घातको उपज ‘नयाँ जीवनशैली’

- खगिन्द्रा खुसी

उनका सवै सम्झना मेटाउनु पर्नेछ मनवाट, पुराना सवै यादहरुलाई विर्सेर अगाडी बढ्नु छ । नयाँ ढङ्गले जीवनलाई चलाउनु पर्ने छ तर सक्दिन, उनकै याद आउँछ । उनको भन्दा पनि उनले गरेका बाचाहरुको आश लाग्छ । तिनै कुराहरुले तानिरहन्छन् पुरानै दिनतिर । उनी भनेका मेरा पति, मेरा प्रेमी ’रमेश’ । रमेस सित मैले जवरजस्ती बिहे गरेकी थिइन । सहमितमै हो, उनको अनि मेरो पनि सहमतिमा, तर मात्रै उनको र मेरो सहमतिमा । परिवार त उनको र मेरो पनि राजी थिएनन् हाम्रो बिहेको लागि । उहाँहरुको सहमति हाम्रो पढाइ र उमेरका लागि मात्रै नभएको हो । सोह्रर सत्र वर्षकी म र १९र२० वर्षका रमेश । बिहे गर्ने उमेर नभएकाले र पढाइ नसकिएकाले उनको र मेरो बिहेमा कसैले मञ्जुरी दिएनन् । त्यसैले मैले मेरा र उन्ले उनका बुवा आमाको भावनालाई लत्याएर भागेका थियौँ हामी
पाँचथरको फिदिम बजारमै थियो उनको र मेरो पनि घर । एउटै बजारका उपभोक्ता उनको र मेरो परिवार । एउटै स्कुलका विद्यार्थी हामी दुवै । म भन्दा एक कक्षा माथि थियो उनको पढाइ । एक साल मात्रै त भएको थियो उनको र मेरो स्कुल भिन्नै भएको । उनी एस्.एल.सी.पास गरेर एक वर्ष अगाडीदेखि नजिकैको प्लस टु पढ्न गए । मेरो यस पटक एस. एल. सी. दिने पालो थियो । तर हाम्रो प्रेममा र भेटघाटमा कुनै प्रभाव पारेको थिएन फरक स्कुलले पनि । अनि हामीलाई परिवारको विद्रोहले छेक्न सक्ने कुरै थिएन । लुकीछिपी भेट्ने र प्रेम प्रणयका कुरा गर्ने हामीले, एक दिन आफ्नो प्रेमलाई सफल बनाउने निधो गर्यौँ अर्थात् भागेर काठमाडौं जाने योजना बनायौँ । भोलि पल्ट बिहान भालेकै डाकमा उनी र म फिदिम बजारको बस स्टेण्डमा भेटियौँ र झापा आउने पहिलो बसमा चढ्यौँ । झापाबाट फेरि काठ्माण्डौ जाने वसमा टिकट गर्यौँ । त्यस वेला बिहानको ११ वजेको थियो । विर्तामोडबाट चार बजे मात्र गाडी हिड्ने भयो । त्यही खाली समयको सदुपयोग गर्दै विहे गर्ने सल्लाह गर्यौँ हामीले । विहे अर्थात् सिन्दूर पोते । उनले एक बट्टा सिन्दूर र एउटा पोते किने । हामी अर्जुनधारा मन्दिरमा गयौँ । उनले एकचिम्टी सिन्दूर र एक झुत्तो पोतेले आफ्नो बनाए मलाई । म उनकी भएँ, उनको अधिकार लाग्ने, उनकै स्वामित्वकी बनिएँ त्यही सिन्दूर र पोतेले, तर उनी त्यसै मेरा बनेका थिए, केही नलाइकन । विना प्रमाणका मेरा बनेका थिए उनी । मलाई उनीवाट प्रमाण लिनु पनि थिएन । उनको साथ नै मेरो सर्वस्व बनेको थियो त्यस वेला । उनकै मायामा सम्पूर्ण परिवारको माया पाउने आशा गर्दै उनैको भरोसामा जीवन काट्ने अठोट गरेर उनको साथ लागेर हिँडेकी थिएँ म ।
उनले साथ नदिएका पनि कहाँ हुन् र मलाई । आफै भन्दा बढी माया गर्थे मलाइ । हर सम्भब खुसी राख्ने प्रयत्नमा हुन्थे । उनी सँग रहुन्जेल उनको मायाले मेरो माइतीको मायालाइ ओझेलमै पारिरह्यो । हाम्रो काठमाडौंको बसाइ मेरो माइती र उनको घर परिवारले थाहा पाएका थिए । त्यसैले हामीलाई छुटाउने धेरै प्रयास भए दुवैतिरवाट । अझ मेरा माइतीले त जोड नै गरे रमेशवाट छुटाउन । आमा धर्धरी रुँदै फोन गर्नुहुन्थ्यो मलाई । उहाँले छाती पिटिपिटि रोएको सुन्दा रमेशलाई छोडेर माइतै फर्किउ जस्तो पनि नभएको हैन ।
एक दिन हटिया गएर फर्कँदै गर्दा हाम्रै कोठाको बाहिर पट्टि दाइलाइ उभिइरहेको देखेँ । म डराएकी थिएँ उहाँलाई देखेर, तर उहाँले मलाई कराउनु भएन, बरु माया गरेर अँगालो हाल्नु भयो । रुनु भयो दाजु मलाइ अँगालेर । मलाइ पनि उहाँलाइ भेट्दा आमाको तिर्सना मेटिए झैँ भयो । म पनि रोएँ । उहाँले माया गरेर फकाउनु भयो घर फर्कन । सम्झाउनु भयो । मेरो एस एल सीको रिजल्ट आएको र म पास भएको कुरा सुनाउँदै पढाउने कुरा गर्नुभयो । धेरैवेर सम्झाएर पुन घर फर्कन आग्रह गर्नु भयो । मैले रमेशको अनुहार हेरेँ । उनी अँध्यारिएका थिए । रुन लागेका उनका आँखाले उनलाइ छाडेर नजान अग्रह गरिरहेका थिए मलाइ । सहन नसके पछि मुखै फोरेर भने “सरिता मलाई छाडेर नजाउ । म तिमीलाई सन्सारकै खुसी दिनेछु । मै पढाउने छु तिमीलाई“ भनेर विलौना गाउँदै रोएका थिए । भिख मागेका थिए मायाको, दाइकै अगाडी । मैले कत्रो ठुलो निर्णय गर्नु परेको थियो त्यस वेला । मेरा जन्म दिने बुबाआमा र माया गर्ने दाइको मायालाइ त्याग्दै रमेशलाइ साथ दिएकी थिएँ । हुन त पहिला पनि सारा माइतीको प्रेमलाइ त्यागेर हिँडेकी थिएँ । तर छोरीका लागि पक्कै पनि एक दिन आमा बुवाको मन पग्लने छ भन्ने आशा थियो । तर अव ती सवै आशाका बाटाहरु छेकिदिएकी थिएँ म आफैँले । मैले आफैँ माइतीको मायालाइ त्यागेर अँगालेकी थिएँ उनलाइ । त्यस वेला दाइ रिसाउँदै रित्तै हात घर फर्किनु भएको थियो । त्यस पछि भने मेरालागि सधैँ पग्लिरहने आमा बुवाको मन ठोस भएछ । जमेछ कहिल्यै नपग्लने गरी । म प्रतिका सवै सम्बन्धहरुको किरिया गरिएछ । म आमा बुबाकी एक मात्र छोरी, मरेँछु उहाँहरुको लागि । मेरो ज्युँँदैमा किरिया गरिएको खवर काठ्माण्डौ आउने गाउँकै मान्छेले सुनाएका थिए । रमेशको माया पाउनका लागि माइतीको सम्पूर्ण मायालाइ त्यागेकी थिएँ मैले, तर माइतीले मेरो किरिया गरेको खवरले चिरिएको थियो मेरो मन । रमेशको छातीमा धेरै रात लगाएर मेरो माइतीप्रतिको प्रेमको खोलो बगाएँ । उनले पनि एक भँगालो थपिदिएका थिए मेरो आँसुको खोलोमा ।
काठमाडौंको महँगीले कस्तो नराम्ररी कुट्यो हामीलाई । दुवै जना खटेर काम गर्दा पनि खान र कोठाभाडा तिर्नै कठिन पर्यो । मेरो कक्षा एघारमा भर्ना गरिए पनि पढ्नका लागि सधैँ कलेज जान भने सकिन । मेरो पढाइ अधुरै रह्यो । आर्थिक सङ्कटले घाँटी थिचेपछि मैले नै एकरात उनलाइ भने “रमेश तपाईं विदेश जानु“ । सुरुमा त उनी नराम्ररी रिसाए म सँग । त्यो रात म सँग सुतेनन् उनी । भुईंको गुन्द्रीमा छटपटिँदै रात विताए । पछि सोचेछन् क्यार अर्को दिनको राती म सँग आएर मलाई अँगालोमा कसेर भने उनले “सरु म तिम्रै खुसीका लागि विदेश जान्छु“ भनेर । कस्तो अवस्था थियो त्यो, छाती भरि कसिएर माया पाउनु पर्ने लोग्नेले विदेश जान्छु भन्दा खुसी हुनु परेको थियो मैले । आफ्नो अस्तित्व सुरु गर्न महिना दिन अघि मात्र मेरो गर्भमा रहेकी मेरी छोरी सँग विदा मागे उनले । मलाइ भने हेर्न सकेनन् , मैले पनि हेरिन उनलाइ । उनि भक्कानिँदै हवाइजहाजमा चढे । उनलाइ बोकेर आकाशमा हराउँदै गरेको जहाज आँखाले भ्याउन्जेल हेरिरहें ।
अब भने काठमाडौंको भिडमा संसारकै एक्ली बनेकी थिएँ म । फोन गर्थे उनी मलाइ हरेक रातमा । माया गर्थे पर्देशवाटै रमेशले । त्यही फोनबाटै गरेको मायाको आधार लिएर बाँचेकी थिएँ म काठमाडौंमा । धेरै कष्टले नौ महिना वित्यो । नौ महिना पछि भने छोरी आई मेरो बाँच्ने नयाँ आधार बनेर । रमेशले साँच्चै माया गरेका थिए मलाइ । बाक्लै फोन गर्थे । पैसा पठाइरहन्थे । म पनि काठमाडौंमा सानोतिनो काम गरिरहेकै थिएँ । उनले पठाएको र मैले कमाएको पैसावाट जोगाएर बैंकमा पनि जम्मा गरेकी थिएँ । छोरी जन्मिए पछि छोरी जन्मिएको कुरा सुनाएँ उनलाई । उनी खुसी भए पिता भएकोमा । तर किन हो त्यस पछि भने उनको फोन पातलो गरी मात्र आउन थाल्यो । अलि अलि गर्दै पैसा पनि पठाउन छाडे । मैले कारण सोद्धा पहिलाको कम्पनी डुवेर अर्को कम्पनीमा सरेको र त्यहाँ काम पनि कठिन र पैसा पनि कम हुने जानकारी गराए । उनको त्यो पीडा ममा सर्लक्क सरे झैं लाग्यो । मैले पशुपतिमा गएर बात्ति बालेर कामना गरें“भगवान् मेरो रमेशको काम सहज गराइदेउ“ भनेर । सायद भगवान्ले बुझेछन् क्यार, साँच्चै उनको काम त सहज वनेछ । उनले अव आफ्नी श्रीमती र छोरी प्रतिको कर्तव्य र जिम्मेवारीको बोध हटाइदिएछन् दिमागवाट र ऐसको जिन्दगी रोजेछन् उतै अर्की स्वास्नी राखेर ।
छोरी जन्मिएको सातौँ महिनामा उतै फिदिमको गाउँकै भाइ विदेशवाट आयो । उता साउदीमा उ र रमेश सगै काम गर्थे रे । उ काठमाडौंमा जहाजवाट झरे पछि मलाइ फोन गर्यो र मलाइ भेट्न कोठामै आयो । मैले सोचेकी थिएँ उसको साथमा रमेशले मलाइ धेरै कोसेली र उपहारहरु पठाएका छन् । तर आशातीत भएँ म उनले पठाएका कोशेली र उपहार स्वरूप मैले आंशु र घातका पोकाहरु मात्र पाएँ । त्यही भाइले सुनायो–“दिदी रमेश दाइले उतै साउदि मै नेपालबाटै गएकी एउटी केटी सँग विहे गरेर वसेका छन” भनेर । मलाइ रिंगटा छुट्यो । पत्याइन उसका कुरा र लगत्तै रमेशलाइ फोन गरें । उनले सहजै स्विकारे“ हो मैले विहे गरें यहीं, तिमी आफु खुसी बाँच अव ।” मैले फोन राखें । विश्वासै लाग्दैन अझै पनि फेरि नम्बर हेरें उही नम्बर छ, रमेशले सधैं मलाइ फोन गर्ने नम्बर । रमेश कसरी त्यति निष्ठुरी र स्वार्थी बन्न सक्छन् । कसरी भुल्न सक्छन आफ्ना बाचालाइ । मलाइ यस संसारमा एक्लै रुवाएर, आंशुका दहमा हालेर कसरी अर्कीसग हाँसेर बाँच्न सक्छन् । उनको आफ्नै बोली सुनेर पनि किन पत्याउन मन लाग्दैन मलाइ । किन तड्पिरहन्छु म उनकै प्रेम पाउनका लागि । किन छट्पटिन्छु अतितलाइ सम्झिएर । अव त भुल्नु छ ति सारा याद हरुलाइ । विगतलाइ र वर्तमानमा बाँच्नु छ । यो आँशुको सागरवाट वाहिर निस्कएर हाँसेर बाँच्न सिक्नुछ । हो अव मलाइ रुवाएर हाँसिरहेको रमेशको डाह म हाँसेर नै तिर्नेछु । त्यसैले फेर्दैछु म मेरो बाँच्ने शैलीलाई ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 24 श्रावण, 2073

लेखकका अन्य रचनाहरु