दरिद्र को ?

- अच्युत अर्याल

तीन दिन लगातार हिँडेका थियौं हामी । शरीर थाकेर थिलोथिलो भएको थियो । खुट्टा दुखेर टनटन गरिरहेका थिए । तर, मानसपटलमा खप्तड क्षेत्रका अलौकिक दृश्यहरु संगालिएका थिए । त्यहाँका सुन्दर छठाहरु मनमा छापिएका थिए । त्यसैले हृदय तृप्त थियो । मन शान्त थियो र आत्मामा छुट्टै उर्जा भरिएको थियो ।
खप्तड राष्ट्रिय निकुञ्जको तीन दिने यात्रा सकेर फर्कँदै थियो हाम्रो टोलि । यो ‍ओरालो झरेपछि हामी पुग्दै थियौं कालुखेती भन्ने ठाउँ । त्यहाँबाट कच्ची पहाडी बाटोमा करिब एक घण्टाको जीप यात्रा । त्यसपछि झोलुंगे पुलबाट सेती नदी तरेपछि मात्रै हामी तमैंल बजारको पक्की सडकसम्म पुग्थ्यौं । तमैलबाट हाम्रो गन्तब्य पुग्न एक घण्टाको गाडी यात्रा । अनिमात्र हामी बझाङ जिल्लाको सदरमुकाम चैनपुर पुग्ने थियौं । अर्थात, हामीलाई निकै हतार भइसकेको थियो ।
“हामी त यहाँबाट तीन घण्टामै कालुखेती पुग्छौं । तपाईहरुलाई सायद छ घण्टा लाग्ला ।”
साथमा एक बथान खसीबाख्रा लिएर उकालो लाग्दै गरेकी नानीले हाम्रो सोधाइको जवाफ हँसिलो पारामा दिइन् ।
“ओहो, अझै छ घण्टा । दुइ घण्टा अगाडि सोध्दा पनि छ घण्टा नै लाग्छ भनेको हैन गाइड तिमीले ।” हाम्रो टोलिको एक महिला गाइड तर्फ हेरेर चिच्याइन् ।
“हे हे, दिज्यू । किन रिसाइस्या । मैले त हामीहरुको वाकिङमा पो सिक्स हावर्स भनेको त । अब तपाईहरुको वाकिङमा त्यसको ठ्याक्कै डबल ।” बडो सरल जवाफ थियो गाइडको ।
करिब पच्चिस वर्षे ठिटो थियो हाम्रो गाइड । एकदम हँसिलो । अत्यन्त सहयोगी । बोलिरहन्थ्यो ऊ । हामीले सुनेपनि या नसुनेपनि । हामी सबैको पाँचवटा झोला एक्लैले बोकेको थियो । सबैभन्दा अगाडि फटाफट हिड्थ्यो ऊ मानौ उसलाई थकाइ नै लाग्दैनथ्यो। टुटेफुटेको अंग्रेजी मिसाउँदै बोल्थ्यो ऊ । समग्रमा हाम्रो यात्राको गाइड, भरिया, सुरक्षाकर्मी र मनोरजञ्जनकर्ता सबैको प्याकेज थियो ऊ ।

तीन दिन पहिले यत्रा सुरु गर्ने बखत हामीले गाइडको धेरै रकम पर्ने अनुमान गरेका थियौं । तर उसले आफैंले मागेको पारिश्रमिक थियो केवल दिनको पाँच सय । गाइडले बाटो मात्र देखाउने होला भन्ने हाम्रो अनुमानलाई उसले यात्रा सुरु भएको केही क्षेणमै गलत सावित गरिदियो । ठाडो उकालोको सुरुआत भएसँगै हाम्रो टोलिको हिडाइको चाल र मनोबल दुवै झर्न थालेको थियो । तर यो गाइडले हामी सबैको झोला मात्र बोकेन, विभिन्न रमाइला कुराहरु गर्दै हाम्रो मनोबल समेत बढाउने काम गरिरह्यो ।
गाइड साँच्चै अचम्मको थियो । बाटोमा नचिनेको मान्छे भेटेपनि केही न केही गफ गरिहाल्थ्यो । कतै पँधेरो आउने वित्तिकै बोतलहरुमा पानी भर्न भ्याइहाल्थ्यो । एक ठाउँमा त ढुंगा उचालेर बाटो समेत बनायो हाम्रा लागि । निकै कठोर परिश्रम गर्थ्यो हाम्रो गाइड । तर उसको अनुहारमा मुस्कान कहिले पनि हराउँदैनथ्यो । सँधै केहि न केही बोलिरहेकै हुन्थ्यो ।
बोल्दै जाने क्रममा उसले आफ्नो बारेमा लगभग सबै कुराहरु भनिसकेको थियो । बझाङमा व्याप्त बालविवाहको शिकार भएर सानै उमेरमा घरगृहस्थीको बोझ सम्हाल्नुपरेको देखि पारिवारिक जिम्मेवारी बहन गर्नकै लागि पढाइ छोडेर भारत झर्नुपरेकोसम्म बताइसकेको थियो उसले । र अहिले उसको लक्ष्य भनेको विदेशीको ट्रेकिङ गाइड बन्नु रहेको थियो ।
हाम्रो टोलि अत्यन्त ढिलो गतिमा हिडिरहेको थियो । टोलिको सबै सदस्यहरुको खुट्टामा कुनै न कुनै समस्या आइसकेको थियो । त्यसमाथि जति तल झर्दै गयौं, त्यति नै बढ्दै गएको गर्मीले आलस तालस पार्दै लगेको थियो ।
“टुडे मलाई अलि हतार छ ।” टाउको कनाउँदै बोल्यो हाम्रो गाइड ।
“किन नि हतार कहाँ जानु छ र तिमीलाई ?”
“हेहे टुमरो मेरो एक्जाम छ । मेजर इङ्लिसको ब्याक पेपर छ के, त्यसैले अलि हतार छ । ”
हामी साँच्चै अचम्मित भयौं । यो मान्छेले पढाइ छोडेको धेरै पछि फेरि एघार कक्षा पढ्न थालेको रहेछ । तर दुई वर्षदेखि मेजर इङ्लिसले अड्काइरहेको रहेछ । मनमनै नतमस्तक भयौं हामी उसको पढ्ने उत्कट आकांक्षा देखेर ।
भोलिपल्ट उसको परीक्षा छ रे । त्यही ब्याक पेपरको । तर कसरी पास होला ऊ । परीक्षाको मुखमा त गाइड बनेर हामीसँग हिडिरहेको छ ऊ तीन दिन देखि । त्यो पनि दिनको जावो पाँच सय कमाउनको लागि । गरीबीको पराकाष्टा भनेको यही रहेछ । दुखको पहाडलाई उचाल्नुपर्दा पनि कसरी हँसिलो हुन सकिरहेको छ हाम्रो गाइड । साँच्चिकै द्रवित बनाइदिएको थियो यो गाइडले हामीलाई ।
हामीले हाम्रो जीवन उसकोसँग तुलना गरिरहेका थियौं । यतिविघ्ना समस्या र दुख भए पनि सँधै हासिरहन्थ्यो हाम्रो गाइड । उसको भन्दा निकै राम्री जीवनस्तर भए पनि हामी यो वा त्यो बहानामा सँधै असन्तुष्ट र दुखी हुने गर्दछौं ।
विस्तारै उसको अगाडि आफैं देखि लाज लाग्न थालेको थियो हामीलाई । अब त उसको प्रत्येक खित्काले गिज्याएजस्तो लाग्न थाल्यो हामीलाई । उसले बोलेको नमिल्दो अंग्रेजीमा हाँसो लाग्नुको सट्टा लज्जा बोध हुन थाल्यो हामीलाई । उसले एक्लैले हामी सबैको भारीहरु बोकेको थियो तर त्यो भन्दा ठूलो भारी हाम्रो मनमस्तिष्कले बोकेको अनुभव हुन थालेको थियो ।
कस्तो अचम्म । गाइड गरीबीको त्यत्रो भारी बोकेर पनि हाँसिरहेको थयो । खुशी थियो । तर हामी जीवनमा पाएका अनेकौं सुख सुविधा, अवसर र उपलब्धीको वावजुत पनि खिन्न थियौं । उसले हामीलाई गिजाइरहेको थियो । जीवन देखाइरहेको थियो । जिउन सिकाइरहेको थियो । बाँच्ने कला सिकाइरहेको थियो ।
गाइड अलि अगाडी लागेको बेलामा हाम्रो टोलिमा गोप्य सल्लाह भयो । गाइडललाई दिइने पारिश्रमिक डबल गरिदिने कुरामा हामीबीच सल्लाह मिलेन । अन्तिममा हाम्रो टोलिले यस्तो निर्णय गर्यो । उसलाई पहिलै कबोलिएको रकम हातमा राखिदिने र उसले यदि असन्तुष्टी जनाएमा मात्र थप एक हजार थपिदिने ।
दिउँसोको करिब दुइ बजेतिर हामी कालुखेती आइपुग्यौं । यहाँबाट गाइडको काम सकिँदै थियो । अब यो गहकिलो साथीबाट हामीले विदा लिनुपर्ने थियो । मनमा कता कता नमीठो अनुभव भइरहेको थियो । हामीले उसको हातमा तीनवटा पाँच सयका नोटहरु राखिदियौं । उसले असन्तोष जनाउँने वित्तिकै थप एक हजार दिइहाल्ने हाम्रो योजना थियो ।
उसले उही मीठो मुस्कानसाथ पैसा लिएर नोटलाई ढोग्यो अनि खल्तीमा राख्यो हाँस्दै भन्यो । “लु त सर अनि दिज्युहरु । मेरो हिड्ने बेला भयो । मबाट केही मिस्टीक भएको भए सरी पाम है । अनि तपाईहरु सबैलाई थ्यान्क यू है त । ”
हामीले थप केही बोल्नु अघि नै थप्यो उसले ।
“टुमरो मेरो एक्जाम छ । धनेले घरमा गेसपेपर ल्याएर छाडिदिएको होला । होल नाइट पढ्नु छ । त्यसैले अलि हतार छ । बाइ है सर दिज्यूहरु ।” यति भन्दै हात हल्लाउँदै माथिल्तिरको गाउँतर्फ लाग्यो हाम्रो गाइड ।
गाइडले थप पैसा मागेन । हामी उसलाई गरीब ठान्दथ्यौं । तर, उसले हामी सबैलाई उभन्दा निकै दरिद्र सावित गरेर जाँदै थियो । उसको परिश्रमको मूल्यांकनको आधारमा उसले थप रकम पाउनुपर्ने हाम्रो ठम्याइ थियो । तर पनि हामीले हाम्रो घमण्ड छोडेनौ । उसले थप रकमको याचना गरोस् भन्ने हामीले चाहेका थियौं ।
हामीले उसलाई पनि हामी जस्तै लोभी होला भन्ने ठानेका थियौं । उसले थप रकमको याचना गरे पश्चात मपाइत्व देखाउँदै उसलाई भिख दिने हाम्रो विचार थियो । हामीलाई हाम्रो पाखण्डीपनको बोध भैसकेको थियो ।
हामी सबै किंकर्तव्यविमुढ भएर उसलाई नै हेरिरहेका थियौं । त्यत्तिकैमा टाढैबाट ठूलो आवाजमा उही ठूलो हाँसोका साथ करायो गाइड ।
“हेहे ,मेरो एक्जामको लागि बेस्ट अफ लक दिएको खै त ? ”
हामी एकोहोरो उसलाई हेरीरह्यौं मात्र । हामी सबैको गला अवरुद्ध भैसकेका थिए । उसलाई बेस्ट अफ लक दिन हामी कसैको पनि आवाज निस्कन सकेन ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 27 जेठ, 2073

लेखकका अन्य रचनाहरु