हुँदा कुमार सरसँग सँगै

- अविनाश श्रेष्ठ

कुमार सरले पहिलोपटक प्रस्ताव राख्नुहुँदा विश्वासै लागेन । लगभग डेढ दशक जतिको व्यक्तिगत चिनजान, अनि चिनजानबाट आत्मीय अन्तरंगताको लामो अवधिमा भित्रिएपछि पनि यस्तो प्रस्ताव उहाँबाट कहिल्यै आएको थिएन । त्यसैले होला मलाई कुमार सरले बोल्नुभएका शब्दहरूमाथि विश्वासै भएन । सायद म उहाँको बाह्य गुरुगम्भीर आवरणको दबाबमा सोचिरहेको हुन्छु, के यी शब्दहरू कुमार सरबाटै उच्चारित भएका हुन् । त्यत्तिकैमा कुमार सर त्यो प्रस्ताव फेरि अर्कोपटक दोहोर्‍याउनुहुन्छ, यसपटक व्याख्यासहित : 'भाइ, रेड लेभेल-ब्लेक लेभेलहरू त जीवनमा धेरै खाइयो । ख्वाइयो । यहाँ पनि ज्वाइँ साप (अनुप थापा) ले लेभेलहरूको कमी हुन दिनुभएको छैन । तर मलाई भने काठमाण्डुको टिप्पिकल अय्ला चाख्ने मन हुँदैछ हो भाइ । कत्ति दिनदेखि मनमा छ कि, मुखमा ल्याएर भन्नु पो गाहारो । तर आज जे त होला भनेर मनको बात मुखमा ल्याइछाडें ।' भन्ने आफ्नै लहजा, शैली र शब्दहरू सरको । भनिसकेर उहाँ धक फुकाएर हाँस्नुहुन्छ उत्तिकै सरल पाराले । सरल पाराले आफ्नो मनको अन्तरकुन्तरमा लुकेर दबेर बसेको इच्छालाई मात्र सरले बाहिर ल्याउनुभएको होइन, लिच्छवीकाल-मल्लालदेखि शाह-राणाकाल हुँदै आजका मितिसम्म जिउँदो-जाग्दो काठमाण्डुको 'अय्ला संस्कृति' को परोक्ष प्रशंसा र स्तुतिसमेत उहाँले गरिरहनुभएझैं लागिरहन्छ मलाई । हृदय बुझें मैले उहाँको । र यसरी पहिलोपटक आत्मीयताको सय लेनको फराकिलो सडकमा कुमार सरसँग हिँड्ने अद्भुत अवसर मेरो पोल्टामा परेको पाउँछु । काठमाण्डुको पुरानो फ्रिक स्टि्रक । झोछें । झोछेंका रंग खुइलिंदै गइरहेका, उदास गन्धमा एकतमासले डुबेका लाग्ने पुराना गल्लीहरू । हिप्पी-संस्कृतिको उत्कर्ष (सन् १९७० को दशक) तिर सधैं युरोपियन-अमेरिकन अनुहारहरूको घुइँचो लाग्न्े झोछेंका पुरानिँदै गएका अनि आफ्नै इतिहास र अस्तित्व बिर्संदै गइरहेका गल्लीहरूभित्र कुमार सर र पहिलोपटक छिरेका छौं । गल्लीभित्रभित्रै टिप्पिकल नेवारी व्यञ्जन र अय्ला पाइने थरीथरी स्तर अनि आकृति प्रकृतिका खाजाघरहरू छन् यत्रतत्र । तिनैमध्ये कुनै एक अय्ला-खाजाघरभित्र हुन्छौं हामी अहिले । भित्री कोठाको मधुरो उज्यालोमा कुनाको एक्लो टेबुललाई ओगटेर कुमार सरको इच्छा र रुचिबमोजिम थरीथरीका पारम्परिक नेवारी व्यञ्जन र परिकारहरू अनि साथमा टिप्पिकल नेवारी अय्लाको अर्डर गयरिरहेको हुन्छु म पहिलोपटक । अनि अय्लाको खेप आइसकेपछि पहिलोपटक गिलासलाई नाकसम्म पुर्‍याएर त्यसको पुरातन गन्धलाई लामो सर्को तानेर सुँघ्दै मुग्ध हुनुभएको छ कुमार सर पहिलोपटक । पितापुर्खाहरूका पुस्तौंपुस्ताले अज्ञातकालदेखि सुँघ्दै, चाख्दै, स्वाद लिँदै, आनन्दमग्न हुँदै जुन अय्लाको अध्यर्थना अनि स्तुतिगानसमेत गर्दै आए त्यही टिप्पिकल अय्लाको टिप्पिकल गन्ध अनि टिप्पिकल स्वाद र तिख्खरतालाई घुट्को-घुट्को निल्दै परम्पराको सिंहद्वारभित्र भित्र्याएर अहिले विभोर बन्नुभएको छ कुमार सर पहिलोपटक । पहिलोपटक कुमार सरलाई आफ्नो निजत्व, आफ्नो संस्कार, आफ्नो संस्कृति, आफ्नो मौलिक र पृथक् सामाजिक स्वादमा भित्रभित्रै भिज्दै केही बहकिएको, केही अतीजजीवी बन्दै पुराना दिनहरू चहार्न खोजिरहेको, केही वाचाल बन्दै रसिक पाराले हासपरिहासमा रमाउन खोजिरहेको पाउँछु । र, उहाँको संगतमा भित्रैदेखि गदगद हुन्छु म पनि पहिलोपटक । (यस घटनाको तिथिमिति ठ्याक्कै सम्झना भएन अहिले- सम्भवत: सन् १९९७-९८ तिर हुनुपर्छ । कुमार प्रधान सरले यो प्रस्ताव पहिलोपटक नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको कार्यकक्षमा राख्नुभएको भने प्रस्टसँग सम्झन्छु ।) यसरी अय्ला-यात्राको सुमधुर थालनी हुन्छ हामीमाझ । त्यसपछिका दिनहरूमा कुमार प्रधान सर जतिपटक काठमाण्डु आउनुहुन्छ- स्थिति र अवसरले भ्याएसम्म कहिले काठमाण्डु त कहिले पाटनतिरका यस्तै फरक र विशिष्ट खालका अय्ला-खाजाघरहरू खोजी-खोजी, रोजी-रोजी उहाँ र म भोगमग्न भइरहन्छौं । यस स्वादयात्रामा सहयात्री बनी उपन्यासकार मत्स्येन्द्र प्रधान धेरै पछि मात्र थपिन आइपुग्छन् सन् २००८ तिर । कुमार सर र मत्स्येन्द्र प्रधानसम्बन्धी एउटा रमाइलो प्रसंग छ । त्यसलाई म बयान गर्नेछु, तर केही पछि । ........ दार्जिलिङका सर्वश्री पारसमणि प्रधान, शिवकुमार राई, रतनलाल ब्राह्मण, एमएम गुरुङ, इन्द्रबहादुर राई, लक्खीदेवी सुन्दास, हर्क योञ्जन विरही, गुमानसिंह चामलिङदेखि मोहन ठकुरीसम्मका अग्रजहरूसँग कहिले, कसरी, कहाँ परिचय भयो अनि पछि कहाँ, कुन सन्दर्भमा फेरि भेट भएको थियो भन्ने तथ्य केही त स्मृतिमा अंकित छन्, अनि केही डायरीका पानामा टिपिएका पाउँछु । तर कुमार प्रध्ान सरलाई पहिलोपटक कहाँ भेटेको थिएँ ? ठीक-ठीक सम्झन सकिनँ । उहाँसित सामान्य देखभेट वा परिचय सन् १९७६ मा दार्जिलिङमा 'अखिल भारतीय नेपाली भाषा समिति'ले 'गोर्खा दु:खनिवारक सम्मेलन'को भवनमा आयोजना गरेको दोस्रो महाधिवेशनका बखतमा भएझैं लाग्दछ । मेरो स्मृति धरमरमा पर्नुको कारण के पनि हो भने, मलाई प्रस्टसँग सम्झना छैन सन् १९७३ मार्चमा नयाँदिल्लीमा नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचीमा अन्तर्मुक्त गर्ने विषयक प्रधानमन्त्री श्रीमती इन्दिरा गान्धीसित पार्लियामेन्ट भवनमा भएको पहिलो वार्तामा कुमार प्रधान सहभागी हुनुहुन्थ्यो वा हुनुहुन्थेन ? किनभने नेपाली भाषा-मान्यतासम्बन्धी त्यस प्रथम शिखर वार्ताम्ा दार्जिलिङबाट चौबीसजना प्रतिनिधि सम्मिलित हुनुहुन्थ्यो भने असमको एक मात्र प्रतिनिधिको हैसियतले मैले सबैसित परिचित हुने अवसर त्यतिबेलै पाएको थिएँ । विद्वान् अध्येता कुमार प्रधानलाई मैले राम्ररी ठम्याउन सकेको उहाँले सम्पादन गर्नुभएको 'वार्ताहरू' हात परेपछि मात्र हो, सम्भवत: सन् १९७८-७९ तिर । उहाँको 'पहिलो पहर' पढें सन् १९८४ मार्च महिनामा । सायद 'पहिलो पहर' त्यति छिटो पढ्न पाउने थिइनँ होला । १९८४ फरवरीमा बयोवृद्ध भाषासेवी पारसमणि प्रधानलाई भेट्न कालिम्पोङस्थित उहाँको निवासमा पुग्दा उहाँले आफ्नो छेउमा राखिएको कुमार प्रधानको 'पहिलो पहर' झिकेर देखाउँदै त्यसभित्र प्रकाशित लेखहरू भ्रामक रहेका, आफूप्रति तिनमा पूर्वाग्रह राखिएकाले आफ्नो चित्त दुखेको कुरा सुनाउनुभयो । केही पछि कुरो अन्य प्रसंगतिर मोडियो । तर 'पहिलो पहर' प्रसंग भने मेरो मनमस्तिष्कमा गाडिएर रहिरह्यो । गुवाहाटी पुगेपछि पढ्न थाल्छु 'पहिलो पहर' । लेखकको शोध-अनुसन्धानको गुरुता-गहनता अनि ठूलो मिहिनेतले मात्र यस्तो कार्य सम्भव हुने कुरो 'पहिलो पहर' पढेपछि जोसुकैले बुझ्न सक्छ । यही 'पहिलो पहर'को दोस्रो संस्करण काठमाण्डुबाट अठ्ठाईस वर्षपछि सन् २०१० मा प्रकाशित गर्ने योजनाको अभियन्ता बन्न पाउँदा मनमा सन्तोष फक्रन्छ । (धेरै वर्षपछि 'पहिलो पहर' प्रसंगमा पारसमणि प्रधानज्यूले गर्नुभएका गुनासाहरूबारे कुमार प्रधान सरसँग खुलेर कुरा राखेको थिएँ । तर उहाँमा पारमणि प्रधानप्रति त्यस्तो तिक्तता, पूर्वाग्रह वा दुराग्रहभन्दा पनि मर्यादित सम्मान-भाव नै पाएको थिएँ । यतिचाहिँ पुछारमा भन्नुभएको थियो, 'आलोचनाभन्दा माथि कोही पनि हुँदैन भाइ, पारसमणि प्रधान पनि । तर त्यो कुरो बुझ्न उनी तयार थिएनन् । जुनियरहरूलाई आफूभन्दा जान्ने मान्न चाहेनन् उनले ।) त्यसपछि आउँछ सन् १९८५ । नेपाली भाषा-साहित्यमा एमए गर्न म काठमाण्डुमा हुन्छु । साहित्य अकादेमी, दिल्लीले सन् १९८४ मा प्रकाशित गरेको कुमार प्रधानको 'ए हिस्टोरी अफ नेपाली लिटरेचर' मेरो हात पर्छ, जसमा मेरो कृतित्वबारे पनि संक्षेपमा चर्चा गरिएको छ : 'अविनाश श्रेष्ठ इज सगेग्टिभ, हिज लाइन्स आर मोर पोएटिक । हिज समिभादना ओ समिभादना (फिलिङ ओ फिलिङ) केम आउट इन १९८१ । सन् १९८५ मै काठमाण्डुबाट गुवाहाटीतिर र्फकंदा गान्तोक, कालिम्पोङ, मङ्पु, दार्जिलिङको लामो फेरो मार्दै खर्साङ पस्छु । तिनताक खर्साङ कलेजको प्रिन्सिपल हुनुहुन्छ डा. कुमार प्रधान । उहाँलाई भेटेर आफ्नो कवितासंग्रह 'परेवा : सेता-काला' र नेपाली साहित्य परिषद्, असमको मद्वारा सम्पादित वाषिर्क पत्रिका 'परिषद्-पत्र' दिन्छु । त्यतिखेरको संक्षिप्त भेटघाटमा कम बोल्ने, आफ्नो राय व्यक्त गरिनहाल्ने, अनुशासित, रिजर्भ व्यक्ति लाग्नुहुन्छ मलाई डा. कुमार प्रधान । अरु दुईपल्ट कलेजमा निजी सन्दर्भमा भेट भएका थिए । त्यसपछि एकैचोटि विसं २०४८ माघ-फागुन (सन् १९९१) तिर काठमाण्डुमा डा. कुमार प्रधानसँग भेट हुन्छ । तिनताक म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा 'कविता', 'प्रज्ञा' र 'समकालीन साहित्य' आदि पत्रिकाहरूको कार्यकारी सम्पादकका रुपमा कार्यरत हुन्छु । डा. प्रधानसँग उहाँका जेठा छोरा सोमेन्द्र (सोमु) र दार्जिलिङका अर्का साहित्यकार जीवन लावर पनि सँगै हुनुहुन्छ । हामीले पुतलीसडकस्थित हरि श्रेष्ठको 'स्टुडियो जिपज्याप' पुगेर सामुहिक फोटो खिचाउँछौं । त्यसेबेला उहाँले लेखेको 'सामाजिक नेपाली : बोन्पो, खुकुरी इत्यादि' शीर्षकको लेख 'प्रज्ञा, पूर्णांक : ७५ (वैशाख-असोज २०४९) मा प्रकाशित छ । त्यसपछिका दिनहरूमा डा. कुमार प्रधानसँग मेरो सम्बन्ध प्रगाढ बन्दै जान थाल्छ । अनि बिस्तारै उहाँ डा. कुमार प्रधानबाट मेरानिम्ति आत्मीय र आदरणीय कुमार सरमा फेरिँदै जान थाल्नुहुन्छ । यिनै घटनाक्रम चलिरहँदा सन् १९९२ को सुरुतिर सिक्किमका तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारी, डा. कुमार प्रधान र सीके श्रेष्ठ सम्मिलित महत्त्वाकांक्षी 'त्रिनेत्र इन्टरनेसनल प्रकाशन' गठनको खबर पाउँछु । यस प्रकाशनका पहिलो कोसेली डा. शान्ति छेत्रीको विद्यावारिधि-ग्रन्थ 'नेपाली समालोचना साहित्यमा रामकृष्ण शर्माको योगदान' काठमाण्डुको छापाखानाबाट मंसिर २०४९ (नोभेम्बर १९९२) मा प्रकाशित हुन्छ, जसको छपाइ-व्यवस्थापनको जिम्मा कुमार सर र सीके श्रेष्ठले मलाई सुम्पेका हुन्छन् । 'त्रिनेत्र इन्टरनेसनल प्रकाशन'बाटै सन् १९९३ जुलाई महिनादेखि सिलिगडीबाट 'सुनचरी दैनिक पत्र' कुमार प्रधान सरको सम्पादनमा निकाल्ने निधो हुन्छ र निस्कन थाल्छ । यसबीच भारततिर धेरैपटक मेरो जाने आउने क्रम चल्छ । म नबिराई 'सुनचरी' दैनिकको कार्यालय पुग्छु र कुमार सरलाई भेटेकै हुन्छु । सिलिगुडीमा मित्रहरू ज्ञानेन्द्र खतिवडा, बीबी डुबर्सेली, पदम छेत्रीकहाँ नबस्दा कुमार सरको प्रधान नगरस्थित निवासमा रात्रिवास गर्छु । कुमार सर पनि वर्षमा एक-दुईपटक काठमाण्डु आइरहनुहुन्छ- तीलगंगा आँखा अस्पतालमा आँखा जँचाउन । काठमाण्डु आउँदा कुमार सर र पूणिर्मा गुरुआमा प्राय: सँगै आउनुहुन्छ । बेलाबेला उहाँका ज्वाई अनुप थापाजीले कुमार सरको सम्मानमा आफ्नो जमलस्थित तीनतले भव्य रेस्टुरेन्टमा गर्ने पारिवारिक जमघटमा निम्त्याइरहनुहुन्छ । म नबिराई सामेल हुन्छु । जति जति कुमार सरसँग नजिकिँदै जान्छु- कम बोल्ने, कठोर व्यहोरा र अनुदार दृष्टिभंगीका लाग्ने कुमार सरको बिल्कुलै बिब्ल्याँटो, भिन्न रुप देख्दै जान्छु । कुमार सर मसित खुल्दै गइरहनुहुन्छ । हरेक भेटमा उही ऊर्जा, उज्यालो र जीवनले भरिपूर्ण कुमार सर । हाँस्न हँसाउनमा माहिर कुमार सर । तर कुनै पनि विषयमा बोल्दा वा विश्लेषण गरिरहँदा भने उहाँको अध्ययनशील-मननधर्मी प्रखरता प्रस्ट देखिने । लामो संगतमा उहाँले अनुपस्थित व्यक्तिबारे कटुता पोखेको, आलोचना गरेको मैले कहिल्यै सुन्नुपरेन । अरूका दु:खमा द्रवित हुने, अरूहरूका सफलतामा पनि हषिर्त र गर्वित हुने- दार्जिलिङका साहित्यकारहरूको एउटा उदार-सहृदय पुस्ताका प्रतिनिधि पात्र पाउँछु कुमार सरलाई म । हाँसोउठ्दो उरन्ठ्याउलोपना कसैको व्यवहारमा देखिँदा शालीन व्यंग्य गर्न, मन फुकाएर हाँस्न-हँसाउन सक्ने कुमार सर । उहाँसँग उहाँका रसिला-चोटिला कुरा सुन्दै घन्टौं हाँसेर पनि बसियो । घरायसी ट्रेजडी (नातिनीको असामयिक मृत्यु) मा उहाँको भक्कानिएको अवरुद्ध गला र आँखामा टिलपिलाएका आँसुसँगै घन्टौं उदास पनि भइयो । ठट्टैठट्टाजस्तो लाग्ने बोलीको माझबाट आफ्नो कमी कमजोरी र अरूको सबलताको प्रशंसा गर्नमा पनि नचुक्ने उपल्लो कोटिको व्यंग्यचेत देखेको छु कुमार सरमा मैले धेरैपटक । एउटा घटना सम्झन्छु । सन् २००४ तिर हुनुपर्छ, सिलिगुडी, कुमार सरको निवासको माथ्लो तलामा रात्रिकालीन रमझममा हुन्छौं सर र म । 'आरोहण'मा मनप्रसाद सुब्बाजीले कुमार सरसित लिनुभएको अन्तर्वार्ताको प्रशंसा गर्दै म भन्छु, 'साह्रै गहकिलो अन्तर्वार्ता दिनुभएको छ सरले ।' उहाँ हाँस्दै ठट्यौली पाराले भन्नुहुन्छ, 'कहाँ मैले दिनु, बेसी त मनप्रसाद भाइले नै दिनुभएको छ नि दनक त्यसमा ।' भनिसकेर मन फुकाएर हाँस्नुहुन्छ, अनि सम्हालिँदै फेरि मनप्रसाद सुब्बाको अध्ययन र विद्वता 'आरोहण'को अन्तर्वार्ताबाट प्रस्टिएकोलाई सकार्दै तारिफ गर्नमा पन कन्जुसी गर्नुभएन उहाँले । अनुजहरूप्रति अग्रजमा हुनुपर्ने गर्ववोध र कुम थुमथुम्याइ दुवै पाउँछु म उहाँको त्यस दिनको बोली र व्यवहारमा । ...... 'पहिलो पहर' र 'अधीति केही'भित्रका समीक्षात्मक लेखहरूमा उहाँको गहिरो मनन र विश्लेषण क्षमता मात्र देखिँदैन भिन्न दृष्टिकोण रोज्ने हुटहुटी पनि पहिल्याउन सकिन्छ । 'द गोर्खा कनक्वेस्ट' भित्र पनि भनिँदै आएको भन्दा फरक ढंगबाट इतिहासलाई बुझ्ने उखरमाउलो र जमर्को दुवै छ । गम्भीर अध्येता कुमार सरलाई कृति संख्याको अल्पतामा 'ठूला' विशेषण जोड्न मन हुँदाहुँदै पनि सक्दिनँ । तर लाग्छ, कुमार सर अध्ययन-मननमा भने विशेष नै हुनुहुन्थ्यो । दृष्टि पनि धेरै ठाउँमा उहाँको भिन्न, अलग देखिन्छ- लगभग मौलिक पनि । तर लेख्न जाँगर भने उहाँले कमै चलाउनुभएको- अहिले निरपेक्ष बनी हेर्दा लाग्दछ । उहाँको उत्तरार्द्धको, रिटायर्डमेन्टपछिको बहुमूल्य समय (अरूले पनि गर्न सक्ने) पत्रकारिताको धपेडीले निलिदिएको सबैले देखे जानेको कुरो हो । 'सरले अब लेख्नपट्ट िलाग्नुपर्छ' भनी मैले धेरैपटक उहाँसित कुरा गरेको सम्झन्छु । अफसोस यसबारे उहाँलाई पनि थियो तर । एक दुईपटक उहाँले भन्ने गरेको सम्झन्छु, 'जति गर्न सकें सामाजिक, पारिवारिक, नोकरी-जीवनसँग सन्तुलन बनाएर त्यसप्रति पछुतो गर्ने ठाउँ पाउँदिन हो भाइ... अनि योभन्दा बेसी के पो गर्न सकिन्थ्यो होला पनि भन्दिनँ किनकि मलाई थाहा छ- म मान्छे केही अल्छे भने सुरुदेखिकै हुँ ।' अनि उही आत्मव्यंग्ययुक्त मुक्त हाँसो । यति सरल अनि यति गम्भीर सँगसँगै भइदिनसक्ने मान्छे- कुमार सर मात्र हुनुहुन्थ्यो । यस अर्थमा उहाँको जोडा अर्को देख्दिनँ । ...... 'सुनचरी' प्रकाशित हुन थालेको दस वर्षपछि सन् २००२ को कुनै महिना, कुनै दिन कुमार सर पूणिर्मा गुरुआमालाई लिएर आफ्नो आँखा जँचाउन काठमाण्डु आउनुभएको हुन्छ । उहाँहरूलाई कोटेश्वर आफ्नो निवास, 'मन-मन्दिर'मा डाक्छु । सर-गुरुआमा दुवै आउनुहुन्छ । कुराकानीको सिलसिलामा भारतबाट नेपाली प्रतिभा पलायन भइरहेको बारे चर्चा गर्दै कुमार सर एकाएक गम्भीर बन्नुहुन्छ । एउटा क्षेँप्यास्त्रजस्तो प्रश्न उहाँबाट मतिर आउँछ : 'भाइ, तपाईंजस्तो मान्छे असममै नबसेर किन नि यहाँ ...?' प्रश्न मर्मभेदी छ । भ भन्छु : 'सर, मभन्दा पहिलेका सूर्यविक्रम ज्ञवाली, लैनसिंह बाङ्देल, पारिजात, देवकुमारी सिन्हा, अम्बर गुरुङ, गोपाल योञ्जन र हरिभक्त कटुवालहरूभन्दा भिन्न छ म नेपालमा हुनुको कारण ।' सरको चित्त बुझ्दैन । सोध्नुहुन्छ, 'कसरी ?' 'सर, मेरा स्वनामधन्य अग्रजहरू बनिबनाउ अवसरको खोजीमा नेपाल आउनुभएको थियो । अझ गहिरिएर खोजी पस्दा उहाँहरूमध्ये केही पद-प्रतिष्ठा प्राप्तिको भोकले पनि नेपाल भासिनुभएको थाहा लाग्छ । तर मेरो कथा केही भिन्न छ । नेपालीमा एमए गरिसकेपछि सकेसम्म म असम-मेघालय जहाँ भए पनि बसेर सेवा दिन कटिबद्ध थिएँ । नभए भारतभित्रै जहाँ भए पनि आफूलाई टिकाउने मेरो आन्तरिक चाहना थियो । गुवाहाटी, सिलाङ, तेजपुर, डिगबोई, सिलिगुडी, कालिम्पोङ, दार्जिलिङ, खर्साङदेखि गान्तोकसम्म विभिन्न कलेजहरूमा दुई-अढाई वर्षसम्म पटक पटक धाउँदा-धाउँदा लखतरान परेपछि काठमाण्डुमा तिनताक भर्खरै सुरु भएको नेपाल टेलिभिजनका लागि स्क्रिप्ट लेखेर भए पनि आर्थिक भरथेग होला, जीविकोपार्जन गर्न सकिएला भनी म नेपाल बस्ने निर्णयमा पुगें । 'ए, यो त मलाई थाहा थिएन भाइ । त्यतिबेलै थाहा पाएको भए केही उपाय गर्न सकिन्थ्यो कि !' सर अफसोस जाहेर गर्नुहुन्छ । 'सरलाई पनि दुईपटक खर्साङ कलेजमा भेटेको थिएँ त .... ।' 'हो, अहिले सम्झें मैले । त्यति बेला त्यहाँ वास्तवमै कुनै उपाय थिएन । तपाईंलाई त उताका कलेज र विश्वविद्यालयहरूको प्रक्रिया थाहै छ त । पहिले पदको विज्ञापन हुनुपर्‍यो, अनि .... ।' 'सर, वास्तवमा सबैतिर म त्यही प्रक्रियाको सिकार भएँ । कसैले पार्ट टाइम काममा अल्झाइदिएको भए पनि आज म त्यतै हुन्थें । यसबाहेक केही अन्य निजी जीवनका घटना र सामाजिक कारण पनि थिए तिनताक । मलाई छिटोभन्दा छिटो आफूलाई टिकाउन आर्थिक स्रँेतको खाँचो थियो ।' म बेलिविस्तार लाउँछु । 'तपाईंको त गुवाहाटीमा ड्राइक्लिनर्सको आफ्नै व्यवसाय थियो भन्ने सुनेको थिएँ ?' सर जिज्ञासा राख्नुहुन्छ । 'त्यो त म दुई-तीन वर्ष नेपालीमा एमए गर्न काठमाण्डु रहँदा लथालिंग भइहाल्यो । फेरि ड्राइक्लिनर्समा जोतिन एमए गरिसकेपछि सुहाउँदैनथ्यो पनि ...' म आफ्नो पक्ष सरसामु खुलस्तै पारेर राखिदिन्छु । मेरो कुरोले छुन्छ कुमार सरलाई भित्रसम्म । उहाँलाई दु:खितभन्दा बढी द्रवित पाउँछु । सायद कर्तव्यबोधले उद्वेलित बन्नुभएको छ उहाँ आफूभित्रभित्रै । अनि उहाँ अत्यन्त हार्दिकतामा, सद्भावले भरिएको प्रस्ताव राख्नुहुन्छ, म सामु : 'भाइ, तपाईंको निम्ति उता गाँस-वासको सक्दो व्यवस्था म मिलाउने कोसिस गर्नेछु । प्रकाशन संस्था खोल्दैछु । त्यसमा तपाईं जत्तिको -सहयोगी ?, कामदार ?, हितैषी ?, रचनात्मक-सिर्जनात्मक क्षमता भएको व्यक्ति ?) अर्को मैले खोजेर पनि नपाउन सक्छु । र्फकने हो भाइ उतै ?' प्रश्न हजारौं टन भारी छ । प्रश्नले मलाई नराम्ररी किच्छ । थिच्छ । पिस्छ । प्रश्नले मलाई आत्मरतिबाट ब्युँताएर आत्मद्वन्द्वतिर धकेल्छ । तत्कालका निम्ति प्रश्नबाट उम्कन भनिदिन्छु, 'अत्यन्त राम्रो प्रस्ताव हो सरको । म विचार गरेर जवाफ दिनेछु ।' यसरी तत्काललाई टारे पनि कुमार सरको प्रश्नले हरेक रात मलाई झम्टन्छ । चिथोर्छ- मेरो अतीतमोहलाई । भुत्ल्याउँछ- मैले ओढेको आदर्शको खोललाई । टोक्छ- मेरो आडम्बरलाई । ठुङ्छ, टकटक्याउँछ- मेरो अहंकारलाई । '.... र्फकने हो भाइ उतै ?' प्रश्नले हल्लाउँछ मेरो अस्तित्वलाई । बिथोल्छ । बेचैन बनाउँछ । एक मनले भन्छ- फर्केर उतै गएको बेस । लगत्तै फेरि अर्को मनले भन्छ- असमबाट मूलसमेत उखेलिएर यता आइस् । काठमाण्डुमा आफूमा भएको सम्पूर्ण सामथ्र्य पोखेर कुन मुस्किलले जम्ने कोसिस गर्दैछस् । अब फेरि काठमाण्डुबाट उखेलेर आफूलाई सिलिगुडीमा लगेर रोप्ने ? मभित्रको अतीतमोह, उताको माटो, पानी, बतास, वनस्पतिप्रतिको भावुकता- सबैले कोरसमा भन्छन् उतै जा, उतै बस्, उतै उमार आफूलाई फेरि । यो अवसर गुम्न नदे । तर व्यावहारिक बुद्धिले कठोर बनी निर्णय सुनाउँछु- घरीघरी आफूलाई कहाँ उखेल्दै रोप्दै गर्न सकिन्छ र ! यो मान्छेको जीवन हो- आलु, सलगम वा मुला होइन ! लगभग डेढ दुई वर्षसम्म म आत्मद्वन्द्वमा पेन्डुलम बनिदिन्छु । यसबीच आँखा जँचाउन कुमार सर तीनपटक काठमाण्डु आउनुहुन्छ । अनि एकपटक 'सोसल साइन्स बहा :' को निम्तोमा 'दार्जिलिङमा नेपाली जाति र जनजातीय चिनारीका नयाँ अडान' शीर्षकमा व्याख्यान दिन, अगस्त २००४ मा । अनि दुई-तीनपटक भएको फोन वार्तामा फेरि उही प्रस्ताव दोहोर्‍याउनुहुन्छ । अन्तिम पटक म मेरो जीवन संगिनी 'मन' सँग यस विषयमा गम्भीर छलफल गर्छु । निष्कर्षमा पुग्छु । अनि मुटु दह्रँे पारेर सबै धरमरहरूलाई धकेलेर पाखा लगाउँदै कुमार सरलाई भन्छु, 'अहिलेलाई उता र्फकनु मेरोनिम्ति सम्भव हुन सकेन । सरको सद्भावसामु नतमस्तक छु । क्षमा पाऊँ ।'

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 7 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु