मन हराएको बेला !

- माधव काफ्ले

भो ! नमाग मसँग अस्तित्वका सुरक्षा कवचहरू । अन्योलको उखर्माउलो गर्मीले पिल्सिएको छ मेरो मन । भौतिकवाद, उदारवाद, बजारवाद र निजीकरणको आँधीले उडाएको छ मेरो अस्तित्व । अराजकताको उद्दण्डताले लुटेको छ मेरो अस्मिता । गन्तव्यको खोजीमा उठेका मेरा पाइतालाहरू कर्तव्यको खग्रासले गन्तव्यहीन भएका छन् यतिबेर । सगरमाथा छिचोल्ने मेरा आँट, चन्द्रमा छुने मेरा उत्साहहरू, बुद्ध बन्ने मेरो आदश,ईमान्दार बन्ने मेरो अठोट वैचारिक दरिद्रतामा निर्लिप्त मान्छेको पुरुषार्थसँग सिंगौरी खेल्दै आत्मसम्मानको कुरुक्षेत्र पार गर्न यतिखेर मनमनै महाभारत मच्चाइरहेका छन् ।
आदर्शको अनुशरण गर्न खोज्ने एकलव्यहरू या त झुण्डिन बाध्य हुँदा रहेछन् या त औंला काटेर गुरुदक्षिणा दिन विवश छन् । नारीको सौन्दर्य र कौमार्यमाथि खेलवाड गर्ने कृष्णहरू आज पनि उद्दण्डताको पराकाष्ठामा पुगेर अस्मिताको ताण्डव नृत्य मच्चाइरहेका छन् तापनि हामीहरू धर्मका नाउँमा, परम्पराका नाउँमा, रीतिस्थितिका नाउँमा आँखा चिम्लेर सहिरहेका छौं– उनीहरूका कुकृत्य र ज्यादतीहरू । अनि सहनु हाम्रा नियति पनि भैसकेको छ ।संवैधानिक खोष्टाको चौघेरा भित्र कज्याईएको छ हामीलाई । हाम्रो शिष्टता र लाचारीको फाइदा उठाएर शकुनि र शिशुपालहरू संविधानमाथि चढेर हामीमाथि एकछत्र बर्बरपूर्ण निरकुंश शासन चलाइरहेका छन् । कानुनले दाँत र नङ्ग्रा फुकालेर हामीलाई पिन्जरामा हालिसकेको छ । राज्य संयन्त्रद्वारा चलाइएका हतकन्डा र बर्बरताको पीडा झेल्न नसकेर नै महाकवि देवकोटाले भनेका रहेछन्–
"promethen pain bear
with tear and tear
yet s song of joy must I raise
My God to praise"

स्वाभिमानलाई सुकेनास लागेको छ यतिखेर । नैतिकताको डाक बढाबढ र लिलाम संसदबाटै गरिंदै छ, इमान्दारी असल जागिरको खोजीमा विदेसिन लागिरहेको छ । नागरिकताको खोस्टो भित्र कोचिएको छ अस्मिता, चियर्सका चुस्कीहरूमा झुन्डिरहेको छ प्रतिष्ठा, भौतिक सम्पन्नताको कसाईखानामा कज्याइएको छ कर्तव्य । यहाँ त निष्ठावान मान्छेले पनि व्यावहारिकताको नाउँमा शिर झुकाएर कुसंस्कार सेचन गर्नुपरिरहेको छ, सद्दे भएर पनि नयाँ नीतिअनुसार खोरन्डो हुन परिरहेको छ, सिद्धान्त सँगाली राख्नेहरूले विगतलाई सम्झेर वर्तमानमा रुनु परिरहेको छ ।
भनिन्छ, कवि कल्पनामा उड्छन् भनेर । कल्पनामा उड्नु बाहेकको विकल्प हामीसँग सुरक्षित नै पो के छ र ? हामीसँग सीप त छ तर कज्याउने अर्कै छ; हामीसँग क्षमता छ तर हाँक्ने अर्कै छ; हामीसँग पसिना चुहाउने सामथ्र्य छ तर खाने अर्कै छ, हामीसँग वस्तु छ तर बजारभाउ र मूल्य अर्कैको हातमा छ, हामीसँग समाज छ, संस्कार छ तर हैकम अर्कैको छ; हामीसँग नीति छ, नियम छ तर बनाउने र पाखालगाउने पनि अर्कै छ; हामीसँग संविधान छ तर त्यसलाई सोइसोला खेलाउने अर्कै छ, हामीसँग सम्पत्ति छ तर उपयोग गर्ने अर्कै छ, हामीसँग राष्ट्रियता छ तर बोक्ने र हल्लाउने चाहिं अर्कै छ; हामीसँग राष्ट्र छ तर हाँक्ने पनि अर्कै छ । हुकुमी शासनको सिंहाशनमा आरूढ भएका जे–जति आकृतिहरू छन् ती सबै औंलाको थिचाइमा चल्ने रिमोेट मात्र हुन पुगेका छन् । यदि त्यस्तो नभएको भए भारतले सुसेल्दा टक्क अडिने अनि अमेरिकाले कर्के हेर्नासाथ सातोपुत्लो उड्ने मानसिकता देशोद्धारकहरूले कहिल्यै पनि बोकेर हिड्ने थिएनन् । परावलम्वित बेसाहा खेपेर हामी जे जति पुरुषार्थ गरिरहेका छौं ती सबै परचक्री स्वामी रिझाउन मात्र गरिरहेका छौं र त हामी नग्न छौं, निरीह छौं र निसहाय हुदैं गइहेका छौं । यतिखेर हामीसँग जे छ कल्पना मात्र बाँकी छ । वाक् स्वतन्त्रता बहाल भएको कानुनी यस देशमा मनमा लागेको कुरा बोल्न पाइन्न ।
बोल्यो भने राष्ट्रले त केही गर्दैन तर राष्ट्रले जगाएका राँकेभूतहरूले सहन सक्तैनन् । प्रतिगामीको छेसाहा बात लगाउँदै एक्कैचोटि कञ्चटमा सङ्गीन तेस्र्याएर चिथोर्न थाल्छन् । त्यसैले मैले कल्पनामा नै अलौकिक परमानन्दको अनुभूति बटुल्ने गरेको छु । वास्तविक जीवनमा क्रुर र डरलाग्दा घटनाहरू–वस्तुहरू काव्यात्मक अनुकरणमा आनन्ददायी बन्छन् भन्ने एरिस्टोटललाई कसले सम्झाइदेयोस् मान्छे यति स्वार्थी, कृतघ्न र कपटी भइसके र जीवन सारै बोझिलो–बेकम्मा विशृङ्खल र विसङ्गतिपूर्ण पनि हुँदोरहेछ भन्ने कुरा ! दर्शन शास्त्रले वास्तविक जीवनलाई अझ रोचक र सारमय बनाउनु पर्नेमा झन् बोझिलो र बेढङ्गको बनाउँदै लगिरहेको छ । फेडरिक नित्सेले अपोलोनिजम र डाइनासिजम भन्ने लेखमार्फत् ईश्वरको मृत्युको घोषणा गरेर युरोपीय सोच, प्रगति र पुरुषार्थको मार्ग फराकिलो बनाउँदै संसारलाई सङ्कीर्ण सोचबाट मुक्ति दिलाउन उल्लेखनीय योगदान दिएता पनि छिमेकी मुलुकका महामहिमहरू अझै पनि धर्मको प्रेत जगाएर देशोद्धारमा लागिरहेका छन् । यस अर्थमा पनि आदर्शलाई अलग्याएर यथार्थमा हेर्ने हो भने काव्यशक्तिले ढुङ्गा झैं कठोर हृदय पनि नपगाली छोड्दैन भन्ने सर फिलिप सिड्नीको कथन भन्दा मलाई भर्जिलको टर्नको स्वभाषण धेरै मात्रामा व्यवहारोपयोगी लाग्छ किनभने, कल्पनादेखि बाहेक अलिकति पनि व्यावहारिकतामा उत्रने हो भने हामीहरूलाई हरेक क्षेत्रमा यसकारण असफलताले घेरिहाल्छ कि हाम्रो योग्यता र प्रतिभाको नापो अथवा कसी लगाउने ठाउँमा मध्ययुगीन दास मनोवृत्ति बोकेका ठालुहरूको हालीमुहाली र छत्रछायाँमा हामीले आफ्नो पुरुषार्थको पाइन नाप्नुपरिरहेको छ ।
व्यवहारको जुवामा जोतिनु परेपछि कर्तव्यको पथमा पाइताला खियाउनु परेपछि दायित्वको गलगाँड घाँटीमा झुण्ड्याएर हिंड्नु परेपछि हाम्रो सिर्जना शक्तिको चमत्कार र हाम्रो कौतुहलपूर्ण परिश्रमको फल पिलपिले बत्तीमुनिको अन्धकार जस्तै मलिन हुन पुग्दोरहेछ, हाम्रो ज्ञानार्जनको धाक र धौंस पनि पानीको फोका जस्तै उन्मादको तुजुक र तेज रहुन्जेल उठ्दोरहेछ, संवेदनाको कुरो उठ्नासाथ सहाराहीन हुँदै फुट्दोरहेछ । अनि सफतलाको बिल्ला भिर्ने निशाचरहरूले सिर्जनाका संवाहकहरूलाई सदैव लुते कुकुरलाई खोइरो खनेर लखेटे झैं लखेटिरहँदा रहेछन्, लत्याइरहँदा रहेछन्, ङ्याकिरहन चाहँदा रहेछन् । आफ्नो बुताले भ्याएसम्म थिचिरहन खोज्दारहेछन् । सदैव हामी विवश र लाचार भएर नैतिकताको नाउँमा सहिरहेका छौं, अनेकौं उत्पीडनहरू काट्दै आएका छौं, असङ्ख्य कहरहरू भोग्दै आएका छौं, अनगन्ती कुसंस्कारका घिनलाग्दा आक्षेपहरू ।
विश्वका समुन्नत र शक्ति सम्पन्न राष्ट्रहरू अकालमृत्यु वरण गर्न विवश भएका हजारौं लाशहरुको साछी बसेर सनाखत गर्दै त्रासदीपूर्ण इतिहास कोरलिरहेका छन् । मानवकल्याणकारी र जीवनोपयोगी जीवित समस्या समाधानहरूबाट तर्सेर उपदेशबाजी गर्दै समुन्नत बनाउन खोजिएको मानवाधिकार र प्रजातन्त्रको मखुण्डोभित्र बर्बरताका अर्बुदऔंसाहरू उमारेर आदर्श बाँडिंदै छ, भयावह कालरात्री रोपेर उज्यालाको गीत गाइँदै छ, ज्यादती, जोरजुलुम र नरभक्षी निरङ्कुशता लादिँदै स्वतन्त्रताको सुकिलो महिमा गान गरिंदै छ एकातिर भने देश बहुदलीयताको चिहानमाथि सक्रीय राजतन्त्रको बटवृक्ष उमार्न उद्यत देखिनुले पनि देशप्रेमको होलसेल प्रवचनमा राष्ट्रवादी चरित्र खोजिदैं छ । यस अर्थमा शक्तिसम्पन्न व्यक्तिले जे जसो गर्दा पनि वैधानिक छुट पाउने प्रावधानले नै त होला मार्कोस, मुसर्रफ, हिटलर, हमिदकार्जाई, नोरिएगा, मोहमद यर्साद प्रवृत्तिहरू आज पनि निर्वाचनको वैधताको खाललाई चिथोरेर च्यातेर प्रतिगमनको पूर्वाधारमा लीन हुँदै गएको । मानवाधिकारका झुपडीभित्र अझै पनि कति स्पार्टाकासहरू झुन्डिरहेका छन् । स्वतन्त्रताको पर्खालमाथि अझै पनि कति प्रमिथसहरू मुटु थर्काउने गरी अथाह पीडाको चित्कार निकालिरहेका छन् । अझै पनि कति भीमसेन थापाहरूको तेजोबध गरिंदै छ । सहरमा मात्रै किन आँखा गाड्नुहुन्छ ? गाउँमा हेर्नोस्, बस्तीमा हेर्नोस्, टोलमा हेर्नोस् समानता, स्वतन्त्रता र भातृत्वको अलख जगाउने प्रजातन्त्रको पुनरुदयपछि पनि यहाँ प्रत्येक स्वाभिमानी आफ्नो स्वाभिमान संरक्षणार्थ सन्निपातको रोगीले झंै आन्तरिक वेदनाको राग काडेर चिच्याइरहेको छ,या त बहिर्गमनकोलागि बहादुर बलभद्र झैं विदेशिन विवश बनिरहेको छ । निरङ्कुशताले भन्दा पनि स्वतन्त्रताको नङ्ग्राले चिथरेको ज्यादा पोल्दोरहेछ । त्यसैले अचेल प्रत्येक इमान्दार मानिस पोलियोग्रस्त शिशु झैं छट्पटिरहेको छ । सत्तापरिवर्तनको घिनलाग्दो प्रवृत्तिमा मुछिएर देशभक्त सपूत पनि ‘गोपीकृष्ण कहो’ को रट लगाइरहेको सुन्न पाइन्छ अचेल । यहाँ भन्दा सार्थक विडम्बना अरु के हुन सक्छ र ? सुखद् भविष्यको कल्पनामा कावा खानु ?
मधेसको उखर्मालो गर्मीमा पिल्सँदै र लामखुट्टेको टोकाइबाट अत्तासिदैं सहर पसेका ज्ञान गुण सम्पन्न उपबुज्रुकहरू अतिथि बनेर पाँचतारे होटलको वातानुकुलित कोठामा पस्नेबित्तिकै परिस्थिति जतिसुकै जटिल र भयावह नै किन नहोस् मलेरिया महामारीको सिउरमा कुल्चेर मलेरिया उन्मूलनको घोषणा–पत्रमा ल्याप्चे ठोक्न पुग्छन् । प्रगतिको अभियानमा सुविधाका सुन्दर आदर्श मान्छेको चाउरिएको चित्तको एउटा अँध्यारो कुनामा बसिदिनु मात्र पर्दोरहेछ मान्छे जेबाट, जे पनि बन्न तयार हुँदोरहेछ । वैचारिक दरिद्रतामा निर्लिप्त मान्छेको पुरुषार्थ लाचारीको शूल बनेर दौडिरहेको अवस्थामा आत्मसम्मानको भावनालाई जगेर्ना गर्ने महापुरुष खोजेर हिड्नुपर्ने भो भनेर भन्नुपर्दा पनि आत्म गौरवले ठडिएको शिर झुक्ने गर्दछ ।
कुनै जमाना थियो निष्पक्ष न्यायका लागि ‘गोरखा’ पर्यायवाची शब्द नै भइसकेको थियो । अहिले त गोर्खा पनि नेपालमा नाँपिदै काठमान्डौंमा गाभिन पुगेको छ । गाभिनु बनेको काठमान्डु यतिखेर राजधानीको रतन्धो चँदुवा ओढेर उन्नत व्यापारको मुस्कान छर्दै व्यावसायिकताको बाली लागाउँदै छ, अर्थोपार्जनको पुच्छर समातेर समृद्धिको वैतरणी तर्ने तरखरमा छ । अनि कताबाट पाइन्छ होला हामी जस्ता निमुखा र निम्सराहरूले निःशुल्क न्याय ! छन त छन् भन्छन् थुप्रै अड्डा अदालत सदरमुकाम तिर । तर के गर्नु ? अड्डा अदालतको चौकोसमै झुन्ड्याइएका हुँदारहेछन् गच्छेअनुसारका औकात तौलने आर्थिक मितव्ययिताका तथाकथित तीखा तराजुहरू । पटुकामा पर्याप्त पैसा गुठुरी पारेर बेर्न नसक्नेहरूले कताबाट जुटाउन सक्लान् र खै ? वादी प्रतिवादी लेखाउन दस्तुर, वकिल बकाउने दस्तुर, फिराद–पत्र दस्तुर । दस्तुरै दस्तुरको किल्लाभित्र कुडुल्किएको छ न्याय । एउटा पनि दस्तुरको दुर्ग बाँकी रह्यो कि अन्यायमै परेको भए पनि जाने हुन्छ उसले मुद्दा हार्छ । निष्पक्ष न्यायको आवाजले वायुमण्डलका तरङ्ग पटकपटक गर्जंदै थर्के पनि प्राप्ति भने यथार्थमा हात लाग्यो शून्य नै छ । अदालतको गरिमामय मानमर्यादा व्यवस्थाको नाम फेरिएपछि न्यायको भित्री चुरो आस्थाहीन हुँदै झन् विरूप भएको छ, झन् विकृत भएको छ, झन् विरोधाभाषपूर्ण बन्दै छ । समयले कोल्टे फेरे पनि, युगले प्रगति गरे पनि, राष्ट्रले विकास फैलाउँदै फिंजाए पनि अझैं हामीले आश्वासन र विकासका भाषणमा भविष्य खोजिरहनु परेको छ, सहानुभूतिका शब्द पछाडि प्रगतिका सपनाहरू सँगाल्नु परिरहेको छ, विज्ञान र प्रगतिको विकास सुनेको भरमा निस्ता गाँस सँगै सुस्ताउनु परिरहेको छ । परिश्रमी थालमा पसिना पस्केर भाग लगाउनु परिरहेको छ । अपाहिजझैं आशामा बाँच्नु पर्ने हाम्रो धारणा पुष्पित र पल्लवित हुँदै आएको छ । नियतिको कठघरामा ज्यादतीका कहर काटेर जीवनयापन गर्नुपर्ने भएको छ हामीले ।
बहुदलको गल्छेंडोमा पार्टीको पसल खोलेर अनास्थाका माखा भन्काउँदै सम्पन्नताको पोखरीमा समृद्धिको बल्छी हान्न हानथाप गरिरहेका छन् सबै । पार्टीको दाउ बल्झिएको छ यतिखेर । समीकरणीय विकासको बहारले लठ्याएको छ सबैलाई । एउटा राष्ट्रका नागरिक भएर पनि शरणार्थीको पीडा भोग्नु परिरहेको छ, हामीले । महङ्गीको सेसन्तरले लखटिरहेको बेला नाकाबन्दीको सपनामा सुत्नु परिरहेको छ,कर्फुको दानवी अनुशासनमा आप्mना रहरहरु सुकाएर उज्ज्वल भविष्य खोज्नु परिरहेको छ । कोलाहल र सन्त्रासको मिर्मिरेमा उठेर गन्तव्य खोजिरहेका हामी चक्काजामको जाँतोमुनि जीवनको गति र प्रगति खोजिरहेका छौं । मनमा पलाउने अभिमानको पहेलो तुस, आँखामा टाँसिएका कहालीलाग्दा अहङ्कार र अहारिस, मुखमा आउने लालचको चिपचिपे ¥यालले हामीलाई हामीविहीन बनाउँदै वर्तमान र भविष्यको अँध्यारो खाडलतिर धकेलिरहेको देख्दादेख्दै पनि मृगमरीचिकाको पुच्छर समाउँदै मान्छे, मान्छेको काँधमा चढेर मान्छेको आत्मामा मचकमचक कुल्चेर हिंडेको हेर्नु÷सहनु परिरहेको छ हामीले र हामी जस्तै महङ्गी भ्रष्टाचार एवम् नयाँनयाँ विकृति र विसङ्गतिले देश अहिले बडो जर्जर यातना भोगिरहेको छ । वर्तमान विसङ्गतिको विशृङ्खलित हावामा हुइँकिन थालेको मान्छेको अभिनयी अनुहारमा देखापर्ने उदेकको भाव पढ्दा यस्तो लाग्छ मानौं स्वाभिमान नून खाएको त्यो निरीह कुखुरो हो जसको शक्ति र शौर्य दुराचारी दुःशासनको हातमा रहेको रिमोटमा कैद छ र उसले जतापट्टि थिच्छ उतै÷उसै अनुसार शिर झुकाएर स्वाभिमानपूर्वक हाजिरीं बजाउन पुग्छ ।
ठुटो विश्वास बोकेर बाँचेको छु, म । लङ्गडो आस्थालाई घिसारेर दौडिरहेको छु । कानो आँट लिएर बाटो नापिरहेको छु । सूर्यको किरणसँगै दौडन खोज्ने मेरा चाहानाहरू वायुको वेगसँगै हुइँकिन खोज्ने मेरा उत्साहहरू, नदीको छालजस्तै छचल्किन खोज्ने मेरा जाँगर र जिज्ञासाहरू, फूलको सुवासजस्तै मग्मगिन आतुर मेरा विचारहरू, तोलस्तोय तुर्गनेम, कालिदास र किट्स बन्ने मेरा प्रेरणाका पुञ्जहरू जिजीविषाका अक्टोपसमा जेलिएका छन् यतिखेर । नित्सेको दर्शन, रसेलका विचार, रुसोको स्वतन्त्रता, माक्र्सको साम्यवादलाई श्रीमतीको फाटेको फरियाका प्वालहरूबाट हेर्ने गरेको छु मैले हिंजोआज । ओसिलो चुल्हो नै मेरो भविष्य र गन्तव्य बनिरहेको छ । आदर्श मेरो भोक बनिरहेको छ । उपहास र खिसीट्युरी नयां अलंकार बनिरहेका छन् । भयको साम्राज्य फैलिएको छ चारैतिर । दमन र कुण्ठाको परिधिमा विषादको खास्टो ओढेर दिन काट्न थालिरहेको छु । अविवेकी हुँडार र ब्वाँसाहरु, उछृङ्खलताका स्याल र सुलसुलेहरू, अराजकताका सर्प र विच्छीहरू ज्यादतीका फणा उठाएर मौकाको ताकमा मेरो अस्तित्वलाई ठुङ्न र चिथोर्न उद्यत छन् । अहङ्कारको आरनमा ताछिएको अपामानका तीर तिरस्कारको ताण्डव मच्चाउँदै जब मेरो विवेकमा रोपिन आइपुग्छन् तब मेरो चेतनाका विम्वहरू, सोचाइका शृङ्खलाहरू, सदाशयताका आधारहरू विद्रोहको लाभा ओकलेर विस्फोटनकारी प्रवाहलाई अँठ्याउन पुग्छन् ,पछ्याउन पुग्छन् ।
भय कहिले रावण भएर उदाउँदो रहेछ, कहिले महिषासुर भएर उठ्दो रहेछ, कहिले कंस र शिशुपाल भएर जुर्मुराउँदो रहेछ, कहिले जर्ज बुश र सद्दाम हुसैन भएर युद्धको विभीषिका मच्चाउँदै तुजुकका ज्वाला निकालेर निरीह परिवारको नामोनिसान मेटाउँदो रहेछ । कहिले हुतु र तुत्सी हुँदै मावन संहारको पराकाष्ठामा पुगेर वीभत्सताका ज्वारभाटा फिंजाउँदो रहेछ । झन् अचेल त भय खेमावन्दी राजनीतिको आडमा आतङ्कको साम्राज्य मच्चाएर सदैव मान्छेलाई त्रसित र भयभीत तुल्याउँदैछ । कस्तो अचम्म ! मान्छे मान्छेको बीचमा जातभात अजङ्गको पहरो बनेर प्रगतिका आलीहरू छेक्दै हामीलाई हर्काउन पनि सक्दो रहेछ, मन्दिर–मस्जिद बनेर तर्साउँदो पनि रहेछ, सिख इसाई बनेर लखेट्दो पनि रहेछ, सिया र सुन्नी बनेर सुसेलिरहेको देख्दा अचेल त यस्तो लाग्छ– अन्धविश्वासका कातीहरू अझै पनि हाम्रो संस्कारमा, सोचाइमा चमजुम्राजस्तै टाँसिएर प्रगतिको वेगमय प्रवाहलाई बाँध लगाउने काम गरिरहेका छन् ।
निधारमा तनावपूर्ण तरङ्गको गुजुल्टो व्याप्तिको लङ्गुर हालेर छचल्किन थालेता पनि विवेकको आराधनामा रम्ने अठोटका साथ घस्रिंदै छु । चरम संवेदनशीलताको मसाल बोकेर अनुशासनको आधार समाउन प्रतिष्ठाको सागरमा गोता खाँदै स्वाभिमानको खोजीमा भौतारिनेहरूको पछि लाग्दै जयगानको बेसुरा रागको एकाकी आर्तनादबाट अलि पर पुग्ने अभिष्टि अहिले मेरो धर्म, चिन्तन र आदर्श हुँदैछ र तिनीहरूको पछि पछि म लाग्दै छु । आफ्नो अस्तित्व संरक्षणार्थ अनाचारको कुरुक्षेत्रमा सदाचारको द्वन्दुभी फुकेर अस्ताउन आँटेका आँटहरूलाई बिउँझाउँद,ै सेलाउन लागेका जुम्सा जाँगरहरूलाई तताउँदै, ओसिन लागेका उत्साहरूलाई घचघचाउँद,ै कल्पनात्मक सौन्दर्यमा सम्मोहन काव्यशक्तिको उपासना गर्दै अहङ्कारजन्य निरर्थकता प्रति सचेत गराउँदै,समस्त मानवकल्याणका लागि विवेक र विचारको उर्जा खन्याउन शाश्वत सत्यको आधारशीला खोजेर कोही हिंडेको छ भने ऊ मेरो गुरु हो, गणदेवता हो ।
काव्यशक्ति नै मेरो बाह्र मष्टा हुन् । काव्यशक्तिको अन्तिम लक्ष्य नै ज्ञान प्राप्ति हो र ज्ञान प्राप्तिद्वारा मनलाई सङ्कीर्ण चिन्तनको भौतिक एवम् शारीरिक नर्कबाट मुक्तगरी स्वर्गीय स्तरमा मान्छेलाई उठाउने माध्यम नै साहित्यले भनेर धेरै स्रष्टाहरूले भनेका छन् । दिग्भ्रमित हुँदै उग्लँदै गएको भौतिक उपलब्धिको पछि ‘स्यालले साँढेको खै के झर्ला र खाउँला’ भने झैं गर्नु भन्दा साहित्यको माध्यमद्वारा प्रदूषित यो मनलाई मस्काउँदै उचित ज्ञान तर्फ उन्मुख हुँदै सर्वोत्तम र सर्वोच्च पूर्णताको आनन्दमय आदर्शका आला अक्षरहरूसँग खेल्न खोज्दै म त्यही दुर्गमा आजीवन मात्र होइन जन्मजन्मान्तर डुब्न चाहन्छु । आफ्ना समकृत सामथ्र्यहरूलाई त्यहीं चोपल्न चाहन्छु । त्यसैले साहसका सहस्र्र स्रोतहरूलाई सोहोर्दै, विषादयुक्त भविष्यका सम्पूर्ण पूर्वाधारहरूलाई बग्रेल्ती विछ्याउँदै कर्तव्यका समस्त राजपथहरूका खोविल्टा र खाडलका खतहरूलाई पुर्दै यतिखेर सिर्जनात्मक उलारका झिल्काहरू बटुलेर सरस्वतीको आराधनामा लीन हुनु नै मेरो लक्ष्य बन्दैगइरहेको छ, अलौकिक संसार बन्दैगइरहेकोछ । अन्धकारको कुइनेटोमा अड्किएर बसेको लिप्साको लेदोलाई लत्याएर नै सही साहित्यले पुछिदिए प्राप्तिको पहिलो अध्याय त्यहींबाट सुरु गर्दै सारतत्वको दुर्ग छिचोल्न चाहन्छु म । त्यसैले नेपाली साहित्यको महत्ता र उत्कृष्टतालाई नाप्ने आशाका असङ्ख्य डोरीहरू बाट्तै मान्छेको अनुहारमा पोतिएको अवान्छनीय हीनभावका खाटाहरूलाई खुर्कदै खुलस्त अगाडि बढ्दै हिंडेको हुँदा कसैको व्यक्तिगत लाभ हानी र औडाहाको शृङ्खलासूत्रमा बेरिन चाहन्नँ म । द्रव्य पिचाशहरूका दारा र नङ्ग्राहरूको चेपबाट निस्कन चाहन्छु म । तिनीहरुको संसर्ग र चेपारे चरित्रको चोचोमोचोबाट उम्कन खोजिरहेको बेलामा लाग्छ अरूलाई गुहार्नुभन्दा एकलव्य नै सही हिड्दै हिंड्दै जाँदा आजीवन मुकामसम्म पुग्न चाहन्छु । मैले माथि नै भनिहालें लाभ–हानिको सम्बन्ध सूत्रमा बाँधिएर उपहास र तिरस्कारको पात्र हुनुभन्दा कुपात्र नै सही साहित्यमा नै समाहित हुँदै जानेछु किनभने म नितान्त एक्लो छु । मेरा प्रयासहरू पनि एक्ला नै छन्, एक्लै बाँच्न चाहन्छु, यस कारण कि मलाई मर्नु पनि एक्लै छ ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 30 भाद्र, 2073

लेखकका अन्य रचनाहरु