सम्झनामा मेरो गाउँ

- मुक्ति गाैतम

नेपाल छोडेको करिब १६ बर्ष पुगेछ ।गाउँ छोडेको हिसाब गर्दा त अझै अचम्म लाग्छ, ३० बर्ष नाघिसकेछ। आफ्नो जन्मथलो नपुगेको सायद १६ बर्ष नै पुगिसक्यो, जुराउन सकिएको छैन दिन अझै । कलेज, जागीर र जीउँने मेसो मिलाउँदा मिलाउँदै रुकुमको चौरजहारी देखी सुरु भएको यात्रा अहिले क्यानडाको टोरण्टोमा आएर बिसाएको छ, यी तीस बर्षहरु कटेको थाहै भएन । यी बर्षहरुमा घुमेका देश र ठाउँहरु, शिक्षण संस्थाहरु र आर्जीत ज्ञान, रोजगारी र आर्जीत शीप, जीबन संगिनी र सन्तान प्राप्ती, धन र मित्रता आर्जन लगायत थुप्रै उपलब्धीहरु त भए नै तर यो दौरान गाउँ, आफन्त, साथीभाईहरु र आफ्नोपनसंग टाढा हुनुको पीडा भने अत्यन्त दुखद रह्यो । अझ भनौ उमेर र बुझाईसंगै अहिले त झन धेरै महशुष हुन थालेको छ यो पीडा ।

मलाई ठ्याक्कै त सम्झना छैन, तर ०३८ या ०३९ सालतीरको कुरा होला केशब दाई र म दाङ्ग घुम्न गएका थियौ । केशब दाई मेरो काकाको छोरा । दुईदिन हिडेर जानुपर्थ्यो त्यतीबेला । एकदिन गाडी चढेर हामी दिदीको घरबाट घोराही घुम्न गयौ, जुन दाङ्गको सदरमुकाम हो । दिनभरी घोराही घुमियो, घोराहीसङ्ग दाँजेर हाम्रो गाउँको बिषयमा थुप्रै कल्पनाहरु पनि गरियो । मनमनै गाउँमा गाडी कुदेको, ठूलो बजारको, सुकीलो शहरको र अरु यस्तै यस्तै । थकाई र भोकले लखतरान परियो अन्तमा । बसपार्क पुग्नुअघि एउटा पाउरोटी पसल देखियो र हामीसङ्ग भएको सिमीत पैसाले पाउरोटी खाने र दिदीको घरसम्म हिडेर जाने टुङ्गोमा पुगियो । नकाटेको एक पाउण्ड पाउरोटी लाई दुईटुक्रा पारेर धुलाम्य बाटोमा बसको धुवाँसंग पाउरोटी खाँदै दिदीको घरतीर लागियो । हिड्ने बाटो करिब २ घन्टाको हुँदोहो तर पाउरोटी खानुको मजासंग त्यो दुखको त कुनै तुलना नै हुदैनथ्यो । अझ मलाई त त्यसपछिका यतिका बर्षहरुमा त्यती मीठो पाउरोटी खाने शौभाग्य अहिलेसम्म जुरेको छैन ।

पाउरोटी खाँदै थुप्रै कुराहरु गर्यौं हामीले । “यस्तै पाउरोटी पसल स्कुलछेउमै भैदिए कति राम्रो हुन्थ्यो” – मैले पाउरोटीको मजालिदै भनें । दाईले पनि सही थाप्नुभयो । यसैगरी हामी बाटोमा देखिने राम्रा राम्रा कुराहरु गाउँमा भैदिए कस्तो हुन्थ्यो भन्ने कल्पना गर्दै हिड्यौ त्यो लामो बाटो- अहिले पनि त्यो दिन मेरो सम्झनामा ताजै छ । मेरो यो प्रशंग मैले मोटरबाटो गाउँमा पुगेर गाउँ पहिले भन्दा धेरै फरक भैसकेपछि पनि देख्न नपाएको सन्दर्भमा उल्लेख गरेको हुँ । मेरो कल्पना, मेरो रहर र मेरो सपनाको गाउँ या मेरो बास्तबिक गाउँको बीचको अन्तर हेर्न अझै कति समय लाग्ने हो थाहा छैन – तर अरु थुप्रै प्राप्तीहरुसंगै यो टाढा हुनुको पीडा या सम्झदाको पीडादायक तर मीठो यो अनुभुतीले त्यती सजीलै भने छोड्ला जस्तो छैन ।

कहिलेकहीं सबै छोडेर उतै जान मन नलाग्ने पनि कहाँ हो र, उडेर अहिले नै पुग्न मन लाग्छ । मन अघाउन्जेल भेरी नदिको पानीमा डुबेर बसिराख्न या जताततै जीउभरी माँटो पोतेर मेरो गाउँनै गाउँ को बासना जीउबाटै आउँने बनाउँन मन नलाग्ने कहाँ हो र । बयरघारीमा यताउती लुक्दै अरुलाई धुँईधुँईती खोज्न लगाउँन या आफू नै यताउति एकशुरले दौडिन मन नलाग्ने पनि हैन । भेरी किनारमा बसेर अघाउँन्जेल चीसो हावा खाना वा मन्त्रमुग्ध भएर वरिपरीका शुन्दर पहाडहरु आँखामा जीबनभर कैद गर्ने धोको पनि न भएको हैन । तर खै सम्भब नै बनिरहेको छैन ।

यदाकदा सम्पर्क हुँदा आफन्तहरु र साथीभाईहरु नफर्किएको गुनाशो गर्छन् । “ माया मार्यौ नी हाम्रो र गाउँको” – प्रश्नहरु तेर्स्याउछन् । कहिलेकही आफैसंग आफूनै प्रश्न गर्छु, “किन?” – अनुत्तरित हुन्छु म ।


नुन बोक्ने च्याङ्ग्राहरु र हटारीका लामहरु छन् की छैनन्, सखारै खेत जोत्न जाने हलीहरु या जङ्गल जाने आइमाईहरुको आवाजले अहिलेपनि बिहानै गाउँ बिउँझिन्छ की बिउँझिदैन, गाई बाख्रा चराउँन जाने ग्वालाहरु र पाठा पाठीहरु त्यसरी नै जङ्गलमा दौडिन्छन् की दौडिदैनन्, अबोध, शुन्दर केटाकेटीहरु बाँसघारीका चराहरुजस्तै उस्तै चञ्चल छन् की छैनन्, गाउँमा पहिलेझै माया छ की छैन वा शहरले निलीसक्यो मेरो गाउँ भन्ने डरले पनि नसताउँने हैन बेला बेलामा । मैले कल्पना गरेको गाउँ उस्तै होला की नहोला – थुप्रै प्रश्नहरु खेलीरहन्छन् मनभित्र ।

आफूभित्रको लोभ, बाध्यता या फर्किएर पाउँने दुखको डर – के होला यसरी रोक्ने? अथबा केही तीता जीब्राहरु – “केहि गर्न नसकेर फर्किएछन्” भन्नेहरुको टोकाई, या आफ्नो “भाग खोस्न आए” भन्ने नमिठो गाली हो अथवा बेथिती या राजनैतीक बिभाजनले मार्दैगरेको नाताको डर । पराईजस्तो भइने होकी या आफ्नो अहिलेको मिठो कल्पनाको ऊल्टो हुने हो की गाउँ भन्ने डर – जेहोस् केही त पक्कै छ जान नसक्नुमा ।

कुनै चिज प्राप्तीको यति धेरै ईच्छाका बाबजूद त्यो सम्भब नहुनुको कारण भने जेसुकै होस्, मलाई यतीबेला त्यो पीडादायक तर मीठो टाढा हुनुको अनुभुतीमै रमाउँन मन लागिरहेको छ । अहिले गाउँ सम्झिने यो भन्दा अर्को बाटो पनि त केहि छैन मसंग ।

टोरण्टो

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 9 भाद्र, 2073

लेखकका अन्य रचनाहरु