सहमति

- चूडा मणि रेग्मी

हिउँदको बेला–जाडो असाध्यै थियो । हुस्सु लागेर सर्वसाधारणको दोहोलो भएको थियो । हिंड्ने यात्रुहरु थर्थर काम्थे । साइकलमा हिंड्ने स्यु–स्यु गर्थे, बाटामा हिंड्ने कटटट गरेर ओठ कपाउँथे । घरबार–बिहीन धेरैजसो मजदूर ठिटाहरु फिल्मी गीत गाएर आकाश थर्काउँथे । एक–दुईओटा नयाँ बनिएका सत्यनारायण मन्दिरका अगाडि बाटामा मूढा हालिदिएकाले आगो ताप्ने नयाँ व्यवस्था पनि देखापरेको थियो । गुरुप्रसाद यो दृश्य देखेर एक्लै बर्बरायो–जाडाले मान्छे सोत्तर छन् । यिनले मुक्ति पाउने कहिले हो ! ए ! मूढा जोेतेका ! ल, ल ! यसरी गरीपको जाडो खतम हुन्छ र !
ऊ हिंडिरहेको थियो । ऊ थाहा पनि पाउँदैन – ऊ काहाँबाट आएको हो कहाँ जान लागिरहेछ ! होइन – ऊ भर्खर डेराबाट हिड्यो र ऊ कवि मुक्तिनाथका डेरामा जाँदैछ । एक्लै उसले पहेला धानतिर हे¥यो – आहा ! प्रकृति कति रमाइला ! आनन्द भनेको देखेर, भोगेर, हृदयले ग्रहण गरेर हुन्छ तैपनि आनन्द लिन बालकको जस्तो अबोध हृदय हुनुपर्छ ! तर मेरो हृदय जलिरहेछ ! मेरो कलम सडिरहेछ ! मस्तिष्क कुनै वस्तुको सही निरुपण गर्न छाडिरहेछ ! कविता भाषण हुन् कि फिक्का परेका भाव ! म लेख्छु– थाहा पाउँदिन ! ओहो ! जब म थालनीमा थिएँ– मलाई कस्तो आफूमा पत्यार लाग्थ्यो ! जब म कुनै कविता बनाउँथें र पढ्थें– स्वर्ग घुमेर आएको अनुभव हुन्थ्यो । छापिएका दिन त्यो पुस्तक वा पत्रिका पाठक खोजी–खोजी देखाऊँ जस्तो लाग्थ्यो ।
मनै–मन कुरा गर्दै गुरुप्रसाद मुक्तिनाथका डेरामा पुग्यो । ऊ जुत्ता खोलेर नमस्कार गर्दै भित्र पस्यो ।
ओहो ! आउनुहोस् ! कति काम छ ? ल ! झट्टै बस्नुहोस् है ।” गुरुप्रसाद नीलो भयो, तर त्यो चीनो उसले छिनैमा लुकायो ।
“अँ त गुरुज्यू, भन्नुहोस्, आज नयाँ कुरा के लिएर आउनुभयो त ?” मुक्तिनाथले अलिकति दाँत देखाएर हात बाँध्दै भन्यो ।
“मेरो कुरा के छ र ! भन्नुहोस् न तपाईंको म यस शहरमा २÷३ महिना बस्छुहोला, तबसम्म तपाईंकहाँ तपाईंलाई सुनाउन होइन, तपाईंसित सुन्न अवश्य आउँछु । समयको कुरा हो – कुनै दिन म पनि साहित्यिक थिएँ । हो, प्रारम्भिक अवस्थामा कुनाको मान्छे, अवश्य अपरिपक्क थिएँ । त्यतिखेर जे पनि सुनाउन मन लाग्थ्यो, तर अब सुन्न मात्र मन छ ।” गुरुप्रसादले सोझो उत्तर दियो । उसले सही उत्तर दियो कि दिएन, उसले स्वयम् ठम्याउन सकेन । उसले जे भन्न आँटेको त्यो नै भन्यो–भनेन, उसले निश्चय गर्न सकेन । ऊ अनि पुलुक्क हेरेर हाँस्यो । उसलाई अहिले वेदनाको प्रसव हाँस्नुभयो ।
“तपाईं जे भन्नुहोस् है ! सुन्ने–सुनाउने यी कुरा बेग्ले हुन् । आफ्ना–आफ्ना अनुभव सबैका प्रधान हुन्छन् । कसैले कसैलाई सुनाउनु यो ..........”
मुक्तिनाथ भन्दैथियो, गुरुप्रसादले बीचैमा कुरा काट््यो– “हेर्नुहोस् हेडमास्टरज्यू ......” मुक्तिनाथले फेरि कुरा काट्यो– “हेर्नुहोस् गुरुज्यू, तपाईं मलाई मेरो नाउँबाट सम्बोधन गर्नुहोस् । अन्यथा नमान्नुहोस् है !”
गुरुप्रसादले भन्यो– “म जेमा पनि अल्झिएको कारण यही हो । तपाईं अवश्य हेडमास्टर ! सम्माननीय हेडमास्टर ! सबै तपाईंलाई जम्ला हात गर्छन् ! तपाईंका .....” यति भनेर ऊ अडियो, ऊ लुगातिर इशारा गर्न खोज्दैथियो, दाँतमा लगाउने बुरुस र क्रिमतिर आँखा कुदाउँदैथियो ।
मुक्तिनाथले भन्यो– “हेर्नुहोस्, मुख्य कुरा दृष्टिकोण हो । तपाईं अति उच्चविचार राख्नुहुन्छ, त्यो त्यति नै अग्लो हुन्छ । जति फराकिलो पार्नुहुन्छ उति फराकिलो हुन्छ । यसैगरी, नेप्ट्याउन, थेप्च्याउन, साँगु¥याउयन सक्नुहुन्छ । यसो भए जीवन पनि सुध्रिन्छ, हेर्ने चश्मा पनि सफा हुन्छ ।”
अनि गुरुप्रसादले विचारमग्न मुक्तिनाथलाई भन्यो– “हेर्नुहोस्, केही नजानुन्जेल म्याट्रिक हुनु विद्वान् ठहरिन्छ, यसै गरी, पहिले–पहिले शिकारु लेखक आफूलाई सिद्धहस्त ठह¥याउँछन् ! अब हेर्नुहोस्, विचार भन्ने कुरा के रहेछ ! जबसम्म विवाह हुँदैन तबसम्म विचारको मान हुन्छ, पारिवारिक झमेलाले भेटेपछि सुइ !!”
“म मान्दिनँ !!!” मुक्तिनाथले भूइँमा घुँडा धस्दै भन्यो– “दुनियाँमा कैयौं विचारक कुमारै रहेनन् । तिनीहरुले विवाह नगरेको भए तपाईं हाम्रो विचारशक्ति नै आउने थिएन– वंश अनुसार न जन्म हुन्छ !!”
गुरुप्रसादले भन्यो– “जे होस्, हामीले धेरै हाम्रा साथी–भाइले गोडा छाडेका देख्यौं– पारिवारिक समस्याले गर्दा । मेरो रुनु यही छ हजूर !”
मुक्तिनाथले गुरुप्रसादलाई छयास्तै भन्यो– “तपाई हजूर ! हजूर ! किन भन्नुहुन्छ ?”
“किन ? मेरो निजी शब्द हो यो, तर म नभनूँला !”
“रिसाउनुभयो कि ? हेर्नुहोस्–कुरो के छ भने प्रगति हुनका निमित्त विचार–शक्ति अगाडि बढ्नु पर्छ, विचारक जन्मिनुपर्छ । यस्ता अरु समस्या व्यक्तिगत विभिन्नता–मुण्ड–मुण्ड बुद्धिले रोक्तैन । मानिस जम्मै आफ्ना पाराका हुन्छन् । हो, समस्या हुन्छन्, ती यसै पनि छन्, उसै पनि छन्, तिनको पर्वाह गरे पनि ती सुल्झिन्नन् । पर्वाह नगरे पनि अर्थात् अलिकति ध्यान दिएपछि सुल्झिने सुल्झिन्छन् ” मुक्तिनाथले भन्यो ।
गुरुप्रसाद यसो झ्यालतिर गयो, आकाशतिर हे¥यो– “ओहो ! कति उज्यालो अहिले त !” उसलेफेरि मुक्तिनाथतिर फर्किएर भन्यो– “हेर्नुहोस्, अघि कस्तो जाडो थियो–बाटामा ! कोठामा आएँ, जाडो पनि हरायो ! अहिले उज्यालो घाम पनि लाग्यो–यसको आनन्दमा ती मुक्तिका कुरा बिर्सिएँ ! हेर्नुहोस् ! के भनूँ तपाईलाई ?
“नाउँ बोलाउनुहोस् न !”
गुरुप्रसादले अप्ठ्यारो मान्दै भन्यो– “ल, ल मुक्तिनाथज्यू ! तपाईं हेडमास्टर हुनुहुन्छ, समाजले सम्मान गर्छ । पौसा, तलब पाउनुहुन्छ–खान–लाउन छ, इज्जत छ, सन्तुष्टि छ । अर्कापट्टि तपाईंलाई सम्मान नगर्ने, नचिन्ने र तपाईं भन्दा ठूला पदका व्यक्ति पनि छन्, जहाँ तपाईंको व्यक्तित्व निहुरिन्छ । यसरी तपाईंका भित्री दहबाट दुई माच्छा फुत्किन्छन् । हो, तपाईंमा सैद्धान्तिकता छ, काव्यप्रतिभा छ, कविमा दर्ता भएकाले तपाईंमा केही जिम्मेवारी पनि छन् । तपाईंको उत्साह दिगो भए त भयो, तर !” गुरुप्रसाद अडियो ।
“भन्नुहोस् न !” मुक्तिनाथले प्रेरणा दियो ।
“के भन्ने ?”
“भन्नुहोस् न !”
“तपाईं .... ” गुरुप्रसादले मुटु मिचेर भन्यो– “अविवाहित हुनुहुन्छ ! कमाउनुहुन्छ, खानुहुन्छ, साहित्यसेवामा खर्च गर्न सक्नुहुन्छ, तर विवाह पछिको नि !”
मुक्तिनाथले टाउको हल्लायो– “अघि भनिसकें यसको जवाफ ! ए ! मीठा कुरामा त झतै !” घडी हेर्दै उसले भन्यो– “ट्यूसन छ, जान्छु– ल त ! मीठा कुरा गर्नुहुन्छ, आउँदै गर्नुहोस् न ल !”
नमस्कार गरागर भयो, बिदाबारी भन्यो ।
यी दुई ३० वर्षीय स्नातकको धेरैपल्ट कुराकानी भए– कुुरो उही विवाहपछि हुनेमा रोकिन्थ्यो । केही दिनपछि गुरुप्रसाद त्यस शहरबाट पहाड गयो । मुक्तिनाथ ३ वर्ष स्कूलमा हेडमास्टरी गरेर आखिरमा एउटी छात्रासहित विवाह गरी हिँड्यो । ५ वर्षपछि उसले गुरुप्रसादलाई पत्र लेख्यो–
प्रिय गुरु,
तपाईंको मङ्गलकामना त छँदैछ । मेरो विवाह भयो । ३ सन्तान भए । तपाईंलाई के जनाउन चाहन्छु भने विवाहपछि त्यो युवा–जोश हुँदो रहेनछ र हाम्रो पछाडिएको देशमा विचार–शक्ति बढ्ने भन्ने कुरो कोरा रहेछ । मेरा आँखामा घरानियाँ जोश थिए, यद्यपि मेरा सेवा चुत्था त छैनन् ! रपिन हेडमास्टर हुँदाका पूर्णताका कुरा ती थिए– तपाईंले भने बमोजिम ! आज मलाई आफ्नो इज्जत, मेरा सन्तानको भविष्य इत्यादि कठिनाइले पिरोलिरहेछन् । हो, म फकाउँछु, सम्झाउँछु आफूलाई– हुने हुँदैगर्छ, तर ममा भित्रैदेखि के संस्कार छ– मीठो खान र राम्रो लाउनका फेरामा आफ्ना अर्ती स्वात्त ! अभ्यास हुनाले रचना अवश्य रच्छु, तर तिनमा विष अवश्य परेका छन् । अरु तपाईंले लेखेपछि ।

तपाईंको,
मुक्तिनाथ

चिठी पाएर पढेपछि गुरुप्रसादले उत्तर दियो–
प्रिय मुक्तिनाथज्यू,
परिवर्तन यस्तै हो । तपाईंको चिठी पढेर आश्चर्य लाग्यो । म त्यतिखेर दिग्दार भई तपाईं बसेको शहर गएको थिएँ । त्यतिखेर मैले विवेचनशक्ति हराएको थिएँ । म न गरीबको दुःख देख्न सक्थे, न स्वयम् गरीब हुन रुचाउँथे । दुःखी देख्दा आँसु झर्थे, तर स्वयम् दुःखी हुनबाट डराउँथे । मेरा आँखामा बढ्दो परिवारको (त्यतिखेरै मेरा ७ सन्तान थिए ।) द्दश्यले जालो लागेको थियो । म कुनै चिज हेरेको–हे¥यै गर्थे । म कुनै दिन आफ्नो विजोग भएको कति दिन भयो हँ ? भनी आफैलाई प्रश्न गर्थें जसको उत्तर तुरुन्त आफू दिन सक्तिनथिएँ । यस मानसिक दुर्बलताले धेरै दिन रोएँ ।
तर मित्र, संसार रुने र गीत गाउने होइन रहेछ । यहाा काम गर्नुपर्छ, आतेसबाट अत्तालिनु हुँदैन ।
यसैले, अचेल म जानेसम्म साहित्यिक कार्य गर्दै, छोरा–छोरी पढाउँदैछु । हुनेसम्मन् जम्मैको जगडा गर्ने मेरो अठोट छ, परिश्रम गर्छु तर तथ्य के हो भने गरीबको देश गरीबले ने उँभो लाउन सक्छ– यो विश्वास चाहिँ भित्र छ किनभने स्वर्ग छ भने देउताको हो, नरकवासीको होइन । यत्ति !

तपाईंको,
गुरुप्रसाद

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 श्रावण, 2073

लेखकका अन्य रचनाहरु