चर्चायोग्य कथासङ्ग्रह ‘कमरेड भाउजू’

- डा. सावित्री श्रेष्ठ

चर्चाको सगरमाथमा रहेको कथासङ्ग्रह कमरेड भाउजू वास्तवमा नै चर्चायोग्य पाइयो । आफ्ना कृतिहरुमार्फत पाठकका मनभित्र आफ्नै खाले नमेटिने छाप छाड्न सक्नु र पाठकको मन–मस्तिष्कमा सानो हलचल सहित आफ्ना पात्रहरुमार्फत आफ्ना पाठकको अन्तर्मनमा विशेष नमेटिने स्थान ओगट्न सक्नु लेखक कृष्ण बजगाईंको मौलिक विशेषता हो ।

जम्मा १३ वटा कथाहरु– कमरेड भाउजू, पलायन कमरेड, मिडिया मुस्कान, तेस्रो कुकुर, मौन युद्ध, मंगलग्रहमा देवकोटाको शालिक, म सिसिफस, गड्यौंला उर्फ सत्यराज, लोग्ने र अस्थायी शत्रु, गणतन्त्रपछिको पहिलो प्रेम, मौनता र शान्ती, चौंथो विबाह, मीट सिंगल डटकम ।

यी सबै नै कथाहरुको आफ्नै मौलिकता छ, हरेक कथाहरुको लागि लेखकले छुट्टै विश्लेषण शैली र सन्देश बोक्नुभएको छ । हरेक कथाहरुले मात्र कथा नभई जीवन बोकेका छन् र जीवनमा सूक्ष्म यथार्थताहरुको कठोरता कोमलतापूर्वक, बौद्धिक रपमा प्रस्तुत गरिएको छ ।

कृष्ण बजगाईंका कथा लेखनको एउटा विशेषता छ, हरेक कथाहरुको लागि एउटा सानो अनुसन्धान गर्नुभएको स्पष्ट देखिन्छ । कथाले जीवन त्यसै बोक्न सक्दैन, त्यसको लागि केही ज्ञान, केही जानकारी, केही अनुभव, केही चेतना र केही चिन्तनको आवश्यकता पर्छ । यी सबैलाई कलात्मक तवरले जुन पङ्तिमा जे हुनुपर्ने हो, त्यही राखेर जीवन्त र पढौं पढौं लाग्ने, जतिपटक दोहोर्याएर पढे पनि केही नौलो कुरा पाउन सकिने र पढिरहुँ जस्तो लाग्ने पार्न सक्नु कथाकारको विशेष खुबी कथा सङ्ग्रह कमरेड भाउजूमा चलाखीपूर्वक प्रयोग गरिएकोले यो सङ्ग्रह साहित्य पढ्नेहरुको लागि मनमाफिक खुराक बन्न पुगेको छ ।

कथाको कमजोर पक्ष भनौं कि शालीन पक्ष कतै–कतै जति खोलिनु पर्ने हो, त्यति नखुलिएको साङ्केतिक भाषाको प्रयोग गरिएको, अचम्मलाग्दो छ । लन्डनको परिवेशसँग केही मेल नखाए झैं नेपालीहरु विदेशिएपछि विदेशीलाई नै जित्ने गरी आधुनिक बन्छन् भन्ने कुरा बारम्बार दोहरिने प्रसंगसँग केही मेल नखाएको वा लेखकले वामपन्थी हुनुको सूक्ष्म चेतनालाई कायम राखेको दुबै हुन सक्छ ।

कमरेड भाउजू कथासङ्ग्रहको नाम सुन्दा केही अनौंठो, कस्तो खाले नाम जस्तो महसुस गरिएको थियो । कथा पढ्दा झनै अचम्म लाग्यो– कमरेड भाउजूमा । हामीले जानेको जस्तो कमरेडपना वा विशेषता ठ्याक्कै रहेनछ, जीवन सङ्कक्रमण मानव जीवनको माक्र्सवादी मूल्य–मान्यता अनुसारको लडाईंमा हाम्री कमरेड भाउजूको पटक्कै संलग्नता छैन । बरु उनी त्यसको बिरोधी देखिन्छन् । हो, यर्थाथ जीवनको उनको बुझाई र भोगाईलाई हेर्दा उनलाई आधुनिक कमरेड भन्नचाही पक्कै सकिन्छ ।
शिर्षक आफैमा नौलो अनि सफल प्रयोग हो । यो कथा मनोवैज्ञानिक नभए तापनि यसमा मनोवैज्ञानिकताको प्रयोग प्रशस्त भएको छ । बजगाईंका हरेक कथाहरुमा केही न केही सूक्ष्म मनोवैज्ञानिकता भेटिन्छन् । भावुकताबाट मुक्त रहेको उहाको भाषा शैलीमा हार्दिकता, बौद्धिकता र मौलिकता पाइन्छ ।

लेखक बजगाईंले कथाहरुमार्फत् आफ्नो परिस्थिति र परिवेश विश्लेषणको खुबी प्रयोग गर्नु भएको छ र यही खुबीकै कारण उहाँका कथाहरु पाठकको मनैमा बस्न सफल हुनुभएको छन् । खासमा यी कथासङ्ग्रहका कथाहरु कथा जस्तो नभई जीवन भोगाई जस्ता छन् । र कथा पढ्दा चलचित्र हेरे झैं पात्रहरुको जीवन मन–मस्तिष्कमा घुम्न थाल्दछन र पढेपछि नसकाई छोड्न मन नलाग्ने ढंगको शैली प्रयोग गरेर लेखकले पाठकहरुलाई आफ्ना पात्रसँग कतै डोहर्याएका छन्, कतै हिँडाएका छन् भने कतै दौडाएका छन्– कथासँगै । खुशी र दिक्दारी दुबै आफ्नै लाग्छन् । यो चमात्कारपूर्ण लेखको लागि लेखक धन्यवाद र बधाई दुबैका भागीदार हुन् ।

वामपन्थीपथ बचाउने क्रममा लेखकले अपनाएको सजगताले कतै कथालाई स्वाभिकताबाट थोरै टाढा राखेको भान हुन्छ । मूलतः वामपन्थीहरु पनि मानिस नै हुन् जीवनको कुनै न कुनै क्षण मानिस वामपन्थी, दक्षिणपन्थी वा अरु कुनै पन्थी नभई मानिस मात्र रहन पुग्छ –मानविय कमजोरी सहितको मानविय विशेषता सहितको । यस्ता कुरा उतार्नु लेखकिय धर्म पनि हो । अति चनाखो नभई सर्तकताको क्रममा वास्तविकताबाट टाढा नगई मानविय कमजोरीहरुलाई पनि यथार्थ अनुरुप बहादुरीपूर्वक प्रस्तुत गर्न सके साहित्य जीवन्त बन्न जान्छ र कालजयी पनि हुन्छ । अनि त्यो जीवन हुन जान्छ, साहित्य जीवन ।

समष्टिमा सबै नै कथाहरु जीवनपरक छन्, ज्ञानवर्धक र खोजमूलक छन् । हरेक कथाको लागि लेखकले छुट्टै मेहनत र खोज गर्नुभएको छ र कथाहरु युरोपियन जीवनशैली मिसिएको प्रवासी नेपालीहरुको यर्थाथ जीवन उतार्न सफल भएका छन् । प्रवासमा रहेर नेपाली साहित्यको उत्थानको लागि गरिएको प्रयासको लागि लेखकलाई धन्यवाद र निरन्तर प्रगतिको कामना गर्दै अर्को कथासङ्ग्रहको प्रतिक्षामा रहनेछु ।

पाटन क्याम्पस, ललितपुर

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 9 भाद्र, 2073

लेखकका अन्य रचनाहरु