चितवन तिरकाे छोटो प्याकेज टूर

- विक्रम सुब्बा

नेपाल अचेल टूरमय भएको छ । टूरहरूका प्याकेजमय भएको छ मुलुक । जताततै महोत्सव, आन्तरिक पर्यटन तथा घुमघामका प्याकेजहरूको खरिद विक्री चलेकाछन् । तेसो त 'सहमतीको महोत्सव'मा प्याकेज डीलका कुरा पार्टीहरू तथा सरकार पनि निरन्तर गरिरहन्छन् ।

प्याकेजको एउटा सानो 'टूर' गर्ने मौका मलाई पनि मिल्यो सन् २०१२को डिसेम्बर अन्तिम हप्ता । जसमा ४ महिलामाझ म सिरिफ एक्लो पुरुष । छोरी अदिती, श्रीमती हरिमाया, स्रद्धेय फुपु र उहाँकी एकजना नर्स साथी । बहाना थियो छोरीले - मानिसद्वारा पालिएका हात्तीका बारेमा गर्नु पर्ने सानो अध्ययन । उ केन्ट युनिभर्सिटी बेलायतबाट आएकि थिई । जसको निम्ती चितवन सौराहा जानु पर्ने र यसै बहानामा हामी पनि घुम्न जाने । र, हामी पुग्यौँ चितवन दुइ रात तीनदिनको प्याकेजमा ।

पुगेकै दिन ३ बजेतिर हामीलाई, कार्यक्रम अनुसार, थारु गाउँ घुम्न (Village walk) लगियो । एकजना थारु पथप्रदर्शकले नै हामीलाई बाटो देखाउँदै लगे । सौराहा नजिकै पर्ने गाउँतिर जहाँ थारुजातीका मानिस काम गरिरहेका, बसेर कतै छलफल गरिरहेका, कोही बाख्रालाई घाँस हालिरहेका, कोही गाईवस्तुको थान्कोमान्को गरिरहेका त कोही महिलाहरू खाना तैयार गर्नको लागि सागसब्जी केलाईरहेका देखिन्थे । मैले एकजनालाई कवि तथा गजलकार धनराज गिरीको घर पनि यतै कतै होइन? भनेर सोधेँ । जवाफमा 'उ….तेहीँनिर त हो नि!' भनेर देखइदिए । तर धनराज भाइलाई आज नभेट्ने र सिरीफ पर्यटक हुने निर्णय गरेँ ।

हामी अगाडी बढदै गयौँ । यो थारु गाउँ, एक किसिमले, पाँचथरतिरको कुनै लिम्बु गाउँ मधेशमा ओर्लेर थपक्क बसेको जस्तो थियो । त्यहाँ सुँगुर पनि पालिएका थिए, कुखुरा पनि पालिएका थिए, कुलो भएको ठाउँमा हाँस पनि पालिएका थिए । खेतमा लगाएको आलु निकाल्ने बेला भएको देखिन्थ्यो भने तोरी भर्खर फुल्न थालको थियो । बाटोको दायाँ बायाँ हिउँदे रायोको साग पनि देखिन्थ्यो । हरेक घरमा गाई-भैँसीका गोठ ।

यसरी गाउँ हेर्दै हिँड्दाहिँडदै हामी थारु म्युजियम पुग्यौँ । अर्थात म्युजियमजस्तै लाग्ने थारु गाउँ नजिकै बनेको “थारु म्युजियम ।“ म्युजियमको प्रागणमा थुप्रै मानिस जम्मा भएका थिए । ३-४ जना विदेशी अनुहार पनि बेन्चमा बसेका थिए । 'के हो?' भनेर बुझ्दा सहकारीको बैठक रहेछ जसमा सहयोग गर्ने विदेशीहरूलाई सम्मान गर्ने पनि कार्यक्रम रहेछ । मलाई यो देखेर दिक्कै लाग्यो । आफु-आफु मिलेर चलाउँनु पर्ने 'सहकारी'मा पनि विदेशी अनुहार? तेसो त कैयौँ विदेशी केटीले थारु केटालाई विहे गरेर 'उतै' लगेका पनि छन्’रे भनेर सुनियो । सहकारीको बैठकमा धेरैजसो पुरुषहरू देखिँदा लाग्यो 'थारु समाज पनि पुरुष प्रधान' हिन्दु परम्पराबाट ग्रस्त रहेछ । नत्र जनजातीहरू समतावादी (Egalitarians) हुन् भन्ने गरिन्छ जहाँ ठूलो जात, सानो जातको अवधारणा हँदैन र महिलाहरूको पनि हरेक कार्यमा समान सहाभागिता हुने गर्दछ ।

पथप्रदर्शकले टिकट काटिसकेर थारु म्युजियममा पस्ने ईसारा गरेपछि हामी भित्र पस्यौँ । गाउँले म्युजियममा थारु जीवन चक्रका केही झलकहरूलाई चित्रमा, केही मूर्तिका रुपमा र केही सामग्री नै राखेर चिनाउँने तीन विधी अपनाईएको रहेछ । जस्तै: महाराजजीको पुजा गरिरहेको दृश्य भित्ताको चित्रका रुपमा बनाएर राखेको थियो भने, 'गोरु गाडा' चिनाउँन गोरु गाडा नै राखेर देखाइएको थियो । त्यहीँ माछा मार्ने जाल, ढोडिया र मारेको माछा राख्ने ढकिया वा फुर्लुङ पनि टाँगेर देखाइएको थियो भने मानिस मर्दा कसरी रुने गर्दछन् भन्ने कुरा बुझाउँन चित्रमा देखाइएको थियो । घरमा आगो बालेर खाना पकाउँदै गरेको भान्सा घर देखाउँन सानो घर (Miniature) र मानिसका मूर्ति नै बनाएर देखाईएको थियो । तेस्तै गरेर थारु जातीका परम्परागत भाँडाकुँडा (Utensils) हरू नै राखिएका थिए जसमा भात पकाउँने र तिहुन पकाउँने भाँडा फरक थिए भने भात पस्किने पन्यु र तिहुन पस्किने डाढु फरक थिए । यसबाट भात र तिहुन छुट्टै पकाएर खाने चलन रहेछ भनेर बुझिन्थ्यो भने थालसँग स-साना प्लेटहरू वा बटुकाहरू देखिएन । यसबाट एउटै थालमा भात, तिहुन, तरकारी र अचार हालेर खाने चलन रहेछ भनेर पनि बुझिन्थ्यो । तेसै गरेर थारुहरूको मानव चित्रमा पुरुषले कछाड, भोटो र शिरमा फेटा गुथेका थिए भने महिलाको घाँघर-चोली पनि धेरै छोटा र खुला किसिमको पहिरेको देख्दा गर्मी हुने मधेस सुहाउँदो पहिरन लगाएको थाहा पाइन्थ्यो । माटोले लिपेर बनेको घर जंगल छेउमा देख्दा थारु जाती पनि जंगल वा प्रकृतीसँग नजिक रहँदै-बस्दै आएको सजिलै अनुमान लाग्दथ्यो ।

सामान्य गाउँ घुमाएर र जनजीवन देखाएर पनि पर्यटकलाई केही आकर्षण दिन सकिँदो रहेछ । म्युजियम हेरिसकेपछि हामीलाई एउटा ताँगा घोडामा चढाएर फर्काईयो । छिटो छिटो पुग्नु पर्छ’रे । किनभने अब हामीलाई घाम-डुबान (Sun set) देखाउँने’रे । हामीलाई ताँगाले कुदाएर नदी किनार त पुर्‍यायो तर घाम-डुबान (Sun set) हेर्ने बेला गुज्रिसकेछ । तेसैले हामीले घाम-डुबान (Sun set) हेर्न पाएनौँ । मलाई यहाँ निर आएर छक्क लाग्यो कि घाम डुबेको दृश्य पनि पर्यटकीय आकर्शण (Tourism product/Tourism attraction) हुन सक्ने रहेछ । घाम डुबेको दृश्य देखाएर केही क्षण बियरसित मजा लिएर पनि पर्यटकहरूको बसाई (Tourist stay) समय लम्ब्याउँन सकिने रहेछ । तेसो त पहिलो पटक दार्जिलिङ जाँदा टाइगर हिल जानु पर्छ घाम झुल्केको (Sun rise) हेर्नु पर्छ भन्ने सुनेको थिएँ । पछि जब एकपल्ट म आसाम-मेघालय पुगेँ त्यहाँ पनि चेरापुँजीको पहाडबाट बांग्ला देशको समुद्रमा घाम अस्ताएको र घाम झुल्केको देखाएर पर्यटकहरूलाई एकदिन त्यहीँ बसाउँने गरिएको बुझेको थिएँ । तर यो घाम डुबेको र निस्केको दृश्य हेरेर रोमान्चित म कहिल्यै भईन । तेसैले आज घाम डुबेको दृश्य हेर्न नपाउँदा मलाई कुनै पछुताउ नै भएन । हामी नदी किनारबाट हिँड्दै होटल आइपुग्यौँ । खाना तैयार रहेछ । खाना खाएर हामी थारु साँस्कृतिक कार्यक्रम हेर्न जानु पर्ने प्याकेजमै थियो ।

थारु साँस्कृतिक कार्यक्रम हेर्न हलमा हामी पस्यौँ । अचम्म ! हलमा थुप्रै चिनिया पर्यटकहरू देखिए र गोरा अनुहार भएका पर्यटक एकदमै कम देखिए । गोरा अनुहार मात्र 'पर्यटक' भनि ठान्ने 'नेपाली पर्यटन'को परिभाषा नै फेरिएजस्तो लाग्यो । नभन्दै मन्चमा ज्ञावाली थरका उदघोषकले 'नमस्ते' 'गुड ईभनिङ' एण्ड 'नी हाव!' भनेर कार्यक्रम सुरु गरे । चिनिया पर्यटक धेरै भएर नै होला 'नी हाव!' पनि सुनियो । यहीँनिर आएर अर्थ-राजनीति (Political economy) को कुरा याद भयो । अर्थात जसको 'शक्ती' र 'अर्थ'ले गुजारा चल्छ 'उसैको कुरा (Agenda)' समाजमा र दुनियामा चल्छ । जसरी नेपालमा खस राजा पृथ्वी नारानले जिते पछि 'दर्शन' चल्यो; जसरी नेपालमा सन् ६० पछि अमेरिका विकास सहयोगको नाममा नेपाल पसेपछि र 'हिप्पी'हरू नेपाल पसेपछि 'गुड मर्निङ' भित्रियो; पञ्चायत कालदेखि 'नमस्ते' चल्यो; जसरी अचेल 'लिम्बुवान', 'ताम्सालिङ' जागेपछि नेपालभरी 'सेवारो' र 'फ्याफुल्ला' निकै चलेकाछन् । चितवनमा पनि चिनिया 'अर्थ'ले पर्यटनमा बलियो उपस्थिती जनाएपछि चिनीया भाषाको 'नी हाव!' पनि नत्थि भएर आउँने नै भयो ।

थारु साँस्कृतिक कार्यक्रमले पनि थारु जनजीवनकै कुरा पेश गरेको थियो । कुनै जमानामा थारुहरुले जंगलका बाघ-भालुबाट सुरक्षित रहन गाउँको सुरक्षा गर्ने गरेका रहेछन् जुन उनीहरुले नृत्यमा देखाए; तेसै गरेर जनावरको सिकार गरेर आफ्नो खानामा मांस (Animal protein) आपूर्ति गर्ने गरेका रहेछन् सो कुरा सामुहिक रुपमा गरिने सिकार नृत्यमा देखाए; लिम्बु जातिमाजस्तै थारु समाजमा पनि मरौ परेको घरमा गाउँभरिका मानिस राती जम्मा भएर ख्याल ठट्टा गरी शोकलाई भुलाउँने वा न्यून गर्ने गर्दा रहेछन् सो कुरा हास्य-व्यंग्यको प्रस्तुतीमा देखाए; जंगलको छेउछाउ बसोबास गर्ने भएपछि प्रकृतीको सुन्दरताबाट थारु जाति मोहित हुने नै भए सो कुरा उनले मयुर नृत्यबाट देखाए; एउटा नृत्य लाठी नृत्य पनि प्रस्तुत भयो जुन नृत्य हेर्दा जवान युवा-युवतीहरूको उर्जालाई अनुसाशित गर्नको लागि खेल्ने खेलको आभास दिन्थ्यो; नृत्यमा धान थन्क्याएपछि महिलाहरू खुशीसाथ गाउँदै नाचेको पनि सामेल थियो र अन्तमा Happy ending भनेर दर्शक समेतलाई नाच्न आह्वान गरियो । जसमा 'गोरा'हरू अघि सरेर नाचि हालेको र चिनिया पर्यटकहरू अलि धक मानेको देखियो । साँस्कृतिक कार्यक्रममा थारु पुरुषभन्दा महिला २-३ जना बढी रहेको पनि देखियो । आफ्ना सँस्कृतिक धरोहर जे छ त्यही पेश गरेर पनि पर्यटकलाई मनोरन्जन दिन सकिँदो रहेछ ।

दोस्रो दिनको प्याकेजको पहिलो आइटम थियो हात्ती-जंगल सफारी (Elephant riding) जाने । यसको निम्ती बिहान छिट्टै उठेर खाजा खाएर हात्ती चढ्ने ठाउँसम्म पूर्ण चौधरीको गाडीमा जानु पर्ने । चिसो बिहान । ज्वाइन्ट पेन भएकी श्रीमती र वृद्ध फुपुलाई पिकअप गाडीको क्याविनको फ्रन्ट सीटमा राखेर छोरी अदिती, म र अन्य पछाडीको खुला सीटमा बसेर गयौँ । चार-चारजना एउटा हात्तीको हौदामा बस्नु पर्ने भएकोले हामी पाँच जना मध्ये म अर्को एउटा हात्तीमा विदेशीहरूसँग परेँ । हात्तीको नाम रामकली । हामीलाई लिएर हात्ती अघि बढ्यो । सानो देखिने तर गहिरो खोला तरेर पस्यो हात्ती बाघमारा सामुदायिक वनमा । 'सामुदायिक वन'मा हात्ती सफारी? गजब लाग्यो । हात्ती चढेर वन-जंगल मात्र हेर्ने कुरो भएन । त्यहाँ त थुप्रै वन्यजन्तु लगायत बाघ, गैँडा र मजुर र सुन्दर चरा-चुरुङ्गी पनि देखिएलान् भन्ने आकर्षणयुक्त अपेक्ष्या हुन्छ । तर त्यस किसिमको आकर्षण समेत दिन सक्ने 'सामुदायिक वन' भन्ने सुन्दा गज्जब लाग्यो । सामुदायिक वनमा पर्यटनलाई समेत एकिकृत गरेर आय आर्जन गरेको देख्न पाइयो जुन एक नमुना हो । छन त सरकारी जंगल पनि रहेछ र त्यहाँ बाघ समेत देख्न सकिने संभावना पनि बढी रहेछ । तर सरकारी जंगल र सरकारी हात्ती चलाउँने 'तरिका' पनि झ्याउलाग्दो व्युरोक्रेटिक भएकोले होटलवालाहरू धेरै गेष्टलाई यही 'सामुदिक वन'मा लैजाँदा रहेछन् । छन पनि सरकारी निकुञ्जको भन्दा हात्ती नीजि नै धेरै रहेछन् । हात्ती नै पालेर आर्थिक उपार्जन समेत गर्ने परम्परा पनि शायद नेपालमा यहाँ मात्र होला । त्यसो त वर्षको एक पटक 'हात्ती पोलो' समेत गरेर वा कतै महोत्सव भए हात्ती चढाएर-घुमाएर पनि हात्तीहरूलाई आय आर्जनको कार्यमा लगाएकै छन् यहाँ ।

जंगलभित्र पस्दै गएपछि सुरुसुरुमा गाउँ नजिकैको जंगलमा छु जस्तो लाग्दै थियो । चरा-चुरुङ्गी धेरै देखिए-सुनिए । ठाउँठाउँमा 'माकियामाकारान्था' नामक झार पनि देखियो । यो झारले अलग्गै बसेको रूख देख्यो भने त्यसमा चढेर बेर्दै लछप्पै छोप्दो रहेछ र रुखलाई मारिदिँदो रहेछ । स्थानिय भाषामा यसलाई 'वनमासा' भन्दोरहेछन् । 'वनमासा' भन्ने शब्द सुन्दा पूर्व नेपालतिरको 'वनमारा' भनिने विरुवाको याद आयो । र, धेरै अघि, पञ्चायतको बेलामा, एकपल्ट ओखलडुंगाको गाउँमा भाषा सर्भेक्षणको सिलसिलामा पुग्दा उक्त 'वनमारा'लाई स्थानिय पञ्चहरूले 'कांग्रेसी झार' भनेको पनि सम्झेँ । किन 'कांग्रेसी झार' भनेको? भनेर सोद्धा 'यो झार केही काम लाग्दैन तर जताततै फैलिन्छ । कांग्रेस पनि तेस्तै छन् । केही काम लाग्दैनन् तर जतासुकै फैलिन्छन् । तेसैले कांग्रेसी झार भनेको' भनेर जवाफ पाएको थिएँ । सो सम्झेँ । यत्तिकैमा हात्ती रोकियो र माहुतेले हामीलाई टाढा देखायो - एउटा भालु देखायो । भालु नाथे त हो । तर यहाँ बडो गजबको Tourism attraction बनेको थियो ।

भालुलाई चिडियाखानामा देख्दा र जंगलमा देख्दा अर्कै आकर्षण हुँदो रहेछ । अर्थात चिडियाखानाको भालु त भालु होइन बरू 'एक कैदी प्राणी' हो । विचरो कैदी त कैदी नै हो, के को आकर्षक हुनु? तर कैदी भएपनि सद्दाम हुसेनलाई फाँसी दिने बेलाको दृश्य देखाएर न्युयोर्कदेखि काठमाण्डु सम्मका लाखौँ टिभी च्यानलहरुले करोडौँ कमाए । जे मा पनि पैसा कमाउँने अक्कल केवल हरामी पुँजीवादले निकाल्दो रहेछ । सद्दामलाई खोज्न जापान, युरोपेली मुलुकहरू र अष्ट्रेलिया समेतलाई Allies बनाएर अमेरिकाले करोडौँ डलर कमायो । हुँदा हुँदा सद्दामलाई फाँसी दिन लागेको दृश्य देखाएर पनि अमेरिकाले नै बढी पैसा कमायो । अमेरिका अर्थात पुँजीवाद भनेको यस्तो प्राईबेट हस्पिटलजस्तो हो जुन हस्पिटलमा 'क्यान्सर'ले मर्छ भन्ने थाहा भइसकेको मानिसबाट समेत 'उपचार'को ताहुर-माहुर गरेर पैसा कमाउँछ । फेरि माउतेले हात्ती रोक्यो र टाढा घाम तापीरहेको खरानी रंगको एउटा गैँडा देखायो । सबैले क्यामरा निकालेर फोटो खिचे । दुर्पिन निकालेर पनि कोही हेर्न थाले । छोरी अदितीले पनि फोटो खिची । जंगल हेरेको – एकदम घना रहेछ । बाक्लो जंगल । साँच्चै जंगलजस्तो देखेँ । अग्ला अग्ला रुख र लटरम्म हाँगा र स्वस्थ्य पातले ढाकिएको । यसरी क्यानोपी कभरेज राम्रो भएकोमा माकियामाकारान्थाले पनि आक्रमण गर्न नसक्दो रहेछ । आक्रमण गर्नेले जहिले पनि 'कमजोर नब्ज'मा प्रहार गर्दो रहेछ भन्ने कुराको अर्को प्रमाण मिल्यो ।

फेरि हात्तीहरू लम्किँदै अघि बढे । एउटा खुला ठाउँमा हात्तीहरू पुग्दा त्यसको एक छेउमा ३ वटा गैँडा एकै ठाउँमा देखिए । हामी हात्तीमा बसेका सबै दंग । गैँडाहरू पनि अलिअलि तर्सेझैँ हामीलाई हेर्दै दंग । हात्तीहरू उभिन पाएर दंग । २-३ वटा जंगली कुखुरा पनि देखिए । चरा-चुरुङ्गी त जताततै बोलि-गाइरहेकै थिए । सबैले गैँडाहरू ताकेर क्यामेरा बजाए, फोटो आयो त होला । यो बेला कुनै कथा पढ्दापढ्दै क्लाइमेक्समा पुगेजस्तो भयो । तेसपछि माहुतेहरूले हाम्रा ६ वटा हात्तीहरू अघि बढाए । आधाघन्टामा जंगल छिचोलेर हामी बाहिर निस्क्यौँ । तर घना जंगलको घनत्व म भित्र बसिरह्यो । आफन्त भेटेर छुटेपछि बाटोभरि र घर पुग्दा पनि संगैछु जस्तो लागेजस्तै जंगल म भित्रै छजस्तो लागिरह्यो । खोला तरेर हामी हात्ती चढेको ठाउँमै उत्रियौँ । त्यहाँ आफुले चढेका हात्तीहरूलाई केरा किनेर खुवाउँने चलन रहेछ । छोरी अदिती र मैले २ कांगियो केरा किन्यौँ । सबैले हात्तीलाई केरा खुवायौँ ।

तेसपछि हामीलाई गाडीमा राखेर लगियो । हात्तीहरू अर्कोबाटो आए र Elephant bathing गर्ने नदीको किनारमा भेट भयो । त्यहाँ त हात्तीहरूले पीठमा चढेर बसेका मानिसलाई आफ्नो सुँढले पानी तानेर छ्यापेर नुहाइदिँदा रहेछन् । त्यसैलाई Bathing भनेका रहेछन् । हेर्दा हेर्दै हात्तीले ४-५ पटक पानीले छ्यापेपछि हात्ती पानीमा बसेर कोल्टे परिदिँदो रहेछ र ढाडको मानिस पानीमा छपलङ्गै खस्दो रहेछ । रमाईलो । यसैमा बहुतै रमाईलो ! पर्यटकहरूलाई यो बडो रमाइलो हुँदो रहेछ । यही रमाईलोमा २ घण्टा बितिहाल्दो रहेछ । छोरी अदिती पनि हात्तीमा चढी । Elephant bathing कै लागि लुगा किनेर उ तैयार थिई । हात्तीले ३-४ चोटि सुँढले पानी तानेर चिसो पानी छ्यापिदियो र खोलाको पानीमा छपलङ्गै लडाईदियो । क्या रमाइलो ! अरुले पनि हात्तीको नुहाइदिने कामलाई गणेश भगवानले नुहाइदिए भाग्य खुल्छ भन्दै नुहाए । म त रमिते । रमिते पनि त पर्टकै हो ।

प्याकेज अनुसार तेसपछि दिउँसोको खाना, खानापछि क्यानोइङ अर्थात मुडा कोपेर बनाएको डुँड (नाउ)मा चढेर बुढी राप्ती खोलामा सललल ओरालै ओरालो वारी पारी घाम ताप्न बसेका किङफिशरजस्ता चराहरु हेर्दै, नदीले ठाउँठाउँमा माटो तानेर झारेको, किनारतिर पानीले खेतीपातीको लागि ज्यान भरेको स-साना फाँट हेर्दै जाने । थुप्रै गोही र केही घडियाल पनि नदी किनारमा घाम ताप्न बसेका देखिए । फेवा तालको थुप्रै मानिस बोक्ने नाउभन्दा सानो डुँडमा बसेर यात्रा गर्दा छुट्टै आनन्द लाग्यो । यसरी रमिता हेर्दै हामी डुँडबाट उत्रिनु पर्ने ठाउँ पुग्यौँ ।

तेसपछिको आइटम हो Jungle walk. हमी १ घण्टा जति सालका रुखहरूको जंगलमा हिड्नु पर्ने । हिँड्नु पर्छ भनेर फुपु र मैले होटलबाटै लट्ठी बोकेका थियौँ । लट्ठी काम लाग्यो । हामी फुपु-भदा सबैभन्दा पछि विस्तारै सुख-दु:खका गफगर्दै हिँड्यौँ । फुपुले आफ्नो लाहुरे श्रीमानसँग घुमेका अनेक मुलुकका अनुभव सुनाउँनु भयो । हङकङ, मलाया, ब्रुनाई, बेलायत, आदि । मानिस जहाँ पुगेपनि कर्म गरेरै खानु पर्ने बुझेको कुरा पनि फुपुले भन्नु भयो । भाग्यले गर्दा अहिलेसम्म घरपरिवारमा राम्रै भएको कुरापनि गर्नु भयो । र भन्नुभयो 'अब त हाम्रो उमेर पनि गइसक्यो । अब त छोराछोरी र नाती नातेनाले घरसंसार चलाउँने हो । हामी त तिनलाई आशिर्वाद दिँदै बस्ने मात्र हो ।' यत्तिकैमा हामी Jungle walk सकेर Jungle बाहिर Elephant breeding center पुग्यौँ ।

अग्ला-अग्ला छाना भएका कटेरामा ठुल्ठुला खम्बामा पोथी हात्तीहरु बाँधिएका थिए । हात्तीका बच्चा पनि आमाहरुसँगै देखिए । ती मध्ये एउटी पोथी हात्तीसँग उत्रै-उत्रा छावा देखिए । सोद्धा थाहा भयो ती जुम्ल्याहा रहेछन् । साढे चार वर्ष पहिले जन्मेका । 'हात्तीले पनि जुम्ल्याहा बच्चा जन्माउँछन् र?' भनेर सोद्धा छोरी अदितीले भनी 'संसारको ईतिहासमै यो पहिलो हो ।' नेपालमा जुम्ल्याहा छावा जन्मेपछि ३ वर्ष अघि अफ्रिकामा पनि जुम्ल्याहा छावा जन्मेको रेकर्ड रहेछ । छोरी अदितीको (Animal Science) अध्ययनकै निम्ती केही कुराहरु सोध्नु पर्ने थियो । हात्तीहरूको रेखदेख गर्ने कर्मचारीहरुसँग प्रश्नहरू गर्न थाल्यो अदितीले । म सिरिफ स्रोता । जंगली भाले हात्ती आएर कहिले काहीँ पोथी हात्तीलाई लिएर गईदिँदो रहेछ । तेसबेला कर्मचारीहरू बडो लाचार हुँदा रहेछन् । हात्तीहरू कुनबेला रिसाउँने हुन् थाहै नहुँदो रहेछ । अहिले सम्म तीनजना माहुतेलाई हात्तीले सुँढले समातेर भुइँमा पछारेर खुट्टाले कुल्चेर मारिसकेका रहेछन् । सुन्दै आङ जिरिङ्ग भयो मेरो ।

यसै Breeding center मा जन्मेका हात्तीहरु सौराहाका होटलवालाले किनेर लैजाँदा रहेछन् र कमाउँने साधन बनाउँदा रहेछन् भन्ने कुरा पनि यहीँ थाहा भयो । तर मेरो दिमागमा जुम्ल्याहा छावा कसरी जन्मे? भनेर प्रश्न घरिघरि आइरह्यो । हाम्रो पथप्रदर्शकलाई सोद्धा 'जलवायु परिवर्तनको प्रभावले गर्दा यस्तो भएको भन्छन्' भनेर पन्सियो । जवाफले म रत्तिभर सन्तुष्ट भईन । बेलुका होटलमा छलफल गर्दा अरु पनि छलफलमा सामेल भए र एकजनाले भने 'माकियामाकारान्थाको घाँस खाएका बाख्राहरूले धेरै पाठा पाठी मात्र जन्माएको देखिएको छ । शायद हात्तीले पनि माकियामाकारान्था खाएर जुम्ल्याहा बच्चा जन्माएको हो कि भनेर हाल अनुसन्धान भइरहेछ' रे ।

अन्तिम दिन । फर्कने दिन । अरु सबैजना बाटोको रमिता हेर्दै गाडीमा काठमाण्डु फर्किने । म, स्वस्थ्यले गर्दा, हवाइजहाजबाट फर्किने व्यवस्था थियो । गाडीमा जानेहरू बिहान सबेरै हिँडेपछि म केही समय होटलमै एक्लै बस्नु पर्ने भयो । एक्लै बस्दा, हात्ति चढेर घुमेको जंगल मभित्र घनिभूत भएर छँल्कियो । म कविता लेख्न बसेँ:

वनवुद्ध

वनैवनको वनविहारमा हालै आफु मस्त हराएको सम्झन्छु
गज-सवार लस्किँदै रोमान्चक नदी तरेको सम्झन्छु
उड्दो मनले चील भएर अम्वरमा बाँकटे हानेको सम्झन्छु
आशाहरू सजीव हाँगा र पात-पातमा झुलेको सम्झन्छु
खुशीको मुजुर-प्वाँखहरू वृक्षाँगन ढाकेर नाचेको सम्झन्छु
विश्वासको गैँडा शान्त हिलोमा कमलझैँ निस्केको सम्झन्छु
रहरजस्ता लहराले अग्ला वृक्षका छातीमा उक्लेको सम्झन्छु
कानमा जंगलको घनघोर शान्त-सिंफोनी उर्लेको सम्झन्छु
जिज्ञासु कोइलीले मायाका दीव्य प्रश्नहरू सोधेको सम्झन्छु
बिना हल्ला जवान सूर्य जंगल छिरेर फुल-पात चुमेको सम्झन्छु
मनको बलियो बाघ शान्त-वन-सिंहासनमा सुहाएको सम्झन्छु
शुभकामनाहरू क्षणक्षण पिपल-पातमा फर्फराएको सम्झन्छु
मेरो सङलो आशिर्वाद चारैतिर खोल्सीहरूमा बगेको सम्झन्छु
भित्र-भित्र उमंगहरू सितल-सरगममा बजेको सम्झन्छु
मनका भरोसाहरू रानी-तलाउमा चंचल-चंचल नाचेको सम्झन्छु
छाँया-माँयाका जराले जमिन बेस्सरी समाएकाछन्, हर वनवुद्धभित्र
तपोवनको यही शान्त योग-ध्यान-ज्ञानको दिक्षान्त चलिरहोस् ।

पुरन चौधरीले हाँकेको गाडीमा म समयमै एयरपोर्ट पुगेँ । त्यहाँ मित्र ईश्वरी नेउपानेजी भेट भए । उहिलेदेखिनै Socio-economic impact study गर्ने काममा लागेका नेउपानेजी यसपल्टपनि विश्वबैँकको Asian sub-regional highway (Delhi to Beijing?) को मुगलिङ खण्डको Socio-economic impact study गर्ने काम सकेर फर्केका रहेछन् । मुगलिङका मानिसले १८ मिटर चौडा बाटो बनाउँनै मानेनन् रे । ११ मिटर चौडा मात्र बनाउँने 'हाल' सहमती भयो रे ।

'यसरी जति भन्यो उतिमै सम्झौता गरेर पनि Regional high way बन्छ त? विश्वबैँकले मान्यो त?' मैले सोधेँ ।

'हाललाई मान्यो । केही वर्षपछि १८ मिटर नै चौडा गर्ने शर्तमा!, के गर्ने? नेपाली सोचाई र बानी बेहोरा नै विकास विरोधी छ' भनेर नेउपानेजीले भने ।

त्यसपछि हामी मुलुकको अवस्था, महँगी र बेरोजगारी, सबै जनशक्ती विदेश गएर मुलुकै खाली भएको कुरा गर्दै बस्यौँ । नेउपानेजीले छोरा र बुहारी दुबैजनालाई प्रति व्यक्ती लाखौँ लगानी गरेर MBBS गराईसकेछन् । मैले 'बधाई' दिएँ । उनले भने 'के को बधाई नि!? अब तिनलाई MD गराउँनु नै छ । MD गराउँन त पहिलेभन्दा पनि धेरै लाग्ने रहेछ । MD नगरे सम्म त MBBS भनेको Medical को पहिलो तह मात्र रहेछ । कसैले नपत्याउँने । अब घरखेत सबै बेच्नु पर्ने भएकोछ ।' हामी हाँस्दै हवाइजहाजमा पस्यौँ । जहाज काठमाण्डुतिर उड्यो ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 10 आसाढ, 2073

लेखकका अन्य रचनाहरु