शिक्षक

- डिल्लीप्रसाद अधिकारी

शहरमा अचानक उनलाई भेटेपछि सोधें-
"यता किन अाउनु भएको थियोे?"
"दाँत उखेलिमाग्न अाएको थिएँ" उनले जवाफ दिए।
"अन्त राम्रा दन्त चिकित्सक उतै छन् त धेरैजना। यत्रो टाढा अाउनु पर्छ र दाँत उखेल्न?"
"उता पनि छन् दाँतका डाक्टरहरु तर त्यहाँ हामीलाई मुख खोल्ने हक छैन नि त। त्यसैले यता अाउनु परेको।" उनको जवाफले म स्तब्ध बनें।
"मुखै खोल्न नपाइने त्यो ठाउँ कसरी प्रजातान्त्रिक हो त अनि??"- सोधेँ ।
"अर्कै परिभाषाको प्रजातन्त्र छ उता हाम्रातिर"-उनी भन्दै गए-"जो शक्तिशाली धनी र समाजलाई विभाजन गरि ढाँट्न सक्छ, उसको परिभाषाभित्रको प्रजातन्त्र छ। मुख खोल्यो भने दुख पाइन्छ । साँचो भन्न र सुन्न पाइदैन । उसले भनेको मात्रै प्रजातान्त्रिक र उसले सोचेको र बोलेको मात्र सहि हुने ठाउँ हो नि हाम्रो ।"
"चकित भएँ म हाम्रो गाउँको त्यो साथीको कुरा सुनेर । अनि सोधेँ -
"त्यस्तो ठाउँमा के गर्दै बस्नुहुन्छ त? मुखै उघार्न नपाइने ठाउँमा ???"
"बस्न त कहाँ मन छ र हामी धेरैलाई । तर एउटा अाशा छ कि भविष्यमा त्यो साच्चिकै प्रजातन्त्र स्थापना गर्छौं भन्ने ।"- उनले भने।
" के व्यवसायमा हुनुहुन्छ त्यहाँ ???"
"म शिक्षक हूँ। सरकारी विद्यालयमा साच्चिकै गरीबका नानीहरू पढाउँछु।"
म छक्क परें । मुख‌ै खोल्नलाई राज्य बाहिर अाउनु पर्ने शिक्षकले कसरी नानीहरू पढाउँछ होला? सोधेँ -
"कसरी पढाउनु हुन्छ तपाईं जहाँ मुख खोल्ने हक नै छैन भनें?"
"कक्षा कोठाभित्र चै मुख खोल्न पाइन्छ, अराएको खटाएको बोल्न पाइन्छ । मौका त्यही छोपे हामी मानव मूल्यका कुरा भविष्य निर्माणका कुरा, सुव्यवस्था कायम गर्ने अभ्यासहरु गराउँछौं। यसैको भरोसा छ र त साच्चिकै प्रजातन्त्र स्थापना गर्न हामी संकल्पित बनेका छौं र बाँच्न सकेका छौं ।"
ती शिक्षक साथीको कुराले मलाई पनि अाशा लागेर अायो एकदिन म पनि अाफ्नै घर फर्कन्छु।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 9 भाद्र, 2073

लेखकका अन्य रचनाहरु