सुषमा

- सन्तोष लामिछाने

आज जुलाई २९, आज जुलाई २९ हुनुमा केही फरक नहुनुपर्ने हो किनकी जीवनमा १६ वटा जुलाई २९ सुषमाले भोगिसकेकी छे | तैपनि आज सुषमाको कलेज जाने पहिलो दिन हो, यसमा बिशेषता त हुनै पर्यो | सुषमाका बिचारमा उसको जीवनका प्रत्येक दिन छोटा छोटा नाटक हुन् | फरक यत्ति छ कि कुनै दिनले उसलाई जीवनलाई माया गर्न सिकायो त कुनै दिनले उसलाई जीवन निरर्थक यात्रा भएको अनुभव गरायो | सुषमा अलि भावुक छे | उसको जीवनकथामा तिब्रतम अनुभूतिको छाप अनि भावनाको बढ्ता मिसोट छ भन्ने कुरा उसको आँखामा पढ्न सकिन्छ |

ऊ कलेज जनाको लागि तयार भैसक्दा उसको आमाले खाना तयार गरेर पस्किसकेकी थिइन् | सायद उसकी आमाले खाना भन्दा माया धेरै पस्केकी थिइन् खानामा | जे होस्, खान सुषमाले चाँडैनै खाइसकी - अघिपछिभन्दा | खाना खाइसकेपछी उसकी आमाले भनिन्, "नानु राम्ररी जाउ ल |" सहमतिमा टाउको हल्लाउँदै सुषमा घरबाट हिंडी |

बाटोमा ऊ हिंड्दै थिई गन्तव्यको दुरी छोट्याउँदै | एउटा अलि परको पसलमा कुनै गीत बजिरहेको थियो | गीतको सलल बगेको लयमा समस्त वातावरण आफ्ना पखेटा फिंजाएर प्रवाहित हुँदै थियो - हावामा कावा खाँदै गरेको बाज जस्तै | मनका खोंचहरूमा अनेक सोच बोकेर हिंड्दा, ऊ अलि पर पुकिसकेपछि व्यस्त सडक आइपुग्छ | त्यहाँ पुगिसक्दा त त्यो गीतको प्रवाह कहाँ हो कहाँ कहिल्यै नभएजस्तो गरी बिलाइसकेको थियो |

गर्मी महिना थियो , घाम पनि चर्को नै थियो - बिहानदेखि नै | सडकमा गाडीहरूको कर्कश स्वरले आङ नै सिरिङ्ग हुन्थ्यो | बिहानै नुहाएकी सुषमा सडकबाट आएको धुलोबाट आफूलाई बचाउन असमर्थ थिई | हिंड्दा हिंड्दा अब भने सुषमा कलेजको नजिक आइपुगी | कलेजको ढोकासम्म पुग्न ऊ उकालो उक्लँदै थिई - कारण कलेज अलि उचाइमा थियो |

कलेजको ढोकासम्म पुगिसक्दा त उसले धेरै अपरिचित अनुहार देखिसकेकी थिई तर कलेजको ढोकाभित्र पसेकी मात्र के थिई, उसका आँखा अचानक एक परिचित अनुहारमा ठोक्किन पुगे र टक्क अडिए | संयोगबश त्यस परिचित अनुहारका आँखा पनि सुषमा तर्फ नै खै किन हो कुन्नि मोडिए र सुष्माको नजिक नजिक हुँदै गए |

"सुषमा तिमी? ह्वाट अ सर्प्राइज |" त्यस परिचित अनुहारले सुषमा नजिकै आएर भन्यो |

"रोहित, तिमी पनि यो कलेजमा ? हेर न मलाई त थाहै थिएन तिमी यो कालेजमा पद्छौ भनेर |" सुषमाले प्रतिकृया जनाई |

वास्तवमा त्यो परिचित अनुहार सुषमाको स्कुलको साथी रोहितको थियो | रोहितले सुषमा भन्दा एक बर्ष अघि मात्र हाइ स्कुल पास गरेको थियो | सुषमा र रोहित स्कुल पढ्दाका साथी थिए | रोहितको स्कुले जीवन सकिएपछि यो उनीहरूको पहिलो भेट थियो यद्यपि यसबिच उनीहरूले एक अर्कालाई धेरै सम्झिएका थिए |

"रोहित, तिमी त धेरै फेरिएछौ नि |" सुषमाले रोहितको आँखामा हेर्दै भनि |

"होला, एक बर्षामा त धेरै कुरा परिवर्तन हुन्छ नि, म मात्रै परिवर्तनहरूबाट कसरी बच्न सक्छु र? आखिर तिमी पनि त धेरै फेरिएकी छौ नि सुषमा |" रोहितले भन्यो |

"हेर न रोहित, मलाई त मेरो कक्षा कहाँ छ भन्ने पनि थाहा छैन, तिमीलाई भेटें धेरै राम्रो भयो |" सुषमाले लामो सास फेर्दै भनी |

रोहितले सुषमालाई उसको कक्षा चिनाइदियो र कालेजको बारेमा पर्याप्त जानकारी दियो | आखिर छुट्टिने मन नहुँदा नहुँदै पनि घण्टी बजेकोले रोहित र सुषमा आआफ्नो कक्षामा गए | कक्षा सुरु भयो र सुषमा क्रमश: नयाँ साथी, नयाँ शिक्षक, नयाँ बिषय, कलेज, अनी नयाँ बातावरणसँग परिचित हुँदै गई | छुट्टी पनि भयो | बिहानको भेट पछि छुट्टी भईसक्दा पनि सुषमाको रोहितसँग फेरी भेट भएन |

सुषमा घर पुगी | आज सुषमाको अनुहारमा नौलो चहक भएको कुरा घरमा सबैले अड्कल गर्न सक्थे | साँच्चै नै आज सुषमा खुशी छे | आजको दिन उसको लागि जीवनलाई रमाइलोमा परिभाषित गर्ने दिन हो |

मध्य रात | चन्द्रमाको चिसो किरण झ्यालको तख्तामा पर्दै थियो र चम्किलो सेतो प्रकाशले सुषमाको बिछ्यौना ढाकेको थियो | कोठाको एउटा कुनमा रखिएको टेबल अगाडि सुषमा कापी पल्टाएर बसेकी थिई | त्यो उस्को डायरी थियो | टेबल ल्याम्पको प्रकाश कापीमा पर्दै थियो | सुषमा डायरीमा लेख्दै थिई , "आज मलाई जीवन साँच्चै रमाइलो लागिरहेछ.....|"

सुषमाले डायरी लेखिसक्दा झ्याल बाहिर सृष्टिको अर्को बिहानी घाममा अनेक रङ मिसाएर रातो सुनौलो पहेंलो सेतो हुँदै झुल्कदै थियो | रातको गर्भबाट घस्रदै गरेको त्यो नयाँ बिहानी जस्तै एउटा नयाँ आयाम सुषमाको मनमा पनि झुल्कदै थियो | त्यो आयाम फरक थियो, पृथक, भिन्न | त्यसले भन्थ्यो - जीवन मिलन हो, हाँशो हो, खुशी हो, आशा हो | तर त्यो परिभाषा कहिले सम्मलाई ?

म्याडिसन, विस्कन्सिन, अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 24 श्रावण, 2073

लेखकका अन्य रचनाहरु