ड्र्राइभरको सिटबाट

- नम्रता गुरागाईं

ए छिटो जा.. नै... निदाइसकी क्या हो...? भन्दै अगाडिको सियानालाइ आंखा ठुला पारिदिएं मैले । लुकिंग ग्लासबाट बाहिर हेरेको मात्र थिएं, होण्डाले पछाडिबाट आंखा तर्दैरहेछ । के गर्छस त बा..., तेरा लागि मैले उडन भएन भन्दै मैलेपनि आंखाको जवाफ आंखैले दिएं । बाहिर निस्केर पाखुरा सुर्कनु पर्ने भए पो त्यसको जिउडाल विचार गर्नु गाडीभित्रबाट गाली गर्नलाइ के भो र । ए रातै...ड्र्राइभरको सिटमा बसेपछि स्यालपनि बाघ नै हुनुपर्ने ? कस्तो होला यो सिट ? अगाडिको गाडी नगएसम्म पछाडिकाले केही नाप्न सकिदैन तरपनि सबैले नापुंलाझै गर्नैपर्ने...?
अगाडि जान केही चानस पर्लाकि भनेर आंखालाइ पल्लो लेनमा लगें । उता फोर्डले म्याराथुनमै भाग लिएजस्तो रहेछ । फोर्डका पछाडि क्याम्री, कोरोला, कुपर ज्यान फालेर आएकाले र लेन चेन्ज गर्नलाइ आंट आएन । उनिहरु तुफानले हुइकिएको देख्दा घुटुक्क थुक निल्दै आफनो पालो पर्खेर बिस्तारैं जानु बाहेक केही थिएन मेरो । सियानाको स्पीड लिमिटभन्दा तलको हिडाइले मलाइ मात्र नभएर ...म पछाडि बस्ने सबैलाइ रिस उठीसकेको छ तरपनि लेन चेन्ज गर्न उपयुक्त समय नहुन्जेलसम्म उसकै सारमा सबैलाइ हिडन करै लागिरहयो । बल्ल बल्ल अर्को लेनमा गाडीहरु पातलो भएकाले होण्डाले ओभरटेक गर्यो । ल ..ल.. जा अर्को स्टप लाइटमा भेटौंला भन्दै पालो पर्खेर बसें म । नभन्दै केहीबेरमा पल्लो लेनका गाडी पातलिए र मैलपनि स्पीड बढाएं ।
शहरबाट गाउं र गांउबाट शहर हुदै ६० माइलको बाटो डेढघण्टा खर्च गरेर काममा पुग्नु र फर्कनु अचेल मेरो दैनिकी भएको छ । शहरमा बाक्लै भएका गाडीहरु गाउं पुग्दा पातलिन्छन । कहिले आफुमात्र हुन्छु बाटाभरी भने कहिले नराम्ररी जाममा पर्छु । धेरै बेर टाढा हिडनु पर्दा गएका हरेक मिनेटहरु साह्रै महत्वपुर्ण हुंदारहेछन । काममा पुग्नलाइ सबैभन्दा छोटो बाटो हाइवे ४०१ भएकोले मैले त्यही बाटो रोजें जान आउनलाइ । एउटामात्र लेन भएको बाटो भएकोले धेरैजसो आफू अगाडि ठुला गाडी भेटिन्छन । पसलका सामान बोक्ने ट्र्रकलाइपनि त्यहि बेला हिडनु पर्ने, खेत जोत्ने ट्र्याक्टरलाइपनि त्यहि बेलै हिडनु पर्ने । तिनिहरु दांयाबांया नलागुन्जेल पंचमीमा पाइला गनेजत्तिकै हुन्छ । बेलाबेला त साह्रै झोंक चल्छ तर बाटो सबैको साझा हो उनिहरुले हिडन नपाउने कुरै छैन । बाटामा ५ मिनेट ढिलो हुंदा समयमा काममा पुग्न सकिदैन । कति दिन ट्राफिकले गर्दा ढिलो भयो भन्ने साह्रै गाह्रो हुंदोरहेछ तरपनि भन्न कर लाग्छ । हाकिमपनि ४५ मिनेट खर्चेर आउने भएकोले उसले बुझेको छ बाटाको समस्या तर सबैले बुझेको हुदैन । मनमा कुरा खेलाउदै खुल्ला बाटो पाएसम्म छिटो जान कोशिस गर्छु ।
गाउंमै जन्मेर हुर्केर होला शहरबाट गाउं पस्दा निकै रमाइलो लाग्छ । बाटोको दांयां बांया मौसमअनुसारको खेती भेटिन्छन । कतै सुर्ती त कतै कपास, कतै मकै त कतै भटमास खेती देखिन्छन । ती सबै बालीहरु फस्टाएका देखिन्छन गाडीबाट । नजिक गएर छाम्ने रहरलाइ बांधेर मनभित्रै राख्नुपर्छ बाटामा हिंडदा । बिना सुचना केही गर्न पाइदैन । परबाट सधैं सप्रिएको बाली देख्दा किसानहरु कहिल्यै फेल हुदैनन जस्तो लाग्छ । आकाशबाट समयमा पानी नपर्दा ब्याडको बिउ डढेर फेल भएका किसान, खेतीको सिजनमा मल बिउको भाउ बढेर किन्न नसक्ता फेल भएका किसान, त्यति गरेरपनि केही गरी लगाएको बाली सप्रेर राम्रो भइहालेछ भने बेच्ने बेलामा भाउ घटेर फेल भएका किसानहरु देखिरहेका आंखाले सधैं सप्रिएका किसान देख्दा अचम्म लागेर आउंछ । जिम्मेवार ओहोदामा बस्नेहरु दुरदर्शी भए भने किसानलेपनि सुख पाउंछन कि ? बाटामा गाडी पातलिएका बेला मनमा कुरा खेल्छन ।
सबै आ–आफनै शुरमा हिंडिराखेकोबेला पर पुलिसको लाइट बलेको देखियो । ला... आज कस्लाइ खाजा खायो पुलिसले भन्दै पर हेरेका आंखालाइ हत्त न पत्त आफनो स्पीडमा ल्याएर ठोक्काए । धन्न धेरै कटेको रहेनछ । पुलिसलाइ देखेपछि अरुलेपनि गाडीको कान निमोठेर लिमिटमा आए । नजिकै पुग्दा डजलाइ पुलिसले सोधपुछ गरिराखेको रहेछ । त्यस्तो ठुलो विग्रेको भत्केको केही नदेखिएकोले सायद डजले स्पिडिंगमै टिकट पाएको होला भन्ने लाग्यो । अघि ओभरटेक गरेर जाने होण्डा फेरी भेटियो । मनमनै अघि बुर्कुसी मार्याथिस नी... धन्न पुलिसको फेला परिनस भन्दै बिस्तारो मपनि अघि लागें । अलि पर पुगेपछि मान्छे न हो सबै पछि हेर्दै अघि कुददै ।
बाटोमा बिभिन्न थरीका गाडी भेटिरहन्छन । आफनै सारमा हिंडिरहेका बेला कहिलेकाहीं दांया वांया मोडिने गाडीले सिग्नल नदिंदा अचानक ब्रेक लाउनु पर्ने हुन्छ । बल्लबल्ल अगाडिको गाडीलाइ जोगाउंदा थुक्क भाते तंलाइ जानु थियो भने अघि नै किन भनिनस भन्दै गाली पनि गर्छु । कसैकसैले त हर्न बजाएर त्यसको सातो खाइदिन्छन । लामो बाटोमा दैनिक हिडदा धेरै कुराहरु सिकेंपनि मैले । अगाडि पछाडि दांयांवांया सबैतिर विचार गर्न बानी पर्दै गएं तर जति नै सिकेपनि अगाडि पछाडिका गाडीहरु कसरी हिडिराखेका छन त्यसमा धेरै कुरा भर
पर्नेरहेछ ।
वेक काउन्टी काटेर हार्नेंट काउन्टीमा जांदै गर्दा फेरी पुलिसको बत्ति बलेको देखियो । बत्ती देखेपछि सबै होसियार भइहाल्यौं । दुर्घटना भएको रहेछ । एम्बुलेन्स सातै खाने गरी साइरन बजाउंदै आयो । खुटटा थर्र कामे । कसलाइ आज दशा लाग्यो नि यति बिहानै भन्दै आइ पर्ने नराम्रा कुराहरुले मनमा घर जमाइहाले । सबै गाडीहरु रोकेर पुलिस अफिसरहरु किया र क्राइस्लर भित्रका मान्छेहरुको उदार काममा जुटेका रहेछन । धन्न यि दुइ मध्ये एक हुन परेन... फेरी एकपल्ट खुटटासंगै शरिरपनि काम्यो । अलि धेरै नै पछाडि भएकीले कत्रो चोट लाग्यो देखिन तर एम्बुलेन्स र पुलिसका गाडीहरु धैरै देख्दा ठुलै दुर्घटना भएको अनुमान गरें । हामीलाइ रोकेर उनिहरु सकेसम्म ति विरामीलाइ चांडोभन्दा चांडो अस्पताल लान चाहन्थे । सबै रोकिएकाले लगेपनि । विरामी लगिसकेपछि हामीलाइ बिस्तारै पास हुन दिए । दुर्घटना भएको ठाउंमा रगतका टाटाहरु आलै रहेछन । त्यो देखेर शरिर त्यसै फुलेझैं भयो, मन धेरै डरायो । मैलेजस्तै छिटै घर फर्कनका लागि छोराछोरी नउठी तिनिहरुपनि काममा हिडेका थिए कि..? अथवा परिवारका सबै कतै घुम्न पो निस्किएका थिए कि ...? के भएर त्यस्तो ठुलो दुर्घटनामा परे होलान यति बिहानै भन्दै मनमा कुरा खेल्न थाले । एक मनले निकै भाबुक बनायो । म किन छोराछोरी र उनिहरुका बासंग एक शब्दपनि बोल्न नपाइ हिन्छु सधैं ? केही भयो भने त सकिहाल्यो नि, के जागीर नै सबैभन्दा ठुलो हो र ? एक मनले भन्यो । अर्को मनले सबैकुरा आफनो ठाउंमा ठुलै हुन्छ, तेरालागि परिवार ठुलो हो तर तैले काम गरेको कम्पनीको लागि तेरो काम ठुलो हो, नत्र तंलाइ किन उसले तलब दिन्छ...? हिंडदा बिचार गर् झयाउरी...पछि पछुताएर केही हुदैन, तैंले जीवनभरी बांच्नु पर्छ, ५ मिनेट ढिलो भएरपनि केही हुदैन, ५ मिनेट छिटो भएरपनि केही हुदैन, जीवनको तलमाथि ५ सेकेण्डभित्र हुन सक्छ, विचार गरेर हिड्, हाब्रो बाएरमात्र हुन्छ ? भन्दै झपार्योै । उसले झपारेपछि मपनि ठीक ठाउंमा आएं र बिस्तारै अघि लागें ।

आफनै सारमा गैराखेको बेला स्कूल जोन र पहेंलो छाना भएको स्कूल बस भेटिए । स्कूलको २, ३ किमी वरीपरीको भागलाइ स्कूल जोन भन्दारहेछन जहां स्पीड लिमिट ३५ पर आवर माइल मात्र हुन्छ । स्पीड लिमिट देखेपछि सबैले स्पीड घटाएर हिडयौं । केही समयपछि स्कूल जोन त कटयो तर आफू अगाडि स्कूल बस भएकोले उसलाइ ओभरटेक गर्न मिलेन । स्कूल बसलाइ ओभरटेक गर्नु भनेको जरिवाना चिलाउनु भएकोले उ दांयावांया नलागुन्जेल काममा जानेलाइ ठुलो चिन्ता हुने रहेछ । सबैकुरा आफनो स्थानमा उत्तिकै महत्वपुणं हुन्छन । स्कूल बसलाइ नानीहरु स्कूलमा सकुसल पुरयाउनु महत्वपुर्ण कुरा हुन्छ भने काममा जानेलाइ काममा समयमा पुग्नु महत्वपुर्ण कुरा हुन्छ तर अगाडि स्कूल बस भेटिएपछि जति नै छिटो जानेलेपनि उसको सारमा नहिडि नहुने भएकोले हामी सबै गाइको बाछो आमासंग पछि लागेजस्तै स्कूल बसका पछिपछि लाग्यौ । उ हिंडे हिडयो, उ बिद्यार्थि चढाउन रोकिए रोकियो । नियम नाघेर जान कसलाइ ५०० डलर चिलाएको छ र । बेलाबेला सोच्छु– कानुन बनाउनु भन्दा कानुन पालना गर्नु चाहि ठुलो कुरा रहेछ । कानुन मिच्नेले आंखा अगाडि सजाय पाएपछि सबैलाइ मान्न कर लाग्नेरहेछ ।
बाटोमा गइरहंदा लिलिङटन आइपुगेछ । त्यहां पुग्दा सधैं इतिहांसमा पढेको गोरखाको लिगिलिगकोटको याद आउछ । संझनाको इतिहांसलाइ पल्टाउंदा राजा हुनलागि लिगलिगकोटमा धेरैले धेरैपटक दौडेको थिए तर द्रब्यशाहले मात्र दौडमा जितेर राजा भएको थिए रे । इतिहासमा पढेको कुरालाइ ऐले मैले हिडने बाटोमा भेटिएको लिलिङटनले मलाइ संझाइरहन्छ । केपफेयर रिभर कटने वित्तिकै आएको सानो बजार लिलिङटन रहेछ । केप फेयर बिहान सधैं गांजा लागेर बसेकोजस्तो देखिन्छ लिलिङटन को छेउमा । रुखका ठुटा जोडेर पारेको धुनी र त्यसले बनाएको कुहिरीमण्डलझै लाग्छ लिलिङटन वरिपरीको आकाश । आंखाले १० फिटभन्दा अगाडि देख्न हम्मेहम्मे पर्छ । खोलाबाट पानीको बाफ आकाशतिर जांदै गर्दा बनाएको अध्यारो पनले आजपनि सबैलाइ सचेत हुन कर लायो । हरेक गाडीहरुले हतार हतार तातोपनलाइ बढाएर अगाडिको सिसा सफा गरे । मैलेपनि गाडीको सिसा पुछें । बजार आएपछि बिस्तारै कुहिरो हराएकोले थोरै मात्र भएपनि आंखालाइ सजिलो भयो ।

हरेक साना बजार कटने वित्तिकै बाटाको छेउमा अर्को बजार अथवा शहर पुग्न लाग्ने समय लेखिदिंदा बाटामा हिडने यात्रीलाइ धेरै सजिलो हुने रहेछ । बाटाको छेउमा सुचनाबाहेक अरु केही पनि नभेटिने भएकोले हिडने मान्छेलाइपनि कतिखेर आफनो गन्तब्यमा पुगिन्छ भन्ने ध्याउन्न नै धेरै हुंदोरहेछ । लिलिङटनको सानो बजार कटेपछि छेउमा अझै मैले २७ माइल जानु पर्ने देखायो । घरी घडी, घरी आफनो गती र घरी बाटोको गती हेर्दै म तलतिर लाग्छु । घुम्तीमा भेट भएका साथीजस्ता लाग्छन गाडीहरु । अघि संगै हिडेका मुस्किलले एउटा दुइटा भेटिन्छन । जो जहां भटिन्छन तिनिहरुलाइ नै साथी बनाउदै हिडन अभ्यस्त म अनौठो मान्दिन अचेल ।
काममा जांदै गर्दा दुइटा नयां सुचना भेटिए । एउटा बाटो मरमत गर्दै गरेको र अर्को बिजुलीको पोल मरमत गर्दै गरेको । स्पीड घटाउनु पर्ने रे । २ माइल अगाडि नै सुचना पाएकोले यात्रुहरु सबै सचेत हुदै गयौं । नभन्दै मरमत गर्ने ठाउंमा एउटा लेन बन्द भएकोले कामदारहरु गाडीहरु रोकेर पालैपालो सबैलाइ पठाइरहेको रहेछन । एकछिन पर्खदा घडीको सुइले चाहिं बुर्कुसी मारिहाल्ने भएकोले अलि प्रेसर बढेजस्तो हुन्छ तर उपाय नभएपछि पर्खिन कर नै लाग्छ सबैलाइ । केही समय पर्खिएपछि अगाडि जाने पालो आयो ।
अब त शहरको निकै नजिक आइसकेंछु । स्कूुल जोन, स्कूुल बस, किसानका खेत जोत्ने ट्र्रयाक्टर र बाटोका कामहरु सबैलाइ झेलदै हिडिरहंदा साच्चै आफुले काम गर्ने अफिस भएको शहर फेयतभिल देखियो । २,४ वटाको अघिपछि भएर हिडिराखेको बेला एकाएक चारतिरका गाडीहरु भेटिएर बाटो भरियो । बाक्लिएका गाडीको भीडभाडमा आफुलाइ धेरै सचेत गराउंदै हिडछु । ३ वटा लेनमा कतै खुटटो टेक्ने ठाउं हुदैन तैपनि लेन चेन्ज गर्नेहरु त्यतिकै भेटिन्छन । त्यस्तै भींडमा फेरी मोटर साइकलहरु कुखुराको भाले जता पायो त्यतै कुदेझैं कुद्न खोज्छन ।उनिहरुसंग धेरै होसियार हुनु पर्छ । काममा पुग्ने समयका हरेक मिनेटहरु झन धेरै महत्वका हुन्छन सिटी छिरेपछि । पुलिसहरुले पनि आफनो जागिर खाइराखेकाले उनिहरुलाइ झन विचार गर्नु पर्छ ।
ए... अब त काम गर्ने अफिस नै देखिसक्यो । कसो समयमा नपुगिएला त ....?

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 24 आसाढ, 2073

लेखकका अन्य रचनाहरु