मि – र – तु

- राजु “हिमांशु”

“बाबा, मिरतु भनेको के हो ?”
“मिरतु ? मैले बुझिनँ। तिमीले के सोधेको ?
“अघि नि तलको बढ़ाले नि रवि अङ्कलको मिरतु भयो भनेर राजेन धबासित कुरा गर्नु हुँदैथ्यो नि त । बाबा, मिरतुको माने के हो ?”
तीन वर्षीय छोरी प्रीतिको प्रश्नले अरकच्च परेको दिलीपले बल्ल बुझ्यो छोरीको प्रश्न । तल्लो गाउँको रवि लामाको हिजो देहान्त भयो । छोरीले उसैको मृत्युको बारेमा सोधेकी बल्ल उसले
बुझ्यो ।
“भन्नु न बाबा मिरतूको माने के हो ?”
“छोरी, एक दिन म सास रोकिएर बोल्दा-बोल्दै नबोल्ने हुन्छु। मृत्यु भनेको त्यस्तै-त्यस्तै हो।” दिलीपको ओठ बरबरायो ।
“ए, मिरतु भनेको त मान्छे लाटा हुनु पो रहेछ । है बाबा ?”
“सायद। ”
छोरीको अचम्मको प्रश्नको उत्तर दिएपछि दिलीप आफ्नो कार्यालयतर्फ लाग्यो छोरीलाई स्कुलसम्म पुराएर ।
बेलुकी घर फर्कँदा गाड़ी दुर्घटनामा दिलीपको पनि मृत्यु भयो ।
कात्रोले छोपिएको दिलीपको मृत शरीरको छेउमा बसेर प्रीतिले भन्दै थिई –
“ बाबा त लाटा हुनु भएछ। ”

..............

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 31 आसाढ, 2073

लेखकका अन्य रचनाहरु