सेसेलुङ

- कोमल सुब्बा

सेसेलुङ। यसको अर्थ त म जान्दिनँ। तर यतिचैं पक्कै भन्न सक्छु- यो लिम्बु नाम हो। सेसेलुङ गोरो वर्णकी छे, नाक अलि थेप्चो, आँखा भने ठूला-ठूला। उमेर यस्तै चौध-पन्ध्र वर्षकी, तारुण्यको खुड्किलो टेक्दै गरेकी। पढ्नमा साह्रै ज्ञानी, बाठी पनि छे। तर रिसको पोको छे ऊ।
सेसेलुङको बाबाले कान्छी बिहे गरेर गाउँ छोडेको शायद डेढ वर्ष जति भएको थियो। सेसेलुङकी आमा एक लगनी काममा हिँड्छे। तर शारीरिक अवस्था ठीक नभएको कारणले गर्दा उसलाई हल्का काममा खटाइएको छ। ऊ बिहान आठ बजे कमानमा जान्छे र प्रायःजसो दुइ बजेतिर घर फर्कन्छे।
सेसेलुङलाई आमाले अचेल निकै कलम माग्ने भएकी छे। सेसेलुङ झर्को मान्दै आफ्नो कलम आमालाई दिनेगर्छे।
शनिबारको बिहान सेसेलुङलाई आमाले काम अह्राउँदै भन्छे- “सेसे, आज त तेरो छुट्टी हो। यो तोसकहरू सबै घामहरू सुकाउनु ल। च्यादर चैं फेरेर मात्र राख्नु, तैंले साबुनको फिँज राम्रोसित निकाल्न सक्दैनस्। म आफै आएर धुन्छु।”
एघाह्र बजेतिर सेसेलुङले गीत गाउँदै ओछ्यान टक्टकाउँछ र तोसक उचाल्न के लागेकी हुन्छे, त्यसबाट एउटा चिट्ठी फ्यात्त झर्छ। लिफाबिनाको चिट्ठी।
चिट्ठीको राइटिङसित ऊ परिचित छे, मज्जाले। ऊ भुइँमा थ्याच्च बस्छे र यताउता हेर्छे। दैलो बन्द गर्छे। कतै कोही त आउँदैन? उसलाई डर लाग्छ। त्यसपछि उसले पत्र खोल्छे। पत्र यसरी लेखिएको छ-
“आदरणीय दाजु,
तपाईंले भनेजस्तै हाम्रो भेट सिर्फ यो पत्रमार्फत् मात्र हुने हो कि? भन्नुको लागि मात्र मेरो एकजना बुढ़ा छ, भनौं थियो, तर कान्छी लगेर भागिसकेको छ। उसलाई हाम्रो घरको केही वास्ता छैन। एउटी छोरीको पनि केही फिक्री छैन। उसको हरेक व्यवहारसित म राम्ररी परिचित छु। उसलाई एउटा मौका मात्र चाहिएको छ- मलाई घरबाट निकाल्ने।.....”
अरू पनि के...के...लेखेकी थिई। तर पत्र पढ्दा पढ्दै उसका आँखा आँसुले भरियो र सेसेलुङले तोसक जस्तो अवस्थामा थियो त्यसरी नै मिलाएर राखिदिई।
भरैतिर आमा कामबाट फर्केर आई र बाटोदेखि नै कराई- “सेसे, धारामा कोई मान्छे छैन, छिटो गर्। गाग्रीको पानी खन्याइहाल्, हामी दुइजना गइहाल्नुपर्छ, धारा खाली छ।”
अनि आमाले घरभित्र पस्दै भनी- “हन दिनभरि के गरिबसिस्? यति च्यादर फेर् भनेको पनि फेरिनस्? मेरो मात्रै हात हेर्छस् हैन?” गनगनिँदै आमाले च्यादर फेरी। सेसेले पनि केही नबोली चुपचापसित गाग्रीबाट ठूलो डेक्चीमा पानी खन्याउन थाली।
उसले च्यादर फेरिन, उसले किन च्यादर फेर्न सकिन त्यो कुरो उसलाई मात्र थाहा छ। एकरात सेसे सुतिरहेकी थिई। आमा फोनमा बाबासित बाझ्दै थिई।
“तिमी कस्तो छौ, पहिले आफैलाई ऐनामा हेर। तिमी कान्छी लगेर मलाई बिल्लिबाठ पार्ने मान्छेले मलाई के-के भन्न सुहाउँदैन। हो, म फोनमा बात मार्छु। बात मार्छु। मान्छेको कामै हो अरूलाई के-के भन्ने, अरूको निन्दा गर्ने।”
एकछिन चुप लागेपछि फेरि कड्केर तँमा ओर्ह्लेर भनी- “तँजस्तो गतिछाडा छुइनँ म, बुझिस्। नानी सत्ताइस दिनको हुँदा तैंले कान्छी टिपेर मलाई छोड़ेर गइस्। ऐले सुध्रिन्छस् भनेको, तँ कैले सुध्रिँदैनस्। भन्छ नि कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा हाले पनि सीधा हुँदैन भनेर। ऐले पनि तँ त्यस्तै छस्। मलाई सब थाहा छ नि।”
अचेल आमाको निकै फोनकलहरू आउन थालेको छ। पहिले पहिले मोबाइल चलाउन नजान्दा सेसेलुङले नै आमाको रिचार्जहरू गरिदिने गर्थी। “ला ला नानी, ब्यालेन्स हालिदे त।” कम्पनीको म्यासेज आउँदा पनि “ला त सेसे, के आएछ हेर् त।” भन्नेगर्थी। तर अचेल भने आमाले सकेसम्म सेसेलुङदेखि मोबाइल टाडो राख्नेगर्छे, जतिसक्दो लुकाएर।
अचेल आइतबारको राशनपात गर्न पनि एघाह्र बजे नै जानेगर्छे र ढिलोगरी साडे पाँच बजेतिर घर फर्कनेगर्छे। सेसेले सोध्दा घरि कमला बडी, घरि रूपा बडी, घरि अरू कसैको घरमा गएँ भन्ने बहाना बनाउँछे। सेसेको मुख थुन्नको लागि जुलापी, सिङ्गड़ाहरू ल्याएर अगाड़ि राखिदिन्छे।
समय आफ्नै गतिमा बितिरहेको थियो। मान्छेको समाज न हो, समय बित्दै जाँदा नाना प्रकारका हल्ला चल्नथाल्छ।
“बुढा नभएको, मज्जा भइरहेको छ त्यो आइमाईलाई।”
“हैन, त्यो बैनी त पैला त्यस्तो थिएन त। साह्रै सुधो पो थियो त। के भयो हँ उसलाई?”
“हैन होला हौ। बिचरा! मान्छेको जात, अरूलाई खसाल्नु, अर्कालाई बदनाम गराउनु त हो। बोलेको, हाँसेको त देख्नु नै हुँदैन। पापी संसार, थुक्क!”
एकदिन साँझमा तल्लो घरको मानबीर माइला मातेर कराउँदै गरेको सुनियो- “थुञ्चेले छोप्दा छोप्दा कुनदिन डोकोले छोप्दा थाहा पाउँछ।” अनि अझै के-के, के-के।
सेसेले आमालाई भन्छे- “आमा, त्यो तुम्बा*लाई के भयो हँ? कराउँदै पो छ त।”
आमा एकछिन चुप लागेर भनी- “खै, म फोनमा बात मारेको, अरूसित बात गरेको त धेरै नराम्रो नराम्रो कुराहरू बनाइसकेको रहेछ नानी। तँ सानै छस्, बुझ्दैनस्। तर नाङ्लो ठट्टाउँदा हात्ती डराउने त होइन नि।”
सेसेले बुझ्न त धेरै कुरो बुझेकी छे, तर बुझ्न नै चाहेकी छैन उसले र नबुझेकी भान पारी।
दशैंको बेला थियो। सेसेका सबैजना साथीहरू नौरथाको नौ दिने व्रत बस्ने अरे। सेसेले पनि उनीहरूको नकल गरेर बस्ने भई नौरथाको व्रत। नौ दिनको व्रत बसेको चौथो दिन थियो। अझै पाँच दिन बाँकी नै छ नवमी आइपुग्नलाई। सेसेले चोखी भएर भक्तिको साथ व्रत बसेकी थिई। ऊ एक छाक, त्यो पनि राति सुत्नेबेलामा शुध्द नूनसित खानेगर्छे।
सेसेलुङ केही बिसञ्चो थिई। सात बजेको हुनुपर्छ। थोरै भात खाएकोले होला, ऊ ओछ्यानमा लड़िरहेकी थिई। उसले निद्रामा कता-कता पुरुष बोलेको आवाज सुनी।
त्यो पुरुष मान्छेले भनिरहेको थियो- “तिमी नडराऊ, म तिमीलाई खुशी राख्छु। मेरो घर पनि लथालिङ्ग भइरहेको छ। तिमी आऊ न, मसँग हिँड।”
सेसे बिस्तारै उठी। छेवैमा आमाको कलम काट्ने छुरी रहेछ। उसले त्यो छुरी टपक्कै टिपी र चाल मारेर भान्साकोठातिर बढेर गई। उसले छुरीलाई बलियोसित पक्री। रिसले कामिरहेकी थिई ऊ। उसले छुरी पक्रेर बसेकी आमाले देखी, तर केही भन्न सकिन। सेसे त्यो पुरुष मान्छेको पछाड़ि उभिएकी थिई र उसले सेसेलाई देखेको थिएन।
त्यो मान्छेले फेरि भन्नथाल्यो- “नडराऊ, हिँड़ मसित।” भन्दै उसले सेसेकी आमाको हात पक्रन अघि लम्क्यो।
हात पक्रन के आँटेको थियो, सेसेले कुदेर गई “ऐ हाम्रो घर बिगार्छस्?” भन्दै त्यो मान्छेको ढाडमा प्रहार गरी।
आमा कहालिई। “के गरेको? नगर्। छोड्, छोड्दे।” आमाले छुरी खोसी।
सेसेलाई असहनीय भइरहेको थियो। चूल्हाको छेउमा लड़िरहेको सोंते टिपेर उसले त्यो मान्छेको हातै-हातैमा हिर्काउनथाली। “जा, यहाँबाट गइहाल् तँ। नत्र तँलाई मार्दिन्छु म।”
“मार् मार्।” भन्दै त्यो मान्छे बिस्तारै बाटो लाग्यो।
त्यसको ढाडमा छुरीले काट्न चाहिँ काटिएछ, तर त्यति गहिरो होइन।
घरमा मौनता छायो। आमा टाउको दुःखेको भान पारेर ओछ्यानमा ढल्किन पुगी। सेसेले आमाको छेउमा गएर भनी- “आमा, आमा, आमा। आज त यो शब्ददेखि पनि मेरो विश्वास नै हटेर गयो। विश्वास नै।”
एकछिनमा पल्लो घरकी सावित्री दमाई कुद्दै आएर सोधी- “सेसे, तँ त जोडले कराउँदै थिइस् त। के भयो?”
“केही भएन बडी। केही भएन।” सेसे अँध्यारो मुहार लिएर कोठाभित्र पसी। आमा भने त्यहीँ बसिरही।
सेसेले आज खाना खाइन।
रात निकै गहिरिएको थियो। आफू सुतेकै ठाउँबाट आमाले भनी- “नानी, त्यो मान्छेले मलाई सताएको सताएकै छ। तर, मैले त्यो मान्छेलाई यहाँ बोलाएको भने पटक्कै होइन। मलाई विश्वास गर्। कमानमा पनि सबैले बुढी मरेर राँड़ा भएको मान्छे। एक्लो छ। तिमीलाई राम्रै हुन्छ, जाऊ। भन्छ।” अरू पनि के-के भन्न लागिरहेकी थिई। सेसे सुन्दा-सुन्दै निदाउनपुगी। आमा पनि बत्ती निभाएर सुती।
सेसेको आँखाबाट बररर..आँसु झर्‍यो। कस्तो भाग्य उसको? आफ्नै आमाले आफ्नो प्रेमको गीत छोरीलाई सुनाइरहेकी छे।
त्यो दिनपछि सेसेमा धेरै परिवर्तन आएको छ। एक्लै घोरिरहन्छे। त्यसरी नै नौरथा पनि सकियो। दशैं आयो, आएर पनि गयो। तर सेसेको त्यो दशैं व्यर्थको, स्वाद नभएको, खल्लो भएर बित्यो।
आज लक्ष्मीपूजा। सेसेलुङ आज साथीहरूसित जातीय पोशाक लगाएर भैलो खेल्ने रे। उसले साह्रै मज्जाले भैलेनी भन्नेगर्छे, साह्रै मज्जाले। त्यसैकारण साथीहरूले सधैं उसलाई नै भैलेनी लेख्न दिन्छन्। आज त सेसेले अघि नै कागजमा भैलेनी सारेर राखिसकेकी थिई।
उसले आज लक्ष्मीको लागि आफ्नै हातले फूलको माला उनेर राखेकी छे। दैलोको लागि, झ्यालको लागि, कलशको लागि पनि।
“आमा, आमा, अब भयो होला है। वाक्क लागिसक्यो। अब के छ काम?”
आमा तयार भएर निस्कन्छे र उसलाई भन्छे- “सेसे, हेर् म तेरो लागि झिर्झिरे, पटेका, प्रसाद र अरू सामानहरू पनि ल्याउनै बिर्सेछु। परको भण्डारबाट ल्याएर आउँछु ल। भरै फेरि त्यहाँ सामानहरू तुर्छ। तँलाई थाहै छ त सामान तुर्दै गएपछि भण्डारको मान्छेले डबल दाममा बेच्छ।”
“हुन्छ आमा, तपाईं छिट्टो आउनुहोस्। भोक पनि लागिसक्यो।”
आमा गएकी तीन घण्टा भइसक्यो। फर्केर आएकी छैन। आमाको अत्तोपत्तो छैन। पर.. बाटोसम्म हेर्न जान्छे सेसे। अहँ, छैन।
परबाट बिमला बोजू आउँदै रहिछे।
“बोजू, तपाईंले आमालाई देख्नुभयो?”
“नानी, मैले त देखिनँ। आउँदै होला। दोकानमा भीड थियो। भीड़मा मैले देखिनँ हुँला। बस्दैगर् न, आइहाल्छ।”
त्यसरी नै तीन बज्यो, चार बज्यो, पाँच...छ...। अहँ, आमा आइन। सेसेको मन अमिलो भयो। उसलाई के गरौं, कसो गरौं भयो।
त्यति नै बेला तल्लो घरकी जुइली तुम्मा* त्यहाँ आइपुगी। के माग्न आएकी थिई कुन्नि?
तुम्माले भनी- “अम्मुई नि, हेर घर अँध्यारो पारेको, अल्छिनी। सेसे, खै आमा?”
सेसे सुँकसुँकाउँदै बोली- “तुम्मा, आमा त छैन। आमा कता गयो गयो। आमा हरायो।”
जुइली भित्र पसेर हतार हतार आमाको बाकस राख्ने ठाउँतिर लम्कन्छे। अहँ, बाकस गायब छ। अरू सामान पनि छैन। किनकि हिजो राति एकजना मान्छेलाई बाकस बोकेर जाँदै गरेको उसले देखेकी थिई। उसको भ्रम सत्यमा परिणत भयो।
जुइलीले सेसेलाई अँगालो मारेर भनी- “नरो सेसे, नरो। तेरो आमाले नि तँलाई बुझेन। तेरो आमाले पनि तँलाई बुझेन। च्चः च्चः, हे भगवान, के गरेको यस्तो?”
त्यतिबेला तलबाट कोही बोलेको आवाज आउँछ- “आमा, साइत भयो रे। आउनु अरे छिट्टो।”
“नानी, तँ बस्दै गर्। म आइहाल्छु।”
सेसेलुङको जीवनमा त्यो दिन पक्कै औंसी नै बन्यो। सबैको घर झलमल्ल भइरहेका छन्। अँध्यारो घरको अँध्यारो कोठामा सेसे भने एक्लै रोइरहेकी छे।
तल कतै भैलेनी खेलेको आवाज सुनिनथाल्यो- “भैलेनी आयौ आँगन, बढारी कुढारी राखन। हाइ औंसीको दिन गाई तिहार भैलो।”
सेसे भने “आमा” भन्दै रोइरहेकी छे। रोइरहेकी छे।
0-0-0
तुम्बा*तुम्मा* (लिम्बु भाषामा ठूलाबा, ठूली आमा)

टिस्टा भेली, दार्जीलिङ

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 30 भाद्र, 2073

लेखकका अन्य रचनाहरु