चावी कथासंग्रह

- पुण्य खरेल

चूडामणि रेग्मी बहुआयामिक साहित्यकारको नाम हो । समालोचक, भाषाशास्त्री, कवि, निबन्धकार, कथाकार इत्यादिको रूपमा उहाँ उत्तिकै प्रतिष्ठित हुनुहुन्छ । मोफसलमा रहेर आजीवन साहित्य–साधनामा एकनासले लागिपर्ने राष्ट्रिय व्यक्तित्वको एक नाम हो चूडामणि रेग्मी भन्दा अत्युक्ति नहुनु पर्छ । झापा जिल्लाको सौभाग्य मान्नु पर्छ कि चार दशकभन्दा लामो समयदेखि कहिले मोती, कहिले युगज्ञान, कहिले जुही कहिले यथार्थकुरा इत्यादिबाट साहित्य रोप्ने, साहित्य गोड्ने, साहित्य उठाउने, साहित्य भण्डार गर्ने गर्दै आफूलाई उत्तिकै सक्रिय राख्नुभएको छ उहाँले । घरबाट सुइत्तै श्रीमतीले बाटा खर्च लुकाएर दिएको भा.रु.३०÷–रूपैयाँ बोकेर २०२९ सालमा काठमाडौंमा पुगेका र त्यहींको कविगोष्ठीमा राहुल सांकृत्यायन, महाकवि देवकोटा, गोपालप्रसाद रिमाल आदिसँगको भेटबाट प्रभावित भई साहित्यिक क्षेत्रमा प्रवेश गर्नुभएको उहाँमा साँच्चै त्यही प्रभाव गाढा भएर रह्यो, फस्टायो ।
“म आफू श्रेष्ठ कथाकार हुँ भन्दिन, त मेरो दाबाचाहिं के छ भने नेपाली कथा–साहित्यका विकासमा मेरो योगदानलाई नकार्न मिल्दैन ।” आफ्नो कथाकारिता वारे उहाँ भन्नुहुन्छ । २०१२ सालदेखि अहिलेसम्म लगभग आधा सयजति कथा लेखि सिध्याउनुभएको उहाँ अहिले तेस्रो सँगालो ‘चाबी’ प्रकाशन गर्दै हुनुहुन्छ । ‘पहिलो यात्रा’ कथा सङ्ग्रह (२०१२) र ‘भूमरी’ कथा सङ्ग्रह (२०३६) पाठकहरूका हातमा परिसकेका हुन् । डा.तारानाथ शर्माले प्रशस्त त्रुटि देखाउनु भएकाले पहिलो कथा सङ्ग्रह ‘पहिलो यात्रा’का आफूसँगका सम्पूर्ण थान उहाँले नष्ट गर्नुभयो तथा त्यस बेलाका आफ्ना कथाहरूलाई उहाँ आभ्यासिक मान्नुहुन्छ ।
उहाँको कथाकारिता वारे समालोचक लक्ष्मण ढकाल भन्नुहुन्छ– “समष्टिमा चूडामणिभित्रका कथाकारिताले स्तरीय, यथार्थ सामाजिक चित्रण, समाजभित्रका विकृति, विसङ्गति र यौनवादी चित्रण बाहेक नारी चरित्र, नारी प्रवृत्ति र मनोविज्ञानको प्रस्तुतिका साथ गाउँले र झर्रो नेपाली भाषाको प्रयोग गरेर कथा–विधाको कुशल शिल्प बनाएको छ । सुविधाबाट टाढा बसेर नेपाली कथाका शिखर व्यक्तित्वका समकक्ष योगदान पुर्याउनु भएकाले उहाँ यस क्षेत्रका अग्रणी कथाकार हुनुहुन्छ ।”
कथाकार रेग्मीज्यूले २०१२ सालमा ‘छात्रदूत’मा प्रकाशित ‘गोडा भए जुत्ताको के खाँचो ?’ शीर्षकको कथा लेखेर ओपचारिक रूपमा कथा–लेखन सुरु गर्नुभयो । उक्त कथामा उहाँले सुरुमा प्रेममा फँसेर विवाह गर्ने र पछि पुरुषत्वको धाक देखाउँदै स्वाभिमानी श्रीमतीलाई सामन्त्याइँ धम्की लगाउने असभ्य पशुवत् पुरुषको चित्रण गर्नुभएर प्रगतिशीलताको धार समात्नुभएको छ ।
कथा लेख्ता सदैव जीवन र जगत्को अनुकूलताको लागि सोद्देश्य कथा लेख्नुहुन्छ कथाकार रेग्मी । उहाँका धेरैजसो कथामा उहाँ आफू हुनुहुन्छ र आफ्नी श्रीमती पनि छेउमै भएको भान पार्नुहुन्छ । ‘म’पात्रलाई केन्द्रित पारेर मर्मस्पर्शी कथा लेख्ने सिप, जीवन्त कथा लेख्ने सिप उहाँमा भएको कुरा कथाहरू बोल्छन् । कथाकार आफैंले भोगेका, आफैंले बेहोरेका र कथाकारका आफ्नै दुखेसा–सुखेसाका मुस्कान वा सुस्केरा झैं लागछन् उहाँका कथाहरू । ‘चाबी’ कथाको पात्र कथाकार, ‘छरिएका कागजहरू’को प्रभुराम, ‘यो आततायी हो’को यात्रु, ‘सानो प्राणी’को हर्केको मालिक मानौं चूडामणि रेग्मी आफैं हो । ‘मोतीराम एक्लै रुन्छ’को मोतीराम महाशय त फरकै पर्दैन यहाँ कथाकार आफैं हो । पाठकले यसरी कथाभित्रको केन्द्रीय पात्र वा अर्को कुनै पात्रलाई नै भए पनि कथाकार आफैं हो भन्ने अनुमान लगाउनु भनेको नै म ठान्छु कथाको जीवन्तताको एक प्रमाण हो । कथाकार चूडामणिले आफ्ना रचनाहरूमा कवि, साहित्यकारहरूको कारुणिक, दारुणिक अवस्थाको चित्रणसमेत गर्नुभएको छ । ‘मोतीराम एक्लै रुन्छ’ले एउटा सम्पादकलाई हाम्रा साहित्यकारहरूले तथा पत्रकारहरूले कसरी सिङ–न–पुच्छरको गधा बनाउन खोज्छन् र रुवाउँछन् भन्ने कुरा प्रस्ट्याउनु भएको छ । ‘सौगात’ पत्रिकामा छापिएको ‘कोसेली’ कथामा उहाँले कथाकारकी श्रीमतीले एउटा महत्त्वपूर्ण कोसेलीको रूपमा दिएर श्रीमतीले कथाकारको कमजोरी प्रष्ट बुझेको कुराको अभिव्यक्ति गर्नुभएको छ ।
पात्र छान्ने कुरामा उहाँको बेगल विशेषता भएको कुरा ‘बुढीको मृत्यु’की बुढीले बताउँछ । ‘बुढीको मृत्यु’की बुढी घृणित चरित्रकी आइमाई उभ्याएर हाम्रो समाजको यथार्थ ऐना प्रस्तुत गर्नुभएको छ । ‘लोग्नेले छोडेकी, सत्र ओछ्यान सरेकी, रक्सी, चुरोट, पैसा र यौन मात्र जान्ने बुढी मरी’ भनेर समाजकी कसिङ्गरलाई मूल पात्र बनाएर परम्परामाथि नै विद्रोह गर्नुभएको छ ।
कथाकार चूडामणि मनोवैज्ञानिक कथामा पनि सफल हुनुहुन्छ । ‘चाबी’कथा यस कुराको उदाहरण हो । ‘सानो प्राणी’ बालमनोविज्ञानको राम्रो उदाहरण हो । ‘सानो प्राणी’को हर्के मालिकको डरमा यति धेर प्रभावित हुन्छ कि सपनामा उसलाई बाघले खेद्छ, त्यो बाघलाई ऊ दुरुस्तै बाघ देख्छ । भाग्दै–भाग्दै ऊ बाबु भए ठाम पुग्छ र चिच्याउँछ– “ए बाबु हौ ! मार्न आँट्यो बचाऊ !” कथाकारले बालकैमा परायाघरमा नोकर गर्न पठाउनु, लिनु, बालकप्रति हुने विकराल अन्याय भएको कुरा यस कथामा देखाउनु भएकोछ ।
कथाकार रेग्मी यौनमनोवैज्ञानिक कथा पनि लेख्नुहुन्थ्यो । ‘एउटा दुर्घटना’ (केही कथा), ‘विश्वास’ यसका उदाहरण हुन्, तर प्रगतिशील साहित्यिक जगत्मा यस प्रकारका कथाप्रति वाद–विवाद भएकै कारणले उहाँले यो पक्षलाई त्याग गर्नुभयो । कथा लेख्ता कस्तो विषयलाई टिप्ने, कस्तो भाषालाई माध्यम बनाउने भन्ने वारेमा उहाँ अरुभन्दा बढी स्वायत्तता उपभोग गर्नुहुन्छ । कसैको वा कुनै राजनैतिक पार्टीको अन्धअनुयायी नहुने, तर समाजप्रति जिम्मेवार चाहिं रहने कुरा उहाँका मूल मन्त्र हुन् । ‘यो आततायी हो !’ कथामा उहाँ आफू एक यात्री झैं उभिएर महाभारतको कथामा आउने यक्ष र युधिष्ठिरका प्रश्नोत्तरको भाकामा आफू यधिष्ठिरको भूमिका र ध्वाँसेलाई यक्षको भूमिका गर्न लगाई आफ्ना कुरा भनाउनु भएको छ । समाज र जगत्प्रति लेखकीय दायित्व र दृष्टिकोण वारेमा त्यस कथामा वर्णित यात्रीका उत्तर नै चूडामणिका पनि हुन् भन्दा फरक नपर्ला । उहाँ यात्रीको मुखबाट त्यहाँ बोल्नुहुन्छ– “स्वास्नीमान्छे उपरको दृष्टिकोण अवस्था हेरी तथा ठाउँहेरी तिनको सम्मान गर्ने, मेची महाकालीवारेमा आमा रोइरहेकी छिन्, उनको छातीको दुःख मेरो पनि दुःख हो, म जयनेपाल र लालसलामको दलालजस्तो भएर भन्न रुचाउन्न र तिनका पछि दर्गुन चाहन्न ।”
‘भाषा झर्रो हुनु पर्छ’ भन्ने मान्यताका रेग्मीज्यू आफ्ना कथामा समेत झर्रो भाषा प्रयोग गर्नुहुन्छ । उहाँको भाषा अन्य सबै साहित्यकारको भन्दा भिन्न बोध हुन्छ । बोल्दा वा लेख्ताको उहाँको भाषा सुन्दा वा पढ्दा नै उहाँलाई चिन्न सकिन्छ । उहाँको यो छुट्टै चिनारी नै हो । नढाँटीकन भन्नुपर्दा उहाँको भाषामा भएको झर्रोपनले भाषालाई अपेक्षित सम्प्रेषणीय बनाएको छ, तर भनेजस्तो गरी लेखाइ वा बोलाइमा मिठास थप्न वा पढौं–पढौं पार्न वा सुनौं–सुनौं पार्न अलिक कम सकेको महसुस पाठक वा श्रोताले गर्छन् ।
सबैजसो कथाहरू साँच्चै छोटा हुनु, लघुकथा हुनु तथा कथालाई सूत्रवद्ध प्रस्तुत गर्नु उहाँको अर्को विशेषता हो । उहाँजस्तो छोटा कथा लेख्न मलाई हम्मेहम्मे पर्छ, म सक्तिन । अझ अन्य नेपाली कथाकारहरूका सरदर कथाहरूभन्दा पनि उहाँका कथाहरू छोटा लाग्छन् । आजको अल्छे पाठकहरूका लागि कथाहरू छोटा रहनु पठनीयताको एक गुण हो । उहाँका कथामा घटना–उपघटनाहरूको त्यस्तो जन्जाल हुँदैन । प्रायः एक वा दुई घटनालाई बोकेर उहाँ सललल बगाउनु हुन्छ । हुन त ‘मोतीराम एक्लै रुन्छ’मा समस्यै–समस्या, आरोपै–आरोपले मोतीरामलाई रुवाउँछ, तर यसमा पनि रुवाउने मात्र एक घटना हो । प्रायः दश–पन्ध्र मिनेटमा पढि सकिने कथा लेख्नु उहाँको विशेषता नै हो । उहाँ चुट्किलाहरू समेत लेख्ने भएर पनि उहाँमा यो सिप आएको हुन सक्छ । उहाँकै जस्ता छोटा कथा सबैले लेख्ने हो भने कविगोष्ठी झैं नै सजिलै कथाकारिताको गोष्ठी पनि गर्न सकिन्थ्यो ।
दुनियाँदारी वारे के गर्नु ठिक र के गर्नु बेठिक भन्नेवारे उहाँ सापेक्षतावादी दृष्टिकोण राख्नुहुन्छ । ठिक र बेठिकका कतिपय कुराहरू संस्कारले वा पूर्ण आग्रहले ठिक र बेठिक ठान्नु उचित नहुने कुरा उहाँ मान्नुहुन्छ । हामीलाई मान्छेलाई जे–जे सुखकर हुन्छ, त्यस–त्यसलाई ठिक मान्नु पर्छ, उहाँ भन्नुहुन्छ । ‘घरफिर्ती’मा पोइला गएकी स्वास्नीको फिर्तीले घरपरिवारलाई सुख हुने भए त्यो ठिक हो भन्ने कुरा उहाँले देखाउनुभएको छ ।
‘पहिलो यात्रा’लाई त कथाकार आफैंले नष्ट गरिसक्नुभएको छ । ‘भूमरी’ कथा–सङ्ग्रहको बीस वर्षपछि आएको यस कथा–सङ्ग्रहले परिवेशमा आएको यो भिन्नता तथा फेरबदलको समग्रतालाई ठ्याक्कै बोल्न सकेको छ भन्न त हुन्न पनि, किनभने कथाकारका धेरैजसो बिभिन्न समयका पुराना कथाहरू समेत यसमा सङ्कलित छन् तथापि ‘भूमरी’भन्दा उन्नत स्तरको भएर पौष्टिक तत्त्व अधिक बोकेर आएकै छ । ‘भूमरी’ मकैको ढिंडो हो भने यो कथा सङ्ग्रह जाउलो जस्तो भएर आएको छ । अहिले खानका बिभिन्न परिकारहरू बनेका बेला ‘जाउलो’ मात्र भन्न हुन्न, किनभने यसभित्रका सबैजसो कथाहरू वर्तमानका छैनन् ।
अझै दुई–तीन दशक हामीले चूडामणिज्यूबाट कथाको अपेक्षा गर्नु अन्याय नठहर्ला । समाज बिगतभन्दा जटिलतातिर फँसेको छ । यसलाई पर्गेलेर सुन्दर समाजको सृजनाका निम्ति हरेक मान्छेलाई जागरुक बनाउन उहाँको कलम अविश्राम दौडिरहोस् ! अझ बढी समाज उपयोगी कथाहरू उहाँका कलमबाट निसृत भैरहून् !

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 27 जेठ, 2073

लेखकका अन्य रचनाहरु