मीठो झन्झट

- पेशल आचार्य

‘विवाह स्त्रीका लागि सुरूआत र पुरुषका लागि समाप्ति हो’ एकजना विद्वान्ले भनेका छन् । उपरोक्त उक्ति सारै मार्मिक र मननीय लाग्छ ।
जीवनप्रति प्रत्येक मानिसका आआफ्ना सोच र मूल्यमान्यताहरू हुन्छन् । सबैको अनुभवले जीवनलाई केही न केही आलोक दिएर गएका हुन्छन् ।
मैले समाज पढेर केही यस्ता उदाहरणहरू पाएको छु ती विद्यालय र विश्वविद्यालयका पुस्तकमा भेट्न सकिनँ ।
कुरो बिहेको हो । बद्मासभन्दा बद्मास मानिस बिहे गरेर सप्रिएका छन् । कोही बिहे गरेकै कारणले बिग्रिएको पाएको छु । कसैले बिहेपछि भटाभट प्रगति गरेको देखेकोछु भने कोहीचाहिँ फर्सी कुहिएझैँ फतक्क गलेर गएको पाएको छु । बिहेका बारेमा अर्को एउटा चल्तीको भनाइ नै छ –‘बिहे गर्ने र नगर्ने दुवै मानिस सन्तुष्ट हुन सक्दैन ।’ यसो किन भनेको होला ? सायद् यसमा निराशावादी चिन्तनले काम गरेको छ कि ?
तीनथरी मानिसको भुइँमा खुट्टा हुँदैनन् रे ! एउटा भर्खर एस्एल्सी पास गरेको विद्यार्थीको । दोस्रो भर्खर बिहे गरेका मानिसको । तेस्रो बिहेमा जन्ती गएका जन्तारूको । किन यसो भनिएको होला भनी खूब सोचेँ । एउटा तर्क मानसपटलमा फुत्त आयो । हाइस्कुल शिक्षाको अन्त्य भनेर एस्एल्सी परीक्षालाई लिने गरिन्छ । जो परिश्रमले पढ्दछ या भविष्यमा असल या ठूलो मानिस हुँने इरादा गर्छ ऊ त सारै पात्तिदैन होला । मात्तिदैन होला । तर जसलाई एस्एल्सी नै संसारको ठूलो डिग्री भन्ने भ्रम हुन्छ ऊचाहिँ ठूलो भुइँमा न भाँडामा हुन्छ । उसलाई आफूले केकेन गरेको मिथ्या अभिमान हुन्छ । नेपोलियनले संसारै जितेजस्तो गर्व हुन्छ । त्यसैले भर्खर एस्एल्सी पास गरेका मानिस छोइ नसक्नाका हुन्छन् । यसोभन्दा भर्खर एस्एल्सी पास गरेर यो निबन्ध पढ्ने कलिला पाठकपाठिकाहरू मसँग रिसाउँन त नरिसाऊलान् हगि !
हनिमुन पिरियडका बेहुलाबेहुलीको समेत भुइँमा खुट्टा हुँदैनन् । अलिअलि गोड्धुवा हुन्छ । बाँकी बक्यौतामा । कहिले ससुराली र कहिले घरमा आउजाउ परिरहेकै हुन्छ । भर्खरका बेहुलाबेहुली भनी कार्यबोझ त्यति हुँदैनन् अनि त्यो समय केटाकेटीले चिनी पाएजस्तो हुन्छ –एकर्कालाई । सो बेलामा कसैलाई अर्तीबुद्धि दिनु भनेको सोझै उसलाई गाली गर्नु समान हो । पैसासैसाको तातो, न व्यवहारको झन्झट अनि भर्खरभर्खर पतिपत्नी हुनुको रमरमी गर्वानुभूतिले उनीहरूका दिमागमा घर गरिरहेका हुनाले तिनीहरूले मानिसलाई मानिस नै गन्दैनन् ।
तेस्रो पक्षचाहिँ बिहेमा जन्त गएका जन्तीको हुनेगर्छ । निम्तारूका रूपमा गएका जन्तीहरूको मनोवैज्ञानिक फाँइफुट्टी खूब हेर्न लायकको हुन्छ । यो भएन, त्यो भएन, यस्तो हुनुपथ्र्यो, त्यस्तो भयो आदिआदि । फर्माइस नानानौरङ्गी हुन्छन् । आपका धन कि बापका धन त्यसबेला न आपका धन हुन्छ न बापका धन । मन लाग्छ ज्यूनारान ग¥यो । मन पर्दैन आफली दियो र एकौटा अब्डी लगायो । आफ्नो भए त्यतिको गतिगँरास हुन्थ्यो÷हुँदैनथ्यो, नारायण शिव ! अर्कालाई ह्यान भएन त्यान भएन । कुरा गर्न त सजिलो हुन्छ । पु¥याउन गाह्रो ।
गाउँमै जन्ती जाँदा मैले सुनेको थिएँ धेरैअघिः
‘भन्नजस्तो सजिलो र गर्नजस्तो गाह्रो
कुराजस्तो मिल्ने र कामजस्तो सारो
भोकजस्तो रोग र अन्नजस्तो औषधि
बाबुजस्तो साथी र आमाजस्तो भान्से’
अर्को एउटा भनाइ छ –रवि नपुग्ने ठाउँमा कवि पुग्छन् र कवि पनि नपुग्ने ठाउँमा अनुभवी पुग्छन् । हो, अनुभवीले गरी नभ्याएको ठाउँ नै छैन । शास्त्रले भनेको छ –पढेरभन्दा परेर जानिन्छ ।
सन्दर्भ थियो, मिठो झन्भटको ।
यहाँ त कुरा गर्छ आग्राको काम गर्छ गाग्रको भयो । बाटो बिराएको होइन पाठक महोदय ! भूमिका बाँधेको पो । समाजमा बाबु चिनाउँने जिम्मा आमाले पाएकी हुन्छिन् । हुन त दुवैको कर्तव्य र जिम्मेवारी बराबरी छ तर बाबुभन्दा आमाको लेखो बढी पाइन्छ । आमाले दस महिना पेटमा बोकेर पृथ्वीमा ल्याउन जुन हैरानी हुन्छ त्यो बाबु बन्ने अवशर पाएकालाई कहाँ हुन्छ ? ऊ आमाले नै झन्झट गरिदिएको भरमा बाबु बनेको हुन्छ तर बाबु बनेपछि भने उसले पनि आजआज भोलिभोलि भन्दाभन्दै बिस्तारै यस्ता कोहराममा आफूलाई फँसाएको पाउँछ । शिशु हुर्काउने सम्बन्धमा आमाले नानाभाँती गोरखधन्दामा आफूलाई अल्झाए पनि व्यवहारको टेको भनेका दुवै बाबुआमा हुन् । मैले खासगरी परेवाको सूक्ष्मअध्ययन गर्दा के पाएको छु भने भालेपोथी दुवैले अन्डा अवस्थामा कार्यविभाजन गरी छोपेका हुन्छन् । भाले दिउँसो ओथारामा बसेको हुन्छ भने पोथीचाहिँ रात्रिकालीन समयमा बसेकी हुन्छे तर जब उनीहरूले बीस दिनमा नयाँ चल्ला कोरल्छन् त्यसपछिका केही दिन भालेको काम सकिएझैँ हुन्छ । ऊ क्रमशः आफ्नै संसारमा मस्त हुन्छ भने पोथी रातोदिन चल्लाका स्याहारमा मग्न हुन्छे । केही दिनपछि जब बच्चा अलि ठूला हुँदै जान्छन् त्यसपछि भने भालेपोथी दुवैले चुच्चामा पक्रेर चारो ख्वाउने दुःखेसो गर्छन् । यहाँनेर पनि भालेभन्दा पोथी अलिबढी जिम्मेवार पाएको छु –मैले ।
मानिसको पनि त्यही हो । अलि पहिले पितृसत्तात्मक परिवारमा आमाको काम घरबाहिरका हुन्थेनन् । उनी नवजातका ससाना स्याहारसुसारमा व्यस्त हुन्थिन् । बाबु घरबाहिरको काम हेर्थे तर जब कृषि युगको समाप्ति भयो र औद्योगिक युगको आरम्भ भयो त्यसपछि भने मानिसमा घडीघन्टा अनुसारका श्रमविभाजनका रूपरेखाहरू तयार भए । हिजोआज सहरी समाजमा बाबुले गर्ने आमाले गर्ने भनेर कामको बाँडफाँड गरिने परम्परामा पूर्णविराम लाग्दै जाँदोछ । सरकारले पनि जागिरका शिलशिलामा आमालाई सुत्केरी भएको अघिपछि गरी साठी दिन बिदाको सुविधा दिएको छ भने बाबुलाई पनि सुत्केरी स्याहार बिदा भनी केही दिनको छुट्टी दिएको पाइन्छ । अर्थात् दुवै मिलेर काम गर भनेको हो ।
अधुनातन विचारमा दुवै मिलेर व्यवहार बढाउँने हो । दुवै मिलेर समस्याको उठान अनि बैठान गर्ने हो । आपसी समझ्दारीमा घर र घरबाहिरका कामलाई मिलीजुली गर्नुमा कुनै अन्यथा हुँदैन तर समाजमा भएको छ त यस्तो ? छैन ।
आमाहरू घरबाहिरका काममा निस्किए पनि उनीहरूलाई झन्झन् दोहोरोतेहेरो भूमिका गर्नुपर्ने बाध्यताले घेरेको छ । कामकाजी महिलाका कहिरनहरू बेलाबेला अखबारका पानामा करुण शैलीमा छापिएका पाइन्छन् ।
ए ! मिठो झन्झटमा दुवै सामेल भएपछि दुवैले आफ्नो हिस्साको काम फत्ते गर्नुपर्छ नि ? अचेल लोकतान्त्रिक पद्दतिको विकास शनःैशनैः हुन थालेकाले यो काम पुरुषले, त्यो काम महिलाले गर्ने भनेर किटिएको पाइँदैन तर सम्पूर्ण समाजमा त्यस्तो आदर्श कहाँ छ र ! प्रसिद्ध हास्य अभिनेता हरिवंश आचार्यले एउटा गीत गाएका छन् –मेरो माया उनान्सय तिम्रो माया सय, एक थपी दिन्छु म हुन्छ दुई सय । कति मार्मिक र युग सुहाउँदो छ यो गीत ?
‘साना हुँदा मर्ला भन्ने पिर ठूलो भएपछि मार्ला भन्ने पिर’ –भन्छन् औशत छोराछोरीले दुःख दिएका केटाकेटीका आमाबाबुुहरू । आफँैले पहिला सरक्क सर्काएर टाउकामा पु¥याउँने अनि पछि दुःखका गीत गाउँने ! नानीहरूलाई कसरी अशल बनाउँने भन्ने सम्बन्धमा एउटा परिवारमा बाबुको पनि भूमिका आमाभन्दा कम आँक्न मिल्दैन । प्रकृतिले पुरुषलाई सन्तान जन्माउँन सक्ने मात्र बनाइदिएको छैन तर बाँकी सम्पूर्ण कामहरू गर्न सक्ने बनाएको छ ? युरोप र अमेरिकाको समाजमा अब कम्तिमा छोरा र छोरीमा भेद्भाव छैन । आमा र बाबुले सम्पादन गर्ने कामका शिलशिलामा रोकटोक छैन । हामी अहिले लोकतन्त्र र समावेशीका कुरा कान फुट्ने गरी सुनाउँदै छौं । यस्तै बेलामा हामीले नयाँ परम्पराको सुरूआत गर्ने हो ।
पुरानो माध्यमिक तहको पुस्तकमा ओखलढुङ्गा तिरका कृष्णप्रसाद भट्टराईको एउटा आमा कविता थियो जसमा आमाको महिमालाई अति नै सुललित गरी कविले लेखेका थिएः
‘आमाको रूप बिग्रन्छ, सन्तान जन्मिएपछि
सन्तान पर भै जान्छन्, डोलीमा अन्मिएपछि ।
संसारमा सबै चिज खोजे मिल्छ घरीघरी
तर जन्म दिने आमा, पाइँदैन कसोगरी ?’
भनेर आमाको महिमालाई नकार्न नमिल्ने गरी कविले व्यक्त गरेका थिए ।
आज जमाना बदलिएको छ । आजका मानिसले विज्ञानका मद्दतले आमाको परिचय र परिभाषामा फेरबदल ल्याएका छन् । युरोप अमेरिका तिरका सरोगेट मदरका उदाहरणहरू दक्षिण भारतमा छ्यास्छ्यास्ती आई नै सके । भोलि नेपाली समाजमा ती चलन नआउलान् भनेर भन्न सकिने स्थिति छैन । अब आमा पनि दुई थरी हुने भए –पेट बोकिदिने सरोगेट मदर र बाबुको वीर्यलाई स्वीकार्ने आमा । जसले भाडामा बोकिदिन्छे ऊ आफ्नी आमा नहुन सक्छे अनि जो आफ्नी आमा हो उसले पेटमा नबोक्ने भएपछि समाजमा अर्कै संस्कारको उदय नहोला भन्न सकिन्न । भविष्यका नवजात शिशुलाई आफ्नै आमाको पेटबाट आउने हक पनि विज्ञानले खोसिदिँदै छ । त्यस्तो अवस्थामा कसरी मातृवात्सल्यताको बखान गर्नु ? क्लोनिङ्ग प्रविधिले त नयाँ जीव सृष्टि हुन अब शुक्रकीट र डिम्बको मिलनै नचाहिने भयो भन्छ । चिताउँदै नचिताएका नयाँनयाँ समस्याहरू हाम्रो समाजमा नजिकनजिक आउँदैछन् ।
मिठो झन्झटमा त मैले उल्लेख गर्न खोजेको कुरोको चुरो के हो भने हामी जो बाबुआमा भएका छौं उनीहरूले आफ्ना छोराछोरी जन्माएपछि हुर्काउन र बढाउँन प्रत्येक आमाबाबुले केकति नानाभाँती झन्झटहरू गर्नुपर्छ ? त्यसलाई यहाँ पेस गर्न खोजेको हो । अघिको झन्झटमा मिठासैमिठास हुन्छ किनकि त्यहाँ आफूले सिर्जेका दुःखकष्टहरू हुन्छन् । गुहुुमुत पनि त्यसबेलाका समयमा आमाबाबुलाई त्यति छिछिदुर्दुर् गर्न लायक हुँदैनन् । सपनाका पोकाझैँ मानिएका सन्तानहरू बढ्लान् र पढ्लान् त्यसपछि आफ्नो भाग्य र भविष्य बनाऊलान् भनी बाबुआमाहरू अहोरात्र खाइनखाई आफ्ना केटाकेटीहरूलाई आफ्नो सम्पूर्ण समय सुम्पिरहेका हुन्छन् । यहाँनेर अचम्मको कुरो के छ भने संसारमा जोकोही आमाबाबुले आफ्ना सन्तानमाथि गर्ने लगानी उठ्छ नै भन्ने कुनै गुञ्जायस हुँदैन । छोराछोरीमा गरिने लगानी त्यस्तो जोखिम भरिएको लगानी हो जो उठे पनि जीवनको उत्तरार्धमा आमाबाबुहरू रित्तै हुन्छन् नउठे त झन् रित्तै हुन्छन् । भीरबाट लडे पनि किलो रित्तै बाघले खाए पनि किलो रित्तै भन्ने नेपाली उखानलाई यहाँनेर सम्झनुको कुनै विकल्प छैन ।
हामीले कति छोराछोरीहरू विदेश गएर पढीगुनी अथाह धनसम्पत्ती कमाइसकेपछि पनि आफ्ना आमाबाबुहरूलाई हेर्दे नहेरेको देखेका छौं अनि जस्को लगानी खेर जान्छ वा डुब्छ तिनीहरूलाई पनि पूर्णसन्तुष्टि प्राप्त हुँदैन । बम्बैका लड्डु जो खाया ओ भी पछ्ताया, जो नही खाया ओ भी पछ्ताया भनेझैँ ।
एकचोटी सिरहातिरको एउटा आदिवासी जनजाति समुदायका मानिसले आफ्ना मेधावी पुत्रलाई काठमाडौँको अमृत क्याम्पसमा साइन्स पढाउँन राखेछन् । एकदुई वर्षसम्म पनि छोरा घरमा आमाबाबुलाई भेट गर्न नगएपछि पत्नीको कर्कर्मा बाबु घ्यूकुराउनी साथमा लिएर काठमाडाँै गएछन् । खोजीखबर गर्दा तिनले छोराको पत्तो त लगाए तर होस्टलमा बसेको तिनको आफ्नै छोराले जब बाबुलाई चिन्न इन्कार गरेर नोकर भनेर सम्बोधन ग¥यो त्यसबेला तिनी अमृतको गेटमा बसेर धुरूधुरू रोएका थिए रे । छोराछोरीलाई आफूभन्दा बढी पढाउनु बेकार हो भन्दै तराई फर्किएका थिए रे ! भनाइको मतलब सबै छोराछोरी बैरी नै हुँदैनन् तर तिनको हकमा भैदियो –त्यस्तै । एउटा बाबुको एउटा छोरो या एउटी छोरी असल भयो सप्रियो भने या सप्रिई भने उसको शतप्रतिशत नतिजा राम्रो हुन्छ तर त्यही छोराछोरी बिग्रिए भने पुःन शतप्रतिशत नै नतिजा बिग्रन्छ । आफ्नोचाहिँ बिग्रिसकेपछि अरूको हेरेर थुक निल्नुभएन ।
अबका हामीजस्ता उत्तरआधुनिक समाजमा बाँचेका बाबुआमाहरूले छोराछोरीबाट फलको आसा राखी लगानी गर्नुभन्दा मलाई त के साँचोजस्तो लागेको छ भने आफूले अभिभावकको फर्जमात्र अदाह गर्ने हो । आवश्यकताभन्दा बढी आसा गर्नु बेकार छ । सप्रियो भने पनि बाबुआमाको साथबाट बाहिर निस्किएपछि उनीहरूकै बेग्लै दुनियाँ हुन्छ । सधैँ चिप्लोघस्न या चाट्न आइरहँदैनन् । बिग्रिए भने पनि त्यस्ता सन्तानहरू बाबुआमाका लागि जिन्दगीभरीका लागि घाँडो सावित हुन्छन् । बाबुआमाले आफ्नो रगतको टुक्रा, मुटुको धड्कन बिग्रियोस् नासियोस् त अवश्य भन्दैनन् होला ?
निनानसेकमा भन्दा चराका बच्चा हुकाएजस्तै हो पँखेटा नलागुन्जेल स्याहार्यो लागेपछि आफू अनुकूल जोडी च्यापेर उनीहरूकै दुनियाँ बसाउन भुर्रअ... उडेर गैहाल्छन् ।
मान्छेहरू किन यस्तो दुःख बेसाउने खालको मिठो झन्झट गर्छन् होला ? मैले पैँतालीस नाघे पनि अझै यो गुह्य बुझ्न सकेको छैन । सन्तानको भविष्य र लगानीप्रति ममा पनि अझ आशक्ति चुलिएकै छ ।
सभ्यताको रिले दौड हो –बाबुआमा बन्ने कर्तव्य । हाम्रा पनि कोही बाबुआमा थिए । हामी पनि कसैका बाबुआमा हौँ । त्यसैले सन्तानमाथि धेरै आसा नगर है दम्पत्ती हो । धेरै लोभ नगर है नवजोडीहरू हो, लोभले लाभ अनि लाभले विलाप हुन्छ । होस् राख ।
समयान्तरमा छोरो बाउ हुन्छ । छोरी आमा हुन्छे तर अघिका ती आफूले दिएका हैरानी सबै बिर्सन्छन् । जब आमाबाबुहरू बूढाबूढी हुन्छन् त्यसपछि तिनीहरू आपसेआप जोकर फाल्टु हुँदै जान्छन् । हृदयको टुक्रा भनी पालेका छोराछोरीहरूले कति आमाबाबुलाई पाटीमा पु¥याएका छन् अनि कतिले झुक्याएर भएको श्रीसम्पत्ती सबै सिरिखुरी पारेर सडकमा हु¥याएका छन् । जापानमा त्यहाँका केटाकेटीलाई वृद्धवृद्धाहरूलाई कसरी स्याहारसुसार गर्ने, कसरी सम्मान गर्ने भनेर विद्यालयीय पाठ्यक्रममै राखेर पढाइने गरिन्छ रे ! अब नेपाली समाजमा पनि वृद्धको संख्या थँपिदै गएको यस्तो परिस्थितिमा हामीले पनि कोर्समा राखेरै वृद्धवृद्धाको हेरविचार सम्बन्धि ज्ञान दिएनाँै भने समाजमा अझ उच्छृङ्खलता बढेर जाने कुरामा अविश्वास गर्न सकिन्न ।
यहाँनेर छोराछोरीले सम्झनै पर्ने कुरा के भने प्रत्येक आमाबाबुले आफूलाई कसरी र कस्ता अनन्त कहर सहेर यहाँसम्म ल्याइपु¥याए त्यो कुराको हेक्का राख्नुपर्छ । पढेर मात्रै पनि हुँदैन । ज्ञानलाई आफ्नै अन्तर्आत्माबाट निकालेर व्यवहारमा प्रयोग गर्नुपर्छ । नत्र संसारभरिका पुस्तक पढेरै पनि केही अर्थ लाग्दैन ।
जीवनको पूवाद्र्धको झन्झट मिठो झन्झट र उत्तरार्धको झन्झट तीतो झन्झटजस्तै भएको छ –हाम्रो समाजमा । अब समाज परिवर्तनको डरलाग्दो समय आइसकेको छ । समस्या नआउँदै हामी अगाडिको झन्झटलाई पनि मिठो र पछाडिकोलाई पनि मिठो मै परिवर्तन गरौँ । व्यवहार परिवर्तन गरौँ । नयाँ पुस्तालाई ज्ञान, विवेक र संस्कार सिकाऊँ ।
एउटा मुक्तक राखेर अब बिदा हुन चाहन्छुः–
प्रीतिभोज खान आएका पाहुनाझैँ हुन् सन्तान,
मीठोमा प्रशंसा र नमीठोमा दन्तबझान
फाटो बढाएर चित्त कित्ताकाट नगर दम्पत्ती हो,
असल छोराछोरी हुन, ईश्वरका बरदान् !! 𞉀 𞉀

हालः मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस, मन्थली ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 श्रावण, 2073

लेखकका अन्य रचनाहरु