अलिमिया खण्डकाव्यमा अलि मियाको खोजी

- प्रा. डा. कपिल लामिछाने

१. विषयप्रवेश
साहित्यसर्जक माधव वियोगीका अनेक सुकार्यमध्ये जीवित स्रष्टालाई काव्यनायक बनाएर खण्डकाव्य र महाकाव्यको रचना गर्नु पनि एक हो । यस सुकार्यको थालनी उनले अलिमियाँ (२०५९) खण्डकाव्यबाट गरेका हुन् । यसपछि उनले छन्दशिरोमणि (२०६०), धर्मराज (२०६०), जगदम्बा (२०६०), जुरेली (२०६३) र पुष्पलता (२०६४) जस्ता महाकाव्यको रचना गरेका छन् । यी महाकाव्यहरूको रचना गर्नु अघि वियोगीले अलिमियाँ खण्डकाव्य लेखेर जीवित स्रष्टाहरूमा आधारित काव्यको रचना गर्ने पूर्वाभ्यास गरेको बुझिन्छ । प्रस्तुत सन्दर्भमा यस्तो उनको प्रथम कृति अलिमियाँ खण्डकाव्यको कथ्यसन्दर्भ र शिल्पसौन्दर्यको अध्ययन गर्दै यसभित्र सुकवि माधव वियोगी र लोककवि अलि मियाँलाई चिनाउने प्रयत्न गरिएको छ ।

२. अलिमियाँको कथ्यसन्दर्भ
अलिमियाँ खण्डकाव्यको कथ्यसन्दर्भ लोककवि अलि मियाँको जीवन चरित्र हो । अलि मियाँ मियाँपाटन, पोखरामा १९७४ फागुन १५ मा एउटा मुसलमान परिवारमा जन्मेका नेपाली हुन् । १८ महिनामा आमा र ३ वर्षमा बाबु दिवंगत भएर सानैमा टुहुरा भएका मियाँलाई दाइभाउजूले हुर्काए, बढाए । खेतीपाती र गोठालो भएर उनको बाल्यकाल बित्यो । तसर्थ उनले औपचारिक शिक्षा प्राप्त गर्न सकेनन् । देशको परिस्थिति पनि त्यस्तै थियो । गोठालो भएर वनपाखा जाँदा उनले लोकगीत सुने, सिके र गाउन थाले । पछि लोकलयमा आफँैले गीत रचना गर्न थाले । यही लोकभाकाले गर्दा उनलाई लोककविका रूपमा स्थापित ग¥यो । उनी लोककवि अलि मियाँका रूपमा नेपाली जनजनको मनमनमा स्थापित भए । यो खण्डकाव्य तिनै अलि मियाँको जीवनका मुख्यमुख्य पक्षलाई प्रस्ट्याउनमा केन्द्रित छ । अरूलाई जस्तै साहित्यसर्जक माधव वियोगीलाई पनि अलि मियाँको जीवन, विचार र व्यवहारले छोएको छ र जीवित स्रष्टा अलि मियाँको जीवनमा आधारित भएर यो खण्डकाव्य लेख्ने प्रचेष्टा गरेको देखिन्छ ।
खण्डकाव्यकार माधव वियोगीले अलि मियाँको जीवनलाई तेर सर्ग (‘खण्ड’ भनिएको) मा व्यक्त गरेका छन् । मड्डलाचरण पश्चात् पहिलो सर्गमा लोकसाहित्यका विशेषता, नेपाली लोकसाहित्यको चर्चा गर्दै अलि मियाँले लोकको सुर, ताल र भाका टिपेर गीत र कविताको रचना गरी लोकगीत गाई हिँडेको चर्चा छ । सर्गान्तमा वियोगी लेख्छन् ः
(१) अलीमियाँले जब गीत गाए ।
धेरै जनाले पिरती लगाए ।। (पृ.४)
दोस्रो सर्गमा अलि मियाँको कविजीवनको वर्णन गरिएको छ । उनको जीवन सङ्घर्षमय छ । उनको विचार आदर्शवादी छ । उनको व्यवहार समतावादी छ । उनी धनका फकिर र दिलका अमिर छन् । उनी देखेर लेख्ने कवि हुन् । अलि मियाँको व्यक्तित्वसम्बन्धी एक श्लोक ः
(२) अली मियाँ हुन् दुखका कहानी
पुगे पचासी छ हिया जवानी ।
यी गीत गाईकन हिँड्न सक्छन्
भाका पुराना पनि टिप्न सक्छन् ।। (पृ.७)
अलि मियाँले दीनदुखी र गरिबका गीत भएका छन् । लोकलयमा जागरणमुखी गीत रचना गरी गाउँदै उनले जनजागरणका लागि गीत गाएका छन् । तेस्रो सर्गमा अलि मियाँको बाल्यकालको वर्णन गरिएको छ । १८ महिनाको उमेरमा आमा र ३ वर्षको उमेरमा बाबु परलोक भई टुहुरा भएका अलि मियाँ दाजुभाउजूका साथमा रहेर आर्बा र काहुँका डाँडापाखा र वनमा गाई, बाख्रा र भैँसी चराउन र घाँस काटेर जीवन बिताउन थाले । त्यही वनपाखा उनको काव्य पाठशाला बन्यो । उनले त्यहीँबाट गीत गाउन र लेख्न सिके र त्यहीँ गएर सुनाउन र लोकलाई लठ्याउन थाले ः
(३) भाका मिलाई सुरिला स्वरैमा
घन्काउँथे गीत मिठा वनैमा
लाग्थ्यो चराले पनि गीत छोप्थे
उफ्रेर ती बाँदर नाच्न थाल्थे । (पृ.२०)
(४) युवा र पाका कलिला सबैले
सुन्थे मियाँका गीत ती रसैले
स्वरै मिलाई सबले फलाक्थे
भाँचेर त्यो कम्मर नाच्न थाल्थे । (पृ.२०)
(५) अली मियाँका गित सुन्नलाई
नजीक टाढा पथबाट धाई
कामै नपर्दा वन जान थाले
छोरी बुहारी कतिका मजाले ।। (पृ.२१)
अलि मियाँले नारी समस्या, गरिबका पीडा, सामन्ती शोषण, देशको महिमा घोलेर गीत बनाए र गाए, जसले सबैको मन छोयो र उनी सबैका मनमा छाए ।
चौथो सर्गमा युवावस्थाका अलि मियाँको प्रथम विवाह र लाहुर जाने प्रसङ्ग छ । उनको जवानी देखेर युवतीहरू हुरुक्क हुन्थे । २२ वर्षको उमेरमा दर्सिङकी कुलुसँग खुसीसाथ उनको विवाह भयो र उनीहरू सुखसित रहन थाले । विवाह भएको दुई वर्षभित्रै साथीहरूको लहडमा लागेर अलि मियाँले बेलाइती सेनामा भर्ती हुन जाने विचार गरे । धन नकमाए, घर नछाडे मान्छे भइन्न भन्दै अलि मियाँले विदेश जाने अडान प्रकट गर्दा कुलुले पैसा होइन, माया ठूलो हुन्छ भनी रोक्न खोजिन् । उनको विचार वियोगीका शब्दमा यसरी प्रकट भएका छन् ः
(६) पैसा कमाए दरबार बन्ला
साथै मजाले व्यवहार चल्ला ।
सद्भाव माया अथवा विचार
मिल्दैन पक्कै बन होसियार ।। (पृ.२८)
धर्मपत्नी कुलुले विदेश जानेहरू सबै नफर्केको हुँदा पैसामा हिरिक्क भएर आनो मन अँध्यारो पारेर परदेश नजान आग्रह गरिन् । पाँचौँ सर्गमा अलि मियाँ कुलुको आग्रहलाई बेवास्ता गर्दै बिदेसिएको र लडाइँमा गएको प्रसङ्ग छ । साथीका सँगमा लागी पाँच रात बिताएर भारतभूमिमा पुगे, तर त्यहाँ पुग्नेबित्तिकै उनको मन खिन्न भयो । बाटामा बाटाका साथीसँगातीहरूसँग चिनजान भयो । बाटाभरि कोही त घरगाउँ, पाखापखेरा र प्रियजनहरूलाई सम्झेर रुन थाले । कुँडाघाटमा गएर ब्रिटिस सेनामा भर्ती भई तालिम लिएर उनी पनि लडाइँमा गए । भोकभोकै पिठ्यूँमा गोलीगठ्ठा बोकेर जङ्गलमा रातदिन बिताए । गोली बर्से । उनले गोलीलाई छले र आपूmलाई बचाए ।
छैठौँ सर्गमा विदेशी पल्टनबाट अलि मियाँले आÇनो, देश, समाज, साथी, वन, पाखा, पखेरा र पत्नी कुलुको कथन सम्झेको प्रसङ्ग छ । यसले उनको प्रत्यागमनको पृष्ठभूमि प्रकट गर्दछ । उनलाई देश छाडेकोमा पछुतो लाग्छ । पछुतोका केही हरफ ः
(७) नेपाल जस्तो देश पाइँदैन
पाए पनी त्यो अब चाहिँदैन
नेपालमा खुल्छ नवीन चेत
छाडेँ बनेँ म कसरी अचेत ।। (पृ.३६)
(८) नेपाल त्यो उन्नत पार्न सक्थेँ
शिला–शिलामा गित खोप्न सक्थेँ । (पृ.३६)
(९) भन्थिन् नजाऊ परदेश देश
खाएर बाँचौँ घर जे कुरा छ
बनी घमन्डी कसरी हिँडेँ म
कडा पिडाको दहमा डुबेँ म ।। (पृ.३७)
यसरी पछुताउ मान्दै छ महिनाको छुट्टीमा उनी घर फर्कन्छन्, तर घर फर्किंदा कुलु घर छाडेर हिँडिसकेकी हुन्छिन् । सातौँ सर्गमा पल्टनबाट फर्केका अलि मियाँ घरमा पत्नी नदेखेपछि पत्नीको वियोगमा छटपटिएको देखाइएको छ । उनका तमाम प्रेम–विलाप यहाँ व्यक्त भएका छन् ः
(१०) सियो गड्यो यो तनमा म रोएँ
मियो ढल्यो यो मनको म रोएँ ।
(११) हिरा भनेरै मनमा सजाएँ
तिम्रो हिया पित्तलको रहेछ
नौला सुनौला सपना सजाएँ
तिम्रो जवानी कपटी रहेछ ।। (पृ.४०)
(१२) तिमी हिँडेको जब चाल पाएँ
भएँ बिहोशी अनि छट्पटाएँ
धिक्कार लाग्यो नर जिन्दगानी
भाग्यो नि मेरो सुखको जवानी । (पृ.४२)
आठौँ सर्गमा पल्टनबाट छुट्टीमा फर्केका अलि मियाँ विश्वेश्वरप्रसाद कोइराला र पुष्पलालको भेटले गर्दा जनताको मुक्तिका लागि लोकगीत गाउँदै जनगारणमा आपूmलाई समर्पित गरेको प्रसङ्ग छ । कोइराला र पुष्पलाल राजनीतिक कारणले भूमिगत भएर सिग्देलबस्तीतिर पुगेका बेलामा अलि मियाँसँग भेट हुन्छ । पुष्पलालले उनलाई विदेश जाने कुरा छाडी देशको समुन्नतिमा लाग्न र राणाविरोधी गीत लेख्न भन्दछन् । उता पल्टनबाट छिट्टो फर्कने भनी पत्र आउँछ । यता उनी पल्टन नफर्किने निधो गर्दछन् र जनता जगाउने गीत गाउँदै हिँड्न थाल्दछन् ः
(१३) विदेश जाने जन फर्क आऊ
कुटो समाईकन खेत जाऊ
स्वदेशभित्रै सबथोक मिल्छ
विदेश जाने जन रुन्छ रुन्छ ।। (पृ.४६)
(१४) बनी रहेछौ किन दोष
खाई रहेछौ किन भात मागी
विद्रोह गर्छौ किन देशमाथि
सानो बनाएर विशाल छाती ।। (पृ.४७)
नवौँ सर्गमा अलि मियाँको पुनर्विवाह र पारिवारिक अवस्थाको वर्णन छ । अलि मियाँले मीतभाषी नूरनिशासँग द्वितीय विवाह गरे र समय बित्दै जाँदा हनिफ, बसीरा, फजल, कसीरा र असीराजस्ता सन्तान भए । पारिवारिक सुखभोग गर्दै जीवन यापन गर्ने क्रममा गीत गाउँदै दमौली पुग्दा गीतको रन्कोमा परी एक नौली परी पछि परिन् र तिनलाई घर लगे, तर एघारै दिनमा तिनले अलि मियाँलाई छाडेर हिँडिन् । सहजै आइन् । सहजै गइन् । विवाह भएको १५ वर्षपछि नूरनिशा परलोक भइन् । पत्नीवियोगमा अलि मियाँ रुनकराउन र भौँतारिन थाले । उनको यो बेहाल देखेर सासू–ससुराको मन पग्ल्यो र अर्की छोरी, उम्धनिशा अलि मियाँलाई दिन तयार भए । फलस्वरूप अलि मियाँको चौथो विवाह आÇनै सालीसित भयो । सालीपत्नी उम्धनिशाबाट दुई छोरा र एक छोरी पनि भए, तर केही समयपछि उम्धनिशा पनि दिवंगत भइन् र फेरि अलि मियाँ पत्नीबिहीन हुन पुगे । (लामो पत्नीवियोग खपेका अलि मियाँले छिमेककी एउटी केटीसित पाँचौँ विवाह गरे, तर तिनले पनि ३ वर्षपछि बाटो तताइन् ।) त्यसपछि भने अलि मियाँले अर्को–अर्को विवाह गर्ने मन गरेको देखिन्न । पारिवारिक यस्तो अवस्थाले उनको कविकर्मलाई वाधा–व्यवधान पु¥याएको देखिन्छ । फेरि पनि उनी भन्ट्याङमुन्टुङ ततेर्दै काव्यगोष्ठीमा धाइरहे र फुर्सद निकालेर लेखिरहे ।
दसौँ सर्गमा अलि मियाँको पेसा–व्यवसाय र आर्थिक अवस्थाको चित्रण गरिएको छ । धन–आर्जनका लागि पल्टनमा गए पनि राष्ट्रियता र जनजागरणको अभिभारा वहन गरेर पल्टन नजाने अठोट गरेपछि घरव्यवहार चलाउन उनलाई कठिन भएको देखिन्छ । त्यसैले आर्थिक कठिनाइको सामना गर्न उनले कृषि व्यवसाय गर्न थाले । पशुपालन पनि गरे । अन्नको व्यापार पनि उधारोका कारण फलदायी हुन सकेन र उनी परम्परागत पेसा, चुरौटे पेसा अँगाल्न पुगे ः
(१५) विकल्प धेरै जब खोजनी भो
चुरा र पोतेतिर ध्यान लम्क्यो
चुरा र पोते कुलधर्म ठानी
व्यापार सोही कन गर्न थाले ।। (पृ.६१)
व्यापार गर्दा ग्राहक नआएका बखत गीत–कविता कोर्थे । कविता नलेखे उनलाई रातमा निद्रा पनि पर्दैनथ्यो । एघारौँ सर्गमा अलि मियाँको धार्मिक आस्था र समतावादी विचारलाई प्रस्तुत गरिएको छ । अलि मियाँ इस्लाम धर्मावलम्बी हुन् । उनले स्वधर्म छाडेका छैनन्, तर अरू धर्मलाई पनि उनले सम्मान गरेका छन् । उनले कुरानमात्र होइन, रामायण र महाभारतका श्लोक पनि कण्ठ पारेका छन् । उनी बौद्ध गुम्बामा पनि गएका छन् । हिन्दूको मलामी र जन्ती पनि भएका छन् । पुरान र रामायणका प्रसङ्ग जोडेर कुरा गर्छन् । यसले उनलाई समतावादी–मानवतावादी र कर्मनिष्ठ बनाएको देखाइएको छ ।
बारौँ सर्गमा अलि मियाँको साहित्यिक योगदानबाट उत्प्रेरित पोखरेली साहित्यिक युवाहरूले उनको सम्मान र अभिनन्दन गरेको प्रसङ्ग छ । अलि मियाँ २०५८ फागुन १५ मा चौरासी वर्षको हुने भएकाले साहित्यिक बन्धुहरूले उनको सम्मान र अभिनन्दन गर्नु पर्छ भन्ने विचार गरे । सबै उठे । सबै जुटे । रथ तयार पारे । सबैतिर खबर गरे । प्रकृतिमा वसन्तको रमाइलो भयो । हिमाल खुल्यो । चराहरू चिर्बिराए । सडकमा बाजागाजाका साथ मानिसहरू देखिन थाले । जन्ती हिँडेझैँ लस्कर मियाँपाटनमा पुग्यो र विभिन्न संघसंस्था र व्यक्तिहरूबाट पूmलमाला, अबिर र अभिनन्दनपत्र अपर्ण गरियो । निस्वार्थ सेवा गरेको हुँदा समाजले उनको यस्तो कदर गरेको हो ।
(१६) गर्नेहरूकै इतिहास बन्छ
गर्नेहरूकै दिन सभ्य बन्छ
केही गरे उन्नति देशभित्र
रहेछ बाँच्ने निजको चरित्र ।। (पृ.७६)
तेरौँ सर्गमा पचासी वर्षका अलि मियाँको प्रेरणादायी योगदानको प्रशंसात्मक वर्णन गरिएको छ । नेपाल बाँचे आपूm बाँच्ने र नेपाल हाँसे आपूm हाँस्ने इरादा राख्ने अलि मियाँ नेपालमा रमाएका छन् । अलि मियाँले जनजागरणमा योगदान गरे । सुतेकालाई उठाए । उठेकालाई नचाए । लोकसाहित्य र कलाको श्रीवृद्धि गरे । मध्यम वर्गमा जन्मेर अलि मियाँले एकातिर परिवार पाल्नका लागि सङ्घर्ष गरेका छन् भने अर्कातिर स्वधर्म थामीकन सद्भाव, समानता र मानवतावादी उच्च विचार र व्यवहार प्रदर्शन गरेका छन् ।
यसरी प्रस्तुत खण्डकाव्यमा काव्यनायक अलि मियाँको जीवनवृत्त र उनका सकारात्मक सोच, विचार र क्रियाकलापलाई प्रस्तुत गरिएको छ । यहाँ मङ्गलाचरण बाहेक १३ सर्गमा अलि मियाँको जन्म, बाल्यकाल, युवावस्था, पल्टने जीवन, विवाह, प्रेम र पुनर्विवाह, पेसा, व्यवसाय र विश्वदृष्टि वा जीवनदृष्टिलाई प्रायः सिलसिलेबार ढङ्गले अभिव्यक्त गरिएको छ । यस खण्डकाव्यमा अलि मियाँ नै प्रमुख र केन्द्रीय कथ्य र चरित्र हुन् । अलि मियाँको आदर्श व्यक्तित्व, सर्जक व्यक्तित्व, सङ्घर्षशील व्यक्तित्व, गायक व्यक्तित्व आदि नै यस खण्डकाव्यको कथ्य हो र लक्ष्य हो । यस्तो कथ्य–प्रस्तुति र लक्ष्य प्राप्तिमा खण्डकाव्यकार वियोगी सफल देखिन्छन् । मात्र लेख्नु भन्दा पनि पूर्ण निष्ठा र आस्थाका साथ लेखेकाले कथ्य–प्रतिपादनमा उनलाई यो सफलता प्राप्त भएको हो ।

३. शिल्प सौन्दर्य
प्रस्तुत खण्डकाव्यमा सरल, सहज शिल्पसौन्दर्य छ । अलिमियाँ कविताको मझौला रूप वा खण्डकाव्य हो । जीवनजगत्को एक क्षण वा एक पक्ष प्रस्तुत हुने सामान्यतया आख्यानात्मक रचना खण्डकाव्य हो भने यहाँ अलिमियाँको जीवनका प्रमुख क्षण र प्रसङ्गलाई लिएर आख्यानीकरण गरिएको छ ।
अलि मियाँको जीवनका प्रमुख क्षण र प्रसङ्गलाई यहाँ उपजाति छन्दमा लयबद्ध गरिएको छ । अलि मियाँ लोकगायक र लोककवि हुन् । उनले लोकलयमा गीत र कविताहरूको रचना गरेका छन् । त्यस्ता लोककविको जीवन सन्दर्भलाई लोकलयमै अभिव्यक्ति दिनु सायद अझ श्रेयस्कर हुनसक्थ्यो, तर छन्द बचाउने अभियानका नायक, छन्दप्रेमी र छन्दमा बिजुलीबेगमा रचना गर्ने सामथ्र्य राख्ने माधव वियोगीका लागि लोकलय÷लोकछन्द भन्दा पनि शास्त्रीय छन्दको सम्मोह र छन्दप्रेमले बढी छोपेको देखिन्छ । दोस्रो कुरा सरलहृदयी र सरल व्यवहारका कवि अलि मियाँको व्यक्तित्वलाई सरल ढङ्गले प्रस्तुत गर्न उपजाति छन्द उपयुक्त छन्द पनि हो । छन्दविधानका निमित्त यहाँ प्रचलित नेपाली वर्णविन्यासका ह्रस्व–दीर्घका नियमलाई मिचेर भए पनि छन्दविधानलाई पालना गरिएको छ । केही उदाहरण ः
(१७) अलीकती यो दुःखको कहानी ।
अलीकती यो सुखको उठानी ।। (पृ.१)
(१८) अलीमियाँले जब गीत गाए ।
धेरै जनाले पिरती लगाए ।। (पृ.४)
यहाँ छन्दका लागि (क) मा अलिकति हुनुपर्नेमा अलीकती र (ख) मा अलि मियाँ हुनुपर्नेमा अलीमियाँ बनाइएको छ । यसरी प्रचलित वर्णविन्यासलाई मिचेरै भए पनि छन्दका नियम पालना गर्ने प्रयत्न भएको छ । ‘नेपाल’लाई ‘नयपाल’ सम्म गरिएको छ (पृ.५) । छन्द मिलाउनैका लागि यहाँ पछी (पृ.४, ६ र ४५) अनी (पृ.१९), अगाडी (पृ.४५), पिडा (पृ.३७), छीटो (पृ.४७), बिगारि (पृ.४५), बीच (पृ.४६,४९) रहीनन् (पृ.५२), फर्माइ, पनी (पृ.७२), माथी (पृ.७२), गित (पृ.४४), मिठा (पृ.२०,४७), सुतीरहेका (पृ.८०) पारिएको छ । यति गर्दा गर्दै पनि कतिपय स्थानमा लघु हुनुपर्नेमा गुरु र गुरु हुनु पर्नेमा लघु भएको भने देख्न पाइन्छ ।
यस खण्डकाव्यमा अनुप्रास अलङ्कारको बाहुल्य छ भने यथास्थान श्लेष, उत्प्रेक्षा, उपमा, रूपक आदि अलङ्कारहरू आएका छन् । अलङ्कार अलङ्कारका लागि नभएर काव्यका शोभावद्र्धक भएर आएका छन् । यिनले काव्यसौन्दर्य बढाएका छन् । केही उदाहरण–
(१९) अलीकती यो दुःखको कहानी ।
अलकिती यो सुखको उठानी । (पृ.१) अन्त्यानुप्रास
(२०) अली मियाँ हुन् दुःखका कहानी ।
पुगे पचासी छ हिया जवानी । (पृ.७) अन्त्यानुप्रास
यहाँ हरेक हरफका अन्तमा उही व्यञ्जनवर्ण दोहोरिएर अन्यानुप्रास अलङ्कार बनेको छ ।
(२१) सद्भाव साँचीकन बाँच्नु पर्छ ।
सदैव भन्छन् तर हाँस्नु पर्छ । (पृ.८) छेकानुप्रास
यहाँ उही ‘स’ व्यञ्जनवर्ण अनेक पटक दोहोरिएर छेकानुप्रास अलङ्कार बनेको छ ।
(२२) नाच्यौ नचायौ दुनिया हँसायौ
सुतीरहेका दुनिया उठायौ । (पृ.८०) वृत्यनुप्रास
(२३) भनौँ भनौँ झैं मनमा छ केही
लेखौँ कि लेखौँ मनमा छ केही । (पृ.७४) वृत्यनुप्रास
(२४) भाका मिलाईकन गीत पारो
हान्थे झटारो मनको चटारो । (पृ.६२) वृत्यनुप्रास
(२५) जे हुन्न भन्नै उहि भन्छ मान्छे
जे हुन्न गर्ने उहि गर्छ भान्छे । (पृ.१३) वृत्यनुप्रास
(२६) नौला सुनौला सपना सजाएँ । (पृ.४०) वृत्यनुप्रास
यहाँ उही व्यञ्जन वर्ण अनेक पटक दोहोरिएर वृत्यनुप्रास अलङ्कार बनेको छ ।
(२७) नानी र पानी अनि–काल बोके । (पृ.१५)
(२८) सुनाउँथे–नी–कट मित्रलाई
चुरा र पोते बिचको कमाई । (पृ.६२)
यहाँ शब्दमा श्लेष छ । (२७) मा अनि काल अर्थ र अनिकाल अर्थ दुवै अर्थ लाग्छ । (२८) मा सुनाउँथे नि कट मित्रलाई र सुनाउँथे निकट मित्रलाई गरी दुई अर्थ लाग्दछ । एउटा अर्थ टाढाको मित्र र अर्को अर्थ नजिकको मित्र भन्ने रहेको छ र शब्द श्लेष भएको छ । यस काव्यमा उत्प्रेक्षा अर्थालङ्कारको पनि प्रयोग भएको छ । एक उदाहरण ः
(२९) भाका मिलाई सुरिला स्वरैमा
घन्काउँथे गीत मिठा वनैमा
लाग्थ्यो चराले पनि गीत छोप्थे
उफ्रेर ती बाँदर नाच्न थाल्थे । (पृ.२०)
यसरी यहाँ सरल र सहज काव्यसौन्दर्य पाइन्छ ।

४. निष्कर्ष
प्रस्तुत अलिमियाँ खण्डकाव्यमा काव्यनायक अलि मियाँको जीवनका मुख्य–मुख्य सन्दर्भलाई कथ्यविषय बनाइएको छ भने त्यसलाई उपजाति छन्दमा कविताबद्ध गरिएको छ । माधव वियोगी स्वयम् कुशल काव्यस्रष्टा हुन् । एउटा स्रष्टाले अर्को अग्रज जीवित स्रष्टालाई काव्यनायक बनाएर रचना गरिएको प्रस्तुत काव्यले विशिष्ट स्थान राखेको छ । सम्भवतः यस खालको यो प्रथम खण्डकाव्य हो । मरेपछि सालिक बनाउनु भन्दा जीवित छँदै उसका बारेमा केही शोधखोज गर्नु, लेख्नु, सिर्जना गर्नु लेखकप्रति गरिने उपयुक्त सम्मान हुनसक्छ । यस्तै सुकार्य कवि वियोगीबाट भएको छ । यस सुकार्यका लागि पहिलो छनोटमा अलि मियाँ परेका छन् । गोठालो जाँदा, वनपाखा घुम्दा, पल्टन पुग्दा, घरव्यवहार बिग्रँदा, बन्दव्यापार गर्दा, मानसम्मान पाउँदा जहिले पनि लोकभाका टिपेर सिर्जना गर्ने र त्यसलाई लोकगायक झैंँ गाउँदै हिंँड्ने हुँदा अलि मियाँ लोककवि कहलाएका छन् । उनको जीवन सङ्घर्षमय छ । उनी लोकजीवनमा भिजेका छन् र उनी स्वयम् लोकका अङ्ग बनेका छन् । यस्ता चरित्रलाई काव्यका नायकमा छान्नु कवि वियोगीको चयनकौशल र विवेककौशलको परिचायक हो । अत्यन्त सरल र सुबोध भाषाशैलीमा यो खण्डकाव्य तयार पारिएको छ र सरल जीवनका काव्यनायक भएकाले होला खण्डकाव्य पनि सरल र सलल्ल बगेको छ । यस खण्डकाव्यमा सौन्दर्यचेत कम र काव्यनायकप्रति श्रद्धाचेत बढी छ । काव्यकलाभन्दा छन्दमोह बढी छ । कविले स्वीकार गरे झैंँ यहाँ एकै छन्द, एकै रस र एकै प्रवाह छ । यस खण्डकाव्यमा अलि मियाँ जस्ताको तस्तै उत्रेका छन् । यहाँ अलि मियाँ अलि मियाँ जस्तै देखिन्छन् । यही नै कवि वियोगीको काव्यवैशिष्ट्य हो ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 10 आसाढ, 2073

लेखकका अन्य रचनाहरु