कवि श्यामदास वैष्णव र मदन पुरस्कार

- नरेन्द्रराज प्रसाई

श्यामदास वैष्णव महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रियजन मात्र नभएर गणेश नै मानिन्थे । देवकोटा मुखले भन्थे वैष्णवले लेखिदिन्थे । त्यसपछि देवकोटाको फेरि अर्को कृति तयार हुन्थ्यो । देवकोटा कविता लेख्तै सिंगान पुछेर पनि फालिदिन्थे । वैष्णवले पुछपाछ गरेर त्यो कविता अर्को कापीमा सारिदिन्थे । देवकोटालाई रून मन लागेको छ भने पनि उनी कुदेर श्यामदास वैष्णवको घर पुग्थे र खुसीको कुरा सुनाउन पनि श्यामदासलाई आफ्नो घर बोलाउँथे । देवकोटा मैतीदेवी बस्थे र वैष्णव ज्ञानेश्वर बस्थे । वास्तवमा देवकोटा बाँचुञ्जेल उनको मन खोल्ने श्यामदास वैष्णव मात्र एक जना स्रष्टा थिए ।
•••
९३ वर्षीय श्यामदास वैष्णव २०४६ सालपछि दलले आफूलाई अपमान गरेको ठान्छन् । उनी साहित्य र साहित्यकार भनेपछि हुरुक्कै हुन्छन् । उनी जतिसुकै सकारात्मक भए तापनि मदन पुरस्कारप्रति चाहिं उनको वितृष्णा छ । यसबारे वैष्णव भन्छन्- "मलाई मदन पुरस्कारको आशा पनि थिएन । मदन पुरस्कारले स्रष्टालाई डिप्रेशनमा पुर्याउने काम मात्र गरेको छ । मदन पुरस्कार हामी माझ दीयो बनेर सल्किरहेको छ र स्रष्टाहरू त्यसको ओरिपरि नाचेर जलिरहेका छौं । वास्तवमा यस पुरस्कारले धेरै स्रष्टालाई आसैआसमा ज्यूँदै जलाउने काम गरेको छ ।"
श्यामदास वैष्णवलाई धेरै, धेरै र अति धेरै चित्त दुखेको रहेछ, त्यसैले उनी फेरि भन्छन् "मदन पुरस्कारले कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको पनि अवमूल्यन गरेको थियो । त्यति मात्र कहाँ हो र योगीनरहरिनाथ, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, युद्धप्रसाद मिश्र, भूपी शेरचन, केशवराज पिंडाली, लैनसिंह वाङदेल, भिक्षु अमृतानन्द, विजय मल्लआदि जस्ता कैयौं विशिष्ट स्रष्टालाई पनि मदन पुरस्कार दिइएन । आफूहरुभन्दा जान्नेसुन्ने मान्छेलाई दीक्षित परिवारले मन पराउँदैनन् । त्यसैले हुनसक्छ उनीहरुले स्रष्टालाई चाकरी गराउन मदन पुरस्कार खोलेका थिए । त्यस पुरस्कारलाई राणाको चिहानबाट उधिनेर ल्याएको शोषक पुरस्कार भने हुन्छ । सामान्यतय यो पुरस्कार या त दीक्षितहरूका हदैसम्मका चाकरीदार, या त दीक्षित बन्धुका नातेदार, या त दीक्षितहरूले आफ्नो काम पट्याउनु पर्ने व्यक्तिलाई मात्र प्राय: छानेर दिइन्छ । अहिलेसम्म मदन पुरस्कार साठी सत्तरी जनालाई दिए क्यारे तर ९/१० जना राम्रा लेखकदेखि बाहेक अरुले यो पुरस्कार पाएका छैनन् ।"
श्यामदास वैष्णव हिजोआज दिनभरि घर बसेर आफ्नो जीवनका तीतामीठा कुरा आफूलाई भेट्न आउनेलाई सुनाउने गर्छन् । आफ्नो मनको सबै तीतो पोखिसकेपछि उनी भन्ने गर्छन् "मनैमा कुरा पालेर राख्नुमा त्यति मजा छैन, मनका कुरा भन्न पाउँदा पनि रमाइलो लाग्ने गर्छ ।" उनी आफ्नो मनमा खेलेका कुरा जस्ताको तस्तै आफन्तका काखमा राख्न चुक्तैनन् । उनी एउटै कुरा दोहोर्याएर र तेहेर्याएर पनि भन्ने गर्छन् "मलाई माया गर्ने देवकोटापछि नइ नै हुन् । मैले नइकै पहलमा ६ ओटा पुरस्कार पनि पाएँ । राजा गएपछि आएको कुनै दलले पनि मलाई फर्केर हेरेन ।" श्यामदास वैष्णवले घरिघरि बोल्ने सम्वाद यिनै हुन् । अहिले त उनी घरबाहिर जान पनि सक्तैनन् र भन्छन् "अब त म डुलफिर गर्न सक्तिन, मेरा हात खुट्टा पनि लुलो भई सके । हात कामेर अब म लेख्न पनि सक्तिन ।"
***
महाकवि देवकोटा र वैष्णवको सम्बन्ध कस्तो थियो त ?
^^^^^
२००३ सालको पुस २४ गते काठमाडौँमा हिउँ पर्‍यो । त्यस दिन अत्यन्तै जाडो भए तापनि महाकवि देवकोटाको घरबाहिर जानुपर्ने अत्यन्तै जरुरी काम थियो । त्यसैले त्यस बेला शिक्षाविभागका डाइरेक्टर जनरल विजयशमशेर राणाको निवास महाराजगन्जमा देवकोटा र पं. श्यामदास वैष्णव सँगै हिँडेर गए । तर त्यस दिन जाडो निक्कै भएको मानेर राणाले यी दुई भाइलाई भेट दिएनन् । त्यहाँबाट यिनीहरू जाडोले लुगलुग काम्दै हिँडेर नै देवकोटाको घर फर्किए । त्यति बेला डिल्लीबजारबाट महाराजगन्ज जानआउन देवकोटा र वैष्णवलाई झन्नै दुई घण्टा लागेको थियो ।
त्यस दिन देवकोटाका कोठामा डसनामाथि बसेर देवकोटा र गणेशकवि पं.श्यामदास वैष्णव आगो तापिरहेका थिए । डसनामाथि आगोको मक्कल थियो । त्यस बेला झ्यालबाट बाहिर हेर्दा आरुबखडाको फूल झरेझैँ हिउँ झरेको देखिएको थियो । के भएछ भनी तलतिर उनीहरू दुवैले हेर्दा फट्कारेको कपासझैँ आँगनमा हिउँ थुप्रिएको देखियो । त्यतिन्जेलसम्ममा मकलले देवकोटाको डसना पनि डढाइसकेको थियो ।
"ए बजै ! मलाई जाडो भयो, मासु खान मन लाग्यो", हिउँ परेर जाडो भएकोले देवकोटाले आफ्नी पत्नी मनदेवीलाई भनेका थिए । मनदेवीले पनि पतिको आग्रह टार्न नसकेर पैसा दिएकी थिइन् । पं.श्यामदास वैष्णवले पनि त्यति बेला युवा जोस देखाए र हिउँ कुल्चँदै उनी डिल्लीबजार गए । त्यस बेला मनदेवी देवकोटाले दिएको दस रुपियाँले वैष्णवले एउटा खसीको टाउको किनेर ल्याए ।
त्यस दिन देवकोटाले मासु खाए र सिरकमा पसे । पं.श्यामदास वैष्णवचाहिँ लुरुलुरु आफ्नो घर फर्केका थिए । सधैँ झैँ भोलिपल्ट पनि बिहानै वैष्णव देवकोटालाई भेट्न देवकोटागृह पुगेका थिए । "श्याम ! खसीको टाउकाको रसले मलाई 'तुषार वर्णन लेखायो" वैष्णवलाई देख्नासाथ देवकोटाले भनेका थिए । त्यस बखत वैष्णवलाई देवकोटाले त्यो खण्डकाव्य पढेर सुनाएका थिए ।
देवकोटासँग वैष्णवको १९९८ सालदेखि नै सम्बन्ध गाँसिएको थियो । "तपाईंका अक्षर मलाई मन परे । मेरा लेखरचना सारिदिने मान्छे मलाई चाहिएको थियो ।" वैष्णवका अक्षर देखेपछि देवकोटाले प्रस्ताव राखेका थिए । "म सारिहाल्छु नि ! मलाई पनि कविता लेख्ने रहर छ । तपाईंसँगको सङ्गतले मैले पनि केही कुरा जान्न पाउँछु" वैष्णवले पनि रमाएर देवकोटालाई प्रत्युत्तर दिएका थिए ।
देवकोटाले नेपाली भाषानुवाद परिषद्मा जागिर पाएपछि उनले श्यामदास वैष्णवलाई आफ्नो कारिन्दा बनाएर त्यहीँ लगे । त्यहाँ उनले वैष्णवलाई पण्डितको दर्जा दिलाए । त्यस बेला देवकोटा मासिक सत्तरी रुपियाँ तलब खान्थे र वैष्णव पन्ध्र रुपियाँ खान्थे । त्यस समयमा देवकोटा र वैष्णव सँगै कार्यालय जान्थे र घर पनि सँगसँगै फर्कन्थे । देवकोटाले तलब थाप्ता वैष्णवले प्रायः त्यो पैसा बोकेर देवकोटाको घरसम्म ल्याइदिन्थे । त्यति बेलाको सत्तरी रुपियाँको धातुमुद्राको तौल झन्नै सत्तरी तोला बराबरको हुन्थ्यो ।
पैसाको मामलामा देवकोटा अरूलाई प्रायः विश्वास गर्दैन थिए र तलब थाप्ने दिन उनी वैष्णवलाई नै गुहार्न पुग्थे । तलब पाएका दिन देवकोटा बजारमा फलफूल र मिठाईको भाउ सोद्धै किन्दै हिँड्थे । उनका पछिपछि वैष्णव पनि देवकोटाको वकालत गर्दै हिँड्थे । देवकोटाले बोलेपछि वैष्णवका लागि लालमोहरको छाप लागेसरह हुन्थ्यो । कसैले देवकोटाको कुरा काट्नु भनेको वैष्णवका लागि महापाप सुन्नु सरह हुन्थ्यो ।
"तपाईंको लेखनी पुरानो ढर्राको छ" एक दिन गोपालप्रसाद रिमालले देवकोटाका बारे आलोचनात्मक टिप्पणी गरेका थिए । त्यस बेला श्यामदास वैष्णव उनीहरूका नजिकै थिए । "तपाईंको हिम्मत छ भने देवकोटाभन्दा राम्रो लेखेर देखाउनुहोस् न !" त्यति बेला देवकोटाको आलोचना खप्न नसकेर वैष्णवले रिमाललाई भनेका थिए । वैष्णवको आक्रोश फुस्के पनि देवकोटा भने मन्द मुस्कानका साथ मौन नै रहे । "श्यामले मलाई हाँक दिए म पनि लेख्छु" रिमालले चाहिँ जवाफ फर्काएका थिए । वैष्णवका अनुसार त्यसपछि गोपालप्रसाद रिमालले 'मसान' लेखे ।
एकपटक तिहारको बेला देवकोटाले साथीहरूसँग पासा खेले । पासामा उनले हारे र कलम बन्धक राखेर पुनः खेले । वैष्णवलाई त्यस बेहोराले निक्कै पोलेको थियो र त्यसपछिको एउटा कार्यक्रममा भाषण गर्दा वैष्णवले भने "देवकोटाले कलम बाजी राख्ता म रोएँ ।" त्यसपछि, "पण्डित श्यामदास वैष्णवले आज मेरो किन बदनामी गरे !" उक्त समारोहकै प्रमुख अतिथि देवकोटाले पनि आफ्नो मन्तव्यका क्रममा मन खोलेका थिए ।
देवकोटाका भित्री मनका प्रायः हरेक कुरा खोलिने वैष्णव थिए । वास्तवमै वैष्णव देवकोटाका गणेश थिए । उनका कृति प्रेसमा लानुअघि वैष्णवले नै साफी गर्थे । त्यति मात्र होइन, देवकोटाका घरायसी कामदेखि साहित्यिक कामसम्म गर्न पनि वैष्णव नै अगि सर्थे ।
एक दिन महाकवि देवकोटाले लप्टनको होटलमा आएर श्यामदास वैष्णवलाई भने, "श्याम ! राजालाई कसले कान भरेछ । म रूस गएको कुरालाई लिएर मेरो मासिक पारिश्रमिक रोक्न हुकुम बक्सेछ । राजासमक्ष मेरा कुराको सुनुवाइ पनि भएन । मेरो यो जिन्दगी कति लामो भएछ; धेरै बाँचिएछ ।" अनि त्यसै बेला वैष्णवले देकोटालाई भने, "तपाईं चिन्ता नलिनुस् । तपाईंका सबै कृति म जगाउने काम गर्नेछु । आखिर तपाईं एउटा गुणी व्यक्तित्व हुनुहुन्छ । राजालाई पनि एक दिन यस कुराको ज्ञान हुनेछ । राजा महेन्द्र स्वयम् त्यस्तो होइन; उनलाई पनि राजनीतिमा लागेका मान्छे र एकेडेमीका उपकुलपतिले कुरा लगाएर भाँडेका हुन् ।" वैष्णवका कुरा सुनेपछि देवकोटाले फेरि भने, "मलाई पनि त्यस्तै लाग्छ, श्याम !" वास्तवमा देवकोटा र वैष्णवमाझको पीडाको त्यही अन्तिम संवाद थियो ।
देवकोटाले श्यामदास वैष्णवलाई सधैँ माया गरे । देवकोटाले आफू बिरामी भएका बेला पनि वैष्णवको 'उपहार' नामक कवितासङ्ग्रहको अङ्ग्रेजी भाषामा अनुवाद गरिदिए । त्यस बेला वैष्णव नेपालीमा आफ्ना कविता सुनाउँदै जान्थे, देवकोटा तुरुन्तातुरुन्तै अङ्ग्रेजीमा रूपान्तर गर्दै जान्थे । देवकोटाले त्यस कृतिको नाउँ ‘The Present’ राखे । त्यति मात्र होइन; देवकोटाले वैष्णवले लेखेको कृति 'रातको आँसु' नामक कवितासङ्ग्रहबारे पनि एउटा उद्गार व्यक्त गरे "मैले वैष्णवलाई कविताको क्षेत्रमा प्रवेश गराएको थिएँ । पछि मलाई टपेर अगाडि बढ्न खोजेको देख्ता मलाई अत्यन्तै खुसी लाग्यो । गुरु गुड, चेला चिनी ।"
देवकोटा र वैष्णव एकअर्कामा हाकिम र कारिन्दा मात्र नभएर उनीहरू साथीभाइ जत्तिकै एकअर्काप्रति मरिमेट्थे । "श्यामदास वैष्णव महाकवि देवकोटाका छाया जस्तै बनेर उनीसँगसँगै हिँड्ने गर्थे" भनेर पण्डित बदरीनाथ भट्टराईले पनि बराबर भन्ने गर्थे । हुन पनि देवकोटा र वैष्णवको एक अर्कामाझ मन सारै मिल्थ्यो । त्यसैले तासकन्दमा सम्पन्न साहित्य सम्मेलनमा पनि देवकोटाले नेपाली भाषासाहित्यका नयाँ पुस्ताका लेखकहरूमध्ये श्यामदास वैष्णवको नाउँ पनि सगर्व उल्लेख गरेका थिए ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 27 जेठ, 2073

लेखकका अन्य रचनाहरु