विजुली सरकारमा निवेदन

- पुण्य खरेल

विजुली सरकारका विजुली हाकिममा
मेरो विनम्र निवेदन छ–
कृपया विजुलीको माया गर्नुहोस् !
विजुलीको जतन गर्नुहोस् !
विजुलीको विजुलीअधिकार बुझिदिनुहोस् !
‘आठ घण्टा काम, आठ घण्टा आराम
अझ आठ घण्टा मनोरञ्जन’को नियम पालना होस् !
गाउँठाउँतिर बिजुली पठाउँदा विवेक राखिदिनुहोस् !
मेघ गर्जिंदा, चट्याङ–चुटुङ गर्दा त
त्यतै राज गराउनु भएकै छ विजुलीलाई
सारै जाडो हुँदा
सारै घाम हुँदा पनि
त्यतै काज गराउनु भएकै छ विजुलीलाई
राम्रै गर्नु भएको छ
तर अन्धकारमा पनि कैलेकाहीं
सिमसिम पानी पर्दा पनि कैलेकाहीं
विजुलीलाई दुःख दिएर यतातिर पठाउनु हुन्छ
त्यसो नगर्नुहोस् !
हिउँदमा जाडो हुन्छ – नपठाए हुन्छ
बर्खामास झरीबादल, हिलो–कादो
चैत–बैसाख हान्नहुन्न, हुरी–बतास
असोज कातिक चाडबाड – नपठाए हुन्छ ।
कृपया निष्पट्ट अँध्यारोमा नपठाउनुहोस् !
उत्ताप घाम लागेका बेला नपठाउनुहोस् !
साँझ – बिहान पनि नपठाउनुहोस् !
सहरतिरै राख्नुहोस् त्यतै–
राजधानी तिरै, सदरमुकाम तिरै
हामी दियो बालौंला, पाला बालौंला
मैनवत्ती बालौंला
‘क्यान्डल’ अहा !ऽ अचेल हाम्रा नानीहरू जन्मदिनमा बाल्छन् नि !
हामीले दियोको संस्कृति पछ्याउनु छ
‘धूप–दीप’को संस्कृति बचाउनु छ
तैबरु तैबरु अँध्यारैमा बस्नु छ !
क्यैगरी बिजुली पठाउनु नै हुन्छ भने पनि
बाघका आँखा जस्तो झलल्ल नबलोस् है फेरि
हामीलाई डर लाग्छ, आतेस हुन्छ
दियोको, कुपीको उज्यालो हेरिरहेका हाम्रा आँखा
तेजिलो उज्यालोमा बिग्रन्छन्
लुते–खुइले कुकुरका आँखा जस्तो
तेल सकिएको दियो जस्तो मधूरो बलोस् है बत्ती ।
पठाउनु नै हुन्छ बिजुली भने पनि
कम्ती भोल्टेजको मात्र पठाउनू है !
कम्प्यूटर नखुलोस् !
‘फेसबुक’मा रल्लिनेहरू रल्लिन नपाऊन्
टी भी नबोलोस्
फिलिम–सिलिममा भुलिन नपाऊन्
पङ्खा धेर नघुमोस्
हाम्रो देशमा नबन्ने पङ्खा जोगियोस्
हामी हाते पङ्खा बनाउँला, हल्लाउँला !
चट्याङ्–चुटुङको वास्तै नगरी
उत्ताप ताप या कठ्याङ्ग्रिदो चिसो यादै नगरी
साँझ–बिहान, रात–विरात पर्वाह नगरी
लुरुलुरु बत्ती पठाइरहनु भयो भने
बिनसित्तिमा अनेक के–के पसलहरू खुल्छन्
चल्छन् हाम्रा चोकचोकमा
हाम्रो सानो गाउँ पनि सहरजस्तो हुन्छ
हाम्रा केटाकेटी सब उम्रिंदैका तीन पाते हुन्छन्
विदेशतिर जान रोकिन्छ छोराछोरीहरू
मलेशिया, दुबई, कतार, कोरियातिर बेचिन रोकिन्छ
नयाँ उर्बौलो संस्कृति नजन्मँदै रोकिन्छ ।
हामीलाई उत्ताउलो हुने मन छ
आफ्नोपनलाई छिट्टै मेटमाट पारेर
कहाँको–कहाँको, कताको–कताको
नचिन्ने संस्कृति बेसाउन कस्तो रहर छ
‘तपाईंले संसार चिन्नु भएकै छैन’ भन्ने छोराछोरी बढाउन
कस्तो हतार छ !
तपाईं मद्दत गर्नुहोस् है बिजुली हाकिम !
तपाईं मद्दत गर्नुहोस् है बिजुली सरकार !
बिजुलीका आयोजनाहरू, ठेक्काहरू यताउता गरेर भएपनि
बिजुली त्यतैकतै थामथुम गरेर भएपनि
तपाईंका कर्मचारीको ताँतीलाई
“उता अडिएन छ, यता फल भएछ,
यता तार चुटिएछ, उता केवुल जलेछ”
भन्दै ढाँटढुँट गर्न लगाएर भएपनि
आठा–पाँचा मात्र बिजुली पठाउनू है !
बिजुली पठाउन चाहिं पठाउनू है !
बिन्ती है, बिजुली हाकिम !
विनम्र निवेदन है, बिजुली सरकार !!

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 7 श्रावण, 2073

लेखकका अन्य रचनाहरु