स्वर, सङ्गीत र शब्दका शिखर : गोपाल योञ्जन

- नरेन्द्रराज प्रसाई

मेरो टोपी कैलाशको शिरजस्तो
मेरो टोपी हिमाली भीरजस्तो
कहिले पनि झुक्न नजान्ने
कहिले पनि लुक्न नमान्ने
मेरो टोपी नेपाली वीरजस्तो ।
(स्वर, सङ्गीत र शब्द : गोपाल योञ्जन)

गोपाल योञ्जन नै त्यस्ता महान् प्रतिभा हुन् जसले राष्ट्रिय गीत लेखेर, ती गीतको सङ्गीत गरेर र ती गीतहरूलाई आफ्नै स्वरले पृथ्वीको फेदीबाट २९००२ फिटको उचाइसम्म पुर्‍याएका थिए । गोपाल योञ्जनका राष्ट्रिय गीतका शब्दहरू जति परिपक्व छन्, उनका गीतका भावहरू पनि त्यति नै नेपाली माटोसँग टम्मै मिलेका छन् र उनीद्वारा सिर्जना भएका गीत जति स्तरीय छन् त्यति नै जीवन्त, शाश्वत र ओजिला पनि छन् । उनका राष्ट्रिय गीतमा राष्ट्रको एउटा सिङ्गो मुटु भेटिन्छ, नेपाल र नेपालीको स्वाभिमान भेटिन्छ र समस्त नेपाली जातिको नै एउटा बलियो स्तम्भ भेटिन्छ । विशिष्टि कोटिको गीत लेख्ने, उच्च स्तरीय गीतसङ्गीत गर्ने र त्यसरी आफ्नो स्वरलाई जनहृदय मार्फत देशदेशान्तरमा पुर्‍याउने कलाकार नै गोपाल योञ्जन एउटा थिए । त्यसैले उनी मरेर पनि यस माटोमा जिउँदा भए । वास्तवमा नेपाली भाषा, नेपाली सङ्गीत र नेपाली स्वरहरूमा गोपाल योञ्जन अमर भए; उनी नअस्ताउने तारा भए । उनी नेपाली साङ्गीतिक आकाशमा अनन्तसम्म चम्किरहनेछन् । उनले आफ्नो भौतिक चोलाचाहिँ २०५४ साल जेठ ७ गतेका दिन त्यागेका थिए ।

गोपाल योञ्जन भारतको दार्जीलिङको ओकाइटी टी एस्टेटमा जन्मेका थिए । अनि यिनको जन्म संवत् २००० सालको जनैपूणिर्माका दिन भएको थियो । डा.बुद्धिमान योञ्जन र छेकुडोल्माका एउटी छोरी प्रतिमा र एउटा छोरा गोपाल थिए । गोपाल योञ्जन १० महिनाको हुँदा उनका बुबा स्वर्गीय भएका थिए । उनी दुक्खैले लड्दै गए, बढ्दै गए र पढ्दै गए । उनीप्रति उनकी आमाको अथाह वात्सल्य गाँसिएको थियो । आफ्ना सुपुत्र गोपाललाई डाक्टर पढाउने उनकी आमाको ठूलो अभिलाषा थियो । परिणामस्वरूप गोपाल योञ्जनलाई स्थानीय सेन्ट जोसेफ कलेजमा भर्ना गरियो । तर उनी जीवविज्ञान विषय लिएर पढ्न असमर्थ भए । यस क्रममा उनले आफ्ना गुरुसँग पनि झगडा गरे । त्यसपछि उनी सरासर घरमा गएर आफ्नी आमाका खुट्टा समाएर घोप्टो परे "आमा ! मलाई मैले जानेको विषय नै पढाऊ; म कुनै हालतमा डाक्टर बन्न सक्तिनँ ।" त्सपछि गोपाल योञ्जनको विषयमा परिवर्तन आयो । त्यसै वर्षदेखि उनी दार्जीलिङको लोक मनोरञ्जनमा बाँसुरी वादकको पदमा जागीर खान थाले । त्यसपछि उनी सङ्गीतमा क्रमशः निर्लिप्त हुन लागे । उनका रचना, सङ्गीत र स्वरको शिल्पले दार्जीलिङ नै हराभरा हुन थाल्यो । दार्जीलिङका बासिन्दाहरूले गोपाल योञ्जन भनेको को रहेछ भनेर खोज्न थाले । उनको प्रतिभाका कारण सारा दार्जीलिङ उल्टेर गोपाल योञ्जनलाई स्याबासी दिन थाल्यो । त्यही प्रारम्भिक स्याबासी, घन्यवाद र बधाई खप्टिँदै जाँदा गोपाल योञ्जन भविष्यमा नेपाली साङ्गीतिक आकाशका एउटा प्रतिनिधि व्यक्तित्वमा रूपान्तरित भए । त्यसैले उनले आफ्नो सीप कञ्चनजङ्घातिर उकाल्दै हिँड्न थाले :

बनेको छ पहराले यो छाती मेरो

बगेको छ छहरामा यो रगत मेरो

पहाडमा जन्मी टाकुरामा खेल्ने

यो झुक्तै नझुक्ने नेपालको छोरो ।

(स्वर, सङ्गीत र शब्द : गोपाल योञ्जन)

हुन त गोपाल योञ्जनलाई इन्जिनियरिङ पढ्न जलपाइगुडी पनि पुर्‍याइएको थियो । तर त्यस विषयमा पनि उनको चाहना शून्य थियो । यसै बीच उनको नगेन्द्र थापासँग सङ्गत भइसकेको थियो । नगेन्द्र थापाकै प्रेरणाले उनी नेपाल पस्ने तरखरमा लागे ।

गोपाल योञ्जन आफ्नो देश खोज्दै २४ वर्षको उमेरमा नेपाल पसेका थिए । नेपाल भित्रिएको तीन वर्षबित्ता नबित्तै अर्थात् २०२७ सालमा यिनले त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा एम.ए. समुत्तीर्ण गरे । बनारसबाट यिनले भारतीय शास्त्रीय सङ्गीतमा स्नातक पनि गरेका थिए । नेपाल आएपछि चाहिँ उनको जराले नेपालकै माटो चुम्यो । उनले यहीँ बस्ने निधो गरे । उनी यहीँका नागरिक बने । उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गत प्राध्यापन पेसामा पनि संलग्न भए ।


गोपाल योञ्जन सानैदेखि मुरली बजाउँथे । किशोर अवस्थामा टेकेपछि उनी बाँसुरीमा रम्न थाले । हुँदाहुँदै उनी बाँसुरीबाट जस्तो पनि गीतको भाका फुक्न सक्थे । त्यसपछि उनी अरूअरू बाजागाजामा पनि तल्लीन भए । गोपाल योञ्जन जुनजुन बाजा छुन्थे तीती बाजामा उनी पारङ्गत हुन्थे । उनले बजाएको बाजा सबैले मन पराउँथे । गीतसङ्गीत र स्वरकै कुरा गर्ने हो भने आफू छ कक्षामा पढ्दा उनले आफैँ गीत लेखी, सङ्गीत गरी मञ्चमा उभिएर दर्शक सामु गाएका थिए ।


सङ्गीतमा गोपाल योञ्जनको आफ्नै वैयक्तिक रुचि भए तापनि उनले नानीदुलाल मुखर्जीसँग शास्त्रीय सङ्गीतको ज्ञान लिएका थिए । साथै उनले पाश्चात्य सङ्गीतको अध्ययनचाहिँ स्टयान्र्डवर्गसँग प्राप्त गरेका थिए । बाँसुरी सिक्ने अभिप्रायले यी आर्ट एकेडेमी सङ्गीत विद्यालयमा पनि पुगे । तर त्यहाँ कुशल प्रशिक्षक नभेटेपछि उनले कक्षालाई निरन्तरता दिन सकेनन् । त्यसपछि आफ्नै खुबीले यिनले साङ्गीतिक ज्ञान ग्रहण गरी धुरी चढे ।

आफ्नो कला, जाँगर र समर्पणका कारणले गोपाल योञ्जन नेपाली आधुनिक सङ्गीतजगत्का वीर बलभद्र भएर निस्के । उनको नेपालप्रतिको झुकाव, लगाव र चिन्तन एउटा अभूतपूर्व योगदान हुन पुग्यो । वास्तवमा उनी भारतमा जन्मे पनि उनका पुर्खा नेपाली थिए । त्यसैले नेपालप्रतिको भक्तिभावना गोपाल योञ्जनका नसानसामा बग्ने रगत थियो । उनले आफ्नो त्यही हृदयको झर्ना गीतिशब्द, साङ्गीतिक धून र गायनकलाबाट प्रस्तुत गरिरहे :


हो, धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई

शिर ठाडो पारी नेपाली भन्ने म नै हुँ भन्नलाई

होइन भने नेपाली नभन, वीरको छोरा नातीमा नगन ।

(स्वर, सङ्गीत र शब्द : गोपाल योञ्जन)


गोपाल योञ्जनले आफैले लेखेका गीत, सङ्गीत गरेका धून र गाएका आवाजहरूको सङ्ख्या एक हजार नाघेको देखिन्छ । गोपाल योञ्जनका गीतहरूमा राष्ट्रिय गीतचाहिँ नेपाली परिवेशमा मौलाएर नै गयो । बालगीतमा पनि यिनको प्रशस्तै योगदान भेटिन्छ । यिनका आधुनिक गीतिरचना र सङ्गीत पनि उत्कृष्टताका नमुना मानिन्छन् । खास गरी नारायणगोपालले गाएका गीतहरूमा गोपाल योञ्जनका सङ्गीत र रचना उल्लेखनीय छन् । गोपाल योञ्जनले नेपाली गीतमा अत्यधिक प्रशंसा भेटे । वास्तवमा उनले नेपाली आधुनिक सङ्गीतमा विशेष ख्याति कमाएका थिए । उनले सिन्दूर, कान्छी, बदलिँदो आकाश लगायत बाह्रवटा नेपाली चलचित्रमा उत्कृष्ट सङ्गीत प्रदान गरेका थिए । साथै उनले थुप्रै नाटक, गीतिनाटक र नृत्यनाटिकाहरूमा पनि सङ्गीत प्रदान गरे ।



गोपाल योञ्जन जनप्रिय गीतकार मात्र थिएनन्, विशिष्ट सङ्गीतकार मात्र थिएनन् र सफल गायक मात्र पनि थिएनन् । उनले सङ्गीतविषयक 'सङ्गीताञ्जलि' र 'गीतमञ्जरी' नामक दुई वटा ओजपूर्णका ग्रन्थ पनि नेपाली भाषा साहित्यका मन्दिरमा चढाएका थिए । साथै उनले 'बागीना' को पनि सम्पादन गरेका थिए ।



२०२५ सालमा गोपाल योञ्जनको विवाह कालिम्पोङकी रेन्छिनसँग भएको थियो । यिनीहरूले आफ्नो बिहेचाहिँ काठमाडौँमा गरेका थिए । यी दम्पतिबाट दुई भाइ छोरा निर्माण र अहिंसा तथा एउटी छोरी सृजना जन्मे । यिनका छोरा, छोरीहरू सङ्गीत शिक्षक, ग्राफिक डिजाइनर र सञ्चारमा आबद्ध भए ।



गोपाल योञ्जनले आफ्नो सङ्गीत रचना र स्वरमा कुशलता देखाए । वास्तवमा उनको सङ्गीत अत्यन्तै मीठो मानिन्थ्यो । उनी आफैँले रचना गरेका र उनीद्वारा सङ्गीतबद्ध भएका गीतहरू चाहिँ आनुपातिक रूपमा बढी जीवन्त रहेका पाइन्छन् :



देशले रगत मागे मलाई बलि चढाऊ

रुँदिनन् मेरी आमा ऊ नेपालकी छोरी ।

(स्वर, सङ्गीत र शब्द : गोपाल योञ्जन)



नारायणगोपालले गोपाल योञ्जनको प्रसिद्धि ईश्वरवल्लभबाट सुनेका थिए । त्यसैले नारायणगोपाल गोपाल योञ्जनलाई भेट्न दार्जीलिङ पुगे । आफ्ना मनपर्ने गायकलाई आफ्ना घरमा भेट्ता त्यतिखेर गोपाल योञ्जनको छाती नेपालजत्तिकै तन्केको थियो । त्यसपछि यिनीहरूको अटुट रूपमा मिलन भइरहृयो ।



नारायणगोपाल र गोपाल योञ्जनको मित्रताले विकसित रूप लिएको ईश्वरवल्लभले देखे । परिणामस्वरूप उनले यी दुवै गोपालसमक्ष मीत लगाउने प्रस्ताव राखे र ईश्वरवल्लभको पहलमा दार्जीलिङकै महाङ्कालमन्दिरमा गोपाल र नारायणको मितेरी गाँसियो । अनि त्यसपछि गोपाल योञ्जन आफ्ना मित्र नारायणगोपालको ढिपी र नगेन्द्र थापाको हौसलाले नेपाल आएका थिए । यस घटनाले नेपाली सङ्गीतजगत्मा अत्यन्तै ठूलो उपलब्धि हासिल भयो । एकताका जुनसुकै गीतमा गोपाल योञ्जनकै शब्द र सङ्गीत हुन्थ्यो र ती गीतहरूमा नारायणगोपालकै स्वर हुनु पर्थ्यो । त्यसपछि बीचमा नगेन्द्र थापाको उपस्थितिले नेपाली गीति आकाशमा झनै बढोत्तरी भएको थियो । त्यस बेलाका यी तीन व्यक्तित्वका रचना, सङ्गीत र स्वरले नेपाली गाउँ, बेसी, सहर, बजार हल्लाएका थिए । यी त्रिवेणीको राप, चाप र रौनकले पृथ्वीकै सेरोफेरो लाएको थियो । यिनीहरूको एकअर्काप्रति टाँस्सिएको चुम्बकीय भावनामा पनि कुनै बेला हुरी आएको थियो । नारायणगोपालको इहलीला समाप्त हुनुभन्दा केही वर्षअघिदेखि खास गरेर दुई गोपालहरूका मनमा बादल लागेको थियो । केही वर्षम्म यिनीहरू एकअर्कासँगको सर्म्पर्कबाट परपरै थिए ।

गोपाल योञ्जन चाहे समूहमा बसून् , चाहे एकान्तमा एक्लै बसून् उनी प्रतिभाले ओतप्रोत कलाकार थिए । उनको सुन्दर, शान्त र विशाल साङ्गीतिक भावनाले नेपाली राष्ट्रिय गीतहरूको भण्डारलाई अत्यन्तै समृद्ध तुल्याएको छ । नेपालभित्र नै जन्मेर, नेपालभित्र नै पौरख गरेर अनि नेपालकै नुन खाएर नेपालकै धाक लगाउने प्रायः सम्पूर्ण गीतकारलाई, सङ्गीतकारलाई र गायकलाई उनी एक्लैले आफ्नो साधनाद्वारा पछारेका थिए ।

गोपाल योञ्जनको योगदानको कदरस्वरूप उनी सुप्रबल गोरखादक्षिण बाहुबाट विभूषित भएका थिए । साथै उनले रेडियो नेपाल र शाही नेपाल चलचित्र संस्थानबाट उत्कृष्ट सङ्गीतकारको सम्मान पनि पाए । उनको सङ्गीतप्रतिको उचाइका कारण उनी छिन्नलता गीत पुरस्कारबाट पनि सम्मानित भए । उनले नेपाल तथा भारतबाट अनगिन्ती साङ्गीतिक सम्मान र पुरस्कारहरू पनि पाए । त्रिभुवन विश्वविद्यालय अर्न्तर्गत पद्मकन्या क्याम्पसले उनको शेषपछि गोपाल योञ्जन पुरस्कारको स्थापना गर्‍यो । सो पुरस्कार पाउने प्रथम गायिका निकेतिका प्रसाई थिइन् ।

गोपाल योञ्जनको साङ्गीतिक यात्रा अनन्त देखिन्छ । उनी सङ्गीतका एउटा महाविद्यालय थिए । उनी आधुनिक गीतका एउटा अब्बल दर्जाका कलाकार थिए । त्यसमा पनि उनको राष्ट्रिय भावनाका एकएक शब्दहरू, धूनहरू र स्वरहरूले नेपाली राष्ट्रियताको उत्साहलाई सगरमाथाको टुप्पामा पुर्‍याएको पाइन्छ :


नेपाली हुन पूर्व जन्मको कमाइले पुग्दैन

पूर्खाको पौरख, श्रम र आशिष मात्रले पुग्दैन

नेपाली हुन पवित्र आत्मा नेपाली चाहिन्छ

पराया मुटु दौराको फेरले छोपेर पुग्दैन ।

(स्वर, सङ्गीत र शब्द : गोपाल योञ्जन)

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 31 आसाढ, 2073

लेखकका अन्य रचनाहरु