प्रगतिवादी आलोकमा मोदनाथ प्रश्रितको वस्तुवादी दृष्टिकोण

- केशवहादुर राई

मोदनाथ प्रश्रित (१९९९) नेपाली जनमानसमा नौला व्यक्तित्व होइनन् । कुनै न कुनै एउटा व्यक्तित्वले प्रभाव नपारेका र परिचय नलिएका नेपाली सायदै होलान् किनकि प्रश्रित बौद्धिक धरातलका त्यस्ता व्यक्ति हुन् जसले आफ्नो प्रतिभा, क्षमता, सहनशीलता, शालीनता र क्रियाशीलताको छाप हरेक नेपाली समक्ष पुर्याएका छन् । प्रश्रितको वहुमुखी व्यक्तित्व नै उनको पहिलो परिचय हो । यसैबाट उनका वारे खोजी सुरु हुन्छ र अन्त्यमा विषय, क्षेत्र तथा विधागत विशिष्टतामा पुगेर समाप्त हुन्छ । प्रश्रित साहित्यकार, समालोचक, समाजशास्त्री–मानवशास्त्री, दार्शनिक, चिन्तक एवं राजनीतिक आदि व्यक्तित्वले सम्पन्न धरती जस्ता व्यक्ति हुन् । यिनमा पनि मूलभूत रूपले साहित्यकार तथा राजनीतिक दुई क्षेत्र मध्ये कुनै एकले मात्र भए पनि प्रश्रितलाई नेपाली मानसपटलमा सुरक्षित गरेको छ भन्ने कुरामा दुई मत छैन । राजनीतिमा इमान्दार प्रगतिशील राजनीतिज्ञ र साहित्यमा प्रगतिशील मानवतावादी साहित्यकार देखिने प्रश्रितको बहुआयामिक व्यक्तित्वको झन्डा भने साहित्यकारमा उभिएको छ । साहित्यमा स्रष्टा–द्रष्टा प्रश्रित गद्य र पद्य दुबै विधाका कुशल स्रष्टा हुन् । स्रष्टा व्यक्तित्वका रूपमा हेर्दा प्रश्रित जीवनजगतको अभिव्यक्ति साहित्यकलाको मात्रै नभई जीवनको भौतिक जगतकै सफल विश्लेषक तथा वैज्ञानिक आलोचकका रूपमा चिनिन्छन् । यस आधारमा हेर्दा प्रश्रित प्रारम्भदेखि हालसम्मको मानव सभ्यताको उचाइलाई विज्ञानको आ“खाले हेरेर मानवीय क्रियाकलापका उतार–चढाव, सङ्गति–विसङ्गति, सुन्दर तथा कुरूप पक्षहरूको विश्लेषण गरेर प्रगतिशील समुन्नत समाजको स्थापनामा अग्रसर सशक्त लेखकका रूपमा पनि देखिएका छन् ।
यसरी मोदनाथ प्रश्रितले आफ्नो जीवनकाल भित्र भोगेका, अध्ययन, अनुसन्धान, विश्लेषण गरेका मानव क्रियाकलाप आबद्ध प्राप्ति र त्यसबाट निर्मित दृष्टिकोणहरूलाई बिभिन्न विधाका प्रशस्त पुस्तक–कृति तथा लेखहरूका माध्यमले प्रकाशमा ल्याई सकेका छन् । तीमध्ये गद्य लेखन अन्तर्गत प्राप्त तेस्रो संस्करण ः २०५८ उल्लेख भएको ‘आस्था र प्रथा ः एक विवेचना’ लेख सङ्कलित ग्रन्थलाई आधार बनाएर यस लेखमा प्रश्रितका केही वैचारिक वस्तुवादी दृष्टिकोणको समीक्षा गर्न खोजिएको छ । ‘गौर जेलमा बस्ता साथीहरूले राख्नु भएका प्रश्नहरूको उत्तरका रूपमा लेखिएको’ भनी उल्लेख गरिएको ग्रन्थभित्र समेटिएका बिभिन्न सवालहरूको सबै उत्तरमा केन्द्रित रहेर प्रश्रितको सफा र विज्ञानसम्मत दृष्टिकोणको उत्खनन गर्नु भनेको अर्को ग्रन्थ नै तयार गर्नु हो । त्यस्तो दुःसाध्य कार्य यो पटक्कै होइन, यसमा मात्र केही सवालका उत्तरहरूको प्रसङ्ग मात्र उठाउन खोजिएको हो । जसअनुसार ईश्वर र सृष्टि सम्बन्धी धारणा, वेद र ईश्वरवादीको तात्पर्य, भाग्यवादको जन्म अनि यसको सामाजिक असरका सम्बन्धमा लेखकद्वारा सुझाइएका सुस्पष्ट वस्तुगत केही उत्तरहरूको मात्र साथ लिन खोजिएको छ ।
सर्वप्रथम ‘ईश्वर सृष्टि सम्बन्धी धारणाहरू कसरी जन्मे र तिनको वास्तविकता के हो ?’ भन्ने प्रश्नको जवाफलाई लिन सकिन्छ । यसमा लेखकले एउटा अद्भुत र जटिल विश्वब्रम्हान्डका विचित्र गतिविधिका वारेमा मानव चेतनाको आदिकालबाटै दुई थरिका जिज्ञासामा मान्छेहरू लागेको ठानेका छन् । काल्पनिक अन्दाजको सतहमा भौंतारिने एकथरी विश्वब्रम्हान्डको सृष्टिकर्ता परम चेतन, अलौकिक ईश्वर हुन् र उनै ईश्वर भने आफसेआफ उब्जेर अस्तित्वमा आएको भन्ने विश्वासमा अडिए भने अर्काथरीले यसका संरचक तत्वहरूको नियमित प्रक्रियाबाट वैज्ञानिक परिवर्तनस“गै अगाडि बढेको मान्ने देखेका छन् । अघिल्ला थरीको धारणालाई प्रश्रित पछौटेपन ठान्दछन् । यसले ‘भगवानको लीला’ मान्ने अवस्तुगत चिन्तनको सुरुवात गर्यो । यसलाई उनी धार्मिक र पौराणिक धारणाको धरातलमा उम्रेको विज्ञान विरोधी विश्वास भन्दछन् र दर्शनमुखी मानव जिज्ञासाको काल्पनिक उत्तरमा स्वाङ मात्र ठान्दछन् । प्रश्रित स्वयं धर्मशास्त्र र दर्शनका विशद् अध्येता, विद्वान हुन् । विद्वानले अन्ध समर्थन गर्दैनन्, यसको प्रमाण यिनले अध्यात्मवादी दर्शन र धर्मशास्त्रहरू बीचको अन्तरविरोधलाई उतारेर देखाएका छन् । ऋग्वेदमा त्वष्टा, अग्नि, इन्द्र आदिलाई पाइलै पिच्छे अलगअलग सृष्टिकर्ता उल्लेख गर्नु, इन्द्रका तुलनामा ब्रम्हा साधारण देवता गनिनु, तर पुराणकालको श्रीमद्भागवतमा उनैलाई विश्वस्रष्टा ठान्नुले तथ्यगत विश्वासको आधार नरहेको किटान गरेका छन् । यो प्रश्रितको कुने आग्रह–पूर्वाग्रह पटक्कै होइन, यो त वैदिक, पौराणिक कालीन दर्शनको सुन्दर अध्ययन–विश्लेषणको असुन्दर चरित्रको उत्तर र उद्घाटन हो । जुन कुराले भौतिकवादी दर्शनको समकक्षता हासिल गर्न सक्षम वस्तुवादी निष्कर्ष निस्केको पाइन्छ ।
त्यसैगरी ईसाई र इस्लामी मान्यतामा आकारयुक्त एक ईश्वर, जसको पृथ्वीपारी सातौं अकासको बसाइ, बाइबल र कुरानको मान्यतामा विश्वब्रम्हान्डको छ दिने रचाइ, ‘तम्बा काइतेन’ अनुसार आगो, पानीको उत्पत्ति र सुमेरु पर्वतको जन्मस“गै प्राणीजगत्को सृष्टि र सृष्टिमा ईश्वर र ब्रम्हाको भूमिका नदेखिने प्रकृतिप्रधान पुरुषको अपरिहार्यता स्वीकार्ने सांख्य दर्शन अािदका विरोधाभाषी तर्कहरूको बौद्धिकता पूर्ण विश्लेषण प्रश्रितका आफैं अकार पूर्ण, मूर्त वस्तुवादी दृष्टिकोणका द्योतक हुन् । जुन तर्कहरूले वैदिक कालदेखि आजसम्मका ईश्वर र सृष्टि सम्बन्धी धारणाका भ्रमहरूलाई चिरेका छन् । निराधार काल्पनिकतालाई मात्र प्रमाणका रूपमा प्रस्तुत नगरी प्रश्रितले वैज्ञानिक आधारहरूलाई समेत विश्लेषणको केन्द्र बनाएका छन् । सृष्टिका वारे भौतिकतत्व जगतका आगो, पानी, हावा, पृथ्वी जस्ता वस्तु र तिनको अन्तरविरोधी गुणहरूको द्वन्द्व, गति, परिवर्तन र विकासको क्रियात्मक भौतिक गतिमा सत्य हो । यसमा वैदिक आरुणीदेखि चार्वाक, बुद्ध, आइन्सटाइन र कार्लमाक्र्स सम्मका दर्शनको वैज्ञानिक उपस्थिति छ । जसमा अभौतिक ईश्वर र ईश्वर सृष्टिको गुन्जायस छैन । यति भएर पनि, आजको युगमा उक्लि सकेका वर्तमान मानव समुदायमा पुराना धारणाले यदाकदा, बेलाबखत, केही केहीमा घर गरेको ठान्दै प्रश्रित यसका दुई कारण मान्दछन्, अज्ञानता र स्वार्थ । अज्ञानताले विज्ञान समाउन सक्तैन र स्वार्थले विज्ञान पछ्याउन चाह“दैन । यी मध्ये पनि पछिल्लो कारणलाई प्रश्रित प्रतिक्रियावादी तत्वको जीवन निर्वाहको साधन ठान्दछन् किनभने अन्धविश्वासका कारण पीडित हुने श्रमिक वर्ग नै हुन् । श्रमिक वर्ग यथार्थमा सभ्यताको आदिकालदेखि आजसम्म पीडकको पहिचान गर्नै नसकी जोतिएका छन्, पीडक चिनेकाले पनि हातमुख जोर्ने वाध्यताले ठिङ्गुरिएका छन् । सामान्य रूपले हेर्दा ईश्वर र सृष्टि सम्बन्धी धारणाको जन्म र अर्थगत विश्लेषण इतिहासको बहस मात्र लागे पनि यो वर्तमानको आलोचनात्मक हेराइ अवश्य हो भन्ने कुरामा दुई मत छैन । यसमा प्रश्रितको अन्तिम निष्कर्ष नै एउटा वर्गले अर्को वर्गलाई आफ्नो काबुमा पारेर आफ्नो स्वार्थ सिद्ध गर्ने, शोषणको प्रपन्च अनुमोदित बनाउने साधन भनेको विज्ञान विपरीत मनोकल्पित अन्धविश्वास हो भन्ने कुरामा आधारित छ ।
त्यसै गरी के वेदहरू ईश्वरवाणी हुन् ? भन्ने जिज्ञासाको जवाफमा प्रश्रित ईश्वरको अस्तित्व सिद्ध गरेर कथित ईश्वरवाणी वेदहरूका माध्यमले रजाइ“ गर्न चाहनेहरूको अवैज्ञानिक भोंदू तर्क मात्र हो भनेका छन् । ऋग्वेदकालीन जन–कबिलारूपी वैदिक आर्यहरूले तत्कालीन प्रकृति र पुराना गणनायक आदि सित धन, अन्न, पशु, दास र सुरक्षाको माग अनि पापबाट मुक्तिको कामना गरिएका बिभिन्न वेदका बिभिन्न ऋचाहरूलाई शासक बर्गले जनताको दिमाग भुट्न उपयोग गर्ने गरेका, मानवता र वर्गविरोधी साधन मात्र मानेका छन् । आजका मानव र ईश्वर भनिने (मान्य) वस्तुका बीच सोझो सम्बन्ध अशोभनीय र अविश्वसनीय हुने देखेर हुनसक्छ सेतुका रूपमा वेदहरूलाई प्रयोग गरिएको । यस तथ्यलाई वेदहरूका केही ऋचाहरूको नमूना ब्याख्या र वेदका माध्यमले ईश्वरीय अस्तित्व सिद्ध गर्न खोज्नेलाई छैटौं शताब्दीका बौद्ध दार्शनिक धर्मकीर्तिले बुद्धि भ्रष्टहरूको जडताको चिन्ह भनेको प्रसङ्गबाट लेखकले प्रमाणित गरेका छन् । यसबाट प्रश्रितको वस्तुवादी विश्लेषण र मानवशास्त्रीय अध्ययनको प्रगतिवादी अवतरण भेटिन्छ । यसै गरी अर्को सवालमा परलोक र पुनर्जन्म सम्बन्धी धारणाको जन्मका वारे पनि लेखकको तथ्यपरक, सटीक र व्यावहारिक तर्क प्रस्तुत छ । सामाजिक क्रियाकलापको क्रमस“गै वर्गभेद र दासप्रथाको प्रचलन प्रारम्भ भएपछि काम गर्ने र काम लाउने बीचमा यस धराणाले काम गरेको देखाउ“दै काम गर्ने श्रमिक वर्गलाई पाप एवम् नरकको विभिषिकामा होम्ने अनि काम ठग्ने वा लाउनेले सुखभोग गर्न तिनीहरूको शोषण गर्ने प्रवृत्ति विकासको उल्लेख छ । शासक वर्गले इच्छा नमिच्ने स्वर्ग जाने र मिच्ने जति नरक जाने कुतर्कहरू ल्याएर उपनिषद्कालदेखि हाम्रो वर्गीय समाज शासकवर्ग, पुरोहित र टाठाबाठाबाट ठगिंदै आएको पुष्ट्याइ“ प्रश्रितको छ । शासक तथा सामन्त वर्ग आज्ञाकारीले पुनर्जन्ममा स्वर्गानुभूति गर्दै मालिक भएर जन्मन पाउने र अनाज्ञाकारीले भने नरकमा झरेर अरु गोता खानु पर्ने भ्रम सिर्जना गरिंदै आएको निष्कर्ष छ लेखकको । यसलाई प्रश्रितले मानव सभ्यतामाथिको अमानवीय प्रहार ठानेका छन् । यसले हाम्रो हजारौं वर्ष अघिदेखिको मानवमूल्य र समानता प्रतिको हक क्षतविक्षत बनेको, वर्गीय खाडलको आकार बढेर आजको भौतिक उन्नतिको वैभवबाट मुठीभरको हातमा सुम्पिएको मानेका छन् ।
यसपछि भाग्यवादको जन्म कुन अवस्थामा भयो र त्यसले समाजमा कस्तो असर पार्यो ? भन्ने सवालमा प्रश्रितले पहिलो कुरो भाग्यवादी धारणाको प्रारम्भको कारण श्रमिक वर्गले पसिनाको फल आफैं खाने स्वतन्त्रताका लागि लिएको विद्रोहको अभियानलाई निस्तेज बनाउने सामन्त वर्गको एउटा उपाय हो, जसअनुसार गरिबी भनेको जन्मको फल, भाग्यको खेल, भन्ने अन्धविश्वास बसालिएको ठानेका छन् । दोस्रो कुरा यस्तो भाग्यवादले यदाकदा, शिक्षित, सभ्य र सहरीयालाई पनि आजसम्म जन्मजात कुनै न कुनै रूपले सताएको छ जसले गर्दा अर्काको श्रम शोषण गर्नेलाई यस युगमा पनि सजिलो पारेको छ । तेस्रो कुरा भाग्यवादी मानसिकताले दैवको इच्छा नै सर्वोपरी छ, बल गरेर केही हुन्न भन्ने अन्धविश्वासले मान्छेलाई अझै पनि कर्महीन बनाइ रहेको छ, यसले प्रगति–उन्नति र विवेकलाई कुण्ठित पारेको ठनाइ लेखकको छ । यस पछि चौथो कुरा विगत केही शताब्दीयता विश्वमा यस खाले सामन्ती भाग्यवादलाई पू“जीवादी उद्योगवादले नेटो कटाइसकेको कुरामा प्रश्रितको विश्वास छ । पा“चौं सन्दर्भमा भने लेखक हाम्रो जस्तो मुलुकमा अझै पनि भाग्यवादी नवीन संस्करणहरू देखा पर्दैरहेको स्वीकार्न पुगेका छन् । प्रतिक्रियावादी वर्गले बिभिन्न खाले भाग्यवादी जालहरू निरन्तर फालिरहेका छन् । यस्ता पूर्व जन्ममा आधारित, देवत्व प्राप्त भनिएका भाग्यवादी भ्रमहरूलाई जनवादी प्रगतिशील शक्तिहरूले तहसनहस पार्नुपर्ने विचार प्रश्रितले व्यक्त गरेका छन् । तथ्यमा आधारित विज्ञानसम्मत तर्कमा विश्वास लिने प्रगतिशील चेतना यथार्थमा आफ्नै क्षमता र दक्षतामा निर्भर रहन्छ । कोरा कल्पना र भावुकतामा होइन, परिवर्तनमुखी सिर्जनशीलतामा प्रतिबद्ध प्रगतिवादी जीवन पद्धतिलाई नै लेखकले सार अर्थमा औंल्याएका छन् । यसैमा हाम्रो राष्ट्रिय सर्वोपरी हित तथा समृद्ध जीवनको आधार रहेको पनि ठानेका छन् । यसबाट प्रश्रितले युगौंदेखि हामीमाथि हाम्रो दिमागमा डर, भ्रम र विश्वासका मनोगत अङ्कुशहरू लगाएर मान्छेहरूले शासन गरेका हुन् भन्ने कुराको सच्चाइ देखाइ दिएका छन् ।
यसरी लेखक प्रश्रितले उल्लिखित प्रश्नहरूको जवाफका क्रममा कुनै न कुनै ढङ्गबाट नया“ र पुराना मान्यताका बीचको दूरी विश्लेषण गरेका छन् । युगानुकूल परिवर्तित परिवेश र मानसिकतामा खडा रहेका मानवता विरोधी व्यवधानका कारक सामन्ती शासकका शासनाधार भएको ठोकुवा गरेका छन् । त्यस्तै लेखकले वस्तुवादी र मनोगतवादी चिन्तनका बीचको पार्थक्यले पनि समाज आजसम्म पीडित बनेको बुझेका छन् । जसले उच्च वर्गको महललाई छुन किन सकोस् ? त्यसले त झुपडीलाई नै हल्लाएको देखाएका छन् । आफैंमा अन्धविश्वासले जरा गाडेको त छ नै तर आज पनि समाजमा अन्धविश्वासको खेती गर्नेको कमी छैन, भाग्यवाद र कर्मवादको खुकुलो नाराले मान्छेका काम गर्ने हातहरू दुर्बल बनेका छन् । यिनै दुर्बलताको फाइदा उठाएर जीवन जिउनेहरूको इतिहास आजको होइन । हजारौं वर्ष अघिदेखि यस्तै, सके शारीरिक नसके मानसिक ताडना दिएर स्वार्थ सिद्ध गर्नेहरूको कथा जीवित र क्रियाशील छ । यस्ता र यस्तैका कथा बुनिएका तर गरिब, निम्न वर्ग र शोषितका व्यथा नहालिएका ठुलठुला शास्त्र, ग्रन्थका ठेलीले सिकाउने पाठ कहा“सम्म विश्वास योग्य, मननीय र ग्रहणीय छ ? यिनको सिङ्गो जवाफ वास्तवमा प्रश्रित हुन् । त्यसैले प्रश्रित अर्घाखा“चीको खिदिममा जन्मिएका मान्छे मात्र होइनन्, आधुनिक बुद्धको अधुनातन तपोभूमिमा नेपालीका लागि जन्मिएका प्रगतिवादी, मानवतावादको ध्वजाबाहक उच्च हिमाल छन् । सफा, स्वच्छ र अटल हिमालले मानव विकासको आदिकालदेखि आजसम्मको युगलाई जसरी दृष्टिगोचर गरेको छ त्यसरी नै प्रश्रितले मानव इतिहासको जैविक नभएर वैचारिक र वर्गीय अध्ययन गरेका छन् । त्यसबाट सामन्तवादी युगलाई चेतावनी दिएका छन्, त्यसैले प्रश्रित एक कुशल युग द्रष्टा पनि हुन् ।

महेन्द्र रत्न बहुमुखी क्याम्पस, इलाम

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 31 आसाढ, 2073

लेखकका अन्य रचनाहरु