त्यानमेन चोकमा घुमघामः माओको अगाडि घोक्रेठ्याक

- कृष्ण बजगाईं

बेइजिङको मुटुमा रहेको मिन्जु होटेलबाट बाहिर निस्कियौं । कोलाहालयुक्त सडक हाम्रो अगाडि थियो । गाडीभन्दा साइकलको भिड, साइकलभन्दा मान्छेको भिडले निसासिएको थियो सडक । सैनिक जवान जस्ता अनुसाशित साइकल चालकहरू थिए सडकमा । मानौं ती कुनै साइकल दौड प्रतियोगितामा भाग लिइरहेका छन् । न त गाडीका चर्का हर्न न त साइकलको टिङ टिङ घन्टी ! शान्त नदी जस्तै सलल बगिरहेका गाडी र साइकलको ताँतीलाई एक छिनसम्म हेरिरहेँ ।
सडकका पेटीमा हामीले पाइला राख्यौं । दुवै पट्टिका पेटीमा मानिसहरूको भिड पनि उस्तै थियो । हामी पनि त्यही हुलमा मिसिएर अगाडि बढ्यौं । ‘हामो गन्तव्य त्यानमेन चोक । अध्यक्ष माओको स्मृति भवन र वरपरका अरु ऐतिहासिक भवन हेर्ने कार्यक्रम ।’ यु फुङ दाइले अघिल्लो दिन नै कार्यक्रमको रूपरेखा सुनाउनु भएको थियो ।
यु फुङ दाइ चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली विभागका पूर्व निर्देशक हुनु हुन्थ्यो । चिन यात्रामा उहाँ मेरो दोभासेका रूपमा हुनु हुन्थ्यो । उहाँ विद्वान् पत्रकार, रेडियोमा मिठो भाषामा नेपाली कार्यक्रम चलाउने प्रस्तोता, समाचार वाचक र सम्पादक । बहुआयामिक व्यक्तित्वलाई दोभासेको रूपमा पाउँदा म गौरवान्वित भएँ । उहाँ मेरो दोभासे भन्ने कुरा बुझेपछि हामी बेइजिङबाट छन्दु जाने जहाजमा बस्यौं अनि मैले उमेरमा मभन्दा निकै जेठा हुनुको फाइदा समेत उठाएँ । त्यसपछि यात्राभर हाम्रो सम्बन्ध दाजुभाइकै रूपमा रह्यो ।
‘त्यानमेन चोक हामी बसेको होटेलबाट कति पनि टाढा छैन । पैदलै हिँडेर जाने हो भने करिब पन्ध–बिस मिनेट जति लाग्छ । के गरौं ?’ उहाँले प्रश्न गर्दा मेरो मनकै कुरो सोधे जस्तो लाग्यो । गाडीमा गए मिलिक्कै पुगिन्थ्यो । हिँड्दै गए बाटामा चिनका वास्तविक तस्बिरहरू देख्न पाइन्छ र रमाइलो पनि हुन्छ । त्यसैले पैदलै जाने कुरामा मैले सहमति जनाएको थिएँ ।
पारिलो घाम लागेको थियो । सडकका दुवै किनाराका हरियालीहरूखुसीयाली मनाइरहेका थिए । फक्रेर हाँसिरहेका फूलहरूले बाटामा सुन्दरता थपेका थिए । सडक पेटीमा हिँडिरहेकी चिनियाँ सुन्दरीहरूलाई त्यही फूल टिपेर दिऊँ दिऊँ लाग्ने मादक वातावरण थियो । अत्यन्त सफा थिए सडक । यस्तो लाग्दथ्यो कि ती फूल र सुन्दरीहरूलाई मैल्याउँछ भनेरै सफा राखिएको होला सडक । त्यत्रा मानव सागरको चलायमान भिड ! कसरी सुरक्षित रहेका होलान् ती कुमारी फूलहरू सडकमा ?
पूmलले सिँगारिएको सडक पेटीबाट हिडिरहँदा यु फुङ दाइलाई जिस्क्याउँदै भनेँ– ‘पूmलहरूबाट वासना त आएको छैन नि ! यी फूलहरू प्लास्टिकका हुन् कि साँच्चैका ?’
‘प्रकृतिको निरन्तरता बेइजिङको सडकमा सधैँ देख्न पाइन्छ ।’ उहाँले कूटनैतिक जवाफ दिनु भयो ।
‘यत्राविधि यी फूलहरू मेरै स्वागतका लागि त होलान् नि ?’ पन्ध–बिस मिनेटको यात्रालाई रमाइलो बनाउने मुडमा थिएँ । दाइलाई फेरि जिस्क्याएँ । उहाँले लामै हाँसो छाडनु भयो र भन्नु भयो– ‘यो सबै अक्टोबरमा पर्ने चिनको राष्ट्रिय दिवशको तयारी हो ।’
म सन् १९९४ सेप्टम्बरको अन्तिम सातामा बेइिजिङमा थिएँ । चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको दुई साताको निमन्त्रणा भ्रमणमध्येको तिब्बतको एक साताको भ्रमण भर्खरै सकेर बेइजिङको सडकमा पाइला चाल्दै थिएँ ।अन्ततः मेरा हरेक जिज्ञासालाई शान्त पार्दै यु फुङ दाइले विशाल ठुलो चोकमा ल्याइपुर्याउनु भयो । चारैतिर चिनयाँ र विदेशी पर्यटकको भिड थियो ।
‘अब हामी त्यानमेन चोक आइपुग्यौं’ –यु फुङ दाइले भन्नु भयो ।
म संसारको सबैभन्दाठुलो तथा फराकिलो चोकमा पाइला टेक्दै थिएँ । त्यस चोकमा एकै पटकमा एक करोड मान्छे अटाउन सक्छन् रे । अहो ! कत्रो फराकिलो चोक !
आजभन्दा तिन सय पचास वर्ष अगाडि बनाइएको रहेछ त्यो चोक । उतिखेरै यति धेरै मानिसहरू अटाउने हिसाबले यत्रो ठुलो चोक बनाएछन् ? भविष्यमा हुने जनसङ्ख्या वृद्धिका बारेमा चिनियाँहरू पहिलेदेखि नै सचेत रहेको कुरा अनुमान गरेँ । उसो त त्यहाँका हरेक चोक, सडक, भवन, ट्रेन स्टेसन लगायत सबै ‘एक्स्ट्रा एक्स्ट्रा लार्ज’ साइजका देखिन्थे । यस्ता निर्माण कार्यलाई सरकारको दूरदर्शी योजनाको रूपमा बुझेँ ।
त्यानमेन चोकलाई चिनियाँहरूतीर्थस्थल नै मान्दा रहेछन् । गरिबी, शोषण र अत्याचारबाट चिनियाँ जनतालाई मुक्ति दिलाएर आधुनिक चिनको जग बसाल्ने प्रण त्यही चोकबाट भएको हो । त्यानमेन चोकमा उभिएर अध्यक्ष माओले सन् १९४९ अक्टोबरमा जनगणतन्त्र चिनको घोषणा गर्नुभएको थियो । त्यस चोकमा पाइला राख्न चिनियाँहरू लालायित हुँदा रहेछन् । ऐतिहासिक भवन र राज्यसत्ता सञ्चालनको मुख्यालय पनि वरिपरि भएकाले राजनैतिक रूपमा त्यस चोकको विशेष महत्त्व रहेको ठानेँ मैले ।
‘त्यानमेन’ शब्दको नेपाली अनुवाद हुँदो रहेछ स्वर्गीय शान्तिको प्रवेश द्वार । चोकको पूर्वपट्टि अवस्थित एउटा प्रवेश द्वारको नामले नै यस चोकको नामाकरण भएको रहेछ । सो प्रवेश द्वारबाट चिनका पुराना सम्राट््को दरबार ‘फरविडन सिटी’ पुगिँदो रहेछ ।
प्रवेश द्वारमाथि माओको बडेमानको रङ्गीन तस्बिर राखिएको देखेँ । मलाई लाग्दछ माओको सबैभन्दा बढी छापिएको तथा वितरित तस्बिर त्यही होला । माओको ब्याच, रेड बुक र माओका पुस्तक आदिमा सोही फोटो नेपालमै प्रशस्त देखेको थिएँ । त्यसलाई पृष्ठभूमिमा पारेर फोटो खिचाउने साम्यवाद विरोधी पश्चिमाहरूको झुन्ड देख्दा छक्क परेँ । मलाई लाग्यो कम्युनिस्ट सिद्धान्त मन नपरे पनि माओको लोकप्रियता पश्चिमा मुलुकमा अझै पनि कायमै छ । मैले पनि त्यहाँ केही फोटा खिचेँ ।
त्यहाँबाट प्रवेश द्वारको दक्षिणतिर लाग्यौं । ढकमक्क फुलेका फूलले चोकको सौन्दर्यमा वृद्धि गरेको थियो । कहिल्यै नदेखिएका विभिन्न जातका फूलहरूले आकर्षित गर्यो मलाई । फूलको नजिकै पुगेँ । फूलमा सुन्दरता थियो तर वासना थिएन । फूलका सुवास गाडीको धुँवामा मिसिएर हराइरहेको थियो ।
अग्ला अग्ला पोलमा टाँगेका चिनको पाँचतारा अङ्कित राता झन्डाहरू फरफराइरहेका थिए । झन्डाकै छेउमा लस्करै राखिएका पानीका फोहराहरूका जलनृत्यमा एक छिन आँखा रमाए । अक्कासिँदै जाने पानीका फोहराले ती राता झन्डालाई स्पर्श गर्न खोज्ने असफल प्रयास केही बेर हेरेँ । त्यहाँको सुन्दरताले निक्कै बेर अलमल्यायो मलाई ।
यु फुङ दाइले भन्नु भए अनुसार हरेक बिहान सूर्य उदाउनुभन्दा अगि त्यहाँ विशेष कार्यक्रम हुन्छ । त्यो कार्यक्रम पर्यटकहरूको प्रमुख आकर्षण हुँदो रहेछ । सैनिक टुकडीको सलामी सहित हरेक बिहान सूर्योदयभन्दा अगाडि राष्ट्रिय झन्डा माथि उठाइँदो रहेछ । हरेक ठाउँमा चिनियाँहरूको देशभक्ति र राष्ट्रप्रेम जगाउने कार्यक्रम देख्दा चिन राष्ट्रवादीहरूको देश रहेछ भन्ने लाग्यो । त्यही चोकमा उभिएरै सम्झिएँ पनि–‘हामो देशका विदेशी भक्त केही दलाल नेताहरू र बिकाउ कर्मचारी तन्त्र । अनि कहाँबाट बन्छ त देश?’ पराया मुलुकबाट आफनो देशबारे नराम्रो देख्नु र सोच्नुपर्दा अमिलो मन भयो ।
त्यहाँबाट निस्केर हामी चोकको दक्षिणपट्टि पुग्यौं । ‘ग्रेट हल अफ द पिपुल्स’ हाम्रो नजिक थियो । त्यहाँ दस हजार मानिस अटाउने क्षमता भएको एउटा विशाल हल रहेछ । अर्को हलमा त पाँच हजारवटा सिट नै रहेछन् । चिनयाँ जन कङ्ग्रेसको भेला त्यहीँ हुँदोरहेछ । चिनको राजनैतिक तथा कूटनैतिक गतिविधि सञ्चालन त्यहीँबाट गरिँदो रहेछ । विश्व राजनीतिको ध्यान तान्ने उक्त भवन हेरिसकेपछि हामी फेरि त्यानमेन चोकमा आयौं ।
त्यानमेन चोकमा जति वेला पनि चिनियाँ तथा विदेशी पर्यटकको भिड हुँदो रहेछ । थकाइ मार्न त्यस चोकमा एक छिन बसेर हामीले चिनको संस्कृतिका बारेमा कुराकानी गर्यौं । गफ सँगसँगै मेरा नयन चलायमान थिए । झलक्क हेर्दा हामीले उस्तै देख्ने चिनियाँहरूको विविध भेषभूषा, अनुहार र जीवन शैलीको भिन्नता त्यहाँ देखेँ । चिनका विभिन्न प्रान्तका विविध जातिका मानिसहरू र तिनका पहिरनको विविधता देख्दा थाहा लाग्यो नेपाल जस्तै विशाल चिन पनि विभिन्न जातजातिको सुन्दर फूलबारी रहेछ ।
जुँगा पालेको एक युवा मलाई देखेर मुस्कुरायो । नेपाली नै होला भनेर मैले पनि मुस्कानबाटै जबाफ फर्काएँ । उसले चिनियाँ भाषामा कुरा गरेपछि म अक्क न बक्क भएँ । अङ्ग्रेजी भाषामा के भन्नु भएको हो भनेर सोधेँ । फेरि चिनियाँ भाषामै केही भन्यो । त्यसपछि हाँस्दै यु फुङ दाइले दोभासे भएर संवाद गराइदिनु भयो ।
त्यो मान्छे त चिनियाँ पो रहेछ ! उसले मेरो जुँगा देखेर उसैको प्रान्तको चिनियाँ ठानेको रहेछ । म पनि झुक्किएर नेपालको पहाडी क्षेत्रमा बसोबास गर्ने आर्य मूलको मानिस सम्झेको थिएँ । चिनको भ्रमणमा पहिलो पटक हो जुँगा पालेको चिनियाँ भेटेको । उसो त चिनियाँहरूको दाह«ी जुँगा हुँदैन त भन्न मिल्दैन तर हुनेमा पनि साह्रै कमले मात्र दाह्री जुँगा पाल्दछन् । समय लिएर सुरु गर्ने हो भने तिनका दाह्रीजुँगा गन्न पनि सकिन्छ । तर, त्यो मानिसको चेहराको बनौट तथा जुँगा दाह्री हाम्रै जस्तो थियो ।
मैले यु फुङ दाइसँग ठट्टा गर्दै भनेँ –‘पक्कै पनि त्यो चिनियाँ नेपाली कलाकार अरनिको अर्थात् बलवाहुको सन्तान हुनु पर्दछ ।’ त्यसपछि उहाँ खुब हास्नु भयो ।
चोकमा आएदेखिनै चारैतिर स्पिकरबाट गीत बजेको सुनिरहेको थिएँ । पहिलेदेखि नै मलाई खुलदुली भइरहेको थियो । यु फुङ दाइलाई सोधँे ‘मधुर आवाजमा यो कुन खालको गीत बजिरहेको छ दाइ ?’
‘यो देशभक्ति गीत हो’ –उहाँले जवाफ दिनु भयो ।
चिनियाँहरूको देशभक्ति जतातै पोखिएको र गुन्जिएको थाहा पाएर खुसी लाग्यो । तर मेरो मन एकै छिन नेपाल पुगेर दुःखी भयो । उता नेपालमा सरकारी टेलिभिजन र रेडियोले हिन्दी र अङ्ग्रेजी गीत बजाएर सरकारको पैसा नास गरिरहेको सबैलाई थाहा छ । सरकार हाँक्नेले देश कता लैजादै छन्? सरकारको चाला सम्झेर एक छिन मुरमुरिएँ पनि ।
हामी बिस्तारै चोकको मध्यभागमा आइसकेका थियौं । त्यानमेन चोकमा सन् १९८९ भएको राजनैतिक प्रदर्शन तथा त्यहाँ भएको घटनाका बारेमा अलिकति कुरा कोट्याएँ ।
त्यो घटना भएलगत्तै नेपालबाट तत्कालीन नेपाल पत्रकार महासङ्घका सभापति मञ्जुरत्न शाक्य आउनु भएको रहेछ । यु फुङ दाइ नै उहाँको पनि दोभासे हुनुहुँदो रहेछ । त्यस घटनाका बारेमा उहाँले निकै सोधीखोजी गर्नुभएको थियो रे । घटना भर्खरै घटेको, त्यो पनि विदेशी पत्रकारलाई एउटा सरकारी पत्रकारले भन्नुपर्दा डराउनु भयो रे ।
‘अफ दि रेकर्ड’ भन्दै उहाँले मसँग चाहिँ खुलेर कुरा गर्नुभयो । उहाँलाई मेरो दोभासेभन्दा पनि नजिकको दाइकारूपमा मानिसकेको थिएँ । हामी दुवै जना ल्हासा, सिगात्से, छन्दु र बेइजिङको भ्रमणमा सँगसँगै घुमेका र सँगै बसेका थियौं । त्योभन्दा पनि पहिले नेपालमै उहाँसँग चिनजान थियो । दोभासे भएर बताउन नमिल्ने कतिपय कुरा दाइको नाताले भन्नु भयो । मैले त्यस घटनाका बारेमा प्रकाशमा नआएका धेरै कुरा थाहा पाएँ ।
त्यानमेन चोकमा निकै अगिदेखि परैबाट एउटा अग्लो स्तम्भ देखिरहको थिएँ । बल्ल त्यसको हेर्ने पालो आयो । करिब चालिस मिटर अग्लो जननायकहरूको स्मारक सगौरव त्यानमेन चोकमा उभिएको थियो । त्यस स्तम्भमा राखिएको शिलामा अध्यक्ष माओले आफैले कुँदेका हरफहरू रहेछन् । ‘जननायकहरू अमर रहन्छन् ।’ माओले कुँदेका वाक्य यु फुङ दाइले अनुवाद गरेर सुनाउनु भयो । त्यो अनुवाद सुनेपछि मनमा एकखालको तरङ्ग पैदा भयो ।
माओले आफैं लेख्नु भएको सो वाक्य धेरै शक्तिशाली र मन छुने खालको थियो । चिनियाँ क्रान्तिका योद्धाहरूरुलाई क्रान्ति नायकबाट कति धेरै उच्च सम्मान मिलेको रहेछ त भन्ने कुरा प्रस्ट रूपमा देखेँ । क्रान्ति नायक हुनु त यस्ता !
त्यसको छेउमा एउटा अग्लो भवन थियो । ‘अध्यक्ष माओ स्मृति भवन’ यही हो भनेर यु फुङ दाइले जानकारी दिनु भयो ।
त्यानमेन चोकमा पर्यटकका लागि सबैभन्दा आकर्षणको केन्द्र भनेको नै माओ स्मृति भवन लाग्यो मलाई । त्यस भवनभित्र चिनियाँकम्युनिस्ट पार्टीको अध्यक्ष माओको पार्थिव शरीर सुरक्षित तवरले राखिएको थियो । त्यो हेर्नलाई सयौं मिटर लामो लाइन लाग्नु पर्ने रहेछ । हामी पनि लाइनमा बस्यौं । क्यामरा लैजान नपाइने, ठुलो स्वरले बोल्न नपाइने आदि कडा नियम बाहिरै सुनाइएको थियो । सम्पूर्ण शरीरको जाँच गरेपछि मात्र भित्र पस्न पाइयो । जिउँदो मान्छेको भन्दा पनि बढी कडा सुरक्षा व्यवस्था देखेर अचम्म लाग्यो ।
उनको पार्थिव शरीरलाई सेनाले चारैतिरबाट चौबिसै घण्टा पहरा दिएको हुँदो रहेछ । एउटा जिउँदो राष्ट्र प्रमुखलाई भन्दा पनि बढी सुरक्षा ! कस्तो कडा पहरा भने सिधा आँखाले टक्क अडिएर पार्थिव शरीर हेर्नैं नदिने; हिँड्दै हेर्नुपर्ने । मृत शरीरलाई हेर्न पनि के यस्तो कडा नियम ?चिनियाँ जनताका प्रिय नायकलाई उनको जीवन कालमा भेट्न चाहँदा पनि यति कडा सुरक्षा थिएन । त्यस्तो कडा नियम मलाई चित्त बुझेन । नबुझेर के गर्नू ? चुपचाप यु फुङ दाइसँगै लाइनमा बसिरहेँ ।
लाइनमा बसेका मानिसहरू कछुवाको गतिमा अगाडि सरिरहेका थिए । करिब एक घण्टा जतिमा बल्ल पालो आयो । बिस्तारै हामी माओको पार्थिवशरीर राखेको कोठा भित्र पुग्यौं । नजिकैबाट माओको पार्थिवशरीर देखियो । उनको पार्थिव शरीरलाई एउटा सिसाको बाकसभित्र राखिएको थियो । सिसा जस्तो देखिए पनि त्यो वास्तवमा त्यो सिसा नभएर क्रिस्टल रहेछ । उनको पार्थिव शरीरमाथि कम्युनिस्ट पार्टीको हँसिया हथौडा अङ्कित झन्डा ओढाइएको थियो । झट्ट हेर्दा चिर निद्रामा सुतेका कुनैवेला उठी पो हाल्छन् कि जस्तो लाग्यो । उनको मुखाकृतिमा खुसीको लहर दौडिरहेको देखँे । सायद मरणको समयमा उनलाई कुनै असन्तोष वा पीडा भएन होला । र त, त्यस्तो हँसिलो अनुहार छ । मलाई यस्तै अनुभूति भयो ।
हामीभन्दा अगाडिका एक जना चिनियाँ युवा माओको पार्थिवशरीरअगाडि पुगेपछि बडो भावविह्वल भए । सुँक्कसुँक्क गर्दै उनको आँखाबाट आँसुका धारा चुहिन थाल्यो र माओलाई एकटक लगाएर हेर्न थाले । मलाई लाग्दछ उनले त्यहाँको नियम बिर्से । पहरा दिइरहेको सैनिकले ठुलो स्वरमा चिनियाँ भाषामा केही भन्यो र तुरुन्तै उनलाई घोक्र्याएर निकाल्यो ।
माओको ठिक सामुन्ने पुगेर उनलाई धित मरुन्जेल हेर्ने मेरो इच्छा थियो तर त्यहाँको कडा नियम प्रत्यक्ष रूपमा देखेर डराएँ । मेरा हात खुट्टा लुला भए । आँखीभौँ तल दोब्रिए । घोक्र्याइमा परिने पो हो कि भन्ने डर भयो । हतार हतारमा अध्यक्ष माओलाई श्रद्धासुमन अर्पण गरेर फुत्त बाहिर निस्किहालेँ ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 2 भाद्र, 2073

लेखकका अन्य रचनाहरु