सम्झनामा नकुल सिलवाल

- गोविन्द गिरी प्रेरणा

समय कति छिटो वित्छ ? नकुल सिलवालले मृत्यु वरण गरेको पनि आज १२ दिन पुगिसकेछ । विस्तारै महिना हुन्छ, वर्ष हुन्छ, दशक हुन्छ । पीडाहरु सेलाउँदै जान्छन् । सवथोक सहज हुन थाल्छ । शायद जीवनको रित नै हो यो ।
मान्छेको जन्म आफ्नो हातमा हुँदैन । कसैले चाहेर जन्मेको छैन यो दुनियाँमा धार्मिक अन्धताको मिथमा वाहेक । मृत्यु पनि आफ्नो हातमा हुँदैन । कसैले चाहेर मृत्यु वरण गर्न पाउँदैन । यदि गरिहालेमा त्यसलाई राम्रो मानिंदैन । कायरताको संज्ञा दिइन्छ, गलत मानिन्छ । तर जजस्ले गलत माने पनि त्यो सच्याउन नसकिने गलत हो, युगौंदेखि यो गलत पनि परम्परा वनिसकेको छ ।
नकुल सिलवालले मृत्यु रोजेको समाचार मुख्य मिडियाहरुका लागि समाचार वनेन । यो वडो असहज लाग्यो । नकुलले आफ्नो जीवनको अधिकाँश समय साहित्यमा लगाएका थिए । छोटो अवधिका लागि नेपाल विद्युत प्राधिकरणमा हाजिर गरेर तलव खाने सामान्य जागिर छोटो गरे पनि जीवनको अरु समग्र हिस्सा उनले भाषा साहित्यको कर्ममै समर्पण गरे । उनको जागिर, उद्योग धन्दा, पेशा , व्यवसाय जेजे उपमा दिए पनि त्यो नेपाली भाषा र साहित्यसँगै सम्वन्धित थियो । नेपाली भाषा साहित्य नै थियो ।
सिन्धुपाल्चोकको सेलाँगमा जन्मेका उनले आफ्नो जीवनको वयस्क भाग पूर्णत काठमाडौंलाई कर्मक्षेत्र वनाएर विताएका थिए । उनको जीवनले २०३९ सालमा वगर पत्रिकाको प्रकाशनपश्चात् ठूलो मोड लिएको थियो र कालान्तरमा उनी वगर र नकुल सिलवाल पर्यायवाची वन्न पुगेका थिए ।
वगर पत्रिकाको पृष्ठभूमि जे भए पनि र शुरुवातका वर्षहरुमा जसरी थालनी गरे पनि नेपाली भाषाको साहित्यिक पत्रिकाहरुमा सर्वाधिक गहकिला विशेषाँक निकाल्ने श्रेय नकुल सिलवाललाई नै जान्छ ।
स्रष्टाका रुपमा उनका केही थान कविता संग्रह, यौटा कथा सँग्रह र यौटा उपन्यास अनि फूटकर गद्यहरुको सँगालो प्रकाशन भए पनि वगर पत्रिका, वगरका गहकिला विशेषाँकले उनको स्रष्टा व्यक्तित्वलाई ओझेलमा पा¥यो । त्यसो त उनका केही कविता विशिष्ट छन्, केही कथा जीवन्त छन्, उपन्यास उनले जस्तो विषय र परिवेशलाई लिएर लेखे त्यस्तो उपन्यास पहिला लेखिएको थिएन र पछि पनि लेखिएन । तर वगरका विशेषाँकहरुले उनका सारा रचनालाई सक्दो ओझेलमा पारे ।
आफूले आफ्ना रचना प्रकाशनका लागि प्रयास नगर्ने को होलान् । आफ्ना पुस्तक राम्ररी प्रकाशन होस् , चर्चा परिचर्चा होस् भनेर नचाहने को र कति साहित्यकार होलान् । जो पनि त्यो चाहना राख्दछन् । तर अरुको पुस्तक प्रकाशन गर्ने, ती पुस्तकलाई चर्चा परिचर्चामा ल्याईदिने, सभा समारोह गरिदिने कति हुन्छन् र । जो हुन् तिनलाई सलाम गर्नुपर्छ, ती महान हुन् । नकुल सिलवाल त्यस्तो कुरामा अग्रणी थिए । कतिपय प्रसँग र परिवेशमा म पनि साथमा भएकाले यो म ठोकुवा गरेर भन्न सक्छु । कतिपय आजका सेलिव्रेटी वनेका साहित्यकारहरुलाई शुरुमा चर्चा परिर्चामा ल्याएर रँगमञ्च प्रदान गर्ने काम नकुल सिलवालले गरेका थिए ।
वगर प्रकाशनवाट उनले एशिएन पोयट्री विशेषाँक निकालेका थिए भने मनुजवावु मिश्रको उपन्यास स्वप्न सम्म्ेलन र वीपी कोइरालाको उपन्यास सुम्निमाको अनुवाद पनि प्रकाशन गरेका थिए ।
उनले १० वर्षसम्म हरेक वर्ष उत्कृष्ट रचनाहरुको चयन विशेषाँक र ११औं वर्षमा सर्वश्रेष्ठ दस निकालेर त्यो सिलसिला वन्द गरेका थिए । होला, कतिपय रचनाकार त्यसमा जानी नजानी छुटे होलान्, अधूरो थियो होला, तर त्यसले नेपाली साहित्यको परिचय त दिएकै थियो । उनले आफूले आफ्नो मात्र रचनालाई उत्कृष्ट भनेका थिएनन्, थुप्रै साहित्यकारका थुप्रै रचनाहरुलाई उत्कृष्ट भनेका थिए ।
वगर प्रकाशन मार्फत् उनले महेश विक्रम शाहको सिपाहीकी स्वास्नी, कृष्ण जोशीका कविता, मञ्जु काँचुलीका कविता, नव सिलवालका कथा, धच गोतामेका निवन्ध, तारानाथ शर्माका निवन्ध, राजेन्द्र विमलका कथा, नगेन्द्र न्यौपानेका कथा, प्रदीप नेपालको उपन्यास, मोहन वहादुर कायस्थका यात्रा संस्मरण, गोविन्द गोठालेको उपन्यास, मोदनाथ प्रश्रितका रचनाहरु, गोविन्द भट्टका समालोचना, जनकलाल शर्माका प्रवन्ध, प्रमोद प्रधानको नेपाली वाल साहित्यको इतिहास, डा. कविताराम श्रेष्ठको लेख संग्रह, कृष्ण प्रसाद वस्यालको यात्रा संस्मरण, विष्णु वहादुर सिंहको यात्रा संस्मरण, युवराज नयाँघरेका निवन्ध, मनु व्राजाकीका कथाहरु , लोकेन्द्र वहादुर चन्दका कथाहरु, कमल दीक्षितका पुस्तकका भूमिकाहरुको सँगालो लगायत यस लेखकका २ कृति गुडवाई अमेरिका र तेलको धूप नकुल सिलवालले प्रकाशन गरेका थिए । त्यस्तै उनले आजको मान्छेको कथा तथा आजको मान्छेको कथा सिरिजको पनि संयोजन गरेका थिए र पुस्तकाकारमा ल्याएका थिए । त्यस्तै चालिसको दशकको कथा र कथाकार समेत वगरको विशेष अँकका रुपमा प्रकाशन गरेका थिए ।
हुन त शुरुमा वगर प्रकाशनको नाममा र पछि वगर फाउण्डेसनको नाममा उनले प्रकाशनका काम गरे पनि मियो उनी नै थिए । उनको एकल प्रयासमा यि सव भएका थिए । २ पल्ट उनले सामुहिक रुपमा काम गर्ने प्रयत्न नगरेका होइनन्, संस्थागत स्वरुपमा लान नखोजेका होइनन् । तर वगर प्रकाशन,वगर फाउण्डेशन वा भनौं वगर पत्रिका उनको मुटु नै थियो जुन विभाजन उनको लागि सहज भएन । त्यसो त वगर सँगै नदी को प्रकाशन पनि शुरुवात गरेका थिए । त्यसका केही अँक मात्र प्रकाशन भए ।
वगरका विशेषाँकहरुमा भानुभक्त तथा पारिजात विशेषाँक, देवकोटा विशेषाँक, विपी कोइराला विशेषाँक अत्यन्त विशिष्ट र उच्चकोटीका छन् । ती प्रतिभाहरुको विषयमा अध्ययन गर्न चाहनेले यि विशेषाँक सन्दर्भका रुपमा नलिए अधूरो नै हुनेछ ।
त्यस्तै उनले गोपालप्रसाद रिमाल सम्मान र वगर सम्मानका नाममा धेरै साहित्यकारलाई टोपी र मालाले सजाएका थिए । त्यसरी सजिन पाउनेहरु खुशीसाथ स्वीकारेर कार्यक्रममा आउँथे ।
नकुल सिलवाल पनि एक सामान्य मानिसजस्तै केही इच्छा आकाँक्षा, केही लोभ, केही मोह भएका व्यक्तिनै थिए । यसमा अपवाद थिएन । उनले चाहेका कुरा पूरा नहुनुले उनलाई निराशामा ढालिदियो र योग साधना गरेर यि सववाट मुक्त हुन चाहे । त्यो सही वा गलत के हो, त्यो विचारणीय कुरा हो । तर उनले जुन वाटो रोजे त्यो वाटोतिर लैजान वाध्य पार्ने समय परिवेश थियो । उनी क्रमसः एक्लिंदै गएका थिए । उनको स्वेच्छाले एक्लिंदै गएको देखिए पनि उनी पक्कै पनि रहरले एक्लिएका थिएनन् । उनी एक्लिन रुचाउने भए उनले त्यतिका प्रकाशन कसरी गर्न सक्थे ? कसरी त्यतिका विशेषाँकको संयोजन गर्न सक्थे ? कसरी त्यतिका सभा समारोहहरु आयोजना गर्न सक्थे ? एक्लोपन रुचाउनेले यी सव गर्न सम्भवै छैन ।
तर प्रश्न यतिखेर एउटै छ, उनका यि सारा देनलाई आँखा चिम्लन मिल्छ ? यि सारा योगदानलाइ उपेक्षा गर्न मिल्छ ? फगत मृत्यु आफैंले रोजे भनेर ? संसारमा धेरै मुलुकका धेरै लेखकहरुले रोजिसकेको वाटो हो यो । यो ठिक हो वेठिक हो, त्यो अलग कुरा हो । तर उनले छाडेर गएका योगदानको पहाड टड्कारो छ । त्यो जीवन्त पहाड ठडिउन्जेल नकुल सिलवाल अक्षरहरुमा वाँचिरहनेछन् ।

मनासस, भर्जिनिया, अमेरिका ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 28 जेठ, 2073

लेखकका अन्य रचनाहरु