ऐठन

- पुण्य खरेल

गाडी, साइकल र मोटरसाइकलको आवाजले निद्रा बिगारेको होइन । यो कुनै ‘स्टार’ या ‘जीटिभि’हरूको रङ्गीन सुमधूर गुन्जनले निद्रादेवीको काख खोसेर कान्छी पसेको पनि होइन । मन्त्री हुने नामावलीमा नाम पसेर फेरि पार्टी नेताको कलमको खाँडो कटाइमा परेर निन्द्रा बेदखली भएको पनि होइन । होइन ! ... ताकबहादुरको निन्द्रा हराम हुनुको कारण तपाईंहरूले अड्कलेको कुनै कारण होइन । अस्ति मन्त्री भएका बखत ‘डलर आउने जागिर’ खोज्ने सुन्तलाकेस्रेलाई जागिर दिन झुलाएर उनको डेरा खोज्दै चिल्लो कार दौडाउँदा त्यो डेरासँगैसँगै निद्रा गायब भए जस्तो गायब भएको पनि होइन । आज त ताकबहादुरजीको निद्रा गायब मात्र होइन उनको होस हवास गायब हुन आँटेको छ । अनौठो छ आजको उनको अवस्था । आज उनले जुन ‘अति मात्रा’ पान गरेका छन् त्यसको दर्जा समेत अस्तिको जस्तो होइन । जिब्रोलाई मन नपरी नपरी, नाकलाई र घाँटीलाई मन नपरी नपरी निद्राको लोभमा उनले यहाँ पाइनेकै मात्रा चाहिँ गरुङ्ग्याएकै हुन् । त्यसैले आँखा चिम्लिसक्ता सपना त देख्न थाल्छन् तर सपनाका रिलहरूका पहिलो दोस्रो दृश्यले नै उनको शरीर अर¥याई हाल्छ, “अँ ऽ अँ ऽऽ ....अँऽ ऽ ऽ...” पारेर सास थुनिहाल्छ अनि पसिनै पसिनामा मुछिएर ब्युँझिन्छन् । घरि सँगै सुतेकी श्रीमतीले गाली गर्दै ब्यूँझाउँछिन् । दोहोरिइ रहेछन् यी अप्ठ्यारा सपनाहरू र दोहोरिइ रहेछन् श्रीमतीका गाली गराइहरू ।
“अँ ऽ अँ ऽऽ ....अँऽ ऽ ऽ...” ताकबहादुर फेरि सास थुनिए जस्तो भएर कराए । झक्झक्याउँदै श्रीमतीजीले भनिन्– “मन्त्रीज्यू ! ... मन्त्रीज्यू ! ... आ ऽ तात्तो न छारो ! एक वर्षसम्मन् पनि मन्त्री हुनपाएको होइन ! के ऐठन भै राख्या होला ! केही त गर्न सक्या होइन ! ... के भयो हजुरलाई ? जापानमा बम खसाल्ने त्यो अमेरिकनले पो लाखौं लाख मान्छे मा¥यो अरे र निदाउँदै ननिदाई म¥यो ! तपाईंले के ग¥या छ र ? ... के भयो हजुरलाई ?”
“कस्तो सपना पनि ! ... थुक्क ! स्साला आफ्नै साथीभाइहरू ! आफ्नै क्षेत्रका त्यस्ता नरम जनता ! ... स्साला ! आफ्नै नातेदारहरू ! थुक्क !” ताकबहादुर बर्बरायो ।
श्रीमतीजीले सोधिन्– “के गरे साथीभाइले ?... जनताले ? ... नातेदारले ? के गरे ? आनन्दसँग सुत्न छाडेर !”
“भयो ! कचकच नगर ! सुत्न देऊ !” ऊ जङ्गियो ।
“पिस्तोल सिरानमा राखेर सुत्नुहोस् ! आफ्नै हातले पिस्तोल थपक्क सिरानमा राखेर सुत्नुहोस् त ! अनि ऐठन हुँदैन !” श्रीमतीजीले भनिन् ।
भर्खरै मन्त्रीबाट खुस्केको ताकबहादुरले पिएलाई बोलाईकन पिस्तोलको खोजमेल गरीकन सिरानमा राखेर सुत्यो । पिए पनि छक्क प¥यो । अस्ति मन्त्री छइन्जेल त सारै बहादुर ठानेको थियो उसले ताकबहादुरलाई । अहिले भने सारै काँतर भएको थाहा पायो ।
पिस्तोल सिरानमा हालेर सुतेको ‘मन्त्रीजी’लाई श्रीमतीजीले सिरकले राम्ररी ढाकिदिइन् । मङ्सिरको जाडो । हुन त ‘मन्त्रीजी’ले धोकेको अतिमात्राले जाडोलाई छुनै दिने थिएन । तैपनि सिरकले ढाकेर थुम्थुम्याइन् । दस पन्ध्र मिनेट मात्र बितेको थियो होला, फेरि ‘मन्त्रीजी’ अररिए । टीटानसको रोगी झैं, धनु तन्किए झैं तन्किए । फेरि कराए– “अँ ऽ अँ ऽऽ ....अँऽ ऽ ऽ...” श्रीमतीजीले झक्झक्याएर उठाइन् । मुख उघारिदिइन् र सोधिन्– “के भयो ? के देख्नुभयो सपना ?”
साँझको अतिमात्राले जिब्रोलाई धेरै बाक्लो पारेको थियो । टाउको धेरै बोझिलो पारेको थियो । तैपनि उठेर बसे ‘मन्त्रीजी’ । आँखा खोल्न कोसिस गरे । बोले– “ठ्याक्कै सुत्न दिएनन् बज्याहरूले ! मेरो गाडी त्यो चोकमा पुगेको र’छ, कतै बढ्न पाएन ! राख्न पनि त्यो चोकको नाम ‘सहिद चोक’ भनेर हामीले नै राखेको ! गाडी त्यस चोकबाट बाहिर उम्किनै पाएन ! राम, लक्ष्मण, राम थापा, लक्ष्मी पाण्डे, चन्द्र डाँगी, बीरेन राजवन्शीहरू मात्रै थिए पहिला त ! भरे भरे त सुखानी नै उल्टियो, वखलढुङ्गा, खोकु छिन्ताङ र पिस्कर नै उल्टियो ... के के भो ! के के भो ! मेरो गाडीको पछाडि फलामको साङ्लोले अल्झाएर त्यो चोकका खाँबामा बाँधि दिए ! गाडी कुद्छ तर त्यही चोकका वरिपरि घुम्छ मात्र ! मलाई दागा धरे जस्तै गर्छन् तिनीहरू !” ताकबहादुर खुब बर्बरायो । उसले गाडी छुटाउन कोसिस गरेको कुरा सुनायो ।
“सुत्नू ! सुत्नू ! बेकार यी के र के मनमा कुरा खेलाएर ! जिल्लामा आईकन त झन् सारो पो भयो । काठमाडौंमा त बरु यति सारो थिएन । यहाँ त झन् झन् सुत्नै पो बन्द भयो !” श्रीमतीजीले गन्गन् गरिन् । ताकबहादुरलाई फेरि सुताइयो । सिरकले छोपछाप गरियो । श्रीमतीजी बत्ती ननिभाई बसिरहिन् । अलिअलि ‘घुर्घुर्’ गरे झैं, निदाए झैं ठानिन् मन्त्रीजी र अलिक हलुको बोध गरिन् तर फेरि ताकबहादुर तनक्क तन्किए । हातखुट्टा अररो पारे । फेरि “अँ ऽ अँ ऽऽ ....अँऽ ऽ ऽ...” गरे । श्रीमतीजीले कराउँदै झक्झक्याएर उठाइन् । अर्कै कोठातिर सुतेका पिएलाई पनि बोलाईन् । ताकबहादुर उठे । श्रीमतीजीले सोधिन्– “के भयो ? के सपना देख्नुभयो नि अहिले चाहिँ ?”
तकबहादुर बोले– “मारे तताहरूले ! तताहरू ! बाफरे बाफ ! सब कपालै नकोरी, श्रृङ्गारै नगरी, लुगाको डोरोसम्म नलगाईकन ! सब नाङगै, सर्बाङ्ग नाङ्गै ! मारे ! घेरेको घेरै गरे !”
श्रीमतीजीले सोधिन्– “के हो ? को हो तताहरू भनेको ? तता भनेको त नेवारी भाषामा त दिदीकी के अरे !”
ताकबहादुरले भने– “त्यही त भन्या ! सब तताहरू ! गीता, सीता, रीता, सरीता, नमिता, नीता, सान्ता .... सब तताहरू ! केको रिस उठेको तिनलाई ? के मेले तिनलाई सित्तै हो र ? बाफ रे ! सब नाङ्गै पो त अमृता ! सब नाङ्गै ! सर्वाङ्ग नाङ्गै ! मलाई नङ्ग्य्राउने, चिथोर्ने गरे !” हातहरू हेरे उनले । सिरकबाट खुट्टा निकालेर नङ्ग्य्राएको दाग छ कि हातखुट्टामा झैं गरेर उनले हातखुट्टा हेरे ।
श्रीमतीजीको मुड अलिकति बद्लियो । सोधिन्– “के हो ‘सित्तै हो र ?’ भनेको ? ‘सित्तै हो र !’ भनेको के हो ? राजगद्दी भेट्टाएका बेलामा पार्टी र सार्टीले कुनै रात छाडेन । बेलुकैपिच्छे नयाँ नयाँ तताहरू देखिन्थे । तिमीले मलाई माटामुनि पारेको साजयँ त बेहोर्नु पर्छ ! धुर्रेओ राँडी हो ! बोक्सीजस्ता भएर कलीयुगी कृष्णलाई चिथोर ! चुस्न पाइन्जेल चुस ! रस आउन छोडेपछि अनि मेरो जिम्मा ! बेस्सेहरू ! आइमाई भएर आइमाईको सम्मान गर्न नजानेकाहरू ! मलाई आँखा बल्ढ्याङ्ग्रा जत्रा पारेर हेर्थे ! आफ्नो मोल आफैं गर्न नसकेर कौडीमा फ्याँकिएकाहरू ! अब यस खोइलालाई चुस !”
“अमृता !” ताकबहादुर फकाउने सुरमा बोले– “किन रिसाएकी अमृता ! नरिसाउन त्यस्सै ! म आफूले चाहेर त्यो सब भएकै होइन । ऋषि तपस्वीको तपस्या भङ्ग गराउन स्वर्गका अप्सराहरू आएको त थाहा छ नि तिमीलाई ! अमृता ! अँ म तिमीलाई ‘अम्री !’ भन्छु ल ! ‘ता’ नभन्ने ! ती सबै तताहरूको ‘ता’ सँगै आए जस्तै भयो मलाई ! मलाई तिमीमा ती सबको गन्ध आएको मन पर्दैन ! मेरी अम्री नरिसाउन !”
श्रीमतीजीलाई अझ साँप्रोमाथि पिँडो थपेको जस्तो भयो । उनको रिसको आगोमा मटितेल हालिदिए जस्तै भयो– “ती बेस्येहरूको कुरा मसँग नगर ! तिनीहरूको छायाँसम्म देख्ने बितिकै सुम्सुम्याउन जाने तिमी ! तिमीजस्ता लम्पट यस मुलुकको मन्त्री हुनु, यो देशकै ...”
ताकबहादुरले कुरा काटे– “के देशकै ? ... देशकै के ? म त आठाना, आठाना के अरुका लेखि चाराना मात्रै हुँ । अरुको थाहा पायौ भने तिमी ? “साधु होइसिँदो र’छ” भन्छ्यौ बुझ्यौ ! यो देश राणाहरूको बिरासत हो । यो शासन व्यवस्था राणाहरूको बिरासत हो । कसले के व्रmान्ति गरे यो देशमा ? व्रmान्ति त भाषणको कुरा हो । दिउँसो मन्चमा हुने कुरा हो । साँच्चो कुरा ? साँच्चो कुरा यही हो !” ताकबहादुरले अति मात्राका केही फुल्काहरू खोल्यो । सास फे¥यो । तर उसलाई अलिअलि भएको चेतनाले भन्यो पिएलाई सुत्न पठाउनु पर्छ । त्यसैले पिएलाई भन्यो– “ए चैतन्य ! जाऊ सुत ! अम्री पनि सुत ! बेकार निद्रा बिगारेर ! मलाई किन उठाएको ? ... ए ! मलाई किन उठाएको ? ... अलिकति थपुँ होला ! ... यो जाडामा केही पनि हुन्न क्या !”
श्रीमतीजीले चैतन्यलाई एक छिन पर्खाइन् र ‘मन्त्रीजी’लाई भनिन्– “सुत्नू तपाईं ! तपाईं निदाउनुभयो भने अनि चैतन्य पनि जान्छन् । तपाईंको निद्रा अप्ठेरो भएर बोलाएको !”
ताकबहादुर बोले– “ए ! म निदाएपछि अनि ... तिमीहरूको केही छ !”
श्रीमतीजीले रिसाएर भनिन्– “के अरे मत्तु ? मातेको छु भन्दैमा जे पायो त्यही बोल्न ? तिमीजस्तै पशुहरूमात्रै छन् दुनियाँमा ? सज्जन हुँदैनन् झैं गर्छौ ? ... कुहिएका आँखा ! कुहिएको टाउको !”
ताकबहादुरले सिरानी उठाएर पिस्तोलको निरीक्षण गरे र त्यसलाई मिलाएर राखे । पिस्तोलमाथि डसनाको माथि तन्ना मिलाए र त्यसमाथि सिरानी मिलाएर राखे । अनि हल्लिँदै झुल्लिँदै सुते र सिरकले मुख छोपे । चैतन्य चुपचाप बसिरहे । श्रीमतीजी पनि नसुतीकन बसिरहिन् । लगभग पन्ध्र मिनट बित्न पाएकै थिएन, मन्त्रीजीका हातखुट्टा सोझिएको, तनक्क तन्काएको कुरा सिरक बाहिरैबाट देखियो– “अँ ऽ ... अँ ऽऽ ...अँ ऽऽऽ” श्रीमतीजीले तत्कालै झक्झक्याइ हालिन् । ताकबहादुर उठे । अति मात्राको प्रभाव कम हुँदै गएको थियो । उनले आफूलाई सिरकमा लपेटेर बसाए । आँखा मिचे । पिएलाई हेरे । श्रीमतीजीलाई हेरे । अलिक लज्जित ठाने आफूलाई । तथापि उनले अहिलेको सपना पनि गुप्त राख्न सकेनन्– “गाउँ घुम्न निस्केको रहेंछु, ती गाउँका बेरोजगार तन्नेरी जति त ढुङ्गामुढा पो गर्ने ! बाफ रे ! पार्टी सार्टी कहाँ हरायो हरायो ! म एकलो परेँ । स्कुले मास्टर, बिद्यार्थी, गाउँले, किसान, मजदुर, जुन देख्यो त्यही ढुङ्गो टिप्तैछ, लठ्ठी उजाउँदै छ ... मण्डले मन्त्रीलाई हामीले त्यति गर्न सक्या होइन ! सासै थुन्ने ! भाग्ने बाटो कतै होइन ! झ्वाप्पै छोपे बा !”
श्रीमतीजीले अति दिक्क मानिन्– “होइन के भएको यस्तो ? हामीलाई थाहै नदीकन निकै ठुलठुला अपराध ग¥या छ कि क्या हो ? नत्र भने यस्तो अचाक्ली त हुने थिएन ! यहाँ केको डर छ ? दिउँसो त्यति राम्ररी भाषण ग¥या मान्छे ! भाषणमा पहिला जस्तो त के भन्नु र ! मान्छेहरू त्यति आएनन् नै भनौं, मान्छेहरू त्यति खुसी नि भएनन् नै भनौं ! तर बिग्रेको के छ र ? त्यसमाथि त्यो काठमाडौंमा भ’को कुरा यहाँ कसैलाई थाहा पनि छैन । त्यत्रो महासागरमा हामीले सुटुक्क पास गरेको कुरा कसलाई थाहा ? ... फेरि कि हामीलाई पनि थाहा नदीकन केही गम्भीर अपराध ग¥या छ कि ?”
ताकबहादुर बोले– “केही ग¥या छैन अम्री ! केही पनि ग¥या छैन । कथं यस्तै बेलामा म मरिहालेँ भने पनि तिमी सुनीराख र ढुक्क होऊ ! मैले तिमीलाई थाहा नदीकन केही अपराध गरेको छैन । त्यो अलिकति जनताको हक अधिकारको कुरामा चुप लाग्ने कबुल गरेँ ! त्यो अलिकति हाम्रो पहिलाको भनाइ र अडान वारे चुपलाग्ने कबुल गरेँ ! ... जेसुकै होस् मैले आफूलाई सम्पत्तिशाली बनाउने कबुल गरेँ ! राजनीति सबैले गरे र मैले पनि साँच्चै अलिकति राजनीति गरेँ ! ...”
पिए सुनिरहेको थियो । पिए आफैं पनि ताकबहादुर यति पतित भएको होला भन्ने कुरामा विश्वस्त थिएन । उसको पार्टीले ताकबहादुरलाई यसरी राष्ट्रको बालीनाली सखाप पार्न र आफ्नो पार्टी नै सखाप पार्न पस्यौटो खुकुलो पारिदिएको होला भन्ने पनि ठानेको थिएन । पार्टीको दाम्लो नै मक्किसकेको अनुमान पनि उसलाई भएकै थिएन । ताकबहादुरको यो बहुलठ्ठीपन हेर्दै पिएले व्रmमशः निधो ग¥यो, तथा निधो गर्दै गयो, ऊ यही क्षणदेखि यस कुहिएको सिनुलाई आफ्नो काँधबाट भुइँमा फ्याँक्ने छ । उसले एक छिन गौर गरेर सोच्यो । उठेर बाहिर निस्कियो । एकै छिनपछि निधार खुम्च्याएर सोच्तै एउटा दृढ निश्चयका साथ उसले मुख फो¥यो– “मन्त्रीज्यू ! मैले त यो पाँच सात महिनाको उलटफेर बुझेकै रहेन छु । आज थोरथोरै बुझेँ । यसकारण अब मैले यहाँ रहिरहनु ठिक छैन !” ‘श्रीमतीजी’लाई भन्यो– “हजुर ! अब मेरो केही काम छैन । म बिदा माग्छु !” रातको त्यो अन्धकार बिचमै पिएले ‘श्रीमतीजी’लाई, मन्त्रीलाई नमस्ते ग¥यो ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 24 आसाढ, 2073

लेखकका अन्य रचनाहरु