एउटा जिउँदो मानिसको काया–कैरन

- विजय खरेल

एउटा दन्त्यकथाको अंशको सम्झना भयो– कुनै बेला यमराज पृथ्वीमा घुमिरहेका थिएछन् । बैसाख–जेठ महिनाको बेला हु“दो हो, घाम असाध्यै चर्का । एउटा बिसाल हात्तीमा एउटा लिखुरे माहुते चढेको र हात्तीलाई छिटो हिंड्न हच्काइरहेको, हकारीरहेको र बेला–बेला हातको अङ्कुशले ठु“गिरहेको देख्ता यमराजलाई अचम्म लागेछ– “यत्रो बिसाल ज्यान भएको शक्तिशाली हात्तीलाई यो मूले लिखुरे मान्छेले कस्तो हावा–कावा पार्न सकेको होला ? अचम्म !
यमराजको कुरो सुनेको हात्तीले पनि विस्तारै भनेछ– “यमराज ∕ तिमी मरेका मान्छेहरू माथि शासन गरेकै भरमा फुटानी गर्छौ ! जिउ“दो मान्छेको पाली पर्यौ भने चाल पाउला ∕”
यमराज छक्क त परे, तर खासमा उनले अहिले सम्म कुनै जिउ“दो मान्छे लगेर तह लाएकै थिएनन् । सबै मरेकाहरू मात्रै लगिन्थे । बरु अब एउटा जिउ“दै मान्छे पनि पो लगेर विचार गरिहेर्नु पर्यो, सोच्तै अघि बढे । यस प्रसङ्गको जिउ“दो मान्छे भनेर सास मात्रै फेरिरहनेको अर्थमा बुझ्न हुन्न । सास फेर्नुको प्रकृयासितै शरीर र चेतना, बुद्धि र गतिशीलतालाई अति सक्रिय पारी राख्ने अर्थमा बुझ्नु पर्ने हुन्छ ।
एक जना यस्तै जिउ“दो मान्छेको सम्झौटो लेख्नलाई यो प्रसङ्ग ल्याएको हो । बनारस पढ्दाताकाको कुरा हो । आफ्नो बनारस वास चानचुन २०२६ देखि २०३४ सम्म मात्रै हो, र यही बिचको सरदर समयलाई मैले यहा“ उपयोग गरेको छु । २०२७ कि ०२८ अहिले ठ्याक्क बिर्सें, फागुनको समय हो । बनारसमा पढने र राजनीतिक पार्टीहरूसित जोडिएका विद्यार्थी सङ्गठनहरूले पन्चायती व्यवस्थाको विरोध गर्ने क्रममा फागुन ६ गतेलाई कालो दिवसका रूपमा बिभिन्न कार्यक्रम गरी मनाउने गर्दा रहेछन् । कहिले वाम र काङ दुबै मिलेर त कहिले भिन्ना भिन्नै । यस्तै एउटा कार्यक्रम थियो– भैरहवाबाट ‘रेलिमै सांस्कृतिक मण्डल’, नामक एउटा कलाकारको समूहले एउटा नाटक देखाउने जानकारीले हामी विद्यार्थीहरू रोमान्चित भयौं । निशुल्क हेर्न पाइने हु“दा अरु सबै काम–कुरा छाडी त्यता एकोहोरियौं ।
बेलुका नाटक सुरु भयो । नाटक र’छ, ‘पचास रुपिया“को तमसुक’ । दार्जिलिङमा हु“दा सानो स्कुलदेखि नै सांस्कृतिक कार्यक्रम हुन्थे, नाटक हुन्थे, हामी नाटक खेल्थ्यौं । पछि ठूलै भएपछि पनि दार्जिलिङमा दशैंका मौकामा जताततै नाटकहरू हेर्न पाइन्थे । त्यही भएर त नाटकमा खुब चाख थियो । नाटक हेर्दा प्रायः सबै कलाकार खारिएका र जीवन्त नै लागे । मेरो अनुमान भन्दा बढी र सशक्त प्रस्तुति त्यस नाटकका मुखियाको देखें । म दङ्ग नै भए“ मुखियाको प्रस्तुतिले । ठानें यी त लर्तरा कलाकार होइनन् ।
त्यसको तीन–चार दिनपछि हो क्यार, खागीको प्यान्ट र उनीको काम्लो भन्न मिल्ने कपडाको कुर्ता लगाएका तिनै नाटकका कलाकार हातमा अलिकति कागत च्यापेर कतै गैरहेका देखिए । हामी जना चारेक ठेउका भन्न मिल्नेहरू गल्लीको पेटीमा बसेर फोस्रा गफमा थियौं । त्यही क्रममा उहा“लाई देखेपछि एउटा ठेउके साथीले भन्यो– “उ ∕ ... मोदनाथ प्रश्रित जा“दैछन् ।” ती कलाकारको नाम पनि चिनेर म अलि सजग भए“ । उसले भन्यो– “ती ... उता आर्यभूषण छापाखाना तिर जा“दैछन् ।” किन, भनेर त हामीले खुल्दुली त गरेनौं तर उसैले भन्यो– “ती क्या ... बोकेका कागत ? ती छापाखानाले उहा“लाई किताबहरू छाप्नु पर्दा शुद्धाशुद्धी हेर्नुपर्छ नि ∕ त्यही काम उहा“लाई दिन्छ, पैसा पनि पो आउ“छ त जान्दा खेरि ∕”
हाम्रो पेटी–बैठक त्यतिकै उठ्यो । त्यस दिन त्यतिकै आ–आफ्ना दर्गदिशा लाग्यौं । अर्को दिन त्यही समय अर्को पनि एउटा ठेउको थपिएर हामी त्यहीं थियौं । साविक समयमा उहा“ हातमा कागत बोकेर खुरुखुरु जानुभयो, हामीले उहा“को दैनिकी वारे केही थाहा पाएका थियौं थप त्यसै ठेउकाले भन्यो– “उहा“ले त ती लाएका लुगा पनि आफैं सिएका हुनुपर्छ ।”
“किन ?” बा“की हाम्रो जिज्ञासा एकै चोटि उठ्यो । एउटाले भन्यो– “हैन ती लुगा दर्जीले सिएका हैनन् र ?”
त्यो जान्ने चैं ठेउकाले भन्यो– “एक खेप क्या ∕ गाउ“को दर्जीलाई आमाको चोलो सिउन दिया थ्यो रे ∕ अनि दर्जीले चोलो कामै नलाग्ने गरी बिगारि दिएछ र खुप झगडा परेछ । त्यस्तो परे पछि उहा“ले भन्नु भएछ– “अब यसरी झगडा गर्नु भन्दा बरु आफ्नो काम आफैं गर्ने नि ∕”
“अनि घरमा सिउने कल आयो, कैंची आयो, सियो धागो आयो, र आफैं नै आफ्नो घरको लुगा सिएर लाउन थालेको मैले सुन्या भ’र ... त्यो उहा“ आफैंले सिएको हुनु पर्छ ।”
उसले त्यो कुरो सुनाए पछि मलाई मनमनमा सास्ती पर्यो । अहो ∕ यो त एउटा नया“ समस्या पो हो त । अनि सम्झें– उहिले दक्षिण अफ्रिकामा गान्धी भएका बेला एक दिन हजामकोमा केस छा“ट्न पसे छन्, तर हजामले ढिम्किनै दिएन छ । भने छ, “अहिले मेरो सेलुनमा तिम्रो केश काटे पछि त कुनै गोराहरू यहा“ केस काट्नै आउ“दैनन् । त्यसैले म तिम्रो केश काट्तिन । तिमी गैहाल ∕”
गान्धीले त्यही बेलादेखि अठोट गरे रे– “अब आफ्नो केश आफैं छा“ट्ने, बस ∕ दुईटा ऐना र एउटा कैंची किनेर घर गए र आफ्नो केश आफैं छा“ट्न थाले रे ∕ त्यसो त बृटिस साम्राज्यताका दक्षिण अफ्रिका होस् वा भारत, त्यहा“का मुलुकवासीहरूलाई गोराहरूले बनाएका मूल सडकका बिचबाट हिंड्न प्रतिबन्ध नै थियो रे ∕ छेउबाट हिड्नु पथ्र्यो रे ∕ यस्तैमा एक दिन गान्धीले बिच सडकबाट हिडेर अदालत गैरहेका बेला त्यहा“ तैनाथ प्रहरीद्वारा बेस्सरी गोदाइ खाएछन् । गान्धीको आत्मकथामा यस्ता प्रसङ्ग भेटिन्छन् । त्यहा“बाट उठेर आफ्नो कोठा फिरे पछि पनि ती कलाकार वा मोदनाथ प्रश्रितका वारेमा धेरै वेर घोत्लिई रहें ।
त्यो फागुन ६ गतेको नाटक हेरेको केही समय पछि फेरि एउटा सांस्कृतिक कार्यक्रम देखाउन धरानबाट केही कलाकार पुगेछन् बनारस । थाहा भयो, कम्युनिस्ट नै तर कथित छैटौं समूहका विद्यार्थीको आयोजनामा रहेछ, तर सुल्क तिरेर मात्र हेर्न पाइने । त्यो पैसा तिर्न नसक्नेले नहेर्दा पनि नहुने हो तर, वामपन्थी भन्ने, राजनीति पनि गर्ने, फेरि सांस्कृतिक कार्यक्रम देखाउ“दा पैसा पनि लिने– कुरा मलाई अलिक पचेन । केही अघि मात्रै निशुल्क त्यत्रो कार्यक्रम हेर्या ... अलिक चैं पैसाको अभावले र अलिक बानी परेर होला– यो सशुल्क कार्यक्रम प्रति आफूलाई रिस उठेकै हो । अनि विरोध गर्न मन लाग्यो ।
फराकिला दस–बार वटा जति कागत किनेर ल्याए“ र उक्त कार्यक्रम माथि आफ्ना बलबुताले भ्याएभर ब्यङ्ग्य सम्वादहरू प्रश्न–उत्तरका रूपमा तयार गरी लेखें । सङ्गतीहरूलाई सुनाए“ । एउटाले भन्यो– “ए खरेल ∕ यस्ता सम्वादसित त ब्यङ्ग्य चित्र पनि भए पो खासा राम्रो हुन्थ्यो । ऊ क्या आज समाचार पत्रमा भए जस्तो ∕ ...”
कुरा त उस्को राम्रो लाग्यो त नि, तर आफूलाई चित्र कोर्न आउ“थेन । अनि भनें– “खै कस्ले बनाउने र ? ... राम्रो त हुन्थ्यो नि ...∕”
अर्कोले भन्यो– “ऊ क्या ... तिनै मोदनाथलाई भनौं न ∕”
मैले भनें– “उहा“लाई आउ“छ र ?... ”
उसले भन्यो– “ए तैंले त मान्छे चिनेकै रैनछस् ∕ तिनी त साइन्बोट कोर्ने मान्छे हुन् ∕”
अब मेरो समस्याको हल देखियो । त्यो दिन ती सबै कागतहरूमा सम्वाद कोरी सकें । भोलिपल्ट बिहानै उहा“को कोठा पत्तो लाएर कागतहरू लिएर लुसुक्क उहा“का कोठामा छिरें । आफ्ना असन्तोषका कुराहरू राखें र यी सम्वादहरूमा ब्यङ्ग्य चित्रहरू कोरीदिन अनुरोध गरें ।
उहा“ले ती कागतहरूमा लेखिएका सम्वादहरू हेर्न थाल्नुभयो । म भने उहा“को अनुहारमा त्यही नाटकका मुखियाको अभिनेता हो कि एउटा चित्रकार समेतको मान्छे निहार्दै थिए“ । थपक्क मसीको बट्टा र कुची झिकेर मुसुमुसु हा“स्तै स्वार्–स्वार् अक्षर कोरेझैं ती कागतहरू माथि बिभिन्न प्रकारका मुख भएका मान्छेका चित्रहरू कोर्नुभयो । मलाई सम्वाद बोल्दै गरेका ती मुखर चित्र देखेर मेरो खुसीको सिमानै रहेन । अरु कुरा गर्न पट्टि लागिन । बाहिर निस्केर एउटा कागत टा“स्ने गमको बट्टा किनेर लागें जगदम्बा धर्मशाला तिर, जहा“ ती कलाकारहरू बसेका थिए ।
गफ गर्ने, पुस्तकालयमा समाचार पढ्ने, चिया पिउने, पान खाने गरी बिभिन्न मानिसहरूको त्यहा“ बाक्लो उपस्थिति थियो । त्यो समूहमा त्यस कार्यक्रमका आयोजक मध्येका र कलाकारहरू समेत थिए । मैले थपक्कै कागतमा गम दल्दै सडक छेउका घरका भित्ताहरू तिर कागतहरू छ्याप्छ्याप्ती टा“सि दिए“ ।
एक छिन यताउति हेरे“ । मान्छेहरू ती टा“सिएका कागत हेर्न झुम्मिए । मुखामुख गरे । कोही हा“से, तिनै कलाकारहरू समेत त्यहा“ झुम्मिएको देखे पछि म आफ्नो बाटो लागें । मन शान्त भएको थियो । रिसको पारो ओर्लिएको थियो । तर भोलिपल्ट गर्ने भनिएको त्यो कार्यक्रम त्यहा“ नगरेर काशी हिन्दु विश्वविद्यालयतिर सारे । उतै गरे ।
प्रवासको राजनैतिक तालिम केन्द्र जस्तो थियो बनारस । म दार्जिलिङबाट त्यहा“ पढ्न पुग्दा र बस्ता बडो अनौठो लागेको थियो । छक्कै परेको थिए“– त्यहा“को गतिविधि देखेर । विद्यार्थी समूहमा वाम र काङको किचलो त्यस विदेशी भूमिमा कहिलेकाही“ त देख्नेलाई समेत कुरीकुरी लाग्ने गरी हुन्थ्यो– जस्तो यतिबेला सत्ता केन्द्रित नेताहरूमा देख्न पाइन्छ । ठूला नेताहरू त्यसताका कोही निर्वासन र कोही स्वैच्छिक निर्वासनको कारणले त्यहीं थिए, बीपी, गणेशमान, पुष्पलाल, नन्दकुमार प्रसार्इं समेत । त्यही भएर सबै आउने विद्यार्थीहरू त्यहा“को गतिविधिबाट वाम वा काङका यो वा त्यो समूहमा पत्तै नपाई परि सकेका हुने रहेछन् ।
म पहिला चोटी बनारस पुग्दा मन–मस्तिष्क भरि दार्जिलिङका गाउ“गाउ“मा व्याप्त तत्कालीन भारतीय नक्सलवादी आन्दोलनको त्रास बोकेर पुगेको थिए“ । आतङ्क नै थियो जताततै । किसान आन्दोलनको नाउ“मा नक्सलवादी हिंसात्मक गतिविधि भित्र कुट्ने, काट्ने, मर्ने र मार्ने कुरा जताततै हुन्थे । पहिला चोटी मानवीय आतङ्क भोग्नेहरू स्वभाविक रूपमा कम्युनिष्ट विरोधी हुन पुग्थे । त्यस भन्दा पैला भारत–चीन युद्धताका भारतले फैलाएको चीन र खासगरी कम्युनिष्ट विरोधी चिन्तन मनग्गे फैलिएको थियो । मेरो मनले पनि अचेतन अवस्थामै त्यस प्रभावलाई छ्याप्पै ओडेको थियो । त्यसो भएकाले गर्दा बनारस पुगेपछि म पहिला ने.बी.सङ्घको पोल्टामा परेको थिए“ । दुई–अडाई वर्ष जति ने.बी.सङ्घमा रहेपछि त्यसबाट विरक्त भएर छाडेको थिए“ । कम्युनिस्ट मन पराउने कुरै थिएन । त्यसैले यी दुबै समूहबाट जोगिनकै निम्ति म र मजस्ता पन्ध्र–बीस जना साथीहरू बटुलेर वाम र काङबाट स्वतन्त्र अनि विद्यार्थी मात्रको गैरराजनीतिक विद्यार्थी समूह बनाउन पुगें । सात–आठ महिना सम्म त्यस समूहको गतिविधि चलायौं । विद्यार्थी संख्या पनि बडायौं । हामी माथि दुबै समूहबाट आक्रमण हुन थाले । हाम्रा भेलाहरूमा ती दुबै समूहबाट एक–एक जना मुखर प्रतिनिधि पठाउने र बोल्ने क्रममा तिनले हाम्रो समूहलाई भा“ड्ने प्रयास गर्न थाले । त्यति सम्म त पचाएकै थियौं । अब त यसो हिड्दाओर्दा पनि परबाट औंल्याउ“दै– “ऊ त्यही हो यहा“को मण्डले नेता “ऊ “मण्डले नेता आउ“दैछ ” “ल चिनिस् ? ... मण्डलेको नेतालाई ?”
यसरी औंल्याएको, साउती गरेको धेरैपल्ट सुन्न थालेपछि म पनि चिन्तित भए“ । के हो यो मण्डले भनेको ? साथीहरूलाई बुझी हेर्दा नेपालमा कम्युनिष्ट–काग्रेस समर्थक बाहेकका र पन्चायत समर्थक विद्यार्थी समूहलाई नै मण्डले भनिंदो रहेछ । आफू त दार्जिलिङको परियो, त्यो जानेको पनि होइन । त्यसो भए के रिसले त्यसो भनेका हुन् त ? अब पो म त निन्द्रैबाट ब्यू“झिए झैं भए“ । म त अलिक उमेर छिप्पिएर यता पढ्न आएको, अनि आमा–बाबुको एउटा साधारण भए पनि सपना मसितै बनारस आएको छ । यहा“ म आफ्नो पढाइलाई फितलो पारेर यस्ता झमेलामा अल्झिनु भनेको बाआमाको सपना र आफ्नो भविष्य समेतसित खेला“चि गर्नु हो । अनि छाडें मैले त्यो उनीहरूले भनेको ‘मण्डले गुट’ र आफ्नै ठानेको हरेक नया“ आउने विद्यार्थीलाई वाम र काङको किचलोबाट जोगाउने स्वतन्त्र समूह । यसरी तटस्थ भएर फेरि कति बसें ? अहिले बिर्सें र कहिलेदेखि प्रश्रित दाइको वाम खेमातिर आकर्षित भए“ यसै भन्न गारो छ । जे होस् ∕ प्रश्रित दाइको व्यक्तित्वले नै होला, नक्सलवादी सन्त्रास र कम्युनिष्ट प्रतिको विकर्षण कहिले कसरी हराए पत्तै भएन ।
एक दिन, मेरो सहपाठी हर्षप्रसाद भट्टले भन्यो– “ए खरेल ∕ ती प्रश्रितकहा“ त पुस्तकहरू जति पनि पढ्न पाइन्छ ∕ पढ्न मन लागेदेखि माग्दा दिइ हाल्छन् ∕”
मनमा लोभ पलायो । जगदम्बा धर्मशालामा पुस्तकालय त छ, पत्र–पत्रिका त वाचनालयमा पढ्न पाइन्छ, तर पुस्तकहरू पढ्न त सदस्य बन्नै पर्छ, त्यसलाई आफू सित जहिलै पैसाकै अनिकाल । एक पल्ट त्यहा“ भएका फ्रायडका दर्शन खुबै पढ्न मन लाग्यो, उपाय थिएन, यसोे चोरबाटो खोजें, त्यहींको कर्मचारी श्रीराम भन्ने थियो, त्यसलाई सुटुक्क अलिकति रुपिया“को घुस दिएर ती किताब हात पारेर पढें । त्यसैले पुस्तकहरू जति पनि पढ्न पाइने लोभले तानिए“ प्रश्रित दाइको कोठातिर । उहा“लाई कम्युनिष्ट भन्ने कुरा भन्दा पनि एक जना कलाकार भनेर बुझेको थिए“ ।
हाम्रो कुरा सुनेपछि उहा“ले भन्नु भयो– “पढे हुन्छ, किताब जत्ति छन् ।” अनि उहा“ले मलाई ‘रामराज्य र माक्र्सवाद’ भन्ने राहुल सांकृत्यायनको किताब दिनु भयो । त्यस पछि ‘बोल्गा से गङ्गा तक’ अनि कोनि कुन पाली पुष्पलालले अनुवाद गरेको ‘कम्युनिष्ट पार्टीको घोषणा पत्र’ अनि के–के पढे“ अब थाहा छैन । यसरी कालक्रमस“गै कोनि कहिलेदेखि उहा“ र म एउटा घरको वल्लो र पल्लो भागमा बस्न थालिएछ ।
उहा“कहा“ मैले थाहा पाउ“दा धेरै प्रकारका औजारहरूको सङ्ग्रह नै थियो । चित्र कोर्ने कुची, रङ, विमारी हेर्ने स्टेथेस्कोप, सुई, बिजुलीका संयन्त्र, खोल्ने कस्ने, काठमिस्त्रीका सामान, का“टी, मार्तोल, छिनो, आरीहरू जस्ता अरु के–के ठाउ“ र आवश्यकता अनुसारका औजार सामग्री ।
उहा“ सधैं बिहानै घुमफिरमा जाने, हामी भने अबेला सम्म सुतिरहने । एक दिन विहान फर्केर आउ“दा बाटामा फ्या“किराखेको बिजुली चुलो देख्नु भएछ । वल्टाइ–पल्टाइ हेर्दा काम लाग्ला जस्तो ठानेर उठाएर ल्याउनु भएछ । बिजुली मिस्त्री आफैं हु“दा मर्मत भयो, काम दियो मात्र हैन, धेरै वर्ष त्यसै चुलोमा खाना पनि पाक्यो । पत्रिका छाप्नु पर्ने भए चित्र आफैं तयार, चित्र छाप्ने ब्लक काठ खोपेर आफैं तयार । एक दिन एउटा आपत्कालीन बत्ती भनेर राती बत्ती गएका बेला अभर पर्दा बाल्ने बत्ती ब्याटरी र सानो गुलुपको प्रयोग गरी बनाइकन देखाउनु भयो । व्याटरीको शक्तिले सानो गुलुपलाई बिजुलीकै गुलुपमा खोलेर छिराएको, बटम थिच्ता झुलुक्क बल्ने । मलाई औधी मन परेर एउटा बनाइ मागेर आफ्ना घरमा लगें । राती नानी रु“दा सलाई खोज्न र अरु अभर–सभरमा काम दिन्थ्यो ।
जैले देख्यो– लेखपढ बाहेकको समयमा यस्तै ठाक्ठाक्, ठुक्ठुक् रेट्ने–काट्ने, ठुङ्ने, छेड्ने, खोप्ने, केही न केही गरिरहेको देख्ता अचम्मै पनि लाग्थ्यो । कति नै बेला हामी जस्तो गफिने, सुत्ने, फिल्म हेर्ने, चिया पसलमा गफिने जस्ता कुरामा उहा“लाई देख्न नपाइने । कामकै कुरा लिएर भेट्न आउने सित मात्र उहा“ गफिएर बसेको देख्न पाइने ।
एक दिन विहानको कक्षा भ्याएर कोठा फिरें । उहा“को त त्यही पारा, आरी, मार्तोल, ठाक्ठाक्–ठुक्ठुक् । सोधे“– “दाइ ∕ हैन तपाईलाई सधैं नै यो केको बित्तो हो ? एक छिन खालि बस्नै नसक्ने ∕ कति काम गर्न सक्या होला ∕... ”
यसो मतिर हेरेर मुसुक्क हा“स्तै भन्नु भयो– “काहा“ भन्नु हुन्छ खरेलजी ∕ काम नगरी त बस्नै सकिन्न । चुप लागेर बस्नु परे त म बौलाउ“छु पो ∕ घुम्नेफिर्ने, आराम गर्ने, मोज गर्ने, रमाइलो गर्ने दिन पनि आउलान् नि ...∕ त्यसैका लागि त लागिपरेका छौं । हाम्रो राष्ट्रका सबै जनताले समान रूपमा श्रम गर्ने, आराम गर्ने र मोज गर्ने दिन ल्याउनैका लागि त हामीले धेरै मेहनत गर्नु परेको हो ।”
मसित केही उत्तर थिएन । आफू त्यसताका सम्म एक सामान्य विद्यार्थीको जति मात्रै चेतना बोकेको मनुवाले ती उहा“का समाज परिवर्तन गर्ने तहका कुरा बुझ्नै गारो थियो । चुपचाप कोठामा गए“, खाना बनाएर खाए“ र एक छिन सम्म उहा“का कुरा सम्झ“दै ओछ्यानमा पल्टिरहें ।
नेपाली संस्कृत महाविद्यालयमा अस्थायी जागिरको सम्भावना जुरेछ । एक दिन बक्साबाट धमाधम प्रमाणपत्रहरू निकाल्दै बाहिर थुपार्दै गरेको देखें । एक छिन हेरें । अनि सोधें– “दाइ, यो के गर्न लाग्नु भएको ?”
यसो मतिर हेरेर मुसुक्क हा“स्तै भन्नुभयो– “यी बेच्न लैजानु पर्ने भो ।”
म मनमनमा अलिक दच्किए“ । “कागत, बोतल, टुटा–फुटा सामान बेचो ∕” भन्दै बाटाबाटै कराउ“दै घुम्नेलाई हामी पनि पुराना खातापाता बेच्थ्यौं । के यतिका प्रमाणपत्रहरू यस्तैमा बेच्न लाग्नु भएको होला ? आफैंले चित्त बुझाइन, भनें– “हैन होला ∕ यतिका मूल्यवान चिजहरू किन बेच्ने ?”
उहा“ले भन्नुभयो– “यी कागतहरू कसैले किनी दिएन भने– राख्ताराख्ता माउ लाग्छन्, केही कामका रहन्नन् । कसैकसैले यस्को सस्तोमस्तो भाउ गर्छ र यसैका भरमा सानो जागिर दिन्छ र पेट पाल्न काम दिन्छ । मैले पनि नेपाली संस्कृत महाविद्यालयले किन्ने कुरा गरेको छ, त्यहीं सस्तोमस्तोमै भए पनि बेच्न झिकेको ।”
पछि उहा“ले त्यहा“ नेपाली बिषयको कक्षा लिन थाल्नु भयो, मलाई पनि ताल पर्यो । उहा“ले त्यहा“ पढाइन्जेल नेपाली विषयको कक्षा लिन हामी बाहिरका निकै विद्यार्थीहरू सधैं पुग्थ्यौैं । आफूले नाम लेखाएको सन्यासी संस्कृत महाविद्यालयमा नेपाली विषय पढाउने कुनै व्यवस्था नै थिएन ।
अनि पो सुरु भयो, नेपाली कक्षामा साहित्य, संस्कृति, भाषा, धर्म, विज्ञान, कला र अरु के–के नेपाली लोक गीत, भूतप्रेत सम्बन्धी र देउदेउता अनि अन्धविश्वास जस्ता अनेक विषयहरू माथि चर्चा र चेतनाका कुरा सुन्न–जान्न पायौं । आफू एक धार्मिक, अन्धविश्वासी र रुढीग्रस्त परिवारको मनुवा । मैले विस्तारै सर्पले का“चुली फेरे झैं विचार र विश्वासको का“चुली फेर्दै गए“ । त्यसपछि पो सा“च्चै अध्ययन गर्ने बिषयहरूको चासो पनि बढ्यो । अनुमान गर्न सकिन्छ– एक–डेढ वर्ष उहा“ले त्यहा“ पढाउनु भयो होला र म सम्भवतः शास्त्री प्रथम वर्षको विद्यार्थी हु“दो हु“, नेपाली मेरो दोस्रो विषय थियो । उहा“ सितको त्यति समयको कक्षाले नेपाली भाषा, साहित्य प्रति मात्रै होइन, नेपाली समाज, मानव समाजका हरेक पक्षतिर हेर्ने बुझ्ने, नौलो र प्रगतिवादी दृष्टिकोण जन्म्यो । त्यसलाई प्रयोग गर्ने अभ्यासहरू सुरु भए । उहा“कै प्रशिक्षण र सहयोगमा ‘मिर्मिरे’ नामक साहित्यिक पत्रिका निकाल्यौं । लेखन सम्बन्धी केही प्रशिक्षण मैले त्यसै बेला पाएको हु“ ।
भारतमा उसताका सङ्कटकाल थियो । सबै राजनैतिक सङ्घ–संस्थाहरू प्रतिबन्धित थिए । गतिविधिहरू निषेधित थिए । नेपाली छात्र सङ्घ, पनि त्यसैमा परेर निषेधित अनि गतिविधि शून्य थियो । तर प्रश्रित दाइको कुशलताको प्रयोग भयो– त्यस समयमा । हामीले बाह्य रूपमा सुद्ध, विद्यार्थी र शैक्षिक गतिविधि गर्दै भित्री रूपमा प्रगतिवादी चेतना सम्बन्धी सबै गतिविधिहरू गरेर त्यो वर्षभरि ‘प्रगतिशील अध्ययन मण्डल’को नाममा थुप्रै काम गर्यौं । म अध्यक्ष थिए“ । त्यसैले धेरै जिम्मेदारी र सक्रियता पनि मेरै थियो । तर प्रश्रित दाइको निर्देशन र सहयोगमा हामी तरङ्गित थियौं । प्रत्येक हप्ता गोष्ठी हुन्थ्यो संस्थाको । प्रत्येक गोष्ठीमा प्रश्रित दाइले एक जना एउटा विषयको ज्ञाता विद्वानलाई बोलाउनु भएको हुन्थ्यो र उनले एक घन्टा आफ्नो विषयमा प्रवचन दिन्थे । उसो त बनारस विद्वानहरूको त घारी नै भने हुन्छ । यसै क्रममा एक दुईपल्ट ठूला कामरेडहरू पनि आएका हुन्थे र उनीहरूले भूमिगत जीवन वारे अनुभव सुनाउ“थे ।
छोटोमा नै भन्ने हो भने, त्यो वर्ष हाम्रो चेतनाको, अध्ययनको अनि प्रशिक्षणको र गतिशीलताको सम्झने खालकै वर्ष रह्यो । त्यसै वर्ष हामीले ‘मिर्मिरे’ प्रथम अङ्क प्रकाशित गर्यौं, प्रगतिशील अध्ययन मण्डल प्रकाशक भएर बनभोजको कार्यक्रम सम्पन्न गर्यौं । बनभोज भन्नाले खानु मात्र हुन्थेन । त्यहा“बाट खानाको परिकार बनाउन सिक्ने, कम्ती पैसामा पनि राम्रो र मिठो खानाको संयोजन कसरी गर्ने ? कामहरूको संयोजन कसरी गर्ने ? आदि अन्य चेतनामूलक प्रशिक्षणले व्यस्त हुन्थ्यो वनभोज । त्यसपछि वर्षको अन्त्यमा फागुन ६ गतेमा गर्नु पर्ने नाटक प्रदर्शन । प्रश्रित दाइकै नाटक ‘आमाको काखमा’ नामक मन्च नाटक गर्ने निधो भयो । आफूलाई उस्तरी नाटक अभिनय सिकाउन त कहा“ आउ“थ्यो र ? तर मलाई नाटक सम्बन्धी चाख र धारणा त केही थियो नै, त्यो भन्दा पनि धेर थियो आत्मविश्वास, कि प्रश्रित दाइ नाटकको राम्रो कलाकार हुनु हुन्छ, त्यसैले म अभ्यास थाल्दै गर्छु, दाइ सन्च भएपछि सिकाइ हाल्नुहुन्छ । त्यतिबेला दाइ ओछ्यान पर्नुभएको थियो । हामीले मौखिक सल्लाह मात्रै प्राप्त गरिरहेका थियौैं । जे होस् ∕×× माथि भनिएको आत्मविश्वासकै भरमा काम अघि बढ्यो । मैले साथीहरूबाट कलाकार छानें र अभ्यास सुरु भएको थियो । सिकाउन सजिलो होस् भनेर नै संस्कृत विद्यालयका विद्यार्थी मात्रै छानें, तर संयोगले गर्दा उहा“ हामीले कार्य थालेको बीस दिन सम्म उठ्नु भएन । प्रदर्शन गर्ने भनिएको दिन आउन थोरै मात्र बा“की थियो । उहा“ले दिने आत्मबलकै भरमा म सक्रिय थिए“ अरु सबै साथीहरू मेरा भरमा, म प्रश्रित दाइका भरमा । बल्ल पच्चिस दिनपछि उहा“ उठ्नुभयो । त्यतिन्जेल सम्ममा मैले अभिनय प्रस्तुति र सम्वादमा सबैलाई तयार गरिसकेको थिए“ । एउटा गीत पनि लेखें र सङ्गीतको टा“–टु“ हारमोनियममा पार्दै थिए“ । व्यङ्ग्य प्रस्तुति पनि आफैं लेखेर तयार पारें ‘नेता महात्म्य’ नामको छोटो व्यङ्ग्य नाटक जुन पछि यथार्थ पाक्षिकमा छापिएको थियो । नृत्य तयार हु“दै थियो, पूर्वेली तालमा, पछि प्रश्रित दाइले त्यसलाई अलिक चोटिलो पार्न मध्यपश्चिमको तालमा संसोधित पारेर प्रशिक्षण दिनु भएथ्यो ।
अन्ततः फागुन ६ गते आयो । नाटक प्रदर्शन गर्ने दिन । नाट्य सामग्री, पर्दा, बत्ती, रंगीन उपकरण, ध्वनी विस्तारक यन्त्रहरू सबै जगदम्बा धर्मशालाबाट पाइए । मञ्च नाटकमा रंगीन बत्तीको प्रयोग पनि मैले त्यही बेला सिकें । एउटा प्रश्रित दाइकै गीति नाटक भन्न मिल्ने गीति जुन परदेश जाने दाजु र घर फर्काउने बहिनीको मार्मिक अभिव्यक्ति भएको गीतलाई पनि हामीले गीति नाटकको रूपमा प्रस्तुत गरेका थियौं । दुर्गम भेकका, सिनेमा र नाटक हेर्न नभ्याएका र सामथ्र्य नभएका विद्यार्थीहरूको प्रयोग, उनीहरूको रहर समेतले गर्दा प्रस्तुतिले जीवन्त रूप लिएको थियो । म आफैं समेत ठानेको भन्दा पनि राम्रो प्रस्तुतिले दङ्ग थिए“ । मान्छेहरूको उपस्थिति हेर्दा लाग्थ्यो कि कमिलो हिंड्ने ठाउ“ कतै छैन ।
यसरी वर्षभरिको व्यस्त र सक्रिय गतिविधिबाट हाम्रो उहा“ सितको समय बितेको पत्तै नभई परीक्षा आएथ्यो । परीक्षा बुझाए पछि मलाई चैं घर फिर्नको हतारो परिहाल्थ्यो ।
त्यसैक्रममा एक पल्ट प्रश्रित दाइले भन्नु भयो– “ल खरेलजी ∕ यस पाली म पनि तपाईं सितै जाने ∕”
म मख्ख ∕ प्रश्रित दाइ म सितै मेरो गाउ“ जाने, नभन्दै गयौं पनि । सिलगढीमा रेलबाट ओर्लेर खाजा खायौं । अनि पो उहा“ले भन्नु भयो– “ल खरेलजी ∕ अब म यताबाट झापा पस्ने ...” भनेपछि म अलि बिच्किए“ । भनें पनि– “हैन तपाईंले त ...”, मुसुमुसु हा“स्तै भन्नुभयो– “आउला नि ∕ तपाईंका तिर पनि जाने दिन ∕” भन्दै झोला का“धमा हालेर उहा“ पानीटेङ्की जाने बसतिर लम्कनु भयो । म सिक्किम जाने बस अड्डा तिर । (पछि थाहा पाए अनुसार उहा“ त पुष्पलाल समूह सित मत बाझे पछि मुक्तिमोर्चा समूहको तर्फबाट झापा पसेर झापाली गुट सित सम्पर्क गर्दै पश्चिम गोरखपुर निस्क“दा सात वटा गुट कम्युनिष्टहरू सित नेपाली क्रान्तिका लागि सहकार्यका निमित संयोजन गर्दै जानु भएछ । जुन पछि कोअर्डिनेसन केन्द्रको स्थापना र पछि नेकपा (माले) गठन भएछ ।) अर्को वर्ष होला वर्षे विदामा घरमै हु“दा टेलिग्राम आयो । “तुरुन्त खर्साङ आउनू ∕” घरबाट वरपर जाने भने पछि हिंडेर जाने ठाउ“मा त हिंडेर पुगिन्थ्यो तर खरसाङ । गाडी भाडा चाहिन्थ्यो, खानु–पिउनु पथ्र्यो, पैसो धेरै दुर्लभ थियो ।
बाबु आफ्ना समयका राणाविरोधी आन्दोलनका नेता–कार्यकर्ता । राजा समर्थक । पाको उमेरमा भारत चीन युद्धले भारतमा कम्युनिष्ट विरोधी प्रचार–प्रसारको भावनात्मक शिकार र पछि नक्सलवादी आन्दोलनको भुक्तभोगी हु“दा कम्युनिष्टको ‘क’ मात्रै पनि एउटा आतङ्कको रूप मान्नु हुन्थ्यो । त्यो स्थितिमा प्रश्रित दाइले बोलाएको भनेर बाटा खर्चको व्यवस्था हुने त कुरै थिएन । आखिर अभरमा सहयोग आफ्नै अद्र्धाङ्गीनीबाट व्यवस्था भए पछि भोलिपल्ट सखारै टाप कसें । खरसाङ पुगें । प्रश्रित दाइ पहिले नै त्यहींका कामरेडहरूबाट गोरखपुर सम्मको रेलको पास बनाएर हिड्न ठिक्क । कुरा के रहेछ भने– शान्ता दिदी (मानवी) विमारी भइछन् । भूमिगत कार्यकर्ता हु“दा उपचारको निम्ति खरसाङका डा.गोकुल योन्जनको सहयोग लिन त्यहा“ अस्पतालमा राखिएको रहेछ । त्यहा“ हेरचाहका निमित साथी चाहिएकोले मलाई झिकाइएको रहेछ । म त त्यतिकै दौडेर बिना कुनै तयारी आएको विमारी रुङ्नु भनेको सुन्दा खङ्ग्रङ्ङ भए“ । खर्चवर्चको नाममा आउने जाने भाडाको मात्रै व्यवस्था थियो । ‘जेहोस् ∕’ भनेर लागें अस्पतालतिर उकालै उकालो । प्रश्रित दाइ रेलमा चढेर टाप् । अस्पताल पुग्दा त शान्ता दिदीको भर्खरै छुट्टि भैसकेछ र उनी झरिछन् डा. गोकुलको क्लिनिक तिर । म चैं अब यी विमारी यहा“बाट छुटेर कता लागिन् भनेर खोज्दै उतै झरें डा. गोकुलकै क्लिनिकतिर । शान्ता दिदी त्यहीं रहिछन् । छुट्टी त भए छ नै, अब के गर्ने हो ? एक छिन घोत्लिए“ । अनि उनलाई भनें– “ल दिदी ∕ जाउ“m मेरा घरतिर । अलि दिन बस्ने, स्वास्थ्य लाभ गर्ने, अनि फर्किने । उहा“ सित पनि विकल्प थिएन । अनि हामी झर्यौं, रातसा“झ विजनवारी पुग्यौं । एक जना चिनजानको माडवारीकोमा वास बस्यौं । भोलिपल्ट घर पुग्यौं । तीज छेक थियो क्यार ∕ मैले पनि तीजमा चेली ल्याएको भनें घरमा । आठ–दस दिन के बसेकी थिइन् शान्ता दिदीलाई केको उखरमाउलो पर्यो ? बस्नै मान्नु भएन । अनि लगेर दार्जिलिङ सम्मको गाडीमा बसाइ दिए“ ।
अर्को वर्ष वर्षे विदाकै बेला हो, फेरि घरमा टेलिग्राम, ‘तुरुन्त आउनू डा. गोकुल योन्जनकोमा’ । समय भनेको पनि त्यस्तै हो तर जहिल्यै मलाई खर्चकै समस्या हुन्थ्यो । जुन जुटाउन फेरि धौ–धौ ।
उही अर्धाङ्गिनीकै माइतीबाट पाए–ल्याएका केही रूपैया“ मागी फेरि लागे“ उकालो । आफू खरसाङ पुग्दा प्रश्रित दाइ फेरि फर्किन ठिक्क । एक छिन कुराकानी भयो । “एक जना भूमिगत कार्यकर्ता कमरेडलाई पेटमा चर्को समस्या उठ्यो । यहा“ केही दिन राखियो डा.गोकुलको सक्रियतामा । यहा“को अस्पतालले अपरेसन नै गर्नुपर्ने ठहर गरेर दार्जिलिङ सदर अस्पताल पठाउने भयो । अब त्यहा“को उपचारमा कति दिन लाग्छ तपाईंले हेरचाह गर्नुपर्ने भो ।”
भन्न त उहा“ले सजिलै भन्नुभो, तर म यो शहरवासी होइन, र आर्थिक रूपमा आत्मनिर्भर पनि होइन, कतिदिन लाग्ने हो यो उपचारमा ? न त खल्ती पोटिलो, भित्र भित्रै म खङ्ग्रङ्ङ भए“ । उहा“लाई भन्ने कुरा पनि थिएन । मैले विमारी कामरेड जिम्मा लिएर लागे“ दार्जिलिङ तर्फ । उहा“लाई भर्ना गरेपछि मैले चिनेका एक जना दार्जिलिङ माकपा जिल्ला कमिटिका कामरेडलाई गुहारें । “यी नेपालका भूमिगत कार्यकर्ता हुन् । यिनलाई राम्रो सहयोगको खा“चो छ । यहा“को माध्यमबाट अस्पतालमा पनि सर–सहयोगको वातावरण मिलाइ दिनु पर्यो ।”
उनीहरूकै मान्छे त्यहा“ ठूला डाक्टर पनि रहेछन् । जा“चबुझ राम्ररी भयो । भोलिपल्ट जा“चबुझको परिणाम आएपछि थाहा भयो कि उहा“को अपरेसन नै गर्नु नपर्ने देखियो र एक महिना सम्मको औषधी सेवनले निको हुने कुरा आयो । सहयोग गर्ने भन्दा पनि म आफ्ना समस्याले गर्दा गुफा भित्र थुनिए झैं भएको थिए“ । डाक्टरको कुराले म कम्ती खुसी भइन । हस्याङ–फस्याङ गर्दै उहा“लाई चाहिने औषधीहरूको पोको झोलामा खा“दखु“द पारी हामी तल वस अड्डामा झर्यौं । घुमपहाड सम्म मात्र म उहा“को साथ थिए“ । प्रश्रित दाइले मलाई “हाम्रै कमरेड” भनेको थियो क्यार । उनले मलाई कोअर्डिनेसन केन्द्रका दस्तावेजहरू हात लाई दिने वाचा गर्दै हामी छुट्टियौं । म ओरालो जाने गाडीमा झरें ।
उहा“ वास्तवमा को हो ? मैले मनमा चासो गर्दा पनि पत्तो पाउन सकेको थिइन । शङ्का मात्र थियो कि, ताप्लेजुङ, पा“चथर, इलाम र झापामा भूमिगत जीवन भोग्दा लेखिएका सन्जय थापाका कृति पढ्दा उहा“ नै हो कि जस्तो लागेको हो, तर त्यो अनुमान मात्रै न थियो । धेरै पछि २०६७ कार्तिक १० गते राती प्रश्रित दाइसित भेट भएर पुराना कुराहरू खोतल्दा मैले सोध्याथें– “सा“च्ची, प्रश्रित दाइ ∕ ती कामरेड को थिए ?”
उहा“ले भन्नुभएथ्यो– “अझसम्म थाहा पाउनु भएकै छैन ? ती प्रदीप नेपाल हुन् ।”
एउटा अचम्मै प्रकारको सामन्जस्यताको क्षमता छ उहा“सित । साहित्यिक क्षेत्रका हुन् कि, राजनैतिक क्षेत्रका, सांस्कृतिक फा“टका हुन् कि औषधी, हरेक फा“टमा, देशमा, विदेशमा टुङ्गो–टुङ्गोमा उहा“प्रति हुरुक्क हुने सहयोगीहरू भेटिन्थे । मान्छेलाई प्रभावित पार्ने, आफ्ना विचार र बाटो प्रति चुम्बकले झैं तान्ने क्षमताका परिणामहरू ऐले देश र विदेश भरि छन्– जहा“–जहा“ उहा“ पुग्नु भएको छ । उहा“को नामले नै भूमिगत कालमा देश र विदेशमा मान्छेहरूलाई जोड्थ्यो, गा“स्थ्यो र सहयोगी बनाउ“थ्यो ।
२०३५∕३७ताका हामी अद्र्ध भूमिगत रूपमा पार्टीको काम गर्दा उहा“का रचनाको जादूले हामी अरुलाई प्रभावित पारेर काम गथ्र्यौं । युद्धप्रसाद मिश्रका कविता र मोदनाथ प्रश्रितका किताब लेख, कविता र गीतहरूको भूमिका मान्छेहरूलाई आन्दोलित पार्न, चेतनशील र सङ्घर्षशील बनाउन, मान्छेहरू बलिदानको भूमरीमा ओराल्ने काममा ती रचना सामग्रीहरूको भूमिका यहा“ लेखेर साध्य छैन । रचनामा कत्रो शक्ति हुन्छ भन्ने कुराको बोध असङ्ख्य नेपाली जनताले र कार्यकर्ताले व्यक्त नगरे पनि आत्मसात गरेका छन्, सहयोग लिएका छन् । एउटा समय थियो २०३० देखि २०४५ सम्म मोदनाथ प्रश्रितका सामग्री, पुस्तक, मान्छेहरू हातहात सारेर, सन्चारित पार्थे, पूजाको प्रसादी झैं, पन्चामृत झैं पढन–सुन्न, हात पार्न हुरुक्कै हुन्थे । उहा“का पछिपछि युद्धप्रसाद मिश्रका कविताहरू समेत दगुरीरहेका हुन्थे । त्यही भएर बनारस कालीन रचना र पुस्तकहरू यसै क्रममा मसित भएका सबै भूमिगत भएर उम्किए । समय र सन्दर्भ परेर आएका वा लेखिएका शब्द–शब्दको शक्ति अतुलनीय हुने रहेछ । मलाई प्रश्रित दाइको एउटा गीत सारै मनपथ्र्यो कण्ठै थियो । मुलुकमा बहुदलीय व्यवस्था आएपछि पुनः प्रकाशित भएर हो क्यार, त्यो मलाई मन पर्ने गीतको शब्द फेरिएछ । मलाई लाग्यो कि एउटा लाग्ने हतियार खिया लागेर भुत्ते भएछ । यो गीत हो–
कस्ले भन्छ छोरीको हारेको जुनी, बल्ल बुझें बन्दुक नबोकी नहुने ।
पछिको संस्करणमा ः
कस्ले भन्छ छोरीको हारेको जुनी, बल्ल बुझें सङ्घर्ष नगरी नहुने ।
उहा“ भन्नु हुन्थ्यो– “यो गीत छोरीको हारेको जूनी दैलो कुचो नगरी नहुने ।” गीतको प्रतिवादमा लेखिएको हो ।
मलाई यो बन्दुक बोक्ने ठाउ“मा सङ्घर्ष गर्ने शब्द नै भुत्ते लाग्यो । आखिर माओवादीहरूले महिलालाई बन्दुक बोकाइ छाडे त ∕ यद्यपि बन्दुकवाद सधैं नै अपरिहार्य त होइन तर कति कुराको उपचार त बन्दुकमै रहेका उदाहरण भने नपाइने होइन ।
मेरो बनारस बसाइको अन्तिम वर्ष जस्तो लाग्छ– ऐले वर्षे विदा भ्याएर बनारस पुगेकै भोलिपल्ट विहान एक जना विराटनगरे साथी माधव थापाले गल्लीमा भेटे पछि पाखुरा च्याप्प समातेर भने– “ए खरेल ∕ ल हिड् उता ∕ म त“लाई एउटा ऐतिहासिक कृति देखाउ“छु ∕”
मलाई समातेरै केही पर पुगे पछि भित्ता तिर माथि देखाए– “ऊ हेर् त ∕ यो पक्कै पनि प्रश्रित कै हो ∕”
चित्र माथि हातले नभेटाउने गरी सम्भवतः सिंढीमा चढेर टा“सेको हुनुपर्छ । ठुलो कागतमा बनाएको त्यस चित्रमा सिंहासनमा बसेका राजा बीरेन्द्र, अगाडि अलिक पर्तिरै विश्वेश्वरप्रसाद कोइराला हात जोडेर निहुरिएका, निहुरिंदा उहा“को गर्दन चैं जिराफको जस्तो, मान्छे वरै भए पनि लामो जिराफमार्का गर्दनले टाउकोलाई झुकाएर राजाका पाउनेरै पुर्याएको र पछिल्तिर पुष्पलाल उभिएका र उनले बीपीलाई आत्मसमर्पण गर्न नजानू भनेर खुट्टा समातेर तान्दा उनका हातमा बीपीको एउटा जुत्ता मात्र परेकोले उनी छक्क परेका ।
उनताका पुष्पलालले बेलाबखत वीपीकहा“ भेट गर्न गएको हामी सुन्थ्यौं । पन्चायत विरोधी कार्यक्रमहरूमा एकै मन्चमा रहेर भाषण गरेको हामी सुन्थ्यौं । अनि पुष्पलाल चैं बीपीस“ग पन्चायत विरोधी क्रान्ति वा आन्दोलन गर्दा मिलेर गरे मात्र जितिन्छ, हामी एक्लाएक्लै लड्न खोज्दा राजालाई नै फाइदा हुने हु“दा संयुक्त आन्दोलन गर्ने कुरा गरेर भनेको पनि सुन्थ्यौं । साथै हामी के पनि सुन्थ्यौं भने कम्युनिष्ट शब्दस“ग वीपी तर्सन्थे । उनी बरु भारतको सहयोग लिएर राजतन्त्र गुल्टाउन चाहन्थे । त्यस सम्बन्धी उहा“को उसताका गोरखपुरमा दिएको एउटा वक्तव्य छापाहरूमा आएथ्यो– त्यो पढेर यो पङ्क्तिकार समेत अचम्ममा परेको थियो । वीपीले त्यहा“ भनेका थिए– “भारतले वंगला देशलाई जस्तै नेपालमा पनि क्रान्ति गर्न सहयोग दिनुपर्छ ।” हुन त यो एक शिखर राजनेताको भनाइ हो । भन्नेहरूले यस भनाइलाई अनेक अर्थमा बङ्ग्याएर राष्ट्रवादी पार्न खोजेका हुन्, कति नेकाका नेताहरूले त्यो छापाले मिस्टेक गर्यो, पनि भने । तर आफूले बुझेको कुरा के थियो भने– एक स्वाधीन र सार्वभौम सत्तासम्पन्न राष्ट्रलाई विदेशी हस्तक्षेप निम्त्याएको– भन्ने लागेर निकै रन्थनिएकै थिए“ ।
माधव थापाले त्यो प्रश्रित दाइको चित्र देखाउ“दै भनेका थिए– “यो एउटा ऐतिहासिक चित्र हो, यसलाई झिकेर जतन सित राख्नुपर्छ ।” त्यो चित्र त्यति बेलै झिकिहाल्ने कुरा मन परे पनि दुईटा समस्या थिए, एक, त्यो प्रचार निमित टा“सिएको थियो र दुई, बिना सिंढी त्यो झिक्न पनि सम्भव थिएन । अलिक पछि एउटा सिंढी खोजेर यसलाई झिक्नु पर्ला भन्दै हामी छुट्यौं, तर केही दिन पछि त्यो चित्र त्यहा“ देखिन छाड्यो । चित्र जसले लगे पनि त्यसले आफ्नो राजनैतिक तरङ्ग त छाडि सकेकै थियो । भर्खरै बीपीको नेपाल फिर्तिको ऐतिहासिकतालाई छोटो सिनेमाको भूमिका निर्वाह भइसकेको थियो । व्यङ्ग्य चित्रहरूको महत्त्व र त्यसको ऐतिहासिकताको कुरामा म निकै सम्वेदनशील हुने गर्छु ।
प्रधानमन्त्रीका रूपमा गिरिजाप्रसाद दिल्ली गएका थिए । मुलुकमा भारतले कालापानी भूमिमाथि गरेको थिचोमिचो वारे चर्को स्वर उठिरहेको थियो । सायद यसै बेला कान्तिपुरमा वात्स्यायनको एउटा व्यङ्ग्य चित्र छापियो । चित्रमा “असल छिमेकी” शीर्षकमा बन्दुक बोकेको अटलविहारी वाजपेयी भारतीय क्षेत्र लेखेको पीरा छाडी कालापानी लेखिएको पीरामा गैंडा मार्काको चाक राख्न पुगेका छन्, र गिरिजाप्रसाद कोइराला फट्याङ्ग्रे मार्काको चाक कालापानीको पीरामा हात बा“धेर भलाद्मी पारामा बस्न खोजेको तर ठाउ“ सबै वाजपेयीले ओगटेकाले ठाउ“ नपाएको अवस्था छ । एउटा सानो चित्रले कत्रो ठुलो इतिहास र राजनीतिको प्रतिनिधित्व गरिराखेको हुन्छ ∕ आज पनि त्यो कान्तिपुरको कागतको टुकुरो मसित सुरक्षित छ र कहिलेकाहीं झिकेर हेर्न मन लाग्छ ।
बनारसकालीन प्रश्रित दाइ सितका सम्झना र गतिविधिका कुराहरू वारे कुरा गर्दा यी त केही टिपोट मात्रै हुन् । सबै त लेखिसाध्य पनि छैनन् । उहा“को व्यक्तित्व, चरित्र अनि क्षमता र योगदानका सबै कुरा सम्झने बटुल्ने हो भने थोरै समयकै भए पनि एउटा ठुलै पोथी बनिन सक्छ । उहा“लाई यसै सम्झ“दा पनि चरित्र क्षमता बौद्धिकताको विराट स्वरूपको निर्माण हुन्छ । एउटा स्वाभिमान, स्वावलम्बन र स्वनिर्भरतामा छाति ठोकेर बा“च्ने र युगलाई चेतनाको दीप्ति बा“ड्ने अत्यन्त मेहनती यी युगपुरुष भन्दा हुने व्यक्तित्व जिउ“दो मान्छेको पर्याय भन्नुपर्छ यी मोदनाथ प्रश्रितलाई ।
हिजोआज पो सुन्छु म– उहा“ वर्षमा कैयौं पटक दुबै पतिपत्नी मिलेर मुलुकका बिभिन्न गाउ“तिर पस्नुहुन्छ, त्यहा“ स्वास्थ्यवद्र्धक योगहरू सिकाउनुहुन्छ, आयुुर्वेदिक पद्धतिबाट आफ्ना गाउ“ठाउ“मा पाइने र आफूलाई चाहिने ओखती बनाएर खान सिकाउनु हुन्छ । जडिबुटीको संरक्षण वारे सिकाउनु हुन्छ ।
झापा जिल्ला अधिराज्यमै जनजाति र आदिवासीहरूको क्षेत्र र थलो हो । त्यसमा पनि मेचीनगर नगरपालिका क्षेत्र आदिवासीहरूको बाक्लो वसोवास भएको भेग हो । कातिकमा अचानक प्रश्रित दाइ तिनै आदिवासी मध्ये दुईटा जातिहरूको भाषा, संस्कृति र राजनैतिक चेतना वारे खोज गर्न आउनु भएको बेला अलिकति भेट भएको थियो । अत्यन्त व्यस्त रहने उहा“को बानीलाई हामीले ऐले पनि उतिकै पायौं ।
एउटा मध्ययुगीन सामन्तवादी राजतन्त्रात्मक शासन व्यवस्था विरुद्ध धनले होइन, आ“टले, श्रमले, योग्यताले, सीपले, कलाले र कठिन भन्दा कठिन सङ्घर्षपूर्ण जीवन पद्धतिले हा“क दिने, हरेक कष्टहरू स्वभाविक ठानेर सहने, जम्मै भोगेका कष्टहरूलाई सकारात्मक रूपमा स्वीकार गर्दै सकारात्मक नै परिणाम बटुल्न खोज्ने एक जिउ“दो बिम्बका रूपमा हेर्नु पर्ने म ठान्छु ।
इतिहास र संस्कृतिको विद्वान, साहित्य र राजनीतिको महारथी, एक कुशल शिल्पी, अन्वेषक, लेखक, कवि, समालोचक अनि विश्लेषक मोदनाथ प्रश्रित नेपाली इतिहासका देवकोटा र पारिजात पछिका अनि कसैले ओझेल पार्न नसक्ने उज्यालो उदाहरण हुन् । युगले दिएको एउटा दुर्लभ चरित्रको मान्छे, जिउ“दो मान्छे, गतिशील मान्छे, मेधावी मान्छे, र अरु पनि मान्छेहरूलाई गतिशील र ज्यू“दो रहीरहन सिकाउने प्रेरक मान्छे यी मोदनाथ प्रश्रित, कोनि यस्ता बहुमुखी प्रतिभा र क्षमताशाली मान्छे हाम्रा मुलुकमा अरु कति होलान् ∕ महापुरुषको संज्ञा कस्तालाई दिइन्छ ? देशभक्तहरूका यस्ता झरिला उदाहरण अरु को–को होलान् तथा कति होलान् ?
नेपाली राजनीतिको सत्ता भनेको च्यवन ऋषिझैं भ्रष्टाचारका धमिराले पुरिने र धन र श्रीबाट दुबै विवेकका आ“खा फुटेका अन्धाहरू बस्ने ठाउ“ प्रमाणित भई आएको छ । बरु त्यहा“ बस्ने अन्धा प्रमुखहरूले राष्ट्र निर्माण निम्ति मोदनाथ प्रश्रित जस्ता शुक्राचार्यको नीतिलाई मात्रै अनुसरण र लागु गरी दिए दसै वर्षमा यो मुलुक स्वाभिमान पूर्वक घु“डा टेकेर भए पनि आफ्ना बलबुता र आफ्नै खुट्टामा उभिएर हिड्न थाल्ने थियो ।

मेचीनगर–१०, का“करभिट्टा

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 2 भाद्र, 2073

लेखकका अन्य रचनाहरु