चामे बूढाको दिनचर्या

- होम सुवेदी

पचासी वर्षबाट उकालो लागे पनि सुख छैन चामे बूढालाई । न गौंथलीलाई नै सुख छ । बूढा भएर पनि चामे आफ्नै घरबारीको काममा लाग्छन् । गौंथली उही चुलो धन्दा, उही भाँडाबर्तन, उही पँधेरोपानी र उही गाईवस्तुको कुँडोपानी आदिमा सकिनसकी लागिरहेकी नै छिन् । धेरै गाईवस्तु हेर्न नसकिने भएर यिनीहरुले चलाए । भैंसी ता उहिलेदेखि नै पाल्न छाडेका हुन् । एक माउ गाई र एक हल गोरु पाल्नै पर्छ गाउँमा घरगृहस्थी गरेपछि । ट्वाकलमा परेवा छन् । खोरमा दुई माउ बाख्रा र एउटा खसी छ । यिनीहरुलाई यी बस्तुभाउ पनि अहिलेलाई घाँडो जस्ता भइसकेका छन् । यिनको रेखदेख, खोले, घाँसपानी आदि गर्दा दुबै आजित भएका छन् । के गरुन् बबुराहरु– छोरानातिको बसोबासो यहाँ छैन । भएकै भए पनि उनीहरुका यी वस्तुभाउको रेखदेख गर्न तिनीहरु कहाँ लाग्दथे र ?
आज निकै दिनपछि चामे बूढालाई फुर्सद मिल्यो । बूढो भएर पनि धर छैन । धन्न पो उहिलेको पक्का खान्की खाएको हुँदा पचासी बर्खका भइकन पनि उनी दुरुस्त दुरुस्त छन् । कहिले मकै छर्नु, कहिले बारीमा डल्ला फोर्नु, कहिले मकै गोड्नु त कहिले घरका नानाभाँतीका काम गर्नु । यसैमा उनको जीवनमा बुढ्यौली आइसकेछ थाहै नपाई । अहिले ता खेताला पनि कतै पाइन्नन् । सबै विदेशतिर लागेका छन् । चामे बूढाका छोरा दुई र तीन छोरी पनि नभएका होइन् । भएका छोरामध्ये जेठो ५२ सालपछि युद्ध गर्ने भनेर लाग्यो बुढिएपछि माओवादीतिर र मारियो । तै चाँडै बिहा गरेको कारनले उसका केही सन्तान भने छन् मलेसियातिर । त्यही छोरापट्टिको एउटा नाति छ अहिले पनि घरमा । अहिले ता त्यो पनि १२ कक्षामा पढ्ने लर्दू भइसक्यो । त्यसकी आमा ता माओवादी नै भइहाली । बिधुई हुने बित्तिकै कुन माओवादीले लग्यो थाहै छैन चामे बूढालाई । अर्कातिर चामे बूढाले कान्छो छोरालाई यता देशमा बस्ता माओवादी बन्नुपर्ला र एक दिन उसलाई पनि मारिदेलान् भनेर पठाएको छ विदेशतिर अरुहरुले पठाएझैं । बरु कालगतिले मर्न ता पाउँछ, अरुको गोली ता खानुपर्दैन । छोरीहरु भने यो सिन्धुपाल्चोकमा कताबाट असल असलका याँमानका लर्दू लर्दू ज्वाइँहरु आउँछन् र बिहे गरेर लग्ने परम्परा छ । सोही अनुसार नयाँ नयाँ ज्वाइँहरु आए अनि तिनका ती छोरीहरु जवान हुनै नपाइकनै बिहे गरे अनि लगे भारततिर । होलान् कतै बेभार गरी बसेका । ती छोरीहरुको छैन उसलाई कुनै थाहा पत्तो । कहिलेकाहीं सम्झना आउँछ त्यत्ति हो । उनीहरुले पनि कुनै जानकारी दिएका छैनन् ।
अलिअलि पढ्ने गरेको र ज्यादा जसो मोबाइल खेलाउने गरेको जेठा छोराको छोरो अर्थात् चामे बूढाको नाति अहिले मोबाइल खेलाउँछ र बस्छ । कहिलेकाहीं किताब पनि पल्टाउँछ । तर बढी भने मोबाइल नै पल्टाउँछ । उसले त्यसैबाट पढ्छ अरे । खै के पढ्छ कुन्नि । अरु केही थाहा छैन चामे बूढालाई । चामे बूढा यति जान्दछन्– उनको नाति मोबाइल खेलाउँछ । बेलाबेलामा उसको मोबाइलमा पैसा हालिदिनुपर्छ । बस त्यत्ति हो । त्यसको मोबाइलबाट उनले सउदीमा भएको उनको कान्छो छोरासँग कहिलेकाहीं कुरा गरेका छन् । यही फाइदा छ उनको नातिको मोबाइलबाट चामे बूढालाई । यो बाहेक उनका नातिबाट चामे बूढाले केही भरथेग पाउनेवाला पनि छैनन् । गौंथली भने अलिक अशक्त छे बाथकी रोगी हो । घुाँड दुख्छ । उमेरले कमकी भए पनि गौंथली चाहिं चामे बूढाभन्दा पनि केही पाकी र बूढी जस्ती देखिन्छे । सधैंको धुवाँ र चुलो चम्कोको कारणले होला ऊ चाँडै बूढी भएकी । अघिअघि कुटे पनि छोराछोरी भएपछि भने चामे बूढाले कुटेनन् तिनलाई । जुठेका अघि किरिया खाएको कुरा उनले साँच्चै नै पालन गरेका छन् । बुढीलाई पनि रहर मेटिए जसरी जोकोहीको बिहे हेर्न जान छाडी उसै बेलादेखि । ओरपरतिर जानुपर्दा चामे बूढा धागाले बाँधेको चस्मा लगाउँछन् । स्वभावतः उनका आँखा केही कमजोर छन् भन्ने बुझिन्छ । लौरो टेक्छन् तापनि ठम्ठम्ती परेर नै हिंड्छन् । बढी चुर खाएकोले बेलाबेला बडो खरो गरी खोक्छन् । रिस भने उसको अघिको भन्दा अलिक बढी नै छ तापनि नियन्त्रणमा नै राखेका छन् । चामेको रिसको कारण गौंथलीले पनि बुझेकी छे । उच्च रक्तचाप वा हाइ ब्लडप्रेसर भएकोले उनी बढी रिसाउँछन् भन्ने कुरा गा्रैंथलीलाई कसैले भनेको हो । त्यसैबाट उसले थाहा पाएकी हो । अरु अरु सबैले पनि बुझेकै छन् उसको रिसको कारण । यसैले बुढाका अघि जोसुकैले नराम्रो कुरा गर्दैनन् ।
क्रमिक रुपमा उनका जीवनमा नेपालको राजनीतिका साथ परिवर्तन पनि आएको छ । उहिलेको भन्दा अहिले धेरै परिवर्तन छ चामे बूढाका जीवनमा । कोकलेले रामायणको सिलोक हालेको देखेर उ नलाई उतिबेलै देखि नपढेकोमा भित्रभित्र चिन्ता थियो । अच्छेर चिन्ने मन यियो । आज प्रौढ कक्षामा गएका कारणले उनले अलिअलि पढ्न पनि सिकेका छन् । रामायण आफैं पढ्छन् । जुठेले पढेको सिलोक अशुद्ध भएको बुझेर उनैले सच्याइदिएका छन् । पँधेराको अँघेटीको अँघारको चन्दन घोटेर लाउन उसले जुठेलाई रोकेका छन् । यसबाट उनमा प्रगतिशीलता आएको बुझिन्छ । उनका नातिले उनैका बारेमा लेखिएको गुरुप्रसाद मैनालीको कथा पढ्दै गरेको कुरा थाहा पाएपछि उनी राँकिएका छन् । एघार कक्षामा उनैका बारेमा लेखिएको कथा पो पढ्दो रहेछ उनको नाति ता ।
उनका नातिको पाठ्यक्रममा उनैका बारेमा लेखिएको कथा रहेछ गुरुप्रसाद मैनालीको । नातिले किताब किनेर ल्याएपछि उसले पढ्यो र थाहा पाए उनले । नत्र यतिका वर्ष भइसक्ता पनि उनलाई थाहा पत्तै थिएन । मैनालीले लेखिदिएको कथामा चामे बूढाका छिमेकी जुठेको जिक्री पनि गरेका रहेछन् । त्यो जुठेको जोडी पनि अझै छँदैछ उनका छिमेकमै । यसै पालि उनानब्बे पुगेर नब्बे लाग्यो जुठे । उहिलेको पहाडको पानी र घिउ खाएका मान्छे अहिले पनि तगडै छन् । त्यो जोडी आफू भन्दा केही वृद्ध भए पनि अहिलेसम्म जीवितै भएकाले चामेलाई केही उत्सुकता जागेर आयो तिनीहरुसँग योबारे छलफल गर्ने । अनि यो कथा के कसो हो भन्ने लागेर लागे जुठेका घरतिर ।
“हैन ए जुठे दाइ, तपाईंले थाहा पायौ ?”
“के कुरा हाउ भाइ ?”
“तिम्रो र मेराबारेमा एउटा किताबमा केके हो केके कुरा लेखिएको रछ, मेरो नाति ता त्यही पो पढ्छ त ।”
‘हँ, कुन कुरा हो ?’
‘त्यही उहिलेको कुरा नि । हाम्री गौंथली मैले भकुन्ड्याउनासाथ फ्यान्डिएर माइत हिंडेकी थिई नि सम्झन्छौ हाउ ? अनि तिम्रै बुढीले भनेको कारणले म उसलाई लिन गएर ल्याएको थिएँ नि, हो त्यही कुरा पो जस्ताको तस्तै लेखिदिएछन् ए ती टारघरे मैदालीले । बूढा ता उहिल्यै उनन्तिस सालमा खसिहाले नि । आज उनी खसेको पनि तीस बर्ख भइसकेछ ।’
होइन कुन मैदालीका कुरा गर्छाै ए बिष्ट ? मैले ता भुुसुक्कै पो बिर्सिएँछु त । कुन अरे ?’ सोध्यो जुठेले ।
‘उही के त अमिनीका राइटर हुन् कि डिठ्ठा हुन् पो भन्थे हाउ, केजाति थिए नि ?’
“ए उनै मैदाली ? सम्झें सम्झें ।” जुठेले बल्ल सम्झियो । अनि भन्यो ‘हँ हो र ? उनले लेख्या रान् ? म के थाहा पाऊँ हाउ भाइ । आपूm भने उही कालो अच्छेर भैंसी बराबर न हुँ । अब ता उहिलेको जस्तो लुगा सिउने काम पनि रहेन । उता देशीहरु आएर लुगा सिउने कारखाना खोलिहाले । हामी दर्जीहरु ता घरका न घाटका पो भएका छौं यो नेपालाँ’ । अनि भन त के लेख्या रान् मैदाली बराजैले ?’ जुठेले चुर तान्दै लामो गन्थन गरे ।
“मलाई पनि उति कन्ठ ता कहाँ छ र ? बरु भरे केटो आउँछ र अनि उसैलाई पढ्न लगाएर सुनौंला न त । हुन्छ ?”
“हुन्छ हुन्छ । हेरौंला न त हाम्रा कुरा कतिको सग्लो गरी लेख्या रान्...” जुठेले भन्यो । अनि दुवैका बिचमा साधारण भलाकुसारी भयो । उहिलेका कुराहरु पनि उनीहरुका माझमा केही आए । अनि त्यहाँ तिनका माझमा व्यावहारिक गन्थन पनि भयो । आफ्ना आफ्ना दुःखसुखका कुराहरु भए र अन्तमा चामे बुढा आफ्ना घरतिर लागे ।
साँझ साँझ पर्न लाग्दा उनको नाति आयो गाउँतिरबाट ।
“काँ गाको थिस् बाबै ? म ता यसो पानी ल्याइदेला भनेर कति आशा गरेकी थिएँ, कता गयो कता ? बल्ल पो आउँछ ए ।” गौंथलीले गनगन गरिन् नातिलाई देखेर । उनी चुलामा भात पकाउँदै थिइन् बडो अप्ठेरोसँग ।
“आजको पाठ अलिक बुझिएन र सरसँग अलिकति सोध्न गएको थिएँ आमा ।”
“सोधिस् त ?”
“सोधें नि अनि ।”
“आयो त ?”
“आफ्नै हजुरबालाई सोध् न भन्नुहुन्छ । अनि के आयो भन्नु ।”
“तेरो सर भन्दा पनि तेरो हजुरबा जान्ने हो कि कसो हो ? लौ किन सोध्ने हजुरबालाई ? कस्ता हुन् मास्टर पनि ! के कुरा सोध्ने हजुरबालाई ? तेरा हजुरबाले के पढ्या छन् र सोध्छस् हजुरबासँग ?”
“तिनै तपाईंहरुका कुरा क्या । थिए अरे नि तपार्इंंहरुको कथा लेखिदिने मैनाली । तिनैले तपार्इंंहरुको उहिलेका कुरा लेखिदिएको रैछ । कथा जस्तो बनाएर । हो त्यसैका बारेमा केहीकेही कुराहरु बुझ्न सकिन र गएको थिएँ सरका साथ सोध्न क्या ।”
“के हाम्रो कुरा पनि पढ्नुपर्छ तैंले ?”
“पर्छ त अनि ? बरु तपार्इंलाई आउने कुरा भनिदिनुहोस् न ।”
“के कुरा हो, सोध् न त ।”
“तपार्इं माइत भागेर गएको बेला जङ्गलमा घाँस काट्न जानु भएको थियो कि थिएन भन्नु त ?”
“आ बिर्सिसकेें है मैले ता । लौ गएकी थिएँ गएकी थिएँ । घरमा भैंैसी भोकै भएपछि घाँस नकाटेर के गर्ने त ? माइतमा खाएर बस्नु मिल्थ्यो र ?”
“हो त्यो बेला जङ्गलमा तपार्इंले गाएको गीत छ नि ‘उडिजाऊँ भने म पंखी होइन बस्नलाई मन छैन’ भन्ने गीत । यही गीत गाउनुुभाको छ नि, हो त्यो गीतमा तपाईंले के कुरा भन्न खोजेको ? पंखी जसरी उडेर कता जाने मन भएको थियो उति बेला तपाईंलाई ? भन्नु त आमा ?”
यसरी नातिले खेरेर हजुर आमालाई सोधिरहेकै बेला जस्केलाबाट चामे बाबै भित्र पसे । अनि सोधें “के भन्छ यो ?!”
“मैले उतिबेला गाएको गीत पनि पो यसले किताबबाट पढेछ त । मैले गाएको गीतभित्रको पंखी जसरी कता उडेर जाने मन थियो भनेर पो सोध्दैछ । मलाई ता लौ राम्रो आएन, के थियो थियो नि मेरो मनमा ? उति बेला बैंसको बेलाको कुरा के सम्झनु ? हजुरबालाई नै सोध् है ।” बुढी पन्सिइन् ।
“पखेटा भएदेखि पंखी जसरी उडेर जान मन भएको कुरा तेस गीतले भनेको हो क्या । बुझिनस् ? पंखी भनेको चरो हो, चरालाई पंखी भन्छन् । बुझिनस् ? केमा लेख्या छ त्यो कुरा ?” उनले उत्तर दिंदै सोधे ।
“अब मैले कुरा बुझें । हजुरबासँग फर्किएर आउने मन भएछ र चरो जस्तै गरी उडेर जाने इच्छा गर्नु भएको रहेछ हजुरआमाले । हो कि होइन हजुर आमा ?” सोध्यो नातिले ।
“नकरा बजिया ।” भान्साबाटै बुढीले हकारिन् ।
“केमा लेख्या छ अरे ?” सोधे बूढाले फेरि ।
“परालको आगो’ मा लेख्या छ । तपार्इंंहरुको कथामा लेख्या’ छ नि अरु केमा होस्” नातिले उत्तर दियो ।
“ए उही कुरा पो रछ । त्यो कुरा राम्रो गरी पढ्, भरे जुठे पनि आउँदैछ, उसलाई अलिक राम्रो गरी बुझाइदेलास् । हाम्रा उहिलेका कुरा बुझ्न आउँदैछ क्या ।”
“हजुरआमा पनि निकै रोमान्टिक नै हुनुहुँदो रहेछ जवानीमा ता । तपाईंले चैं हजुर आमालाई किन त्यसरी मर्ने गरी कुटिहाल्नु परेको नि हजुरबा ?’ सोध्यो ।
“तँ बजिया खेतमा मैले जोतेजसरी लखतरान भएर जोतेर घर आइज अनि तेरी स्वास्नी चैं खानपिन बनाउनु र खाजा साजा बनाउनु ता कता हो कता सबै छोडेर घर उदाङ्गै पारेर बिहे हेर्न छिमेकीकोमा जाओस्, अनि त्यस्तो बेलामा तँलाई कतिको झाँेक चल्ने थियो होला, देख्नेथिस् नि ।”
“तपार्इंं हजुरआमालाई यसो माया साया वा लभ सभ गर्नुहुन्नथ्यो ?”
“लभ न सभ । माया न साया । हाम्रो बेलामा केही पनि थिएन ।”
“तपार्इंहरुको मागी बिहे थियो कि भगाई बिहे थियो कि लभम्यारेज थियो हजुरबा ?”
“मागिबिहे नै थियो नै कहाँ आजको जस्तो भगाउनु नि ।”
“तर तपार्इंहरुको लभ भने बिहे पछि भएछ है हजुरबा ।”
“के हो लभ भनेको ? भएन भएन त्यस्तो लभसभ । पर्तङ्गे हुृने गरी भन् त के हो लभ भनेको ?” एक्कासी गौंथलीको आवाज आयो भित्रबाट । बुढीले पनि सुनिरहेकी रहिछिन् नातिहजुरबाको सम्वाद ।
“यता लात्तीले भकुर्दा चैं भागेर माइत जाने । अनि पछि फेरि उनै भकुर्नेका साथ आउन चरो जस्तो भएर उड्न मन हुने कस्तो होला !” नातिले आफैंसँग भन्यो । बुढीले भने भान्सामा सोतेले आगो फुकिरहेकी हुनाले नातिको भनाइ सुनिनन् ।
“यता लात्तीले भकुर्दा किन माइततिर लाग्नु भो र फेरि लात्तीले भर्कुर्नेसँगै किन फर्किनु हजुर आमा ?” नातिले छिचरो हुँदै सोध्यो ।
“बाठो भएर नकरा बढी, तेरो पनि बिहे गरेपछि चाल पाउलास् !” बुढीले भनिन् ।
“अनि हाम्रा बारेमा अरु के के लेख्या छ भन् न त ?” गाईबस्तुको थान्कोमुन्को सकेर भित्र पस्तै बूढाले अघिकै प्रसङ्गलाई फेरि यथावत् पारे ।
“अरु ता थाहा छैन । तर इन्द्रबादुर राईले पनि तपाईंहरुको कथा लेखेका छन् अरे भन्ने कुरा सरले भन्नुभएको । त्यो भने कता एम एम तिरका विद्यार्थीहरुले पो पढ्नु पर्छ अरे । मलाई चैं त्यसमा के कुरा छ त्यसका बारेमा ता केही पनि थाहा भएन ।”
“अरु ककसले लेखेछन् सोध्नु पथ्र्याे !”
“ए, यता एक जना सुवेदीले पनि तपाईंको कथालाई कवितामा लेखिसकेको कुरा पनि सुनाउनु भएको थियो ।”
“एहे, कुरा ता राम्रो पो परेछ । हाम्रो कथालाई कवित्त पनि बनाइदिएछन् ? को रान् ती ? थाहा पाइस् ?”
“खै होम सुवेदी भन्ने मान्छेले लेखेको छन् अरे भन्नुभो क्यारे । को हुन्् ती मलाई ता थाहा भएन । तिनी झापामा छन् अरे भन्ने सूचना भने मैले पाएको छु ।” नातिले सुनाइदियो ।
“त्यो कवित्तमा हाम्रो कथा कस्तो बनाए होला, सुन्न पाए नि हुने ।” बुढाले आफैंसँग भने । “छिपामा नै लेखिसकेर छिपाइसके अरे ?” सोधे फेरि ।
“छापिसके अरे । उता बेलायतबाट हालिने ‘समकालीन’ भन्नेमा छापियो भन्नुहुन्थ्यो, अरु थाहा भएन हजुरबा ।” उत्तर दियो ।
“लेखे होला नि उही जुठेले पँधेराको खरानी टिपेर त्यसको टीका लगाउँदा पढेको जस्तै” भन्यो । “कति हो हाम्रै बारमा मात्र लेख्या ? मलाई ता रिस पनि उठ्छ ।” आक्रोश पनि पोखे । “लौ लौ भैगो जे लेखून् । हामीलाई केही मत्लब छैन । बरु जुठेलाई भरे राम्रो गरी सुनाइदे है हामीहरुको कथा ।” अन्तमा रिस थामेर नातिसँग बूढाले भने ।
“आ यी मान्छेहरु पनि हामी बूढाबूढीलाई तथानाम गरी लेखिरहन्छन् । के पाउँछन् र अझै पनि लेखिरहेका होलान् । आफ्ना भने उनी गाईवस्तु भोकाएका छन् । घाँस हाल्नु पर्ने यो उमेरमा पनि आफ्नो ता उनी गाईबस्तु सह्यार्नु छ, भकारो सोहोर्नु छ, घाँस काट्नु छ, । सोत्तर हालिदिनु छ.....” बूढा आफैं गनगन गर्दै खोल्मातिर लागे ।
अनि नाति भने फेरि पनि ‘परालको आगो’ लगायतका सामग्रीहरुको अध्ययनमा लाग्यो– भोलिको परीक्षाको तयारीका लागि । र भरे बेलुका जुठेलाई कथा सुनाइदिनका लागि ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 30 भाद्र, 2073

लेखकका अन्य रचनाहरु