जिरी जिन्दगी

- ज्ञानेन्द्र विवश

जिरीमा ओर्लिएर आँखा डुलाउँदा सुनेको जिरी र देखेको जिरीमा ठूलो अन्तर देखियो । जिरीलाई नेपालको स्वीट्जरल्याण्ड भनेको सुनिएको थियो । तर जिरीको प्रकृति र परिवेशलाई एकसरो नियाल्दा मैले त्यस्तो देख्न सकिनँ ।
स्वीट्जरल्याण्ड सरकारले जिरीको भौगोलिक स्वरुपलाई आफ्नै देश जस्तो देखेर यसको विकासमा चासो राखेको थियो । सोही अनुरुप स्वीस सहयोगमा वि।सं। २०१४ सालमा जिरीमा जिरी बहुउद्देशीय विकास परियोजनाको प्रारम्भ गरेको हो । मेरा मित्र टीका जिरेलजीले मलाई जिरीको विषयगत जानकारी उहिल्यै गराएका थिए ।
उनले बताएअनुसार त्यसपछि नै जिरीमा प्राविधिक शिक्षालय, कृषि, खानेपानी, सडक, शिक्षा, स्वास्थ्य पशु विकास तथा ग्रामीण विकासमा सहयोग गर्न सुरु गरेको हो ।
त्यस्तै जिरीमा स्तरीय अस्पताल, भौतिक सुविधा सम्पन्न विद्यालय, सबैका घरमा शौचालय आदि बनेको कुरा पनि उनै मित्रले जानकारी दिएका थिए । जिरीमा वृक्षारोपणको सुरुआत, चियाबगानको थालनी, चिजकारखाना पनि स्वीस सरकारकै सौजन्यले स्थापना भएका हुन् ।
स्वीस नागरिक विकासविद् टोनी हेगनले जिरीको भ्रमण गरेपछि नै वास्तवमा जिरीको जिन्दगीले कोल्टे फेर्ने शुभ अवसर पाएको हो । उनैले यस ठाउँको विकासका लागि आवश्यक पहल गरेका थिए । उनैले यस ठाउँलाई पनि सायद आफ्नै देश जस्तै देखे । अनि उनले यस ठाउँलाई नेपालको स्वीट्जरल्याण्ड भनी नामकरण गरेका थिए ।
स्वीट्जरल्याण्डको जुरिक भन्ने ठाउँ नेपालको जिरीसँग मिल्दोजुल्दो देखेर नै यसलाई नेपालको जुरिक बनाउने पहल स्वीस सरकारले गरेको थियो ।
सगरमाथाका प्रथम आरोही नेपालका तेञ्जिङनोर्गे शेर्पा र न्यूजिल्याण्ड निवासी सर एडमण्ड हिलारी वि।सं। २०१० सालमा जिरीकै बाटो भएर सर्वोच्च शिखर सगरमाथा गएका थिए । उनीहरुले पनि यस ठाउँलाई निकै सुन्दर स्थलका रुपमा देखेका थिए ।
हुन त त्यतिबेला आजको जस्तो बस्ती बसोबास केही थिएन । प्राकृतिक सुन्दरता अत्यन्त आकर्षक थियो ।
सगरमाथाको प्रवेशमार्गका रुपमा परिचित जिरीकै आँगन भएर कैयौ पदयात्री सगरमाथा आरोहणमा जाने गरेका छन् । हुन त, दोलखाका बहुसङ्ख्यक बासिन्दा पदयात्रीका रुपमा कार्यरत छन् । सगरमाथा चढ्नु त उनीहरुको पेशा नै हुँदै आएको छ ।
खासगरी यहाँका बेदिङ्ग गाउँका घरैपिच्छेका बासिन्दाले सगरमाथालाई चुमिसकेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा उनीहरुका लागि पानीको पधेरो जस्तै बनेको छ । नजिकको तीर्थ हेला हैन । त्यसले उनीहरुलाई बाँच्ने पेशा दिलाएको छ ।
त्यसो त जिरीलाई मैले चिनेको यहाँका आदिवासी जिरेल, सुरेलका जातीय पहिचानका पाटोले पनि हो । यही चिनारीले पनि मलाई जिरी चिन्न सघाएको हो । त्यस्तै यो भन्दा अरु नजिकको कुरा गर्दा मित्र टीका जिरेलसँगको चिनाजानले पनि जिरी मेरो निकटको ठाउँ बनेको थियो । तर जिरीलाई मैले मेरो आफ्नै आँखाले देखेको थिइनँ । जिरीलाई मैले मेरै पाइला र पदचापले स्पर्श गरेको थिइनँ ।
त्यसैले जिरी मैले सुनेको कुरा र पढेको कुरैमा मात्रै सीमित थियो । जिरी मैले देखेको तस्बिर र मैले कल्पना गरेको आकृतिमा मात्रै दृश्यमान थियो । जिरीको वास्तविक प्रकृति, स्थानीय जीवन, परिवेश तथा जिरीको स्थानीय जिन्दगीसँग पनि मेरो कुनै चिनाजानी भएको थिएन ।
कस्तो होला, कहाँ होला यो सगरमाथाको द्वार ? यो नेपालको स्वीट्जरल्याण्ड ? मनमा खुल्दुलीले बास गरेको त धेरै वर्ष भइसकेको थियो ।
यसरी क्रमशः जिरी मेरा लागि जिज्ञासाको विषय र विम्ब बनिरहेको थियो । जिरी मेरो यात्राको गन्तव्य पनि बनिरहेको थियो । यो जिरीसँग कसरी र कहिले नजिकिने होला ? यो जिरीमा कुन याममा कोसँग जाने होला ? यस्ता धेरै प्रश्न बोकेर मैले वर्षहरु थुप्रै बिताएँ ।
जिरीका मित्र टीका जिरेलजीसँग सम्पर्क नभएकोले उहाँसँग थप जानकारी लिन सकिएको थिएन । खास माध्यमको अभावमा मेरो योजनाले बर्सेनि हावा खाइरहेको थियो । त्यही हावासँग मेरो अभियान अस्तव्यस्त हुँदै बगिरहेको थिएन । बरु झन सुदृढ हुँदैथ्यो । बरु झन झन व्यवस्थित बनिरहेको थियो ।
नेपालको स्वीट्जरल्याण्ड मानिने जिरीको वास्तविक पहिचानसँग साक्षात्कार हुने चौचौले मलाई पनि वि।सं। २०६७ सालमा जिरी पु¥यायो । यसरी जिरी पुग्नु मेरो अप्रत्याशितको कार्यक्रम थिएन । पुरानो ध्येयको धोको साकार रुप थियो । जिरी पुगेर मैले प्रथमतः स्थानीय प्रकृति हेर्नु थियो ।
त्यसपछि जिरीको पहिचान छुर्पी, चीज आदि चाख्नु थियो । त्यस्तै जिरीमा स्वीट्जरल्याण्डबाट ल्याएर पालिएको क्याम्मल सीप प्रजातिको अनौठो भेँडा हेर्नु थियो ।
वि।सं। २०१९ सालमै जिरीमा विमानस्थल स्वीस सरकारले निर्माण गरेको थियो । तर यहाँ विमान दुर्घटना भएपछि र २०४२ सालमा जिरी सडक बनेपछि यहाँको विमानस्थल गौचरणमा परिणत भएको कुरा पनि मैले पहिले नै सुनेको हुँ । त्यही भएर जिरीमा मैले यहाँको पुरानो विमानस्थल, गुराँस, गुम्बा र गाउँघर पनि हेर्नु थियो ।
मेरो जिरी यात्रा अनायसै बनेको थियो । यो मेरो नितान्त एक्लो यात्रा थियो । काठमाडौंस्थित पुरानो बसपार्कदेखि जिरीसम्मको दूरी १८५ कि।मि। रहेछ । गाडीले ठ्याक्कै ६ घण्टा लगाउँदो रहेछ । जिरी जाने बसहरु विभिन्न किसिमका रहेछन् । जस्तो कि एक्सप्रेस, सुपर एक्सप्रेस, लोकल आदि । सोहीअनुसार भाडादर पनि सस्तो र महङ्गो हुँदोरहेछ ।
मैले छिटो र राम्रोका लागि सुपर एक्सप्रेसको टिकट काटेको थिएँ । बाटोमा यसले केही असुविधा गरेन । तर अरु बसहरुले मान्छे कोच्नुसम्म कोच्ने र सामान पनि त्यत्तिकै खाँद्ने गर्नुका साथै ढिलो उत्तिकै गर्ने कुरा थाहा भयो । म जिरी जाँदा ठाउँ–ठाउँमा गाडी रोकेर मान्छे पर्खिने, सामान राख्ने आदि गरिएको र यात्रीहरु हैरान बनाइएको दृश्य देखेको थिएँ । हुन त गाडी चालकहरु यात्रु धेरै बटुलेर धेरै पैसा हसुर्छन् ।
धुलिखेलबाट पाँचखाल झरेपछि स्थानीय पहाड र प्रकृतिले आँखालाई चुम्न आउँथे । त्यसपछि अरनिको राजमार्गको खाडीचौरबाट रोड उकालियो । यस मार्गलाई जिरी खाडीचौर राजमार्ग नामले चिनिँदो रहेछ । गाउँ र बनको उकालो बाटोलाई पछ्याउँदै बस तीब्र गतिमा गुडिरह्यो । दोलखाको खरीढुङ्गामा पुग्दा बेग्लै वातावरण आयो । यो स्थान निकै उचाइमा पर्दोरहेछ । किनभने यहाँबाट गाउँघर धेरै तल र टाढा देखिन्थे । त्यस्तै गौरीशङ्कर र अन्य हिमश्रृङ्खलाका लस्कर पनि रमाइलो देखिन्थ्यो । मन आकर्षित हुने दृश्यहरु यहाँ धेरै थिए ।
खाना खाएको ठाउँ मुडेमा रोकिँदा बारीमा फलेका आलु र साग लोभ लाग्दा थिए । यो ठाउँ सानोतिनो बजार रहेछ । काठमाडौंबाट आएका अधिकांश गाडीले यहीँ खाना खुवाउन रोक्दारहेछन् । पहाडी खानपानको स्वादिष्ट भोजनले तृप्त भइयो । खरीढुङ्गाबाट गाडी अलिकति ओह्रालो झरेपछि तेर्सैतेर्सो गुड्यो ।
चरिकोट बजारमा पुग्दा कतिपय यात्री दोलखा भीमसेनको दर्शनार्थ ओर्लिए । अब यहाँबाट जिरी पुग्न ५६ कि।मि। को यात्रा तय गर्नुपर्ने बाँकी नै रहेछ । चरिकोटको सातदोबाटोबाट उत्तरी सीमा लामाबगर जाने रोड रहेछ । त्यहाँबाट ओह्रालो बाटो जिरीको लागि प्रस्थान भइयो ।
चरिकोटबाट नयाँ यात्रुका रुपमा एक महिला चढिन् । खाइलाग्दो उमेरमा पनि तिनको उदासी चेहराप्रति मेरो गम्भीर ध्यान गयो । मेरो मात्र होइन अन्य यात्रीको पनि यसमा चासो जागेको रहेछ । केहीछिनको यात्रापछि उनीसँगैका एक जनाले सोधेका कुरामा उनको जवाफ मेरो कानमा गुञ्जिरह्यो । ती कुरा कम मार्मिक थिएन । तिनी त्यत्तिकै उदास र मलिन भएकी हैन रहेछ भन्ने थाहा भयो । बैंसालु उमेरमै उनले खाएको दुःख र पीडा सुन्दा कसको मन नछोला र रु
तामाकोशीको पुल तरेर उकालो लागेपछि यात्रीका कष्ट सुरु भए । वाक्वाकी र रिङ्गटा लागेर अरु यात्री जस्तै मलाई पनि सञ्चो भएन । त्यही बिसञ्चोबीच ती महिलाको मनका विरह वेदनाले हृदय स्पन्दित बनाइ दियो । मान्छेले सहनुको पनि सीमा हुन्छ । मान्छेले भोग्नुको पनि सीमा हुन्छ । तर यात्रीमध्ये केहीले सामूहिक स्वरमा भने पनि कि भाग्यमा लेखेर ल्याएको कुरा कसैले रोकेर रोक्न सकिने हैन । जे लेखेको छ त्यो त जसले पनि भोग्नै पर्छ । भाग्यमा लेखेर ल्याएको कुरालाई कसैले मेट्न सक्दैन ।
उनैको मुखबाट मैले सुनेको कुरा म यहाँ उल्लेख गर्दैछु । यो हो पतिले विना कारण छोडेकी महिलाको पीडाजन्य अनुभूति । तर उनले जीवनमा कहिल्यै पनि हरेश खाइनछिन् । १७ वर्षकै उमेरमा बिहे भएर १८ बर्षको हुँदा उनको छोरो जन्मिएको रहेछ । छोरो जन्मिनु के थियो उनको जीवनमा दुःखका दिन सुरु भए । कति महिलाले छोरीमात्रै जन्माइ भनेर सत्तोसरापसँगै घर निकाला भइरहेको अवस्थामा पनि उनले छोरो जन्माउँदासमेत सुख पाइनन् । छोरोको जन्मसँगै उनको कर्म खोटो हुन थाल्यो ।
उनका पतिमात्रै हैन, सासु, नन्द सबैले उनलाई पुत्रलाभको शुभकामना र स्वागत गर्नुपर्ने अवस्थामा उनले अप्रत्याशित र अविश्वसनीय आरोपको सामना गर्नुप¥यो । त्यो आरोप थियो उनले जन्माएको छोरो उनको आफ्नै पतिबाट नभई अर्कै परपुरुषसँगको लसपसले जन्मिएको हो । गाउँकी एउटी सोझी महिला जसलाई आफ्नो घरपरिवारबाहेक अन्यत्र जानु छैन, गएकी पनि थिइनन् ।
उनी सधैं पति र परिवारकै सेवा गरी चुलोचौकामा उज्यालो हुँदादेखि आधारातसम्म घोटिएकी छिन् । तिनीमाथि नै यति गम्भीर र बिना प्रमाणको आरोप लाग्दा तिनी साता दिनसम्म बेहोश भएकी रहिछिन् । होश खुल्दा उनी माइती गाउँमा पु¥याइएकी रहिछिन् । आफ्नो त्यो अवस्था देख्दा उनलाई तत्कालै आत्महत्या गरेर मर्न चाहेकी थिइन् । तर सम्भव भएन ।
यसरी घर न घाट भएर अलपत्र अवस्थामा पुग्दा उनले आफू बाँच्नु व्यर्थ ठानेर मर्न खोजेकी रहिछिन् । उनले सोचिन् कि मैले अब आफ्नो लागि बाँच्नु पुग्यो । तर छोराका लागि बाँच्नु पर्छ । उसलाई मैले जन्म दिएपछि उसको भविश्य पनि बनाइ दिनु पर्छ । त्यसका लागि आज उसलाई मेरो आवश्यकता छ । मेरो सहाराको जरुरत छ ।
सानो छोरोको निर्दोष रुवाइले हठात् उनको होश खुल्यो । तैपनि यही छोरोको कारणले मेरो आज यो अवस्था भयो । अब किन म यसको मुख हेरेर बाँचौं भन्ने पनि उनलाई लागेको रहेछ । तर आफैँले कति प्रसव पीडा व्यहोरेर जन्माएको बिचरा यो सानो बच्चाको केही गल्ती छैन भन्ने सोची दह्रो मन र मुटु पारेर यस स्वार्थी संसारमा केही गरेर देखाउने उनले बाचा बाँधेकी रहिछन् । त्यही छोरोको मुख हेरेर उप्रतिको कतव्र्य र उसको मायाले उनी मर्न नसकेकी रहिछन् । यसरी बाँचेकी यी महिलाको जीवन कथा कम पीडादायी थिएन ।
अर्को कुरा सुत्केरी ज्यानले पति र परिवारबाट विना कारण घरबाट निकाला भएर सडकमा बेवारिस हुन पुग्दा पनि उनीहरुप्रति विद्रोहको हुँकार गरिनन् । धेरैपछि शुभचिन्तकहरुको सल्लाहले उनले न्यायको ढोका ढक्ढक्याउन पुगिन् । तर दुर्भाग्य यसरी उनी न्यायलयमा न्याय खोज्न जानुसँगै उनको विपक्षी पति र परिवार तथा सारा घरबारीमा प्रकृतिको ताण्डव नृत्य भयो । त्यसले सारा बस्ती बगाएर लग्यो ।
अन्ततः उनले त न्याय पाइनन् । अब उनको घर, पति, जग्गाजमिनको चिनोबानोसमेत रहेन । सायद पाप धुरीबाट कराउँछ भनेको यही हो । उनलाई यिनै कुराले बारम्बार तर्साइरहँदो रहेछ । उनको जीवनबाट सधैंका लागि सारा खुसी समाप्त भएको रहेछ । उनको आँखामा उज्यालो चमक र ओंठमा मीठो मुस्कान पनि यसरी नै सदाका निम्ति हराइसकेको रहेछ ।
उनी अहिले आफ्नो सानो छोराको भविष्यप्रति ढुक्क रहिछिन् । आज उनी छोराकै भाकल पूरा गर्न दोलखा भीमसेनको दर्शन र पूजा गरेर फर्किएकी रहिछिन् । उनको घर बुटबल र माइत पनि त्यहीँ रहेछ । तर अब न माइती छन् । न पति । न त घर । बेघरबार उनको कहालिलाग्दो जीवन निरस र उदास छ ।
समयले कहाँ पु¥याउँछ मानिसलाई भन्न सकिन्न । उनी अहिले सोलु, सल्लेरीमा शिक्षिका रहिछिन् । उनको छोरा पनि उनले पढाउने स्कुलमै पढ्दा रहेछन् । अहिले छोरो पाँच वर्षको भइसकेको रहेछ ।
छोराका लागि उनले आज दिने कुरा केही पनि छैन । जग्गाजमीन, धनसम्पत्ति केही छैन । केवल राम्रो शिक्षादीक्षा नै हो । यसमै उनले जोड दिएकी छिन् । उनको छोरो पनि उत्तिकै चलाख र ज्ञानी रहेछ । तर पनि ती महिलाका मनबाट दुःखका दिन गएका छैनन् । पीडाका घाउले उनलाई दुखाइरहेकै रहेछ । अनि त उनको २३ वर्षे जवानी जीवनमा पनि चिन्ताले पिरोलिरहेकै छ । जीवनभर उनले बिर्सिन सक्ने त्यो सानो घटना हैन ।
उनी पति र परिवारबाट अपमानित भएर घर निकाला भएपछि उनले जीवनमा समाजबाट पनि अपमान र तिरस्कारबाहेक अरु केही पाइनन् । त्यस्तो नितान्त एक्लो र असहाय अवस्थामा पनि उनले हरेश नखाई आफूलाई समाजका चुनौतिसँग सामना गर्ने साहस गरिन् । कति दिन भोकोपेटसँग आँसु पिएर बसिन् ।
समाज पनि कतिसम्म निष्ठुरी भने कसैले उनीप्रति कुनै सद्भाव दर्शाएन । त्यही कारण आज समाजका सामु उनले आफूलाई निर्दोष साबित गराइसकेकी रहिछिन् ।
जिरी नपुग्दै बासा गाउँमा पालिएको अनौठो जन्तु अलपाका हेर्ने रहर पनि छँदैथ्यो । त्यसैले सो ठाउँ आएपछि एकैछिन गाडी रोक्न गुरुजीलाई आग्रह गरिएको थियो । अलपाका साँच्चै अनौठो प्राणी रहेछ । दक्षिण अमेरिकामा पाइने यो जनावरलाई नेपालमा जर्मन नागरिकले ल्याएका रहेछन् । यी जीवबाट ऊन निकाल्ने गरिन्छ । यसको ऊन निकै महङ्गो हुँदोरहेछ । अलपाकाको घाँटी केही लामो भएको र हेर्दा ऊट जस्तो देखिँदोरहेछ । कति मान्छे यहाँ यही जन्तु हेर्नैका लागि मात्र आउँदारहेछन् ।
जिरीमा ओर्लिएपछि सबै आ–आफ्नो गन्तव्यतिर लागे ।
स्थानीय होटलमा बस्ने व्यवस्था गरेपछि म एक्लै हुर्दुराउँदै जङ्गलतिर दौडिएँ । गुराँस फुलेर राताम्मे भएको दृश्य अघि गाडीबाटै झर्दा देखिएको थियो । त्यसले मेरो मन तानेको थियो । उज्यालैमा त्यसलाई हेर्ने र फोटो खिच्ने मेरो धोको थियो । त्यहाँ रातो र सेतो रङका लालिगुराँस फुलेर जङ्गल रङ्गीचङ्गी बनेको देखिन्थ्यो । यस दृश्यले यस्तो रङको कोलाजले जङ्गलको वातावरणलाई आकर्षक बनाइरहेको देखिन्थ्यो । त्यही आकर्षणमा लोभिएर यो एकान्त पाखोमा आनन्दले मन प्रकृतिमै हराइरहेको थियो ।
जिरी पारिको बनमा यसरी मेरो मन औधी रमाउनुसम्म रमाइरह्यो । गुराँसको बोटमा चढेर मस्तले गुराँसमा आफूलाई विसर्जित गरें । गुराँससँग मित्रताको, विश्वास र सौन्दर्यको संवाद गरेर मनको तृप्ति लिएर फर्किएँ । गुराँसले भरिएका बनमा मैले नेपालको राष्ट्रिय फूलसँग प्रकृति र जीवनको अर्थ र अभिप्राय खोजें । त्यस खोजीमा गुराँसबाट लिन सकिने उपयोगिताका धेरै कुरा मैले सम्झें । यो फूल नेपालको राष्ट्रिय फूलमात्रै होइन, यो फूलले उपचारमा औषधिको धेरै काम गर्ने कुरा पनि मैले सुनेको थिएँ ।
मैले जीवनमा सर्वप्रथम नेपालको राष्ट्रिय फूल लालिगुराँसको ठूलो जङ्गल र ठूला ठूला रुख यहीँ देख्न पाएको थिएँ । ती गुराँसमा साँच्चैको सुन्दरता विद्यमान थियो । त्यसमा अनेक पत्र, अनेक तह, अनेक आयाम र अनेक पुष्पदलका रेशा र रङहरु संयोजित थिए । तिनैमा प्रकृतिको सुन्दर बिहान मुस्काउँदै आगन्तुकलाई स्वागत गर्न तम्तयार थियो । तर त्यस जङ्गलको त्यो घारीमा को र कहाँबाट गुराँसको मुस्कान खोज्न आउँने ? यसको सौन्दर्यको रसास्वादन कसले, किन गर्न आउँथ्यो ?
गुराँसले त फुल्नुको आफ्नो धर्मलाई निर्वाह गरेकै थियो । फुल्दै ओइलाउँदै झर्नु नै उसको जिन्दगी हो । केही समयका लागि फुलेर बनै सौन्दर्यमय पार्ने गुराँसको आयु छोटो हुन्छे । तर छोटै समय सीमामा पनि गुराँसले आफ्नो दायित्व पूरा गरेको थियो । यति सीमित समयको जिन्दगीमा पनि गुराँसले राष्ट्रिय फूलको गरिमामय चिनारीलाई स्थापित गरिहेकै छ । सुन्दरता उसको पहिचानलाई कसैले खोट लगाउन सकिने कुरा होइन । तर त्यस सौन्दर्यको प्रशंसा त्यहाँ कसले गर्न आउँथ्यो र ?
मैले जिरीमा जिन्दगीलाई गुराँससँग तुलना गरेर हेरें । जिरीको जीवनलाई गुराँससँग समन्वय गरेर हेरें । गाडीमा भेटिएकी महिला र तिनका कुरा अनि तिनले भोगेको जीवनलाई मनन गरें । सायद जीवनले सोचे जस्तो हुने भए मान्छेले किन दुःख पाउनुपथ्र्यो । प्रकृतिलाई पनि बचाइराख्न सकिएको भए जिरीको स्वरुपले पनि आज यो उदासी चेहरा देखाउन पर्दैनथ्यो । मान्छे र जिरीको जिन्दगीमा केही पनि फरक मैले देखिनँ ।
यही खुसीमा यही हर्षमा गुराँसका रुख चढेर हाँगा हाँगा चहारें । एउटा ठूलो रुखमा चढेर तल फराकिलो चौर पनि देखियो । उहिल्यै बनाइएको विमानस्थल थियो त्यो । हिजोआज त सो स्थान बेवारिसे बनेको रहेछ । धूपीसल्ला, सल्ला र गुराँसका बोटवृक्षले हरियाली फैलिएको बाटोको काखबाट दौडिँदै म त्यतैतिर झरें । त्यहाँ पुग्दा उहिलेका अवशेषहरु पनि बिजोग भोग्न बाध्य थिए ।
पुरानो विमानघाटको उकालो निस्किएर नयाँ पसलमा बिसाउन पुगें । जिरीबजार भेट्दा एउटा पसलमा स्थानीय सीपको हस्तकला देखेर म त्यही रोकिएँ । काठबाट विभिन्न किसिमका ठेकी, हर्पे आदि बनाइएको थियो । जिरीको चिनो भनी मैले पनि एक जोडी सानो ठेकी लिएँ ।
पहाडको काखमा हरियालीपूर्ण सानो उपत्यकाझै भएकोले नै होला मित्रराष्ट्र स्वीस सरकारले यस ठाउँलाई नेपालको स्वीट्जरल्याण्ड भनेको । बास र गाँसका लागि होटलमा फर्किदा साँझ भइसकेको थियो ।
होटलमा पुगेर एकछिन आराम गर्दा अँध्यारोले छोपिसकेको थियो । बौद्धगुम्बा घुमेरमात्रै आराम गर्नुपर्ला भन्ने सोची म लागे गुम्बातिर । ओ हो यही रहेछ सानो बोटमा पनि फुलेका ठूला–ठूला गुराँसहरु । हलक्क बढेका गुराँस भएकाले पनि हुन सक्छ लालिगुराँसको फूल लोभलाग्दो थियो । गुम्बा घुमेर र गुराँसलाई हेरेर फर्किदा मेरो मनमा जिरी यात्राको सानोतिनो तस्बिर खिचिसकेको थियो ।
जिरीको जिन्दगीभन्दा पनि वा जिरीको प्रकृतिले भन्दा पनि मलाई गाडीमा आफ्ना पीडादायी कथा–व्यथा पोख्ने महिलाको भनाइले स्पर्श गरिरहेको थियो । राति अबेलासम्म मैले तिनकै पीडाजन्य जीवन–भोगाइ सम्झिरहेको थिएँ ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 9 भाद्र, 2073

लेखकका अन्य रचनाहरु