देश पढ्ने क्रममा यो पटक भैरहवाको सानो अध्ययन

- चूडा मणि रेग्मी

वुटवल पुग्ने–पुग्ने वेलामा म सँग भैरहवा हिंडेका साथी डी.आर.पोखरेलले – दाइ, तपाई यस्तो काममा के–कस्तो भित्री उत्साह पाउनु हुन्छ ? यस्तै ढङ्गको प्रश्न गरे । उनको भनाइ ‘जुही’ को कपिल लामिछाने विशेषाङ्क छाप्ने क्रममा भैरहवा तिर प्रारम्भिक स्थलगत अध्ययनमा हिंडेको म उत्साहित नै छु कि ? कस्तो अनुभव गर्दै छु यति खेर ? ‘भन्ने कुरा बुझेर मैले जुही विश्व शाक्य महापुराणको कार्यक्रम सकेर मुङ्लिनवाट नारायणघाट तिर बसको मुख तन्किएर कुधेका बेला काकरभिट्टा झापाका साहित्यकार पुण्यप्रसाद खरेलले पनि यस्तै प्रश्न राखेथे र तिनको उत्तर पछि–पछि हुदैं गएको थियो । मैले पनि एउटा लेख लेखेथें । भन्ने उत्तर दिएं ।

भैरहवा राती पुग्यौ (२५गते कात्तिक २०६६) र २७ गते विहान त्यही बाटो चितवन तिर फिर्दा विचमा कहाँ निर हो मैले डी. आरलाई हिजोका प्रश्नको केही उत्तर पाउनु भयो कि ? भन्दै राम्रो काम गर्न थाले पछि सफल हुइन्छ भन्ने कुरा गरेथें । भैरहवामा साहित्यकार सित भेटघाट, एफ.एम. र क्याम्पसमा कार्यक्रम आदिवाट हामी उत्साहित भएका थियौं ।

म महाभारत बखान्दिन यो चाहिं प्रकरणमा ।

मेरा मन भित्र यति खेर उव्जिएका कुरा अभिव्यक्त्याउने इच्छा छ मेरो । साहित्यमा काम गर्ने हाम्रा कैयौ साहित्यकारका आफ्ना–आफ्ना सोचाइ र पारा छन् । ‘रचना’का सम्पादक रोचक घिमिरेको साधनारतता छ, हडवड छैन । ‘अभिव्यक्ति’का सम्पादक नगेन्द्रराज शर्माको आफ्नो दुखी समय र सुखी समयलाई सधैं एकनास गरेर साहित्यमा लागिरहने क्षमता छ । ‘जनमत’का सम्पादक मोहन दुवालमा सानो मान्छे जस्तो रुपमा ठुला–ठुला साहित्यिक काम गर्ने एउटा विशिष्ट लगनशीलता छ । ‘ज्ञानगुन’का कुराका सम्पादक शेषराज सिवाकोटीमा न्याय अन्यायका क्षेत्रको पेसामा प्रतिष्ठा प्राप्त भए पनि नपत्याउने पाराले गौरवमय साहित्यिक काम गर्ने अचम्मको घिडघिडो छ । यस्ता–यस्ता ढङ्गका कैयौ साहित्यिक पत्रकार मध्येको पहिलेको वानाली (बालकृष्ण पोखरेलका शब्दमा) अहिलेको झापाली जुहीको सम्पादक म चूडामणि रेग्मीको पनि साहित्यिक गतिविधि गर्ने आफ्नो ढङ्ग र पारा छ । ‘केही विशेष होइन, सानो कुरामा हिड्दै छु’ भन्ने ढङ्गले कुनै विशेषाङ्क वा पुस्तकको काम थाल्छु, तर त्यो गतिलै भएको हुन्छ देखा पर्दा । पुरानो भाषामा भन्नु पर्दा अचेल म भाग्यमानी जस्तो छु –मेरा विरूद्ध दुष्प्रचार हुदैनन्, हो वरु प्रचार नै हुदैनन् त्यो वेग्लै कुरा हो । जुहीका धच गोतामे, सरोज ओली, भक्तबहादुर नेपाली, राधिका राया, माधव भँडारी, विश्व शाक्य, उपेन्द्र पागल, श्यामकृष्ण श्रेष्ठ, आदि विशेषाङ्क, यथार्थ कुराका श्यामप्रसाद, कमल जङ्गली, वल्लभमणि दाहाल, नरेन्द्र चापागाईं, हरिहर खनाल, पुण्यप्रसाद खरेल, के.पी. ढकाल, आदि विशेषाङ्क वाहेक पनि जुहीका हास्यव्यङ्ग्य समालोचना, काव्य, भाषा, झापा, कथा (५ वटा), निवन्ध, सद्भाव (२ वटा) जस्ता विविध विषयका विशेषाङ्क र यथार्थ कुराका पनि झापा अङ्क (३ वटा) र सद्भावयात्रा अङ्क १ प्रकाशित गर्दा सुस्त रूपमा नै कामको थालनी गरेको हुँ र भरे ती महत्वपूर्ण रूपमा निस्किएर नाम पाएका हुन् यही ढङ्गले सद्भावयात्राको पनि कल्पना गरी सद्भाव कार्यक्रम मात्रै ९ वटा भए । जुहीले आयोजना गरेका भव्य कार्यक्रमको सङ्ख्या पनि निकै छ । सायद, डी. आर पोखरेलको प्रश्न लामो समय भित्र भएका यी सम्पुर्ण कुरा वाट उव्जिएका होलान् र ती गोष्ठी र विशेषाङ्क, विशेष प्रकाशनको सफलता असफलता वाट नै ममा उव्जिएको भावनाको व्याख्या खोजेको हुनु पर्छ ।

आर्थिक दृष्टिले साहित्यवाट कमाउने पनि भए, नकमाउने पनि छौं र पनि जोगी भएको चाही मलाई थाहा छैन ।

ज्यू, भैरहवावाट फिरे पछि हामी दुवै दाइ–भाइ (डी. आर र मेरो दाइ–भाइको नाता स्वीकृत छ) । उत्साहित भएर फिर्यौं । कपिलले आदर पुर्वक घरमा राखे, भेटघाटको कार्यक्रम छोटै समयमा राम्ररी भयो । जुही कपिल लामिछाने विशेषाङ्क निस्कने वातावरण तय भयो । इत्यादि कुराले हामी मख्ख पर्यौ, यद्यपि त्यति खेर जुहीको कपिल लामिछाने विशेषाङक कत्रो र कस्तो हुने स्पष्ट भएको थिएन । हामी सारै उत्साहित भयौ वास्तवमा (यस्तै उत्साहित भएथ्यौ श्यामकृष्ण विशेषाङ्कको सन्दर्भमा यस्तै स्थलगत अध्ययन गर्न कृष्ण सुवेदी ‘निराकार’ र म इलाम गएको वेला) । भरखर जसो ५० वर्ष नाघेका (२०१५ साले) ४ जना छोराछोरीका वावु, भैरहवा वहुमुखी क्याम्पसका प्रमुख, साहित्यकार कपिल लामिछानेको विशेषाङ्क निकाल्ने स्वीकृति कपिल लामिछानेवाट मात्र होइन्, भैरहवा र वुटवलका केही वरिष्ठ साहित्यकारहरूले स्वीकृतिका साथ सहयोगी समूहकै गठन गरे । माघ तिर हामी पूर्वका साहित्यकार सद्भावयात्रामा आउने छनकलाई पनि स्वीकृतिको सङ्केत गरे ।

यही भेटघाटको क्रममा डी. आरले आफुले सम्पादन गरेको ‘हाम्रो सिर्जना पत्रिका’को नयाँ अङ्क वाँडे भने आफ्ना पुस्तकका पनि एक दुई प्रती कसैकसैलाई उपलव्ध गराए । मैले पनि ११ थान यथार्थ यात्रा लगेकामा २ थान वेचे, ९ थान उपहारस्वरूप वितरण गरे (अहिले यहाँ आएर १ मनको एउटा र आधा मनको एउटा पोको किताव र विशेषाङकहरू वसमा पठाएँ । अहिले त्यहाँ साथीहरूले यताका सामग्री पढ्दै छन् भन्ने खवर पाएको छु) । त्यहाँवाट निकै पुस्तक पत्रिका प्राप्त भए । तिनै पुस्तक पत्रिका र मेरा पुस्तकालयमा भएका सामग्रीका आधारमा आफ्नो घर चन्द्रगढी आएर रूपन्देही जिल्लाको साहित्यिक गतिविधिको अध्ययन वढाउने क्रममा कपिल लामिछाने आदि केही साहित्यकार वारे विशेष अध्ययन गर्दै छु । म मात्रै होइन, अहिले पूर्वका निकै ठाउँमा, हेटौडामा, भरतपुरमा, वागलुङमा, पोखरामा, काठमाडौंमा, वनेपामा, कपिल लामिछाने जुही विशेषाङ्कको लागि कपिल वारे युद्दधस्तरमा अध्ययन भइरहेछ ।

कपिल लामिछाने जुहीका धेरै लेखक मध्येका एक लेखक हुन् । जुहीका साथै जनमत र मिर्मिरेमा कपिलका रचना छरिएका रहेछन् । वालसाहित्यका निकैवटा पुस्तक, पत्रकारिता, लोकसाहित्य, समालोचनाका पुस्तकका साथै कथाका ४ वटा पुस्तक पनि प्रकाशित भएका रहेछन् । जनमत पढ्दा थाहा भयो अक्टोपसहरू जस्ता कविता पनि प्रकाशित भएका रहेछन् ।

कपिल लामिछाने अपरिचित सहित्यकार होइन रहेछन्,मैले ठानेको ठिकै रहेछ । कमल दीक्षित, होम सुवेदी, मोेराश, म, जस्ता धेरै लेखकका साथमा उनका राम्रा रचनाहरू प्रकाशित भएको पाइयो । त्यहाँका दिल साहनी, ऋषि भुषाल आदि प्रतिष्ठित साहित्यकारहरूका पनि केही रचना यहाँ आएर विशेष रूपमा पढें । पाल्पाली वनमाली निराकार, विजय सागर अचेल भैरहवामै वस्न थालेछन् । रुद्र ज्ञवाली सालिकराम पौडेल आदि नव प्रतिभा कस्सिएर साहित्यिक श्रीवृद्धिमा लागेका रहेछन् । वालकृष्ण भट्टराई जस्ता प्रतिष्ठित साहित्यकारका नेतृत्वमा साहित्यिक गतिविधि वढीरहेको रहेछ, विशेष गरी सिद्धार्थ साहित्य परिषदको सक्रियता अघि झैं अहिले पनि यथावत् रहेछ । गजलका क्षेत्रमा जहाँ वुँद राना जस्ता प्रसिद्ध व्यक्तित्व छन् त्यहाँ अहिले गजलका प्रसिद्ध चिन्तक र गजलकार डा. घनश्याम न्यौपाने परिश्रमी पनि रहेछन् । ‘सोपान’ नामको लुम्विनीको गजल अङ्कका साथै ‘पदचिह्न’ दुई अङ्क र ‘शव्दसिन्धु’ एक अङ्कका साथै रूपन्देही जिल्लाको कविताको इतिहास ः सर्वेक्षण र विश्लेषण नामको पुस्तक (लेखक शालिकराम पौडेल) पढ्दा भैरहवा क्षेत्र र रूपन्देहीकै साहित्यिक गतिविधि निकै छ्याङ्ग भयो । यति खेरै मैले आफ्नो घुमेका कुरा (२०५६) नामको पुस्तकमा पाल्पा भैरहवा घुम्दा त्यहाँका वारे लेखेको आफैले पढें । त्यति खेरका युवक वुँद राना अव प्रौढ भएछन् । प्रख्यात समालोचक वामदेव पहाडी र अधिवक्ता ............उपाध्याय वितेछन् । पाल्पाली वनमाली निराकार र विजय सागर भैरहवाका निवासी भएछन् । मैले कोठामा रूप रेखा पल्टाउँदा विजय सागरका ४ वटा कथा भेट्टाएँ । ‘विवरूका कथाहरू’ नामको सम्युक्त संगालोमा र ‘विजयका कथाहरू’मा विजय सागरका कथाहरू पढ्न थालेको छु । ‘गुरु आसन’ नामको कथावाट ज्यादै प्रभावित छु । यसै सन्दर्भमा, वनमाली निराकारको ‘हरि वाजे’ कथाले पनि सारै तानेको छ । दिल साहनीका जम्मा ३ कथा पढें ती मध्ये एउटा भेट नामको प्रेम कथाले हृदय नै हरेको छ । ‘सङ्कल्प’ पत्रिकामा प्रकाशित ऋषि भुषालको छोराको पास्नी कथाले मलाई एउटा प्रश्न उव्जायो । त्यो के भने –त्यस्ता शोषक ज्यानमाराहरू सँग जनताका प्रिय कामरेडहरू कसरी अँगालो मारेर अहिले शासन गर्न सकिरहेका छन् ? अरू विष्तार भयले यहाँ लेख्तिन ।
जुहीको कपिल लामिछाने विशेषाङ्क निस्कने तरखरमा छ, त्यो आफ्नो क्रममा छ । मलाई भने पढ्ने रहर छ । डी.आर त झन् निकै पढैया समालोचक हुन् । हामी दुवै जिज्ञासु प्रवृतिका साहित्यकार भैरहवा गयौ । हामी निस्वार्थ निःसर्त अध्येता हौं । अझ म भन्दा पनि धेरै सामग्री वटुलेका डी. आरले अवश्य निकै अध्ययन गर्ने छन् भन्ने मेरो विश्वास छ । हामीलाई यो पटकको भैरहवाको दुई रातको वासले देशका ७५ जिल्ला मध्येको एउटा जिल्ला, जहाँ पत्रपत्रिका प्रकाशित हुन्छन्, एफ.एम. रेडियोहरू छन्, थुप्रै स्कुल क्याम्पस छन्, पढे–लेखेका व्यक्ति छन्, चेतना छ, जागरुकता छ, त्यो रूपन्देही जिल्ला वारे धेरै कता हो कता नभए पनि केही अध्ययन गर्ने मेरो पनि ध्येय छ । महाकवि देवकोटाले ‘वन’ कवितामा अभिव्यक्त गरेको कुरा सम्झदै म पनि भन्छु –भरखर त म ७३ वर्षको भएँ, मेरो देशलाई पढ्न वाकीँ कुरा धेरै छन्, भरिसक्के पढ्न प्रयत्न गरिरहेछु, धमाधम छ, अझ प्रयत्न गर्छु ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 7 श्रावण, 2073

लेखकका अन्य रचनाहरु