भानुभक्त आचार्यको जन्म विवाद

- नरेन्द्रराज प्रसाई

पाहाड्को अति वेस देश् तनहुँमा श्रीकृष्ण ब्राहृमण् थिया,
खुप् उच्चा कुल आर्यवंशि हुनगै सर्त्कर्ममा मन्दिया,
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया,
इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया ।
भानुभक्त आचार्यका बाजे श्रीकृष्ण आचार्य तनहुँको चुँदी रम्घाका प्रतिष्ठित पण्डित तथा जमिनदार थिए । श्रीकृष्णका ६ भाइ छोरामध्ये खरदार धनञ्जय आचार्य जेठा थिए । धनञ्जयकी पत्नी धर्मावतीदेवीका कोखमा एउटा छोरा र एउटी छोरीको जन्म भएको थियो । छोराको नाम थियो- देवीभक्त आचार्य र छोरीको नाउँ भैरवी राखियो । यी दाजुबहिनीको जन्म चुँदी रम्घामा भएको थियो । मोतीरामले भानुभक्तका भतिजा रामदत्त आचार्यसँग सोधेर भानुभक्तको जन्मथलो तनहुँको चुँदीबेँसीको रम्घा हो भनी लेखे । तर केहीले धनञ्जयको जागिर भएका ठाउँमा नै छोराछोरी जन्मेको बेहोरा पनि लेखेको पाइन्छ । भानुभक्त आचार्यका पनाति मुक्तिनाथ आचार्यलगायत कसैकसैले चुँदीबेँसी र रम्घा गाउँबीचको धर्मशाल भन्ने ठाउँको शिखर कटेरीमा भानुभक्तको जन्म भएको थियो भनेका छन् । अनि कसैकसैले चुँदी रम्घा डाँडाको पश्चिममा पर्ने तामाकोटमा भानुभक्तको जन्म भएको पनि लेखेका छन् ।

धनञ्जयको उमेर चालीस वर्षको हुँदा बल्ल उनलाई पुत्रलाभ भयो भनिन्छ । त्यसो हो भने २८ वर्षसम्म धनञ्जयका सन्तान जन्मेका थिएनन् । त्यस बेलाको प्रचलनअनुसार अठारबीस वर्षभत्र नै सन्तानको मुख हेर्न सकिने अवस्था थियो । तर यथोचित समयमा सन्तान नजन्मेपछि धनञ्जयले सन्तान प्राप्तिका लागि सूर्यको व्रत लिन थाले; अनि सूर्यको व्रत लिएको बाह्र वर्षपछि ४० वर्षतर पुग्दा बल्ल उनले छोराको मुख देख्न पाए । तिनै सन्तान हुन्- देवीभक्त आचार्य । न्वारनमा देवीभक्त भनिएका बालक नै भानुभक्त आचार्य हुन् । सूर्य अर्थात् भानुको व्रत लिएर छोरा पाएकाले छोरो यशस्वी होस् भन्ने आशा र अपेक्षा धनञ्जयको थियो । त्यसैले आफ्नो छोराको चिनाको नाउँ देवीभक्त भए तापनि उनले बोलाउने नाउँचाहिँ भानुभक्त नै राखिदिए । संस्कृत भाषामा भानुको अर्थ सूर्य, किरण वा प्रकाश पनि हो ।

भानुभक्तको जन्मबारे विभिन्न तिथिमितिहरू चर्चामा आए । भानुभक्तका रचना खोजी छपाएपछि 'कवि भानुभक्त आचार्यको जीवनचरित्र' १९४८ सालमा मोतीराम भट्टले भानुभक्तको जन्म १८६९ सालमा भयो भनी लेखे । तर भानुभक्तकी नातिनी विष्णुमाया (रमानाथकी छोरी)ले सुब्बा रङ्गनाथ शर्मालाई 'भानुभक्त मणिमाला'मा भूमिका लेखाई १८७१ साल असार २९ गते आइतबार भानुभक्त जन्मेको बेहोरा पेस गरिन् ।

'भानुभक्त मणिमाला' प्रकाशित भएपछि भानुभक्तको जन्ममितिको बेहोराले विवाद उब्जाउन थाल्यो । वास्तवमा मोतीरामले १९४७ सालमा भानुभक्तका भतिजा रामदत्तसँग सोधपुछ गरी भानुभक्तको जन्ममिति लेखेका थिए । रामदत्तबाट पाएको सूचनाकै आडमा उनले भानुभक्तको नालीबेली लेखेका थिए । यस प्रसङ्गलाई मोतीराम भट्टले 'कवि भानुभक्ताचार्यको जीवनचरित्र' (१९४८)को विज्ञप्ति पत्रम्' मा यसरी लेखेका छन्-
"कवि भानुभक्ताचार्यका भतिजा रामदत्त कन मो अनेकानेक धन्न्यवाद दिन्छु, जस्ले मलाई निज कविका अनेक हाल यथार्थ भन्नु भयो । जस्का कृपाले यो पुस्तकको जन्म भयो ।"

भानुभक्त जन्मेको तिथिमितिबारे भानुभक्तका भतिजा रामदत्त आचार्यले मोतीरामलाई अन्दाजैमा लेखाएका थिएनन् भन्ने बुझिन्छ । किनभने भानुभक्तले चालीस वर्षो उमेरमा कुमारीचोकबाट श्री ३ कम्यान्डर इन् चीफलाई १९०९ सालमा कवितामा बिन्तीपत्र लेखेका थिए :

चालिस् वर्षभञा म पुत्र पनि एक् मात्रै छ आठ् वर्षको
आयो काल् व्रतबन्धको नजिकमा बेला त हो हर्षको।

भानुभक्तको जन्म वर्ष १८६९ साल हो भन्ने कुरा पनि यस कविताले प्रमाणित गरेको छ । किनभने १८६९ मा ४० जोड्दा १९०९ साल नै हुन आउँछ ।

भानुभक्तकी नातिनी विष्णुमायाद्वारा प्रस्तुत भएको भानुभक्तको जन्मकुण्डली सक्कली थिएन भन्ने बेहोरा भानुभक्तकै उपर्युक्त कविताबाट प्रस्ट देखिन्छ । १९४७ सालमा रामदत्तसँग भेट भएपछि नै मोतीरामले कवि भानुभक्तको जीवनचरित्र लेख्ने मुख्य सामग्री पाए । यदि रामदत्तले चासो नलिएको भए भानुभक्तको अहिलेको स्वरूप मोतीरामका कलममार्फत यसरी प्रकट भएर आउँथ्यो भन्न पनि सकिँदैन । त्यसैले रामदत्तले दिएको भानुभक्तको जन्ममितिलाई पनि अनाहक गलत पार्नुको तात्पर्य नै थिएन भनिन्छ ।

मोतीरामले भानुभक्तको जीवनी भतिजा रामदत्त आचार्यलाई आधार बनाएर नै लेखे । यति हुँदाहुँदै भानुभक्त कुमारीचोकमा रहँदा उनले 'चालिस् वर्षभञा म' भनेरै कविता लेखेको बेहोरालाई समेत सर्लक्कै पन्साएर उनी जन्मेको अर्को मिति प्रस्तुत हुनुको कारण के थियो ? साथै मोतीरामलाई गलत पार्न केही व्यक्तिहरू एकोहोरो धुरिनुको तात्पर्य के थियो ? भानुभक्त जन्मेको १२७ वर्षपछि भानुभक्तले नै आफ्नो जन्मकुण्डलीबारे कविता रचेका थिए भनेर उनकी नातिनीमार्फत यो कविता कसरी आयो ? जे होस्; भानुभक्तभन्दा ६७ वर्षछि जन्मेकी उनकी नातिनी विष्णुमायाको कृति 'भानुभक्त मणिमाला'बाट जादू भएझैं भानुभक्तको जन्मकुण्डलीको वर्णन गरिएको चाहिँ अढाइ श्लोकको प्रस्तुति यस्तो छ :
श्री शालीवाहन्का समय षडत्रिंशत् भइकन ।
अनी आषाड् मास्को दिन पनि उनन्तिस् गइकन ।।
घटी एक्तिस् माँहा विघटि पनि वत्तिस् परिकन ।
नवांशक् कंठीरव् धनुष परि जो वेस लगन ।।१।।
मिथुन्मा सूर्यै छन् निवनिलय मीन्का विधु अनी ।
महीसुत् बुध् राहू शशि सदनकार् इ तिन पनी ।।
गुरू भाग्यस्थान्का रविभवनमा गैकन वस्या ।
भृगूजी ता आफ्नै सदन वृषमा गैकन पस्या ।।२।।
मकर्मा सौरी छन् ध्वजसहितका स्वगृहि यँहा ।
वतायाका क्रम्ले ग्रह हरु वस्या कुण्डलि मँहा ।।

भानुभक्तद्वारा यस प्रकारको जटिल श्लोक रचना हुनै सक्तैन भन्नेहरू पनि छन् । उनले जहाँसुकै पनि प्रायः 'म भानुभक्त', 'म फलानाको नाति', म यस्तो हुँ भनेर आफ्नोबारे भन्नुपर्दा श्लोक लेख्ने गर्थे । तर माथि उल्लिखित श्लोकमा न त उनको नाउँ नै छ; न त गाउँ छ र न त जन्मेको साल नै लेखिएको छ; अनि न मेरा कुण्डलीमा देवीभक्त नाउँ थियो र म भानुभक्त भएँ भन्ने नै उनले लेखेका छन् ।

भानुभक्त जन्मेको १२७ वर्षपछि उनको जन्मकुण्डली र उनी आफैले रचना गरेको भनिएर उनकै जन्मकुण्डलीको विवरण 'भानुभक्त मणिमाला' मार्फत आउनुलाई सजिलै पत्याउने आधार देखिँदैन । जन्मकुण्डलीबारेमा वर्णन गरिएको यो कविता भानुभक्त स्वयम्ले रचना गरेका थिए भन्ने आधिकारिकता पनि कहीं कतैबाट पुष्टि भएको देखिँदैन । अर्कातिर भानुभक्तका श्लोकहरू प्रायः मौखिक परम्पराबाट विकसित भएको हुँदा पछिपछि धेरै कुरा कुन कताबाट आयो भन्ने स्रोत पनि भेटिँदैन । यसरी नै रामभक्त, मोतीराम र धर्मदत्त ज्ञवालीका पालासम्म चर्चा नभएको भानुभक्तको आफ्नै जन्मलग्न कुण्डलीको कविता विष्णुमायाको 'भानुभक्त मणिमाला' प्रकाशनमा झुण्डिएर आयो । त्यतिका वर्षपछि भानुभक्तको खुद नाउँ र जन्ममितिका विषयमा नयाँ जानकारी आयो । तर पनि रङ्गनाथ शर्मा र विष्णुमायाले प्रस्तुत गरेको 'भानुभक्त मणिमाला' कृतिमा भानुभक्तको जन्ममिति, जन्मकुण्डली, (देवीभक्त आचार्य भानुभक्तको चिनाको नाउँ ?) र त्यसबारेको श्लोक राखिँदा त्यही तिथिमितिले नेपाली समाजमा जरा गाडिसकेको छ । अर्थात् समालोचक, जीवनी लेखक र जनजीवनले भानुभक्तको जन्म १८७१ असार २९ गते नै कायम गरिसकेका छन् । त्यतिमात्र होइन, नेपाल सरकारले समेत यही मितिलाई आधार बनाएर भानु द्विशतवाषिर्की मनाइसकेको छ । त्यसैले अब उनको जन्म मिति १८६९ सालमा र्सार्नुको कुनै तुक छैन र पाठकलाई यसै बेहोरामा मात्र चाकाचुली खेलाई रहन उपयुक्त पनि छैन । तर यतिहुँदाहुँदै पनि भानुभक्त जन्मेको वर्ष १८६९ साल नै हो भन्ने वैज्ञानिक आधार स्थापित भैसकेको बेहोरा पनि भुल्न चाहिं हुँदैन।

स्रोत : भानुभक्त आचार्यको जीवनवृत्त (२०७१)

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 श्रावण, 2073

लेखकका अन्य रचनाहरु