मोरा परेवाहरु

- विश्वराज अधिकारी

‘मम्मी, मलाई परेवाहरु यसरी हाम्रो आँगनमा आएर घुरेको, नाचेको पटक्कै मन पर्दैन। कुन दिन म भाँचिदिन्छु यिनीहरुको खुट्टा सुट्टा। यता र उता गर्छन् र फोहर पनि त्यत्तिकै पार्छन् जहाँ मन लाग्यो त्यहाँ।’ निष्ठाको यो भनाईमा क्रोध अलि बढी नै मिसिएको थियो।
निष्ठाले मम्मीतिर हेर्दै फेरि भनिन् ‘कसका होलान यी परेबाहरु? जसको भए पनि, घर बनाएर राख्नु पर्छ नि, ती पाल्नेहरुले। यसरी जता पनि जान सक्ने गरी छाडा छाड्नु हुन्छ त?’
छोरीको प्रतिवाद गर्दै कमलाले भनिन् ‘हुन्दे न त। के बिगारेका छन् ती परेवाहरुले तेरो। बाहिर फालेका अन्न त खाएका छन् तिनले। फेरि, आकाशमा स्वतन्त्र उड्ने ती पक्षीहरुलाई कसरी बाँध्न सकिन्छ? घर पालुबा भएता पनि आकाशमा उड्ने हुन ती। यी त स्वतन्त्र हुन्छन्। शान्तिका प्रतीक हुन। अनि ……………….’
निष्ठालाई थाहा भएन मम्मीको भनेको पछिल्लो शब्द अनिको अर्थ। वाक्यको रुप लिन नसकेको अनि शब्दको अर्थ लगाउन निष्ठालाई जाँगर पनि आएन। जाँगर भन्दा उल्टो रीस उठ्यो। परेवाहरु त्यसरी नाँचेको देखेर टाउको दुख्यो उनको। आफ्नो आँगनमा परेवा नाचेको दृश्य सहन नै गार्हो हुन्छ उनलाई। अर्कोतिर स्थिति यस्तो छ कि त्यो दृश्य हेर्ने पर्छ उनले नचाहेर पनि। कोठा भित्र बस्ता पनि झ्यालबाट देखिन्छ, कोठा बाहिर आए भने त झन नहेरौ भने पनि आँखा पुग्छ आँगनमा, त्यो दृश्यमा । जोडा जोडी परेवाहरुमा।
निष्ठाले मम्मीलाई धेरै पटक सचेत पनि गराई सकेकी छिन, कुनै पनि खाने कुरा न छर्नु र परेवा आँगनमा आउने बाटो नबनाउनु भनेर। तर मम्मीले होइन, छेउका छिमेकी, मोहन काकाले आफ्नो आँगनमा परेवाहरुका लागि दाना छरेर टाउको दुखाइ दिएका छन् निष्टाको। अति भएर एक दिन निष्ठाले भनिन् पनि ‘ मोहन काका, यी परेबाहरुलाई दाना छर्नु बेकार छ, खान्छन पनि उल्टो फोहर पारेर जान्छन। जबाफमा मोहन काकाले भनेका पनि थिए ‘तिम्रो आँगनमा मैले दाना छरेको छैन। कहिले काहिँ मेरो आँगनमा दाना छर्दा उछिट्टिएर तिम्रो आँगनमा दाना पुग्छन। अबदेखि अलि सचेत भएर छरौंला।’
आफ्नो कुराबाट मोहन काका रिसाएको अनुमान गरेर निष्ठाले त्यो दिन आफ्नो भनाईको बचाउमा थप तर्कहरु गरेकी थिनन् । हुन त निष्ठाको आँगनमा परेबाहरु कमै आउँछन् मोहन काकाको आँगनमा भन्दा। आफ्नो आँगनमा आउने परेबलाई केही गर्न सकेता पनि मोहन काकाको आँगनमा आउने परेबाहरुलाई चाहेर पनि केही गर्न सक्तिनन्। अर्कोतिर बाध्यता यो छ कि निष्ठाले मोहन काकाको आँगनमा आएका परेबाहरुलाई हेर्नु नै पर्ने हुन्छ। नहेरी हुँदै हुँदैन। किनभने उनको कोठाको एउटा झ्याल मोहन काकाको आँगनतिर खुल्छ र त्यो झ्याल उनले कोठामा प्रकाश आउनका लागि खोल्नै पर्छ। मोहन काकाको आँगनतिर नहेर्ने प्रयाश भने नगरेको होइन निष्ठाले। तर के गर्नु लाख कोशिस गर्दा पनि पोथीलाई खुसी पार्न नाचेका ती जोडी परेबाहरुलाई हेर्न आँगनतिर आँखा पुगि हाल्छ।
निष्ठालाई मोहन काकाको आँगन र आफ्नो क्याम्पस उस्तै उस्तै लाग्छ। क्याम्पसको वरिपरि तिनै परेवाहरु यता उता गरे झै लाग्छ, नाचे झै लाग्छ। एक चोटी उनले आफ्नो एक ज्यादै घनिष्ट साथी प्रकृतिलाई रिसाउँदै भनेकी थिइन् ‘यी छाडाहरु पढ्न आएका हुन कि अनेक थरिका करतुत देखाउँन आएका हुन। लाज सरम नभएकाहरु, छ्या …….। यी केटा मोराहरु पनि उस्तै, केवल नाच्न जानेकका छन्, परेवहरु जस्तै। अनि हिँडेका छन्, आज यो सँग भोलि अर्कोसँग। उफ, डुलुवाहरु। यिनीहरुका आमा बाबुहरु पनि कस्ता……… पटक्कै वास्ता नगर्नेहरु, छोरा छोरीहरु क्याम्पस पढ्न जान्छन् कि ………….., कता जान्छन्। खोज खवर लिनु पर्ने होइन उनीहरुले।’ निष्ठाको कुरा सुनेर प्रकृतिले भनेकी थिइन ‘तँलाई किन रीस उठेको नि, बिनासित्ति? टाउको नदुखा, बिना मतलबमा । इच्छ छ भने तँ पनि गर्न त्यस्तै। कसले रोकेको छ तँलाई।’ साथीको त्यस्तो प्रतिक्रियामा निष्ठाले केही पनि बोलेकी थिइनन्। मात्र चुप लागेर बसेकी थिइन एक छिनसम्म। तर एकै छिन पछि के सोँच्दै भनेकी थिइन ‘अनि हिँड्नु पर्छ त त्यसरी। मोहन काकाको आँगनका ती ……………मोरा परेवाहरु जस्तो।’
आज भने निष्ठाको मुहारमा कोटी सूर्यको प्रकाश पोखिएको जस्तो छ। मोहन काकाले परेवाहरुका लागि आफ्नो आँगनमा छरेका दाना उछिट्टिएर उनको आँगनमा आउँदा पनि पटक्कै रीस उठेको छैन। बरु मोहन काकाको आँगनमा भए जतिका सबै परेबाहरु उनको आँगनमा आइ दिए हुन्थ्यो जस्तो भएको छ उनलाई। भाले परेबाहरु पोथीको वरिपरि नाचेको दृश्य त झनै रोचक र कौतुहलताको विषय भएको छ उनको लागि। उनले आफूले मात्र सुन्ने गरि भनिन् ‘पंक्षीमा पनि कस्तो प्रेमको ज्ञान? कसले दिएको होला यिनीहरुलाई यस्तो चेतना? कति गहिरो, कति सत्य प्रेम यिनीहरुमा। कुनै अभिनय छैन। बनाबटीपना पनि छैन। कसरी नाचेका होलान यी परेबाहरु? कुनै मोहक संगितमा कसैले अति सुन्दर किसिमले नाचे झै गरी। कस्तो प्राकृतिक किसिमले पोथी परेवाका वरिपरि भाले परेवाहरु नाचेका छन्। यस्तो रमाइलो क्षण बाड्न उनीलाई मन लाग्यो तर के सम्झेर आफूलाई रोकिन। फेरि मनमा के आयो आफूलाई रोक्न नसकेर फोनको नजिक पुगिन। प्रकृतिलाई फोन गरेर धित मार्ने गरी लामो कुरा गरिन्। लामो कुराकानी गर्दा उनलाई अल्छी पनि लागेन। फोनमा प्रकृतिलाई निष्ठाले भनिन् ‘प्रकृति, थाहा छ तिमीलाई, निशानले मेरो प्रस्तावमा हुन्न भनेन् नि। बरु के भन्यो थाहा छ? म निकै राम्री छु रे। अनि मेरो व्यवहार पनि उत्तिकै राम्रो छ रे। बल्ल यति सम्म भन्यो। कस्तो उल्लू? यै कुरा वर्ष दिन पहिले भनेको भए …………….म किन…….. …यस्तो ………।’
फेरि परेवाहरु आइ पुगेका छन् मोहन काकाको आँगनमा र निष्ठाको आँगनमा पनि। यो पटक भने निष्ठालाई पटक्कै मन परेको छैन परेबाहरुले नाँच्दै गरेको दृश्य, अस्ति अस्ति झै। टाउको दुखेर आयो। कोठा भित्र जान मन लाग्यो उनलाई। तर गइनन्। बरन्डामै बसिन् तर मुख भने श्रुतिको घरतिर फर्काइन, परेवाहरु नाचेको दृश्य हेर्न नपरोस् भनेर। श्रुतिको घरतिर हेर्न पनि मन लागेन। उनका आँखाहरु फेरि नाच्दै गरेका ती परेबाहरुमा गाडिए। त्यो दृश्स हेर्ने धेर्य आफूमा हराउन थालेको निष्ठालाई लाग्न थाल्यो। तर पनि केही नगरेर स्थिर भएर बसिन्। तर उनको त्यो स्थिरताको स्थिति लामो कालसम्म रहन सकेन। भाईले भित्तामा अडाएर राखेको क्रिकेटको बैट झिकेर हिर्काइन उनको आँगनतिर रहेका परेबाहरुलाई। एउटा परेबाको खुट्टा भाँच्चियो। अघिदेखि नाँच्दै गरेको त्यै भाले हुनु पर्छ जस्तो लाग्यो उनलाई। उनको निसाना पनि त्यै परेवामाथि थियो। परेवाहरु भुरुरु आवाज गर्दै उडे आकाशमा। घाइते परेवा चाँहि अघि नै उडिसकेको थियो। परेवाहरु उडेर आफ्नो आँगन खाली भएको दृश्य निष्ठालाई अति रमाइलो लाग्यो। खाली आँगनलाई निकै बेर हेरिन पनि उनले।
निष्ठा केही सोच्दै थिइन, तर उनको टाउको फेरि दुख्न थाल्यो, मोहन काकाको आँगनमा भएका परेवाहरु उडेर उनको आँगनमा आएको दृश्य देखेर। परेवाहरु फेरि नाच्न थाले। निष्ठाले त्येही क्रिकेटको बैट उठाइन जुन केही छिन पहिले उठाएकी थिइन। परेवाको एउटा जोडीतिर लक्ष्य केन्द्रित गर्दै हिर्काइन त्यो बैटले। भाले ठहरै भयो। बाँकी परेवाहरु बिलिन भए आकाशमा, क्षण भरमै। मरेको परेवा भूँइमा लडेको थियो। निष्ठाले एकटकले हेरिन, मरेको त्यो परेबालाई। उनको कोठामा फोनको घण्टी बज्यो। कोठा भित्र पुगेर निष्ठाले फोन उठाइन। फोनमा प्रकृतिले बोलेको सुनियो। प्रकृतिले कुरा शुरु गर्नु भन्दा पहिले नै निष्ठाले भनिन् ‘प्रकृति हेर न, मोरा परेबाहरुले हैरान पारेका थिए, नाचेर, आँगनमा फोहर गरेर। आज त खपिसक्नु भएन मलाई। हिर्काए, एउटा मोटो ठूलो क्रिकेटको बैटले। एउटा त खुत्रुक भयो, बैटको चोटले। मर्यो, मोरो। प्रकृतिले निष्ठाको कुरामा प्रतिक्रिया व्यक्त गरिन् ‘राम राम, बिचरा ती पक्षीहरुलाई त्यसरी मार्नु हुन्छ?’
प्रकृतिको मनमा के आयो कुन्नि, प्रशंग परिवर्तन गर्दै उनले निष्ठालाई भनिन् ‘निष्ठा, तिमीहरुको हाल खबर कस्तो छ नि, आजभोलि, अनि निशानको नि?’ जबाफमा निष्ठाले भनिन् ‘धोका दियो नि, त्यो मेराले। उसले राखेको प्रस्ताव झूठो रहेछ।’

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 24 श्रावण, 2073

लेखकका अन्य रचनाहरु