स्वप्निल सहरमा केही दिन

- कृष्ण बजगाईं

सदाबहार बैसालु पेरिस सहरले फेरि माया लगायो । पहिलो पटक म र साथी प्रमेश कँडेल सन् २००२ मा पेरिस आउँदा जस्तो थियो त्यसको बाह्र वर्षपछि सपरिवार पेरिसमा बिदा मनाउन आउँदा उस्तै देखियो पेरिस । उतिखेर बेल्जियमको राजधानी ब्रसेल्सबाट संसारको सबैभन्दा दु्रत गतिको रेलले एक घण्टा बिस मिनेटमा पुर्याएको थियो पेरिस । यस पटक पनि द्रुत गतिको रेल चढेको भए लन्डनबाट दुइ घण्टामा पेरिस पुगिन्थ्यो । तर, धेरै पटक रेल चढेकाले नौलो अनुभवका लागि हामीले रोजेका थियौं लन्डनबाट पेरिससम्मको आठ घण्टा लामो बस यात्रा ।

फेसन र ग्लेमरको सहर पेरिसका सडक र गल्लीहरू महँगा परफ्युमले मगमगाइरहेका हुन्छन् । सडक र पेटीमा अर्धनग्न सुन्दरीहरू आधारातसम्म क्याट वाकमा हुन्छन् । धेरै पहिला स्कुले विद्यार्थी हुँदा पेरिसका बारेमा यस्तै धारणा बनाएको थिएँ । जब पेरिस सहरमा पाइला हालियो न त सडकमा पफ्र्युमको महक थियो, न त अर्धनग्न सुन्दरीहरू । थिए जताततै कला, सङ्ग्रहालय, ऐतिहासिक भवन र सांस्कृतिक वैभव झल्काउने प्राचीन स्मारकहरू र कलाका खुल्ला सङ्ग्रहालय । बाटैभरि कि त देखिन्थे हात समातेर हिँडिरहेका युगल जोडी या त बैसालु मुस्कान छाडेर एक्लाएक्लै हिँडिरहेका फ्रेन्च सुन्दरीहरू ।

पेरिस अमर प्रेमीहरूको सहर हो । साहित्यमा अस्तित्ववादका मसिहा दार्शनिक ज्या पाल सात्र्र र उनकी पे्रमिका चर्चित नारीवादी साहित्यकार सिमोन द बोउवारले हात समातेर हिँडेका पेरिस सहरका सडक र गल्ली तिनै हुन् । आजसम्म पनि उनीहरूको मायाको साक्षी छन् पेरिसका चोक, क्याफे र रेस्टुरेन्टहरू ।

फ्रान्समा जन्मेकी सिमोन पहिलो नारीवादी चिन्तक एवम् विचारक हुन् । उनले नारी समस्यालाई पहिलो पटक इतिहास, विज्ञान र दर्शनका साथ समायोजन गरेर आर्थिक र सामाजिक सन्दर्भमा त्यसको व्याख्या गरिन् । ‘नारी जन्मिदैनन्, नारी बनाइन्छ’ भन्ने ‘द सेकेन्ड सेक्स’ नामक कृतिका लेखक सिमोनको विचारले त्यस वेला संसारभर हलचल मच्चाएको थियो । तिनै चर्चित लेखिका सिमोन र दार्शनिक सात्र्र लामो समयसम्म सँगै बसे तर कहिल्यै विबाह गरेनन् । उनीहरू होटलमा बस्दथे, रेस्टुरेन्टमा खाना खान्थे । साहित्य, दर्शनको लेखन र चिन्तनमा व्यस्त हुन्थे । सात्र र सिमोन जस्ता महान् प्रेमी, फ्रान्सका प्रसिद्ध साहित्यकार तथा दार्शनिकहरू भिक्टर ह्युगो, भोल्तेयर, ज्याक डेरिडा, अल्बर्ट कामु जस्ता ब्यक्तित्वले कैयौँ फन्का लगाएको सडक र गल्लीमा आफूले पनि स्पर्श गर्ने कुराको स्मरण गर्दा मनमनै रोमाञ्चित भएँ ।

कहाँबाट सुरु गर्ने पेरिसको भमण ? सायद कोही पनि अलमलिँदैनन् । सबैले ताकेर जान्छन् संसार प्रसिद्ध आइफिल टावर । हामीले पनि यात्राको सुरुवात त्यहीँबाट गर्ने निधो गर्यौं । बस, मेट्रो र पैदल यात्राले पेरिसको चक्कर लगाउनु छ । सकेसम्म धेरै जानकारी र साथमा आनन्द लिनु छ । फ्रान्समा कोही पनि अङ्ग्रेजीबोल्दैनन् । जाने पनि बोल्न चाहँदैनन् । बेल्जियमवासी भएकाले हामीलाई संवादको कुनै समस्या छैन । हामी फ्रेन्च भाषा नै बोल्ने हुनाले भाषाको कारण यात्रामा झन्झट नहुने कुरामा ढुक्क थियौँ ।

पहिलो पटकको पेरिस भ्रमण आउनुभन्दा अगिको कुरा सम्झन्छु । म पेरिस भ्रमण जाने कुरा मेरो बेल्जियन साथी योहानलाई सुनाएको थिएँ । उनले पेरिसको सबै कुराको तारिफ गरे । तर आइफिल टावरबारे अलग्गै विचार राखे ।

‘आइफिल टावरमा त्यस्तो कुनै कला वा आकर्षण केही छैन । त्यो फलामको थुप्रो मात्र हो ।’

योहान आफैमा राम्रा चित्रकार हुन् । उनका चित्र बजारमा बिक्री हुन्छन् । कला बुभ्mने सच्चा कलाकारले आइफिल टावरप्रति राखेको त्यस्तो धारणा सुनेर म अलमल्ल परेँ । उनी अमिलोअङ्गुरको कथाको पात्र जस्ता हुँदै होइनन् । उनले कैयौँ पटक पेरिसको चक्कर लगाएका छन् । आइफिल टावरप्रति उनको धारणाबारे कुनै तर्क गरिनँ ।

परैबाट पहिलो पटक आइफिल टावर देख्दा अति नै रामो लागेको थियो । फेदैमा पुगेपछि एक फन्को लगाएर दायाँबाया, तलमाथि सबैतिर हेरेँ । उनले भनेको प्रभाव हो वा के कारणले हो, आइफिल टावरमा साँच्चै मैले पनि कुनै कला वा आकर्षण देखिनँ । मलाई आइफिल टावर ३३ केभी प्रसारण लाइन टावरको ठुलो रूपमाभन्दाबिलकुल अर्को लागेन । मलाई र योहानलाई मात्र त्यस्तो लागेर के गर्नू ? संसारभरका मानिस त्यो टावर हेर्न र चढ्न भनेर मरिहत्ते गर्दछन् । पेरिसको सबैभन्दा बढी लोकप्रिय र पर्यटकको गन्तव्य स्थल पनि त्यहीँ हो । प्रमेश र म दिनभर पेरिसको मुख्य मुख्य ठाउँ घुमेर रातिको रेलबाट बेल्जियम फर्केका थियौँ ।

दोस्रो पटक सपरिवार पेरिसको भ्रमणको सुरुवात पनि आइफिल टावरबाट गर्ने योजना बन्यो । मेट्रोबाट बाहिर आएपछि आइफिल टावर त निक्कै पर पो देखियो । बल्ल पो थाहा लाग्यो गल्तीवश हामी एक स्टेसन वरै उत्रेछौँ । हामी चार दिनका लागि घुम्न आएका हतार केही थिएन । बिस पच्चिस मिनेटको बाटो पैदलै जाने निर्णय गरियो ।

हिँड्दै जाँदा मिलिटरी स्कुल सामुन्ने देखियो तर हामी भित्र जान चाहेनौँ । विशाल ठुलो त्यो मिलिटरी स्कुल आइफिल टावरको नजिकै थियो । त्यही स्कुलमा पढेका नेपोलियन बोनापार्ट सानै उमेरमा सेनापति भएका थिए ।

आइफिल टावर पुग्दा वरपर मानिसहरूको अचकालीभिड देखियो । टाउको ठाडो पारेर आइफिल टावरको टुप्पोसम्म हेर्यांै । शिरमा ढाका टोपी लगाएको भए अवश्य टोपी खस्ने थियो । दायाँबायाँ घुमीघुमी हेर्यौं । निकै बेर हेरिसकेपछि उनीहरूलाई आइफल टावरले खासै आकर्षण नगरेका कुरा मैले बुझेँ ।

‘कस्तो लाग्यो त आइफल टावर ?’ मैले प्रश्न गरेँ ।

सानो छोराको जवाफ थियो –‘यो त टिभी र फोटोमा मात्र रामो देखिँदो रहेछ ।’

एउटा भनाइ छ, पहाड टाढाबाट मात्र राम्रो देखिन्छ । जब परबाट रामो देखिएको पहाडमै पुगिन्छ, अनि त्यो पहाड ढुङ्गा, माटो, रुखपातले बनेको कुरूप र कहाली लाग्दो भिरको सङ्गम जस्तो देखिन्छ । सायद आइफिल टावर पनि त्यस्तै लागेको होला भन्ने अनुमान गरेँ । त्यसका वरपर हामीले केही फोटा खिच्यौँ र अगाडि बढ्यौँ ।

आइफिल टावरको छेउमै सेन नदीको किनारमा बस बिसौनी थियो । पेरिस सहरको यात्राबसबाट गर्ने भयौँ । त्यहीँबाट दुइतले बसको छाना नलगाएको माथिल्लो तलामा चढ्यौं ।

आइफिल टावर अगाडिबाट सेन नदीको पुल हुँदै बस बिस्तारै अगाडि बढ्यो । सफा चौंडा सडक र सडकका दायाँबायाँ हरियाली कायम गर्न रोपिएका ठुल्ठुला रुखहरूले सहरको सौन्दर्य बृद्धि गरेको देखियो । सेन नदीको किनारै किनार बस अगाडि बढ्यो । सेन नदी पेरिसको मध्यभाग भएर बग्दछ । एउटा कस्तो अचम्मको संयोग छ भने युरोपका अधिकांश देशका मुख्य सहर हुँदै ठुल्ठुला नदी बगेर गएका छन् । र, ती सहर धेरै विकसित तथा सुन्दर पनि छन् ।

युनेस्को मुख्यालयको छेउमै ‘ग्रेन्ड डोम अफ इनभेलिडस’ भन्ने भवन छेउमा उत्रियौँ । उत्रिनु पर्ने कारण के थियो भने त्यस भवनले परैबाट हामीलाई तानिरहेको थियो । त्यसको छानामाथिे विशाल ठुलो गोलाकारको सुनौलो गुम्बज र त्यसमाथिको सुनौलो रङको चम्किरहेको गजुर बढो आकर्षक थियो । त्यहाँ पुगेपछि बुझ्दा थाहा लाग्यो त्यो त चौबिस क्यारेटको साढे बाह किलो सुनले बनाइको रहेछ । राम ! राम ! छानामाथि सुनको डल्ला ! खुल्ला आकाशमा सुन राख्नु वैभवताको प्रतीक त होला नि भन्ने लाग्यो ।

त्यस भवनमा नेपोलियन बोनापार्टलाई समाधिस्थ गरिएको रहेछ । उसो त अङ्गे्रजसँगको लडाइँमा हारेपछि उनलाई अफ्रिकामा थुनेर राखिएको थियो । त्यहीँ उनको मृत्यु भएको करिब बिस वर्षपछि उनको शवलाई त्यहाँबाट झिकाएर फ्रान्समा ल्याएर ससम्मान राखिएको रहेछ । इतिहासमा उनका बारेमा जेजस्ता राम्रा नराम्रा चर्चा भए पनि फ्रान्स सरकारले उनलाई राष्ट्रिय सम्मान दिएको देखियो । एउटा विश्वविजेता बन्न चाहने योद्धालाई राष्ट्रले गरेको सही सम्मान जस्तो लाग्यो ।

पूर्णरूपमा सैनिकहरूलाई समर्पण गरिएको उक्त भवन सैनिक सङ्ग्रहालय मात्रै होइन चर्च पनि पो रहेछ । त्यस भवनभित्रका कला र शृङ्गार हेरे मानिसहरू दङ्ग पर्दछन् । झ्यालमा कुँदिएका बुट्टा, सिलिङका बनाइएका अद्भुत कला हेर्दा फ्रान्स त्यसै कला र चित्रकारिताको राजधानी बनेको होइन भन्ने लाग्दछ ।

पेरिस आएपछि साहित्यका महान् हस्तीहरू भोल्टेयर, बर्ताेल्त बे्रख्त, सेक्सपियर, र्जज बनार्ड शाँ आदिले आफना कृतिमा उल्लेख गरेका ‘जोन अफ आर्क’ नहेरी जाने कुरै थिएन । ईश्वरीय वरदान पाएकी एक वीराङ्नाका बारेमा पढेको थिएँ । उनको सालिक हेर्ने इच्छा पहिलेदेखिनै थियो । कुनै सैनिक तालिम नलिएकी उन्नाइस वर्षकी कुमारी केटीले आफूमा ईश्वरीय शक्ति भएकाले फ्रान्स कब्जा गरेर बसेका बेलायती सेनासँग लडेर जित्ने इच्छा प्रकट गरिन् । नभन्दै फ्रान्सका राजा चाल्र्सको निर्देशनमा युद्धमा गइन् । लामो समयदेखि इङलेन्डले कब्जा जमाएको ठाउँ फिर्ता ल्याउन सफल भइन् । त्यो सन् १४१२ को कुरा हो । पछि उनलाई गद्दारहरूले पक्रेर इङलेन्डलाई बेचेछन् । अङ्ग्रेजहरूले बदलास्वरूप हजारौं मानिसहरूको अगाडि उनलाई जिउँदै जलाएछन् । हामो तराईतिर दाइजो नल्याउने बुहारी जलाएको अनि अलिक अगाडि सती प्रथाको नाममा जिउँदै महिला जलाउने गरेको कुरा सम्झन्छु । महिलामाथि कति क्रूर छन् पुरुष जातिहरू?

फ्रान्स सरकारले पछि उनको बहादुरीको सरहना गर्दै उनलाई सहिद घोषणा गर्याे । अलिकपछि उनलाई क्याथोलिक धर्मको सन्त उपाधि पनि दिइयो ।

उनको सालिक भएको ठाउँ हो ‘रु द पिरामिड’ । एउटा हातमा विजयको झन्डा फरफराइ रहेको र अर्को हातले दौडिरहेको घोडाको लगाम खिँचिरहेकी सुनौलो रङकी घोडचढी युवती नै थिइन् जोन अफ आर्क । साहै जीवन्त थियो त्यो मूर्ति । हामी त्यहाँ पुग्दा खासै मानिसहरू थिएनन् । इतिहासकी ती वीराङ्गना र विश्वविख्यात लेखकहरूले आप्mना साहित्यमा चर्चा गरेका पात्रलाई श्रद्धा सुमन दिएर फर्कियौँ ।

बेइजिङको ‘त्यानमेन स्क्वायर’को झझल्को दिने फ्रान्सको सबैभन्दाठुलो चोक ‘प्लास द ला कन्कार्ड’ पुग्दा त्यहाँ पनि मानिसहरूको भिड देखियो । त्यस चोकमा पाइला राखेपछि अनुभवको आधारमा भन्न सक्छु; त्यो चोक बेइजिङको त्यानमेन स्क्वायरभन्दाठुलो चाहिँ होइन । तर पनि, ती दुवै चोकमा धेरै समानता छन् । ती चोकमा राजनीतिक उथलपुथल हुने घटना भएका छन् । तिनका वरपर ऐतिहासिक स्थलहरू छन् । पर्यटकहरूलाई उसरी नै लोभ्याइ रहेका छन् ।

त्यस चोकमा एकदम अग्लो स्तम्भ ठडिएको देखियो । हेर्दा थाहा लाग्यो त्यसलाई फेन्च भाषामा ‘लिबर्टे’ अर्थात् स्वतन्त्रता भन्दा रहेछन् । नामले भन्दा पनि बदनामीका कारण चर्चामा आए पनि त्यसले पर्यटकलाई आकर्षित गरिरहेको छ भन्ने कुरा हामी जस्ता हजारौँं पर्यटकको भिड देखेर भन्न सकिन्छ ।

फ्रान्सको राज्य क्रान्तिकावेलातत्कालीन राजा लुइस सोह्रौं लगायत एकहजार एक सय उन्नाइस जना व्यक्तिहरूको त्यहीँ शिरच्छेदन गरिएको थियो । संसारमा गणतन्त्रको बिउ त्यहीँबाट रोपिएको थियो । त्यसै कारणले पनि होला पर्यटकहरू त्यस स्थानलाई हेर्न छुटाउँदैनन् । म चाहिँअरुभन्दा पनि त्यहाँ अवस्थित कलात्मक ढङ्गले बनाइएको फाउन्टेन देखेर मन्त्रमुग्ध भएँ । त्यस फाउन्टेनबाट निस्केको पानीको फोहराकोदृश्य धित मरुन्जेल हेरिरहेँ ।

‘सङ्ग्रहालय हो कि सिनेमा घर ?’ युरोपको सबैभन्दा पुरानो सङ्ग्रहालय लुभ्र म्युजियम अगाडिअचकालीभिड देखेपछि छक्क पर्यौँ । म्युजियम प्रवेश गर्ने टिकट काट्न निकै बेर लाइनमा बसेपछि बल्ल पालो आयो । एयरपोर्टको जस्तै अत्यन्त कडा सुरक्षा जाँच पासपछि सिसाले बनेको आधुनिक पिरामिड आकारको प्रवेश द्वारबाट भित्र गयौं ।

भित्र पुगेपछि मोनालिसा कहाँ छिन् भनेर खोज्न थालियो । विभिन्न विधाका गरी आठ खण्डमा विभाजित सङ्ग्रहालयका बारेमा जानकारी र सङ्केत चिन्हले कुन कलाको सङ्ग्रहालय र कोठा कता, कहाँ पर्दछ भनेर प्रस्टसँग लेखिएको रहेछ । मोनालिसा लेखेको सङ्केत चिन्हलाई पच्छ्याउँदै अगाडि बढ्यौँ । मोनालिसा लेखेको चिन्ह पच्छ्याउने हामी मात्र हो कि भनेको त हाम्रो अगाडि र पछाडिका सबै त्यतै पो जाँदै रहेछन् । एक छिन त मलाई असनको भिडमा छिरे जस्तै भयो । मुस्कान हराएका त्यो भिडका अधिकांश मानिस मोनालिसाको मुस्कान हेर्न आतुर थिए ।

लिओनार्दो दा भिन्चीको प्रसिद्ध चित्रकला हेर्न ठेलम्ठेल गर्दै मोनालिसाको कोठामा पुगियो । बाफ रे कस्तो भिड ! मुखबाट अनायासै निस्कियो । सबै जना मोनालिसाको छेउमा पुगेर उनकोमुस्कान हेर्न र छेउमा मोनालिसा पारेर फोटा खिच्न चाहँदा रहेछन् । निकैबेर अलिक वरैबाट त्यहाँको दृश्य हेरिरह्यौं । कति खेर खाली होला र नजिकै गएर फोटो खिच्ने भनेर पर्खियौँ । अहँ, हामी जहीँको तहीँ रह्यौँ । हामीभन्दा पछिका मानिसहरूले अगि अगि पुगेर फोटो खिच्न थाले । अब त यसरी नहुने भो भन्ने लाग्यो । त्यसपछि हामी पनि पश्चिमाहरूको लाइनमा बसेर पालो कुर्ने सभ्यता पालन गर्ने हो भने मोनालिसालाई नजिकैबाट हेर्ने अवसर पाइँदैन भन्ने लाग्यो । त्यसपछि नेपाली पारा देखाउने निर्णय गर्याँै ।

सानो छोरो हराउला भनेर मैले उसको हात समातँे । ठुलो छोरोको हात श्रीमतीले समातिन् । मनमनै मनोकामना माताको नाम लिएँ । ठेलठाल गर्दै सरी भन्दै बल्ल बल्ल मोनालिसाको अगाडि पुगियो ।

मोनालिसाको चित्र भित्तामा टाँगिएको थियो । चोरेर लैजालान् वा तोडफोड गर्लान् भनेर ‘बुलेट पुफ’ सिसा भएको विशेष फे्रमभित्र सुरक्षित राखिएको थियो । हुन त त्यो तस्बिर सन् १९११ मा चोरी भएको रहेछ । फेरि दुई वर्षपछि इटलीमा फेला परेछ ।
त्यसलाई पुनः लुभ्र म्युजियममा ल्याएर अत्यन्त कडा सुरक्षाका साथ राखिएको रहेछ ।

आँखामा पीडा तर ओठबाट मन्द मुस्कान छाडेकी सक्कली मोनालिसालाई छेउबाट हेर्दा खुसीको सीमा रहेन । मानिसहरूको ठेलठाल बिच पनि मोनालिसालाई छेउमा पारेर केही फोटा लियौं । त्यस्तो अमूल्य चित्र हेर्न पाउनु मेरो अहो भाग्य नै हो ।

विभिन्न कोठा र हलमा रहेका सबै चित्रकला घुमीघुमी हेर्यौं । हेर्दै जाँदा एउटा भित्तामाबनाइएको सबैभन्दाठुलो आकर्षक पेन्टिङलाई धेरै मानिसहरूले ध्यानपूर्वक हेरेको देखियो । के रहेछत भनेर हामीले पनि निकै बेर हेर्यौ । खानपिन र सङ्गीतमा रमाइरहेको भिन्न भिन्न मुद्राका एक सय तिस जना मानिसका बडो जीवन्त चित्रहरू रहेछन् ।

‘द अड वन आउट’ नाम दिइएको त्यस पेन्टिङलाई ध्यान पूर्वक हेर्दै जाँदा त्यहाँ एउटा अनौंठो चित्र देखियो । एक सय उन्तिसवटा चित्र एउटै पेन्टिङमा बनाइ सकेपछि एउटा चित्रपछि थपिएको प्रस्टै देखियो । पहिलेको चित्रहरूको रङसँग अलिक तालमेल नमिल्ने पछि थपिएको चित्र कसको होला ? कसले थपेको होला ? थाहा पाउन सबैलाई खुलदुली हुँदो रहेछ । पछि थपिएको त्यो चित्र कैयौँ महिना लगाएर सोही पेन्टिङ बनाउने कलाकारको पो रहेछ । कुरा के परेछ भने चित्र बनाइसकेपछि चित्रकारलाई त्यो खुब मन परेछ । अरुका चित्रसँगै आफ्नो मुहार चित्र पनि थपेछन् । सायद कलाकारलाई पनि लाग्यो यतिका मानिसको चित्र भएको ठाउमा आफनो चित्र थप्दा के पो होला र ? कसले के भन्लान् र ? उनको त्यो हर्कत देखेपछि अरुले गरेको काममा जबरजस्ती आफनो नाम थप्ने लेखक, साहित्यकार मात्र होइन आफ्नै मुहार चित्र थपेर प्रचार गर्ने चित्रकार पनि हुँदा रहेछन् भन्ने लाग्यो ।

हामी नेपालीहरूले अश्लील र पश्चिमाहरूले कला देख्ने त्यहाँका कतिपय चित्रहरू सपरिवार हेर्न नमिल्ने खालका पनि थिए । हामो छेउमा अरब मुलुकबाट आएका एक मुस्लिम जोडी स्तन र नितम्ब देखाइएको एउटा चित्रलाई इसारा गर्दै ‘पोर्नोग्राफी’ ‘पोर्नोग्राफी’ भनेको सुनेँ । पूर्वीय अझ मुस्लिम र पश्चिमी समाजले यौनलाई हेर्ने दृष्टिकोण र अन्तरको अनुभूति त्यहीँ भयो ।

सुन्दर युवतीका स्तन, नितम्ब, जाँघ आदिमा केन्द्रित कैयौं चित्रहरू निकै बेर हेर्यौं । त्यहाँका कतिपय चित्रकला बुढाहरूले हेर्न पाए भने तिनका जवानी नै फर्केर आउला जस्तो लाग्यो ।

सेन नदीको किनारमा अवस्थित लुभ्र म्युजियमका सबै प्राचीन र दुर्लभ कला, कृति र सङ्ग्रह करिब चार घण्टा लगाएर धित मरुन्जेल हेरि सकेपछि बाहिर निस्कियौं ।

हामी सेन नदीको किनारको फुटपाथमा हिँड्दै थियौं । नदीको किनारमा आलिङ्गनबद्ध सयौं युवा धड्कनको मायाको साक्षी बनेको सेन नदी सुस्तरी बग्दै थियो । पर्यटकको मुख्य आकर्षक यस नदीमा ससानो दुइतले पानी जहाजको(फेरी) माथिल्लो तल्लामा बियरका चुस्की लगाउँदै वरपरका ऐतिहासिक स्मारकहरूको दृश्यावलोकन गर्दै रमाइ रहेका पर्यटकहरू देख्दामलाई लाग्यो योभन्दा स्वर्गीय आनन्द तिनीहरूलाई अरु हुने छैन ।

युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको यो नदी अत्यन्त घना जनसङ्ख्या भएको पेरिस सहरको मध्य भएर बग्दा पनि कहीँ कतै फोहर देखिएन । यसबाट हामी नेपालीहरूले धेरै कुरा सिक्नु पर्दछ जस्तो लाग्यो । हामी कति असभ्य ! कति स्वार्थी ! धार्मिक नदी वाग्मतीमा फोहर मिसाउने अधर्मीहरू र प्रदूषित बाग्मती सम्झँदा यात्रामा रमाइ रहेको मन एक छिन खिन्न भयो ।

‘म कुनै पनि महिलासँगको सम्बन्धमा त्यति राम्रो छैन । कसैले पनि मलाई लामो समयसम्म प्रेममा बाँधिराख्न सक्दैन ।’ बेलायत सरकारको सर्वोच्च सम्मानबाट विभूषित सिनेमा, रङ्गमञ्च र टेलीभिजनमा उत्तिकै सक्रिय फिल्मी दुनियाँका सर्वश्रेष्ठ अभिनेता सर फिलिप एन्थनी हाँपकिन्सले एक ठाउँमा भनेका छन् ।

सेन नदीमाथि बनेको ‘लभ लक ब्रिज’ नामक पुलमा हिँड्दै गर्दा माथिको कुरा स्मरण भयो । सायद फिलिप एन्थनीले प्रेमलाई बाँध्ने सेन नदीमाथिको उक्त पुलमा संयुक्त नाममा एउटा ताला लगाएको भए यसो भन्ने थिएनन् कि ? अथवा ताला लगाएर पनि असफल भएपछि त्यसो भनेका हुन् कि ?

त्यस पुलमा एउटा होइन, दुइटा; सय, हजार पनि होइन लाखवटा भन्दा धेरै सङ्ख्यामा ताला लगाएर झुन्डयाइएको थियो । कैयौं तालामा त युगल जोडीकै नाम लेखेको देखियो । अधिकांश ताला चाहिँ नामबिनाकै थिए । प्रेमका युगल जोडी हुन् वा श्रीमान् श्रीमती, त्यहाँ ताला लगाएर चाबी चाहिँ नदीमा फाल्दा रहेछन् ।

उक्त पुलको रेलिङमा ताला लगाउँदा प्रेम वा विबाह टुट्दैन भन्ने विश्वास रहेछ । युरोपियनहरू पनि यति धेरै अन्धविश्वासी हुँदा रहेछन् भन्ने कुरा मलाई थाहै थिएन । त्यो दृश्य हेरेपछि हामी श्रीमान् श्रीमतीले पनि छेउको फुटपाथबाट ताला किनेर ल्यायौँ र पुलमा ताला ठोक्यौं । चाबी सेन नदीमा फालिदियौँ अनि मरिमरी हास्यौँ । त्यहाँको दृश्य देख्दा धरानको बुढा सुब्बाको बाँसमा त्यस्तै युगल जोडीको नाम खोपेर लेख्ने चलनको स्मरण भयो । पेरिसमा यो चलन चलेको एक सय वर्षभन्दा बढी भएछ । धन्य छ ! प्रेम र सम्बन्ध फुत्केर जान नदिने ताला र त्यो पुललाई ।

पुल तरेर हामी अगाडि बढ्यौँ । सेन नदीको सफा र निलो पानीेमा साँझतिरको घाम तैरिँदै थियो । नदी किनार तटमा ठाउँ ठाउँमा पार्क, फुटपाथ, ओपन आर्ट ग्यालरी र बस्नका लागि बनाइएका असङ्ख्य फलैँचामा मानिसहरूको उस्तै भिड थियो ।

त्यहाँबाट संसारको पुरानो गिर्जाघरमध्येको एक ‘नोत्रदाम’ हेर्न जाने भइयो । त्यहाँपुग्न एउटा पुल तर्नु पर्यो । त्यसको नाम रहेछ ‘न्यु ब्रिज’ । आश्चर्यको कुरा, आजभन्दा करिब चारसय चालिस वर्ष अगाडि बनेको त्यो पुल अहिलेसम्म पनि दुरुस्त थियो । अर्को कुरा त्यति पुरानो भएर पनि त्यसको नाम ‘न्यु ब्रिज’ भन्दा अचम्म लाग्यो ।

नोत्रदाम गिर्जाघर पुग्न लाग्दा साँझ पर्न आँटेको थियो । फ्रेन्च गोथिक आर्किटेक्टको सुन्दर नमुना त्यो गिर्जाघरको जति ख्याति संसारमा अरु गिर्जाघरले कमाएको छैन । एघारौं शताब्दीमा निमार्ण सुरु गरिएको त्यो गिर्जाघर एक सय सत्तरी वर्षपछि मात्र पुरा भएको रहेछ । त्यस वेलाअहिले जस्तो प्रविधिको विकास नभएको समयमा कसरी त्यत्रा विशाल भवन बनाइयो होला भनेर अचम्म लाग्यो । त्यस गिर्जाघरभित्रको अद्भुत कला हेरेर कहिले नअघाइने रहेछ । फर्कन लाग्दा त्यहीँका एक कर्मचारीले भने– ‘तपार्इँहरू भाग्यमानी हुनु हुँदो रहेछ । पेरिस आएर नोत्रदामको भ्रमण नगरी गए पेरिस भ्रमण अधुरै हुन्छ ।’ ‘धन्न हामो भ्रमण पूर्ण भएछ !’ उनलाई धन्यवाद दिएर बाहिर निस्कियौँ । त्यसपछि हामी मज्जाले हाँस्यौँ ।

चौडा र सफा सडकमा हामीले पाइला हाल्ने बित्तिकै ‘आर्क द ट्रिम्फ’ नामक विशाल गेट परैबाट देखियो । त्यो वास्तवमा नेपोलियनले युद्धमा देशका लागि प्राण आहुति दिने वीर सैनिकहरूको नाममा बनाएको स्मारक रहेछ । त्यसको मुनि तलामा प्रथम विश्वयुद्धमा ज्यान गुमाउने अज्ञात सैनिकहरूको समाधि स्थल भन्ने नाम दिइएको रहेछ । त्यहाँ हेर्नु पर्ने खासै केही देखिएन । त्यति हेरिसकेपछि फेरि मूल सडकमा आयौँ ।

सडकका दायाँबायाँ पसल र क्रेताहरूको चहलपहल देख्यौं । पसल पनि हेर्ने र मन परे केही सामान पनि किन्ने विचार गर्याँैं । संसारको सबैभन्दा महँगा ब्रान्डका पसल त्यहीँ थिए । ‘च्यानल’, ‘जिभँसी’, ‘लुइभुँटो, ‘जँ पल गुतिय’ जस्ता संसार प्रसिद्ध फ्रान्सका कम्पनी र अरु नाम चलेका विदेशी सामानका पसलहरू लस्करै थिए । सिसाको भ्mयालबाट सामानको मूल्य हेर्दै जिब्रो टोक्दै अगाडि बढ्दै थियौंँ ।

एउटा पसलमा छालाको एउटा लेडिज ब्यागको मूल्य करिब सात लाख नेपाली रुपियाँ, अर्को पसलमा घडीको मूल्य नेपाली रूपैयाँ पाँच करोड लेखेको पत्यार लागेन । पत्याउनै नसकेर बाहिर सिसाको झ्यालबाट दोहर्याई तेहर्याई हेर्यौं । हो होइन भनेर सोध्नका लागि भित्र जाने आँट आएन । हाम्रो गरिवी पेरिसमा आएर थाहा भयो । बिचरा हामी गरिव ! त्यसपछि हतार हतार अर्को बाटो लागिहाल्यौँ ।

पुरै दुई दिन पेरिस सहरका मुख्य आकर्षण, ऐतिहासिक स्थल र सङ्ग्रहालय हेरे पनि अझै केही बाँकी नै रहे । हेर्ने इच्छा र समय भए पनि तेस्रो र चौथो दिनको समय डिस्नेलेन्ड पेरिसका लागि छुट्याएका कारण अर्को पटक आएको वेला हेर्ने कुरामा सहमत भयौँ । साहित्य, कला, संस्कृति र सङ्ग्रहालयको दुनियाँबाट मनोरञ्जनको दुनियाँ डिस्नेलेन्डमाभोलि बिहानै जानु थियो । थकाइले चुर भएका थियौँ। साँझ फ्रेन्च खाना खाएर चाँडै सुत्यौं ।

बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 16 आसाढ, 2073

लेखकका अन्य रचनाहरु