वि.पी.को लेखन र यौनमनोविश्लेषण

- दीपक सुवेदी

नेपाली राजनीतिका साथै आधुनिक नेपाली कथाका शिखर पुरmष विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं. १९७१ भाद्र २४ गते (सन् १९१४ सेप्टेम्बर ९) का दिन बुबा कृष्णप्रसाद कोइराला र आमा दिव्याका पुत्ररत्नका रुपमा भारतको धार्मिक सहर बनारसमा भएको थियो । मोरङ जिल्लामा घरबार भएतापनि पिता कृष्णप्रसादले सर्वस्वसहित निर्वासनको सजाय पाएकाले यिनको बाल्यकाल पनि बाबुसँगै भारतमा नै वित्यो । यिनले प्रारम्भिक अध्ययन काशी हिन्दू विश्वविद्यालयबाट, वी.ए. वनारस हिन्दू विश्वविद्यालयबाट र कलकत्ताबाट वी.एल. को औपचारिक अध्ययन पूरा गरेका थिए ।
राजनीतिका क्षेत्रमा सन् १९४२ मा कांग्रेस सोसलिष्ट पार्टी बिहार शाखाको संगठन सचिव भए । अंग्रेज विरोधी भारत छोड आन्दोलबाट भारतमा रहँदै प्रवेश गरेका कोइराला नेपालमा राणा विरोधी शसस्त्र जनक्रान्ति पश्चात २००७ सालमा गृहमन्त्री बने । वि.सं. २०१५ सालमा बहुदलीय व्यवस्थामा आधारित संसद्को चुनावमा विराटनगर क्षेत्रबाट कोइराला विजयी भई २०१६ साल असार १६ गतेदेखि २०१७ साल पौष १ गतेसम्म नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री समेत बनेका थिए ।
प्रेमचन्द्र, रवीन्द्रनाथ टैगोर, टाल्सटोय, तुर्गनोभ, चेखव, गोर्की आदि साहित्यकारहरुबाट प्रभावित एवम् प्रेरित विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक क्रियाकलाप पनि निकै महत्वपूर्ण रहेको छ । नेपाली काँग्रेस पार्टीका अध्यक्ष समेत भएका कोइराला ‘सोसलिष्ट इन्टरनेशनल” का सक्रिय सहभागी समेत थिए ।
कोइरालाको साहित्य लेखन भने वनारसमा बस्दा शान्तिप्रसाद द्विवेदीको प्रेरणाबाट शुरु भएको मानिन्छ । हिन्दीमा कथा लेखनको प्रारम्भ कसैले १९८५ मा लेखेको ‘हरिदत्त’ बाट भएको भनेको छन् भने कसैले १९८७ मा ‘हंस’ पत्रिकामा प्रकाशित ‘वहाँ’ शीर्षकको कथाबाट भएको भनेका छन् ।
कानुन विषयमा स्नातक उपाधि प्राप्त गरेपछि दार्जिलिङमा वकालती पेशामा सम्लग्न रहँदा सूर्यविक्रम ज्ञवालीको प्रेरणा पाएर उनले नेपालीमा कथाहरु लेख्न थालेका थिए । वि.सं. १९९२ मंसिरको शारदामा प्रकाशित ‘चन्द्रवदन’ यिनको पहिलो नेपाली कथा हो । जुन नेपाली कथाकारितामा मनोवैज्ञानिक यथार्थको कथा लेखन आरम्भ विन्दु पनि हो । यिनका कथासंग्रहहरु दोषी चस्मा (२००६) र श्वेतभैरवी (२०३९) प्रकाशित छन् भने सम्पूर्ण कथाहरु हरिप्रसाद शर्माद्वारा सम्पादित विश्वेश्वरप्रसाद कोइरालाका कथा (२०५०) कृतिमा सङ्कलन गरिएका पाइन्छन् ।
विश्वेश्वरप्रसाद कोइराला आफूलाई साहित्यमा अराजकतावादी र राजनीतिमा प्रजातन्त्रवादी सम्झनुहुन्थ्यो राजनीति र साहित्य दुवैमा शिखर चुम्न सफल अपराजित राजनेता, आज उहाँको संस्मरण मात्रै बाँकी छ । यिनै अविश्रान्त राजनायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्य र राजनीति दुवै क्षेत्रमा सम्झना गरिँदै यति बेला ।
शुरmमा स्वच्छन्दतावादी सामाजिक कथा लेखनबाट अनुप्रेरित देखिए पनि आख्यानकार कोइरालाले आफ्नै संस्कृति, परम्परा र समाजका सापेक्षतामा फ्रायडवादी चिन्तनलाई विशेषत कथामा अभिव्यक्त गरेकाछन् । नेपाली साहित्यको मनोविश्लेषणात्मक आख्यान लेखनका शिखर पुरmष विश्वेश्वरप्रसाद कोइराला मनोविश्लेषणलाई केन्द्रियता प्रदान गरेर कथा लेख्ने नेपाली कथा साहित्यका प्रथम कथाकार हुन् । यिनका कथा लेखनका मनोबैज्ञानिक आधारमा पश्चिमी प्रभावमात्र पाइदैन, पूर्वीय– पश्चिमी र निजी प्रवृत्तिहरmको समेत सम्मिश्रण पाइन्छ ।
मनोविज्ञानको क्षेत्र व्यापक छ । व्यक्तिका वातावरणसँग सम्बन्धित सबै प्रतिक्रियालाई मनोविज्ञानका क्षेत्रभित्र समाविष्ट गर्न सकिन्छ । बीसौँ शताब्दीको साहित्य मनोबैज्ञानिक चिन्तन अथवा अचेतन मनोविज्ञानको विपुल प्रभावबाट अलग रहन सकेको छैन । फ्रायडको मनोविश्लेषण सिद्घान्तका अनुसार मानिसका असङ्ख्य दमित इच्छाहरmको विशाल भण्डार मन हो ।
यिनले अचेतन मनलाई अत्यन्त शक्तिशाली मानेका छन् र अचेतन मानसिक पराक्रमलाई स्वीकार गर्नु संसारमा र विज्ञानमा पनि एक नयाँ दिशाको खोजतर्फ एक कदम अगाडि बढ्नु हो भनेका छन् । जीवन र जगतको आन्तरिक यथार्थलाई कलामूल्य प्रदान गर्ने प्रयत्नमा फ्रायडवादको महत्वपूर्ण स्थान रहन गएको छ । फ्रायडीय धारणा अनुसार मानिसभित्र कामवृत्तिको भूमिका सर्वोपरी रहन्छ ।
यौन त मनोविज्ञानको एउटा रmप मात्र हो वा एक पक्ष मात्र हो । अस्वाभाविक र असाधारणीकृत तथा अमानवीय यौन चित्रणलाई साहित्यले स्वीकार्दैन । यस दृष्टिले कोइरालाले आफ्ना यौनमूलक कथामा मनोवैज्ञानिक सत्य प्रकट गर्ने क्रममा जीवनको स्वाभाविकतालाई बिर्सेका छैनन् ।
नेपाली आधुनिक कथाको प्रारम्भ सँगसँगै कोइरालाले फ्रायडवादी अवधारणमा आधारित कथाहरmको रचनामा आफूलाई संलग्न गराए । नेपाली साहित्यमा फ्रायडको यौनमनोविज्ञानमा आधारित कथाहरm लेखी मानवजीवनको एउटा पाटोलाई कथामार्फत सशक्त ढङ्गले प्रस्तुत गरे । शारदामा प्रकाशित फ्रायडीय कामतत्वको प्रकाशन गर्ने पहिलो नेपाली कथा चन्द्रवदन (१९९२) मा कोइरालाले मानव मनको विश्लेषण गर्दै संस्कारभन्दा कामतृष्णको सशक्तता प्रमाणित गर्नमा केन्द्रित भए ।
मनोविज्ञानवादी धाराका प्रथम अधिष्ठाता कोइराला रmसी कथाकारहरm गोर्की र चेखोभबाट प्रभावित थिए । अस्ट्रियाका मनोविश्लेषणवादी विद्वान सिग्मण्ड फ्रायड साथै एडलर, मोपासा, युङ्गबाट पूरै प्रभावित थिए । कथाका संरचना र रmपविन्यास दुवैमा पूर्ण आधुनिकता ल्याउने काम यिनैबाट भयो । फ्रायडवादको अनुसरणमा उनले यौनमनोविश्लेषणलाई अँगालेर यसका विविध आमुखिकाहरmको चित्रण जीवन्त रmपमा गरेका छन् । सिग्मड फ्रायड तथा ह्याव्लक एलिसका कामतत्वका विवेचनाले प्रभावित विश्वेश्वरप्रसादले महिला र पुरmषका पारस्परिक आकर्षण विकर्षणका रहस्यमयतालाई मात्र खोतलेका छैनन् । मानवप्राणीका व्यक्तिताका विभिन्न मानसिक रmपहरmलाई पनि उद्घाटन गरेका छन् ।
विश्वेश्वरप्रसाद कोइरालाका दुवै प्रकाशित कथासंग्रहका चन्द्रवदन, हरिदत्त, पवित्रा, कर्णेलको घोडा, पवित्रा, प्रेम, श्वेतभैरवी, दोषी चस्मा, कथा, बिहा, शत्रु, पुस्तक, स्कूलमास्टर, सिपाही आदिमा केन्द्रीय चरित्र नै मनोस्नायुविकृतिको शिकार भएका पात्रहरm अथवा असामान्य मनस्थिति भएका पात्रहरmको यौनजन्य संवेदना र अनुभूतिलाई व्यक्त गरेका छन् । यति मात्र होइनन् अन्य कथाहरmमा पनि फ्रायडीय मनोविश्लेषणका साथसाथै यौनसम्बन्धित शिष्टताको घेराभित्र संरचित थुप्रै विषय पाइन्छन् । अश्लिल यौन चित्रणले न मानवजीवनको स्वाभाविकता प्रष्टिन्छ न कला पक्ष नै सुन्दर हुन्छ भन्ने कुरालाई उनले हृदयङ्गम गरेका छन् । त्यसैले त साहित्यका क्षेत्रमा कोइराला विशुद्धा स्रष्टा र तटस्थ शिल्पी मानिन्छन् ।
पाठकलाई संवेदनशील बनाई चरित्र प्रति सहानुभूतिपूर्ण तुल्याउनु आख्यानकारका निम्ति अपेक्षित सीप हो । कोइरालाका पात्रहरmमा वर्गीय प्रतिनिधित्वभन्दा ज्यादा व्यक्तिचरित्र त्यसमा पनि ज्यादा व्यक्ति मान्छेको मनस्थितिको तिब्रता पाइन्छ । रतिराग त्यसकै एक पक्ष हो । रतिराग मात्रै नभएर मानव मनका अनेकौँ अन्तर्वृत्तिहरmको व्यक्ताव्यक्त प्रस्तुतीकरण यिनका कथाहरmमा पाइन्छन् । यिनी मानव मनकै चित्राङ्कन कर्ताकै रmपमा देखापरेकाछन् ।
सत्को पक्षपात गर्ने लेखक आदर्शवादी हुन्छ । जुन लेखकमा यस्तो पक्षपात हुँदैन त्यसैले वस्तुलाई निर्वैयक्तिक रmपमा प्रकट गर्दछ । आदर्शवादमा लेखकको व्यक्तित्व प्रधान हुन्छ र त्यसमा तटस्थता कम हुन्छ । जीवनको वास्तविकता विर्सेर अस्वाभाविकता र अविश्वसनीयताको सृष्टि आदर्शवादले गर्छ । त्यसैका विरोधमा यथार्थवाद आएको हो र मनोविज्ञानवादीले यथार्थवादको वरण गरेका हुन् । यस अर्थमा कोइराला यथार्थवादी हुन् ।
नेपाली आधुनिक कथा साहित्यमा कथाकार विश्वेश्वरप्रसाद कोइरालाले अँगालेको आधुनिकतामा पाश्चात्य रmपरङ पाइने हुनाले यिनको आगमनबाट नेपाली कथापरम्परामा आधुनिकता झन् सबल हँुदै एउटा लामो परम्पराकै निर्माण भयो । यस परम्पपरामा भवानी भिक्षु, गोविन्दबहादुर मल्ल ‘गोठाले’, विजय मल्ल, पोषण पाण्डे, प्रेमा शाह, परशु प्रधान आदि हँुदै उत्तरोत्तर विविधता र बहुआयामिकता प्राप्त गर्दै आएको मनोविश्लेषणको परम्परा आजसम्म आइपुग्दा यौनमनोविज्ञान, सामाजिक मनोविज्ञान, बालमनोविज्ञान आदि विभिन्न उपधाराहरmमा झाङ्गिदै अगाडि बढेको पाइन्छ ।
परामनोविज्ञान अर्थात पूर्वजन्मको स्मरण वा जन्मपछिको सम्भावना अथवा आत्मा आदिका सम्बन्धका र अतियथार्थपरक कथाहरm पनि देखापरे तर विश्वेश्वरप्रसाद कोइरालाले नेपाली कथामा आधुनिक मूल्यलाई अझ वजनदार बनाएर एउटा समृद्ध परम्पराको सृजना गरिदिए । अझ भन्ने हो भने नेपाली कथामा पाश्चात्य प्रभावलाई भित्र्याएर आधुनिकताको परिमितिलाई धेरै फराकिलो पनि तुल्याए ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 7 श्रावण, 2073

लेखकका अन्य रचनाहरु