खोला बनेर समतलमा आइपुगेको । त्यही खोलाबाट कुलो लगेर भर्खर रोपिएको समतलको बेंसी खेत, जसको गरा गरामा पानी भरिएकोले टह टह टल्किरहेको । हेर्दै मनोहर, मनमोहक ।

छोरा छोरी बड़ेपछि अथवा बिहे गरेपछि घर बाहिर पालि गाँसेर नयाँ कोठाहरु जोड़िएको छ । ऐले घर बाहिर आँगनको छेउमा दुइ-पाखे काठको किचन घर बनाएका छन् माल्दाई, चित्रखरले । आफ्ना दाजु-भाई दिदी बहिनी कोई बिहे भएर कोई छुटिएर अलग अलग जीवन जिउने भैसकेपछि, आफ्ना बाबु-आमा, अरूले उनको जिम्मामा छोड़िसकेपछि, बूढ़ो घर अनि खेत-बारी उनैलाई बस्नु अनि कमाइखानु भनेर दिइसकेपछि उनले स्वेच्छाले एउटा सानो अतिरिक्त घर बनाउने निधो लिएका थिए । त्यो पुरानो घर जहाँ बाबा-आमा बस्छन्, जहाँ उनीहरुको शैशव अनि किशोरावस्था बितेको थियो, जहाँ तिनीहरु सबै दाजु-भाई दिदी-बहिनीको बिहे भएको थियो, जहाँ उनका तीन नानीहरु जन्मे बड़े-हुर्केका थिए, त्यो घर भत्काएर त्यहीं नयाँ घर बनाउने आँट जुटेन उनको । मन पनि मानेको थिएन ।

मूल घर कै छेउमा आधुनिक आकार-प्रकारमा नयाँ किचन तर बनाउँदा बनाउँदै ठुलै घर बनिएपछि, चोठा-कोठा बारिए; एउटा वैठक कोठा, एउटा भान्सा घर, एउटा पाहुना पात सुताउने कोठा अनि एउटा नानीहरु पढ़ने कोठा । आवस्यक्ता आविष्कारको प्रेरक तत्व हो । जबसम्म बाबा-आमा छन् तबसम्म त्यो मूल घर नभत्काउने प्रण गरेका माल्दाईले समयको मागलाई सही ढंगले परिपुर्ति गरेका छन् ।

पुरानो घरको वरिपरि गाई कटेरा, खोल्मा, ढिंकी घर, बाख्रा खोर, कुख्रा खोर आदि छन् । परेवाले घरको दलिन अनि छाना ओगटेको छ्।

ऐले बिजुली बत्ती छ । माल्दाईका नानीहरु कोई बाह्र, कोई दश अनि कोई सातमा पढ़दैछन् । घरमा टि भी छ, मोबायल छ्न् । यी नानीहरुको माग अनि सुविधा अनुरुप आर्जन गरिएका सम्पति हुन् । भनौं आधुनिक सुविधा सम्पन्न छ त्यो पुरानो घर । दाउरा बाल्ने चूल्हा त छँदैछ, अतिरिक्त गैसको चूल्हा पनि छ । के कम छ र माल्दाईको जीवन जिवाईको स्तर त्यो सरकारी नोकरीधारीको भन्दा ! माल्दाई जैविक खेती गर्छन्- अदुवा, अलैंची, कुचो, आलु अनि सुन्तला बेच्छन् । मौसमी सब्जि लगाएर गाउँकै खरिदेलाई बेच्छन् । घिउ- छुर्पि आफैं पाकिम बजार लगेर बेच्छन् । खसी गाँउ मै बिक्छ । चामल घर कै धान मकै कुटेर पिंधेर खान्छन् । तेल खेतमा छरेको तोरी पेलेर सालभरलाई पुग्छ ।

वाध्यताले पुरानो घर छेउमा बनिंदैछ माल्दाईको पनि ‘बिल्डिङ्ग’ । सरकारले प्रदान गरेको सहुलियत । उनको पनि अरु झैं सुकिलो पक्का अनि सुन्दर ‘ बिल्डिङ्ग’मा बस्ने सपना थियो, साकार हुँदैछ । ‘बिल्डिङ्ग’ शब्दै मीठो, रवाफिलो, जोरी पारीलाई देखाउनलाई हाँकिलो, इज्जतिलो, गर्विलो ।

बिल्डिङ्ग बनाउनु भन्दा अघि त्यो पुरानो घर विषय लिएर घरमा निकै घमासान मच्चिएको थियो । अरुलाई मन नपरेता पनि माल्दाईको जेठो छोरा अशोकले तर त्यो घर भत्काउन दिएन । उसले आफ्नो तर्क राख्दा भनेको थियो- ‘सु्न्नुहोस है सबैजना ! म यो पुरानो घर भत्काउने पक्षमा छुइन । यो घर हाम्रा हजुरबाको पनि हजुरबाले आजभन्दा लगभग एक सौ वर्ष अघि बनाएको हुनुपदर्छ । हेर्नोस यसको बनावट, कारिगरि अनि तकनिकि । एकदम मजबुत अनि टिकाउ । 2011 सालको भूईंचालोले आंशिक असरसम्म पार्न सकेन यो गारे दिवाललाई यद्यपि रड तथा सिमेण्टको किञ्चित मात्रा पनि प्रयोग गरिएको छैन’।

कान्छो छोरा विवेकले वकालत गरेथ्यो –‘ दादा फोटो खिंचेर राखि राख्दा हुँदैन ?’ ‘ अहँ हुँदैन, मैले यो घरको फोटो खिचेर फेशबुकमा पोस्ट गरेको थिएँ, यति ज्यादा लाइक , कमेण्ट अनि सेयर पाएँ कि मेरो त खुशीको सिमा नै रहेन । एउटा महत्वपूर्ण कुरा के भने नि हाम्रो यो घरलाई हेरिटेज (धरोहर)को श्रेणीमा सामेल गर्ने सल्लाह अनि सुझाव आएको छ । सरकारको संस्कृति एवं धरोहर विभागबाट निरिक्षण गर्न आउने कुरा छ । यस्तो स्थितिमा यो घरलाई कसरी भत्काउने ? परिवर्तन, सभ्यता, परिमार्जन, आवस्यक्ता या पुरानो पत्रु भन्दै यी पुराना चिजहरु अन्ध-धुन्ध मासिहाल्नु काँ हुन्छ र ! यो त हाम्रो सम्पति अनि पहिचान हो’’। अशोक दृड़ भेएर बोलेको थियो ।

XXX



गाउँकै कुरा…

‘घनस्याम थियो निकै चंखो, त्यो मात्रै अलिक ठूलो अहोदामा पुग्यो । ऐले अतिरिक्त सचिवको पदमा कार्यरत छ । अनि अर्को अलिक खाइलाग्दो तपाईं । रामे आरा काट्छ । धनमाया बिहे गरेर पदम्चे गइ । कलावती गाँउमै बूढ़ीकन्ये बसेकी छे । छोरा थिएनन् उसका बाउ-आमाका । उसैले स्याहार्दैछे । भिमे ऐले झाँक्री गरेर जीवन गुजारा गर्दैछ । सरकारबाट झाँक्री भत्ता पाउँछ । त्यो पनि रक्सी खाएरै सक्छ । चक्रधर पञ्चायत गिरी गर्छ । गाँउ समाजको सेवा मै उसको समय बित्दैछ । धनपति अम्बा स्कूलको पिउन गर्छ । घर पनि उसले त्यहीं जमीन किनेर बनाएको छ । बिर्खे गाई पालेर बसेको थियो, पोहोर साल घाँस काट्ने हुँदा रुखबाट लड़ेर खस्यो । उसकी बुढी पनि अस्तिको हप्ता पोइला गई, तीन जना भल्ट्याङ्ग भुल्टुङ्ग छोडेर… ।

…मानबीर, कैंयाको गाड़ीको ड्राइभर गर्दैथ्यो अब त आफ्नै गाड़ीको मालिक भएको छ । जीते राज-मिस्त्री गर्छ । घरहरु ठिका लिएर बनाउँछ । रघुनन्द खसी बेपार, सब्जि बेपार गर्छ । त्यो टाँसी कान्छा, ड्राइभर गर्दैथ्यो, छोड़ेर ऐले दिन-रात मातेर बस्छ । नानीहरु प्राइबेट स्कूलमा हालेको छ पाकिममा, बूढ़ी चैं पाकिम मै कोठा लिएर बस्छे ।… खई यस्तै छ है साँलदाई हाम्रा दवँले संगै हुर्के पढ़ेका साथी भाईको हाल खबर !’ भनेर दुई वर्ष अघिको दशैंमा आउँदा संगैको सहपाठी लक्षुमणले गफै गफमा बेलि- बिस्तार सुनाएको थियो, विरेन्द्रलाई त्यतिखेर ।

अब दुई वर्ष छ विरेन्द्रको नोकरीबाट सेवानिवृत हुनु । बेला बखत उनलाई गाउँको याद आउँछ आलो भएर । एउटा छोरो पढ़दा-पढ़दै स्कूल छोड़ेर भौंतारिएर हिंड़यो । अधकल्चै पढ़ाईमा त्यो बजार डुल्दै हिंड़न थाल्यो । त्यो बिग्रियो । भट्टु भन्छन् छरछिमेककाले त्यसलाई । दु:खले मन्त्री एमेलेलाई ढोकेर के गरेर एउटा अस्थायि नोकरी दिलाएका छन् दवाई कम्पनीमा । कम्पनी जान थालेको दुई मैना नपुग्दै एउटी उतौली केटीलाई ‘यै हो है तपाईंको ब्वारी’ भनेर चिनाउँदै लिएर आयो । स्वीकार्न करै लाग्यो । त्यो केटी पनि घर गरी खाली जस्ती छैन । खालि फोनमा झुण्डिरहन्छे । काम टिपेर गर्ने होइन, कुनै जिम्मावरी लिएर भरोसा कमाउन त टाड़ाको कुरा । छोरी कलेज पढ़दैछे । त्यसको अलिक आशा साँचेका छन् । घर आमालाई डाइबिटिजले भटेको छ । ब्लड प्रेसरको दवाई खा’को दुई वर्ष भयो । आफ्नै पनि आजकल घुँड़ा दुख्छ, कम्मर गलेर फत्रक्कै हुन्छ । चिन्ताका भारीहरु जता हेर्यो त्यतै हैमान हैमानको । बेस्याहार जिन्दगी, अझै कति लामो !

उता घर बनाउँदाको लोन अधकल्चै छ । त्यो त रिटायरमेण्टको पैसाले तिरिएला । पेन्सनले घर चल्ला । घर किरायले दवाइ-पानी । अब रह्यो छोरीको पढाइखर्च । जसो त पर्ला ! विरेन्द्र चित्त बुझाउँछन् स्वयं ।



OOO



कथाले घटना खोज्दै गर्दा -

एकदिन अचानक विरेन्द्रकी आमाको निधन हुन्छ, उनको मूलघर ताजा मै । उनी पनि परम कर्तव्यको अभिभारा बोकि सपरिवार पुग्छन् गाँउ, मनमा एउटा गह्रुङ्गो चिन्ता अनि तनाउ अँठ्याएर ।

तर, गाउँ घर इष्ट मित्र सबै मिलेर तेह्र दिनसम्मको सौदा पात, चाहिने समान, बस्ने-सुत्ने ठाँउको बन्दोबस्त आदि अनि दाउरा, पानी, भाँड़ा कुँड़ा, चौकी, गेस चुल्हा, थाल-गिलास अनि सबै भन्दा महत्वपूर्ण खाना सजाउने बुफे डोङ्गा आदिको खोज तलास अनि काम गर्ने केटा केटी सबैको सहज अनि सुचारु रुपले चाँजो मिलाएको देखेर दिनेश बाबु तिन-छक्क परे । उनले सोचेका थिए, गाँउमा कति कुरा अपुग होलान, ‘आफ्नो गान्तोकमा एउटा क्याटरिङ्ग छ त्यहींका समानहरु किरायमा लगेर आफ्नो इज्जत ढाकौंला । नभए एउटा क्याटेरर झिकाऊँला, अनि सबै जिम्मा त्यसैलाई दिउँला’ त्यो सब झञ्झट लिनै परेन । गाँउ एक किसिमले विकसित भैसकेको त्यो उनले पत्याउनै सकेनन् ।

सातौं दिनको कुरो । गाँउको एक जना निकै जागरुक अनि कर्मठ व्यक्तिसँग उनको बात भैरहेको थियो । ‘गाँउ कति परिवर्तित भैसकेको छ । मान्छेमा पनि आमूल परिवर्तन आइसकेको छ । संस्कार सुसंस्कृत बनी प्रगतिको उकालो चढ़िरहेको छ । सभ्यताले सुगम जीवन जिउने बाटो पहिल्याइरहेको छ । जात अनि धर्मका संकिर्णताको तगारो सहसा भत्किंदैछन् । साम्प्रदायिक भेद-भाव अनि उच-निचको वैभिन्नता तोड़िन्दैछ । धनी गरीब अनि अहोदाको विसमता मासिएर समान भएको छ’।

एकातिर रमाइला कुरा भैरहेता पनि अर्कोतिर उनी एकतमासले भाव विह्वल बनिरहेका थिए । त्यो पीर उनी कसैलाई पोखाउन सक्दैन थिए । त्यो हो उनी जन्मे हुर्केको गाँउदेखि टाड़िए पछि पुन: नजिकिन नसक्नुको व्यथा ।

आज गाँउमा आएर विर्रेन्द्रलाई यो आभास भो कि अन्तमा आफ्नो फर्किआउने ठाँउ त त्यही गाउँ रहेछ । जुन गाँउमा उनको बचपन बित्यो, तरुण अवस्था बित्यो, जहाँ उनका पुर्खाको रगत पसिना बगेको छ, जहाँ उनका इष्ट देवता, कुल देवता बस्छन्, जहाँको माटोमा उनको साल-नाल गाड़िएको थियो, हो त्यो अतृप्त तिर्खा जस्तो वास्तविक्ता आज ज्ञात भयो उनलाई ।

यहाँ उनको छोरोलाई कसैले चिन्दैन । उनकी छोरीलाई कसैले ख्यालै गर्दैन । त्यो सहरिया ठाँट-बाँट अनि लाइ-ख्वाइमा जन्मे बड़े हुर्केका छोरा छोरीलाई त्यो गाँउ एउटा कारावास भन्दा कम थिएन । पत्नी शुशिला केवल मुखले मात्र हाँसेर बुहारी हुनुको औपचारिक्ता निर्वाह गर्दै थिइन् । कुनै सार्थक उत्तरदायित्व निर्वाह गर्नबाट उनी पनि चुकिरहेकी थिइन् । तिनीहरुको हाल देखेर उनी विह्वल थिए । छोरो एउटा कुनामा एकोहोरो फोनमा झुण्डिरहन्थ्यो भने छोरी कोठाबाट बाहिरै निस्कन्न थिई । गाँउमा जरा भएकाहरुको निम्ति त्यो शहरिया जीवन शैली धेरै भएर पनि सर्वस्व होइन रहेछ झैं लाग्यो । त्यो रमझम सबै मिथ्या रहेछ । त्यो सब क्षणिकता रहेछ । ती सारा उच्चकोटिका भनाउँदा जीवन शैली सबै बनावटी अनि झूटा रहेछन् । एकमनमा शहरको जीवनदेखि एकाएक विरक्ति पलाउन थाल्यो विरेन्द्रलाई ।

त्यो मूल घर, जहाँ विरेन्द्रको शैशव बित्यो, टोलाउँदै यता-उता डुल्छन् उनी । त्यो जाँतो जहाँ उनकी आमाले मकै पिंधेर मल्खु बनाउँथिन् । कोदो पिंधेर पिठो निकाल्थिन् । त्यो अगेना जहाँ उनीहरु दाजुभाई बसेर मकै पोलेर खान्थे, आलु पोलेर खान्थे, उनकी आमाले मकैको ढिंड़ो ओड़ल्थिन् । कोदो अनि फापरको रोटी पोल्थिन् ।मकैको फ्याप्लो पोल्थिन् । हरियो मकै पिर्सोल्थिन् । च्याउ मकै भुट्थिन् । त्यही घर, जहाँ दँशै तिहार चाड़-पर्व कस्तो रमाइलो हुन्थ्यो । त्यही आँगन जहाँ उनीहरु देउसी खेल्थे, भैलेनीहरु आएर त्यही सिकुवामा भैलेनी गाउँथे । ढिंकी, जहाँ एकारातै मालदाजुसंग हल बाँधिएर, बहिनीलाई घान हाल्न लगाएर धान कुट्थे, कोदो फलेर जाँतोमा पिँध्थे । दँशैमा चिउरा कुट्थे । घाँस दाउरा गरेका ती हिउँदका घमाइला रमाइला दिनहरु । खोला किनारमा गएर बनभात खाएका क्षणहरु । गाँउका रिता, पुकुली, मिना, नेप्टी, भुण्टे, काले अनि कुमारेसंग नाङ्गे भुतुङ्गे जिस्किंदै इत्रिंदै सुके खोलाको दहमा पौड़ी खेलेको ।

एउटा तारी गाई थियो त्यतिबेला, एकदमै सुधी । चरनमै थुनमा मुख लाएर दूध चुसेर पिउँथे उनी । घोर्ले खशी माथि चड़ेर खेतका गरा गरा उफ्रिन्थे । कुखुराको अण्डा चोरेर लगेर पोलेर खान्थे । क्याटिस बोकेर चराको शिकार गर्न हिंड़थे । जुन रुखमा उनी पिङ्ग खेल्थे त्यो रुख ऐले छैन त्यहाँ तर त्यो सम्झनामा आलो नै छ । त्यो चप्लेटि ढुङ्गा जहाँ उनी लुगा धोएर सुकाउँथे त्यो ढुङ्गा सड़क बनाउँने ठेकेदारले फुटाएर लगेछ । देवी थानका ठुल-ठूला रुखहरु पनि ढालिसकेछन् । उत्तिस अनि सालको त्यो घना जंगल पातलो भएछ । पानीको मुहान सुकेर निकै दु:ख रहेछ । बिजुली पनि गाँउमा ज्यादा नबस्दो रहेछ । थुप्रै बितेछ… केही बाँकि रहेछ । यस्तै के के यथार्थ अनि स्मृतिहरुमा उनी रुमल्लिरहे ।



यसरी एकलै टोलाइरहेको छोरोलाई देखेर विरेन्द्रको बाबा लौरो टेक्दै त्यहीं आइपुगे अनि थर्थराएको स्वरमा बोले-‘हेर् केटा, तँलाई तेरी आमाले उ त्यो जाँतोको छेउमा जन्माएको । मलाई पनि मेरी आमाले त्यहीं जन्माएकी थिइन् रे । तर तेरा छोरा छोरी त यो घरमा जन्मिएनन् । तिनेरु त अस्पतालमा जन्मे होइनन्? ती हुर्के पनि उतै । … अनि तिनेरलाई यो गाउँ-घरको के माया !!’

गान्तोकबाट विरेन्द्रका पाहुनाहरु मरौ घरमा शान्तवना दिन आएका छन् । डि एफ ओ साबका पाहुनाहरुको खातिरदारीमा जुटेका छन् काम गर्न खटिएका गाँउका कर्मठ भाई बहिनीहरु । उच्चपदस्त अधिकारीदेखि लिएर निम्न तहका सरकारी नोकरीदारहरु आएका थिए। आफ्नो इज्जत हो, बचाउनै पर्यो । तर उनको इज्जत ढाक-छोप गर्नमा कुनै कसर छोड़ेनन् गाउँकाहरुले । दु:खकै काम भएता पनि निकै स्तरीय खान-पान अनि पेयहरु बन्दोबस्त गरेका थिए । सबैले भरपेट खाएर, खानाको प्रशंसा गर्दै गए । सहरियाको सभ्यता हो यो । संस्कार पनि ।

काम सकेको भोलीपल्ट त्यहाँ काम सघाउने सबैलाई बोलाएर खाना-पिना खिलाउने प्रयोजन थियो । यसै क्रममा अशोकको साथी तुलाधरले विरेन्द्रलाई कुरै कुरामा भनेको थियो ‘ काका, सानो मुख ठूलो कुरा नभन्नु होला, कुरा के भने नि, यो सब पालोको पैंचो हो । आज तपाईंकोमा दु:ख प-यो हामी आएर सघाएर उकास्यौं । भोली हाम्रोमा दु:ख सुखको काम पर्दा के तपाईं गान्तोक छोड़र यहाँ आउन सक्नु हुन्छ ? तपाईंको छोरो आउँछ ? छोरी आएर काम सघाउँछे ? अँहँ म त पत्याइनँ”।

अर्को युवक रमेश बोल्दै थ्यो-“ हो त नि साँच्चै, हामी त भन्नु नै हो भने याँ माइला बड़ाको मुख हेरेर मात्रै आ’को है । नत्र त हामीलाई के खाँचो । जेठा बड़ा पाकिममा बस्नु हुन्छ, तपाईं गान्तोकमा बस्नु हुन्छ, कान्छा काकाको मामरिङ्गमै रासोबासो छ । गाउँमा मर्दा-पर्दा त उही माइला बड़ा, बड़ी, अशोक, विवेक अनि बैनी अञ्जली त हो नी !’

विरेन्द्र एक भन्नु न दुई भन्नु भए । कस्तो अन्योलको स्थिति । उनले यति मात्र भने- “ रिटायर भए पछि म सपरिवार आफ्नै गाँउ फर्कि आउनेछु”।

के सहरको घर छोड़ेर गाउँ फर्कि आउँछन् होला र विरेन्द्र ? पाठकवृन्द ! तपाईंहरु के भन्नुहुन्छ ?



XXX



कथा यहाँ सकिएन ।

हिंड़ने बेलामा माल्दाईले विदा दिने क्रममा भनेका थिए “ अब कैले आउँछौ तिमेरु ?”

“आमाको पैंतालिसमा”। विरेन्द्रको सोझो जवाब थियो ।

‘अब आउँदा तँ एकलै आउनु । ब्वारी र नानीहरुलाई बोरिङ्ग हुँदो हो साह्रै । दस्तुर ,परम्परा अनि रितीरिवाज मै थमौंला…। पर्दैन केही बार्नु सार्नु । तैंले पनि । ठूल्दाई अफिसर भै गो, कान्छो गुरुबाउ… तेरो त झन गान्तोकको बसाइ … के सम्भव होला जुठो बारनी … कपाल मै खौरौंला, सेतो वस्त्र मै पहिरौंला, वर्ष दिनसम्म टाउकोमा सेतो फेटा पनि भिर्नु परेछ भने मै भिरौंला… आमाको बर्खान्तसम्म अरु के के पर्छ ती सब मै बारौंला । हामी आफैं बेहोरौंला खर्चपात पनि सबै सबै …।’

अवाक अन्कनाउँदै बिरेन्द्र बिस्तारै उकालो लागेथे- उनका सुसम्पन्न, शिक्षित अनि सभ्य भनौंदा छोरा छोरीको पछि पछि त्यो सहर जाने बाटो…

XXX

चौंव्वालिसको दिन बेलुकै आईपुगे विरेन्द्र माल्दाईको घर, ताजा ।

पैतालिसको काज किरिया पनि सकियो । पूरोहितलाई दान दक्षिणा सबै सकियो । आफन्तजन पाहुना-पातहरु फर्किसकेका थिए। एकवर्षसम्म पालन गरिनुपर्छ भन्ने बार्नेसार्ने भन्ने कुराहरु क्रमैले आजको दिन खकुलो पाराले छुटाइयो । अण्डा कुख्रा खसीको मासु खाने नै भए सबै । सेतो लुगा खोल्ने नै भए सबै । दूध दही पिउने नै भए सबै । अब के रह्यो र ! खोलियो सबै । खुल्ला भए सबै । जेठा दाजु पनि ऐले अफिसरको अहोदामा पदोन्नत्ति भएका छन्, माइलो डी एफ ओ अनि कान्छो प्राथमिक पाठशालाको प्रधानाध्यापक । कहाँ मिल्यो र सजिलै बर्खान्त खप्ने कुरा…!

तर माल्दाईलाई किन हो नमीठो लागेर आयो । समयको माग अनुसार धेरै कुरामा परिमार्जन आएता पनि आफ्नो धर्म-कर्मको नियमलाई त्यसरी कसरी लत्याउने ! अलिक नठिक लागेकै हो उनलाई । आफु स्वयंले वृतान्त नजानेको र अर्का या ठूला-बड़ा, बूढ़ा-पाका या पूरोहित पण्डित या गाउँका ज्ञाताहरुले सिकाइएको भरमा पालन गरिएको हाम्रो धर्म संस्कार रितिरिवाजमा पनि आफ्नो सुविदा अनुरुप काट-छाँट गर्दै लगिरहेको सहज र सजिलो मात्र पालन गरिरहेको या गरीब निमुखाले चैं सबै रिट्ठो नबिराई नियम पालन गर्नु पर्ने अनि अलिक धन सम्पत्ति भएका पढ़ेलेखेकाहरुले चैं त्यही नियमलाई आफ्नो सुविधा अनुरुप काट्छाँट गरिरहेको अनि कसैले केही भन्न नसकिरहेको स्थिति देखेर माल्दाईलाई केही भनूँ भनूँ लागेकै हो । तर आफ्नै घरमा समेत त्यस्तो केही भइरहेको हुँदा चुप बस्नु सिवाय अरु कुनै विकल्प थिएन ।

कुरा भयो गाउँमा तर घुस घुस खुस खुस मात्र । माल्दाई उर्फ चित्रखर पनि हुनेखाने मै गनिन्छन् । बिरेन्द्र त झन ड्याफो साब । को बोल्न सक्छ उनको सामुन्ने । ‘ मन हो’ मात्र भने उनले । ‘लोकाचार हो अन्य सबै’ त्यो पनि उनले आँफैलाई सम्झाए । ‘भगवानले देख्नेछन् सबै ’ यहाँ आएर अड़िन्छ उनको मन । कत्रो भरोशा त्यो अदृश्य शक्ति माथिको !

तर सबै दाजुभाई दिदी बहिनी भेला भएकै बेला अचानक बोले बिरेन्द्र –‘ माल्दाई … सबैको सामुन्ने एउटा कुरा भनौं भनेर सोचिराखेको छु…

…कुन्नि कस्तो लवजमा बोल्दै थिए उनी । अपूर्व स्वभाव त्यो उनको रुखो रुखो । बोलीमा अर्कै खस्रोपना । साँच्चै केही अप्रिय घट्ला जस्तो साङ्केतित वातावरण अनि त्यो अनुहार ।

थुप्रै ज्वारभाटाहरु समेटेको त्यो स्वर गर्जियो एकाएक – “मलाई मूल-घर चाहियो ! घर मागेको होइन… मूल-घर भएको जमीन चाहियो । त्यो घर भत्काएर म एउटा ठूलो होटेल बनाऊँ भन्दैछु । सुन है सबैजना ! मैले यतिञ्जेल बाउ-बाजेको फुटिकञ्चि मागिन… पाइन… दिइएन पनि…! तर अब चाहियो । म रिटायर भएपछि यैं बस्तीमा बस्छु अनि गजबले देशी विदेशी पर्यटकको निम्ति ‘होम स्टे’ चलाउने निधो गरेको छु । म तिनीहरुलाई हाम्रो गाउँको रितिरिवाज, चाल चलन, भेष-पहिरन, खानपान, संस्कार अनि संस्कृतिको स्वाद चखाउन चाहन्छु । तिनीहरुलाई जैविक उपार्जनको जिउँदो जाग्दो दृष्टान्त अनि उदाहरण देखाउन चाहन्छु । म मेरो गाउँलाई विश्वमा चिन्हाउन चाहन्छु ।”

“माल्दाई !! तपाईंले सरकारी घर पाइहाल्नु भो… अब यो मूल-घर भएको जमीन केही नभनी मेरो नाम गरिदिनुहोला ! मलाई त्यति भए पुग्छ, बाउको अंश भनेर अरु केही माग्दिन ।”

सबै चुपचाप…!!! अशोकले बिस्तारै आफ्नो मोबाइल फोनको स्क्रिन अन ग-यो । फेसबुकको नोटिफिकेसनमा सर्सति नजर दौड़ायो । मूल घरको फोटो पोस्ट गरेको पेज मुन्तिर हजारौं लाइक अनि सयौं कमेण्ट अझ आइरहेका थिए निरन्तर ।

उसले अन्तमा आफ्नो अन्तिम कमेण्ट थप्यो –“हाम्रो यो सौ वर्ष पुरानो मूल-घर ऐले भर्खरै आएको व्यभिचारी हावाको प्रकोपले अचानक ढलेर क्षत-विक्षत भयो । अब यो केवल हाम्रो स्मृतिमा मात्र बाँच्नेछ । मूल-घर अब रहेन । कृपया… ”

यसभन्दा ज्यादा उसले त्यहाँ केही लेख्न सकेन । मनमा गह्रौं बोझ लिएर उसले त्यो स्टाटस त्यतिकै पोस्ट गरिदियो ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 7 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु