अन्तिम अभिनय

- युवा बराल ‘अनन्त’

‘नानी ! ए बराल नानी ! तपाईंले लेख्नु भएको कथा सङ्ग्रह ‘जिउनी” पढ़ें मैले । साह्रै राम्रो लेख्नु भएछ । यथार्थ । लेख्नेले त हो तेसोरी लेख्नु पर्छ नि; छर्लङ्ग उज्यालो, प्रष्ट, बुझ्ने अनि बुझाउन सक्ने ! एक दुइवटा कथा चैं अलिक फ्यातुलो लाग्यो विषयवस्तुले … अरु अब्बल ! लौ… आशिर्वाद छ, अझ लेख्नु, राम्रो लेख्नु, खास कुरा लेख्नु, खुब नाम प्रतिष्ठा कमाउनु !’

उनी थिए मेरो प्रिय पाठक । साठी सत्तर त्यस्तैका । गहुँगोरो थियो हो । अब कालो धमिलो बनेको छ त्यो चाउरे अनुहार । आँखा धमिलो धमिलो । मुखबाट आधा दाँत झरेका । सिकुटे जिउ । खिनौटे हात खुट्टा । कालो कोट भिरेका । लौरो टेकेर हिंड़ने । ज्यादा खोक्ने । कम्ति बोल्ने ।

मेरो प्रिय पाठक ! तिमीले मन पराएको दिनदेखि मैले कथा लेख्नै सकिन ।

किन ? थाहा भएन । तर कथा लेख्न बस्दा मलाई तिम्रो त्यो कालो कोत्रिएको अनुहार याद आउँछ । त्यो अनुहारले कुन्नि किन मेरो एकाग्रतालाई एकाएक भङ्ग गरिबस्छ । मलाई ठिट्याइबस्छ त्यसले । गिज्याइबस्छ । ‘ किन लेख्छस कथा ?’ भने जस्तो प्रश्नले हेरिबस्छ मलाई एकोहोरो । म त्यसैले केही लेख्न सक्दिन । मेरो अनुपस्थितिको यति लामो अन्तराल त्यसैले हो पाठकहरु माझ ।

थाहा छ मलाई तिम्रो सबै भन्दा प्रिय साथी पुस्तक हो भनेर । तिमी पुस्तकलाई असाध्यै माया गर्छौ भन्ने तथ्य मलाई ज्ञात छ । मेरा कथालाई जस्तै तिमीले अरुका कथाहरु पनि मन पराएका छौ । तिम्रो कथा प्रेम पल पल बद्लँदो छ । कैले यो…कैले त्यो… नवीन र नौलोको खोज हो तिम्रो कथा स्नेह भन्ने कुरा म मात्र जान्दछु । बाँदरले टोक्दै फ्याँकेको अम्बक जस्तै हो तिम्रो कथा चाख । कति तड़कालो छ तिम्रो जिब्रो जो हर हमेशा मीठो र रसिलोको अपेक्षा राख्दछ । सानोमा तिमीलाई तिम्री आमाले मीठो मसिनो मात्र खिलाएर हुर्काएको हुनुपर्छ नत्र स्वादको ज्ञान कहाँबाट विकसित बन्थ्यो तिमीमा…। तिम्रा गुरुले साहित्यको रस पिलाएर पाठ पढ़ाए कि कसो !

‘म पनि लेख्थें कविता, जसलाई हामी सवाइ भन्थ्यौं । शिवालय मन्दिरको सवाइ, पहिलो खोलिएको स्कूलको सवाइ, गाउँको सवाइ, खेतको सवाइ अनि हाम्रो जातिको इतिहासको सवाइ, रिति थिति अनि चाड़ पर्वको सवाइ । ऐले छैनन् ती, मुसाले होकि माउसुलीले राखेको ताक मै ती खेस्राहरु काटिएर धुजा धुजा भएछन् । लेखेर राखेको बिर्सेछु मैले । राखेर भुलेछु । मेटिएछन् ती । सकिएछन् सबै । तिम्रो कथा पढ़दा याद आए ती । खोजें धुईंपताल । अन्तमा झिनो स्मृति मात्र अलिकति पाएँ । ती मेरा अँध्यारा पक्ष हुन् । ती मेरा नछापिएका कथा हुन् । अप्रकाशित सत्य। चित्त यति मै दुखेको छ मेरो । बोझ निरर्थक बँचाइको !’ मेरा प्रिय पाठक थिए उनी एकलै बोलिरहेका… असन्तुष्टि पोखिरहेका…। असङ्ख्यहरुमा एक उनी पनि ।

बोलिसकेर हातमा सिगारेट निकालेर सल्काउने । लेखकसङ्ग लेखेकै कुरा गर्नु पर्दछ भन्ने जानेरै बोल्ने । मलाई उक्साउँछन् । जिस्क्याउँछन् । प्रोत्साहन हुन ती वाक्यहरु । समय चिन्हाउन चाहन्छन् उनी उनका बितेका समय सम्झाएर । कोही असफल बनेको छ भने उ आफ्नो विफलताको वकालतको निम्ति कि त हालतलाई दोष दिन्छ या त परिस्थितिलाई । उनी तर परिस्थिति र अवस्थालाई जिम्मेवार ठान्छन्, निरर्थक ठानेको उनको अलिकति उब्रिएको जिन्दगीको निम्ति । सायद समय’लाई पनि । ‘एउटै सवाइ मात्र पनि प्रकाशित भएको भए !’ त्यो उनको सार्थकता हुने थियो…यति लामो जिवाईको, व्यर्थ बँचाईको !

साथी थुप्रै हुँदा रहेछन् एकलो मान्छेलाई एकान्त अनि एकलो घड़ीतिर । सिगारेट मेरो प्रिय पाठकको एउटा घनिष्ठ साथी । माचिस अर्को अभिन्न । धुवाँ अनि कश झन महत्वपूर्ण । खोकी अनि खकार उनका स्नेही मित्रहरु । खोक्नु अनि थुक्नु दिनचर्यामा छ उनको । ती सबैसङ्ग उनी पालै-पालो सङ्गत गरिरहन्छ्न् । बाँच्नलाई सायद ती इन्धनहरु हुन उनका । दिक्क लाग्दा जिन्दगीदेखि, अलिकति रक्सि पनि चाखेका हुन उनले । कालान्तरमा त्यो पनि एउटा आदत बनेर अति नै मिल्दो-जुल्दो सहोदर बन्यो उनको । ऐले उनको स्वास त्यसैको आधारमा चल्दैछ । हावामा उड़नुको अनुभव छ भने त्यो ग्याइडरमा चड़नेलाई मात्र थाहा होला । दियो जलिरहनु र जलाइरहनु… कति फरक छन् एउटै जस्तो लाग्ने यी शब्द ध्वनिहरु ।

‘मैले मृत्युलाई मेरो कान कै छेउबाट उड़ेर गएको देखें ।’ त्यो उद्गार थियो मेरो प्रिय पाठकको एक दिन एक साँझ पखको । सायद उनी कुनै सिकिस्त बिमार अवस्थाबाट भर्खरै निको भएपछि यसो भन्दै थिए । मैले त्यति ध्यान दिइँन ती महत्वहीन लाग्ने गनगनहरुलाई । बुड़ेसकालमा यस्तो दृश्यहरुसित जम्काभेट हुँदा हुन ती निश्तेज आँखाहरु । भ्रम जस्तो वास्तविक्ता । मिथ्या जस्तो ध्रु्वसत्य ।

‘अर्को कथा लेख्नु भयो?’ सोधनी थियो अर्को केही दिन पश्चात । मेरो लगनशिलताप्रतिको सजगतालाई धारिलो प्रश्न थियो त्यो । मेरो निष्क्रियतालाई झकझक्याउने प्रयास । साँच्चै उनी मेरो प्रेरणा स्रोत नै हुन (?) उत्प्रेरक । प्रोत्साहक । अरुलाई के खाँचो… म लेखूँ या नलेखूँ । म चलायमान हूँ या स्थिर । मेरो रचनाको भोको उनी, मेरो परिकारको प्रसंशक ! तसर्थ उनको निम्ति नै पनि नयाँ उत्पाद गर्नु अब मेरो धर्ममा पर्छ । नवीन सृजना त्यसै कहाँ जन्मन्छ र ! लाग्छ म अब उपभोक्ता होइन। मेरो सृजना मेरो निम्ति मात्र रहेन कि भन्ने लाग्यो यतिबेला । कोही पर्खिरहेकाहरुको निम्ति उपस्थित भइदिनु मेरो परम कर्तव्य । तिर्खालाई पानी । मेरो उपासनाको संसृष्टि !

भनेको जस्तो सजिलो कहाँ छ र लेखनी पनि ! कुखुराको पोथीले अण्डा पार्नु अघि बेहोरेको छटपटाहट जस्तो, अण्डा पारिसकेपछिको संतृप्ति जस्तो, यो पनि एउटा तपस्या नै होकि ! कि त यो नियमित अभ्यास हो । नभए साधना ! शब्द बुन्नसक्नु एउटा उत्तम कला पनि त हो । भन्नेलाई कति सहज यो प्रश्न- ‘ के गर्नु हुँदैछ ?’ दिनेलाई उस्तै असहज यो उत्तर ‘ बसि-बसाई !’ कलाकारलाई नसोध्नु रहेछ यस्ता प्रश्न । ‘के उ साँच्चै निष्क्रिय बसिरहेको हुन्छ र ?’ ‘केही नगरेको समय उ केही नगरिरहेको हुन्छ ?’

देशले उन्नति गरिरहेको सन्देश बोकेर घरको छेवैको बाँसघारीमा हल्ला उब्जाउँदै परिवर्तनको हावा वहिरहेको म सुन्दैछु । त्यो बाँसघारी हावाको निम्ति बाधा होइन तर उ हुनुको परिसुचक हो । हावा हुनु बाँसघारी हो कि बाँसघारी हुनु हावा हो ! तर दुवै एकार्काका सम्पूरक हुन्, यति चैं भनिदिएँ । आफ्नो गति अनि दिशाको अनुभूति हो हावालाई बाँस । अस्तित्वबोध । बाँसलाई हावा, आफु हुनु मात्रको बोध । तर ठोकिए पछि बाँससङ्ग हावा, बाँस हल्लिनै पर्छ, त्यसका पातहरु बज्नै पर्छ, त्यसले प्रतिक्रियाशील हुनै पर्छ । यस अर्थमा मेरो प्रिय पाठक ! तिमी किन चुप बस्छौ ? तिम्रो गनगन युक्तिसङ्गत नै हो नि समयलाई ! श्रष्टालाई !

गर्वबोध छ मलाई मेरो सृजनामा जसले उमेर र अयवयले वयोवृद्ध नै सही, एउटा नियमित पाठक कमाउन सफल भएको छ । अनि मैले उनको नामाङ्करण पनि निःसङ्कोच गरिदिएको छु… ‘प्रिय पाठक !’ अब मलाई उनको मात्र सरोकार छ । लेख्दा उनले मन पराउन सक्ने लेख्नु पर्यो, बुझ्ने, सरल, सुबोध, सारगम्य, ग्रहणयोग्य, लौकिक, मौलिक, युग सापेक्ष, लोकहितकर र समयानुकुल । उनको नकरात्मक प्रतिक्रियाले मेरो कलिलो हरियो उब्जनीको खेत तहस नहस नपारिदियोस् यति सचेतना भने अपनाउनै पर्दछ सदैव हरसम्भव । त्यसैले यो सचेत लेखनी ; अहँ गर्न सकिन प्रिय पाठक ! किन कि… यो खेल अवचेतनको हो ।

‘एउटा कुरा सुनाउनु छ हजूरलाई, म त थलो बसिहालेँ नानी ! एकदिन बस्दै आउनोस है ! बसेर लामो बात मारौंला !’ बोल्न मन पराउने मेरो प्रिय मान्छेले सुनिदिने अर्को सम्वेदनशील मान्छे खोजिरहेको थियो । उनीसङ्गै उनका धेरै कुराहरु पनि विलिन बन्न सक्छन् कि भन्ने डर पनि हो त्यो आग्रह । सुनाउन सक्नु उनको उतृप्ति पनि हो नि ! यही कुरालाई साकार रुप दिन म गएँ एकदिन मेरो प्रिय पाठक खोजिमा …

OOO

बाँसै-बाँसघारीको उकालो हुँदै म हिंड़दैछु । एकलास बाटो । निर्जन । चराहरु बझ्छन् । पातहरु बझ्छन् । पत्करहरु बझ्छन् । रुखहरु एकतमासले हल्लिरहेछन् । नाँचिरहेछन् ताण्डव जस्तो । हावा बहिरहेछ । म थाहा पाउँदैछु त्यसको स्पर्श । शितल छ बतास । शान्त छ वातावरण । जति बड़दैछु अगाड़ी, शनै शनै जङ्गल बाक्लिँदैछ । घना भन्न नमिलेता पनि चिलाउने, उत्तिस, फलेदो, पानी सहाज, मलातो, बेपारी, बिलाउनी, काउलो, नेबारो, दुधिलो, पाङ्ग्रा, देब्रे, इन्द्रेनी र चरचरेका लहरा…लहरै लहराको जङ्गल । झ्याँउकिरी गीत गाइरहेछन् कोरसमा । किथ्राहरु किर्किराइरहेछन् । म फगत हिंड़िरहेछु । मेरो यो हिंड़ाई तर सुगम छैन ।

कञ्चनजङ्घा देखिने पारिलो डाँड़ामा पुगेपछि म बिसाउँछु एउटा चप्लेटि ढुङ्गामा । हरेक यात्रीहरु यहाँ केहीबेर सुस्ताउँछन् । त्यहाँदेखि उतापट्टिको पारिलो गाउँमा अवस्थित छ उनको घर जहाँ पुग्न मैले अझ केही उकालो अनि थोरै तेर्सो बाटो हिंड़नु पर्छ । आजै पुग्छु म त्यहाँ, जहाँ मेरो सही मुल्याङ्कन हुन्छ ।

‘नानी ! आज मेरा छोरा बुहारी छोरी ज्वाईं सबै भेला भएका छन् । तिनीहरु मेरो वरीपरी घेरा लागेर बसेका छन् । कसैको आँखामा तर विस्मात छैन न त दुःखका जिजिविषा । मृत्यु, कालो मखुण्डो ओड़ेर मेरो पलङ्ग पछाड़िको खिड़किमा बसेर एकटक रमिता हेरिरहेको छ । त्यसले मेरो यो अवस्थाको खिल्लि उड़ाइरहेको छ । घरिघरि खुचिङ्ग मच्चाइरहन्छ त्यो । मेरो जिन्दगीदेखि मलाई थुतेर लैजान्छु भन्छ । मेरो स्वासको डोरी चुटाइदिन्छु भनेर जिस्क्याइबस्छ । मेरो शरीरदेखि मलाई छुटाइदिन्छु भनेर ललकारिरहन्छ …

…तिनीहरुले पर्खेको पनि मेरो अन्तिम दिनलाई नै हो, म जान्दछु । त्यसैले, यसपालीको दशैं धुमधामले मनाउने निधो गरेका छन् यिनीहरुले । मेरो हातको टिका खुबै उत्साहको साथ लगाउने भएका छन् । ठूलो घोर्ले खसी खोजेर ल्याएर घर छेउको कटेरोमा बाँधेका छन् । नाति केटोले त्यसलाई माया गरेर घाँस-दाना गरिरहन्छ । लामो छरी पल्हाएको रातो भाले किनेर ल्याएका छन् । नातिनी केटी त्यसलाई घरि घरि चारो पानी हालिरहन्छे । अनि थाहा छ … केटाहरुले ‘केशका केश’ थरि थरिका रक्सि भेला पारेका छन् । ’ दशैंको सप्तमीको दिन उनको फोन आउँदा यति कुरा भनिसकेर सुस्ताएका थिए । कुरा सुनेर खिन्न भएको थियो मेरो मन । मैले ‘ तपाईंलाई भेट्ने उत्कट इच्छा छ ।’ भनिसक्दा उता फोन काटिएको थियो । सायद कसैले उनको हातबाट फोन थुतेर रिसिबर राखिदिएको थियो हो ।

‘नानी ! हिँज-आज मलाई रक्सि पिउन दिएका छैनन् यी पापीहरुले । मलाई जिउँदै मार्न खोजिरहेछ्न् । तर म बाँच्न चाहन्छु । ’ हारेको स्वरमा बर्बराएको आवाज थियो त्यो एक महिना पहिलाको । आज रक्सिको कुरा गर्दा निकै तड़कालो बोलेका थिए । पिउने मान्छेले पेयको कुरा निकै चासोको साथ गर्ने गर्छ । उनी खुशी थिए… घरमा रक्सि आएको थियो ।

‘मार्न होइन बँचाउन चाहन्छन् तिनीहरु तपाईंलाई । त्यो विष हो, जानेर पनि किन पिउन चाहनु हुन्छ ?’ मैले उल्टा झपारेको थिएँ झिञ्झो मानेर । अर्को विकल्प थिएन मसङ्ग । माया गरिरहँदा पनि कोहिबेला त्यो असाध्यै तितो अनुभूति हुँदोरहेछ ।

मेरो यात्रा अझ जारी छ ।

अग्लो डाँड़ा काटेर पर्तिरको पाखामा एउटा टिनाले छापेको सेतो टल्किने घर देखिन्छ । घर मास्तिर वरको रुख छ भनेका थिए । घर मुन्तिर बाँसघारी । वरतिर परतिर अन्य घरहरु बसेको एउटा सुन्दर गाउँ छ भन्थे । रुख, बाँस,बारी, झोड़ी, घाँस, दाउरा, ढुङ्गा, माटो, पानी , हावा, खोलाको आवाज, घाम आदि माझ त्यो गाउँ । गोरेटोले जोड़ेको अन्य संसार सङ्ग त्यो गाँउ । त्यही गोरेटो हुँदै हुँदै… उकालो तेर्सो ओह्रालो कान्ला ढिस्कना नाघ्दै उत्रँदै…म पुगें अन्तमा… मेरो गन्तव्य – मेरो ‘प्रिय पाठक’को घर ।

पुरानो भन्नुपर्छ घर । गोबर माटोले नै लिपेको भित्ता र भूईं । इग्रा-चिमको सिलिङ्ग । पहिला चिरेको दाउराको हुन्थ्यो । झ्यालको आकार युगानुसार । पारदर्शि ऐना जड़िएको । दैलो अग्लो फराकिलो । फलेकको पल्लाहरुले बनाइएको । बिचबाट खोलिने । सलाइबोर्डले आग्लोलाई पालो दिएको । घर उही, संसार नयाँ । रङ्ग रोगन जान्न र बुझ्न थालेको अनि रहर पाल्न खोजेको समय । चुनाले पोतिएको बाहिर भित्र । उज्यालो । चोठा कोठा बारिएका । फराकिलो आँगन । भान्साघर अलग्गै । गाई गोठ । बाख्रा-कुख्राका खोर उही आकार प्रकारका । परेवा घुर्न नबिर्सेको घर । सुनसान विथोल्न राखेको जस्तो । घर वरिपरी फूलबारी । तुल-फुल । लहरा, थाङ्ग्राहरु । सयपत्री मखमली गोदावरी । अनि समग्रमा यो मेरो प्रिय पाठकको वासस्थान ।

घरका पुराना ठानिएका सामानहरु, औजारहरु, थोत्रा पत्रु भाँड़ा वर्तनहरु, हलो, जुवा, हल्लुँड़ जोतारो, काँटा कोदालो, रम्भा बेल्चा, डोको नाम्लो, गुन्द्रि मान्द्रो, ढिंकी जाँतो सबै सबै घरदेखि पर सारिएको छ । ती कि त सदाको निम्ति अफालिएका छन् या त खोल्मा कटेरोमा कहिले नचलाउने गरी थान्को लगाइएको छ । अब ती सर-सामान र औजारको कुनै महत्व छैन यो घरलाई । यो घरका मान्छेलाई पनि ।

कुनै चहल-पहल छैन त्यहाँ । लगभग शान्त छ घर । केटा-केटी पनि छैनन् । ओहोर दोहोर पनि छैन । आँगनको छेउमा अवस्थित आँपको रुखमा आधा छलिएर उभिएको एक भद्र देखिने चालिस पैंतालिसका व्यक्तिलाई निकै औपचारिक्ता वहन गर्दै सोध्छु - ‘विमारी चैं कता हुनु हुन्छ ? म उहाँलाई हेर्न भनी आएको !’

‘तपाईं चैं ?’ उनले सोधेकोमा मैले जवाब फर्काएको थिएँ- ‘ म उहाँको प्रिय लेखक !’

‘ए ! हामी त को चैं होला भनेर नि !’ रुखो अभद्र बोल्यो त्यो मान्छे । वेपर्वाह अनि ज्यादा चुपचाप उसको स्वभाव ।

उसले घरको मुलद्वारबाट भित्र्याउँदै मलाई भित्रि कुनाको सानो कोठाको दैलोमा पुर्याएर भन्यो-‘ बा’ सुतिराख्नु भा’होला । यहीं बस्नोस । ऐले उठेपछि भेट्नु ।’

त्यो बस्ने ठाँउ बिमारीको छेवैमा अवस्थित एउटा बाँसको सिटाले बुनेको छालाले मोड़ेकोको मुड़ा थियो । तानेर त्यसैमा बसें । अचेत झैं ओछ्यानमा लड़िरहेका थिए मेरो प्रिय पाठक ! लुगाले घम्म छोपिएको उनको शरीर । निर्जन झैं कोठा । कैले देखि नखोलिएको खिड़्की । मैलो ओड़न । दुर्गन्ध गुम्सेको हावा । बिमारी वातावरण ।

उठेर झ्याल खोल्छु । उज्यालो भित्र पस्छ । दुर्गन्ध बाहिरिन्छ । मलाई एकलै त्यहाँ बसाएर बाहिर गएको त्यो मान्छे फर्केर आएको छैन । परेवा घुरेको आवाज कोठामा गुञ्जमान छ ; त्यो बिमारीको घुराइहो कि । उहाँको निंद्रा/एकाग्रता भङ्ग गर्न सक्दिन म ।

उहाँको आग्रहलाई नकार्न नसकी म त्यहाँ उनको छेवैमा उनको ब्युँझाइको प्रतिक्षामा छु । म हुनुको सत्यको सम्मूख …

भित्तामा झुण्डिएको छ एउटा पुरानो मादल । मादल नयाँ हुन सक्दैन त्यो म जान्दछु । खरी झरेको । काठ तर धुलियाले धुलिएको छैन । तान पनि तन्किएकै छ तुनाको । बज्दो हो बजाए । तर त्यो आज सजाइएको छ । हाम्राहरु हुनुको संस्कृतिको द्योतक । विचारधारा अनि सस्कृतिको संवाहक । अर्को एउटा कालो झोला छ झु्ण्डिएको छेवैको भित्तामा । त्यो भित्र छ दुईवटा बाँसुरी । पुरानै हुन ती पनि । बजाए बज्दा हुन । सुर अनि तालमा । तर कसले बजाउने ? जसलाई बजाउन आउँथ्यो… उ त असक्त छ यतिबेला । लुप्तप्राय अवस्थामा । उसले बजाउँथ्यो जतिबेला उसलाई सुन्नेहरु थिए । अब सुन्नेहरु छैनन् । उ नाँच्थ्यो त्यतिबेला, जतिबेला उसको शरीरमा उर्जा थियो । तेज थियो । आकर्षण थियो । सम्भावना थियो । योग्यता थियो । दर्शकलाई लोभ्याउने कला थियो । अब न त मञ्च छ, न त कलाकार । दर्शकहरुको अभिरुचि पनि ठूलो फाँट नाघेर अर्कै रङ्गमा बद्लिएको छ । अर्कै ढङ्गमा बाङ्गिएको छ । तसर्थ ती साज-बाजहरु एकाएक थान्को लागे । ताली बज्न छोड़ेपछि प्रतिभाको के मूल्य !

त्यो लाश जस्तो अचेतन छेउ म बसेको छु अवचेतन झैं, अर्ध-चेतना लिएर । दिगभ्रमित छ मेरो चेतना यतिबेला । दवाईका सिसिहरु यत्रतत्र छरिएका छन् छेवैको टेबलमा । कागजका टुक्राहरुले उसको लामो बिरामी अवस्थाको वकालत गर्छन् । धुलो मैलो भूईंले परिवारबाट पाएको वास्ता-वेवास्ताको परिचय दिन्छ । एउटा कालो कलाइको मगमा आधा भरिएको चिसो पानीले भन्छ –‘ कुनै पनि समय यो अचेत मान्छे व्यूँझन सक्छ अनि उठेर सट्ट त्यो ठण्डा पानी पिउन सक्छ !’ स्वास चलिरहेकै छ अझ सबैको विश्वासमा । मेरो पनि एउटा झिनो आशा छ… ‘उहाँ ज्यूँदो हुनुहुन्छ’ । त्यो अर्को सत्य हो नि !

खक खक खोक्छु । शुन्यता अलिकति खल्बलिन्छ । उठ्छु । फेरि बस्छु । आफैंलाई थुम्थुम्याएर राख्छु । सम्झाउँछु । मैले कहिले पनि मेरो प्रिय पाठकको अनुहार देखेको छैन । स्वर भने कैयन पटक सुनेको हूँ । त्यो दृड़ तर बूढ़ो आवाज । थरथरी काँप्दो ।

त्यही काँप्दो स्वरमा एकदिन रुञ्चे लवजमा सुनाएका हुन उनको अव्यक्त पिड़ा – ‘कहिले अस्पताल नगएको म मान्छे ! आजसम्म दुःखेको थाहा थिएन । भनौं नै भने रुघा मार्गी ज्वरो स्वरो क्यै’को अनुभव थिएन र छैन पनि मलाई । चोट पटक लागेता पनि झार पात र धूलो माटो दलेरै निको पारेको हूँ घाउ । धामी झाँक्री माता ओझा भन्नेहरु आफ्नो स्वार्थको निम्ति आफ्नो भलोको निम्ति भनेर कहिले लगाइएन । ग्रहजाप पूजा आजा पनि गराइएन । चिसो तातो पनि बारिएन । कहिले दुःखेन मलाई । तर…।’

-‘ दु:ख र दुखाइलाई मैले धम्काएरै लखेटेको हो…।’

-‘तर…’

‘…आँखा खोल्दा म कुनै अस्पतालको प्राङ्गणमा थिएँ । भित्तामा ठूलो अक्षरमा लेखिएको थियो- “चिरञ्जिवी क्यान्सर हस्पिटल ” । सहन सक्ने यो भन्दा ठूलो आघात अरु हुन सक्छ र ! दुखेको केवल मेरो भूँड़ी मात्र थियो । दुख्दा दुख्दा खाना खानै नहुने भयो । खायो कि वान्ता आइहाल्ने । एक दुई दिन पश्चात दुब्लाएँ म । प्रिय लेखक ! सबै आए मेरो निर्धो अवस्था हेर्न । म मर्दै गएको रमिता हेर्न । मेरो उर्जाहीन स्वरुप हेर्न । म निभ्दै गएको अँधेरी हेर्न । तसर्थ, मेरो ज्यूँदो रहने चाह विस्तारै मर्दै गयो । अलिकति अलिकति गर्दै म मरण शैयामा लोटिन्दै गएँ । हो… बाँच्ने अगाध इच्छा सुनाउन मैले तपाईंलाई बोलाएको हूँ । त्यसैले चाँड़ै दर्शन भेट होस !’

तसर्थ म यहाँ छु । कस्तो संयोग यो ! म आउनु अबेर भएको क्षण । मैले मेरो पाठकको इच्छालाई समयमा प्रतिक्रिया दिन नसकेको पल । क्षोभ त्यसैको छ । ‘ओ पाठक उठन…उठ ! म आइपुगें, हेर त !’

कोठामा म एकलै छु । माफ गर्नु होला, मेरो प्रिय पाठक मेरो छेवैमा भएर पनि नभए जतिकै - अबोध । अस्वस्थ्य । अचेत । अर्धमृत । लाशमय ।

‘तपाईं फर्केर जाँदा हुन्छ । उहाँ अब उठ्नु हुन्न सायद । सबैले उहाँलाई माया मारिसकेका हुन् । हामी त उहाँको अन्तिम यात्राको तयारी गर्दैछौं ।’ घरको कुनै कर्तव्यनिष्ठ सदस्य हुनुपर्छ त्यो खिनौटे च्याक्से परेको मान्छे । जाँदा जाँदै बिमारीलाई ओड़ाइराखेको लुगा अझ माथि सारेर सम्पूर्ण शरीर छोपिराख्छ ।

‘ कस्तो गन्हाएको उफ !’ बाहिर कुनै स्त्री आवाज प्रसारित हुँदैछ । ‘सि ए को पेसेन्ट यस्तै गन्हाउँछ है ! छिः छिः छिः ।

म सहीरहेछु भित्र सबै । गन्ध पनि-दुर्गन्ध पनि । प्रेम पनि – घृणा पनि । सत्कार पनि – दुत्कार पनि । विचार पनि – कुविचार पनि । संस्कार पनि – कुसंस्कार पनि ।

म त्यहाँ बसिरहने औचित्य रहेन अब । उठ्छु , अनि विस्तारै विस्तारै बाहिर निस्कन्छु ।

बाहिर निकै मान्छेहरु भेला भइरहेका थिए एक पछि अर्को । एक दुई अनि अनेक । अधिकदेखि अत्याधिक जमात । अनि भिड़ । ती मलामी थिए । लाशलाई घाटमा पुर्याउन भेला भएका । मृत व्यक्तिलाई थान्को लाउन जमघट भएका । प्रायले नाक छोपेका थिए । कसैले मुख छोपेका थिए । टुल टुल आँखा तिनीहरुका । सललल सिल्बिलाहट । किरा जस्तो मान्छे । मान्छेको घाउ चुस्ने किराहरु । मान्छेको रहर चिथोर्ने किराहरु । मान्छेको इच्छा दफनाउन भेला भएका किराहरु । मान्छेको शरीर नाश गर्ने किराहरु … स्वरुपमा ।

आगोसङ्ग विस्वास छ मान्छेलाई । त्यसले जलाएर खाक बनाउँछ यो नश्वर देहलाई भन्ने ! तसर्थ तिनीहरु चिता ठड़ियाउँछन् । माटोसङ्ग भरोशा छ मान्छेलाई । त्यसले कुहाएर माटो बनाउँछ यो हाड़ छालाको शरीरलाई भन्ने । तसर्थ तिनीहरु कपूर खन्दैछन् । मान्छे ज्वलनशील पनि… सड़नशील पनि ।

‘हा…हा…हा… लेखक !

……… हेर्नोस त त्यो कालो झोला भिरेको, पावरवाला चस्मा लगाएको, लामो कपाल अनि चुस्स दाह्री भएको दुब्लो दुब्लो तर तेज आँखा भएको मान्छे । कसले चिन्छ उसलाई उसको पाठक बाहेक ! हामीले त न पढ़छौं, न बुझ्छौं, न चिन्छौं उसको उच्चता र महानतालाई । कस्तो गर्वबोध छ उसलाई उ हुनुको ! केवल मिथ्याभास ! ’ घानघुन यस्ता कुराहरु ती भिड़माझ उब्जन्छन् । कोही खिसी गरे झैं, कोही खिल्लि उड़ाए झैं, कोही प्रशंसा गरे झैं, कोही सम्मान गरे झैं ; विभिन्न लय र ध्वनीका आवाजहरु ।

‘कहिले नमर्ने काम गर्नु ।’ भन्थ्यौ तिमी ओ प्रिय पाठक ! त्यस्तो कर्म तर तिमीले के गर्यौ ? तिम्रा आफन्तहरुले तिम्रो मृत्युको घोषणा गरिसके । तिमी गयौ त साँच्चै कसैलाई नभेटी थाह नै नदिई ! कस्तो स्थिति हो यो ?

अनि आवाजै- आवाजको कोलाज बजिरहेको छ लगातार नारा जस्तो । ‘…राम नाम सत्य हो!’ ‘… राम नाम सत्य हो !!’ तर त्यो सत्य वास्तवमा के हो ती मलामीहरुलाई नै थाहै छैन ।

म एक छेउबाट निकास लिंदैछु । छोड़ेर सबै -- अनर्गल समवेदनाहरु । प्रगाड़ स्नेहहरु । अव्यक्त विचारहरु । उत्कट इच्छाहरु । अगाध प्रेमहरु ।

तलतिर डाँड़ामा पुग्दा सुन्दैछु म - शंखको ध्वनी …टूँ…लामो ।

बिसाउँछु… त्यही चप्लेटि ढुङ्गामा ।

मलामीहरु छेउ लागेर जान्छन्- मेरो ‘जिउनी’ कथा सङ्ग्रह’का पात्रहरु पनि प्राय सामेल रहेछन् त्यो लाममा… क्रमैले--- घिमिरे कान्छा बाबै, बूड़ाथोकी बाबै, कटहरे ठूले, भक्ते, नेम्बाङ कान्छा…अनि देवेन्द्र ।

लाश बोक्नेहरु… भक्ते र देवेन्द्र !!

उठ्छु । म तानिन्छु कुन्नि कुन डोरीले बाँधिएर । तिनीहरु पछि पछि म पनि मिसिन्छु । मेरो प्रिय पाठकको म स्वयं मलामी !!

खोलाको बगरमा राखिएको छ ऐले मेरो प्रिय पाठकको लाश ! उनी छैनन् अब । उनको लाश मात्र छ । नश्वर शरीर । केहीक्षण पश्चात चितामाथि राखिन्छ त्यसलाई । उनका छोराहरुले अन्तिम दाग-बत्ती दिएपछि आगो झोसिदिन्छन् चितामा । त्यो बिस्तारै जल्न लाग्छ ।

धुवाँको मुस्लो माथि माथि फैलिएर जान्छ । चिता हुर्हुर जल्न थाल्छ । त्यो चितालाई अलिकति मट्टी दिइराखेर म फर्कन्छु जसरी उनका आफन्त र उनले कमाएका मलामीहरु फर्कन्छन् ।

अन्तमा उनी अलिकति खरानी रहे…त्यो पनि उनका छोराहरुले पखालेर खोलामा बगाइदिए ।

देखिसकें प्रिय पाठक ! मैले पनि मेरो नियति…!

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 7 श्रावण, 2073

लेखकका अन्य रचनाहरु