सिक्किममा नेपाली भाषाको सामाजिक शक्ति

- कृष्ण माया पुलामी

१. पृष्ठभूमि
सिक्किममा नेपाली भाषा प्रयोगको प्राचीनताबारे गम्भीर शोध अपेक्षित नै छ। कुनै पनि भाषा र भाषिक समुदायको इतिहास एकाअर्कासँग सम्बन्धित हुने हुनाले सिक्किममा बोलिने नेपाली भाषाको सम्बन्ध नेपाली भाषिक समुदायको इतिहाससँग जडित हुनु स्वाभाविक नै छ। सिक्किमबारेका राजनैतिक, नृतात्त्विक, साहित्यिक तथा भाषिक अध्ययनहरूका धुमिल प्रकाशमा सिक्किममा नेपाली जातिको प्राचीनता पुष्ट्याउने केही स्फुट तथ्यहरू सङ्कलन गर्न सकिन्छ। रिस्ले (१८९४), प्रधान (१९८२), तिवारी (२०१३) आदि यस सन्दर्भका केही ठोस् अध्ययन हुन्। यिनै अध्ययनका आधारमा भन्नुपर्दा सिक्किममा नेपालीहरूको बसोबास प्रागैतिहासिक समयदेखि हुँदै आएको हो। नेपाली मूलका लिम्बू, मगर अनि गुरुङ यहाँका रैथाने जातिमध्ये हुन्। सिक्किममा यी जातिको अस्तित्व इस्वीको १४औँ शताब्दी अघिदेखि नै रहिआएको तथ्य मान्य छ। यी जातिका मानिसहरूको मूल थलो पश्चिम नेपाल रहेको र उनीहरू कालान्तरमा विभिन्न कारणले आफ्नो थलो छाडी पूर्वतिर सर्दै आएर सिक्किममा प्रवेश गरेको रिस्ले (१८९४) ले अनुमान लगाएका छन्। यसका आधारमा त्यसताक पश्चिम नेपालमा प्रचलित खस भाषासँग उनीहरू अवश्यै परिचित थिए अनि सिक्किम पसेपछि उनीहरूले नै अन्तरसामुदायिक साझा भाषाका रूपमा नेपाली भाषाको प्रयोग सुरू गरेको अड्कल लाउन सकिन्छ।
सन् १८१७ देखि सन् १८६१ सम्ममा सिक्किमले आफ्नो ठुलो भूभाग दार्जिलिङ गुमाइसकेको थियो। यसअघि दार्जिलिङका लिम्बूहरूले लाप्चेलाई मैयात बनाएर यस ठाउँलाई 'गोर्खा थुम' भन्ने नामाकरण गरेको थाहा पाइन्छ (देवान, १९९१), जसबाट सिक्किममा अङ्ग्रेजहरूको अग्रगमनपूर्व नै नेपालीहरूको प्रभुत्व थियो भन्ने अनुमान लाउन सकिन्छ। यति मात्र नभएर भग्नावशेषका रूपमा अद्यापि अवस्थित मगर किल्ला अथवा मगरजोङहरूले सिक्किममा यिनीहरूको प्राचीनतालाई पुष्ट गर्छ। सिक्किम र दार्जिलिङमा लगभग दसवटा मगरजोङहरू अवस्थित रहेको मानिन्छ। अझ डा कुमार प्रधानले त सिक्किमको मुख्य नदी 'टिस्टा' अथवा 'तिस्ता'को नाम मगर भाषाबाटै व्युत्पन्न भएको हुनसक्ने लख काटेका छन् (प्रधान, १९८२: ४)।
सिक्किममा नेपाली भाषाका प्राचीनतालाई यसको प्रयोग प्रचलनका प्राप्त दसीहरूले पुष्टी गर्छ। नेपाली भाषामा पाइने धन खजाना, रसिद, अदालती कागजात, तमसुक लगायतका नेपाली भाषाङ्कित दस्तावेज र नेपाली ताँबे पैसा आदिले सिक्किममा यस भाषाका प्रयोग प्राचीनता र प्रचलनलाई प्रस्ट्याउँछ भन्ने तिवारी (२०१३:१६) को ठहर छ। यसका साथै सिक्किमका नेपाली भाषाको प्राचीन भाषिक रूपबारे अन्वेषण गर्नेहरूले पनि नेपाली भाषामा लेखिएका केही प्राचीन नमुनाहरू फेला पारेका छन्। शर्मा (१९९०), ढुङ्गेल (१९८६) आदि यस सन्दर्भका उल्लेखनीय अध्ययन हुन्।
सन् १८१८ मा भारत र नेपालबिच भएको तितलियाको सन्धिपछि अझ द्रुत गतिमा नेपालीहरूको जनसङ्ख्या सिक्किममा बढेको थाहा पाइन्छ। यसका लागि ए सी सिन्हा (२००५) ले सन् १८९१ मा भारतद्वारा गरिएको सिक्किमको तेस्रो जन सर्वेक्षणलाई आधार गरी सन् १८९१ सम्म सिक्किममा नेपालीहरूको जनसङ्ख्यामा दोब्बर वृद्धि भएको तथा सिक्किमका कुल जनसङ्ख्याको आधाभन्दा बढी सङ्ख्या नेपालीहरूको देखाएका छन्। यस सर्वेक्षणमा नेपालीहरूको सङ्ख्या ३०,४५८ थियो जुन त्यस बेलाका भोटे, लाप्चे र लिम्बूहरूको कुल जनसङ्ख्याभन्दा धेर रहेको पाइन्छ। यसरी नेपालीहरूको जनसङ्ख्या वृद्धिले स्वाभाविक रूपमै नेपाली भाषाका विकासमा पनि वृद्धि भयो भन्न सकिन्छ।
नेपाली भाषाको विस्तारका लागि छोग्याल टासी नामग्यालको नाम पनि उल्लेखनीय मानिन्छ। उनले आफ्नो कार्यकालमा लाप्चे अनि भोटेसँगै नेपाली भाषालाई पनि राष्ट्रभाषाको मान्यता दिएका थिए तथा यी तीन भाषा बोल्ने मानिसहरूबिच आपसी सौहार्दता बढाउने ध्येयले आफ्नोबाहेक अन्यका भाषा बोल्ने सरकारी कर्मचारीहरूको तनखा बढाइदिएका थिए भन्ने कुरो देवान (१९९१) ले लेखेका छन्। यसो गर्दा लाप्चे अनि भोटेहरू पनि नेपाली भाषा सिक्न प्रेरित बने र नेपाली भाषाले झ्याँगिने अवसर प्राप्त गरेको थाहा पाइन्छ।
राजनैतिक अस्थिरताका कारण काजीहरूका पालामा भने कुनै पनि भाषिक विकासको कार्य सिक्किममा हुन नसकेको देखिन्छ। सन् १९७५ मा भारतमा सिक्किमको विलय भएपछि भने सिक्किमले सामाजिक, राजनैतिक, साँस्कृतिक, आर्थिक प्रत्येक क्षेत्रमा काँचुली फेर्योक। सन् १९७७ मा भारतीय संविधानको ३४५ धाराअन्तर्गत सिक्किम आधिकारिक भाषा ऐनद्वारा सिक्किमका तीनवटा भाषाहरू भोटे, लाप्चे अनि नेपालीलाई राज्यका आधिकारिक भाषाको मान्यता दिइएको पाइन्छ (लामा, २००४)। नेपाली भाषालाई भारतीय संविधानको आठौँ अनुसूचीअन्तर्गत मान्यता दिलाउने प्रयासमा सन् १९५६ देखि नै भारतका विभिन्न राज्यमा बसोबास गर्दै आएका नेपालीहरूले आन्दोलन गरिरहेका थिए। सन् १९७५ देखि भारतको एउटा अभिन्न अङ्ग बन्न पुगेपछि सिक्किमले त्यस आन्दोलनलाई सफलीभूत तुल्याउन अतुलनीय भूमिका निर्वाह गरेको छ। सन् १९९० मा भारतभरिकै नेपालीहरूको साझा मञ्च 'भारतीय नेपाली राष्ट्रिय परिषद्'को स्थापना तत्‌कालीन सिक्किमका मुख्यमन्त्री श्री नरबहादुर भण्डारीको अध्यक्षतामा भयो। १७ सदस्यीय त्यस परिषद्को मुख्य उद्देश्य धेरै लामो समयको आन्दोलनबाट पनि सफलता हात नलागे पछि शिथिल हुँदै गएको नेपाली भाषा मान्यता आन्दोलनमा पुनर्जीवन ल्याउनु थियो (राई, २०००)। संवैधानिक मान्यता पाउनका लागि कुनै पनि भाषाले भारतका कुनै एउटा राज्यको विधानसभाबाट विधेयक पारित गरेको हुनुपर्छ भन्ने मतअनुसार सिक्किमको विधानसभाले उक्त प्रकारकै विधेयक पारित गर्यो । सो विधेयकलाई भारतीय लोकसभामा मञ्जुरी दिलाउन तत्‌कालीन सिक्किमकी लोकसभा संसद दिलकुमारी भण्डारीले अतुलनीय भूमिका निर्वाह गरेकी छन्। जसको फलस्वरूप २० अगस्त १९९२ मा नेपाली भाषाले संवैधानिक मान्यता प्राप्त गरेको देखिन्छ। यसरी भारतझैँ विशाल भौगोलिक, बहुभाषिक, बहुसांस्कृतिक राष्ट्रमा संवैधानिक मान्यता दिलाएर यसको विकास पथलाई फाँटिलो बनाउने दिशामा सिक्किमको महत्त्वपूर्ण योगदान रहेको छ।
२. सिक्किममा नेपाली शिक्षाको विस्तार
सिक्किममा १९औँ शताब्दीको अन्ततिरबाट मात्र आधुनिक शिक्षा व्यवस्थाको थालनी भएको पाइन्छ। त्यस वेलासम्म यहाँका गुम्बाहरूमा धार्मिक दर्शनका शिक्षा दिइने चलन मात्र रहेको थियो। दार्जिलिङजस्तै सिक्किममा पनि आधुनिक शिक्षाको विकास अङ्ग्रेजहरूबाटै सुरू भएको हो। दार्जिलिङमा विभिन्न मिसनरी स्कुलहरूको स्थापना गरिसकेका पादरी म्याक फर्लेन्सले सन् १८७२-७३ तिर सिक्किम आएर धेरैवटा मिसनरी स्कुलहरूको स्थापना गरेको थाहा पाइन्छ। त्यसपछि सन् १८७५ तिर सिक्किमका केही जमिनदारहरूले केही ठाउँमा निजी स्कुलहरू खोले। त्यस वेला ती स्कुलका पाठ्यक्रममा भूगोलशास्त्र, इतिहासशास्त्र, विज्ञान, अङ्ग्रेजी, हिन्दी अनि तिब्बती विषयहरू पढाइन्थे तथा अध्यापनको माध्यम भाषा हिन्दी थियो। खामदोङ, साङ अनि मंगनमा फिनल्यान्डको मिसनरीले सन् १८८० मा तीनवटा प्राथमिक स्कुलहरूको स्थापना गर्योर। त्यस्तै सन् १८८४ मा स्कटल्यान्डको मिसनरीले रिनाक, पाचेखानी, पाकिम, नामथाङ अनि तुरुकमा त्यस्तै स्कुलहरू खोले। यसै समय गान्तोकमा भोटे अनि नेपाली आवासीय स्कुलको पनि स्थापना भएको पाइन्छ। यसरी नै सन् १९०९ मा इन्चे स्कुल अनि १९२३ मा पिएनजी स्कुलको स्थापना भएको थियो। भोटे अनि नेपाली आवासीय स्कुललाई सन् १९२५ मा टासी नामग्याल हाई स्कुलका रूपमा परिणत गरिएको थियो, जुन फेरि सन् १९६६ मा टासी नामग्याल माध्यमिक स्कुल अनि टासी नामग्याल एकाडेमीका रूपमा विभाजित भएको देखिन्छ। सन् १९२० सम्म यी जम्मै स्कुलहरूमा अध्यापनको माध्यम भाषा हिन्दी नै थियो। त्यही वर्ष सिक्किमका राजाले 'चन्द्रिका' पत्रिकाका व्यवस्थापक रश्मिप्रसाद आलेलाई दार्जिलिङबाट सिक्किम बोलाए, जो सिक्किममा नेपाली शिक्षा प्रसारको महत्त्वपूर्ण कडी बने। गान्तोकस्थित नेपाली आवासीय स्कुलको प्रधान अध्यापकका रूपमा रश्मिप्रसाद आलेलाई नियुक्त गरिएको थियो। त्यस समय ९९ प्रतिशत विद्यार्थीहरू नेपाली अनि भोटे समुदायका थिए तर शिक्षार्जनको माध्यम भाषा हिन्दी भएकाले ती विद्यार्थीहरूलाई पाठ बुझ्न निकै गाह्रो हुन्थ्यो। त्यो देखेर रश्मिप्रसाद आलेले स्कुल व्यवस्थापन समितिअघि शिक्षार्जनको माध्यम भाषा नेपाली बनाउने आग्रह गरे तर व्यवस्थापन समितिबाट यसका लागि समर्थन प्राप्त भएन। भोटे, लाप्चे र नेपाली विद्यार्थीहरू रहेको त्यस स्कुलमा नेपालीलाई माध्यम भाषा बनाउँदा भोटे अनि लाप्चे विद्यार्थीलाई अन्याय गरे जस्तो हुन्छ भन्ने समितिको तर्क थियो। त्यसपछि आले आफैले त्यस समस्याको समाधानका निम्ति एउटा युक्ति निकाले। त्यो थियो विदाका प्रत्येक शनिवार अनि आइतवार नेपाली विद्यार्थीहरूलाई नेपाली भाषामा अलग्गै ट्युसन पढाउने। उनले सो कुरो समिति समक्ष राखे जसलाई भने उनीहरूले नकार्न सकेनन्। त्यसपछि उनले नेपाल सरकारको शिक्षा विभागका निर्देशकलाई पत्र लेखी गोर्खा भाषा प्रकाशिनी समितिबाट नेपाली भाषाका पाठ्यपुस्तकहरू पठाइमागे। यसरी सन् १९२१ देखि सिक्किमको शिक्षा क्षेत्रमा नेपाली भाषाको पठन पाठन सुरू भयो जसका लागि रश्मिप्रसाद आलेको योगदान अतुलनीय रहेको छ। त्यस वेलाको नेपाली पाठ्यक्रममा संक्षिप्त रामायण, संक्षिप्त महाभारत, गोर्खापत्र अनि अन्य साहित्यिक पत्र पत्रिकाहरू समाविष्ट थिए। नेपाली भाषाका माध्यमबाट शिक्षा दिइने उनको यस प्रयासलाई बहुसङ्ख्यक अभिभावकहरूले मन पराए। उनीहरूको त्यस्तो रूचि र उत्साह देखेर अर्को वर्ष अर्थात् सन् १९२२ देखि स्कुल व्यवस्थापन समितिलले नेपाली भाषालाई एउटा वैकल्पिक विषयका रूपमा पाठ्यक्रमअन्तर्गत समावेश गर्ने अनुमति दियो। त्यसकै अर्को वर्ष भने नेपालीलाई अनिवार्य विषयका रूपमा पाठ्यक्रममा राखियो। अर्कोतिर हिन्दी भाषालाई वैकल्पिक विषय बनाइयो। दार्जिलिङमा त्यस बखत नेपालीलाई शिक्षार्जनको माध्यम भाषाका रूपमा स्थापित गरिसकिएको थियो। पारसमणि प्रधानद्वारा प्राथमिक तहका पाठ्यपुस्तकहरू नेपालीमा लेख्नेत कार्य भइसकेको थियो। रश्मिप्रसाद आलेले ती पुस्तकहरू सिक्किममा पनि झिकाए तथा तिनै पुस्तकका माध्यमबाट नेपाली भाषा र साहित्यको अध्यापन कार्य थाले। सन् १९२५ को पहिलो मार्चका दिन भोटे आवासीय विद्यालय र नेपाली आवासीय विद्यालय टासी नामग्याल हाई स्कुलमा परिणत भयो। त्यति वेलासम्म तिब्बती भाषामा कुनै पनि पाठ्य पुस्तकहरू उपलब्ध नभएकाले त्यसै समयदेखि सिक्किमका सम्पूर्ण स्कुलहरूमा शिक्षार्जनको माध्यम भाषाका रूपमा नेपालीले मान्यता पायो।
सन् १९७५ मा सिक्किम भारतको अङ्ग राज्य भएपछि भने यहाँ पनि भारतीय शिक्षातन्त्र लागु भएको देखिन्छ। सन् १९७७ देखि सिक्किमका सम्पूर्ण सरकारी स्कुलहरूको पाठ्यक्रम केन्द्रीय माध्यमिक शिक्षा बोर्ड अधीनस्थ बन्यो, जसमा आठौँ श्रेणीसम्म नेपाली विषयलाई अनिवार्य विषयका रूपमा अन्तर्भुक्त गरिएको छ। नवौँ श्रेणीदेखि उता भने वैकल्पिक विषका रूपमा यसलाई स्थान दिइएको छ। स्कुलमा अध्ययन अध्यापनको माध्यम भाषा भने अङ्ग्रेजीलाई मानिएको छ तर विद्यार्थीहरूलाई पाठ बुझ्न बुझाउनका लागि अनौपचारिक रूपमा नेपाली भाषाकै प्रयोग गरिन्छ। स्कुल तथा महाविद्यालय तहमा मात्र सीमित नेपाली भाषाको पठन पाठन सन् २००८ मा सिक्किम विश्वविद्यालयको स्थापना भएपछि स्नातकोत्तर तथा विद्यावरिधी तहमा समेत सुरू भएको छ।
३. सिक्किमको बहुभाषिक परिवेशमा नेपाली भाषाको स्थान
भाषाको पारिवारिक वर्गीकरणअनुसार सिक्किममा मूल रूपमा दुई वर्गका भाषाहरू बोलिन्छन्- भोटबर्मेली अनि भारोपेली। भोटबर्मेली भाषाअन्तर्गत भोटिया, लेप्चा, लिम्बू, नेवार, तामाङ, मगर, गुरुङ, राई, भुजेल, सुनुवार अनि सेर्पा रहेका छन्। यी भाषाहरूलाई सिक्किममा राज्यभाषाको मान्यता प्राप्त छ। सिक्किमको 'लिङ्ग्वा फ्रान्का' अर्थात् साझा सञ्चारको माध्यम भाषा नेपाली रहेको छ जुन भारोपेली भाषा हो। यस वर्गकै अन्य अल्पसङ्ख्यक समुदायले बोल्ने भाषाहरूमध्ये हिन्दी, बङ्गला, पन्जाबी, भोजपुरी, मैथिली आदि मुख्य रहेका छन्। सिक्किमको भाषिक सर्वेक्षण, २००१ (मुखर्जी र अन्य, २००८) अनुसार सिक्किममा सर्वाधिक जनसङ्ख्याले बोल्ने भाषा नेपाली हो। यो सिक्किमका प्राय: सबै जातिका मानिसहरूले बोल्ने अनि बुझ्ने भाषा हो तथा एउटा समुदायका मान्छेले अर्को समुदायका मान्छेसित सम्पर्क गर्दा प्रयोगमा ल्याइने साझा भाषा पनि हो। सिक्किममा कुल ३,३८,६०६६ मानिसहरूले यसलाई मातृभाषाका रूपमा प्रयोग गर्छन् तथा प्रायः शत प्रतिशत मानिसहरूले नेपाली भाषाको प्रयोग विभिन्न क्षेत्रमा गर्ने देखिन्छन्। यस दृष्टिले सिक्किमको बहुभाषिक परिवेशमा नेपाली भाषा मानिसहरूको पहिलो प्राथमिकता हो भन्दा अन्यथा हुँदैन।
सिक्किममा नेपाली भाषाका प्रयोक्ताहरू तीन थरीका पाइन्छन्। पहिलो थरीमा भोटे, लाप्चे, लिम्बू अनि तराइवासीहरू पर्छन्। उनीहरूले यस भाषाको प्रयोग दोस्रो भाषाका रूपमा गर्छन्। दोस्रो थरीमा नेपाली जातिकै उपजाति मानिने मगर, राई, तामाङ, नेवार, गुरुङ, सुनुवार आदिलाई लिन सकिन्छ। उनीहरूले यसलाई मातृभाषाकै रूपमा अँगालेको देख्न् पाइन्छ। तेस्रो थरीमा चाहिँ सिक्किमका सबै जातिका मानिसहरू पर्छन् जसले आआफ्ना मातृभाषासँगै नेपाली पनि पहिलो भाषाकै रूपमा बोल्न सिक्छन् अनि बोल्छन्। यी तीन थरीका भाषा प्रयोक्ताहरूको तर स्पष्ट सीमाङ्कन चाँहि गर्न सकिँदैन। यिनीहरू कतिपय स्थितिमा एकाअर्काका सीमामा पर्न गएको पनि देख्न् सकिन्छ। जस्तै नयाँ पुस्ताका सहरमा बस्ने तथा नेपालीबहुल क्षेत्रमा बस्ने भोटे, लाप्चे, लिम्बूहरूको मातृभाषा नै नेपाली भएको स्थिति पनि देखापर्छ भने ग्रामीण, अभेक अनि एकभाषी क्षेत्रका कतिपय मगर, सुनुवार, तामाङ, नेवार, गुरुङ आदिले यसलाई दोस्रो भाषाका रूपमा पनि प्रयोग गर्छन्।

४. सिक्किममा नेपाली भाषाको प्रयोग क्षेत्र
सिक्किममा प्रायः सबै क्षेत्रमा नेपाली भाषाको प्रयोग पाइन्छ। शिक्षा, राजनीति, सञ्चार माध्यम, व्यवसाय, सामाजिक तथा साँस्कृतिक क्रियाकलाप, पारिवारिक तथा साङ्गठनिक भेला आदि सबैमा यस भाषाको प्रयोग अनिवार्य देखिन्छ। नेपालीमूल समुदायका मानिसहरू जस्तै राई, मगर, गुरुङ, तामाङ आदिबिच त नेपाली भाषा हरेक कार्यका लागि एक मात्र चयन छ नै, गैर नेपालीमूल भाषिक समुदायका मानिसहरू जस्तै भोटे, लाप्चेबिच पनि साझा भाषाका रूपमा नेपाली भाषाको प्रयोग क्षेत्र आकलन गर्न सकिन्छ। यिनीहरूले घर परिवार तथा आफ्नै समुदायका मानिससित आफ्ना भाषामा कुराकानी गरे तापनि त्यसका सीमा नाघ्नेबित्तिकै नेपाली भाषाको प्रयोग गर्ने गरेका देखिन्छन्। बजारहुँदि सौदापात गर्दा, सिक्किमभित्रका स्थानहरूमा घुमफिर गर्दा, औपचारिक कार्यमा भाषण गर्दा, कार्यालयीय कामकाज आदि सबैमा नै यस भाषाको प्रयोग अनिवार्य देखिन्छ। यीबाहेक अन्य राज्यबाट बसाइँ सरी आएका मारवाडी, बिहारी, बङ्गाली, पन्जाबी आदि समुदायका मानिसहरू समेतले उनीहरूका घर परिवारबाहेक अन्य प्रत्येक क्षेत्रमा नेपाली भाषाको प्रयोग गर्छन्। सिक्किममा नेपाली भाषाको वर्चस्व पुरानो समयदेखि नै थियो भन्ने कुराको अनुमान अन्य राज्यबाट सन् १९७५ भन्दा अघि नै बसाइँ सरी आएर सिक्किमलाई नै आफ्नो स्थायी कर्मथलो बनाउने अन्यभाषी समुदायका मानिसहरूले मातृभाषी नेपालीले जस्तै नेपाली भाषामा दक्षता प्राप्त गरेको कुराबाट लाउन सकिन्छ। भोटे राजतन्त्रको छत्रछायामा बसोबास गरे पनि उनीहरूले भोटे भाषा नसिकेर नेपाली भाषा सिकेका छन्। अझ आजका समयमा उनीहरूका पछिल्ला पुस्ताले त उनीहरूको सामुदायिक भाषा समेत नसिकेर नेपालीलाई नै मातृभाषाका रूपमा बोल्ने गरेको पनि यदाकदा उदाहरण पाइन्छन्। यस खाले उदाहरणले सिक्किममा नेपाली भाषाका प्रयोग क्षेत्रको व्यापकतालाई पुष्ट तुल्याउँछ।

५. सिक्किममा नेपाली भाषाका संसाधनहरू
सिक्किममा नेपाली भाषाका श्रोत संसाधनहरूको अभाव छैन। लगभग दुई शताब्दी लामो लिखित नेपाली साहित्यिक रचना, कृति, पत्र पत्रिका प्रकाशनको परम्पराले यो भरिपूर्ण छ। यति मात्र नभएर लोकजीवनमा सूरक्षित मौखिक साहित्य, गीत आदिको परम्परा तथा प्रचलन पनि सिक्किममा नेपाली जाति जति नै पुरानो छ। यहाँ विशेषतः सञ्चार माध्यम, सङ्घ संस्था अनि प्रकाशन संस्थाका उपशीर्षकअन्तर्गत सिक्किममा पाइने नेपाली भाषाका संसाधनबारे चर्चा गरिएको छ।
५.१. सञ्चार माध्यम
सञ्चार माध्यमका लिखित संसाधनबारे कुरा गर्नु हो भने नेपाली भाषामा छापिने दैनिक, साप्ताहिक तथा मासिक समाचारपत्रहरू सिक्किममा पर्याप्त छन्। 'समय दैनिक', 'हाम्रो प्रजाशक्ति', 'हिमाली बेला', 'दैनिक मिर्मिरे', 'साङ्ग्रिला टाइम्स' जस्ता दैनिक समाचारपत्र, 'नयाँ कञ्चनजङ्गा', 'चक्रव्यूह', 'आजको सिक्किम' जस्ता ७० भन्दा धेर साप्ताहिक समाचारपत्रहरूको प्रकाशन यस सन्दर्भमा उल्लेखनीय छन्। आम सञ्चार माध्यमका अन्य साधन रेडियो, एफ एम र टिभीमा पनि नेपाली भाषाको प्रयोग पाइन्छ। अल इन्डिया रेडियोमा आकाशवाणी गान्तोकद्वारा दैनिक समाचार, साँस्कृतिक तथा सामाजिक चेतनाका कार्यक्रमहरू सन् १९८२ देखि नै नेपाली भाषामा प्रसारण गरिरहेको पाइन्छ। यस्तै मिस्टी एफएम, रेड एफएम, नाइन एफएमजस्ता एफएमहरूमा पनि नेपाली भाषाका साङ्गीतिक कार्यक्रमहरू प्रसारित हुन्छन्। दूरदर्शनका क्षेत्रमा भने सिक्किमले त्यति प्रगति गर्न सकेको छैन। अहिलेसम्म नेपाली भाषाका समाचार तथा साङ्गीतिक कार्यक्रमहरू देखाउने एउटा मात्र टिभी केबल नयुमा इन्टरटेनमेन्ट रहेको छ। यीबाहेक नेपाली गीतका क्यासेट, सिडी, डिभिडीहरू पनि सिक्किमबाट प्रशस्तै निस्किने गरेको पाइन्छ तथा नेपाली चलचित्रका क्षेत्रमा समेत सिक्किमले भर्खरै पहल सुरू गरेको छ।
५.२. सङ्घ संस्था
नेपाली भाषाको उन्नयनका लागि सिक्किमका नेपाली साहित्यिक तथा भाषिक सङ्घ संस्थाहरूको पनि भूमिका अतुलनीय देखिन्छ। सिक्किममा यस्ता सङ्घ संस्थाहरूको इतिहास सन् १९४० को दशकदेखि सुरू हुन्छ। तिवारी (२०१३) ले सिक्किमका यस्ता सङ्घ संस्थाहरूको परिचायत्मक विवरण प्रस्तुत गरेका छन्, जसअनुरूप ३८ वटा भन्दा धेर सङ्घ संस्थाहरूले सिक्किमका चारैवटा जिल्लाका कुना काप्चासम्म नेपाली भाषाको प्रगतिका लागि काम गरिरहेका छन्। त्यस्ता संघ संस्थाहरूमध्ये अपतन साहित्य परिषद्, युथ लाइब्रेरी, सिक्किम साहित्य परिषद्, पश्चिम सिक्किम साहित्य प्रकाशन, नेपाली साहित्य सम्मेलन, भारतीय नेपाली साहित्य परिषद्, दक्षिण सिक्किम साहित्य सम्मेलन, सिक्किम अकादमी आदि प्रमुख रहेका छन्।
५.३. प्रकाशन संस्था
सिक्किममा नेपाली साहित्यिक तथा साहित्येतर पुस्तकहरूको प्रकाशन अनि बिक्री वितरण गर्ने प्रकाशन संस्थाहरू पनि छन्। यस सन्दर्भमा सबैभन्दा ठुलो प्रकाशन संस्थाका रूपमा निर्माण प्रकाशनको नाउँ लिन सकिन्छ। सन् १९७७ देखि सुरू गरिएको यस प्रकाशनको संस्थापक सिक्किमका वर्तमान मुख्यमन्त्री श्री पवन चामलिङ हुन्। उनका अगुवाइमा दक्षिण सिक्किमको अभेक गाउँ याङगाङका युवाहरूले सुरू गरेको यस प्रकाशनको नाउँ सम्पूर्ण नेपाली भाषा अनि साहित्य फाँटमा अग्रपङ्क्तिमा आउँछ। निर्माण प्रकाशनले आजसम्म ३०० भन्दा धेर पुस्तकहरूको प्रकाशन गरिसकेको छ। पारिजातका सम्पूर्ण रचनाहरू (५ खण्ड), इन्द्र सम्पूर्ण (५ खण्ड), गिरी रचनावली (चार खण्ड), भीमनिधि तिवारी काव्य समग्र आदि यस प्रकाशनका प्रमुख उपज हुन्। वर्षैपछि सिक्किम तथा सिक्किमबाहिरका लेखकहरूको २० वटा भन्दा धेर पुस्तकहरूको प्रकाशन गरेर नेपाली भाषा र साहित्यमा लागिपर्ने व्यक्तिहरूलाई लेखनप्रति प्रोत्साहित तुल्याउने काम यस प्रकाशनले गरिरहेको छ।
निर्माण प्रकाशनपछि सिक्किमको अर्को बृहत् प्रकाशन संस्था रहेको छ - जनपक्ष प्रकाशन। सन् १९८५ मा पुण्यप्रसाद शर्माका स्वामित्वमा स्थापित यस संस्थाले पनि लगभग सयवटा विभिन्न पुस्तकहरूको प्रकाशन गरिसकेको छ। यसका साथै सिक्किमका प्राथमिक तहदेखि उच्च माध्यमिक तहसम्मका नेपाली विषयको पाठ्यपुस्तकहरूको प्रकाशन गर्ने संस्थाका रूपमा यसको पहिचान टड्कारो देखिन्छ। यीबाहेक सिक्किमबाट सञ्चालित अन्य प्रकाशन संस्थाहरू हुन् - आँकुरा प्रकाशन, हिमाली प्रकाशन, आकाशदीप प्रकाशन, आजको सिक्किम प्रकाशन, हिमगिरि प्रकाशन, विचार प्रकाशन आदि।
६. निष्कर्ष
दह्रिलो साक्ष्यका अभावमा सिक्किममा नेपाली भाषाको विकास तथा प्रचार प्रसार कहिलेदेखि कसरी भयो किटेर भन्न सकिँदैन। तथापि उपलब्ध स्फुट तथ्यका आधारमा नेपाली भाषा र सिक्किमेली भूमिको सम्बन्ध पुरानो हो भन्न सकिन्छ। सिक्किममा नेपाली भाषाको समाजिक शक्ति के कति प्रबल रहेको छ भन्ने बारेको यस अध्ययनबाट के निष्कर्ष निकाल्न सकिन्छ भने भारतका अनेकौँ राज्यमध्ये सिक्किम मात्र यस्तो राज्य हो जहाँ नेपाली भाषी जनसङ्ख्या बहुसङ्ख्यक छन्। राज्यका लगभग सय प्रतिशत जनसङ्ख्याले यहाँ नेपाली भाषाको प्रयोग दैनिक रूपमा औपचारिक तथा अनौपचारिक कार्यका लागि हरेक क्षेत्रमा गर्छन्। नेपाली भाषाका संसाधनहरू जस्तै सञ्चार माध्यम, सङ्घ संस्था, प्रकाशन संस्थाले पनि सिक्किममा यस भाषाको लोकप्रियता र व्यापकतालाई इङ्गित गर्छ। सिक्किमेली नेपाली भाषी समुदायका तीनैवटा पुस्ता (बाल, वृद्ध, वनिता) ले मातृभाषाका रूपमा नेपाली बोल्ने गर्छन्, जसबाट यहाँको बहुभाषिक परिवेशमा नेपाली भाषाको प्रयोजन के कति महत्त्वपूर्ण छ भन्ने कुरा बुझ्न सकिन्छ।


सन्दर्भ
1. ढुङ्गेल, विपिनदेव. ''सिक्किममा नेपाली''. सुमनराज तिमसिना र विपिनदेव ढुङ्गेल (सम्पा). बिजुवा, अङ्क १, वर्ष १, १९८६
2. तिवारी, दीपक. सिक्किमको नेपाली साहित्यिक इतिहास परम्परा : स्वरूप र प्रवृत्ति. नाम्ची, दक्षिण सिक्किम : रमा तिवारी. २०१३
3. थुलुङ, प्रेम. सिक्किममा शिक्षाको विकास. नाम्ची, दक्षिण सिक्किम : प्रेम थुलुङ. १९९८
4. देवान, धन कुमार. सिक्किममा नेपाली भाषा र साहित्यको विकास : एक अध्ययन. स्नातकोत्तर तहको अप्रकाशित लघु शोध प्रबन्ध. सिलगढी : नेपाली विभाग, उत्तर बङ्गाल विश्वविद्यालय. १९९१
5. प्रधान, कुमार. पहिलो प्रहर. दार्जिलिङ : श्याम प्रकाशन. १९८२
6. मुखर्जी, काकली र अन्य. लिङ्ग्विस्टिक सर्वे अफ् सिक्किम (खण्ड १). नयाँ दिल्ली:रजिस्ट्रर जनरल अफ् इन्डिया, भारत सरकार. २००८
7. राई, सुवास. भारतमा नेपाली भाषाको संवैधानिक मान्यता आन्दोलन र यसका उपलब्धिहरू. स्नातकोत्तर तहको अप्रकाशित लघु शोध प्रबन्ध. सिलगडी : नेपाली विभाग, उत्तरबङ्ग विश्वविद्यालय. २०००
8. रिस्ले, एच एच. दी ग्याजेटियर अफ् सिक्किम. गान्तोक : सिक्किम न्यचर कन्सर्वेसन फाउन्डेसन. १८९४
9. लामा, महेन्द्र (सम्पा). सिक्किम स्टडी सिरिज (खण्ड ४). गान्तोक : सूचना एवं जन सम्पर्क विभाग, सिक्किम सरकार. २००४
10. सिन्हा, ए सी. ''सिक्किम''. Retrieved from http://www.ide.go.jp/English/Publish/Download/Jrp/pdf/133_10.pdf . (2005)
11. शर्मा, पुष्प. ‘सिक्किमका आदिम निवासी र नेपाली भाषा’, वीरभद्र कार्कीढोली (सम्पा), प्रक्रिया, वर्ष ४, अङ्क ६, १९९०

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 श्रावण, 2073

लेखकका अन्य रचनाहरु