सूत्रकथाको परिचय र यसको अभिलक्षण

- कुमार काफ्ले

कथा मानवजीवनसित सर्वाधिक सन्निकट रहेको वाङ्मयको प्राचीन र लोकप्रिय विधा हो।कथाका विभिन्न वर्गीकृत रुपमध्ये सूत्रकथा सबैभन्दा कनिष्ठ प्रविधाको रुपमा साहित्यकाशमा उपस्थित भएको पाइन्छ।सूत्रकथा शब्द नेपाली कथा साहित्यको सन्दर्भमा प्रयुक्त कथा विधाको एक प्रविधा हो।सूत्रकथामा कथाका आवश्यक तत्वहरू सूत्रात्मकरुपमा उत्कर्षोन्मुख अवस्थामा समाहित भएर रहेका हुन्छन्।जुनसुकै विधाका पनि आफ्नै रुप र आकारप्रकार हुन्छन्।काव्य विधामा वृहतम् काव्यदेखि महाकाव्य,खण्डकाव्य,फुटकर कविता,मुक्तक बन्दै आएको स्थिति जस्तै आख्यान विधामा पनि उपन्यास,नाटक,एकाङ्की,कथा,लघुकथादेखि परिवर्तित हुदैं आइपुगेको रचना विशेषको नाम हो सूत्रकथा।काव्यको क्षेत्रमा मुक्तक कविताको एउटा स्वतन्त्र प्रविधा भएजस्तै आख्यान विधाको स्वतन्त्र प्रविधा हो सूत्रकथा।यसै आधारमा सूत्रकथाको पहिचानलाई निरुपण गर्नु उपयुक्त देखिन्छ।

सूत्रकथा सूक्तिमय,सूत्रात्मक,शुरु,मध्य र अन्त्यको सटीक मेल,पात्र र परिवेशको सामन्जस्यता,भाषिक तरलता,शैल्पिक सहजता,संरचनात्मक कलात्मकता,कथनगत विश्वसनीयता,कथ्यको छरितोपन तथा कसिलोपन र अनुभूतिमा तीक्ष्णपन रहने पन्ध्र बीस पङ्क्तिभित्र रचिने,थोरैमा धेरै व्यक्तिने आख्यानको सशक्त प्रविधा हो।
चालीसको दशकमा आख्यान पुरुष डा.ध्रुवचन्द्र गौतमले सूत्रपात गरेका र प्रयोगवादी स्रष्टा अमर त्यागीले सूत्रकथा संग्रह नै प्रकाशन गरेर अगाडि बढाइएको सूत्रकथा साहित्यको सुन्दर र चोटिलो कथाको प्रविधाको रुपमा स्थापित भइरहेको छ।

सूत्रकथाका अपेक्षित तत्वहरू

कथावस्तु: कथामा जस्तै सूत्रकथामा पनि कथावस्तु/कथानकको मुख्य भूमिका रहन्छ तर कथाको तुलनामा सूत्रकथामा वस्तुको प्रभावकारिता,जीवनसापेक्ष र ग्रहणीयता तीक्ष्ण र तीव्र हुनुपर्छ।कथावस्तुको आयतन सङ्क्षिप्त,ठोस र मर्मसंवेदक हुनुपर्छ।कथानक मानवीकरण र गतिमान,गतिशील र वेगवान् हुनुपर्छ।
पात्र: पात्र र चरित्रको सङ्ख्या सीमित हुन्छ तर हृदयमा तरङ्ग र झङ्कार उत्पन्न गर्न सक्ने किसिमको हुनुपर्छ।
परिवेश: कथावस्तुको आधारभूमि भनेकै परिवेश हो।सूत्रकथाको परिवेश कथाको सापेक्षतामा सङ्क्षिप्त र सीमित हुन्छ यद्यपि मूलकथालाई उत्कर्षमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्छ।
द्वन्द्व र कौतुहलता: भोक्ताले भोगेका सम्पूर्ण पक्षहरू उत्कर्षसम्मका क्षणलाई द्वन्द्वले समेटेको हुन्छ।यो द्वन्द्व कहिले पात्रको अन्तरसंघर्षको रुपमा देखिन्छ भने यसको विकास अत्यन्त गतिशील,वेगवान् र तीव्ररुपमा निष्कर्षतिर बढेको हुन्छ।कथामा जस्तै सूत्रकथामा पनि पाठकलाई रचना पठन कार्यमा अग्रसर गराउन कौतुहलता अनिवार्य हुन्छ।सङ्क्षिप्त आयतनको सूत्रकथामा कथाको आरम्भदेखि उत्कर्षमा आरोहित भएर चरमबिन्दुसम्म पुग्ने हुदाँ यसमा कुतुहलताको प्रबल भूमिका रहन्छ।

सूत्रकथामा सूक्तिमयता र सूत्रात्मक रुपमा सीमित र तीव्र प्रभावोत्पादक अनि लामो विषयवस्तुबाट मुक्त र एकोन्मुख हुन्छ।पात्र र परिवेश सीमित हुन्छ।द्वन्द्व उत्कर्षोन्मुख बिन्दुबाट आरम्भ भइ यथाशीघ्र चरमोत्कर्षमा प्रवर्तित भएको हुन्छ।कथा भएर पनि कथाभन्दा भिन्न हुनु नै सूत्रकथाको मूल अभिलक्षण हो।आख्यानको लघुतम रुप लघुकथा र सूत्रकथालाई कविताको प्रभेद मुक्तकसँग तुलना गर्न सकिन्छ।उत्तरोत्तर पङ्तिहरू क्रमशः उत्कर्ष हुदैं जानु,अन्तिम वाक्य वा सूत्रपङ्तिले रहस्यको पटाक्षेप गर्नु छरितो/कसिलो सूत्रात्मक अभिव्यक्ति हुनु सूत्रकथाका प्रमुख अभिलक्षण हुन्।सूत्रकथाका मुख्य र मानक अभिलक्षणलाई निम्नानुसार देखाउन सकिन्छ।
-सूत्रकथा सूक्तिमय हुन्छ।
-यसमा सिङ्गो कथानक सूत्रात्मकरुपमा व्यक्तिन्छ।
-विषय र आख्याननको अत्यल्प र सूत्रात्मक प्रतिपादन हुन्छ।
-आख्यानसापेक्षरुपमा अनुभूतिको एक झोक्का उत्पन्न गराउँछ।
-आदि,मध्य र अन्त्यको सुन्दर संयोजन र सटीक मेल हुन्छ।
-पात्र,चरित्र र परिवेशको समुचित सामन्जस्य रहन्छ।
-विम्बात्मक र प्रभावोत्पादक हुन्छ।
-सङ्क्षिप्तता,सूक्ष्मता र वर्णनमा सीमितता हुन्छ।
-न्यून पात्र र परिवेशको चित्रण हुन्छ र अनुभूति तीव्र,रोचक र गत्यात्मक हुन्छ।
-संरचनात्मक कलात्मकता र कथनगत विश्वसनीयता रहन्छ।
-आकस्मिक अन्त्य र यसमा कौतुहल जगाउने सामर्थ्य हुन्छ।

समापन
सूत्रकथा लेखनको इतिहास त्यति लामो नभए तापनि छोटोे समयमा हृदयलाई झङ्कृत गराउन सक्ने र मनमा तरङ्ग ल्याउन सक्ने सामर्थ्य भएकाले यसप्रति साहित्यकार र पाठकहरूको झुकाव निरन्तर बढ्दै गइरहेको छ।अहिलेको व्यस्तताबीचमा समेत छोटो समयमा सजिलै अध्ययन गर्न सकिने भएर पनि सूत्रकथाको लोकप्रियता दिनानुदिन बढ्दै गइरहेको छ।सीमित आयतनको भए तापनि यसले पार्ने प्रभाव भने चीरकालसम्म रहन सक्छ र मानव मनलाई उद्वेलित बनाउन सक्षम हुन्छ।अन्य विधा र प्रविधामा झैँ यसमा पनि विषयवस्तु चयन र भाषाशैलीमा नवीनता,सचेततापूर्वक सजगता अपनाएर समाजको सकरात्मक परिवर्तनको लागि सूत्रकथाको सिर्जना गर्न सकेमा र अध्ययनशील तथा पठन संस्कृतिको विकास गर्न साहित्यिक संस्थाहरूले यसबारेमा सूत्रकार्यशाला एवम् सूत्रसंगोष्ठी आयोजना गर्ने,साहित्यिक पत्रपत्रिकाले उचित स्थान दिने,विशेषाङ्क प्रकाशन गर्ने कार्य गर्न वान्छानीय देखिन्छ।

ओखलढुंगा।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 10 आसाढ, 2073

लेखकका अन्य रचनाहरु