नेपाली वर्णविन्यासमा देखिएको गिजोलो

- होम सुवेदी

नेपाली भाषामा वर्ण विन्यास सम्बन्धी समस्याहरु अहिले निकै तन्किएका छन् । यसबारेका बहसहरु नभएका भने होइनन् । भाषाको लेखाइलाई निकै जनाले गिजोलगाजोल गर्दै आएका छन् । अर्थात् भाषाको लेखनलाई लिएर अलिक लामै खिचोलाहरु भएका छन् । थोरै मात्र इतिहासतिर लागेर म अहिलेको वर्णविन्यासमा देखिएको खिचोलोको पृष्ठभूमिसँग केही आफ्ना विचार राख्ने पक्षमा छु ।
लेखनका बारेमा निकै अघिदेखिको रडाको छ नेपाली लेखनमा । झर्राेवादी आन्दोलन (२०१३) वास्तवमा लेखन भन्दा पनि भाषाको शब्दप्रयोगमा बढी केन्द्रित थियो तापनि यसका अभियन्ताहरुका वर्णविन्यासका बारेमा पनि केही धारणा नभएका हैनन् । यस आन्दोलनका अभियन्ताहरुमध्ये विशेष गरी तारानाथ शर्मा र बालकृष्ण पोखरेलले वर्णविन्यासका बारेमा अलिक अघिदेखि नै विभिन्न पत्रपत्रिकाहरूका माध्यममा केही लेखहरू लेखी पटकपटक आफ्ना अभिमत जाहेर गरेको पाइन्छ । नेपाली भाषामा वर्णविन्याको गिजोलो हुने स्थान भनेको ह्रस्व–दीर्घ, हलन्त–अजन्त, सषश, व ब .व, क्षे—छे–क्ष–क्ष्ये–क्ष्य, ये—ए, ग्यँ–ज्ञ, ञ–यँ, ऋ–रि–री, द्य, ध्य, घ्य, चन्दबिन्दु–अनुस्वार, र वर्णका अनेकौ प्रकार जस्र्तै , र्, ¥, « आदि र एकै वर्णका थाप्लामा, पेटमा र पुछारमा अरु वर्णहरु जोडिनु नै हो । यिनको प्रयोगबाट अर्थभेदकता भइदिएको भए कुनै समस्या नै हुने थिएन । इ–ई, उ–ऊ, ये–ए, क्षे–छे, शषस आदिका एकै नासका उच्चारण हुन्छन् । शिशु, सिसु, षिषु, शिसु, षिशु, लाई जसरी लेखे पनि उच्चारणमा र अर्थमा कुनै फरक छैन । उच्चारणमा नै फरक नभएपछि अर्थमा भेद नहुनु स्वाभाकिव हो । केही अपावदका रुपमा केही व्यक्तिविशेषले यिनको उच्चारणमा भेद गर्न सक्लान् तर आम वक्ता यिनको उच्चारणमा भेद गर्न सक्तैनन् । नत यिनलाई शीशू, सीसू, षीषू, शीसू आदि गरी दीर्घ लेख्ता नै फरक हुन्छ । माथि देखाइएका अरु वर्णको पनि स्थिति यही नै हो । अतः अर्थमा फरक नदेखाउने तर व्यवहारमा भने लेखिरहनु परेका कारणले यिनले गाँजेमाजे बनाउने काम गरेका हुन् । यो कुरा मेरा चालिस वर्षे प्रमाणपत्र, स्नातक र लगभग स्नातकोत्तरका उत्तर पुस्तिकाको परीक्षणबाट सिद्ध जस्तै भएको हो । कारण यस्तो भए पनि यिनलाई हामीले छाड्न सकेका छैनौ । लामो लेखनलाई आत्मसात् गरेकाहरुले वा व्याकरणविद् वा वर्णविन्यासका मोहमा परेकाहरूले यी वर्णका रुपहरुलाई र यिनैबाट लेखिने परिपाटीलाई छोड्ने काम गर्न सकेका छैनन् छाड्नु हुन्न भनेका छन् । साथै कति परिवर्तनका इच्छुकहरुले भने यिनलाई हटाएर सजिलो बाटो लिन इच्छा पनि देखिएका छन् । अहिलेको विवाद यसै दुई विचारका माझको हो ।
ह्रस्वदीर्घका कुरामा पनि आफ्ना फरक मत दिँदै तारानाथ शर्मा र बालकृष्ण पोखरेलले धेरै अघि नै ङ, छ, ट, ठ, ड, ढ ह, द, र आदिमा मात्र हलन्त र अरुतिर निम्न व्यञ्जनलाई आधा अर्थात् क्, ख्, ग्, घ्, च्, ज्, झ्, त्, थ्, न्, प्, फ्, ब्, भ्, म्, ø, व्र्, , ¥, «, ल्, श्, स्, ष्, क्ष्, œ आदिका रूपमा लेख्नु पर्ने आग्रह गरेका छन् । तर वर्णको थाप्लो, पेट र पुछारमा वर्णहरु जोडिने बारेमा उनीहरुले केही भनेको पाइन्न ।
सबै भाषामा जस्तै नेपाली भाषाको उच्चारण व्यवस्था पनि आफ्नै प्रकारको हुनु स्वाभाविक हो । यसमा कुनै दुविधा छैन । यस भाषामा लगभग ४० प्रतिशत भन्दा बढी तत्सम शब्दहरू छन् । त्यस्ता तत्सम शब्दहरूको लेखनका बारेमा ठुलाठुला विवाद नभए पनि नेपाली भाषाका मौलिक र अन्य भाषाबाट यस भाषामा आएका आगन्तुक शब्दहरूकोे वर्णविन्यासमा भने व्याकरणविद्का विचारमा सहमति रहेको छैन । यो गिजोलोको आरम्भ एक प्रकार राममणि आदी, महानन्द सापकोटा, सूर्यविक्रम ज्ञवाली आदिबाट भएको हो तापनि उनीहरूले भाषाको स्वभाव र उच्चारण नै गर्न नसकिने पाराको गिजोलो भने दिएका थिएनन् । शुरुमा हलन्तलाई बहिष्कारै गरे पनि राममणि आदीले पछि आएर आफ्ना गोरुको बारैटक्का भनेका थिएनन् । स्थितिअनुसार उनले पनि लेखनको तत्कालीन सर्वमान्यतालाई लिएकै थिए । तर आजको युगमा आएर केही यस्ता मान्छेहरू देखिएका छन् जसले आफ्ना मनमर्जीको लेखन व्यवस्थाको परिकल्पना गरेर लेखाइलाई गिजोलिरहेका छन् । अब नेपाली लेखनलाई माइक्रोसफ्टको हिज्जे प्रमाणीकरणका युगमा लगिएपछि यस्ता गिजोलाहरू आफैं हराएर जालान् भन्ने अनुमान गर्न सकिन्छ । बरु यतातिरको काम हुनुपर्छ ।
‘रूपरेखा’ पत्रिका नेपालको पहिलो धेरै अङ्कहरु निकाल्ने मासिक पत्रिका थियो । यसका सम्पादकमध्येका बालमुकुन्ददेव पाण्डे नेपाली भाषाको लेखन व्यवस्थालाई परम्पराबाट फरक पार्ने योजनामा थिए । उनले ‘रूपरेखा’ मासिक पत्रिकाका अन्तिम पृष्ठमा बलमकनद भन्ने छद्म नामबाट ‘चारैतिरबाट’ भन्ने स्तम्भमा आफ्ना वर्णविन्याससम्बन्धी मान्यता राख्ने गरेका थिए । उनका मान्यता अनुसारको लेखन यस्तो थियो ः—
त्रिभुवन विस्वविद्यालय अन्तर्गत शिछ्यण संस्थान (क्याम्पस) हरूका नेपालि सिछ्यकहरूको एक गोष्ठि हालै यहाँ भएको थियो । अरु कुराका साथै नेपालि भासाको सुद्धितर्फ पनि त्यसमा छलफल भएको थियो । के भन्न पर्दा लाज लाग्छ भने धेरै जसो गुरुहरू नै नेपालि सुद्ध लेख्न सक्तैनन् । ‘क्याम्पस’ तहका सिछ्यकहरूको त त्यो अवस्था छ भने पाठसालाका गुरुहरूको कुरै गर्न परेन । एक दुई जना अपवाद हुन सक्लान् । त्यस्ताले पढाउने विद्यार्थिको अवस्था कस्तो होला । गोस्ठि, भासण, प्रवचन र सम्मेलनले यो समस्या सुल्झाउला जस्तो पनि देखिन्न । जगै बलियो पार्न सके मात्र घर बलियो हुनसक्छ । त्यस कारण जसरि अंग्रेजीलाई सुरुदेखि नै सुद्ध लेख्न सिकाइन्छ त्यहि निति नेपालिका लागि पनि लागु गरिनुपर्छ ।
बलमकनद, चारैतिरबाट रूपरेखा, १९४, २०३४
८ ८ ८
भासाको रूप सर्वत्र एकनास हुनुपर्छ । तर अहिले नेपालि एक ठाउँमा पनि अनेक किसिमले लेखिन्छ । साहित्यिक भासा, बोलचालको भासा, अड्डा अदालतमा चलेको भासा, सम्भ्रान्त परिवार र साधारण जनतामा चलेका भासा सवै वेग्लावेग्लै छन् । यस्तो विभेद किन ? गरिबले भात खानु पर्ने, ठुलावडाले चाहिं भुजा ज्युनार गर्नु पर्ने किन ? एउटा हाँसो उठ्दो कुरा पनि सुन्नोस् । सम्भ्रान्त परिवारमा ‘सुकला’ सव्द प्रचलित छ । ‘सुकला’ वाट वनेको सुकुलमा सुत्नेहरूले चाहिं त्यो सव्दको प्रयोग गर्दैनन् । यसरि भासामा त धनि र गरिवका विच यत्रो विभिन्नता छ भने अरु कुरामा समानता कसरि आउला ? देसले पञ्चायत व्यवस्था अपनाएको छ । सोसणरहित समाजको परिकल्पना गरेको छ । सवभन्दा पहिले जगत्मा भइरहेको उपर्युुक्त सोसणको अन्त्य हुनपर्छ । नेपालि नेपालिका माझ पहिले भासागत एकता स्थापना हुनुपर्छ । एकनासे भासा वोलुन् अनि हाम्रा उद्देस्य र लछ्य हासिल हुनेछन् ।
बलमकनद, ‘चारैतिरबाट’ रूपरेखा, १९६, २०३४
बालमुकुन्ददेव पाण्डेका भाषिक र वर्णविन्यास विषयका मान्यताहरू माथिका दुई उद्धरणबाट स्पष्ट हुन्छन् । यो पनि भाषाको र वर्णविन्यासको प्रयोगका लागि एक नयाँ परिपाटी थियो । यसै सिद्धान्तलाई ‘वेदना’ नामक पत्रिकाले प्रयोगमा ल्याएको कुरा पनि स्मरणीय छ । तर विडम्बना चाहिं के भयो भने आफैं सम्पादक भएको ‘रूपरेखा’ पत्रिकामा समेत बालमुकुन्ददेव पाण्डेले आफूले प्रस्ताव गरेको लेखनलाई समावेश गरी लागु गर्न सकेनन् । अरुका लागि मात्र प्रस्ताव राख्नु र आफू भने लागू नै नगर्नु भनेको अन्धाले अर्काका लागि टुकी बालिदिनु जस्तो मात्र हो ।
अरु–अरुका लेखन र वर्णविन्यासका प्रस्ताव भन्दा बलमकनदको प्रस्ताव अहिलेकाहरुको पृष्ठभूमि हो । उनका वर्णविन्यासमा नचिरेको व मात्र लेख्नु, एउटा स मात्र लेख्नु, क्ष का सट्टामा छ्य र सबैतिर ह्रस्व मात्र लेख्नु पर्ने प्रस्ताव छ । यो प्रस्ताव अन्य प्रस्तावहरूका तुलनामा नेपाली भाषाको उच्चारणव्यवस्थाको नजिक रहेको देखिन्छ । तर गल्ती गरेर वा जानिजानी हो ञ वर्णको लेखनलाई भने यथाथत् राखेका छन् । अरु उदाहरणमा भए झैं मान्ने हो भने ञ वर्णलाई पनि हटाउनु पर्दथ्यो किनभने नेपाली भाषामा ञ वर्णको पनि उच्चारण उसको मूल धर्मबाट हटिसकेको तथ्य सर्वविदित छ । उनले पनि पेटमा घुसाएर लेखिने र वर्णका मुनि झुन्डिने वर्णका बारेमा केही सुझाएको पाइन्न ।
राजकीय प्रज्ञाप्रतिष्ठानको आयोजनामा रोहिणीप्रसाद भट्टराईद्वारा तयार गरिएका ‘वृहत् नेपाली व्याकरण’ नामक व्याकरणको कृतिमा प्रस्ताव गरिएको वर्णविन्यासका सम्बन्धमा राखिएको प्रस्ताव यसपछिको अर्काे महत्वपूर्ण प्रस्ताव हो । यसले भने नेपाली लेखन वा हिज्जेको तत्कालको प्रचलित रूपलाई उत्रो ठूलो हाँक दिएको छैन । यसमा चिरेको ब का सट्टामा तल थोप्लो दिएको .व र नचिरेको व गरी दुई थरीका व वर्णहरू लेख्ने मूल प्रस्ताव थियो । त्यसबाहेक तत्कालीन प्रचलित लेखनप्रणालीलाई हल्लाउने काम उनबाट उति धेरै भएको देखिन्न । यो व्याकरणबाट वर्णविन्यासका बारेमा ठूलो आग्रह वा पूर्वाग्रह राखिएको छैन ।
यसै समयतिर सशक्त रूपमा देखा परेको अर्काे प्रस्तावकको नाम शिवराज आचार्य हो । उनले ‘जिम्दो नेपाली भासा’ नामक पुस्तकमा लेखन र त्यसका बारेका पर्याप्त नयाँ धारणाहरू राखेका छन् । उनको लेखनपद्धति नितान्त नौलो र फरक छ । नेपाली वर्णविन्यासका बारेमा उनको निकै नै फरक विचार छ । उनले नयाँ परिपाटीको लेखनपद्धति हुनु पर्ने मत अघि सारेका छन् । प्रचलित लेखनपद्धतिमा अभ्यस्त तथा नयाँ लेखक र पाठकहरूका लागि उनको लेखन व्यवस्था पढ्न र त्यसलाई राम्ररी बुझ्न अहिलेको लेखनव्यवस्थामा अनुवाद गर्नु पर्ने स्थिति रहेको छ । पहिले उनको लेखनलाई जस्ताको तस्तै नियालौं ः—
नेपाल् राजकिये प्रग्याँ प्रतिस्ठाँन् भासा व्याकर्ण समितिले बँनाँऽको प्रस्नावलि र तेस्को उत्तर दिँन अनुरोद् गर्न लेख्खिया चिठि उइ्लेइ् पाइ्या हो । तेल्ले आँफ्ना विचार्हर्लाई अविव्यक्ति दिँन प्रेरणा पँनि दिएकै हो । किन्तु आाफ्ना केइ् विचार्लाइ् माँत्र अविव्यक्ति दिएर उत्तर् लेख्नु युक्तिसङ्गत् नँहुँनीँ हुँदा र सवैलाइ् लिखित् अविव्यक्ति दिँनुँ आँफ्नु समय साइत्को पँउँच्भँन्दा बाइ्रको कुरो भाऽकाले उक्त प्रसङ्गमाँ केहइ् लेख्न सकियाऽ छैन ।
‘जिम्दो नेपाली’ पृष्ठ. ६६
उनको यो लेखनविधिका बारेमा कुनै पूर्वाग्रह नराखीकन भन्नुपर्दा वर्तमान र तत्कालीन नेपाली भाषाको लेखनव्यवस्थाबाट निकै टाढा रहेको छ भन्नमा कुनै अप्ठेरो मान्नुपर्दैन । आजका पाठकलाई त यस हिज्जे प्रणालीमा लेखिएको सामग्री जस्ताको तस्तै अध्ययन गर्न निकै कठिन पनि पर्दछ । यसैले यसको आजका लेखनव्यवस्थामा अनुवाद नगरी धर छैन । हाम्रो भाषाको लेखन ताम्रपत्र कनकपत्रको भाषालाई जसरी पढ्नु पर्ने भो भने कसरी काम लाग्ला । आफैं विचार गर्न किन्छ । माथिकोलाई अनुवाद गर्दा यस्तो हुन्छ ः
नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान भाषा व्याकरण समितिले बनाएको प्रश्नावली र त्यसकोे उत्तर दिन अनुरोध गर्न लेखिएको चिठी उहिल्यै पाइएको हो । त्यसले आफ्ना विचारहरूलाई अभिव्यक्ति दिन प्रेरणा पनि दिएकै हो । किन्तु आाफ्ना केही विचारलाई मात्र अभिव्यक्ति दिएर उत्तर लेख्नु युक्तिसङ्गत नहुने हुँदा र सवैलाई लिखित अभिव्यक्ति दिनु आफ्नु समय साइतको पँहुचभन्दा बाहिरको कुरो भएकाले उक्त प्रसङ्गमा केही लेख्न सकिएको छैन ।
उता पोखराबाट मुकुन्दशरण उपाध्यायका भाषिक र वर्णविन्यास सम्बन्धी विचार पनि आफ्नै खालका छन् । उनी भाषामा वियोगवादी धारणा अघि सारेको बुझिन्छ किनभने विभक्तिहरुलाई अलग लेखेको देखिन्छ । उनको लेखन रुपको एक नमुनाले मात्र पनि यस भनाइलाई पुष्टि गर्न पर्याप्त हुन सक्छ ।
नेपाली हिज्जे मा ०३४ साल मा अतिक्रमण भएको कुरा अघिल्लो पोष्ट मा भनें। तेसै गरी राणा दरबार का शक्तिशाली बडागुरु हेमराज ले पनि एउटा अर्को अतिक्रमण १९७१ साल मा गरेका थिए । उनले आफनो व्याकरण को पुस्तक मा राणाशासक को लालमोहर लगाएर सर्वसाधारण जनता मा भिजेका शुद्ध नेपाली सर्वनाम इनले, इनलाई, इनको, इने, तेसले, तेता, तेति, एसले, एता, एति, एसरी, तेसरी जस्ता सरल र शुद्ध रूप हरू लाई डाँडै कटाएर धपाएका थिए । जुन घटना ले तेस बेला का कविवर्ग लेखनाथ, सिद्धिचरण आदि को अन्तरात्मा पीडित बनेको थियो, लेखनाथ ले त डराई डराई भए पनि मुखै फोरेका थिए । तर उनलाई तपाईं कविता लेखेर बस्नुहोस् भाषा को कुरा छोड्नोस् भनिएको थियो । फेरि उनले लालमोहर कै भर मा के पनि गरेका थिए भने सँग, सित, नेर, तिर, तर्फ, विना, सिवाय, समेत, द्वारा, कन, देखि, सामू, मुताबिक, हरू, बमोजिम जस्ता अनेकौं अव्यय लाई इतर शब्द मा टाँसेर लेख्न पर्ने भद्दा चलन चलाएका थिए र ले, लाई, को, मा जस्ता अव्यय लाई विभक्ति प्रत्यय हुन् भन्ने अलमल फैलाएका थिए । यो पंक्तिकार उक्त दुवै अतिक्रमण को विपक्ष मा उभिएको छ । तर ऋषिकल्प कविहरु ले यस, त्यस, यता, त्यता आदि लाई पनि पद्य मा चलाउँदै आएकाले आर्षप्रयोग को सम्मान मा यस, त्यस आदि लाई पनि चलाउन मिल्ने कुरा भन्दै आएको छ । तर हरु वा हरू लाई बहुत्व बोधक भएकाले जोड्न पनि सकिने मानेर मेरा पुस्तक ठाउं हेरी जोडेको पनि ।
शिवराज आचार्यपछि नेपाली भाषालाई हिज्जेप्रणालीमा ठूलो किचोलो उठेको देखिन छाडेको थियो । उठाउनेहरू पनि पाखा लाग्न थालेका थिए । लेखप्रणलीमा धेरै मात्रामा सुधार आएर भाषिक लेनको रुपमा स्थिरता वा एकनिष्ठता आइसकेको थियो । विशेष गरी सशष, इई, येए, उऊ क्षेछे, ग्यँज्ञ र द्यध्यघ्य आदिको लेखनमा मात्र समस्याहरू देखिरहेका थिए । अलिकति पेटमा पस्ने वर्णहरु, द्मद्वङ्कङ्खद्घड्ढट्टठ्ठहृङ्गड्ड का बारेमा पनि समस्या थियो । समयको क्रममा यो गाँजेमाजे पनि हट्दै जाने आशा गर्न थालिएको थियो । शिवराजपछि त नेपाली भाषामा अब हिज्जेका किचोला सकिए होला भनेर आशा गरिएको थियो । त्यो लेखन वर्तमान अवस्थामा लेखिने नेपाली भाषाको वर्णविन्यास भन्दा निकै टाढाको भएकोले बेवास्तामा परेको थियो ।
विचार आफ्नो हो । विचार नै राख्न पाइन्न भन्ने कहीं छैन । तर विचार राख्ता आफैं पछि परिने र समाजलाई नै पछितिर धकेलिन बाध्य हुने विचार राख्नाले त्यस्ता धारणा वा आदर्शबाट न आफूलाई लाभ हुन्छ न अर्काेका लागि नै । यस्तो विचार राख्नेमा झर्राेवादका सदस्यमध्येको चूडामणि रेग्मी नेपाली भाषाको हिज्जेप्रणालीलाई अझै पनि खुँड्याउन प्रयास गरिरहेका देखिन्छन् । उनको लेखनविधिका बारेमा कुनै पूर्वाग्रह नराखीकन भन्नुपर्दा वर्तमान र वर्तमानको नेपाली भाषाको लेखनव्यवस्थाबाट धेरै टाढा रहेको छ भन्नमा कुनै अप्ठेरो मान्नुपर्दैन । आजका पाठकलाई उनका लेखनलाई पनि अध्ययन गर्न आजकै हिज्जे प्रणालीमा अनुवाद गरिदिने स्थिति पर्दछ । उनले लेखिएको सामग्री पनि जस्ताको तस्तै अध्ययन गर्न निकै कठिन पनि पर्दछ । व्यक्तिगत रुपमा चूडामणि रेग्मीले हिज्जे र वर्णविन्यासका बारेको हालसम्मको पछिल्लो प्रयास गरिरहेका छन् । ५० कै दशकदेखि आफ्नो कृति (‘नेपाली भाषा र व्याकरणका केही विषय ः केही छलफल’ २०५२) मा आफ्नो नवीन हिज्जेप्रणालीको अवधारणा पेस गरेका छन् । त्यसपछिका दिनमा पनि उनले यसबारे निकै खप्की (भानुभक्त पोखरेल ः चूडामणिको उट्पट्याङको चुट्पट्याङ— प्रतिभा पत्रिका, दमक झापा) खाए पनि उनले यस पक्षमा यथासम्भव प्रयत्न गर्दै आएका छन् । तर स्थापित मान्यताहरूलाई उल्टाउन सहज नहुने हुँदा (उदाहरणीय ः २०३१ सालतिर जनक शिक्षा सामग्री केन्द्रका विद्यालयस्तरका पाठ्यपुस्तकबाट ञ वर्ण हटाउँदाको अनुभव) उनको लेखन प्रक्रियाको प्रस्ताव पनि उनैसँग मात्र सीमित रहेको अनुभव हुन्छ । उनले प्रस्ताव गरेको लेखनको नमूना यस्तो छ—
गअ‍ेको माघ १६ गतेका दिन नञा वनेको चन्द्रगढी गा.वि.स. भवनमा जुहीले साहित्यकार सम्मानको आयोजना गर्यो । जनमतले वनेपामा वार्षिक कार्यक्रम गर्न नसकी काठमाडौमा गर्नुपर्ने स्थिति रहेको यो समयमा जुहीले कार्यक्रम गर्दाका समयको कठिनता अनुभव गर्न सकिन्छ ।
जुही को भनाइ, पूणाङ्क, ४८ जुही त्रैमासिक, चन्द्रगढी ।
प्रस्तावित वर्णविन्यासको प्रयोग नञा वर्णविन्यास शीर्षक लेखमा मात्र छ । भूमिका, नेपाली भाषा र व्याकरणका केही विषय ः केही छलफल, २०५२
अहिले चर्किएको खिचोलोको माउ थलो यही हो कि भन्ने अड्कल काटिन्छ । धेरैतिरबाट गाली खाएपछि चूडामणि रेग्मीले आफ्नो प्रस्तावित वर्णविन्यासलाई यसै कृतिको ‘गालीको परम्परामा म र मेरो भनाइ’ नामक लेखमा १० वटा बूँदाहरूमा समेट्ने काम गरेका छन् । उनका ती दश बूँदाहरू यी हुन्—
प्रस्तावित नञा वर्णविन्यासका मुख्य बुँदा
१. स्वर वर्णमा ऋको साटो रि लेख्ने ।
२. इ, ई, उ, ऊ, ए, ऐ को साटो अि, अी, अु, अू, अ‍े, अ‍ै लेख्ने ।
३. झ लाई साझाको झ मात्र लेख्ने ।
४. आधा र् का प्रयोगमा जोड दिने तथा रु रू को साटो रु रू गर्ने ।
५. सम्युक्त व्यञ्जनमा सरलीकरण गर्ने ।
६. तद्भव र आगन्तुक शव्दमा थालनी र माझका अि, अु लाई ह्रस्व लेख्ने । अन्तका अी अू (केही अपवाद) राखी दीर्घ लेख्ने ।
७ यथासम्भव सवै शव्द अलग्ग लेख्ने (हिन्दी झैं) ।
८ ङ्, ञ्, ण्, न्, म् का साटो सिरविन्दुको प्रयोग नगर्ने ।
९ क्रिया र केही अववाद शव्दवाहेक शव्दका अन्तेमा खुट्टो नकाट्ने ।
१०. तत्सम शव्द यथावत् राख्ने वारे पुनर्विचार गर्ने ।
उनको यो आग्रह पनि आजको भाषाका मानक लेखनमा सहज स्वीकृत हुने खालको बुझिँदैन र रेग्मीको यो लेखनको प्रस्ताव पनि सहज छैन । जेसुकै विषयमा पनि आजको मान्छे जटिलताको खोजीमा नभई सहजताको खोजीमा लागेको आजको दुनियाँम उच्चारणप्रक्रियालाई आधार मानेर गरिएको (तर होइन) जस्तो कताकता लागे पनि यो प्रस्ताव व्यावहािरक र सहज भन्दा अव्यावहारिक र कठिन नै अहंवादी नै लाग्दछ ।
कुनै पनि भाषाको मानक रूप कतैबाट यसै उब्जिने होइन । जुनसुकै भाषाको मानक रूप भनेको कुनै स्थानविशेषका त्यसै भाषिका वा उपभाषिकालाई राष्ट्रको आवश्यकताअनुसार मान्यता दिंदै त्यसैको व्याकरण लेखेर मानकीकरण गरिएको मात्र हो । लेखन र कथनमा एकरूपताका लागि प्रयत्न गरेर नै भाषाको उच्च र सर्वस्वीकार्य रूप कायम गराइन्छ । आधिकारिक रूपमा स्तरीकरण गरिएको लेखन र कथनलाई राज्यले आफ्नो भाषिक प्रयोजनमा लागू गर्दछ । अब नेपाली भाषालाई पुनर्मानकीरण गर्ने बेला छैन । यसका लेखनमा आज जुन रूप तय भइसक्यो त्यसैलाई शिरोपर नगरी धर छैन । यसलाई पुनर्मानकीकरण गर्न थाल्यो भने हुँदै नभएका अरु धेरै बखेडाहरू जन्मन सक्छन् । गण्डकीप्रदेशीय भाषिकालाई मात्र किन मानक रूप दिने र डोटेली वा बैतडेलीलाई किन मानक नगराउने भन्ने खालका समस्याहरू उब्जन सक्छन् । अथवा किन पूर्वेलीलाई मात्र महत्व दिएको अरु भाषिका होइनन् भन्ने झगडा जन्मन सक्छ । भाषिक झगडा भनेको धार्मिक वा साम्प्रदायिक झगडा जस्तै खतरापूर्ण हुन्छ । यस झगडासँग अरु झगडा पनि गाँसिन सक्छन् । नगाँसिए पनि भाषाभित्रबाटै पनि झगडाको बिउ उम्रन सक्छ । अन्य स्थानीय भाषिकाहरू र उपभाषिकाहरूलाई किन महत्व नदिने भन्ने झमेला समेत आउन सक्छन् । आफ्ना ठाउँमा आफ्ना तर्क बलबाट उनीहरु सही होलान् देखिएलान् तर शिवराज आचार्य र चूडामणि रेग्मीहरूको लेखनप्रणालीको प्रस्तावहरू मूलप्रवाहबाट पछि पर्न गएका छन् र पछि पर्नुको कारण मानक लेखनलाई वा मानक लेखको रुपमा खलबल्याउन खोज्नु नै हो ।
नेपाली भाषाको वर्णविन्यासमा अहिले निकै किचोलो आएको छ । आरोप प्रत्यारोप, पक्ष विपक्ष, तेरो, मेरो, गुट उपगुटहरु बनिरहेका छन् भाषाको कुरालाई लिएर समाज पक्षविपक्षमा विभाजित हुन खोजेको छ । यसमा विदेशी चलखेलको कुरा र डलरका कुरा पनि उठेका छन् । साम्राज्यवादीहरुको चलखेल भो भन्ने कुरा पनि आएको छ । यो के हो उनै जानून् । अहिले देखिएको किचोलो पनि यही लेखनप्रणालीमा आधारित हो । यसबाट ता झन् कडा भाषिक अन्योल नै उब्जेको छ । देशै भरि खैलाबैला चलेको छ । साम्य गर्नुको साटो गुट उपगुटका वक्तव्यवाजीहरु आइरहेका छन् । संसदमा समेत आवाज उठेको छ । अन्यधर्मीहरुले नेपालको सांस्कृतिक अतिक्रमणको खेलोफड्को हो भन्ने व्याख्याहरु पनि देखिएका छन् । यसो हुनु राष्ट्र र जातिकै लागि अहितकर हो ।
प्रज्ञाप्रतिष्ठान भनेको देशका बुद्धिजीवीको साझा चौतारी हो । यसबाट लेखिएको वा यसले तयार पारेको कुनै पनि कुरा देशका लागि स्वीकार्य हुनु पर्ने हो । तर अहिले केही कथित बुद्धिजीवीहरुको तोकआदेशमा भाषाको लेखनलाई आफ्नो स्थापित र मानक रुपमा खलबली मचिने गरी अफबाह उडाउने र भाषिक रुपलाई धमिल्याउने काम भएको देखिएको छ । यो कुनै व्यक्तिविशेषले गरेको भए क्षम्य हुँदो हो तर यो ता देशकै भाषिक केन्द्रबाट आएको छ । सबै कुरा गलत नै छ भनेर भनिहाल्ने पक्षमा नभए पनि यसलाई लागु गर्ने जुन प्रक्रिया अपनाइयो यो नितान्त गलत छ । यसै प्रतिष्ठानले शब्दकोश लेख्न मात्र पनि देशै भरिबाट शब्दसङ्लनका लागि टोली खटाउने काम गरेको थियो भने झन् यो भन्दा उच्च काममा केही व्यक्तिहरुको प्रयासलाई नै सर्वमान्य रुप दिने काम गर्न खोजेको बुझियो । यो ता झन् विवादित विषय भएको छ जसलाई अब देशभरका विद्वान्हरुको सामूहिक छलफल गराएर एक रुपताका लागि तुरुन्तै प्रयास गरिनु पर्ने देखिन्छ ।
बालमुकुन्ददेव, शिवराज आचार्य, चूडामणि रेग्मी, मुकुन्दशरण उपाध्याय, आदिले गरेका प्रयासहरुको आफैंमा महत्व होला तर तिनले पनि स्थापित लेखन मान्यतालाई अग्रगामी बन्नमा भन्दा पश्चगामी दिशातर्फ धकेलेको देखिएकोले तिनीहरुले जनसमर्थन र मान्यता नपाउनु स्वाभाविकै थियो । यस्तै लहडबाजी र नानाथरीका घोषणापत्रहरुको बेहोरालाई लिएर तयार पारिएको यो अहिलेको गिजोलो पनि सर्व स्वीकार्य नहुने अवस्थामा छ । लेखनप्रक्रियालाई अहिले यसले खल्बल्याएको छ । यसबाट उत्पन्न भएको भाषिक विवाद यसले खल्बल्याएको लेखनप्रणालीलाई जहाँबाट यो सञ्चालित छ त्यहींबाट वा नेपाल प्रज्ञाप्रतिष्ठानबाट सङ्ल्याउनु नितान्त आवश्यक छ ।
आज लेखनमा जुन रूप कायम भएको छ, त्यो सर्वथा उचित हो भन्न भने सकिन्न तापनि आज यस भाषाको यो लेखन (यसै लेखमा जसरी यहाँ लेखिँदैछ त्यो किसिमको) ले स्थापित हुन सय वर्ष जतिको लामो अवधि पार गरिसकेको छ । लेखनमा परिवर्तन गर्ने हो भने वा हिज्जे प्रणालीलाई अझ व्यावहारिक बनाउँदै लाने होभने त्यसमा नजानिदो हिसाबबाट परिवर्तन गर्दै लानु राम्रो हुन्छ । एकैपटक थोपर्न खोज्दा नाना वितण्डाहरू देखिन्छन् । एकप्रकारले स्थापित भइसकेका मान्यताहरूलाई खज्मज्याउनु भन्दा तिनैलाई स्वीकार्दै जानु के लाजलाग्दो कुरा भयो र ?

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 23 भाद्र, 2073

लेखकका अन्य रचनाहरु