प्रमिथस, ग्रिस र आगो

- वासुदेव अधिकारी

यति चिसो भुइँमा
कसरी लागेको आगो ?
के सल्केको यसरी ?
कसरी पुत्पुताएको धुवाँ ?
किन जलिरहेको यो माटो ?
किन बलिरहेका हृदय ?
केको लाभा आएर पुरेको यो अर्थतन्त्रलाई ?
के विधि चाल्नो भएको आत्मविश्वास यो भूगोलको ?
कति मुसा भेटिएका भकारीभरि ?
सुन्दर ग्रिसको नाकमा
कस्तो पोतो देखिएको
अब्बल ग्रिसेलीका नुर
किन भुइँतिर झेल्लिएको ?
हेरिरहेछु ग्रिस
छामिरहेछु ग्रिसेली हृदय

अहो ! प्रमिथसको मुलुक
आगोका कथा !
निगालाको ज्योति !
ज्योति नै ज्योतिबाट
कसरी डँडेलो लागेको यो माटोमा ?
कति पुत्पुताएको हृदय ?
कति बगेको आँसु ?
प्रिय ग्रिस !
किन लजाएका तिमी
आँसु झार्न
नर्घात बगाउन आफूलाई !
कति माया गथ्र्यौ तिमी प्रमिथसलाई
(हामी पनि गथ्र्यौँ )
कि सराप्न थाल्यौ उसलाई ?
यो आगो प्रमिथसको हो ?
यो झिल्का उसले रोपेको हो ?
साँच्चै ग्रिस,
यतिखेर तिमी जल्यौ म जलेँ
माटो जल्यो आकाश जल्यो
र भागे हृदयका प्रमिथस

यति पुरानो घर
यति समृद्ध मन
सबै बिथोलिएको छ
सर्वत्र सल्किएको छ आगो
कण कण माटो जल्नु
मनका असङ्ख्य हिँग्स पार्टिकल भष्म हुनु
बेरोजगारहरु भाले मौरी झैँ भुनभुनाउनु
प्रमिथस भाग्नु
हृदय प्वाल पर्नु
कसरी चित्त बुझाउँछौ तिमी ?
तातो मात्र पुग्नु पर्ने मनमा
झर्झराउँदो आगो बास बस्नु
आगाले हृदय खाक हुनु
कलेजो भष्म हुनु

सुन ग्रिस, सुन ग्रिसेली !
आफैँ दुःखी म
तिम्रो दुःखले अरु पग्लिएको छु
डढाएको छु आफूलाई तिम्रो हृदयको आगोले

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 24 आसाढ, 2073

लेखकका अन्य रचनाहरु