समसामयिक दृष्टिका आधारमा हाते चिठ्ठीको अध्ययन

- हेमन्तकुमार नेपाल

अंग्रेजी करेन्ट शब्दको नेपाली पर्यायका रूपमा प्रयोग गरिने समसामयिक शब्दको कोशीय अर्थ एकै समयको वा एकै समयसँग सम्बन्धित भन्ने गरिएको पाइन्छ । सामयिक शब्दमा सम उपसर्ग अघि लगएर समसामयिक शब्द बनाइन्छ । सम उपसर्गका समान, सादृश्य, तुल्य, निष्पक्ष, तटस्थ, बराबरी दर्जाको आदि अनेक अर्थ गर्न सकिन्छ । त्यसरीनै सामयिक शब्दका समय सुहाँउदो, समयका दृष्टिले उपयुक्त, समयानुकूल, निश्चित समयमा हुने या गरिने कार्य आदि विभिन्न अर्थ लगाउन सकिन्छ । यसलाई आधार बनाएर हेर्दा समसामयिक शब्दका समान समयको, समान समयसँग सम्बन्धित, बराबरी समय भएको, निश्चित समयमा निर्धारित एवं निर्मित, समय सङ्गतिका आधारमा उपयुक्त आदि बिभिन्न अर्थ गर्न सकिने सम्भावना देखिन्छ । वास्तवमा व्यवहारिक एवं प्रविधिक रूपमा अंग्रेजीको करेन्ट अफेअर्स शब्दको नेपाली पर्यायका रूपमा समसामयिक गतिविधि शब्दको प्रयोग गर्दछौं । अतः समसामयिक भन्नाले भर्खरैको, हिजोआजको, हालसाल भएको घटना, गतिविधि आदि अर्थ बुझ्ने गर्दछौं । लाक्षणिकताका आधारमा विभिन्न कालखण्डसँग सम्बन्धित घटनाक्रमलाई वा इतिहासलाई वर्तमानसँग जोड्ने आधारस्तम्भलाई पनि समसामयिक प्रविधि भन्न सकिन्छ । त्यसैले यहाँ सानु भाई शर्माको हाते चिठ्ठी भित्रका केही प्रतिनिधी लेखहरूको वर्तमान कालअनुरूप समयसापेक्षताका आधारमा अध्ययन गर्ने प्रयत्न गरिएको छ ।
व्यवसायिक अभियन्ता भएपनि साहित्य सेवालाई जीवनको प्रमुख उद्देश्य मान्ने सानु भाई शर्मा भारतीय नेपाली साहित्यका एक प्रखर हास्य-व्यङ्ग्यात्मक कृतिका स्रष्टा हुन् । उनका कृतिहरूमा समाजका स्थितिहरू व्यङ्ग्यात्मक ढङ्गले चित्रित भएको पाइन्छ । लेख एवं कृतिहरू भित्र हास्यात्मक भावको फोस्रो मनोरञ्जनका निम्ति मात्र प्रयोग नगरेर व्यङ्ग्यलाई सबल बनाउनका निम्ति प्रयोग गरिएको पाइन्छ । शर्मा आख्यानात्मक एवं निराख्यानातमक दुवै प्रवृत्तिका कृतिका स्रष्टा भएपनि साहित्यकारिताको दक्षता निराख्यानात्मक प्रवृत्तिका कृतिहरूमा देख्न पाइन्छ । उनका “हाते चिठ्ठी” भित्रका रचनाहरूमा कतै आख्यानात्मक धर्म र कतै निराख्यानात्मक धर्म पाइन्छ । त्यसैले यस सङ्ग्रहका सृजनाहरू कुनै कथा जस्ता देखिन्छन् भने कुनै निबन्ध समान आत्मापरक रचनाहरू हुन् भन्न सकिने देखिन्छन् । आफुले देखेका, जानेका र भोगेका अनुभव एवं अनुभूतिलाई साहित्यिक रूप दिएर हास्य-व्यङ्ग्यात्मक ढङ्गमा लेखिएका यस सङ्ग्रह भित्रका सृजनाहरूमा प्राय निम्न मध्यम वर्गीय व्यक्तिहरूको दिनचर्यालाई अभिव्यक्त गरिएको पाइन्छ । स्थानीय सिक्किमेली परिवेशको चित्रण पाइने उनका सृजनाहरूमा आर्थिक स्थितिका आधारले निम्न वर्गका व्यक्तिहरूले भोग्नु परेको समस्या, मानिसको परजीवि प्रवृत्ति, उच्च ओहोदाका सरकारी कर्मचारीहरूद्वारा निम्न वर्गका कर्मचारीहरू प्रति गरिने दुर्व्यवहार, औद्योगिकता एवं सभ्यताका नामले खोक्रिँदै गएको समाज, समाज सेवाका नामले गरिने अपराध, व्यवसायिकता एवं व्यस्तताका कारणले संकुचित हुँदै गएको मानवीय विचार, मानिसको आडम्बरीपना, राजनैतिक एव कुटनैतिक प्रभाव, दुर्वल प्रशासनिक प्रभाव आदि प्रति व्यङ्ग्य गरिएको पाइन्छ । नेपाली झर्रा शब्को प्रयोग गरेर साहित्य सृजाना गर्न रुचाउने शर्माका रचनाहरूमा ग्रामिण परिवेशमा प्रयोग गरिने चोखा-मीठा ठेट स्थानीय नेपाली शब्दको प्रयोग गरिएको पाइन्छ । रचनाहरूले प्राय आजभन्दा निकै अधिको समयको सङ्केत गरेपनि प्रभावका आधारले वर्तमान एवं भविष्यका निम्ति सापेक्ष एवं उपयुक्त छन् भन्न सकिन्छ । अतः शर्माका रचनाहरू त्रिकालिक प्रभाव उत्पन्न गर्न सक्षम रएका छन् भन्न सकिन्छ । सिक्किमेली परिवेशका समसामयिक कालका प्रमुख समस्याहरूमा गाउँलाई त्यागेर सहरतिर प्रवेशको प्रवृत्ति, मानिसको व्यस्तताका कारणले हराउन लागेको मनवीय मूल्य, अर्थहिनता, औद्योगिकताको कारणले ह्रास हुँदै गएको पर्यावरण, अन्धानुकरण, उच्च ओहोदाका व्यक्तिहरूद्वारा गरिने निम्न ओहोदाका व्यक्तिहरूको शोषण, एकाकीपना आदि पर्दछन् यस्ता समस्याहरूलाई अभिव्यक्त गर्न “हाते चिठ्ठी” संग्रहका रचनाहरू सफल छन् ।
उच्च आकाङ्क्षाको कारणले मानिसको गान्तोक शहर प्रवेशको प्रवृत्तिलाई सानु भाई शर्माले व्यङ्ग्यात्मक ढङ्गले अभिव्यक्त गरेको पाइन्छ । जस्तै-
घर अघि आएर घ्याच्च मोटर विसाएर फुत्त बाहिर निस्केर ऊ घरतिर लाग्यो । आजभोलि उ त्यहाँ बिरलकोटिनै बस्छ । धेर जसो गान्तोकको सेतो कोठीमा नै बस्छ ।... आदि (अतीत र वर्तमान)
ग्रमीण परिवेश पनि भौतिक उपलब्धिका आधारले गान्तोक शहर भन्दा कम छैन । पहिलाको फारस आज मानिसले भरिएको पाइन्छ । गाउँलाई गान्तोक शहरसँग जोड्ने मार्ग निर्माण भएको छ त्यसैले गाउँमा मोटर बस आदिको खाँचो हुँदैन । विद्यार्थीहरू चाहे भने गाउँ बाटै गान्तोकको पाठशाला आउन जान सक्छन् तर मानिस गान्तोक शहरको कोठीमै बस्न रूचाउछन् । आफ्ना पूर्खाले समग्रजीवन गाउँलाई भौतिक उपलब्धिले सम्पन्न बनाउन सुम्पिएका छन् त्यसैले रेसी र रानी जस्ता खोलाले उनीहरूको जीवनलाई लुकाई सकेका छन् । परिश्रम गरेर प्राप्त गरेको प्रगती अधिक सुविधाको कारणले ह्रास हुँदै गएको छ । अहिले मानिसको उद्देश्यको निश्चितता छैन । जीवनको उद्देश्य दोधारमा छ वा मानिस जीवनदेखि ससङ्कित छ । पहिला उद्देश्य लक्षित थियो त्यसैले सोद्देश्य जीवन थियो । मानवीय जीवन एक्लो थिएन सोद्दोश्य थियो तर अहिले मानवीय जीवन निरूद्देश्य हुनाले नितान्त एक्लो भएको छ भन्ने यहाँ समसामयिक समस्या अभिव्यक्त भएको पाइन्छ ।
जहाँ मनवसमूदयको बास हुन्छ त्यसलाई समाज भनिन्छ । समाजमा कतिपय मानिसहरू अन्य मानिसहरूसँ नमिल्ने प्रवृत्तिका पाइन्छन् । यस्तो समस्या समाजमा प्रचीनकालदेखि अध्यावधि यथावत रहेको पाइन्छ । यस्ता प्रवृत्तिका मानिसले आफु स्वयंको प्रगती गर्न सक्तैनन् । यस्ता मानिसहरूलाई आफ्नै जीबाका माध्यमले यसरी शर्माले अभिव्यक्त गरेका छन्-
“मान्छे र धूवाँ खप्न नसक्ने मान्छे त काम लाग्दैन पो हो, नाति........ (आगो र धूवाँ)
भनाइको आसय के हो भने जसरी आगोको धूवाँ सहन गर्न नसक्ने मानिस आगो ताप्न सक्तैन त्यसरी नै अन्य मानिसको मनोभाव नबुझ्ने र अन्य व्यक्तिले गरेको कार्यको मूल्याङ्कन गर्न नसक्ने मानिस मानव समाजमा बस्न सक्तैन । शर्माले आगो र धूँवा लेखका माध्यमले आफ्नु काम कुशलता पूर्वक नगरेका वा कदापि नगर्ने व्यक्तिहरू नै यस्ता प्रवृत्तिका हुन्छन् । यस प्रकाकरो प्रवृत्ति हुनाले गर्दा बाह्य सौंन्दयसँग अनभिज्ञः हुन्छन् र आँफैमा कुण्ठित हुन्छन् भन्ने त्रिकाल सापेक्ष व्यङ्ग्य प्रस्तुत गरेको पाइन्छ ।
यसरी नै आर्थिक स्थितिले सम्पन्न भएका मानिसहरूको असीमित इच्छा र अर्थ हीन मानिसहरूको दैनिक समस्यालाई यसरी व्यक्त गरेको पाइन्छ-
निकै हुने खानेलाई यस्तो याममा कता आफलूँ भइराखेको अर्थ विटालाई सिटाजस्तो गरी बालेर त्यसको उत्ताप ताप्ने सौभाग्य प्राप्त हुन्छ भने नहुनेलाई यसको प्रकोप थाम्न ‘बाबै किरी’ हुन जान्छ । यसो घर बडार कुँडार गर्ने र साह्रै स्वादिष्ट नभए पनि अंग्रेजी पद्धतिकोसम्म खानेकुरा बनाउने ढंग भएको कुनै न कुनै प्रकारको मानव आकृति घरमा राख्ने हेक्का भएको मान्छे आफू । (रहरहरू पुग्दै जानछन्)
यस भनाइले रहर र बाध्यता दुई दुई कुरालाई संकेत गरेको पाइन्छ आर्थिक स्थिति सम्पन्न भएका व्यक्तिहरूमा रहर हुन्छ, आडम्बरी पना हुन्छ र आलस्य हुन्छ । त्यसरी नै अर्थ हिन व्यक्तिहरूमा बाध्यता हुन्छ । त्यसैले अर्थ हिन व्यक्तिलाई बाध्यताले नोकर र सम्पन्न व्यक्तिलाई रहरले मालिक बनाउछ । यसरी समाजमा अर्थ सामर्थ्य र अर्थ हिनताका आधारमा मानिसमाझमा भिन्नता आउँछ भन्ने समसामयिक कालको प्रमख समस्या ‘रहरहरू पुग्दै जान्छन’ लेखका माध्यमले अभिव्यक्त गरेको पाइन्छ ।
मानिसको आडम्बरी पना समसामयिक कालको प्रमुख समस्या हो । अरू मानिसलाई देखाउने उद्देश्यले मानिस आडम्बरी प्रवृत्तिमा लिप्त भएको पाइन्छ । यस्तो निरूदेश्य प्रदर्शनका निम्ति अपनाएको आडम्बरी पनले मानिसलाई समस्याग्रस्त एवं पतनको मार्गमा लैजान्छ भन्ने व्यङ्ग्य ‘यसरी विते दिन र रात’ लेखमा पाइन्छ ।
उच्वर्गका सरकारी कर्मचारीहरूले आफुभन्दा निम्न वर्गका कर्मचारिहरूले दिन-रात खटेर गरेको कार्यको उचित मूल्याङ्कन नगर्ने प्रवृत्ति अद्यावधि यथावत छ । निम्न वर्गका कर्मचारीहरूलाई बडोत्तरिको आशा हुन्छ । बडोत्तरिको प्रलोभनको कारणले आफ्नु परिवारलई समेत समय नदिएर सरकारी कामका निम्ति दिन-रात परिश्रम गर्दछन् । कुनै पनि कार्यको कार्यभार समग्र तल्लो वर्गका कर्मचारीहरूलाई थोपरिएको हुन्छ । उनिहरू सँधै आम मानिस र आफ्ना उच्च वर्गको कर्मचारी (अफ्सर)-का माझमा चेप्टिएका हुन्छन् । त्यसैले यिनिहरूले आफ्ना अफ्सर र आम मानिस दुवै पक्षलाई रिजाएर कार्य सकुसल सम्पन्न गर्नुपर्ने मध्यम मार्ग अपनाउनु पर्ने हुन्छ । बडोत्तरिको प्रलोभन र विवशताको फाइदा उठाएर उच्च वर्गका कर्मचारीहरूले निम्न वर्गका कर्मचारीहरूको शोषण गरेको समसामयिक कालमा प्रतिदि देख्न पाइन्छ । यो समस्या संसारका सम्पूर्ण विकासशिल प्रदेशहरूको हो । यस्ता प्रवृत्ति भएका उच्च ओहोदाका सरकारी कर्मचारीहरू प्रति व्यङ्ग्य प्रहार गर्दै शर्माले ‘हुरी र लिंगुरो’ कथाको रचना गरेको पाइन्छ ।
बेरोजगार समसामयिक कालको सबैभन्दा ठूलो समस्या हो । त्यसरीनै मालिकलाई इमान्दारी ड्राइबर एवं अन्यकर्मचारी पाउनु ठूलो चुनौति हो । रोजगारको कारणले युवावर्गको शोषण प्रतिदिन भइरएको पाइन्छ । शोषित हुनुको प्रमुख कारण आर्थिक आवश्यकता हो । आर्थिक आवश्यकताको कारणले इमान्दार व्यक्ति शोषित भएको पाइन्छ । सम्पन्न व्यपारी वर्गका व्यक्तिले प्रलोभनका माध्यमले निम्न वर्गका व्यक्तिहरूको शोषण गर्दैछन् । जुन व्यक्ति कुटनीतिज्ञः हुन्छ त्यो नै समाजसेवकका नामले चिनिन्छ । सोझा वेरोजगार युवावर्गहरूलाई गैर सरकारी संस्था एवं समाजमा रोजगार प्रदानको माध्यमले यिनीहरूले प्रतिदिन शोषण गरिरएकै छन् । यस्तो समसामयिक व्यङ्ग्य शर्माले ‘अनिर्णित भविष्य’ कथाका माध्यमले प्रस्तुत गरेको पाइन्छ ।
औद्योगिक विकासको अपेक्षाले सरकारी संस्था, गैरसरकारी संस्था र व्यपारी एवं ठेकादारी वर्गहरूद्वारा समसामयिक कालमा प्रतिदिन प्रकृतिको शोषण गरेर प्राकृतिक सम्पदाको ह्रास गरिदैछ, पर्यावरणलाई प्रदुषित बनाइदैछ । यस्तो स्थिति प्रतिदिन बड्दै गएमा एक दिन पृथ्वी जन-जीवन विहिन हुन्छ भन्ने आसय ‘‘मान्छे’ र ‘आज’’ लेखका माध्यमले अभिव्यक्त गरेको पाइन्छ ।
मानिसमा असिम इच्छाको प्रवलता पाइन्छ । आफ्नु इच्छा पूर्ण गर्नका निम्ति पहिला युवा वर्गहरूले स्वनिर्भर हुन आवश्यक हुन्छ । आफ्ना अभिभावक वा अन्य व्यक्तिहरूलाई इच्छा पूर्तिको माध्यम बनाइयो भने अन्य व्यक्तिको विचार आफ्नु इच्छा विपरित पनि हुन सक्छ । युवावर्गले आफ्ना अविभावकको आडमा अभिप्सित कार्य गर्नु छ भने पहिला परामर्ष लिन आवश्यक हुन्छ । परामर्ष नलिनाले अन्तिममा धोका हुन पनि सक्छ भन्ने खालको समसामयिक यूवावर्गमा प्रेमको कारणले अधुरो रहने अभिप्सित इच्छाको सम्भावनालाई ‘अधूरो घर’ रचनाका माध्यमले अभिव्यक्त गरेको पाइन्छ ।
समसामयिक कालको मानिसको भौतिक उपलब्धि सबैभन्दा ठूलो उपलब्धि हो । त्यसैले निरन्तर भौतिक विकासगर्न तत्पर रहेको पाइन्छ । समय गतिशिल छ समयको गतिसँगै पूवर्जले गोठ पालेर जीवन यापन गर्न चुनिएका स्थलहरू पर्यटकीय एवं होटेल आदि व्यवसायका प्रमुख माध्यम बनिसकेका छन् । बड्दो जनसंख्या र सहरीकरणको कारणले स्थानहरूको स्वच्छता एवं पवित्रता हराई सकेको छ । आफु विकसित हुने क्रममा युवापिडिले विवेक गुमाइसकेका छन् । युवाहिडीले पूर्खाको पसिनाको कदर नगरेर अध्ययनको नाममा अभिभावकका पैसालाई दुरूपयोग गर्दैछन् । त्यसैले आफ्नु परम्परा मासिँदै गएको पाइन्छ । आफ्ना सन्तानहरूले सर्वस्व जीवन प्रदान गर्ने अभिभावकहरू त्यगेका छन् । त्यसैले बृद्धावस्थामा एक्लिएका छन् भने समयामयिक सामाजिक समस्यालाई ‘मानिस समयको छालमा’ कथाका माध्यमले व्यक्त गरिएको पाइन्छ ।
शर्माका रचनाहरू समसामयिक कालका मानिसहरूको व्यस्त जीवनलाई परिभाषित गर्न सक्षम छन्-
यो ब्यस्त जीवनको माखे साङ्लाको जालोले भरिएको परिवेशमा यस्तो केही जान्न र बुझ्न पाइएको छैन । (हाते चिठ्ठी)
समसामयिक कालका मानिस अत्यन्त व्यस्त रहेको पाइन्छ । आफ्नु जीवनको व्यस्तथको कारणले अर्काको विषयमा सोच्ने फुर्सद पनि रहदैन । यस्तो स्थितिमा साना-ठूला गल्तीहरू निश्चयनै भइरहने सम्भावना हुन्छन् । सानु गल्तीको कारणले जीवनलाई ठूलो प्रभाव पार्ने सम्भावना हुन्छ । यस्ता गल्तीहरूको कारण पूर्वधारणा पनि हुनसक्छ । सानु भ्रमको कारणले पूर्वधारणा उत्पन्न हुनसक्छ । जस्ता प्रकारले युद्ध प्रसदले पाएको सरस्वतीको चिठ्ठीमा नी मेटिनाले उसलाई मैताहाङको मृत्युको पूर्वधारणा उत्पन्न हुन्छ । आफ्नु हितैसी मैताहाङलाई जीवित अवस्थामा देखेर पनि उसले मैताहाङको भूत सम्झन्छ र त्रसित हुन्छ । वास्तविकताको ज्ञानभएपछि उ अचेत हुन्छ । यो युद्ध प्रसादको अचेतन अवस्थामा रहेको मैताहाङ प्रतिको स्नेह र आफुले गरेको गल्तीको पश्चताप हो । यो गल्तीले युद्ध प्रसादको जीवनलाई परिवर्तित गराउने सम्भावना देखाएर शर्माले कथा टुङ्ग्याएका ठन् । त्यसैले मानिसले आफ्नु विचारमा अरूले गरेको कार्यको मूल्यङ्कन गरेर निष्कर्ष निकाल्न सकिदैन । यदि यसो गरे ठूलो गल्ती हुने सम्भावना पनि हुनसक्छ ।
निष्कर्षः- प्रत्येक वर्गका मानिसले दैनिक जिवनमा साना-ठूला गल्तीहरू गर्ने गरेको पाइन्छ । यस्ता गल्तीहरू अन्जानमा गरिँदैन । पूर्ण ज्ञानमा गरिएका गल्तीहरूले समाजलाई प्रभावित बनाउने सम्भावना हुन्छ । प्राय निम्न वर्गका मानिसहरू भन्दा समसामयिक कालमा उच्च वर्गका व्यक्तिहरूद्वारा धेरै गल्तीहरू गर्दै आएको देख्न पाइन्छ । यिनीहरूमा उच्च पदका सरकारी कर्मचारी, व्यपारी, समाजसेवक, राजनीतिज्ञः, शिक्षित युवावर्ग आदि पर्दछन् । यदि यिनिहरूद्वारा आफ्ना गल्तीहरूमा सुधार ल्याए समाजको अक्षुण्णता कायम रहने सम्भावना हुन्छ भन्ने शानु भाइ शर्माका “हाते चिट्टी” सङ्ग्रहका रचनाहरूको समसामसिक अध्ययनका आधारमा निष्कर्ष निकाल्न सकिन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 24 श्रावण, 2073

लेखकका अन्य रचनाहरु