कस्तूरीको अनभिज्ञता

- प्रा. डा. के.आर. खम्बू

म जीवनको एउटा मोडबाट घचेटिएर भाग्यको लहरीमा लहरिँदै रिनल्यान्ड उपरतालको मुटुमा अवस्थित फुलरोट म्युजियम पुगेको हुन्छु । तर त्यहाँ मैले धेरै समय बिताउन नपाए पनि करिब एक वर्ष भने अवश्य बिताएँ होला । छोटो अवधिको लागि मात्र त्यहाँ पुगेको हुनाले त्यही अवधिमा आफ्नो सम्पूर्ण कार्य सम्पादन गर्ने कम चुनौती थिएन । यस्तो सिमित समय भित्र धेरै उद्देश्य पुरा गर्न ठूलो सङ्घर्ष गर्नु पर्थ्यो । त्यसको लागि म दिन रात के हो नभनी खट्नु पर्ने हुन्थ्यो । अनि त मेरा जर्मनी बसाइका दिनहरू अति व्यस्ततामै बितेका हुन्थे ।
म त्यहाँ जनवरी महिनामा पुगेको हुनाले जाडोको कुरा गरेर साध्य थिएन । म्युजियमले मलाई एउटा छुटै अध्ययन तथा अनुसन्धान कार्य गर्ने कोठा व्यवस्था गरेको रहेछ । कार्यालय समय बिहान नौ बजेदेखि बेलुकी पाँच बजेसम्म हुँदो रहेछ । यसर्थ उक्त कोठामा ठीक समय भित्र आइ कार्य थाल्ने कोसिस गर्न थाल्छु । कार्यालय नियम अनुसार अफिस टाइम भन्दा ठीक आधा घण्टा अघि मात्र मूल प्रवेश द्वार खुल्ने अनि ठीक पाँच बजे बन्द हुने गर्दो रहेछ । त्यसपछि आउने ब्याक डोरबाट छिर्नु पर्दो रहेछ । तर ढिलो हुँदा ब्याकडोरमा राखिएको सिसि क्यामरा अगाडी उभिएर आफ्नो विवरण दिँदै रिसेप्सनिस्टको आदेश पर्खनु पर्दो रहेछ । आफ्नो विवरण सबै बुझाए पछि मात्र भित्र जाने अनुमतिसँग स्वतः ढोका खुल्दो रहेछ । यसर्थ भरसक म ब्याक डोरबाट छिर्न नपरोस् भनेर बिहानै पुग्ने कोसिस गर्छु । तर चिसो महिना, उपत्यका भरी कुइरो टम्म लागेर वल्लो घर र पल्लो घर नदेखिने हुँदा बाटो बिराएर छेउछाउ तिरै घुम्दा घुम्दै ढिलो भइ हाल्थ्यो । जति ढिलो भएपनि आफूले प्रयोगशालामा प्रयोग गरिएका वस्तुहरूको तथ्याङ्क सङ्कलन गर्नको लागि भित्र पस्न अनिवार्य हुन्थ्यो । यसर्थ रातो मुख पार्दै भए पनि भित्र पसी आफ्नो कोठातिर सरासर जाने गर्न थाल्छु । मेरो हैरानी सुपरभाइजरले थाहा पाएर होला एक दिन ‘यहाँका कर्मचारीले समय अनुसार चल्न अनिवार्य छ, तर तिमि नयाँ विदेशी शोधार्थी भएकोले केही दिन छुट छ’ पनि भन्छन् । उनको यो कुराले झन् मलाई घोच्छ अनि समयलाई नै भेट्ने कोसिस गर्छु ।
प्राय कोरी डोर पार गरेर तीन तला माथि पुग्दा जति बाटोमा कर्मचारी साथीहरू भेट्छु, उति पुलुक्क हेर्दै मुन्टो बटारेर अर्कोतिर तर्किन खोज्छन् । कसै कसैलाई ‘हलो मोर्निङ (शुभप्रभातम्)’ भन्दा पनि फर्केर हेरे जस्तो गर्दै कुनै शब्दोत्तर नदिइ आफ्नो बाटो लाग्छन् । कर्मचारीको यस्तो चिसो भावना हेर्दा त्यहाँको समाजलाई दोस्न मन लाग्छ । यहाँको कति घमन्डी समाज, हामी तेस्रो मुलुकबाट आएकालाई कति हेला ! छेउतिर जाँदा पनि छुइ होला भनी पर सर्ने कस्तो आडम्बरी जात ! साँच्चै यहाँका मान्छेहरू एकोहोरे, मूर्ख हुन्छन् भन्थे, त्यो कुरो साँचो रहेछ ...’ आदि मन भित्र तर्कना गर्दा गर्दै आफ्नो कार्य कक्ष पुग्छु ।
कार्य कक्षमा पस्दा आफ्नो कोठा एकदम साफ छ, कुर्सीको पछाडी सफा तौलिया, पर कुनाको सानो टेबुलमा एक थर्मस कफी र एउटा प्याला, र्यापर वा टिस्यू पेपर आदि यथावत राखिएका छन् । मेरो कम्प्युटर, नमूना सिसिहरू, माइक्रोस्कप, सर्टिङ ट्रे आदि सबै अपटुडेट हुन्छन् ।
यस्तो सफा सुघर हेर्दा त सानो देशबाट पुगेको शोधार्थीलाई पनि सम्मान पूर्वक नै राखेको झैँ लाग्छ । बाटोमा जे जस्तो टर्रो पना महसुस गरे तापनि कोठा भित्रको वातावरणले भुलाइ दिन्छ । मनै त हो जता लायो उतै लम्किन्छ । सबै बिर्सेर पुनः आफ्नो कार्यमा व्यस्त हुन्छु । यसरी नै बित्छ मेरो अनुसन्धाने जीवन फुलरोट म्युजियममा ।
म्युजियमको जीवन यसरी नै बित्न थाल्छ । यहाँको कार्य तालिका अनुसार ठीक एक बजे लन्च टाइम भए तापनि म बिहान आठ बजेतिरै आफ्नो एपार्टमेन्टमा आफै बनाएर खाइ त्यहाँ जाने गर्छु । यसर्थ त्यो लन्च टाइम मेरो खाजा खाने समय बन्छ । सबै कर्मचारी लन्च लीन ग्वारग्वार्ति बाहिर निस्कन्छन् । म पनि कोठा बाहिर निस्केर तल भुइ तलाको स्वागत तथा प्रदर्शनी कक्षतिर झर्ने गर्छु । म झर्दा पनि कर्मचारी साथीहरू पुलुक्क हेर्दै पर-पर हुँदै बाहिरिने गर्छन् । फेरी त्यस्तो व्यवहारले मन चसक्क पार्छ । तापनि यिनीहरूको जातै जमदार भन्दै वास्ता नगरी पर्दर्शनी कक्षको फराकिलो कोठाको फराकिलो बेन्चमा बसेर म्युजियम भित्र सजाएर राखिएका अनेकौ बहुमूल्य पत्थर वा फसिल्स (जीवाशेष)हरू माथि आँखा घुमाउने गर्छु । नजिकै भएको खाजा मेसिनबाट आफूलाई खान मन परेको आइटम छानेर ढ्याके पैसा घुसार्दै बटम थिचेर निकाली खाँदै टहलिने गर्छु ।
एवम् रीतले झन्डै एक महिना जति बित्न लागेको हुन्छ । एक दिन ज्याभिएर पाण्डेस फिँजिएको झाँक्रो हल्लाउँदै माथिबाट झर्छ र परबाटै हातले ‘हाइ, मिस्टर नेपाली साथी !’ भन्दै लन्च लीन बाहिर जाँदै गरेको हुन्छ । ठीक त्यही बेला मैले बोलाउँदै ‘अरे लण्डने साथी, परिचय भएको त एक महिना बित्न आँट्यो; मेरो कोठामा त फर्केर पनि आएनौ ? के हो मित्र जर्मन जस्तै बेलायती पनि हुन्छ कि के हो ?’ भन्दै उसको छेउतिर जान्छु । उ अलिक पर सर्दै कमर भन्दा मुनी लत्री रहेको चुल्ठो उठाएर घिच्रो नेर पुर्याएर चुल्ठो कस्छ । उसको रङ रूप हेर्दा अनौठो हाँस उठ्दो मात्र होइन नेपाली भावना अनुसार सङ्गत गर्ने खालको झैँ लाग्दैन । तर उ पनि ब्रिस्टोल विश्वविद्यालय, लण्डनबाट मेरै सुपरभाइजरसँग डाइनोसउरको बारेमा विद्यावारिधि गर्न आएको हुन्छ । अर्थात् उ र मेरो सुपरभाइजर र उद्देश्य एउटै हुन्छ । उसको अनुसन्धान कोठा मेरो भन्दा एक तला माथिहुन्छ । म यहाँ आएको तीन चार दिन भित्रै उ मेरो कोठामा आएर बडो रोमाञ्चकारी तरिकाले परिचय गरेर गएको कुरा ताजै थियो । त्यस बेला पनि मैले उसलाई ‘परिचय भर-खर भयो, एकछिन बसौं न भन्दा पछि गरौला, कुनै हतार छैन भन्दै गएको हुन्छ । त्यस पछि आजै हो भेटेको उसलाई ।
पुनः उसलाई ‘अरे साथी, तिमि त अङ्ग्रेजी बोल्ने र बुझ्ने भएको हुनाले भेटेर खुब गफ गरौला भनेको, तर्किँदै हिँड्छौ त ? मलाई त यहाँको यस्तै संस्कृति हो कि भनेर अचम्म लाग्न थाल्यो !!’ एकै चोटी धेरै प्रश्नहरू सोध्छु ।
त्यसपछि सायद उसले मेरो मर्म बुझेछ र भन्यो ‘अहो साथी त्यसो पटक्क होइन ! म पनि तिमि नेपालबाट आएको हुनाले कति कुरा सोध्ने र बुझ्ने इच्छा थियो । तर लसुन(गार्लिक stink) अनि सुपरभाइजरको आदेशले गर्दा तर्केको !!’ आदि अपूरा वाक्य भन्दै टुङ्ग्याउँछ । उसले के भन्न खोजेको प्रस्ट हुँदैन । पुनः सोध्छु- ‘अरे ज्याभिएर, के विना प्रसङ्गको कुरा गरी रहेको ? मैले त मात्र तिम्रो फुर्सद छ भने एकछिन गफ गरौं भनेको मात्र हो । कि लण्डनेको यस्तै छायावादी कुरो हुन्छ कि के हो ?’ ।
मेरो कुरो सुनेर आफ्नो जगल्टा दायाँ बाया हल्लायो र पुन अझ कसिलो चुल्ठो पार्यो अनि मतिर फर्केर ‘अरे मिस्टर राई तिमि त भावुक (सेन्टी) भए जस्तो छौ । तिमि माइन्ड गर्देनौ भने म एउटा कुरो सोध्छु ?’ भन्दै कानको जरीसम्म पुग्ने गरी मुख च्यातेर मुस्काउँछ ।
मैले तुरुन्त ‘अरे यार, हामी साथी-साथी भइ सकेपछि केको रिसाउने ! भन के सोध्छौ, म जबाफ दिन तयार छु’ भन्दै विश्वास दिलाउँछु । यसरी वार्तालाप गर्दै अघि बढ्दा प्रवेश द्वार बाहिर पुगिएछ ।
त्यसपछि हामी दुबै पर ठूलो चोकको फलफूल बेच्ने ठाउँमा गइ किनारामा राखिएको लामो फलैँचामा बस्छौं । त्यस पछि उनले मित्रवत् सोध्छन् ‘तिमि सधैँ किन लसुन प्रयोग गर्छौ ह ?’ । यस्तो इरघाट र बिरघाट फरक पर्ने प्रश्न सोध्दा उल्टो मैले प्रतिप्रश्न ‘ हाम्रो कुराकानीमा लसुनको प्रसङ्ग कसरी निस्कियो ?’ भन्छु । तुरुन्त उसले ‘निस्कियो साथी, निस्कियो । तिमिले काँचै लसुन प्रयोग गर्दो रहेछौ; बरु पकाएर खाने गर ।’ छक्क पार्ने पुन लसुनकै प्रश्न गर्छन् । अब भने मैले बुझ पचाएरै ‘अनि काँचै खादा के बिग्रन्छ त ?’ पूर्ण अनभिज्ञ भएर उसैलाई सोध्छु ।
हेर्दैमा हाँस उठ्दो भए तापनि अलिक गम्भीर हुँदै ‘फरक पर्यो साथी, फरक पर्यो । तिमिले खाएको लसुन दङदङी गनाउँदा हामी सबैलाई निकै असर पार्यो । अब म तिमिलाई रहस्य भन्छु । यस म्युजियमका सबैले तिमिलाई ‘लसुने नेपाली (गार्लिक स्टिङ्की म्यान)’ भनेर पर-पर हुन्छन् । म पनि तिम्रो नजिक आउन चाहँदा पनि यही गन्धले टाढिन पर्यो । यति गनाउँछ कि नाक फुटाउँला जस्तै हुन्छ । अनि को छेउ पर्छ त मेरो लसुने नेपाली साथी ?’ भन्दै पुनः ठूलो मुख बाएर हाँस्छ ।
उसको यो जबाफले म हुन सम्मको लाज वा शरमले पानी पानी हुन्छु । मेरो अनुहार भरी अनेक भावनाका रेखाहरू तानिँदै मेटिन्छन् । म बोल्न नसकि भुइतिर हेरेर निकै बेर मौन बसेछु । उसले भने मेरो अनुहारमै हेरी रहेको रहेछ । एक्कासी झस्किँदै ‘अरे साथी, यस्तो कुरो तिमिले यो नयाँ साथी हो भनेर पहिले नै सम्झाउनु पर्दैन त ! मेरो त निकै ठूलो बेइज्जती भएछ साथी !’ दुखेसो पोख्छु । उनले पनि सहानुभूति दिँदै ‘हो मैले त भन्न चाहेको हो । तर तिमिसँग कुरा गर्न भनी सुपरभाइजरलाई अनुमति मागेँ । किनभने उनले हामीलाई बोलाएर ‘उ निश्चित समयको लागि यहाँ अध्ययन गर्न आएको शोधार्थी भएकोले अनावश्यक रूपमा उसको कोठामा गएर बाधा नपुर्याउँनु । उसलाई केही भन्नु परे मलाई सोध्नु भन्ने सूचना दिएका थिए । यसर्थ एक दिन मैले यस्तो गनाएको बारे सोध्न पर्यो भनेर अनुमति माग्दा सुपरभाइजरले ‘नेपालीहरूको आ-आफ्नो धर्म संस्कार संस्कृति हुन्छन्, उनीहरूको खान, पान, चाल, चलन, संस्कार संस्कृति आदि हाम्रो भन्दा धेरै फरक पर्छ । यसर्थ उनिहरूले खाएको लाएको बारे हामीले खिसिट्युरी गर्नु हुँदैन । बरु सम्मान र सहयोग गर्नु पर्छ । जे जस्तो खान्छ खान दिनु, किन खाइस् भनेर नसोध्नू । सोध्यौ भने उसको अपमान हुन्छ । आफ्नो काम गर्नु; उसको कोठातिर जाने कसैको काम छैन’ भनेर मलाई सतर्क गराएकोले म पनि चुप लागेर बसेको हुँ । हेर साथी, यहाँका सबै कर्मचारीलाई पनि हाम्रो बसले त्यही कुरा गरेकोले तिमिसँग छेउ पर्दैनन् । अब भने तिमिलाई मेरो कुरा छर्लङ्ग भयो होला !!’ भन्दै पुन हावाले चुल्ठो फुस्काएर फरफराइ रहेको केसलाई दुबै हातले समाल्दै कुमनेर पुर्याएर कस्यो ।
म भने उनको वृत्तान्त कुराले नङ र दाँत खुस्किएको घाइते बाघ झैँ भएर ‘अहो ज्याभियर, तिमि मेरो सच्चा साथी रहेछौं । ढिलो भए तापनि वास्तविकता बताएर मलाई समालिने मौका दियौ । यसको लागि तिमिलाई लाख-लाख धन्यवाद ! अब म तिमी अघि बाचा बाँध्छु कि अबदेखि काँचो लसुन खाँदिन । हेर साथी, म नेपालमा हुँदा एकजना साथीले काँचो लसुनको गुण बारे बताउँदै यसको नियमित सेवन गरेमा उच्च रक्तचाप नियन्त्रण हुने, उच्च पहाडी लेक)हिल सिक) नलाग्ने तथा जाडोमा पनि जीउ तातो बनाउने आदि फायदाहरू बताएर नियमित सेवन गर्ने सल्लाह दिएका थिए । त्यही बेलादेखि मैले यसलाई नियमित प्रयोग गर्दै आएको हुँ । तर यहाँ यसले गर्दा मैले सारालाई पिरोलेको रहेछु । यसबाट निस्किने खप्नै नसकिने तीखो गन्ध बारे मैले पटक्क सोचिन छु । कस्तूरीले आफ्नो बिनाको गन्ध चाल पाउँदैन भन्थे । म पनि सोही ठीक भएछु । अब मेरो चेत खुल्यो । मैले म्युजियमका कर्मचारी तथा तिमिलाई गलत शङ्का गरेछु ! सरी माफ गर है’ भन्दै फलैँचाबाट उठ्दै हात मिलाइ खुब हल्लायौं ।
उनले पनि खुसी हुँदै ‘हुन्छ, हुन्छ मेरो नेपाली साथी !’ भन्दै मुस्काए ।

भद्रपुर (झापा)

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 1 आसाढ, 2073

लेखकका अन्य रचनाहरु