भाषासेवीका रूपमा पारसमणि प्रधान

- नवीन पौड्याल

१. विषय प्रवेश –
नेपाली भाषा र साहित्यमा पारसमणि प्रधानको नाम अति आदरका साथ लिइन्छ। उनले आफ्नो जीवनको लगभग सत्तरी वर्ष जति नेपाली भाषा र साहित्यको सेवा गरेका हुन्। यस हिसाबले हेर्दा पनि उनको आफ्नो जीवन नै नेपाली भाषा साहित्यका निम्ति समर्पित गरेका हुन्। उनी भाग्यशाली थिए, आफ्नो जीवनकालमा नै उनको सम्मान, स्यावासी पाएका हुन र मरणोप्रान्त सम्झनामा रहेका छन्। उनको सम्झना मात्र गर्नु पनि उनले गरेको सेवाप्रति कृतज्ञता प्रकट गर्नु हो। प्रस्तुत प्रस्तुतिमा उनका अन्य योगदानका कुरा छोडेर उनले गरेको नेपाली भाषाको सेवाको मात्र चर्चा गरिन्छ।
२. भाषासेवीका रूपमा पारसमणि प्रधान –
नेपाली भाषाको सन्दर्भमा पारसमणि प्रधानको प्रत्यक्ष र परोक्ष गरी दुई प्रकारको सेवा देखिन्छ – प्रत्यक्ष र परोक्ष। उनको प्रत्यक्ष सेवाका रूपमा अनुवाद, सम्पादन, व्याकरण लेखन, प्रकाशन, मुद्रण आदिका रूपमा रहेको छ भने परोक्ष सेवाका रूपमा भने सरकारी निकायसमक्ष भाषाको निम्ति लेखापढी, भाषा शुद्धिका निम्ति अहोरात्र खट्ने एक भाषा संशोधक, भाषा मान्यताका निम्ति एक भाषाकर्मी, एक साहित्यिक संगठक हुन्। पारसमणि प्रधानको बहुमुखी साहित्यक प्रतिभा भएतापनि उनी मूल रूपमा भाषाशास्त्री नै हुन्। यसैले उनका संस्मरणहरूमा उनले नेपाली भाषाको निम्ति गर्नुपरेको संघर्ष नै मुख्यरूपमा देखापर्छन्। यी संस्मरणहरू आज केवल उनको निजी संस्मरण मात्र नभएर नेपाली भाषा साहित्यको इतिहास पनि बन्नपुगेको छ। पारसमणि प्रधानका संस्मरणात्मक अभिव्यक्तिहरू मुख्यतः भारतीको प्रकाशनदेखि नै देखा पर्न थालेका हुन्। केही न केही संस्मरणात्मक झलक दिने अभिव्यक्तिहरू टिपन-टापन, आफ्नो बारे, काठमाण्डौंमा दश दिन, रमाइलो सम्झना खरसाङको, काठे झांक्री, क्वाँटी जस्ता कृतिहरूमा पनि देख्न पाइन्छ।
२.१ परोक्ष सेवा- पारसमणि प्रधानले भाषाको पर्दाको पछाडि बसेर परोक्ष रूपमा कति धेरै सेवा गरेका छन्, जसको सही जानकारी नभएको हुन सक्छ। कतिपय अदृश्य सेवा गरेको मानिसले नजानेको हुन सक्छ। उनी आफुले विद्यालयी शिक्षा लिँदा हिन्दीमा लिनुपरेकाले आफ्नै नेपाली भाषामा लिन पाए हुन्थ्यो भन्ने भावना जागेको थियो। यस चेतनाले जोहोरिएर उनले सर्वप्रथम कलकत्ता विश्वविद्यासयसमक्ष माध्यमिक तहसम्म नेपाली भाषाको माध्यममा पढ्नु पाउनु पर्छ भन्ने सरकारसमक्ष अर्जी पत्र लेखेका हुन्। त्यसै फलस्वरूप सन १९१८ मा कलकत्ता विश्वविद्यालयले माध्यमिक तहसम्म नेपाली भाषालाई मान्यता प्रदान गरेको थियो। यसै गरि उच्च माध्यमिक तहमा पनि एक विषय नेपाली र यसको माध्यममा पढ्ने व्यवस्था हुनुपर्छ भन्ने मागमा आवेदन चडाएका हुन्। यसैगरि उनले उच्च शिक्षा क्षेत्रमा पनि धेरै काम गरेका छन्। सन् १९६२ सालमा स्थापित उत्तर बङ्गाल विद्यालयसमक्ष पनि नेपाली भाषाको पठन पाठनको व्यवस्थाको निम्ति उनको आफ्नो पक्षबाट पनि धेरै काम भएको छ।
उनले लेखापढी गरेर नेपाली पठन-पाठनको सुविधा प्राप्त भएका
१. प्राथमिक तह- उनी आफुले हिन्दी माध्यमबाट पढ्दा नेपालीभाषी शिशु विद्यार्थीहरूले भोग्नुपरेको भाषिक समस्या, पाठगत सम्प्रेषणात्मक समस्या आदि सुल्झाउनलाई उनी अघि सरेर नेपाली माध्यममा पढाइको निम्ति सरकारसमक्ष माग राखेको हुन्।
२. माध्यमिक तह- तत्त्कालीन कलकत्ता विश्वविद्यालयद्वारा सञ्चालित माध्यमिक र उच्चत्तर माध्यमिक तहमा नेपाली माध्यम बनाउनु उनले धेरै सङ्घर्ष गर्नुपरेको थियो। त्यहाँ रजिस्टार महोदयबाट नेपालीमा चाहिने पुस्तक सामाग्री छैनन् भन्ने सुनेपछि आफैंले लेखेर भए पनि त्यसको पूर्ताल गरी माध्यमिक तहसम्म एक विषय मातृभाषाको रूपमा नेपाली भाषा र अन्य विषयमा पनि नेपाली माध्यमका निम्ति आवश्यक र समयोचित लिखित आवेदन दिएर उपलब्धि हासिल गराएका हुन्।
३. स्नातक तह- पहाडका तीन महकुमामा सञ्चालित रहेका थोरै कलेजहरूमा पनि नेपाली विषय निम्ति उनले सङ्घर्ष गरेको छुट्टै इतिहास छ। पछिबाट सन् १९६२ देखि उत्तरबङ्गाल विश्वविद्यालय स्थापना भएदेखि पारसमणि प्रधानले शुरूदेखि नै लेखापढी गरी स्नातक तहमा अनर्सको निम्ति सङ्घर्ष गरेका हुन्। यसको फलस्वरूप सर्वप्रथम सन् १९६८ मा दार्जिलिङ सरकारी महाविद्यालयमा नेपाली अनर्स विषय खोलिएको हो।
४. स्नातकोत्तर तह- उत्तर बङ्गाल विश्वविद्यालयले नेपाली भाषालाई स्नातक तहमा अनर्स र सामान्य नेपाली दिए पनि यतिमा मात्र सन्तोक नमानी स्नातकोत्तर तहमा पनि नेपाली हुनुपर्छ भनेर फेरि आवाज उठाउने पारसमणि प्रधान नै हुन्। उनले लगातार लिखित र मौखिक सम्पर्क र ताकिता गरेर उत्तर बङ्गाल विश्वविद्यालयले सन् १९७५ देखि नेपालीमा एम. ए. सम्मको मान्यता दिएको हो र सन् १९७७ सालेदेखि भने पहिलो ब्याजका नेपाली विद्यार्थीको पढाइ शुरू भएको थियो।
२.२. प्रत्यक्ष सेवा- नेपाली भाषाको उन्नयनका निम्ति पारसमणि प्रधानको योगदान अतुल्य छ। यस सम्बन्धमा चर्चा गरिनेछ।
२.२.१. अनुवाद सेवा- नेपाली भाषा सेवाका क्रममा उनी सर्वप्रथम अनुवाद कार्यमा जुटेका हुन्। जब नेपाली साहित्यमा नै उपन्यास सङ्ख्या अत्यन्त कम थियो त्यस समयमा उनी अनुवादको काम लिएर अघि आएका हुन्। आफ्नो उमेरको सत्र वर्षमा नै उनले बङ्किमचन्द्रको बाङ्ला उपन्यास युगलाङ्गुरीयलाई हिरण्मयी चरित्र नाम लिएर अनुवादमा उत्रेका सन् १९१५ सालमा प्रकाशित यस अनूदित उपन्यासमा भाषाको मोह देखिन्छ। यसपछि राधारानी उपन्यास पनि नेपाली अनुवाद गरेका हुन्। ती दुई उपन्यासले पनि आजभन्दा एकसय वर्ष अघिको नेपाली भाषाको मानक नमूना देखाइदिएका छन्। उनी आफुले औपचारिक रूपमा नेपाली पढ्न नपाए पनि दशौं श्रेणी पढ्दाताका उनीभित्र रहेको भाषाप्रेमका कारण बंगलाबाट नेपाली उपन्यासलाई नेपाली अनुवाद गर्ने हुटहुटी चल्यो।
२.२.१. सम्पादन सेवा- भाषा सेवाले जुर्मुराएर उनले चन्द्रिका, भारती जस्ता सफल साहित्यिक पत्रिकाको सम्पादन गरेका हुन्। उनले चन्द्रिका पत्रिकाको सम्पादन गरेर भारतमा नेपाली साहित्यिक पत्रिकाको थालनी गरेका हुन्। यस पत्रिकालाई उनले केही वर्षसम्म सम्पादन गरेका हुन्। अर्को पत्रिका भारती पनि नेपाली साहित्यिक पत्रिकाको इतिहासमा ठुलो योगदान भएको पत्रिका हो। उनले सम्पादन गरेका दुवै पत्रिकाले नेपाली साहित्यमा ठुलो छाप छोडेका हुन्। अज विशेष गरी भारती पत्रिकाले नेपाली साहित्यमा कथा साहित्यको ठुलो ढोका खोलिदिएका हुन्। भारतमा कथा साहित्यको समवर्द्धनमा भारती पत्रिकाको ठुलो योगदान छ। जम्मा एकसय आठ अङ्कसम्म प्रकाशित भारती पत्रिकाले धेरै नेपाली कथाकार जन्माएको छ।
२.२.२. व्याकरण लेखन- नेपाली व्याकरण लेखनको परम्परामा पारसमणि प्रधानको नाम उच्च छ। नेपाली भाषाको व्याकरण लेखनमा उनको नाम अति आदरका साथ लिइन्छ। सन् १९२० मा हरि प्रिन्टिङ वर्क्स खरसाङबाट प्रकाशित नेपाली व्याकरण विशेषगरी अँग्रेजी व्याकरण र भाषा-भाष्करको ढाँचामा र हेमराज पाण्डेयको चन्द्रिका व्याकरणको आधारमा लेखिएको छ। पारसमणि प्रधान एक्लैले र सहलेखनमा तयार पारेका व्याकरण पुस्तकहरूमा सजिलो नेपाली व्याकरण (१९३५), नेपाली रचना कुसुम (भाग १, नगेन्द्रमणि प्रधानको सहलेखन), नेपाली रचना भारती (भाग १ र २, अमरमणि प्रधानको सहलेखन,१९५४), नेपाली व्याकरणको परिवर्द्धित र वर्तमान रूप (१९७०), व्याकरणको दन्त्य कथा (१९७०), नेपाली व्याकरण भारती, नगेन्द्रमणि प्रधानको सहलेखन, १९५४), प्राथमिक नेपाली व्याकरण (१९५४), प्रवेशिका व्याकरण र रचना (१९५५, टिकाराम शर्माको सहलेखन) नेपाली व्याकरण (पहिलो भाग, १९७०), माध्यमिक नेपाली व्याकरण र रचना, १९८२)। यद्यपि उनको सन् १९२० मा प्रकाशित व्याकरणकै कहिले सजिलो नेपाली व्याकरण, कहिले व्याकरण भारती अनि कहिले प्रवेशिका नेपाली व्याकरण र रचना जस्ता विभिन्न नामहरू लिएर देखा पर्छन्।
पारसमणि प्रधानको अनुसार भाषाको व्याकरणमा समयोचित हेरफेर हुनु जीवित भाषाको लक्षण हो। नेपाली भाषाको व्याकरणका नियममा पनि समय समयमा धेरथोर हेरफेर भइरहनु पर्छ। उनका आफ्नो जीवनकालभरि भाषाको एकरूपताका लागि संघर्ष गरिरहे। नेपाली भाषालाई अघोरै माया गर्ने पारसमणिले जीवनकालभरि नै नेपाली भाषा- साहित्यको सेवामा आफूलाई समर्पित गरे। नेपाली भाषालाई नेपाली समाजको एकता र अखण्डताको सूत्र मान्ने पारसमणि लेख्छन्-
नेपाली भाषा कुनै निश्चित जातको पेवा भाषा होइन- न यो बाहुन छेत्रीको पेवा भाषा हो , न गुरूङ-मगरको सूर्यविक्रम ज्ञवालीको एउटा नकरात्मक टिप्पणीले आहत पारसमणिलाई जीवनभरि नै त्यो कुराले झस्काइरहेको देखिन्छ। उनी अझ लेख्छन् “नेपाली भाषा खस-बाहुनहरूको मात्र भाषा होइन, यो कामी, दमाई र सार्कीको मात्र भाषा पनि होइन। यो त एँगल्स र जुटहरूका बोलीको संमिश्रणले इंगलिस (अङ्ग्रेजी) भाषाको उत्पत्ति भए झैं समय समयमा सयकडौं वर्षमा धेरै बोलीहरूको संमिश्रणले बनेको एउटा नयाँ भाषा हो। यो नेपाली भाषा कुनै निश्चित जातको पेवा भाषा होइऩ यो त समस्त नेपाली जातिको नेपाली मातृभाषा हो।“
ईश्वीको वीसौं शताब्दीको प्रथम चरणसम्म आइपुग्दा पनि हाम्रो भाषाको नाम स्पष्ट भइसकेको थिएन। कसैले यसलाई गोर्खा भाषा भन्थे, कसैले पर्वतिया, कसैले यसलाई खसकुरा भन्थे भने कसैले यसलाई नेपाली पनि भनीहाल्थे। यसरी एउटै भाषाको अने नामले अनेक समस्याहरू झेल्न पर्थ्यो। पारसमणिहरूले यस समस्याको समाधान गर्ने अठोट गरे। यसबारे उनी आफ्नो संस्मरणमा लेख्छन्- परीक्षा सिद्धिए पछि हामी दुइजना (पारसमणि प्रधान अनि धरणीधर कोइराला)ले डिपुटी कमिश्नरमार्फत बंगाल सरकारमा एउटा विन्ति पत्र च़ढायौं त्यसमा यो पहाडिया खसकुरा वा गोरखाली वा पर्वतिया भन्ने शब्द झिकिउन किनभने हाम्रो भाषाको चोखो नाउँ नेपाली नै हो, बुद्धिजीवी जनतालाई रूचेको नाउँ नेपाली हो औ भाषा शास्त्रीहरूले रूचाएको नाउँ पनि नेपाली नै हो। वाडेल साहेबलाई हामीले यो कुरा राम्ररी बुझायौं। उनले सिफारिस गरिदिने वचन दिए। नेपाली भाषा नामको निम्ति पारसमणि प्रधानले आफ्नो मासिक पत्रिका चन्द्रिकाको माध्यमबाट पनि धेरै प्रयास गरे। चन्द्रिकाको प्रकाशनदेखि नै हाम्रो भाषाको नाम नेपालीको रूपमा अधिक चल्न थालेको नगेन्द्रमणि प्रधानले आफ्नो विचार प्रकट गरेका छन्। यस अघि नेपाली भाषाको सर्वमान्य एउटै नाम थिएन। नेपालमा समेत भाषाको नाम गोर्खा रहेको गोर्खा भाषा प्रचारिणी समिति नामक संस्थाले प्रमाणित गर्छ।
उनले आफ्नो पढाइको प्राथमिक तहदेखि नै हिन्दी भाषामा पढ्नु परे तापनि उनमा नेपाली भाषाप्रति रूचि रहेकाले बनारसबाट प्रकाशित हुने नेपाली पत्र-पत्रिका पढ्ने गर्थे। सन् 1916 तिर दार्जिलिङ सरकारी उच्च विद्यालय पढ्दै गर्दा उनले गोर्खा साहित्य समाज नामक पुस्तकालय स्थापित गरेका थिए।
२.२.३. पाठ्य पुस्तक निर्माण- भारतमा नेपालीभाषी विद्यार्थीका निम्ति आवश्यकता परेका बेला नेपाली पाठ्य पुस्तक निर्माण गर्ने महत कार्य उनले शुरू गरेका हुन्। यस क्षेत्रमा उनको अद्वितीय देन छ। उनले शिशु श्रेणीदेखि लिएर उच्च श्रेणीसम्मका निम्ति पाठ्यपुस्तक निर्माण गरेका हुन्। नेपालीको सरल पाठ मात्र नभई व्याकरण, बीजगणित, अङ्कगणित, इतिहास, भूगोल, विज्ञान, रेखागणित जस्ता सबै विषयमा पाठ्य पुस्तक लेखेर तत्कालीन आवश्यकता पूर्ति गरेका हुन्। सबै विषयको एकमुष्ठ पाठ्यपुस्तक किशलय नामक एउटा निर्माण गरेका हुन्। कोलकाताको नामी प्रकाशक म्याकमिलन कम्पनीसित मिलेर उनले प्रायः सबै तहका पाठ्यपुस्तक लेखेका हुन्। उनले तयार पारेका पाठ्य पुस्तक पढ्ने विद्यार्थीले सठिक विषय ज्ञान र भाषा ज्ञान हासिल गर्न सक्थे। पहिलेका तेस्रो श्रेणी वा पाँचौं श्रेणी पढ्नेसम्मले पनि नेपाली फटाफट पढ्न र लेख्न सक्छन्। अहिलेका दशौं श्रेणी पढ्ने विद्यार्थीभन्दा उहिले चौथो-पाँचौं श्रेणी पढ्नेको भाषा र साहित्य ज्ञान बढी हुन्थ्यो। यस्तो हुनुमा पारसमणि प्रधानले तयार पारेको पाठ्यपुस्तकको भूमिका थियो। उनले नेपाली नेपाली पाठ्यपुस्तकको आवश्यकता मात्र पूर्ति गरेनन् बरू यसको भण्डार पनि भरिदिए।
२.२.४. कोश लेखन - नेपाली शब्दकोश निर्माण क्षेत्रमा पनि पारसमणि प्रधानकै ठुलो योगदान छ। नेपाली शब्दको खोइ भनी कलकत्ता विश्वविद्यालयका रजिस्टारले सोध्दा उनी ग्लानि बोध गरी यसतर्फ लागेका हुन्। उनले नेपाली शब्दकोशलाई विभिन्न तहका विद्यार्थीको निम्ति शब्दकोश तयारी पारिदिएका हुन्। यसका साथै अङ्गेजी–नेपाली, नेपाली अङ्गेजी जस्ता बहुभाषिक गरी लगभग आठवटा जति शब्दकोश तयारी पारेका हुन्।
२.३.परोक्ष सेवा - यसअन्तर्गत पारसमणि प्रधानका केही कार्यहरू हेर्न सकिन्छ -
२.३.१. संगठन सेवा- पारसमणि प्रधान भाषा र साहित्य सेवा गर्ने क्रममा एकजना कुशल संगठक पनि थिए। उनी र उनका अन्य दुइजना सहकर्मी सूर्यविक्रम ज्ञवाली र धरणीधर कोइरालालगायत अन्यान्य मिलेर नेपाली साहित्य सम्मेलन, दार्जिलिङ स्थापना गरेका हुन्। यसका उनी संस्थापत सचिव रही धेरै काम गरेका थिए। उनले नेपाली साहित्य सम्मेलन पत्रिकाको केही अङ्कको कुशल सम्पादन पनि गरेका थिए।
२.३.२. मुद्रण सेवा – भारतको नेपाली मुद्रणको इतिहासमा पनि पारसमणि प्रधानको स्थान अग्रिम पंक्तिमा छ। उनले दार्जिलिङ, कालिम्पोङमा प्रेस खोलेका थिए। पछिबाट सिलगडीमा पनि उनले आफ्नो प्रेस खोलेका हुन्। मनमा सधैं नेपाली भाषाप्रति सच्चा सेवाको भाव लिएर हुनाले उनको प्रेसबाट जति नेपाली किताब प्रकाशित हुन्थे, जम्मै विशुद्ध, सही हिज्जेयुक्त, सठिक प्रुफ संशोधित हुन्थे। सेवाभाव लिएर व्यावसाय गरिएको हुनाले उनका प्रेसहरूबाट नेपाली साहित्यले धेरै उपलब्धि हासिल गर्ने सकेको छ।
पारसमणि प्रधानको भाषा सेवालाई अझ दुईवटा वर्गमा वर्गीकरण गर्न सकिन्छ- नेपाली भाषाको स्तरगत सेवा र संरचनात्मक सेवा। भाषाको स्तरगत सेवाअन्तर्गत नेपाली भाषालाई सरकारी तवरमा विभिन्न तहमा पठन-पाठनको निम्ति मान्यताको निम्ति आवेदन आदि गरी उपलब्धि हासिल गराएका हुन्। उनको एक्लो र सामूहिक प्रयासले गर्दा समग्र नेपाली समाजले नै सफलता हासिल गरेका थियो। सन् १९१८ मा नै हाइस्कूल तहमा मान्यता पाएको नेपाली भाषालाई दार्जिलिङ सरकारी विद्यालयमा एक विषयसम्म पढाइ नहुँदा उनले दुःख प्रकट गरी त्यसका हेडमास्टरलाई पत्र लेखि आवेदन गरेका थिए। सन् 1973 मा साहित्य अकादमी, नयाँ दिल्लीको विशेषज्ञ समितिका सदस्य रहेका थिए। कलकत्ता विश्वविद्यालयबाट नेपाली भाषाको मान्यताका निम्ति डम्बरसिंह गुरूङसित गएर विश्वविद्यालयको रजिस्ट्रारबाट खप्की खानुपरे तापनि यसलाई चुनौतीस्वरूपमा नेपाली पाठ्यपुस्तक लेखेर तयारी पार्ने महत काम गरेका हुन्। नेपाली भाषालाई साहित्य अकादमीको परिधिमा ल्याउन उनले थुप्रै काम गरेका थिए। उनले आफ्नो उत्तर बंगाल विश्वविद्यालयमा नेपाली अकादमी र पश्चिम बंगाल सरकारको नेपाली अकादमी खोल्न ठुलो भूमिका निभाएका थिए। यसै गरी सिक्किम विधानसभामा नेपाली भाषालाई राज्यभाषा घोषित गराउन उनको अदृश्य योगदान थियो भनिन्छ।
यसै गरी उनले नेपाली भाषाको संरचनात्मक सेवा पनि गरेका छन्। नेपाली भाषाको स्वरूप निर्धारण, एकीकरण, मानकीकरणसम्बन्धमा धेरै काम गरेका छन्। अझ एकीकरण सम्बन्धमा त आजीवन लागिपरिरहे। उनको विचारमा जहाँको भए पनि नेपाली भाषा एउटै हो र यसको स्वरूप र मानक रूप एउटै हुन्छ र हुनुपर्छ भन्ने राय थियो। कथ्य भाषाको विभिन्न स्वरूप भए पनि यसको मूल स्वरूप एउटा हुन्छ भन्ने विचार थियो।
नेपाली भाषाको मूल स्वरूप संस्कृतबाट आएको सत्यता आफ्नो ठाउँमा, अर्कापट्टि अङ्ग्रजी भाषाको बढ्दो प्रभाव तथा हिन्दी व्याकरणको पनि बोलबाला भएको समयमा पारसमणि प्रधानले मध्यमार्ग अपनाई नेपाली व्याकरण लेखेका हुन्। एकापट्टि हेमराज पाण्डेको चन्द्रिका व्याकरणको मूल आधार समाएर नेपाली व्याकरणको बोलबाला थियो भने अर्कापट्टि राममणि आदीको हलन्त वहिष्कार आन्दोलनबाट प्रभावित विश्वमणि आदीको गोर्खा व्याकरण बोध प्रकाशन। यी दुवै पक्षको बीचबाट पारसमणि प्रधानले व्याकरण लेखेका हुन्। यद्यपि उनले चन्द्रिकालाई श्रेष्ठ व्याकरण ठहर्‍याएका छन्। गोर्खा व्याकरण बोध व्याकरणमा हलन्त वहिष्कार र अन्य दुई-चार दोषलाई छोडेर हेर्दा वेशै छ भन्ने उल्लेख गरेका छन्। उनको विचारमा नेपालीले लेख्नुअघि अङ्ग्रेजहरूले लेखेको व्याकरण सही र मानक हुँदैनन्, अर्कालाई सोधेको भरमा जबर्जस्ती व्याकरण लेखिएका हुन्छन्। ती व्याकरणले भाषा बिगार्छन्। जसले नेपाली भाषाको सही परिपाटी जानेको हुन्छ, उसैले मात्र सही व्याकरण लेख्न सक्छ। यसका निम्ति नेपाली विद्वानहरूले नै जुर्मुराएर अघि बढ्नु पर्छ भन्ने उनको सद्विचार थियो।
यसबाहेक उनले नेपाली व्याकरणको इतिहास, नेपाली भाषाको पठन पाठनको इतिहास, नेपाली भाषाको उत्पत्ति र विकास, नेपाली भाषाको विकास र अध्ययनका क्षेत्रमा अनेपाली विद्यानहरूको योगदानको चर्चा, इत्यादि विषयमा पनि कलम चलाएर नेपाली भाषा साहित्यमा अनुसन्धान गर्ने उच्छुकहरूलाई पनि ठुलो सहयोग पुर्‍याएका छन्। यसबाहेक भानुभक्त, देवकोटा, बालकृष्ण सम र लेखनाथ पौड्यालका विषयमा अङ्ग्रेजीमा पनि किताब लेखेर अनेपाली अध्येताहरूलाई पनि नेपाली महान साहित्यकारहरूको परिचय दिएका हुन्।
समग्रमा उनले नेपाली भाषाको सेवा गरेको कुराहरूको लेखाजोखा यी बुँदाहरूमा लिन सकिन्छ
१. नेपाली भाषाको उद्भव र विकाससम्बन्धी चिन्तन गर्ने एक चिन्तक।
२. नेपाली भाषालाई विभिन्न तह पठन पाठनका निम्ति सरकारसमक्ष माग राख्ने एक कलमवीर।
३. भारतीय संविधानमा नेपाली भाषालाई मान्यताको निम्ति लडिएको संग्रामका एक सङ्ग्रामी।
४. नेपाली साहित्य लेखेर भाषाको आजीवन सेवासाधना गर्ने एक साधक।
५. समयअनुसार नेपाली भाषाको स्वरूपमा पनि परिवर्तन हुँदै जानुपर्छ भन्ने एक सचेतक।
६. नेपाली व्याकरण लेखेर नेपाली भाषालाई समृद्ध तुल्याउने एक वैयाकरण।
७. उनी एक सफल कवि, कथाकार, निबन्धकार पनि हुन्।
८. उनी एक सफल मुद्रक, प्रकाशक हुन्।
९. उनले चन्द्रिका, नेपाली साहित्य सम्मेलन पत्रिका र भारती जस्ता नेपाली पत्रिकाको इतिहासमा गुरूत्वपूर्ण पत्रिकाका सम्पादक।
प्रमुख सन्दर्भ ग्रन्थ -
१. पारसमणि प्रधान, टिपन-टापन, कालिम्पोङ, भाग्यलक्ष्मी प्रकाशन,१९६९।
२. सम्पा. शिव प्रधान, डा पारसमणि प्रधान अभिनन्दन ग्रन्थ, गान्तोक, गान्तोक प्रकाशन, १९८४।
३. सम्पा. शिव प्रधान, डा पारसमणि प्रधान अभिनन्दन ग्रन्थ परिशिष्टाङ्क, गान्तोक, गान्तोक प्रकाशन, १९८५।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 2 भाद्र, 2073

लेखकका अन्य रचनाहरु