नेपाल बाहिरको नेपाल

- कृष्ण बजगाईं

‘डन्ट टच, डन्ट डिभाइड माई कन्ट्री....’ भन्दै विदेशमा युवाहरु कुर्लेको कुरा पत्रिकाले छापे ।
‘वी लभ आवर ग्रेट कल्चर..., सय थरी वाजा एउटै ताल... भन्दै विदेशमा भएका सांस्कृतिक कार्यक्रममा नाचेको, गाएको टीभीहरुले देखाए ।
‘आमा... नेपाल आमा...मेरो माटो...’ देश सम्झेर लेखिएका प्रवासी कविता घरदेशका धेरैले पढे ।
‘यो परदेशमा हामी सबैको एउटै मात्र जात छ, त्यो नेपाली हो !’ नेपाली डायास्पोराका अगुवाहरुले मञ्चबाट कुर्लेको रेडियोले धेरै पटक फुक्यो ।
परदेशमा रहेका नेपालीहरुको एकता र राष्ट्रपे्रम नेताहरुले थाहा पाए । उनीहरुले दुःखले कमाएको धन नेताका तेस्रो नेत्रले देख्यो ।
त्यसपछि सत्तापक्षका नेताहरु सरकारी खर्चमा विदेश दौडाहमा निस्के । बाँकी राजनैतिक, क्षेत्रिय र जातिय पार्टीका नेताहरु विदेशमा भएका आआफ्ना कार्यकर्ता, समर्थक र शुभचिन्तक मार्फत विदेश पुगे । र त्यहाँ तदअनुरुपको राजनैतिक, क्षेत्रिय र जातिय पार्टीको संगठन खोल्न लगाए । पार्टी संगठन मजबुत पार्न आब्हान गर्दै पार्टीका नाममा मनग्गे चन्दा उठाएर विदेशको सयर पश्चात नेपाल फर्के ।
उनीहरुको भ्रमण पश्चात विदेशका नेपाली समाजहरु विभाजित भए । एकता टुक्रियो । गाली गलौज, खुट्टा तानातान सुरु भयो । ठ्याक्कै नेपाल जस्तै ।
आजकल नेताहरु बारम्बार भाषण गर्दछन् ‘नेपाल बाहिर थुप्रै नेपाल’ छ ।

बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 31 आसाढ, 2073

लेखकका अन्य रचनाहरु