जनकार्वाही

- पुण्य खरेल

“उदानेलाई आज पनि मातेर रल्लिंँदै, सडकमा तथानाम बोल्दै गरेका बेलैमा भेट्टाएछन् नि क्रान्तिकारीले !” यो हल्ला बस्तीमा चैतको हावासरि हुनहुनाएर पस्यो । केटाकेटीदेखि बूढाबूढीसम्म सबैका आँखा तल्तलाए । ‘फलानालाई सय भाटा र ढिस्कानालाई डेढ सय भाटा’का हल्ला त प्लेगझैँ फैलिएकै थियो । सबैको विश्वास थियो–‘आज उदानेले पनि कतिसय भाटा भेट्छ । मार्नचाहिँ पक्कै पनि मार्दैनन्’ भन्नेमा ढुक्क थियो बस्ती ।
धर्ममा विश्वास गर्नेहरू भन्थे –‘कलीले ब्याप्त भ’र सर्बनाश हुन आँटेको छ मान्छेजति ! यस्ता बेला कल्की औतार लिएर आएजस्ता छन् यी ...’
कोही भन्थे –‘रक्स्याहालाई, बाह«मासेलाई यिनीहरूले मात्र तह लाउने परे ! पुलिस त पैसा उठाउँछ, अझै खाऊन् अझै खेलून्झैँ ठान्छ ।’
कोही भन्थे –‘घरमा साँढे भए अनि अर्काका छोरीचेलीमा आँखा लाउँदै हिँडे । ठीक पारे है क्रान्तिकारीहरूले !’
अथवा गाउँलेहरू सबै नै ल्याप्चे ठोक्थे क्रान्तिकारीहरूका यस्ता कामहरूको खबरमा । ‘ठीक पारे ! ... ठीक छ !!’ भन्थे गाउँलेहरू ।
कसले दुईटी स्वास्नी ल्याएको छ, कसले घरमा स्वास्नीलाई अलिक दमन गरेको छ, कसले लुकीचोरी अर्काका छोरी–चेली, स्वास्नीमा आँखा लगाएकोछ, कसले तासमा समय बर्बाद गरेको छ, को रक्सी–रण्डीमा लाग्छ, को गाउँका सोझासिधा किसानलाई महँगो ब्याजमा पैसा लगाएर शोषण गर्छ, को जाली–झेली कीर्ते काम गरेर गाउँवासीलाई रुवाउँछ, त्यस्तालाई क्रान्तिकारीले कार्वाही गर्दै जिल्लै–देशै थर्कमान पारेको बेलामा यहाँ यस सानो बस्तीमा पनि त्यसको प्रभाव आउनु कुनै अचम्म थिएन । उदानेकी स्वास्नी त बेला–बेला दुःख पोख्थी–‘आउनू नि हौ हाम्रा गाउँमा पनि तिनेरु ! यस ...लाई दसबीस भाटा लाउनू ! अलिक त यो ‘कुकुरको मुत’ खान छाड्थ्यो कि ! ...’
तर उदाने सँगसँगै जबाफ लाउँथ्यो– ‘हात लाऊन् त मेरा जिउमा ! तिनेर्को के खाइद्या छ ? धेर बकबक नगर् कालुङ्गेकी आमा ! ... तेरा डँढेल्नाले दुःख पाउला ! ...’
भन्दा–नभन्दै एक महिना जति अघि आएर कान समाउन लाएर, आइन्दा खान्न भन्ने पारेर गएथे उदानेलाई तर उसले फिटिक्कै टेरेन । एकदिन पनि छाडेन । उसरी नै खाइरह्यो । आज फेरि पक्राउ प¥यो । अब आज साह«ो पार्छन् । छाला उक्काउन बेर लाउँदैनन् ।
क्रान्तिकारीले गाउँलेलाई भेला गराए चौरमा । उदान सिंलाई हात पछाडि बाँधेर उभ्याए बीचमा । घेरा लाए छापामारहरूले वरिपरि, बाहिर बसाए गाउँलेलाई र सोधपुछ गर्न लागे –‘एक महिनाअघि चेतावनी दिएको बेला आइन्दा नखाने भनेर मानेको होइन ?’—छापामार युवाले प्रश्न गरे ।
‘हो ! ...’ पक्राउ परेको उदानेले नदप्कीकन उत्तरमा भन्यो ।
‘किन फेरि खाएको त ? ...’ छापामारले फेरि प्रश्न गरे ।
‘खाऊँ–खाऊँ लाग्यो ! ...खाएँ ! ... हामी खाने नै जात हो ! आफ्नै पैसाले खाएँ !’–उदानेले कुनै ख्याल नगरीकन जबाफमा बोल्यो ।
उदाने अन्दाजी पैँतीस–छत्तीस वर्षकोजस्तो देखिन्थ्यो । उसलाई चौरका माझमा हात पछाडि डोरीले बाँधेर उभ्याइएको थियो । उसका आँखा राताराता देखिन्थे । उभिएको ठाउँमा जिउ थाम्नका लागि सन्तुलन मिलाउन गरेको कोसिस हेर्दा ऊ मातेको कुरामा कुनै शङ्का थिएन ।
तीन–चार बलिया–बलिया अठार–बीस वर्षे युवाहरू उसलाई बयान लिइरहेका थिए । सय, सवा सयजति त गाउँलेहरू पनि भेला भएका थिए, तर उनीहरू कसैले ती युवालाई को हुन् ? कहाँबाट आएका हुन् ? चिनेका थिएनन् । सोधेका पनि थिएनन् । गाउँलेहरूले चिनेका एकैवटा युवा पनि त्यहाँ थिएनन् । ‘उनीहरू क्रान्तिकारी हुन्’ सबैको अनुमान यत्ति हो । अहिलेको व्याप्त हल्लाले यस्तो दृश्य देख्नेबित्तिकै मान्छेहरू ठोकेर भनिहाल्थे– ‘ती क्रान्तिकारी हुन् ।’ गाउँलेहरू बाहिरपट्टि घेरा हालेर उभिएका थिए । ‘अब के गर्ने हुन् नि ! ... सबैका अनुहारमा यही त्रास थियो । टाढा–टाढाबाट करिब एक वर्षअघिदेखि नजिकिंदै–नजिकिंदै आएको हल्लाको प्रभाव यस्तो थियो– त्यहाँ कसैले बोल्नु, प्रतिवाद गर्नु हुँदैन । ‘बोल्यो कि ज्यान गयो’ हुन्छ । ‘क्रान्तिकारी’हरू यस्तो शिकार हान्छन् मानौ उनीहरू बाघ हुन् । बाघले झम्टिएपछि शिकार मार्न उसले दोहो¥याउनु पर्दैन रे ! उनीहरू चुनीचुनीकन पक्रन्छन् । पक्रिएपछि पक्रिएपक्रिए । अब दुःख–पुकाराका, माफीका कुनै शब्द छैनन् उनीहरूका शब्दकोषमा । प्रभाव यही हो हल्लैहल्लामा आएको ।
उदाने बीचमा थियो । उसलाई बयान लिइँदै थियो । बयान लिने छापामारका साथमा गाउँलेहरूबाट अपरिचित तीन–चार युवाहरू थिए । त्यसबाहिर घेरा लाएर बीस–पच्चीसजति रुमालले मुख–नाक छोपेका कम्ब्याट लुगा लगाएका मिलिटरीजस्ता देखिने, आँखामात्र देखाएका केटाहरू–केटीहरू थिए । धेरैजसो घँगारुका लाठी र खुकुरी बोकेका, दुई जनाले राइफल बोकेका, दुई जनाले पिस्तोल भिरेर लाठी बोकेका थिए । त्यसयता दुईचार हात जमिन छोडेर गाउँलेहरू वरिपरि थिए । पक्राउ परेको मान्छेकी श्रीमती पनि थिइन् जमातमा । भन्दैथिन् –‘दुईचार भाटा लाएर छोडिदिए अलिक तह लाग्थे कि ! दिनहुँ रक्सी खाएर हामीलाई नर्कैमा हाले !’
‘अबदेखि खाने कि नखाने ? ...’ छापामारले सोधे ।
‘खाऊँ खाऊँ लाग्यो भने खाने । लागेन भने नखाने ...’ उसले भन्यो ।
‘ए तेरो रेला गर्ने ठाउँ होइन यो । अबउप्रान्त खाइस् भने राम्रो हुँदैन । रेला नगरिकन भन् । अबउप्रान्त खान्छस् कि खाँदैनस् ? ...’ छापामारले सोधे ।
‘खान्छु ! ... खान्छु ! ... आफ्नै पैसाले खान्छु ! कसैको लुट्तिन, कसैसँग भीक्षा माग्दिन ...’ रक्स्याहाले पनि ठा–ठाडो उत्तर ग¥यो । उसको उत्तर गराइ हेर्दा लाग्थ्यो मानौ क्रान्तिकारीहरूसँग ठा–ठाडो बोल्न ऊ मात्रै सक्छ । मानौ उसले न अध्यात्म जानेको छ न कुनै राजनीतिक सिद्धान्त या दर्शन । उसले त पिउन जानेको छ र पिउँछ । मानौ ऊ घरकी श्रीमतीलाई दाससमान सम्झन्छ, गाली गर्छ, अझ मुखमुखै लागी भने दुईचार घुस्सा मार्छ । उसको परिश्रम र उसको भोटबाट के–के तिगडम भए, को–को राजा–महाराजा भए उसले देखेको छ । ती महाराजहरूलाई अहिले उसको बारेमा सोच्ने फुर्सत नै छैन, तर ऊ जस्ताको तस्तै छ । आज पाखुरा बजाएर खाए खायो नत्र आज भोकै । ‘भोलि’ त उसको शब्दावलीमै छैन । त्यसैले उदाने पिउँथ्यो र आत्मतुष्टि लिन्थ्यो । उसलाई पिउनमा कसले रोक्ने ? ऊ ठान्थ्यो, आफ्नो जिन्दगीको बादशाह ऊ आफैँ हो त्यसैले उसको उत्तर ठाडो थियो । उसको ठाडो उत्तरले प्रश्नकर्तालाई अप्ठेरो पा¥यो ।
‘के गरौँ कमरेड ?’ प्रश्नकर्ताले त्यहीँ नजिकैको टोली नेताको मुखमा हेरे ।
टोली प्रमुख आफ्नो ठाउँबाट उठे । मुठी बाँधेर सबैलाई अभिवादन गरे । सबैतिर नजर दौडाए र भने–‘हामी यो कुहिएको समाज बदल्न चाहन्छौँ । हामी नयाँ र सुन्दर समाज सिर्जना गर्न चाहन्छौँ । हामी शोषकको सरकारको नाश गर्न हातमा ज्यान राखेर हिँडेका छौँ । हामीलाई हाम्रो शरीरको केही माया छैन । हामी हाँसीहाँसी मृत्यु सकार्छौंं । मुठीमा मृत्यु बोकेर, टाउकोमा कात्रो बाँधेर हिँडेको मानिस कहिल्यै हार्दैन । हामी हार्दैनौँ । हाम्रो जीत सुनिश्चित छ । ... यसरी रक्सी खाएर, जुवा–तास खेलेर, रन्डी–बाजी गरेर हिँड्नु भनेको हाम्रो समाजको खराबी हो । हामी यस्तालाई सुधार्न चाहन्छौँ । हामी सप्रन सुझाव दिन्छौँ । यस फटाहालाई पनि हामीले एक महिना अघि नै आइन्दा रक्सी नखान, सुध्रन चेताउनी दिएकै हो । अब आज यसलाई सुधारात्मक कार्वाही गरिन्छ । त्यति गर्दा पनि नसुध्रिए यस्ता समाजको काँडोलाई हामी सधैँको लागि सफाचट पार्छौं ।’
‘सधैँको लागि सफाचट पार्छौं ...’ यो भनाइ रक्स्याहाकी श्रीमतीलाई छुरी जस्तै लाग्यो तर पनि अनुहार मलिन पारेर सुनिरही । टोली प्रमुख भन्दैरहे —
‘... आज यस उदान सिंहलाई सुधारात्मक कार्वाहीको रूपमा, हाम्रो चेताउनीलाई उल्लङ्घन गरेको अपराधमा, रक्सी खाएर जतासुकै हल्ला गरिरहेको अपराधमा, रक्सी खाएर रात–बिरात आफ्नी श्रीमतीलाई हप्काइ–दप्काइ गर्ने गरेको तथा कुटपिट गर्ने गरेको अपराधमा हाम्रा छापामारले भाटा हान्ने सजाय गर्नेछन् । कति भाटा ? भन्ने कुरा हामीले उसलाई हाम्रा भाटाहरूको बिटोबाट छान्न दिंदा उसले छानेको भाटामा जतिको सङ्ख्या लेखिएको हुन्छ, त्यति नै भाटा हानिनेछ ।’ यस्तैमा रक्स्याहालाई भाटाको बिटो लगेर रोज्न दिइयो । हात पछाडि बाँधिएकाले ऊ यादै नगरिकन बसिरह्यो ।
उसका हात खोलिए । उसलाई फेरि भाटाको बिटोबाट एउटा भाटो छान्न लगाइयो तर उसले कसै गर्दा पनि आफैँलाई हिर्काउने भाटो छानेन । उसलाई निकै कोसिस गरियो भाटो छान्न लगाउनका लागि तर उसले भाटो छान्ने काम गरेन । यसपछि टोली नेताले उसको प्रतिनिधित्व गर्दै एउटा भाटो ताने र हेरे त्यसमा तीन सयकोे सङ्ख्या लेखिएको रहेछ । उसलाई सोही मुताबिक तीन सय भाटा हान्ने निर्णय गरियो ।
ती तीनचार युवाहरू र वरिपरिका बीस–पच्चीस युवाहरूले एकैसाथ ताली पड्काए । ती युवकहरू प्नि अलिक पर हटे । उदान सिंहकी श्रीमती तीन सय भाटाको सजायँ सुनेपछि एक्कासि अँध्यारी भई । एक जना छापामारले त्यस रक्स्याहाका छेउमा आएर भाटो हातमा समाते । अर्को एक जनाले कागजमा भाटाको गन्तीका धर्का कोर्न तयार भए । भाटो करिब डेढ इन्च चेप्टो र करिब अढाई फिट लामो थियो । छिप्पिएको बाँसको यो भाटो भाँचिने, फुट्नेजस्तो देखिदैनथ्यो ।
वरिपरिका रुमालले नाक–मुख छोपेका युवाहरू चार हातजति पर एकदम तयारीमा उभिए ।
त्यसपछि बन्धनबाट हात खोलिएको रक्स्याहा बीचमा उभियो । उसले चारैतिर हे¥यो । हेर्दा लाग्थ्यो कुनै उम्कने ठाउँ पाए ऊ भागेर ज्यान जोगाउँथ्यो तर मानिसहरूले घेरिएको, नजिकै त्यस्ता जवान छापामारहरू तयारीको तालमा उभिएका ठानेर ऊ एकोहोरिएर उभिरह्यो । उसले वरिपरिका गाउँलेका कसैका अनुहारमा आँखा जुधाएन । यही बेला भाटा हान्नेले भाटो एक हातमा बोकेर अर्को हातले भाटाको चेप्टोपन छाम्न थाल्यो । टोली नेताले पनि यही बेला उसलाई भाटा हिर्काउन सुरु गर्ने आदेश गरे ।
‘ड्याम्म ! ...’ रक्स्याहाले थाहै नपाई दायाँ चाकमा बज्रियो पहिलो भाटो । छुलुल्ल सुरुवाल भिजायो उसले । वरिपरिको गाउँलेको समूह अँध्यारो कालो भयो ।
‘ड्याम्म ! ...’ अर्को भाटो बज्रियो त्यही ठाउँमा । रक्स्याहा चिच्यायो–‘किन हात छाड्छस् ए राँडीका छोरा ? ... तेरो के खाएको छु ? खाए पनि आफ्नै सम्पत्ति खाएँ !’
‘ड्याम्म ! ... ड्याम्म ! ... ड्याम्म !!! ...’ भाटावालले उसका तिघ्रा, कुम, जाँघ इत्यादिमा धमाधम भाटा जोडतोडले बजाए । भाटाको गन्ती कोर्नेका खातामा दर्जनको सङ्ख्या पुगेकै थिएन । एक जना गाउँलेले ‘भयो अब भयो ।’ भनेको सुनियो । यसै बेला ‘चुप लाग ! यो कार्बाही फैसलाअनुसार तीन सय भाटामा मात्र पुग्छ’ भनेर एक जना छापामार चिच्यायो ।
लगभग बीस–पच्चीस भाटा हान्दासम्म उदानेले भाटा हान्नेलाई गाली बकिरह्यो– ‘खाएँ भने मेरै पैसा खाएँ ! तँस् राँडीका छोराको के खाएको छ ? किन हात छाड्छस् अर्कालाई ? बदला लिन भेटेँ भने मैले जान्या छु ...’ भनिरह्यो । भाटाको आवाज सुन्दा यस्तो लाग्थ्यो कि अहिलेसम्ममा त्यो रक्स्याहा मरिसक्नुपर्ने ।
‘कालुङ्गेकी आमा’, उदानेकी स्वास्नीका मनमा उसका लोग्नेको आकृति फनफनी घुम्यो । हुन त उसले कहिल्यै पनि हाँसेर माया–पिरतीका कुरा त ऊसँग गरेन, तर कुनै दिन ऊ बिरामी हुँदा घरका जो भएका कुखुरा भए पनि सुँगुर भए पनि बेचेर थपक्क उसलाई हेल्थपोस्ट दौडाउँथ्यो । कुनै गाउँलेले कालुङ्गेकी आमा यस्ती–उस्ती भनेर वचन लाए भने कम्मरको सिरूपाते खुकुरी नचाउँदै जाइलाग्थ्यो तर जिन्दगीबाट हार खाएझैँ गरी अचेल बढी रक्सी पिउन लागेथ्यो । अहिले अब भाटाको प्रहारबाट कालुङ्गेको बाबु गाली गर्न पनि नसक्ने भयो, भाटा हान्नेको प्रतीकारमा आंैलो उठाउनसम्म नसक्ने भयो । उसलाई असह्य भयो, त्यसैले ऊ “भयो ! भयो !” भन्दै रुन थाली । प्रत्येक भाटा आफ्नै आङमा परेकोजस्तो उसलाई हुन थाल्यो । “रक्सी खाए पनि मै खप्छु अब ! भयो ! भयो ! अब छोडिदेऊ !” ऊ चिच्याई र छुटाउन बीचमा जान कोसिस गरी । एक जना छापामारले उसलाई बाहिरतिरै धकेलिदियो । बीचतिर घेराभित्र पस्न दिएन । रुँदै कराउँदै गाउँलेका माझमा गई । पच्चीस–तीस भाटा हानिसकेपछि त कालुङ्गेको बाबु बोल्न छोड्यो र चालीस–पैँतालीस भाटा हानिसक्दा जिउ नथामेर भुईँमा लड्यो ।
भाटा हान्ने छापामार एकछिन टोलाए । टोलाएका बेलामा उनले चिनियाँ क्रान्तिताका एक जना गाउँले युवा लालसेनामा भर्ना हुनका लागि माओ–त्सेतुङलाई भेटेर अनुरोध गर्दाको कथा सम्झन् पुगे । त्यो गाउँले युवालाई माओ–त्सेतुङले उत्साहित गर्दैैै लालसेनाको भान्से काम गर्न प्रेरित गरेथे तर त्यो युवाले लालसेनामा भर्ना भएर दुश्मनलाई राइफलले उडाउने आकाङ्क्षा भएको कुरामा ढिपी कसेका थिए । यही बेला माओ–त्सेतुङले ती युवालाई भनेथे, ‘सबै जनाले राईफल बोक्ता खाना कसले बनाउने नि ! त्यस कारण हाम्रो क्रान्तिका लागि राइफल बोक्ने लालसेनाको जति महत्त्व छ, ती लालसेनाको लागि मिठो खाना बनाएर खुवाउनेको त्यत्तिकै महत्त्व छ । त्यस कारण प्रिय युवक ! तिमी खाना बनाऊ ! खाना बनाउन दाउरा चिर । दाउरा चिरेको बेलामा मुढामा बन्चरो हान्दा प्रत्येक पटक त्यस मुढालाई दुस्मनको टाउको ठान र बन्चरोले यस्तो तोडले हान्ने प्रयत्न गर— तिम्रो एकै प्रहारले त्यो मुढो दुई फ्याक बनोस् वा दुश्मनको टाउको दुई फ्याक् बनोस् ...’
‘ए किन टोलाएको कमरेड ! टोलीनेताले टोलाएको भाटा हान्ने छापामारलाई सजग गराए । छापामार झसङ्ग भए । भाटो फेरि बर्षाउन थाले त्यस रक्स्याहाका जिउभरि ।
छापामारले जोडले उदानेको कुममा भाटो बजारे । उदानेले चोट परेको कुम चिप्ले कीराले आफ्नो आङ्ग लुकाउन खोज्दाझैँ भुइँपट्टि पा¥यो । अर्को भाटो छापामारले उसका दायाँ फिलामा बजारे । विचरा रक्स्याहा भुइँमा यसरी पसारियो— अहिले उसलाई असह्य वेदना भएको कुरा हेर्नेहरूले सजिलै बुझ्थे । वरिपरिका मानिसहरूले गोमन साँपलाई लठ्ठीले बजारेको निर्मम दृश्य सम्झे । “म¥यो ! म¥यो !!” भनेर साथीहरूले भन्दा पनि नछोडिकन लठ्ठीले टाउको र पुच्छरमा बजारेको दृश्य थियो त्यो । छापामारले उदानेलाई भाटा हान्दा यस्तो लाग्थ्यो मानौँ उनी प्रतिक्रियावादी शासनको प्रधानमन्त्रीलाई हान्दैछन्, गृहमन्त्रीलाई हान्दैछन् । अहिले भाटा हानिरहेका बेलामा उनी यस्तो ठानिरहेका छन्— उनी प्रभुत्ववादी शासकलाई भाटा हान्दैछन् या साम्राज्यवादीलाई हान्दैछन् । जे होस्, उनले भाटा हानिरहेका बेलामा बढी क्रूरतापूर्वक भाटा हानिरहेको कुरा प्रस्ट बुझ्न सकिन्थ्यो ।
आइमाईहरूका आँखाभरि आँसु आए । ‘भो ! भो !!’ भने तर जब भाटो उनीहरूतिर सोझिने डर भयो चुपचाप आँखा बन्द गरे । ‘ढुङ्गाको दिल छ मेरो’ भन्नेले समेत रक्स्याहामाथि बर्षिरहेका भाटा निर्निमेष हेरिरहने हिम्मत गरेनन् ।
रक्स्याहा भुइँमा पूरै पसारियो घोप्टो परेर । सायद पिठ्यूँपट्टिको भागले अलिक भाटाको पीडा खप्न सक्छ भन्ने ठान्यो होला ! छापामारले उसका चाकमा ड्याम हाने । फिलामा अर्को ड्याम् हाने । डँढेल्नामा ड्याम्–ड्याम हाने र हानिरहे । बल्लतल्ल दुई सय भाटा भयो । एकसय भाटा अझै बाँकी रह्यो । भाटा हान्ने छापामार पनि थाके । अर्को छापामार अर्को अझ चौडा र उत्तिकै लामो भाटो लिएर आए । पसारिएको रक्स्याहाको छेउमा आएर खुम्च्याएका खुट्टालाई भाटाले नै सिधा पारिदिए ।
‘ड्याम्म !’ उसका पैतालामा एक भाटा बसाले । रक्स्याहा मानौँ मरेको हो कुनै प्रतिक्रिया जनाएन । अर्का पैतालामा फेरि ड्याम हाने । एवम् रितले मृतप्रायः त्यस रक्स्याहालाई भाटा दोहोरिइरहे । उसकी श्रीमतीलाई कहाँबाट कुन शक्ति प्राप्त भयो, सारा त्यो घेरा तोडेर ‘कालुङ्गेको बाबु’माथि घोप्टिन पुगी र चिच्याई चिच्याई रुन लागी –“भाटा मलाई हान ! ... मेरा थाप्लामा हान भाटा !! ... यो निर्दोषलाई नहान भाटा ... कुन बुद्धिले मैले छिमेकीसँग उसले रक्सी खाएर मलाई कुटेको कुरा सुनाएँछु नि ! भयो नकुट उसलाई । निठुरी ज्यानमारा हो मलाई मार बरु । मलाई मार ! मेरो स्युँदोको सिन्दूर नलुट ! ...” यस्तैमा दुई तीन छापामारले उसलाई कड्याप्प समाएर घेरा बाहिर ल्याए । तर पनि हार नखाई उसले विद्रोह गरिरही । भाटा हान्ने कुरामा उनीहरूले रत्तिभर सौलियत गरेनन् । अहिले भाटाको वजन अलिक घट्यो । तर तीन सय भाटा पु¥याउनै पर्ने भएकाले अरु थप बाँकी पच्चीस ड्याम् हिर्काएर छापामारहरू ज¥याक्जुरुक् उठे ।
टोली–नेताले शोकमग्नझैँ देखिने जनसमूहलाई भने ‘हामी जाँडरक्सी, तास–जुवा, अनैतिकता आदिका शत्रु हौँ । हामी शोषण र अन्यायका विरोधी हौँ । हामी जनताका सच्चा मित्र हौँ । हामीले दिएका निर्देशन र चेताउनीहरू राम्ररी पालन गरिनुपर्छ । पालन भएनन् भने यस्तै हो ।’ उनीहरू बाटो लागे ।
गाउँलेहरू उदान सिंलाई उठाउन र अस्पताल लाने तरखरमा लागे । यही बेलामा छापामार समूहको एक जना ‘कामरेड’ले फर्केर चर्को स्वरमा भने–“तपाईंहरू जुन बाटो आउनुभएको थियो, त्यो बाटो आ–आफ्नो घर फर्किहाल्नुहोस् । यहाँ कोही पनि नपर्खनुहोस् । यस रक्स्याहालाई यहीँ छोड्नुहोस् । कसैले यसलाई सहयोग गर्छ भने, अस्पताल लान्छ भने त्यसलाई पनि यही कार्वाही हुनेछ । तपाईँहरू फर्कनुहोस् ! फर्कनु होस् !”
बिस्तारो–बिस्तारो घोसे मुन्टो लाएर धेरैजसो बाटो लागे । तर उदान सिंहकी स्वास्नी लोसेलोसे हुँदै चौरमा पसारिइरहेको आफ्नो लोग्नेका छेउमा गई । उसको लोग्ने मरेसरह बेहोस पसारिएको थियो । हात समातेर उठाउन प्रयत्न गरी । हात आगोजस्तो तातो थियो । उसले शरीरका अरु भाग छामी । अगुल्टोजस्तो तातेको थियो छामेको भाग । मरेतुल्य बेहोस पसारिएको लोग्नेलाई उसले उठाउन सकिन । उसले छापामारहरूतिर हेरी । उनीहरू गैसकेका थिए । गाउँलेहरूतिर हेरी । उनीहरू पनि गैसकेका थिए । पुलिसहरूसँग भन्दा गाउँलेहरू ती छापामारहरूसँग डराए । पुलिसहरूले यस्तो गरेका भए गाउँलेहरू उदानेलाई धेरै सहयोग गर्नेथे । यति धेरै डराएर लुसुलुसु घरतिर पुच्छर लुकाएर जाने थिएनन् ।
घाम डुबे । दिन डुब्यो । आज उदान सिंहकी स्वास्नीको सपनाको घाम पनि डुब्न डुब्न खोजेको छ । उसले सम्झी –“बरु अस्ति पल्ला गाउँको हरेलाई चारपाटा मुढेर, आँखी भौँ खौरेर, परेला काटेर अनि कान समातेर उठबस गर्न लाएका थिए रे ! त्यसो गरेका भए यस्तो साह«ो त हुने थिएन कि !” कुन ठीक कुन बेठीक ऊ सजायँका प्रकारहरू मनमनमा तौलिन लागी । औँसीका रातकै झैँ अन्धकार पस्रिंदै–पस्रिंदै उदान सिंह भएतिर आउन लाग्यो ।
कालुङ्गेकी आमाको मनमा अनेकन्् कुराहरू मडारिए –‘के उदान सिंह चोर–डाका थियो ? के ऊ जिम्दार थियो ? के ऊ उनीहरूले भन्ने गरेको जस्तो प्रतिक्रियावादीहरूको सुराकी थियो ? किन आज उसले यत्रो सजायँ पायो ?’ यस्ता अनेकन् कुराहरू मनमा खेलाइरही । सुधारात्मक कार्वाहीको यो स्वरूप उसको कफल्लो मनले बुझ्नै सकेन । ऊ पनि त्यहीँ घोप्टो परेर घुँक्क घुँक्क गर्न थाली ।
उसले लाग्नेलाई उठाएर घर लग्न प्रयत्न गरी । ऊ हात समातेर उठाउन बल गर्थी । भाटाको प्रहारले आगोजस्तो तातेको हात मात्र उचालिन्थ्यो जिउ चट्पटाउँदैनथ्यो । टाउको दुई हातले उठाउँथी । जिउ नउठ्ता फेरि केहीनकाम हुन्थ्यो । बल्लतल्ल गरेर घोप्टिएको उसको लोग्नेलाई उसले उत्तानो फर्काई । उसका लोग्नेका दुबै आँखाबाट बलिन्द्र धारा बगेको उसले प्रस्टै बुझी । उसले उसका आँखा आफनो मजेत्राको फेरले पुछिदिई । उसको भक्कानो फेरि फुट्यो । आँसु पुछ्तै साउतीको स्वरमा छापामारहरूको निष्ठूरताउपर उसले धेरै गाली बकी ।
‘कालुङ्गेको बाबु ! ... हौ कालुङ्गेको बाबु !! उसले उदान सिंलाई होसमा ल्याउन बल गरी । अहँ ‘कालुङ्गेको बाबु’ले ऐया–आत्थु केही गरेन । आँखा उघारेन । उसले ‘कालुङ्गेकी आमा !’ भनेर बोलाए कस्तो हुन्थ्यो ! भनेर यता र उता झाङ्गलझुङ्गल पारी तर अहँ उसका आँखा खुलेनन् । उसलाई गाउँका एक–दुई उदानेका सँगातीहरूसँग खुब रिस उठ्यो –‘रक्सी खान पस्दा सँगै पस्ने असत्तिहरू त अहिले आउनुपर्ने !’ उसले सम्झी ।
यस्तैमा रक्सी खाने सँगाती नआए पनि पल्ला घरे साइँलो आइपुग्यो । उसले पत्तै पाइन । साइँलो बोल्यो –“भाउज्यू ! ...”
‘भाउज्यू’ पनि झसङ्ग भई र यताउति हेरी । आँसु लत्पतिएका आँखासँग ऊ बोली –“ए ! साइँला पो ! कताबाट आयौ फेरि ? हेर न ! तिम्रो दाजुलाई ...”
‘घरतिर लैजाऊँ दाइलाई भनेर आएको । तपाईँ हिड्नुहोस् । काका र म आएका छौँ हामी लिएर आउँछौँ । दाइलाई रक्सी खाए भनेर कुटेकै होइनन् । तपाईँले त रक्सी खायो दाइले भनेर कुटेको ठान्नु भयो होला तर यो कुट्नुको कारण हामीलाई थाहा छ । पोहोर भदौमा तल खेतमा पानी लाउन जाँदा त्यो रामबहादुरसँग दाइको झगडा परेन ? हो त्यही कारण हो । त्यो रामबहादुर अचेल क्रान्तिकारी भएको छ नि त !’ ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 9 भाद्र, 2073

लेखकका अन्य रचनाहरु